लोग्ने स्वास्नीको बोलचाल नभएको लगभग पन्ध्र दिन भइसक्यो । घरमा शून्यता छाएको छ । छोरा, छोरीहरु पनि आ-आफ्नो कामतिर लागेका छन्। बस घरमा शून्यता छाएको छ। भित्र भान्सामा ग्याँसमा भात, दाल पाक्दै हुन्छ। श्रीमती चाँहि भान्सामा धान्धागर्दै हुन्छे। चिया भक्भक उम्लिरहेको आवाजसँगै बाहिरसम्म मग्मग इलामेली चियाको बास्ना हरर आएर श्रीमानको नाखसम्म ठोक्किन्छ। ऊ त्यसै पनि चियाको पारखी दिनमा दशौँ कप चिया दिए पनि नाईं नभन्ने तर आजकाल भने उसको चिया पिउने बानी छुटेजस्तै भा’छ । कारण श्रीमतीले चिया पकाए पनि लोग्नेलाई चिया खाने ? भनेर सोध्नैछाडेकी छे । हुन त अरुबेला पनि ऊ कतिकी पो लोग्नेको ख्याल गर्ने हो र !

पारिवारिक शीतयुद्धको कारण घर त खण्डहरझैं लाग्दथ्यो। सास फेरेको स्वाँस्वाँ आवाजबाहेक कसैले बोलेको सुन्न नै मुश्किल पर्थ्यो। घरमा कोही मान्छे आए पनि बाहिरबाट नै उनीहरुलाई मात्र औपचारिकता पुरा गरेर बिदा गरेर पठाइदिन्थे । यसरी उनीहरुको जीवन चर्खा चलिरहेको थियो, मानौं उनीहरु मात्र सम्झौतामा लोग्ने,स्वास्नी भनिएका हुन् । वास्तवमा उनीहरु त्यो सम्बन्धका मात्र देखावटी पात्र हुन् झैं अभिनयमा बाँचिरहेका थिए ।

श्रीमान दिनभर के गर्छन् ? के खान्छन् ? श्रीमतीलाई मतलब थिए । श्रीमती दिनभर कहाँ गफ छुट्न जान्छे ? श्रीमानलाई वास्तै हुन्नथ्यो । यसरी नै उनीहरुको गृहस्थी चलिरहेको थियो । तर समयको बेगवान हुरी कहिले कहाँबाट चल्छ ? त्यो कसलाई थाहा हुन्छ र ? त्यस्तै हुरी उनीहरुबीच पनि चल्यो ।

अनायास श्रीमान झोक्र्याएर बस्न थाले हुन् त उनी अरुबेला पनि शालीन र शान्त स्वभावकै थिए धेरै नबोल्ने । तर बिरामीले निक्कै च्याप्न थालेदेखि उनी कोठाबाट निस्कनै छाडे । सिरक ओढेर ओछ्यानमा नै लडिरहन थाले र पनि श्रीमतीलाई भने त्यति चासो थिएन। किनकी उनलाई यो नौलो कुरा नै भएन न त केही भए पनि सोध्ने चलन नै थियो । एकदिन, दुईदिन गर्दा गर्दै उनी निक्कै थलिए । तर डाक्टर बोलाउने, हस्पिटल लैजाने चलन त हत्तपत्त अरु बेला पनि थिएन नै । निक्कै दिन श्रीमान चल्मलाउन छाडेपछि बल्ल श्रीमतीको मनमा ढ्याङ्ग्रो बज्न थाल्यो र गाउँघरमा हार गुहार मागेर नजिकैको हस्पिटल पुर्याएछन् । तर रोगले भित्रभित्रै जरो गाडिसकेको रहेछ।

बल्ल श्रीमतीको आँखा खुलेझैं भयो। बेलैमा श्रीमानलाई सोधीखोजी गरेकी भए आज यो अवस्थामा श्रीमान पुग्ने थिएन भन्ने गुनासो मनमा गडिरह्यो । ऊ पश्चातापको भुमरीमा ढल्पलिन थाली । ऊभित्र यस्तो अहंमता थियो कि -“म पनि त सरकारी जागिरे हुँ नि !ऊभन्दा म के कम ? बरु ऊ पो बेगारी छ त !” ऊभित्र यस्तै अंहकार गडिएको थियो र ऊ श्रीमानभन्दा म के कम ? भन्ने भावनाले ग्रसित थिई । तर श्रीमान भने भित्रभित्रै केही न केही गरेर पैसा आर्जन गरिरहेकै हुन्थे । त्यति मात्र नभएर पुर्ख्यौली सम्पत्ति पनि थियो ।

श्रीमान्, श्रीमतीबीच नै घरायसी सरसल्लाहा, कुराकानी, भावी योजना नभएपछि एकार्काको व्यवहार कसरी थाहा हुनु ? कतिपय गाउँघरका छिमेकी,आफन्तहरुलाई उनीहरुको यस्तो व्यवहार र सम्बन्धबारे ज्ञात थियो र कुरा पनि गर्दथे । यसरी पनि घर व्यवहार, जिन्दगी चल्छ र ? भनेर । तर चलेकै थियो उनीहरुको व्यवहार नबोलेर पनि एकै ओछ्यान नभएर पनि।

