लगालग नौ दिन ज्वरो आएर मुखिया गङ्गाधरले संसार छोडे । उनी एउटा महान् पुरुष थिए । आफ्नू विपुल सम्पत्तिलाई उनी सधैँ ‘जनताको थाती’ भन्थे र आफूलाई त्यस सम्पत्तिको केवल एउटा सञ्चालक मात्र सम्झन्थे ।

गरिबहरूको चुलोमा आगो नबलेको र सुत्केरी भोको रहेको समाचार सुन्नेबित्तिकै बोलाएर चाहिँदो अन्न–पैसा दिई पठाउँथे । कसैले तिर्ने भाका सोध्यो भने ‘सके तिर्नू, नसके तिमीहरूकै हो’ भन्ने जबाफ दिन्थे ।

उनको जीवनकालमा कसैको बिहाबर्तुन, क्रियाश्राद्ध, दशैं–तिहार अड्केन । गाउँका दीनहीन गरिबहरू बेरामी परेको सुन्नासाथ ओखतीमूलो लिएर उसका भत्केका झुपडीमा पुग्थे ।

गाउँका गरिबहरूलाई ‘मुखिया बाको जीउ छइन्जेल हामीले अन्यायमा मर्नु पर्दैन’ भन्ने दृढ विश्वास थियो । उनी आँगनमा आएर नउभिदिएसम्म मानिसहरू आफ्नू चाडबाड, काजकल्याण अपूर्ण सम्झन्थे । कसैले अन्याय गर्यो भने वरिपरि दश गाउँका दुनियाँ उनैका ढोकामा फिराद गर्न आइपुग्थे । उनको शासनकालमा कसैलाई कसैले सताउन पाएन ।

गाउँका तालुकदार भए पनि उनी ‘मुखिया बा’ का नाउँले प्रसिद्ध थिए । उनी गाउँतिर झरे भने गाउँका सारा केटाकेटीहरू ‘मुखिया बा, मुखिया बा’ भन्दै कोहोलो हाल्दै आउँथे र कोही औँला, कोही लबेदाको फेर, कोही उनको लट्ठी समाउँथे ।

केटाकेटीहरूले त्यसो गर्दा बूढा मुसुमुसु हाँसेर कसैको गाला थपथपाउँथे, कसैको चिउँडो उचालेर हाँस्थे । यस प्रकारले गाउँका युवा–वृद्धा, बालवनिता सबैका निमित्त उनी अपार प्रिय थिए । उनलाई ग्रामपिता भन्नु कत्ति पनि अत्युक्ति थिएन ।

उनको देहावसानले गर्दा वरिपरि दश गाउँको अपार क्षति भो । भोकानाङ्गा, दुःखीदरिद्रीका बाबु मरे । बूढाबूढी, लुलालङ्डा, कानाखोरन्डाका टेक्ने लट्ठी भाँचियो । न्यायको बत्ती निभ्यो । अनाथअशक्तहरूको आशास्तम्भ ढल्यो । गाउँका ‘धन्वन्तरी’ अस्ताए ।

बिरामी कुर्न बसेका दश गाउँका दुनियाँ डाँको छोडेर रुन लागे । एउटा ठूलो आर्तनाद दिग्दिगन्तमा व्याप्त भो । केहीबेरपछि शव उठाएर खोलातिर लगे ।

मलामीको लर्को गाउँदेखि तल खोलासम्म पुग्यो । मानिसहरूले भने, “कसैको मरण होस् त यस प्रकारको होस् !”

