तीस वर्ष जागीर खाएर रिटायर्ड भएँ । भोलिपल्ट व्यवहार सबै परिवारलाई सुम्पिएर घर छोडेर हिँडेँ म ।

छोरा अस्ट्रेलिया पढ्न पठाउँदा ऋण लागेको थियो । जागीर छोड्दा धेरथोर उपदान आउँथ्यो । त्यही पैसा निकालेर सापटी तिर्ने योजना मुताबिक जागीर छोडेँ । दुई छोरा थिए एउटा सिद्धार्थ अर्को अमित । अमित पहिल्यै ईश्वरको प्यारो भो। हामीलाई छोडेर गयो, धेरै टाढा र कहिले फर्केन । ऊ स्कुलबाट घर आउला कि भने जस्तो लाग्छ र चोकमा गएर एक्लै साँझमा झोक्राएर बस्छु। थाहा थियो ऊ कहिले आउँदैन । खै, किन हो ऊ बसबाट ओर्लने चोकमा मलाई जान मन लाग्छ । उसलाई छोडन आउने बस त्यही बाटो भएर फर्किन्छ। म मज्जाले रुन्छु। साँझ चिसो आँखा लिएर कोठरीमा फर्किन्छु। अब उसको माया पनि मैले सिद्धार्थमै खन्याएँ ।

सिद्धार्थ अस्ट्रेलिया गएपछि ममा फेरि विचलन आएको थियो । ऊ गइसकेपछि खोइ किन हो ममा एउटा विरक्तीपनले जरा गाड्यो । जागीरको अन्तिम दिन बिदा भएर आउँदा सब साथीहरूले बिदाइ गरे । कसैले खादा ओढाए, कसैले माला लगाइदिए , कसैले अबिर दलिदिए । सबैले मन दुखाए । तपाईं हुनुहुन्थ्यो र पो हामीलाई सजिलो थियो भने सब साथीहरूले ।

बिदाइको अन्तिम पलमा केही शब्द बोल्दै हाकिम साहेबले ढलोटबाट निर्मित सिद्धार्थ गौतमको मूर्ति मेरो हातमा थमाउनु भो र हात मिलाउँदै भन्नु भो- ” गौतमजी, तथापि तपाईं भोलिदेखि अफिस आउनुहुन्न, घरमा बस्दा बस्दा वाक्क दिक्क लाग्यो भने यिनै सिद्धार्थलाई हेरेर बस्नी है ”

अहिले नै बोल्लान् जस्तो शान्त सिद्धार्थको मूर्ति झोलामा हालेर अफिसबाट निस्किएँ म । घर पुग्दा साँझ परिसकेको थियो । निधारमा पसिनाले बगाएको सिन्दुरको रातो धर्सो लत्पतिएको थियो । तीस वर्ष अनवरत काम गर्दा कहिले पनि पुरस्कृत र स्यावासी नपाएको म । आज जागीर छोडेर आएको दिन सिन्दुरे धर्सो ! श्रीमतीले कहिले पनि देख्न पाइन उसको लोग्नेले राम्रो काम गरे बापत मिल्ने पुरस्कार । तर आज जागीर छोडेर आउँदादेखि लोग्नेको निधारभरि अबिर । जिन्दगीमा कहिले घुस खाइनँ । सबैभन्दा ठुलो कुरा कसैसँग दुस्मनी पनि भएन । मैले गरेको राम्रो कामको पुरस्कार सधैँ हाकिमले लिन्थे । अपजस चाहिँ मैले लिन्थेँ ।

