विदेशको एक्लो जीवन निरस बन्दै गइरहेको थियो । क्याम्पसबाट कोठामा फर्केपछि साथी भनेको कम्प्युटर मात्र हुने गर्थ्यो । क्याम्सपमा साथी नभएका र नबाएको पनि हैन । तर यो मन भने कता कता एक्लोपनको अनुभव मात्र गरी बस्थ्यो । क्यानाडा आएको पनि तीन महिना भई सकेको थियो ।

चारजना दिदीहरुपछिको छोरा र बाल्यकाल दिदीहरुको संगतमा काटिएकोले होला, ममा युवतीवादी प्रवृति बढी देखिएको बारे सानो छँदा साथीहरु भन्ने गर्ने । मोहन तिमी त कस्तो केटी जस्तो व्यवहार गर्छौ भनेर धेरैपटक साथीहरुले जिस्काउने गरेको सम्झना छ । मेरो अनुहार पनि कताकता केटीजस्तो कोमलो भएर होला मोरा साथीहरु मलाई समातेर मोई पनि खाईदिन्थे ।

झन् तरकारी पसलको शंखनारायणले त “टिमी ट क्या केती जस्टो च्वाँक है” भन्दै  एकपटक त गालामा टोकी पनि दिएको थियो । टोलमा केटाहरु मोहनप्यारी भनेर समेत बोलाउन थालेका थिए । त्यसमाथि हरिले त मेराे केटा हो भनेर ओठमा नै टोकेर उद्दुमै गर्ने गर्थ्यो ।  समाजमा साथी पनि चाहिन्छ भनेर म रिसाएको जस्तो गरेर फेरि मिल्न जान्थे । खै मलाई पनि किन हो हरीले मोई खाएको मनपर्थ्याे ।

हरि स्कुल पढ्दादेखि नै हृष्टपुष्ट देखिन्थ्यो । उसको बुवा प्रहरीमा खेलकुद शाखाको प्रमुख भएकोले उसलाई पनि विहान दौडने र व्यायाम गर्ने उर्दी लगाइदिनु भएको थियो । त्यसैले हामी साथीभाइहरुमा ऊ धेरै हृष्टपुष्ट देखिन्थ्यो । खै किन हो हरिको यही हृष्टपुष्ट शरीर मलाई मन पर्थ्यो ।  हरिले स्कुलबाटै आफ्नो प्रेमको खाता खोलेर क्याम्पसमा पढ्दासम्म चार-पाँचजना प्रेमीका फेरिसकेको थियो । ऊ राम्री केटी देख्यो कि ‘क्या च्वाँक’ भनेर लाइन मार्न थालिहाल्थ्यो । मलाई पनि हरिले क्याम्पसको केटी देखाएर ‘फलानोलाई लाइन मार्न, कि म भनिदिऊँ’ भन्दा म आफूलाई इन्ट्रेस्ट नभएको कुरा गर्थें। वास्तवमा म  भने युवतीहरु प्रति कहिल्यै आकर्षित भइनँ । हरिले मलाई ‘तेरो छैन कि क्या हो’ भनेर जिस्काउन खोज्दा म ‘हात लेन छामेर थाहा पाउलास्’ भनेर जवाफ फर्काउने गर्थें ।

प्रवेसिकाको पढाइपछि हरि र म बेग्लाबेग्लै क्यम्पस पढ्न थाल्यौं । हरि एउटा फिटनेस क्लबमा जाने भएकोले मलाई पनि आउनु भनेकोले हामीबीच हप्तामा तीन-चारपटक भेट भई नै रहन्थ्यो । फिटनेस क्लबमा मलाई त्यहाँ आउने केही युवाहरुको आकर्षक शरीर देखेर कताकता स्पर्श गरूँ झैँ लाग्थ्यो र म आफ्नो मनको इच्छा पूरा गर्न कस्तो राम्रो जिउडाल, भन्दै जिस्काएको झैँ गरेर स्पर्श गर्ने गर्थें ।

प्लस टु सिध्याएपछि देशको अस्थिर राजनैतिक क्रियाकलापले शैक्षिक क्षेत्रमा पनि नराम्ररी प्रभाव पारेको थियो । विद्यार्थी र शिक्षक/प्राध्यापक सबै राजनीति रङ्गमा रङ्गिदै गएकोले देशको  शैक्षिक वातावरण अस्थिर हुँदै गएको थियो । क्याम्सपका धेरै साथीहरु विदेशमा अध्ययन गर्न उडिसकेका थिए भने कोही जाने तरखर र मौकाको पर्खाइमा थिए । मैले पनि बाहिर पढ्ने मनस्थिति बनाएर क्यानाडाको हेमिल्टनको मेक मास्टर विश्वविद्यालयमा अध्ययन गर्ने मौका पाएँ । क्यानडा आएको केही समय त अन्यौल र एकान्तमा नै बित्यो । क्याम्पसका साथीहरुमा त्यति हुलमिल हुन सकेको थिएन ।  क्यानडा आएको केही महिनापछि ईन्टरनेटमा नजिकै घुम्ने ठाँउहरु खोज्न थालेँ । अनि विकएण्डमा आफै मिलाएर जाने गर्थें ।