गङ्गाधरका दुई छोरा थिए, जेठा मुरलीधर र कान्छा श्रीधर । मुरलीधर पण्डित थिए । सबेरै नुहाउँथे, आधा दिनसम्म पूजापाठ गर्थे । उनी आफ्नाे धर्म र संस्कृतिका उपर असीम श्रद्धा राख्दथे ।

आफ्ना पिताका झैँ उनी पनि अरूलाई सताउनु महापाप सम्झन्थे । मानिसहरू उनलाई जिल्लाका टाढाटाढा ठाउँमा बोलाएर सप्ताह पुराण सुन्थे । उनी वास्तवमा एउटा सच्चा ब्राह्मण थिए । धोतीमाथि लामू लवेदा, लवेदामाथि सेतो पटुका, शिरमा मखमलको रातो टोपी, काँधमा च्यादर, ललाटमा चन्दन, उनी सधैँ यही परिधानमा हिँड्थे ।

जिल्लामा ‘मुरली पण्डित’का नामले विख्यात थिए । आइमाईहरूको गृहकलहले गर्दा उनी बाबुसँग अघि नै छुट्टिएर बेग्लै बसेका थिए । उनका दुई जना छोरी मात्र थिए, छोरा थिएनन् ।

यता भाइ श्रीधरचाहिँ राजनैतिक पार्टीका सदस्य र ग्रामपञ्चायतका प्रधानपञ्च थिए । दशौं श्रेणीसम्म अङ्ग्रेजी पढेका थिए । धोक्रे सुरुवाल र कुर्ता लाउँथे । जुँगा, दारी खौरेर लामू बुलबुल पालेका थिए ।

कहिलेकाहीँ बुलबुलको अग्रभाग निधारतिर झर्यो भने टाउको झड्कारेर पछाडितिर सार्थे । आधा अङ्ग्रेजी, चौथाइ संस्कृत, चौथाइ नेपाली मिसाएर कुरा गर्थे । त्यसो हुनाले उनले गरेका कुरा अशिक्षित ग्रामीण जनताहरू चौथाइ मात्र बुझ्दथे ।

पूजापाठ गर्नु, टीकाचन्दन लगाउनु दासत्वको चिह्न हो भन्थे । वीरगन्जको अधिवेशनमा जाँदा गोरखपुरमा ‘केलनरको होटेलभित्र पसेर केके केके खाए’ भनी उनका साथीहरू भन्थे ।

उनी आफूलाई जिल्लाभरिको प्रमुख प्रगतिवादी सम्झन्थे । हातमा चन्दा बुक लिएर चन्दा माग्दै हिँड्थे । त्रासले भनूँ कि आशाले भनूँ जिल्लाका सानाठूला सबै मानिसहरूमा उनको निकै धाक थियो ।

जिल्ला–गाउँका मानिसहरू उनबाट अर्थोकमाभन्दा धनीहरूको अधियाँ बाली कब्जा गर्ने र साहूबिर्तावालहरूको लरलहना, झाराखेताला हड्कने काममा विशेष सहायता पाउँथे । जिल्लामा उनी ‘शर्माजी’का नाउँले प्रख्यात थिए ।

छोराहरू भिन्न हुँदा ‘पीपले’ भन्ने सय मुरी खेत बूढाले आफ्नो जिउनी राखेका थिए । पुरानू पानी लाग्ने, खोलोपैह्रोको डर नभएको, माना मुरी फल्ने, डोल परेको साह्रै असल खेत थियो ।

क्रिया सिद्धिएका केही दिनपछि बाबुको जिउनी खेतको विषयमा मुरलीधर र श्रीधरका बीच विवाद उठ्यो । ‘बाबुसँग बसेकाले ऐनसवालले एकलौटी हुने’ भन्ने श्रीधरको र मर्ने बेलामा ‘मेरा दुवै छोरा बराबर हुन्, आधाआधा बाँडेर खानू’ भनी बाले भनेर जानुभएकाले आधामा मेरो पनि हकं लाग्ने भन्ने मुरलीधरको भनाइ थियो ।

पैंतालीस दिनको काम सिद्धिएका भोलिपल्ट जिउनी खेतको निर्णयका निमित्त मुरलीधरले गाउँका मानिसहरूलाई बोलाए । जुन आँगनमा दश गाउँका दुनियाँको होचीअर्घेली, न्याय–अन्यायको निरूपण हुन्थ्यो, आज त्यही आँगनमा उनै न्यायाधीशका दुई सन्तानको निसाफ गर्न गाउँका मानिसहरू भेला भए ।

मानिसहरूको दुई मत भो । उमेर पुगेका बूढापाकाले मुरलीधरको पक्ष लिए, श्रीधरका प्रभावमा परेका नयाँ ठिटाहरूले चाहिँ श्रीधरको ।