आखिर मनभित्र कसैको स्थान नभएपछि फरक पनि नपर्दो रहेछ । उनीहरु एउटै छतमुनि बसेर पनि मनको दुरीमा बाँचेका थिए । श्रीमतीले अलिकति पनि आफ्नो नारी मनलाई झक्झकाइन कि,जे भए पनि यो घर दुई मनमुटु र दुई ज्यान मिलेर बसेको हो। लोग्ने मान्छे भनेका बारका घोंचा हुन्। घर सम्हाल्ने त आखिरी नारी नै हो भनेर । जस्तोसुकै निरङ्कुश लोग्नेलाई पनि आफ्नो कोमल व्यवहारले जित्नु पर्छ भन्ने उसको मनमा कहिल्यै पलाएन । त्यही पनि उसको श्रीमान भने त्यस्तो निरङ्कुश र निर्दयी पक्कै थिएनन्, बस् मात्र उनी अबोला र शालीन थिए भने श्रीमती ठिक विपरित ।

यस्तै विपरित सोच, विपरित चालचलन, विपरित व्यवहारको कारणले नै त्यो दम्पतिको घर, घर नभएर खण्डहरझैं थियो। छोराछोरीहरु आ -आफ्नो बाटोमा लागि सकेका थिए । जानेदेखि त्यही घर संसार स्वर्ग थियो तर अहंमता र अबोलापनले नै त्यो दम्पतिमा दूरी बढेको थियो।

अन्त्यमा पैसाको पोको सन्दुकमा नै सीमित रह्यो । श्रीमानको आयुले बिदा माग्यो। अल्पायुमै उनी परमधाम गए। रोग पत्तो लागेअनुसार अल्सर बल्झेर क्यान्सर हुन पुगेको रहेछ तर उनीहरुबीचमा सोधखोज कुराकानी कहिल्यै कुनै विषयमा नै नहुने हुनाले यति भयानक रोगले आसन जमाउँदासम्म उनीहरु दुवै अनभिज्ञ रहे । अन्त्यमा मनभरि आफ्नो कुराहरु बोकेरै श्रीमान नआउने बाटोमा लागे।

आज त्यही बरण्डामा बसेर म पनि ऊसँग कालो इलामे चिया पिइरहेकी छु । ऊ भन्दै छे, आँखाको डिलसम्म आँसुको दाना झार्दै – “मेरो बुढा चिया भनेपछि हुरुक्कै हुने । वहाँलाई सबैभन्दा खानेकुरामा चिया नै मन पर्थ्यो । यहीँ बसेर चिया पिउनुहुन्थ्यो । मलाई त झन्झट लाग्ने चिया पकाएर दिन, आफैँ पकाएर खानुहुन्थ्यो । बरु मलाई पनि आफूसँगै चिया बनाएर दिनु हुन्थ्यो, यहीं बसेर सँगै खान्थ्यौँ ।”

उसको कुरा सुनेर मलाई पुरानो घटना याद आयो। एकदिन म पनि कुनै काम विशेषले त्यहाँ पुगेकी थिएँ । एकछिन बसेपछि उसैको श्रीमानले श्रीमतीलाई भने – “ए कला ! चिया बनाऊ न। प्रेमाले चिया खान्छिन् होला ।”

मैले त्यो समय उहाँको अनुहार पढेँ । त्यो चिया पकाउन लाउने आग्रहमा उसले पनि चिया पाउँछु भन्ने आशा मिसिएको थियो।

एकैछिनपछि उनकी श्रीमतीले एककप चिया बनाएर मेरो हातमा दिई । मैले उनको अनुहारमा पुलुक्क हेरेँ । उनको अनुहारमा नमिठो भाव झल्किएको थियो । उनी चियाको असाध्य पारखी आफ्नी श्रीमतीले उनलाई पनि चिया दिन्छे कि भनेर उनी पनि आशामा थिए सायद ! मैले चिया समाउँदै सोधेँ उसलाई – “खै त ! उहाँलाई चिया ?”