जागीर पनि छोडियो । एउटा बोझ बिसाएँ । अब कहिले फर्किनु पर्दैन त्यो अफिसमा । सधैँ सर भनेर कसैलाई बोलाउनु जरुरत छैन अब । सप्रिएको कामको जस हाकिम लिने । बिग्रेको कामको अपजस मैले लिने । यही परम्परा हुन्छ कार्यलयमा । साना तहका कर्मचारीहरु दासको जिन्दगी भोग गर्छन् । जागीर खाउन्जेल विशुद्ध जागिरे मात्रै भइयो । कुनै संघ, संगठनमा लागिएन। त्यसैले अवसर पनि पाइएन । दुखेसो छैन केही । मेरोमा आउने सेवाग्राहीलाई कहिले पनि अँध्यारो मुख लगाएर पठाइनँ । त्यही हो मेरो खुसी । कमाउन सकिनँ । तलब मात्रैले बचाए मेरो परिवारलाई । धेरै पैसा कमाउनु पर्छ भनेर मनमा कहिले पनि लागेन । घुस खाने हाकिम साबहरुका छोराछोरी बिग्रेका देखेको थिए । धनी भएर छोराछोरी बिगार्नुभन्दा गरीब भएर छोराछोरी सपार्नु नै राम्रो रे छ अहिले आएर बुझेँ ।

जिन्दगीको उत्तरार्धतिर पुग्न लागेपछि जुगुप्साहरु मर्दै जाँदा रहेछन् । लोभ मरेपछि हिरा नै मिले पनि किरा हुँदोरहेछ । छोराछोरी हुर्किसकेका छन्, गरी खालान् । जागीरसँग गाँसिएको नाता पनि छुट्यो । घरबाट पनि निस्किए । एउटा मीठो विश्रान्ति आँखाभरि बोकेर । आमा हुनुहुन्न बितिसक्नु भो। अब मेरो बाटो कसले छेक्ने जब कि मैले नै मेरो बाटो फुकाइसकेँ ।

झोलामा केही किताब थिए । केही लुगा फाटो थिए । एउटा डायरी थियो । छोरा सिद्धार्थसँगै बनाएको पासपोर्ट थियो । एउटा परिचय पत्र बोक्नुपर्छ भन्ने लागेर पासपोर्टसँगै लिएर हिँड्थेँ। तीस वर्ष काम गर्दा पाएको सम्झनाको चिनो थियो सिद्धार्थको मूर्ति । सबैभन्दा माया मलाई त्यही सिद्धार्थको थियो ।

विगत केही वर्षदेखि मैले कपाल काटेको पनि थिइनँ । गुन्द्रुकजस्तो कपाल तह लगाउन एउटा काहियो पनि थियो झोलामा । जिन्दगीको तीस वर्षसम्म म मेरो कपालजस्तै गुजुल्टो परेर भित्रभित्रै निस्सासिएर पो बाँचेको रहेछु । दिमागमा अब बाँकी बोझ केही थिएन । केवल जागीर जागीर मात्रै भन्दै बसिरहेको रहेछु । अब म अघाएँ । अति भो । मलाई फकिर भएर निलो आकाशतिर फर्किएर हिंड्न मन लाग्यो । हिँड्ने बेलामा घरका कसैलाई भेटिनँ । परिवारलाई एक वर्षदेखि मैले भन्दै आएको थिएँ कि जागीर छोडेको भोलिपल्ट म केही समयको लागि बाहिर जान्छु भनेर । बेलुकी नै सबै हिसाबकिताब बुझाएँ श्रीमतीलाई । अर्को बोझ पनि हलुको बनाएँ ।

सिद्धार्थलाई झोलामा बोकेर म निस्किए भोलिपल्ट । मैले सोचेँ जिन्दगीको यो एउटा प्रयोग पनि थियो मेरा लागि । घर नभए पनि बाँच्ने अभ्यासमा । पैसा नभए पनि हाँस्ने अभ्यासमा । अभावमा पनि रमाउन सक्ने अभ्यासमा । खाना नखाए पनि बाच्ने अभ्यासमा । मानिसभन्दा टाढा भएर बाँच्ने अभ्यासमा । जिन्दगी एउटा अभ्यास मात्रै त हो । तर हामी जहिले पनि परम्परामा बाँचिरह्यौँ । रोग लाग्यो भने के होला , खान नपाए के होला , मानिसको सङ्गत नभए के होला, आदि इत्यादि कुराहरू मनमा फिटिक्कै आएन । खै, किन हो । म निस्किएँ। मध्यान्ह भएको थियो ।