सम्पत्तिका धनी बाबुले नै ‘दुवै छोराले आधाआधा खानू’ भनेर गएपछि त्यस महान् आत्माको अन्तिम आज्ञा श्रीधरले मान्नै पर्छ भन्ने निर्णय बूढापाकाले गरे, ‘आधाआधा खानू भन्ने लिखत पण्डित बाजेले देखाउन नसकेपछि, बाबु जुन छोरासँग बसेका हुन्, ऐनकानुनले जिउनी उसै छोराको एकलौटी हुन्छ’ भन्ने फैसला ठिटाहरूले गरे ।

बुढापाकाले धर्मको न्याय गरे, ठिटाहरूले ऐनको । भोज सम्झेर गाउँका सारा कुकुरहरू पनि त्यहीँ जम्मा भएका थिए । परस्पर ठूलो विवाद भो । हुल्लडबाज नयाँ ठिटाहरूका अगाडि बूढापाकाहरूको केही जोर चलेन ।

आखिर न्यायको केही टुङ्गो नलागी सभा विसर्जित भो । भेला भएका ठिटाहरू बूढापाकाहरूलाई छेड हानेर हाँस्दै घरतिर गए । बूढापाकाहरू पनि लाखापाखा लागे ।

ग्रामसभा विसर्जित भएका अलि दिनपछि बाबुका अन्तिम आज्ञाको आधार लिएर मुरलीधरले अदालतमा नालिस दिए । धूमधामसँग मुद्दा चल्यो, गाउँका बुढापाका, तरुणतन्नेरी साराले बकपत्र गर्नुपर्यो । साक्षी बन्दा पनि गाउँ दुई भागमा विभक्त भो ।

‘मर्ने बेलामा दुवै छोराले आधाआधा बाँडेर खानू भनी बुढाले भनेको हामीले प्रत्यक्ष देखेसुनेका हौं’ भनी बुढापाकाले बकपत्र गरे, ठिटाहरूले चाहिँ ‘होइन’ भने । होइन भन्नेकै संख्या बर्ता भो ।

जनक्रान्तिदेखि यता श्रीधरले अड्डाखानामा पनि आफ्नो रोबरबाफ प्रशस्त जमाइराखेका थिए । भनेजस्तो भएन भने बजारमा ढ्वाङ फुकेर पर्चा बाँड्दै हिँड्थे ।

त्यसो हुनाले अदालतका डिट्ठा–विचारीहरू श्रीधरसँग अलि झस्कन्थे । उसमाथि अदालतमा मामिलाको निरूपण हुँदा बकितम्लाई भन्दा लिखितम्लाई बर्ता महत्त्व दिने रीति छ । हरेक विवादमा ऐनकानुनकै आधार लिइन्छ ।

कानुन श्रीधरका पक्षमा थियो । अन्त्यमा डिट्ठा–विचारीले कानुनको आज्ञा पालन गरे । जिउनी श्रीधरले पाए, मुरलीधरको हार भो ।

०००

यता केही महिनादेखि श्रीधर बिरामी छन् । उनलाई तपनी ज्वरो आइरहन्छ, खोकी लाग्छ, छाती दुख्छ भन्छन् । बेथा आहारविहारको दोषबाट भएको भन्थे । शरीर सुकेर हाडछाला मात्र बाँकी थियो ।

यस्तै बेलामा कुटुम्बले छोरा शशिधरलाई छोरी दिन आए । कुटुम्ब धनीमानी थिए । जिल्लामा उनको ठूलो ख्याति थियो । मधेसतिर तीन–चार मौजा जिमिदारी छ भन्थे । सन्तानमा केवल यिनै एउटी छोरी मात्र हुन् भन्ने सुनिन्थ्यो । शशिधर भरखर पन्ध्र लागेको थियो, आदर्श विद्यालयको दशौँ कक्षामा पढ्थ्यो ।

