
घर पुगेको मात्र के थिएँ । आमाको मन अत्तालियो । “ हैन बाबु तैले के गरेको हो यो? ” आमाको प्रश्न स्वाभाविकै थियो । मैले आमाको प्रश्नको जवाफ दिन पाएको थिइनँ ।
मेरो मुखमा पुलुक्क हेर्दै “तँ अलि मुर्ख छस् ” बाले भन्नुभयो । म केही बोलिनँ । घरमा भाइ मात्र थियो ऊ मस्त निद्रामा थियो । आमा बा पनि निदाउनु भएको थियो, मैले घर पुगेर उठाएको थिएँ । म राती घर पुगेको हुनाले आमा बुबाको प्रश्नमा यी चिन्ता प्रकट भएका थिए ।
“घर आउने मानिस एक पाइलो छिटो आउनु पर्ने, यो मध्यरातमा कसरी आइस् घर ? यति राती तँलाई किन हिँड्नुपर्थ्याे ?” बाले भन्नुभयो । म केही बोलिनँ । आमा बाको मन त भइहाल्यो । म त्यति राती घर पुग्दा आमा बाको मायाले छपक्कै छोपेर र त होला चिन्ता र चासो प्रकट गर्दै संशय व्यक्त गर्नु भयो ।
बाहिर चकमन्न अन्धकार थियो । आकाशमा ताराहरु मधुरा देखिन्थे । बाहिर चिसो सिरेठो चलेको थियो । आमा बाका कुरा सुनेपछि मलाई पनि घरभित्र पुगेपछि पो झन डर लाग्न थाल्यो । त्यति राती घरमा नगएको भए पनि के नै पो बिग्रने थियो र जस्तो लाग्यो आफैँलाई ।
वल्लो डाँडो पल्लो डाँडो कतै पनि टुकी बत्तीको धिपधिप उज्यालो देखिएको थिएन । अन्धकार सुनसान रातमा जताततै सन्नटा मात्र थियो । कतैकतै टाढा कुकुर भुकेको मसिनो आवाज मात्र आएर मेरो कानमा ठोक्किएको थियो । किराहरुको झ्याउँ झ्याउँ आवाज भने बाटोभरि गुन्जिरहेको थियो ।
कताबाट बाघ, भालुले झम्टिने हो कि ? भुत आउने हो ? वा चोर आउने हो ? मनमा एक प्रकारको संशय उत्पन्न भइरहेको थियो । म घर पुग्दा जताततैको गाउँ बस्ती त्यो मध्य रातमा मस्त निद्रामा सुतेको थियो ।
वि.स. २०४० सालको पौष महिनाको आखिरी शुक्रबारको दिन थियो । पोखराको डिआईजि अफिसमा हवल्दार मेजरलाई के कुरामा सनक चढ्यो । साँझको ६ बजे सिठी फुक्यो । हामी सबै तालिमे सामेल भयौँ ।
“ नजिक घर हुनेहरु आज घर गएर भोली साँझको रोलकालमा हाजिर हुनेहरु कोही भए हात खडा गर्नु ” हवल्दार मेजरले भन्यो । हवल्दार मेजरको आदेशअनुसार मैले पनि हात खडा गरेँ ।
घर जानेहरु पाँच जनाको नाम टिपेर हवल्दार मेजरले सुबेदार मेजरलाई रिपोर्ट गर्यो । सुबेदार मेजरले इन्चार्जलाई रिपोर्ट गरेपछि घर जान दिने आदेश भयो । घर जान हात खडा गर्ने हामी पाँचै जना आआफ्नो घरतर्फ लाग्यौँ । त्यतिबेलासम्म अफिसमा नै धेरै ढिला भइसकेको थियो । घाम धेरै पहिला अस्ताएका थिए । माछापुच्छ्रेको शिखरमा समेत घाम देखा परेका थिएनन् । अफिसबाट निस्कदा झन् ढिला भयो । घाम अस्ताएपछि जाडो छिप्पिँदै गएको थियो ।