झोला भिरेँ पछाडि । मात्रै मसँग एक बोतल पानी थियो । पैसा पनि थिएन खासै बोकिनँ । मुस्किलले दुई चार सय थियो होला । हिँड्ने बेलामा अफिसबाट आएको अन्तिम तलबको चेक खल्तीमै थियो । त्यो लुगा घरमै छोडेर हिँडे किनकि मैलो थियो । धुन खोज्लान् चेक पानीले भिजाउँला । पानी सँगै धोएछन् भने पनि पिर छैन । हिजो कारिन्दा थिएँ सबथोकको पिर थियो आज फिरेङ्गे छु के को चिन्ता । खल्ती खाली । विचार खाली । बाटो खाली । मन खाली । सबै जन्जाल र भौतिक प्रपञ्चबाट मुक्त भएपछि कतै कुनै कुराको अवशेष रहन्न । आनन्द आइरहेछ । एक्लै एक्लै फिरन्ते जोगीजस्तो । भोगबाट ,लिप्तताबाट ,जुगुप्साबाट , सारा प्रपञ्चबाट किनारा लागेँ म । दुखको शेष केही रहेन अब । मानिसका सिर्फ दुई स्थान मात्रै बस्न लायक हो कि घर कि जङ्गल ।

मानिस विरक्तिएर घरबार त्याग गर्ने हो । तर म बिरक्तिएको छैन।

यो त सिर्फ म मुक्तकामी हुनका लागि गरिएको अभ्यास हो । म भोलि घर फर्किन पनि सक्छु । म भोलि जङ्गलमै विलय हुन पनि सक्छु । घर छोडेर म कुनै ज्ञान आर्जन गरुँला भन्ने पनि छैन ।

ज्ञान आर्जन गरेर हुने भए मान्छे किन यति धेरै आज्ञानी, यति धेरै दयाहीन यति धेरै भ्रष्ट र पापी हुन्थे । बलात्कार हुँदैनथ्यो होला , घुस खानी हुँदैनथे होलान् । सामानमा मिसावट हुँदैनथ्यो होला।

दाइजो दिन पर्ने बाध्यताले छोरीका असंख्य भ्रुणहरु आमाको पेटमै मारिँदैनथे होलान् । सत्ताको लोभका कारण हजारौं निर्दोष मान्छे मारिन्नथे होलान् । ज्ञान त बुद्धले जस्तै आफैँ कमाउने हो । कमाउने त ज्ञान हो तर मान्छे नमरिन्जेलसम्म केवल सम्पत्ति मात्रै कमाउँछ ।

सपनामा म जहिले पनि उत्तरतिर गएको देख्थेँ । किन उत्तरतिर गएको मात्रै सपना देखेको हो भनेर मैले आमालाई सोधेको थिएँ आमा जीवित नै रहँदा । आमा भन्नुहुन्थ्यो, “उत्तरतिर भगवानहरुको बास हुन्छ, राम्रै सपना देखेछौ ।”

यो रहस्यमय कुरा सुन्दा म पुलकित हुन्थेँ । त्यति बेलैदेखि मलाई उत्तरतिरको यात्रा गर्न मन लागेको थियो । हिमाल मलाई अति नै प्रिय लाग्थ्यो । मलाई हिमालयले बोलाएर होला सधैं उतै मात्रै गएको देख्थे सपनाहरूमा । नभन्दै आजको मेरो यात्रा हिमालयतिरै भयो ।

सिद्धार्थलाई बोकिरहेछु । ऊ झोलामा चुपचापले बसेको छ । एउटा साथी छ मेरो हिमवतखन्डको यात्रामा । उसलाई भोक लागेको छैन । ऊ बोल्दै बोल्दैन । ऊ छ मसँग । साथी उही हो मेरो । तर चुपचापले बसेको छ । यस्तो लाग्यो सिद्धार्थलाई धेरै थकाइ लागेको छ । लामो निद्रामा छ । यस्तो मीठो निद्रा उसले कहिले पनि सुत्न पाएको थिएन । करिब पाँच घन्टा लगातार हिँडेपछि जङ्गलको छेउमा एउटा तामाङ बस्ती आयो । अँध्यारोमा हिँड्न पनि गाह्राे भो । बेलुकीको पाहुना देखेर एकजना तमाङनीले उतै बसौँ भनिन् । हेर्दा खाइलाग्दी थिइन् । लोग्ने थिएन घरमा । बच्चाहरु थिए दुइटा । लोग्नेले अर्की ल्याएर बेग्लै बस्छ भनिन् तिनले । दुखी थिइन् तिनी । सोचेँ मैले, न म सुखी न उनीहरू सुखी । न यो तामाङनी खुसी । सबै सबै दुखी मात्रै देख्छु।

