“ओइ काली ! जा त बाख्राहरु हेर कता गए !”

कालीको आमाले खलेमटो (खलामा बढार कुढार गरेर भेला गरेको ढुङ्गामाटो मिसिएको धान) निफन्दै अह्राइन् ।

कालीले लौरो लिएर आई र आमाको आँखामा बन्दुकको नाल जसरी राखिदिई , “यो लौरोको टुप्पोमा हेर त आमा !”

भरत सरकार

“के गर्छे यो ?”

“हेर न हेर !”

कालीकी आमाले आँखा चिम्रो पार्दै भीरतिर हेरिन् ।

“खै मैले त केही देखिनँ ।”

“तिम्रा आँखा ठिस भए आमै । त्यही लौरोको टुप्पोमा छन् तिम्रा बाख्राहरु ।”

“कहाँ, छत्रे भीरमा ?”

“छत्रे भीर ।’ नौलो नाम लाग्यो कालीलाई ।

“के भन्छिन् बुढीमाउ ! चुलिडाँडामुनि क्या भीरमा छन् ।’

“त्यै त छत्रेभीर” भन्दै हाँसे आमाछोरी ।

===

 

डाँडाको टुप्पोमा उभिएर बिपिन भन्थ्यो यो समुद्र सतहदेखि २ हजार मिटरको उचाइमा छ । साथमा रहेका केटाकेटीलाई के हो समुद्र सतह र के हो २ हजार मिटर । उनीहरु त बस त्यहाँ बसेर हावा खाँदै रमिता हेर्न आउँथे । अग्लो ठाउँमा उभिँदा मनै फरुङ्ग हुन्थ्यो । आफू चङ्गा भएर आकाशमा तैरिरहेजस्तो ।

गाउँघर न हो, वल्लोगाउँ पल्लोगाउँका सबै घरहरु चिनिन्थ्यो । केटाकेटीहरु म फलानाको घरमा पुर्याउँछु भन्दै ढुङ्गा हान्थे । आधाभीर पनि कट्दैन थियो । भीरको ठुल्ठुला ढुङ्गामा लागेर उछिट्टिँदै सीमखेतमा झर्थ्यो । भीरको उचाइ गम्थ्यो बिपिन र भन्थ्यो ५ सय मिटर त होला ।

कहिलेकाहीँ पर्वतले त्यहाँ बसेर बाँसुरी फिट्थे र सारा गाउँ मधुवन बन्थ्यो । खै के आशाले बाँसुरी फुक्थे गोपिनी त घरमै थिए दुइटी ।

‘बाँसुरी चैँ तँ फुक्छस् गाउँमा केटाकेटीको अनुहार चै अर्कैसँग मिल्छ । तेरो बाँसुरीले खासै काम गरेन है केटा !’ उसका दौँतरीहरुको जिस्काउने काइदा यस्तै थियो ।

“हौ के भन्छौ है केटा हो । म धूनवाला बाँसुरी फुक्छु अरु खुनवाला बाँसुरी फुक्छन् । अनि, कसरी कुरो मिल्छ त हौ” भन्दै देब्रे आँखा झिम्काउँथे पर्वत ।

डाँडै थर्काएर हाँस्थे सबै ।

डाँडाबाट पुरै गैरी गाउँ छर्लङ्गै देखिन्थ्यो । कतिपयले यसलाई बाहुन गाउँ पनि भन्थे । अनि देखिन्थ्यो अलि परपरका अपरिचित पहाडका तरेलीहरु मनमोहक । डाँडामुनि ठूलो भीर थियो । भीरमुनि सीमखेत । भीरमा सालिम्बोको बुट्टा बाहेक केही थिएन । थिए त लहर नमिलेका काला पत्थरहरु । पत्थरको बीचबीचमा हुच्चिलका गुँड । साँझ परेपछि हुँ हुँ गर्दै हुच्चिल कराउँथे ।

डाँडामाथि चौतारो थियो । चौतारो बाटोमाथि भएकोले मान्छेहरु खासै बस्दैन थिए । बरु बाटै छेउमा घाँस, दाउराका भारी बिसाएर त्यतै ढुङ्गामाथि बसेर रमिता हेर्थे । सुस्केरा हाल्थे । गीत गाउँथे । गैरीगाउँबाट हेर्दा आकाशमै चुलिएको जस्तो देखिने हुनाले यसको नामै चुलिडाँडा थियो ।

===

 