ठिटो राम्रो र बहुतै मेधावी थियो । छोराको यति सानै उमेरमा बिहा गर्न त श्रीधरको मन थिएन । तर, एउटी छोरी मात्र भएका धनी कुटुम्बले घरै आएर छोरी दिँदा उनी बडो असमन्जसमा परे ।

उता आइमाईहरूले पनि बिहा गर्नैपर्छ भनेर करकर गर्न थाले । उनले आइमाईको हठलाई नाइँनास्ति गर्न सकेनन् । कामकुरो छिनियो; खुब मन फुकाएर बिहाका मालसर्जाम तयार गर्न थाले ।

वैशाखको महिना थियो । मुरलीधर न्वाएर पूजाकोठामा पसेका मात्रै थिए, श्रीधरका घरमा बाजा बज्न लागेको सुनेर झ्यालबाट हेर्न लागे । आँगनमा चौकाचँदुवा गरेको, चारैतिर तोरण टाँगेको, मण्डप ध्वजापताकाले सिँगारिराखेको, निम्तामा आएका नसनाताहरू राम्राराम्रा लुगा लाएर बाहिरभित्र गरिरहेका, अरू इष्टमित्रहरूचाहिँ दलान, फलैंचा, बैठकमा डम्माडम्मी भएर बसेका, मण्डपमा यज्ञसामग्रीहरू फिँजिराखेका, पुरोहित वेदीअगाडि बसेर यज्ञविधि गर्न लागेका, बडो अपूर्व शोभा देखिन्थ्यो । एकछिनपछि सकीनसकी मण्डपमा आएर श्रीधरले पूर्वाङ्गको कर्म गर्न लागे ।

तर घरगृहस्थीको यति ठूलो चाडउत्सवमा दुई कान्लामाथि घर भएका आफ्ना सहोदर दाज्यूभाउज्यूलाई श्रीधरले बोलाएनन् । अरूलाई नभए पनि दाज्यूका दुई जना छोरीलाई त अवश्य डाक्नुपथ्र्याे । तिनीहरूलाई पनि डाकेनन् ।

मुरलीधरको मन एकतमासको भो । घोरिएर आकाशपट्टि हेर्न लागे । अतीतका अनेक स्मृतिहरू उनका सामुन्ने साकार भएर आए । एक पटक स्वर्गीय पिताको तेजस्वी अनुहारको पनि सम्झना भो । केहीबेरपछि बर्र आँसु झारेर आफ्नू नित्य कर्म गर्न थाले ।

अपराह्नतिर दुलाहा अन्माउन थाले । मुरलीधर आफ्नू पूजाकोठाको झ्यालमा उभिएर हेरिरहेका थिए । एकछिनपछि बाजावालाहरू मङ्गलधून बजाउँदै अघिअघि हिँडे । त्यसपछि दुलाहाको ताम्दान चल्यो ।

शशिधर बिहाका राम्राराम्रा पोसाक लाएर ताम्दानमाथि बसेको थियो । शिरमा जरीवाल गुलाफी पगरी, काँधमा रातो दोसल्ला, गलामा फूलको माला, निधारमा पहेँलो ठाडो तिलक, कानमा उज्ज्वल टप लगाएको गन्धर्वजस्तो देखिन्थ्यो ।

शशिधरलाई दुलाहाको रूपमा ताम्दानमा बसेको देखेर हर्षले मुरलीधरको गहभरि आँसु भो, मनमनमा भने, “कुलको जेठो सन्तान, मेरो पिण्डपानीको दाता !”

मुरलीधरले सबै बरियाँतीलाई एकएक गरेर हेरे । बूढोपाको एउटा थिएन, सबै अल्लारे मात्रै । सबैका हातहातमा चुरोट थियो, बेफुङ्गसँग धूवाँ उडाइरहेका थिए । श्रीधरचाहिँ फलैँचामा ओछ्यान लाएर पल्टिरहेका थिए ।

मुरलीधरले मनमनमा भने, ‘खोलामा बाको कत्रो नाउँ छ । आज पनि घरघरमा बाकै यश र कीर्तिको चर्चा हुन्छ । उसमाथि त्यस्ता घरानियाँ कुटुम्बका दैलामा बरियाँत जानु छ । यी ठिटाहरू चुरोट फुक्न र पाङगनपुच्छरको उटपटाङ गफ चुट्नबाहेक अर्थोक जान्दैनन् ।