भोलिपल्ट बिहानै हिँड्न खोजेँ । ब्याग छामेको सबै कुरा छ तर मेरो सिद्धार्थ चै थिएन । बेलुकी सुत्नु अगाडिसम्म त थियो । सिरानीमा राखेर सुतेथेँ सिद्धार्थलाई । त्यो बैनीलाई सोधपुछ गरेँ । थाहा छैन भनिन् ।

पिर पर्यो । छट्पटी भयो । अशान्त भयो मन । बाहिर पिँढीमा सुतेको थिएँ । भित्र गएर हेरेको त पानी राख्ने गगरेटो माथि टुसुक्क चुपचापले शान्त भएर बसेको देखेँ सिद्धार्थलाई । भुराहरुको काम होला भनिन् तिनले । सिद्धार्थ धन्न चोरी हुनबाट जोगियो । अब जे भने पन, यिनै सिद्धार्थ साथी हुन् मेरा । सिद्धार्थलाई झोलामा राखेर हिँडेँ ।

यति धेरै हिँडेछु कि अब एक दिनमा म हिमाल नजिक पुग्छु । एक्लै थिएँ बाटोमा । बिन्दास थिएँ । मनमा रत्ती पनि डर थिएन । भोक लागेको थियो । खाने ठाँउ कतै थिएन । जंगली बाटो हुँदै जाँदा कतै कालिज देखिन्थे, कतै मलसाप्रो कतै हिम चितुवा कतै स्याल देखिन्थे । सिद्धार्थ झोलामा आनन्दले बसिरहेको थियो। म एकोहोरो हिँडिरहेको थिएँ ।

गोसाइँकुण्ड गाउँ पालिका लाङटाङ पुग्दा सूर्य एक हात मात्रै थिए डुब्नलाई।

एउटा गुम्बामा पुगेँ म ।

सिद्धार्थ पनि भोकाए जस्तो लाग्यो । ब्यागबाट झिकेँ । सिद्धार्थलाई पसिना आएको जस्तो लाग्यो । यसो छामेँ , के ज्वरो पनि आए जस्तो लाग्यो । बोल्दैन शिद्धार्थ । म मात्रै बोल्छु उसँग । हिमालयदेखि छ्ल्केर आएको उज्यालोले गुम्बामा एकप्रकारको चमक छाएको थियो । केही लामा दाइहरु थिए । त्रिपिटक अध्ययन गरिरहेका । दुई आनीहरु पनि थिए । कपाल मुडोलो थियो तिनका । एकजना ध्यान मग्न थिए विदेशी पनि देखेँ । रिचर्ड मन । तिनी गेरु बस्त्रमा थिए । हेर्दाहेर्दै उनी ध्यानको त्यो रहस्यमयी गहिराइमा पुगे कि तिनका आँखाबाट बलिन्द्र आँसुका धारा बगिरहेका थिए ।

शान्त थियो वातावरण । चिवर लगाएका दुई बुद्धमार्गी मेरो नजिक आए र सोधपुछ गरेँ । मैले परिचय दिएँ । सिद्दार्थलाई झोलाबाट निकालेँ ।

एउटा अद्भुत प्रशान्ति छल्केको देखेँ मैले त्यो मुर्तिरुप सिद्धार्थमा । ओठबाट शब्दका वाणीहरु चुहिएलान् जस्तो । अरु सामान्य मूर्ति जस्तो थिएन यो मूर्ति । गुम्बाको शान्तिमा यो सिद्धार्थको मूर्तिले अरु थप आनन्द थप्यो । ध्यानाकषिर्त गर्यो सबको यो मूर्तिले । दावा ग्याल्म्यो लामा दाइ र रिचर्ड ध्यानबाट उठे । मैले सिद्दार्थको मूर्तिलाई स्टेज अगाडि राखेँ । सबैले हेरे त्यो मूर्तिलाई ।