छत्रबहादुर छन्त्याल । अलि प्यारो नाम कान्छा दाइ । उनले थाहा नपाउने गरी भन्न पाउँदा सिधै छत्रे ।

“यो गाउँघरको मान्छेले नाममा एकलख्खे लाउने र जी लाउने चलन चै मलाई मनै पर्दैन ?” मन्दिरा रिसाएर भन्थी ।

उसका भाइहरु एउटाको नाम सपुत र अर्कोको नाम रामु थियो । सपुतलाई एकलख्खे र रामुलाई जी लाइदिन्थे मान्छेहरु । छुल्याहाहरुको काम त झनै उसको भाइहरुलाई बोलाउने निहुँले मन्दिरालाई जिस्काउने हुन्थ्यो ।

छत्रबहादुर कालो वर्णका ठुलो ज्यान भएका खाइलाग्दा मान्छे थिए । सिधा कुरो कहिले नगर्ने प्रवृत्ति थियो उनको । जसलाई पनि जिस्काउने बानी थियो । केटाकेटीलाई उसै जिस्काएर रुवाइदिन्थे । एक त उनलाई देख्दै डराउँथे त्यहीँमाथि उत्पट्याङ गरेर रुवाउने गर्थे । उनलाई केटाकेटीले गब्बर भन्थे ।

छत्रबहादुर २ जनाले गर्ने काम एक्लै गर्थे । २ जनाले खाने एक्लै खान्थे । उनको ज्यानै ठुलो । आँतै ठुलो ।

तराइमा जाडो थियो । माघको महिना झरी परेको थियो । छत्रबहादुरको क्याम्प थियो चिसाङखोलामा । उनी बिहानैदेखि हराए । त्यो दिन पानी परेकोले काम पनि बन्द भयो । छत्रबहादुर बाहिर निस्किएनन् । उनको भान्जाले खानासाना रेडी गरेर पर्खियो उनी आएनन् । हुँदाहुँदा रातको १० बज्यो आएनन् छत्रबहादुर ।

एकजना विधवा थिइन् । उनको सेतु नाम गरेकी सानी छोरी थिइन् । त्यसैले उनको नाम नै सेतुकी आमा थियो । सेतुकी आमा छत्रबहादुरको क्रसरमा लेभर काम गर्न आएकी थिइन् । उमेरले अलि पाको भएकोले उनले काम गर्न सकिनन् । चिसाङको डिलमा यसो झिटीझ्याम्टाले बारेको झुप्रो थियो । त्यहीँ जाँडरक्सी बनाएर बेच्न थालिन् ।

छत्रबहादुर त्यहीँ सेतुकी आमाकोमा भेटिए । उमेर पनि मिल्दोजुल्दो थियो । एउटी बुढो नभएकी अर्कोको श्रीमतीसँग भेटघाट नहुने । व्यथा मिल्यो । एकअर्कासँग नजिकिन थालेजस्तो कताकता आफ्नै सम्झिन थालेजस्तो अवस्था थियो ।

बिहानदेखि रक्सी खान थालेछन् छत्रबहादुरले । जति खान्छन् उती थपिदिन थालिछन् सेतुकी आमाले पनि । छत्रबहादुरको जिस्किने बानी सेतुकी आमालाई पनि मन भुलाउने ठाउँ चाहिएको केमिष्ट्रि मिल्यो । दिनैभरी रक्सी खाए ।

भान्जाले भेटेपछि छत्रबहादुर उठे । हिसाब गरिदेऊ है भान्जा म लागेँ भनेर हिँडे । सेतुकी आमाले बेलिविस्तार लगाइन् वियरको बोतलले २८ बोतल रक्सी । एउटा भाले । ५ किलो मुला । ८ किलो काँक्रा । अरु अगडम बगडमको हिसाब गर्दिनँ भैगयो ।

हौ चिसाङ खोलै पिएछन् त । पैसा कति भयो ? सेतुकी आमा अकमकाइन् । यति भयो भनिनन् । भान्जाले ३ हजार दिए । चुपचाप राखिन् । केही बोलिनन् । हिसाबको कुरा छत्रबहादुरसँगै गर्नलाई होला थाँती राखिन् । त्यति खाँदा पनि मान्छे हल्लिएका थिएनन् छत्रबहादुर । क्याम्पमा पुगे । कुकरको भात, कराइको मासु सबै रित्याए र बगरै थर्किने गरी घुर्दै सुते ।

छत्रबहादुर कस्ता थिए भनेर बुझ्नलाई प्रधानले सोधेको प्रश्नमा बिपिनले दिएको बयान थियो यो । बिपिनलाई यो कथा छत्रबहादुरको भान्जाले सुनाएको थियो ।