पोखराको डि आई जि अफिसबाट हिँडेर जिल्ला पञ्चायतको चौतारोमा पुगेर नगर बस कुरेँ । केही समयपछि तालबाराहीचोकबाट नगर बस आयो । म बसभित्र चढेँ, भिड रहेछ । मुस्ताङ्चोकमा पुगेर एकजना झरेपछि मैले सिट पाएर सिटमा बसेँ । त्यहाँबाट दुईजना पुरुषहरु बसमा चढे । उनीहरु हेर्दा पच्चिस, छब्बीस वर्ष देखिने मोटाघाटा आर्मीकट कपाल काटेका थिए । बस अगाडि बढ्यो । एयरपोर्टचोकबाट पनि यात्रु थपिए ।
पृथ्वीचोकमा गएर बस रोक्कियो । त्यहाँ धेरै जना झरे । झर्ने भन्दा झन् बढी यात्रु बसमा थपिए । त्यतिबेलासम्म घर पुग्न धेरै ढिला हुने कुराले मलाई भित्रभित्रै पिरोलिरहेको थियो । पृथ्वीचोकबाट बस सय मिटर अगाडि बढेर रोक्कियो । त्यहाँबाट एकजना महिला बसमा चढिन् । बसभित्र बसेका दुईजना आर्मीकट कपाल काटेका व्यक्तिहरु बसबाट झरेर बसको छतमा गएर बसे ।
ती दुईजना छतमा गएर बसेका मात्र के थिए ।
“ ट्राफिक प्रहरीले माथि बस्न दिँदैन, तपाईंहरु तल आएर बस्नुहोस् ” खलासीले अनुरोध गर्यो ।
“ हामी चिसो हावा खान छतमा बसेका हौँ । हामीलाई केही गरेमा उल्टै ट्राफिक प्रहरीलाई नै ठिक पार्छौं ” उनीहरुले भने ।
“ तल झर्नुहोस् हामीले अनाहकमा जरिवाना तिर्नुपर्छ ,” खलासीले भन्यो ।
“ हामीलाई छतमा बस्न कसले दिँदैन । हामी को हौँ भन्ने कुरा ट्राफिक प्रहरीलाई राम्रोसँग सवक सिकाउँछौँ ।” उनीहरुले छतमा चर्को स्वरमा बोलेको बसभित्र समेत सुनिएको थियो ।
ट्राफिक प्रहरीले जरिवाना गर्ने भएपछि बस रोक्कियो । उनीहरु अटेर गरी छतबाट तल झरे । तर फेरि बस अगाडि बढ्नासाथ फेरि पछाडिको सिंढीबाट छतमा चढ्ने प्रयास गरे । यो क्रम पटकपटक दोहोरियो । उनीहरु बस भित्र चढेनन् । यसरी नै चल्ती बसलाई अगाडि बढ्न पनि दिएनन् । उनीहरु न अर्को बसमा गए । न हामी चढेको बसलाई सहज रुपमा अगाडि बढ्न दिए । जसले गर्दा अरु बस भित्रका यात्रुहरुलाई गन्तव्यमा पुग्न ढिलो भइरहेको थियो । ती दुई यात्रुहरु र खलासी बिचको भनाभनले अरुको समेत यात्रा असहज भएपछि ड्राइभर नै बसबाट झरेर पछाडि गई उनीहरुलाई सम्झाएर गाडीमा बसाल्यो । त्यतिबेला सम्म आधा घण्टाको समय खेर गयो ।
पृथ्वीचोकमा नै झलमल्ल बिजुली बत्ति बलेको थियो । बसभित्रका यात्रुहरुको छट्पटी बढेको थियो । कोही यात्रु बसबाट झरी अर्को बसमा जान खोज्दै थिए । तर खलासीले सबैलाई रोकेको थियो । दुईजना यात्रुले खलासीसँग जोरी खोजिरहेका थिए । बसभित्रका सबै यात्रु मुकदर्शक देखिन्थे ।
म घर जाउँ कि नजाउँ ? भन्ने दोधारमा पुगेको थिए । एकरात भए पनि आफ्नो घरमा आमासँगै बसेर आमाको हातको एकछाक सँगै बसेर खाने मन थियो । भदौ महिनादेखि म पोखराको डिआईजि अफिसमा नेपाल प्रहरीको सञ्चार सम्बन्धी आधारभूत तालिममा कार्यरत थिए । पाँच विकाश क्षेत्रका सबै डिआईजि अफिसमा हामी जस्तै तालिमेहरुले तालिम गरिरहेका थिए ।