बाबुचाहिँ ओछ्यानमा लम्पसार परिरहेछ । यिनले बाबुबाजेको नाउँ र इज्जत पखाल्न आँटे । अब आँखा चिम्लेर बस्नु भएन’ भनेर मुरलीधर आफ्ना कोठामा पसे । अनि लुगासुगा लाएर उनले जहानसँग भने, “कमला ! मेरो दोसल्ला झिकिदेऊ ।”

पतिलाई लुगासुगा लाएर हिँड्न तम्तयार भएको देखेर कमलाले सोधिन्, “यस्तो टन्टलापुर घाममा कता हिँड्न लाग्नुभाको, नि ?”
“जन्त ।”

“जन्त ? नबोलाईकन त कुकुर पनि नजाओस् !”

“ठीक भन्यौ ! कुकुर अज्ञानी पशु हुनाले बोलाएपछि मात्र जान्छ, मानिसचाहिँ ज्ञानवान् हुनाले बखतमौका विचार गरेर आफैं पनि जानुपर्छ ।”

“अँ, नबोलाईकन पनि जानुपर्छ ! दाज्यूलाई बाबुले मर्ने बेलामा दिएको खेत पनि खोसेर खाने त्यस्ता असत्तीको …”

“खाउन्, आखिरमा त मेरो खाने पनि यिनै हुन् । मरेपछि खानुपर्थ्यो, जिउँदैमा खाए । त्यसको पाप–धर्म उनैलाई छ ।”

“भो, म त मारे पनि जान दिन्नँ । उनलाई दाज्यूभाउज्यू नचाहिएपछि हामीले मात्रै किन अँगालो हाल्दै हिँड्ने ?”

“त्यस पाजीलाई अँगालो हाल्न जान लागेको होइन कमला ! यहाँ बाबुबाजेको मानमर्यादा डुब्न लाग्यो । कुलमा सबैभन्दा जेठो सन्तानको बिहे, उसमाथि त्यत्रा घरानियाँ कुटुम्बको आँगनमा बरियाँत लैजानु छ । बाबुचाहिँ फलैँचामा ओछ्यान लाएर लडिरहेछ । जन्तीमा बूढोपाको एउटै छैन । खालि ओठ निचोर्दा दूध झर्ने अल्लारे ठिटा मात्र छन् । घरगृहस्थीको यति ठूलो काममा घरको एक भाइ पनि नगए जोरीपारीले के भन्लान् ? स्वर्गमा बसेका पितृहरूले के भनिठान्लान् ? तिमी अर्काको घरबाट आएकी छोरी हौ कमला । कुलको मानमर्यादा भनेको कत्रो कुरो हो त्यो तिमीलाई थाहा छैन । जन्ती बेँसीमा पुगिसके, चाँडो दोसल्ला झिकिदेऊ ।”

कमलाले झर्कँदै बाकसबाट दोसल्ला झिकेर दिइन् । दोसल्ला काँधमा हालेर लट्ठी टेक्दै मुरलीधर जन्त हिँडे । उनलाई यस्तो टन्टलापुर घाममा एक्लै ओह्रालो लागेको देखेर गाउँका मानिसहरू अचम्म मानेर मुखामुख गर्न लागे ।

बरियाँत खोलापारि पुगिसकेको थियो । मुरलीधर पनि पछिपछि गए । झमक्क साँझ परेपछि दुलहीका घरमा पुगेर सुटुक्क फलैँचामा बसे । मुरलीधर पुग्दा दुलहीका बाबु वरणी गर्न लागेका रहेछन् । मानिसको घुइँचोमा उनलाई कसैले चिनेनन् ।

वरणी सिद्धिएको केही बेरपछि यज्ञमण्डपको कार्य आरम्भ भो । पुरोहित वेदीमा रेखी हाल्न थाले । भित्रबाट यज्ञसामग्रीहरू आउन लागे । यज्ञ सम्पन्न भएपछि दुलाहादुलहीलाई बस्न पुग्ने गरी आसन ओछ्याएर दुलाहालाई राखे ।