सिद्दार्थको वयस्क बेलाको मुहारको अनुकृति थियो मूर्ती । रिचर्डले छोए मूर्तिलाई । अनि ऊ मुसुक्क हाँस्यो । आनीहरु पनि दङ्ग परे । बेलुकी भोजनको समय सुरु भयो । रिचर्ड र मेरो राम्रो परिचय हुँदै गयो ।

एकाएक सिद्धार्थ प्रसिद्भ भयो । सबको ध्यान यही मूर्तिरुपी सिद्धार्थमाथि हुन थाल्यो । जब यो गुम्बामा सिद्धार्थको प्रवेश भयो सबको मन ध्यानमा स्थिर रह्यो । “अप्पो दिप भव” लेखिएको थियो मेरो सिद्धार्थको मूर्तीमा र अनि पीँधमा “सम्झना स्वरुप मायाको चिनू गौतमजीलाई” भनेर लेखिएको थियो । कस्तो अचम्म थियो कि मलाई भगवान गौतम अति मन पर्ने भएकोले थर पनि गौतम राखेको थिएँ । मलाई थाहा थियो कुनै बेला म गृहत्याग गर्छु भन्ने । मनमा छाएको विरक्तिपनबाट मुक्ति पाउन म हिमाल यात्रामा निस्केको मान्छे आज गुम्बामा छु । यो मूर्तीमा म मेरो छोरा देख्छु । यो मूर्तिमा म मेरो हराएको शान्ति देख्छु । यो मूर्तिमा म लुम्बिनीको आलोक देख्छु । यही मूर्ति हो मैले जिन्दगीभर जागिर खाँदा पाएको असली सम्मान । यही मूर्ती हो मेरो पुरुस्कार । तीस वर्षको मेरो इमान्दारीता प्रतिबिम्ब भई छल्केको छ मेरो सिद्धार्थको आँखामा । कतिले त मलाई बौलाहा पनि भने। साच्चै इमान्दारहरु बौलाहा नै हुन त ? आज जे होस् एउटा अनौठो प्रशान्ति मिलेको छ मलाई अरुले जे भनून्।

रिचर्ड नेपाली बुझ्थ्यो । ऊ अस्ट्रेलियाबाट यता घुम्न आएको रहेछ । उसको घर अस्ट्रेलियाको नर्थ सिड्नी रहेछ ऊ बुद्ध मार्गी भएको धेरै वर्ष बितिसकेको थियो । धेरै चोटि लुम्बिनी आउँदा जादा उसले सिङ्गो नेपाल र नेपालीलाई माया गर्न थालेको रहेछ । पहिरन साधारण तर उसको व्यवहार वचन बुद्धमय थियो । मैले मेरो छोरो सिद्धार्थ पनि अध्ययन गर्न अस्ट्रेलिया गएको छ भने । यो गुम्बा बनाउन उसले ठुलो सहयोग गरेको रहेछ । त्यसैले सबले रिचर्डलाई मान्दा रहेछन् ।

घरसँगको मेरो सम्बन्ध बिच्छेद भएको छ । म गुम्बामा रमाउन थालेँ । एक दिन बिहानै गुम्बाबाट मेरो सिद्धार्थ हरायो । सिद्धार्थ चोरी भयो भनेर आनीले एका बिहानै भनिन् । ध्यान सबैको सिद्धार्थतिर गयो । रिचर्ड पनि अचम्मित भयो । सबैले अर्चना गर्ने सिद्धार्थ कसरी हरायो । यस्तो लाग्यो कि सिद्धार्थ हराउँदा सबको मुटु हराएको छ।