हाम्रो तालिम प्रहरी प्रधान कार्यालयको आकाशवाणी शाखामा हुनुपर्ने थियो । तर प्रहरी प्रधान कार्यालयमा अर्को टोली तालिमरत रहेकोले उनीहरुको तालिम समाप्त नभएसम्म स्थान अभावले गर्दा पाँचै विकाश क्षेत्रमा सामान्य कुराहरु सिक्दै थियौँ हामीले । पोखरामा तालिम गर्ने हामी ३० जना थियौँ । पोखरा डिआईजि अफिसमा बस्ने ब्यारेक थिएन । हामीले बाहिर डेरा खोजेर बस्नुपर्थ्याे । खाना होटेलमा खानु पर्थ्याे । बिहान पिटी कुदेर आएपछि हाम्रो क्लास हुन्थ्यो । क्लासमा नेपाल प्रहरीको सञ्चार सम्बन्धी आधारभूत कुराहरु सिकाइन्थ्यो । पोखराको अन्तिम बसाइँ हुँदै थियो । हामी फाल्गुन महिनामा काठमाडौं जाँदै थियौँ ।
पोखरा बसुन्जेल मिलेसम्म हप्ता वा पन्ध्र दिनमा एकरात भए पनि आफ्नो घर जाने गरेको थिएँ । त्यो दिन अफिसमा नै अलि ढिला भयो । टेक्सीमा मोहरियाटोलसम्म पुगेर बिन्दबासिनी मन्दिरको पछाडिबाट हिँडेर ग्यारजती हुँदै सराङ्कोट पुगेर कास्कीकोट गएको भए पनि हुने हो । तर बसमा चढेर बगरसम्म जाँदा अलि चाँडो होला भन्ने सोचेर नगर बसमा गएको थिएँ । बगरबाट थोरै उकालो चढेर ग्यारजती, हुँदै सराङकोट पुगेर घरमा जाने सोचाईले बसमा चढेको थिए । झन् नगर बसमा जाँदा ढिला भयो ।
मेरो मन भतभत पोलेको थियो । बसमा चढेको मान्छे म, जति आत्तिए पनि के नै गर्न सक्थेँ । बसमा रहेका सबै यात्रु मध्य सबैभन्दा टाढा कास्कीकोटको काफलगैरी जाने म मात्रै थिएँ । अरुलाई पनि हतार त भएको हुँदो हो । तर मलाई जस्तो हतार अरुलाई थिएन कि ? किनभने म टाढा जाने यात्रु थिएँ ।
दुई जना यात्रुले खलासीलाई दुर्व्यवहार गरिरहेका थिए । त्यहाँ कोही पनि जोखिम मोल्न तयार थिएनन् ।
“भाइ यो सार्वजनिक बस हो, सबैलाई घर जान हतार छ, किन तपाईंहरु खलासीलाई गाली गर्नुहुन्छ ?” भनेर एक जना व्यक्तिले सम्झाउँदा उल्टै उनीमाथि जाइलागे । एउटी युवतीले पनि सम्झाउने प्रयत्न गर्दै थिइन् । उनीलाई पनि हावामा उडाइदिए ।
यो सबै हर्कतको साक्षी बनेर पनि मुकदर्शक थिएँ म । मेरो मनमा ग्यारजतीको सुनसान जंगल सम्झेर डर लागिरहेको थियो । एक मनले भो, घर नजाउँ, अर्को कुनै दिनमा जानु पर्ला, बरु डेरामा नै फर्कन्छु भन्थ्यो । डेरा पोखरा कारागार अगाडिको घरमा थियो । ग्यारजतीमा घनाजंगल थियो । त्यो जंगलमा दिउँसै सुनसान हुँदा चोर लागेको हल्ला प्रशस्तै सुनिन्थ्यो । पहिलापहिला काम विशेषले पोखराबाट घर जाँदा र घरबाट पोखरा आउँदा बाघले साना डमरु लिएर हिँडेको पनि देखिन्थ्यो । झाँडी नै झाँडी थियो त्यहाँ ।