यसरी नै घुम्ने ठाँउ खोज्न कम्प्युटरसँग खेल्दाखेल्दै म पुरुषहरुको ईरोटिक साइटमा पुगेँ । साइटमा गएर विभिन्न शारीरिक आकर्षण भएका पुरुषहरुको तस्वीरहरु नियाल्न थालेँ । यो साइटका माध्यमबाट आकर्षक पुरुषहरु आफ्नो शरीर प्रदर्शन गरेर मित्रताका लागि हात बढाउने गर्दा रहेछन् । कुनै कुनै पुरुषले आफ्नो पूर्ण नग्न शरीर पनि राखेको पाएँ । त्यहाँ राखिएका नामहरु कता कता छद्म नाम जस्तो पनि लाग्थ्यो । साइटभित्र हेर्दा हेर्दै एउटा नग्न तस्वीरमा गएर आँखा अडियो । तस्वीरले हरिको सम्झना दिलायो । मोरो बिहे गरेर दुई छोरीको बाउ भै सकेको थियो । फेरि म लेपटपको स्क्रिन हेर्न थालेँ ।  मिस्टर प्रफेक्ट भनेर आफूलाई चिन्हाउने यी गोरा युवकको नाम ब्रायन लेखिएको थियो । सेक्सप्रति मुक्त विचार राख्ने र भेट्न चाहनेलाई स्वागत छ भनेर लेखेको ब्रायनको आकर्षक शरीर देखेर मलाई एकपटक कता कता भेट्न मन लाग्यो । मेसेज बक्समा ‘आई एम इन्ट्रेस्ट टु मिट यु मिस्टर ब्रायन’ लेखेर पठाएँ । आफ्नो स्टेटससँगै मैले पनि छद्म नाम नै राखेँ ‘माइकल’ एकदम सजिलो नाम । त्यसपछि म उत्तरको प्रतिक्षामा बसिरहेँ ।

तीन दिनपछि ब्रायनले भेट्ने इच्छा गर्यो । टोरन्टोमा भेट्ने भन्यौँ हामी । चर्च स्ट्रिटको रेन्बो पबमा । आउँदो आइतबार । साँझ ७ बजे । हेमिल्टनबाट टोरन्टो बसमा लगभग दुई घण्टा लाग्छ । नेपालबाट पढ्न आउँदा टोरन्टोमा एकजना नेपाली दाइको घरमा एक रात बसेर भोलीपल्ट म हेमिल्टन आएर एउटा कोठा भाडामा लिएर बस्न थालेको थिएँ । त्यसपछि एकपटक मात्र टोरन्टो  गएको थिएँ । ब्रायनको मेलबाट टोरन्टोको ठेगानाका एकएक अक्षर उसको मोबाइल नम्बर उतारेर म दिन गन्न थालेँ । खै किन हो कुन्नी मलाई ब्रायनसँग भेट्न आतुर हुन थाल्यो । लगभग २५/३० जना केटाहरुको विभिन्न कोणबाट लिइएको अर्ध नग्न र नग्न तस्वीरहरु हेरेपछि मैले ब्रायनलाई साथी बनाउन रोजेको थिएँ । त्यसैले ब्रायनमा आफ्नो राम्रो प्रभाव परोस् भनेर मैले पनि आफ्नो अर्ध नग्न तस्वीरहरु राखेको थिए । हरिका कारणले गर्दा मैले पनि बिहानीको दौड र व्यायामले आफ्नो शरीरलाई आकर्षक बनाएको थिएँ भने यहाँ त क्याम्पसमा नै जिम रुप भएकोले यसले निरन्तरता पाउँदै गयो ।

जुन महिनाको तेस्रो आइतबार । म हेमिल्टनबाट चाँडै निस्किए टोरन्टो  पुगे । आफूले ब्रायनलाई भेट्ने ठाउँ रेन्बो पब पहिलै पत्ता लगाएर ढुक्क हुनका लागि  चाँडोभन्दा चाँडो टोरन्टो  पुग्न चाहन्थेँ । युनियन स्टेसनबाट सब-वे लिएर म वेलेस्लीमा ओर्लिएँ । त्यहाँबाट चर्च स्ट्रिट नजिकै रहेछ । घडीले चारमात्र बजाएको थियो । तीन घण्टा अझै बाँकी थियो । त्यसैले चर्च स्ट्रिटमा भेट्ने ठाँउ हेरेर योङ्ग स्ट्रिट तिर जाने विचार गरे । तर चर्च स्ट्रिटमा पुगेपछि मलाई लाग्यो म आफ्नो स्वप्नको दुनियामा पुगेको छु । सप्तरङ्गी झण्डा र ध्वजापताकाहरु जताततै फरफराई रहेको थियो । रातो र सेतो धर्साले बनाइएको बाटो काट्ने जेब्रा क्रसिङ् पनि सप्तरङ्गले बनाइएको थियो । पसल र रेष्टुरेन्टका साइनबोर्डमा पनि सप्तरङ्ग । मलाई आफू एउटा बेग्लै गाउँमा पुगे जस्तो लाग्यो । त्यहाँ राखिएका ठुला ठुला साइनबोर्ड पढ्न थालेँ –