बेलुकी प्रार्थना सभा सक्तासम्म कोठामै थियो सिद्धार्थ । तर भोलिपल्ट एका बिहान नै सिद्धार्थ, यथास्थानमा थिएन। सिद्धार्थको व्यापक खोजी भयो । सिद्धार्थ हराएको तीन दिन भयो तर भेट्न सकिनँ मैले । अनर्थ भो । मभित्र रहेको शान्ति भङ्ग भो । रिचर्ड पनि झोक्राएको देखेँ । गुम्बा पवित्र स्थलबाट नै सिद्धार्थ हराएपछि हामी कति इमान्दार रहेछौँ त ? सबले एकले अर्कामाथि शंका गर्न थाले । दुई आनीहरुमाथि शंका छ भन्छ रिचर्ड मलाई। तर कसरी गर्नु ? सिद्धार्थको खानतलासी जारी रह्यो । रिचर्ड तल तामाङ्ग गाउँ घुम्दै जाँदा एकजना गाउँको दादागिरीसँग उसको झगडा परेछ। सिद्धार्थको मूर्ती हरायो गुम्बाबाट, तिमीले कतै देख्यौ कि पायौ भने गुम्बामा खबर गर न भनेर अनुरोध गर्दा मरणासन्न हुनेगरी पिटेछ । बेलुकी रिचर्डलाई ज्वरो आयो । करिब पन्ध्र दिन थला पर्यो रिचर्ड । त्यो अवधिमा उसको सम्पूर्ण सेवा गरेँ मैले । मेरो रात दिनको निद्रा हरण भयो सिद्धार्थ हराएपछि ।

सिद्धार्थको त्यो मुस्कान सम्झिन्छु । सिद्धार्थको त्यो सम्यक आँखा सम्झिन्छु । आफ्नो छोराको बिम्ब देख्थेँ म हरेक पल त्यो शान्त मूर्तिस्वरुपमा । एउटा जाबो मूर्ति हराउँदैमा किन चिन्तित गौतम बाजे भन्थी आनी र अरु लामाहरु । रिचर्डलाई निको भयो ।

एक दिन साँझ प्रार्थना सभाबाट भित्र भोजन कोठामा जाँदा रिचर्डले मलाई, ” गौतम ! सत्य हराएको यो गुम्बामा अब मलाई धेरै दिन बस्न मन लागेन म, अस्ट्रेलिया जान्छु । तिमी पनि मसँगै जानी भए हिँड ” भन्यो ।

म पनि छोराको यादमा तड्पिरहेको थिए । यता सिद्धार्थ हराउनु उता रिचर्डले अस्ट्रेलिया हिँड भन्नू कस्तो सन्जोग हो यो !

गुम्बाभित्रका सबै लामा र आनी अनि म र रिचर्ड दुखित थियौँ । त्यो सिद्धार्थको असमान्य मूर्ति थियो । हाम्रा सबै बलबुद्धि सिद्धार्थ खोज्नमा लाग्यो तर पाउन सकिएन ।

जुन केटासँग रिचर्डको झगडा परेको थियो, त्यही केटाले एक साँझ सिद्दार्थ बोकेर आयो । उसको आखामा आँसु थियो । आफ्नो प्रायश्चित स्वीकार गर्यो । बेलुकी प्रार्थना सभामा ऊ पनि उपस्थित भएको रहेछ । उसलाई लागेछ यो मूर्ति सुनको हो र बेचेर पैसा कमाउने तर मूर्ति घरमा लगेपछि उसकी श्रीमतीले बुद्ध मूर्ति चोर्नु भनेको घोर अपराधमा फस्नु हो र योबाट पारिवारिक दुख आइलाग्छ भनिन्छन् । र दुई दिन पछि बुद्ध मूर्ति बोकेर त्यो तामाङ भाइ आयो र भन्यो “मबाट भुल भयो हजुर ।”

मेरो सिद्धार्थ मलाई मिलेपछि म यति धेरै खुसी भएँ कि बिहानको हिमालजस्तै उज्यालो भएँ म । सारा गुम्बाका मानिसहरू खुसी भए । रिचर्ड झन् धेरै खुसी भयो । सिद्दार्थको ओठबाट निस्केको मृदुल मुस्कान हामीतिर विस्फारित भयो । हामीमा छाएको अन्योलताको अन्त भयो । मूर्ति चोर्ने गाउँका दादागिरी पनि गुम्बाको शरणामा आए । बुद्ध पथमा हिँड्न चाहे । शान्ति र सद्भावना फैलाएर बाच्न चाहे । अब हरेक दिनको ध्यान सभामा उनीहरु पनि आमन्त्रित भए जो गाउँको शान्ति भङ्ग गर्दै हिँड्ने गर्थे ।