खलासीले पटकपटक भाडा मागेको थियो ती दुईजनासँग । तर उनीहरुले महेन्द्रपुल पुगेपछि मात्र भाडा दिने कुरा गरिरहेका थिए । उनीहरु महेन्द्रपुलमा झरेपछि पैसा दिदैनन् भन्ने कुरा खलासीलाई थाहा थियो । त्यसैकारण खलासीले भाडा माग्न छोडेको थिएन । खलासीले फेरि भाडा माग्यो । ती मध्यको एकजनाले खलासीलाई जोरले गालामा एक थप्पड हान्यो । खलासीले पनि मुक्का हान्न खोज्यो । तर दुबैजना मिलेर खलासीलाई रोके । पहिला मुक्का हान्नेले फेरि एक मुक्का हान्यो खलासीलाई ।
मलाई घर पुग्न ती दुईजनाकै कारणले ढिला भएको थियो । भित्रभित्रै म उनीहरुसँग मुर्मुरिएको थिएँ । तर म पनि एउटा यात्रु नै थिएँ । मैले उनीहरुलाई के नै पो गर्न सक्थेँ र ? मैले नेपाल प्रहरीमा जागिर खाएको अठार महिना पुरा भएको थियो । बुटवल प्रहरी तालिम केन्द्रबाट नौ महिनाको आधारभूत तालिम सकेर जिल्ला प्रहरी कार्यालय मनाङबाट भदौ महिनामा पोखराको डिआईजि अफिसमा सञ्चार सम्बन्धी आधारभूत तालिम गर्न गएको थिएँ ।
म राष्ट्र सेवक प्रहरी थिएँ । मैले सार्वजनिक बसमा ती दुईजनाले खलासीमाथि गरेको अभद्र व्यवहार देखेर पनि नदेखेझैँ गरेर बसेको थिएँ । भरसक समयभावका कारण जोखिम मोल्ने पक्षमा थिइनँ म ।
तर खलासीमाथि गरेको दुर्व्यवहार र हातपातले मेरो पेशाले मलाई चुप भएर बस्न दिएन । भित्रभित्रै मेरो मन पोलिरहेको थियो । म शान्त भएर टुलुटुलु हेरेर बस्न सकिनँ । मलाई एक्कासी कहाँबाट त्यति धेरै ऊर्जा प्राप्त भयो । एकैपटक मेरो शरीरमा साहसको बाढी नै उर्लेर आएको महसुस भयो । म सिटबाट जुरुक्क उठेँ । एक सासमा हुर्रिँदै पछाडिको ढोका नजिक पुगेँ । त्यहाँ उभिएका दुइजना व्यक्ति मध्ये खलासीलाई पिट्ने व्यक्तिलाई बाजले परेवा झम्टेझैँ जोडले कठालो समाएर झम्टे ।
“ ए साले तिमीहरुले खोजेको के हो ? तिमीहरुलाई अहिल्यै जिल्ला प्रहरी कार्यालय कास्कीको खोरमा लगेर हुल्दिउँ ?” भनेर चर्को स्वरमा जोडसँग कड्किएँ ।
म २१ वर्षको दुब्लो दुब्लो थिएँ । तिनीहरु म भन्दा बढी उमेरका खाइलाग्दा थिए । म जंगिएपछि बसका सबै यात्रुहरुले मलाई हेरिरहे । ती दुइृजनाको फुर्ति एकाएक शून्यमा झर्यो । बस धेरै ढिलो गरेर महेन्द्रपुलमा पुगेर रोक्कियो । बसको भाडा दिएर तिनीहरु त्यहीँ झरे । बसका सबै यात्रुले मेरो प्रशंसा गरे । एकजना व्यक्तिले तिनीहरु फुलबारी ब्यारेकका सिपाही पनि हुन सक्ने बताए । त्यो कुरा सुनेपछि भने मलाई डर लाग्यो ।