कतै योर पार्टनर ईज अन्ली ईन अ कल डिस्टेन्स’ लेखेको,

कतै एउटी वृद्ध महिलाको फोटोमुनि ‘आई एम प्राउड टु बी अ मदर अफ गे’ लेखिएको

कतै ‘लेट्स् युनाईट फर गे/लेस्बियन राईट्स’ भनेर लेखेको साइनबोर्डहरु पढ्न थालेँ ।

बारम्बार पढ्न मन लाग्यो । चर्च स्ट्रिटमा समलिङ्गीहरुका लागि राखिएको सामुदायिक केन्द्र देखेँ । बाटोभरी प्रायः समलिङ्गीहरुकै भीडभाड देखेपछि मलाई म आफूले चाहेको गन्तव्यमा आएझैँ लाग्यो । त्यहाँको वातावरण नै समलिङ्गीहरुका लागि बनाइएको थियो । चर्च स्ट्रिटको तलदेखि माथिसम्म लगातार चक्कर लगाएर त्यहाँका सबै घर/पसल/रेस्टुरेन्ट/पब/कफी सप/बैंक/कार्यालयहरुको बाहिरी निरिक्षण गर्न थालेँ ।

ब्रायनसँग पबमा भेटिने कुरा भएकोले केही नगद आफ्नो खल्तीमा राख्न जरुरी सम्झेर बैंकभित्र पसेँ । क्यानाडामा नयाँ भएकोले आफूसँग क्रेडिट कार्ड थिएन । बुवाले एक सेमिस्टरको खर्च बुझाइसक्नु भएकोले फुर्सदको समय निकालेर क्याफटेरियामा हप्ताको २०-२२ घण्टा काम गरेको पैसा बैंकको खातामा जम्मा भएको थियो । त्यसैबाट सय डलर निकाल्न म बैंकभित्र पसेँ । मलाई सेवा प्रदान गर्नेले मेरो अनुहार नौलो देखेर ‘आर यु न्यु ईन दिस लोकालिटी’ भनेर सोधिहाल्यो । मैले हो भनेर उत्तर दिएपछि  उसले कुनै प्रकारको जानकारी चाहिएमा  उसलाई भन्नु भनेर दरिलो ढाडस पनि दियो ।

नेपालमा सायद मेरो हाउभाउले होला मलाई हेरेर खिसी उडाउने र नराम्रो शब्द प्रयोग गर्ने  गरिन्थ्यो । तर यहाँ आएपछि पहिलोपटक मैले आफूलाई सुरक्षित भएको अनुभव गर्न थालेको थिएँ । मैले हुन्छ  थेङ्क्यु भनेर बैंकबाट निस्किएर फेरी चर्च स्ट्रिटमा चक्कर लगाउन थाले । हेर्दाहेर्दै पौने सात बज्यो । म ब्रायनभन्दा अगाडि पबमा पुग्न चाहन्थे । सडकबाट हताहतार पबमा पुगेर म आफूहरु बस्नलाई टेबल हेर्न थालेँ । पबभित्र आँखा घुमाउँदा अचानक एउटा चिरपरिचित अनुहारमा गएर आँखा अडियो  पनि । मलाई नै चिने जस्तो गरेर हेरिरहेको थियो । म परिचित अनुहारको नजिकै पुगेर ब्रायन ? भनेपछि उसले पनि मेचबाट उडेर मलाई माइकल भनेर हात मिलायो र फेरि अङ्कमाल गर्यो ।