“यस्तरी पिउने मान्छे रहेछ । झर्यो होला आफैँ । जे हुनु भयो अब कुरो टुङ्ग्याऊँ ।”

छत्रबहादुर भीरबाट आँफै झरेको निर्क्याैल निकाल्यो समाजले ।

===

 

त्यो बेलाको गाउँघरमा मनोरञ्जनको केही साधन थिएन । साथीभाइ भेला हुने । जाँड खाने । हदै भए नाचगानसम्म गर्ने । अलि बढी नै भए अर्काकी छोरी, बुहारी जिस्काउने । अन्तमा घर जाने सन्तान बढाउने । यस्तै थियो ।

हिउँदको समय थियो । पहाडको ठाउँमा हिउँदमा खासै काम थिएन । दिनभरी तास खेल्ने । करेसा बारबेर गर्ने । भेला हुने खैनी, चुरोट खाने । यसरी नै दिन बिताउने गर्थे । छत्रबहादुर खासै तास खेल्दैन थिए । ढाल्नेको पात, लामपाते सूर्ती र झुलो चकमक जहिले खल्तीमै हुन्थ्यो । जतिखेर पनि धुवाँ उडाइरहन्थे रेलले जस्तो ।

साँझपख तोते आयो । ओइ कान्छा हिँड् जाऊँ मगरगाउँतिर !

तोते स्कूलको माष्टर । खल्तीमा पैसा हुन्थ्यो अलिअलि भएपनि । जाँडखाने साथी थियो छत्रबहादुर । उमेरले एकै दामले थिए । छत्रबहादुरको छोरो र तोतेकी छोरी पनि सँगसँगैका थिए ।

छत्रेले जिस्काउँदै छोरोलाई सोध्थ्यो ‘मेरो बाबु कोसँग बिहे गर्छ रे ?’

“तोतेको थोरीसँग ।”

“स्यावास !”

अनि, सम्धी भनेर जिस्काउँथ्यो तोतेलाई । तोते रिसाउँथ्यो । अलि लेभल हेरेर कुरा गर न, भन्थ्यो ।

“आज तलब आयो कि के हो ? उफ्रिँदै आइस त ।”

ह्या हिँड् न जाउँ भनेपछि ।

“ठुलोमान्छेसँग जिस्किन्छ साला ।” तोतेले पनि रवाफ दियो ।

हिँडे दुबैजना चुलिडाँडाको बाटो हुँदै मगरगाउँतिर ।

साँझ बित्यो, रात बित्यो तर छत्रबहादुर फर्किएनन् । तोते बेलुकै फर्कियो रे यी चै कता मरे भन्दै छत्रेकी जहान छटपटिन थालिन् ।

“नाम ?”

“छत्रबहादुर छन्त्याल ।’

“ठेगाना ?’

“केउरेनीपानी -७, भोजपुर ।”

“आत्महत्या हो ?”

“हैन भीरबाट खसेको ।”

पोष्टमार्टम गर्ने डाक्टर हो प्रश्न गर्ने । बिपिन हो उत्तर दिने ।

“कसरी झर्‍यो त भीरबाट ?” डाक्टरले उसै प्रश्न गरे । बिना मतलबको ।

“तोते र ऊ … ”

“को तोते ?”

“गाउँकै मान्छे हो ।”

“अँ अनि ?”

राति रक्सी खाएर जाँदै थिए रे अनि छत्रे दाइ चै भीरबाट झर्नुभयो रे । बिहान हामी खोज्न जाँदा खेतको भित्तामा उपरखुट्टी लाएर बस्नु भएको थियो ।

डाक्टर चुपचाप भित्र छिरे बिपिनहरु बहिर निस्किए ।

साला छत्रे मरेर पनि सुख दिएन । पिल्सिएको काँध सुम्सुम्याउँदै गाउँलेहरु भेला भए प्रधानकोमा । प्रधानले भने अब जे भयो सकियो । अन्त्येष्टी गर्नू ।

मलामीहरु फर्किँदा एउटाले जोक गर्‍यो । केटा हो तिमीहरु पनि हिँड्छौ त जाँड खाएर चुलिडाँडाको बाटो ?

अर्कोले थप्यो, “हिँडेपनि तोतेसँग चै नहिँड्नू है ।”

अर्कोले थप्यो “ह्या के को चुलिडाँडा ? छत्रे भीर भन न छत्रे भीर ।”