बस बगरमा पुगेर रोक्कियो । बसबाट झरेपछि थोरै उकालो चढेर अलिमाथि बिन्दाबासिनी मन्दिरबाट पनि जोडिने मुल बाटोमा पुगेर उकालो हिँड्दै ग्यारजतीको समथर वन क्षेत्रमा पुगेँ । बाटो सुनसान थियो । पोखरा बजार र बिजुली पुगेका स्थानमा बिजुली बत्तिले झकिझकाउँ उज्यालो देखिन्थ्यो ।
ग्यारजतीको त्यो समथर भूभागको बाटोको दुबैतर्फ घना जंगल थियो । ठुलाठुला रुख नभए पनि साना साना रुखले त्यो जंगल झाँडीमा परिणत भएको थियो । सुनसान जंगलमा दिउँसै पनि डर लाग्थ्यो । बाघ , भालु र चोरको डर हुन्थ्यो त्यहाँ ।
जब म बनक्षेत्रमा प्रवेश गरेँ । मेरो सास बढेर आयो । सुनसान एकान्तमा हिँड्न लाग्दा खुट्टा लगलग काप्न थाले । शरीर फुलेर जिरिङ्ग भयो । शरीरमा काँडा उम्रे । छिटोछिटो पाइला सार्दा पनि खुट्टा लर्बराए । किरा फट्याङ्ग्रा र मुसाले छ्यास्स गर्दा पनि लौन अब के हुने हो ? के ले समाउने हो ? बाघले पो झम्टने हो कि ? मनमा एक प्रकारको सन्त्रासले छपक्कै छोप्यो । कता मरिने हो ? केले तान्ने हो? आपत पर्दा आफ्नो शरीरको माया कति हो कति ?
मैले लमकलमक गर्दै डरैडरमा फटाफट् पाइला सारी रहे । वनक्षेत्र कटेर ग्यारजतीको साना तिनवटा बन्द भएका चिया पसल भएको स्थानमा पुगेँ । केहीबेर त्यहाँ उभिएर लामो लामो सास फेरेँ मैले । बन्द पसलको बाहिर एक्लै उभ्भिँदा पनि अब त आजको लागि बाँचियो, जस्तो लाग्यो । कहिलेकाहीँ हतियारले गर्न नसक्ने काम साहसले पनि गर्दोरहेछ, जस्तो लाग्यो मलाई ।
म त्यहाँबाट पनि छिटोछिटो हिँड्दै सराङ्कोटको उकालो चढेर डिलमा पुगेँ । सराङकोटको डिलमा बाटोदेखि तल र बाटोमाथि गरी दुईवटा चौतारो थियो । त्यहाँ दुईवटा फुसले छाएका पसल पनि थिए । म त्यहाँ पुग्दा एउटा पसल खुला थियो । तिनजनाले तास खेल्दै थिए । धेरै ढिला भएकोले त्यहाँ बास पाए बस्ने मनसाय पनि थियो । तर मन हुँदाहुँदै भन्न सकिनँ मैले । सराङ्कोटबाट हेर्दा पोखरा बजार झल्ल्ल उज्यालेलो धपक्कै बलेको थियो ।
सराङकोट र तोरीपानीको बिचमा घर थिएनन् । त्यहाँ पनि सुनसान थियो । म सराङ्कोटबाट कास्कीकोटको काफलगैरीतर्फ पाइला सार्दै अगाडि बढिरहँदा तोरीपानी, पाटेस्वाँरा, पहरेपानी, ढोकाको मुख, नाउँडाँडा, ढिकुरपोखरी, पाउँदुर, चापाकोट, पामे, ठुलाखेत लगायतका स्थानहरुमा समेत कहीँ कतै म त्यो मुल बाटोमा हिँडिरहदा त्यो दिन टुकी बत्तिको धिपधिप उज्यालोसम्म पनि देखिनँ मैले ।
अँधेरी रातमा आकाशमा मधुरा ताराहरु चम्केका थिए । गाउँ घरमा कतै बिजुली पुगेको थिएन । पुषको जाडो महिना चाँडै घाम अस्ताउने हुनाले पनि मानिसहरु चाँडै खाना खाएर सुतिसकेका थिए । मसँग घडी थिएन । घरमा पुग्दा कति बज्यो थाहै भएन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