तर उसले नसुनेझैं गरेर भित्र पसी। मलाई यति नमिठो लाग्यो कि, कस्तो मन होला ? चिया पकाउनु नै त थियो मलाई पकाइदिँदा आफ्नो श्रीमानलाई पनि एक कप चिया थपिदिँदा के बिग्रन्थ्यो ? तर त्यसो भएन। मलाई त्यो दृश्य साह्रै दर्दनाक लाग्यो। श्रीमानले अपमान महसुस गरेझैं महसुस भयो ।

आज हामी त्यही बरण्डामा बसेर चिया पिइरहेका छौँ । ऊ दुखेसो पोखी रहिकी छे – “मेरो बुढाले कस्तो चिया मन पराउने । चिया भनेपछि हुरुक्क हुने । अझ फिक्कल, इलामको चिया भनेपछि जति नै महङ्गो भए पनि किनेर ल्याउने । यी अझै पनि वहाँले ल्याएको चिया नै खाँदैछु । कत्ति छ। आफूलाई मन परेर ल्याएको चिया आफैँले खाई नसकी बित्नु भो ।” यति भनेर तुरुक्क आँसु चुहाई उसले।

मलाई पनि अब अत्ति भो। त्यहाँको अवस्थालाई पनि एकछिन बिर्सेर प्याच्चै भनें – “तिमी पनि त आफ्नो श्रीमानले के खान मन गर्नु हुन्छ बनाइदिनु । समय, समयमा चिया पकाएर दिनु । खै ! म आउँदा कहिले तिमीहरुको राम्रो बोलीचाली भएको पनि देखिनँ। एकदिन मलाई चिया पकाएर खान दिँदा त्यहीँ वहाँ हुँदा पनि दिइनौ। मलाई त्यो दिन कति नमज्जा लाग्यो। ”

मैले त्यसोभन्दा उसको अनुहारमा कालो बादल मडारिएझैं भयो । उसले पिउँदै गरेको चिया टेबलमै राखेर भनिरहेकी थिई -“हो म आफैँ पनि अभिमानको रोगले ग्रस्त भएर बाँचेकी थिएँ । मलाई कहिल्यै आफ्नो श्रीमानप्रति माया,श्रद्धा र आफ्नोपन जागेन। मलाई त लाग्थ्यो म पनि वहाँको बाटोको तगारो बन्दिनँ । वहाँले पनि मेरो बाटोको तगारो नबन्नुहोस् । त्यही अनुसार नै हाम्रो जीवनशैली चलि नै रहेको थियो। अहिले आएर मलाई ठुलो धोका र आत्मग्लानि भएको छ। वहाँले गरेका व्यवहारहरु कता कता के के छन् ?मलाई थाहा छैन। रातभर उहाँको सम्झनाले सिरानी भिज्छ। अहिले म पश्चातापको भुमरीमा मडारिएकी छु।”

उसले यति भन्दाभन्दै त्यहाँ एकजना कोही आएर भन्न थाल्याे -“दिदी भिनाजुसँग केही लेनदेन थियो । तपाईंलाई थाहा छ कि छैन होला ?” ऊ ट्वाँ परेर उक्त व्यक्तिलाई हेरर भनिरहेकी थिई -” खै ! उहाँले कता के कसो गर्नु भाको छ मलाई त केही थाहा छैन त !”

अब थाहा नभएर हुन्छ त ? कता लिने ? कता दिने ? त्यो त थाहा पाउन पर्यो नि ! भिनाजु बाँचुन्जेल तपाईंले वास्तै गर्नु हुन्नथ्यो। श्रीमान, श्रीमती भएपछि त सबै व्यवहार एकार्कामा थाहा हुनु पर्छ। अब तपाईंलाई गाह्रो भएन त ?” उसको कुराले ऊ निशब्द बनी र टोल्हाउन थाली।

मैले कुरा अर्कोतिर मोडेर भनें, “अब बिस्तारै सम्हालिँदै जानु पर्छ। बुझ्दै जानु पर्छ। अब विगतको कमीकमजोरी सम्झेर पश्चतापमा पर्नु हुन्न। अनि भन्नु होस् न त ! कुरा खोलेर। उहाँसँग तपाईंले लिनु वा दिनु के थियो त ?”

मैले उक्त व्यक्तिलाई भनेँ । उसले बडो इमान्दारिकासाथ गोजीमा हात हाल्दै भन्यो – “मान्छेले आफ्नो सर्त, धर्म छाड्नु हुन्न । मैले भिनाजुसँग पच्चीस हजार सापटी लिएको थिएँ, त्यही फिर्ता दिन आएको हूँ ।” भनेर पच्चीस हजार गनेर मेरै अगाडि उसलाई दियो ।

उक्त व्यक्तिले बिदा माग्दै भन्यो, -” दिदी अब हजुर पुरै परिवर्तन हुनु पर्छ। मन दह्रिलो बनाएर आफ्नो काम कर्तव्यमा लाग्नुपर्छ। अब झोक्र्याएर काम छैन। अब राम्रो काम,समाज सेवा गरेर समय कटाउने, किनकि भिनाजु पनि समाजमा चिनिनु भएको व्यक्तित्व हुनुहुन्थ्यो, अब भिनाजुको प्रतिनिधित्व तपाईंले गर्नुपर्छ । यति गर्नु भो भने उहाँको आत्माले पनि चीर शान्ति पाउँछ ।”

त्यति भनेर उक्त व्यक्ति बाटो लाग्यो । ऊ त्यही चियाको कपको चिया एकोहोरो हेरिरहेकी थिई । म पनि बिदा मागेर आफ्नो बाटो लागेँ ।