केही समयपश्चात् रिचर्डले मेरा लागि भिसाको प्रबन्ध गर्यो ।

हामी दुवै अस्ट्रेलिया गयौँ । जिन्दगीमा पहिलोचोटी हवाई यात्रा गरेँ मैले । छोरो गएको पनि डेढ वर्ष बितिसकेको थियो । उसलाई पनि आफ्नो बाबुलाई भेट्ने उत्कट मन थियो । करिब चौध घन्टा उडिसकेपछि हामी अस्ट्रेलियाको सिड्नी सहर पुग्यौँ । हिमालय पर्वततिरै जिन्दगी बिताउँछु भनेर हिँड्ने मान्छे म । सभ्यताको त्यो उत्कृष्ट सहरमा पुगेँ जहाँ मानव सभ्यताको उच्च आधुनिकता भेटिन्थ्यो । छोराको खोजी भयो । तर उसको मोबाइल स्वीच अफ थियो ।

त्यो दिन रिचर्डले आफ्नो अपार्टमा लिएर गयो । उसको घरमा एउटा अलग शान्ति भेटेँ मैले । शान्त समुद्रकाे किनारमा अवस्थित एउटा सानो तीन कोठाको घर । नेपाली स्टाइलले बनाएको नेपाली संस्कृति झल्काउने रहेछ । रातो माटोको जस्तो कलर लगाएको । पिँढी आँगन सानो बगैँचा । ढोकामा कल राखेको । एउटा पूर्वीय सभ्यताको आलोक पाए त्यहाँ । आँगन नजिक बगिरहन्थ्यो सामुद्रिक चिसो हावा । बार्दली पनि थियो । पालीमा लालटिन झुन्डिएको थियो । आँगनको पर्खालमा लहरै पुँजिएका बुद्धका मूर्तिहरु देख्दा यस्तो लाग्यो कि म सिद्धार्थको घर लुम्बिनीमा छु, अब यतै ध्यान गरुँ ।

उसले एउटा कोठामा विपश्यना ध्यान गर्ने स्थान बनाएको रहेछ । आँगनीमा तुलसीको मठ थियो ।

उसले भन्यो, “तुलसीको पातबाट धेरै अक्सिजन प्राप्त हुन्छ हामीलाई । ध्यान गर्दा पनि ऊ तुलसीको बोट नजिक जान्थ्यो ।”

एउटा विदेशीको नेपाली धर्म संस्कार र शान्तिप्रतिको अविरल मोह देखेर मलाई अचम्म लाग्यो ।

भोलिपल्ट उसले नै छोरा सिद्धार्थको मोबाइलमा फोन लगायो । घण्टी गयो । फोन उठ्यो । आफ्नो परिचय दियो । म बोलेँ, सिद्धार्थसँग । सिद्धार्थ खुसी भयो । त्यही दिन सिद्धार्थ मलाई भेट्न नर्थ सिड्नी आयो ।

छोरा देखेर अचम्मित भएँ । जस्तो जुन रुप र चेहरामा पठाएको थिए मैले, अस्ट्रेलिया त्यो केही बाँकी थिएन उसमा। बिहानको घामजस्तो भरिलो र चम्किलो मुहार थ्यो, तर आज बाँकी केही थिएन । यस्तो किन भयौ बाबू भनेर मैले सोधपुछ गरेँ, उसले जवाफ दिँदै गयो । उसका ओठ काँपिरहेका थिए । रिचर्डले पनि उसलाई यथार्थ कुरा भन्न अनुरोध गर्यो ।

उसले भन्यो, “… बाबा जब म अस्ट्रेलिया आए मलाई थाहा छ अब म जसरी नि पैसा कमाएर तपाईंको ऋण तिर्नेछु । पढाइ मेरो प्राथमिकतामा परेन । म दुई ठाँउमा जागिर खान थालेँ । कलेजले पूरा समय नपढेको भनेर निकालिदियो । त्यसपछि म इलेगल भएँ । एउटी केटी साथी बनिन् । उनीसँग पिआर थियो, पढाइ पनि थियो । मैले पनि आफू लिगल हुनको लागि उनीलाई नक्कली माया गर्न थालेँ । उनी मेरो मायामा फसिन् । हामी दुईसँगै बस्न थाल्यौँ । मलाई पुरै विश्वास गरिन् । मेरा नेपाली साथीहरू त्यस्तै थिए सब मोज मस्ती गर्ने । कमाएको पैसा सक्काउने । म अब ऊबाट मात्रै सन्तोष हुन सकिनँ, किनकि मलाई छिटोभन्दा छिटो पिआर चाहिएको थियो । मैले अर्की केटीसँग पनि सङ्गत गर्न थालेँ ।