एकछिनपछि छोरी बोकेर घरभित्रबाट दुलहीका बाबु निस्के र छोरीलाई दुलाहाका बायाँतर्फ बसाए । दुलही बसेपछि लाज मानेजस्तो गरेर शशिधर अलि पर सर्यो । शशिधरले लाज मानेको देखेर मुरलीधर फलैँचामा मुसुमुसु हाँस्न लागे ।

दुलहादुलही यज्ञमा बसेपछि दुलहीका बाबुले यताउती हेरेर भने, “खै, सम्धी पाल्नुभएको छैन ? अब मण्डपमा आएर बसिदिनुभए हुन्थ्यो ।”

दुलहीका पिताले बोलाएको सुनेर फलैँचाबाट मुरलीधरले भने, “ज्यू, म यहीँ छु, आउन लागेँ ।”

मुरलीधर उठेर मण्डपमा गए । चिनेका मानिसहरूले ढोगिदिए । जेठा बाबुलाई अचानक आफूनेर उभिएको देखेर शशिधरले पनि ढोगिदियो ।

मुरलीधरले छोरालाई “नानी, चिरञ्जीवी भए” भनेर आशिष् दिए र उसका पछाडिपट्टि बसी उसलाई आफ्नो काखनेर ताने ।

बाबुको स्थानमा मुरलीधर बस्न गएको देखेर बरियाँतमा आएका ठिटाहरू परस्पर कानेखुसी गर्न लागे ।

मुरलीधर जिल्लाभरिका विख्यात पण्डित थिए । उनलाई कन्यापक्षका धेरै मानिसहरू चिन्दथे । श्रीधर र मुरलीधरले जिउनीको विषयमा वर्ष दिनसम्म मुद्दा लडेको पनि धेरै जनालाई थाहा थियो ।

कन्या पक्षका बूढापाकाहरूले भने, “त्यस्ता महापुरुषका सन्तानले आफ्नू कर्तव्य किन छोड्दथे । तब पो मानिसहरू कुलघरान भन्दछन् ।”

विवाहविधि आरम्भ भो । पुरोहितले ऋचामन्त्रहरू उच्चारण गर्दा अशुद्ध भएका ठाउँमा मुरलीधर सच्याइदिन्थे । शशीधरचाहिँ जेठा बाबुका छातीमा अडेस लागेर आनन्दसँग बसेको थियो । मुरलीधर बखतबखतमा गर्नुपर्ने कर्महरू छोरालाई सिकाइदिन्थे । एवम् प्रकारले विवाहविधि समाप्त भो ।

भोलिपल्ट दिउँसो दुलही अन्माइदिए । मुरलीधरले निहुरेर बुहारीको मुख हेरे, बुहारी महालक्ष्मीजस्ती रहिछन् । छोराबुहारीको रूप देखेर मुरलीधर गद्गद भए । अनि दुलही दुलाहाको डोली अगाडि लाएर मुरलीधर घरतिर फर्के ।

साँझ पर्ने बेलामा बरियाँत गाउँनेर पुग्यो । पँधेरामाथिको चौतारामा रमिता हेर्ने मानिसको घुइँचो थियो । बरियाँत दोबाटोनेर पुगेपछि “लौ, घर लगेर भित्र्याऊ”, भनेर मुरलीधर आफ्ना घरतिर गए ।

दुलही भित्र्याएपछि दाज्यू बिहेमा गएको, सबै कर्मविधिहरू आफ्नू कुलपरम्परानुसार राम्रो प्रकारसँग सम्पन्न भएको खबर श्रीधरले सुनेर गहभरि आँसु पारेर ठिटाहरूसँग सोधे, “दाज्यूलाई खानपिन त राम्ररी गरायौ के ?”