मैले पहिलो केटीलाई दोस्रो केटीको बारेमा केही थाहा नै दिएको थिइनँ । एक दिन अचानक कोठामै ल्याएको बेलामा पहिलो गर्लफ्रेन्डले रङ्गेहात समातिन् । पहिलो केटी मलाई छोडेर गइन्, मलाई विश्वासघाती भन्दै । अब दोस्रो केटी बनिन् मेरो साथी। हामी कमाएको पैसा मोज गर्नी ,रक्सी खाने ,पार्टी गर्ने ,पोकर खेल्ने गर्न थाल्यौँ । अहिले हामी दुवै इलिगल बसिरहेका छौँ । जुन उद्देश्यले तपाईंले मलाई ऋण गरेर यहाँ पठाउनु भो त्यो प्राप्ति मैले गर्न सकिनँ । पहिला मलाई तपाईंले ऋण गरेर यहाँ पठाउनुभएको ऋणको भार चुक्ता गरेर मात्रै अनि पढाइ अगाडि बढाउँछुभन्दा म चुक्न पुगेँ बुबा । म असन्तुष्ट हुँदै गएँ । केटी साथी फेर्ने बानी बस्यो । आज मसँग न शिक्षा छ न पैसा नै छ ।

मैले भयंकर गल्ती गरेँ बुवा । अब प्रायश्चित गर्छु । म सुधार्छु आफूलाई बुबा …न मैले हजुरको ऋण नै तिर्न सके न राम्रोसँग शिक्षा आर्जन नै गर्न सकेँ । मान्छेलाई स्वतन्त्रता बढी भयो भने बिग्रँदोरहेछ । थुप्रै बिग्रेका छन् नेपाली विद्यार्थीहरु यहाँ । लिभ इन रिलेसिनसिप भन्छन्, महिनै पिच्छे केटा केटी फेरिरहने आदत बसेको छ कतिको । नेपालमा नमिलेको अनौठो स्वतन्त्रता मिल्छ यहाँ । अनि त्यही स्वतन्त्रता बन्छ प्रगतिको तगारो …।”

मेरो छोरा सिद्धार्थका गहबाट आँसुका बलिन्द्र धारा बगिरहेका थिए । रिचर्ड पनि यो घटनाले सशंकित भयो । म रोएँ । मेरा आँखाबाट आँसु तप्के। मेरो छोरो सिद्धार्थ अस्ट्रेलिया गएर विद्या आर्जन गर्छ, देशको इज्जत राख्छ ,परिवारको इज्जत राख्छ ,पैसा कमाउँछ, हाम्रो गरिबी हट्ने छ भन्ने सपनाहरू देख्थेँ तर ती सब चकनाचुर पाएँ । एक वर्षसम्म पनि उसको प्रगतिको कुरा नसुनेपछि उसैको ऋण तिर्न मैले अवकाश लिएको थिएँ । उसको ऋण तिरेँ । विरक्तिएर घर नै छोडेर हिँडेँ । शान्ति खोज्दै उत्तर हिमालयतिर लागेँ । गुम्बामा बसेँ । रिचर्ड जस्तो आत्मीय साथी भेटेँ । तर तिम्रो यो चाल छोरा म कसरी मन बुझाउन सक्छु आफूलाई बाँकी कुरा तिम्रो हो । भविष्य  बिगार्ने सपार्ने तिम्रो कुरा । अर्ति दिएँ सिद्धार्थलाई । झोलाभित्र भएको सिद्धार्थको मूर्ति ढोगाएर मैले उसलाई वाचा गर्न लगाएँ कि अब आइन्दा कुबाटोमा हिँड्ने छैन भनेर । उसले सिद्धार्थलाई नमन गर्यो ।