“आज एकादशी भनेर पण्डित बाजेले केही खानुभएन, भोकै आउनुभो ।”

बिहे सिद्धिएको एक महिनापछिको कुरो हो । एक दिन बिहान मुरलीधर आफ्नू नित्यकर्म सिध्याएर फलैँचामा बसेर भागवत हेर्न लागेका थिए, त्यस्तैमा शशिधरले बिस्तारबिस्तार आएर मुरलीधरलाई ढोगिदियो र दलानको थाममा टाँसिएर भन्यो, “ठूलबा ! जिउनीको पीपले खेतमा हजूरलाई जताबाट मन पर्छ नापेर आधा खेत कमाउनुहोस् अरे, बाले भनेर पठाउनुभाको ।”

शशिधरका कुरा सुनेर मुरलीधरले उसका मुखतिर हेरेर मुसुमुसु हाँस्दै भने, “जिउनीको आधा खेत मैले कमाए तिमीहरू के खान्छौ नि बा ?”

शशिधर केही उत्तर नदिएर छिटोछिटो आफ्ना घरतिर गयो । कमलाचाहिँ दैलाको आडमा उभिएर बाबुछोराको कुरा सुनिरहेकी थिइन् ।

शशिधरले खेत कमाउने कुरो सुनाएर गएको चौध–पन्ध्र दिनपछि एक दिन मुरलीधर फलैँचामा बसेर नस सुँघ्दै विद्यार्थीहरूलाई रघुवंशको पाठ घोकाउँदै गर्न लागेका थिए ।

त्यस्तैमा श्रीधरकी सानी छोरी रमाले आएर रुन्चे मुख लाएर भनी, “ठूलबा ! बालाई व्यथाले चाप्यो, हजुरलाई बोलाउन पठाउनुभाको ।”

छोरीको कुरा सुन्नेबित्तिकै पढाउन छाडेर रमाको हात समाउँदै मुरलीधर भाइका घरतिर गए । श्रीधर खाटमा कोल्टे परेर सुतिरहेका रहेछन् । दाज्यूलाई देखेर बडो कष्टसँग उठेर गहभरि आँसु पारेर ढोगिदिए ।

भाइका आँखामा आँसु छचल्किरहेको देखेर मुरलीधरको पनि गहभरि आँसु भो । चार वर्षपछिको यी दुई दाज्यूभाइको पुनर्मिलन सारै दुःखलाग्दो देखियो ।

मुरलीधरको गहभरि आँसु भएको देखेर उनको गोडा समाउँदै श्रीधरले रुन्चे स्वरले भने, “दाज्यू ! अस्तिदेखि दम बढ्न थाल्यो । मलाई अब धेरै दिन बाचुँलाजस्तो लाग्दैन । मैलै जीवनमा हजुरका प्रति धेरै अत्याचार गरेको छु । यस अज्ञानीको सबै अपराध क्षमा गरेर यी नाबालख छोराछोरीको शरण लिइदिनुहोला !”

भाइका कुरा सुनेर मुरलीधरले बर्र आँसु झारे । मुरलीधर रोएको देखेर श्रीधरका जहान, छोराछोरी पनि रुन लागे । एकछिनपछि मुरलीधरले भाइका निधार, छाती, हात, गोडा सबै अङ्ग छामे । उनको शारीरिक गति देखेर मुरलीधरको हृदयमा दुःखको कोलाहल मच्चियो ।

केहीबेरपछि छातीमा भक्कानु पारेर आँसु झार्दै भने, “बिसेक हुन्छ बा ! हरेस नखाऊ ! बाले आफ्नू जीवनमा अनन्य पुण्य गर्नुभएको छ । उहाँको त्यस महान् तपस्याका प्रभावले हाम्रो अनिष्ट कदापि हुनेछैन । बरु, अब यहाँका वैद्यको भर गरेर बस्न भएन । तिमीलाई देशतिर औषधी गराउन लैजान्छु ।”

यति भनेर भाइका पथपरेजको व्यवस्था मिलाएर केहीबेरपछि मुरलीधर आफ्नू घरतिर गए ।

०००

यो घटना भएको छ–सात दिनपछि भाइलाई लिएर औषधी गराउन मुरलीधर देशतिर हिँडे भन्ने सुनियो ।

(मैनालीको ‘नासो’ कथासंग्रहबाट)