ब्रायन, फोटोभन्दा पनि बढी आकर्षक देखिन्थ्यो । हामी बसेर बियर पिउँदै गफ गर्दै थियौं । प्रथमतः ब्रायनलाई नेपाल चिन्हाउन धेरै गाह्राे भएको थियो मलाई । गौतम बुद्ध जन्मेको र सगरमाथाको देश भन्दा पनि नबुझेपछि मैले भारत र चीन दुई महाराष्ट्रबीचको तरुल भनेर सम्झाएपछि बल्ल बुझ्यो । ब्रायनको बुवामुवा इटालीयन मूलका भए पनि उसको जन्म क्यानाडामा नै भएको थियो । कुराकानी गर्दै ब्रायनले मलाई यसअघि मेरो कुनै मित्र रहेको बारे सोध्दै आफूले चारजना घनिष्ठ मित्रहरु गुमाउनु परेको गुनासाहरु पनि सुनाएको थियो । पहिलोपटक म आफूजस्तै मानिससँग अन्तरङ्ग कुराहरु गरिरहेको थिएँ। वियर पिउँदै गफ गर्दागर्दै ९ बजेको थाहा नै भएन । मैले आफू हेमिल्टनमा बसेकोबारे ब्रायनलाई भनिसकेकोले फेरि भेट्ने वाचा गरी बिदा लिन चाहेको थिएँ तर ब्रायन ‘जस्ट फर टेन मिनट मोर’ को रट लगाएर दस मिनट थप्दा थप्दै दस बजाइदिएको थियो ।

पहिलो भेटमा नै ब्रायनले मलाई आकर्षित पार्दै गएको थियो । कुराकानीमा ब्रायनले जुन महिनाको अन्तिम आइतबारका दिन यहाँ आयोजना हुने गे पेरेडका बारेमा पनि जानकारी गरायो । त्यो आउँदो आइतबार पर्ने भएकोले मलाई शुक्रबारनै टोरन्टो  आउने निम्तो दियो । उसले मलाई उसकै कोठामा शुक्रबारदेखि आइतबारसम्म बस्ने निम्तो पनि दियो । टोरन्टोको चर्च स्ट्रिटमा विश्वकै ठूलो समलिङ्गीहरुको तीनदिने (शुक्रबार,शनिबार र आइतबार) मेला लाग्ने भएकोले त्यहाँ विश्वका कुनाकुनाबाट समलिङ्गीहरु आउने गरेको र समलिङ्गीहरु उक्त गे-पेरेडको अवसरमा विवाह बन्धनमा समेत बाँधिने गरेको जानकारी ब्रायनले दिएको थियो । मलाई लाग्यो  यो दिन  समलिङ्गीहरुका लागि साइतबिना बिहे गर्ने दिन जस्तै हो । त्यसपछि हामीबीच सम्पर्क बनाइराख्ने वाचाका साथ हामी छुट्टिएका थियौं । छुट्टिने बेलामा ब्रायनले मलाई कसेर अङ्कमाल गर्दा मेरो शरीर नै रोमाञ्चित भएको थियो ।

आफ्नो कोठामा पुग्दा झण्डै एक बजिसकेको थियो । आजको दिनलाई मैले मेरो जीवनकै सबैभन्दा रमाइलो दिनका रुपमा दर्ता गरिदिएको थिएँ । ब्रायनसँगको भेटघाट, वार्तालाप र अङ्कमाल मेरो मनमस्तिष्कमा बसेको थियो । यस्तो अनुभव मलाई हरिले अङ्कमाल गर्दा पनि आउने गर्थ्यो तर हरिले त्यसप्रति कहिल्यै चासो देखाएको मैले पाइनँ । तर आज ब्रायनले म को हुँ भन्ने र म हुनुको अनुभव मलाई गराइदिएको थियो । म अर्को भेटको प्रतीक्षामा औंला गनेर बस्न थालेँ ।

भोलीपल्ट बिहान हुनासाथ मलाई ब्रायनलाई फोन गरूँ गरूँ जस्तो लागेको थियो । तर मैले त्यसो गरिनँ । गर्ने आँट पनि भएन । गर्न डर पनि लाग्यो । यो भेटपछि मैले आफूमा नै केही परिवर्तन भएको र एकप्रकारको खुशीका अनुभव गर्दै ब्रायनसँगको अर्को भेटको दिन कुर्न थाले । यसपटक शुक्रबार आउन धेरै दिन लागे जस्तो भयो । अनि मैले कुरेको शुक्रबार पनि आयो । शुक्रबारको दिन म क्याम्पसपछि ब्रायनले दिएको समय अनुसार चर्च स्ट्रिटको रेन्बो पबमा ब्रायनभन्दा म चाँडो पुगेँ । केहीबेर पर्खेपछि ब्रायन आएर जोडले अङ्कमाल गरेर आफ्नो छातीमा टँसाएपछि ममा पनि रक्तसंचार प्रवाह भएजस्तो लाग्यो । उसले एक-एकवटा बियर पिएर कोठातिर जाने भनेपछि हामी बसेर फेरी आआफ्नो बारेमा कुरा गर्न थाल्यौं । ब्रायनले आफू एउटा ट्रेडिङ्ग कम्पनीमा एकाउटेन्ट रहेको बारे जानकारी गरायो भने मैले आफू विद्यार्थी रहेको भनेँ ।

पबबाट निस्केर ब्रायनले मलाई आफ्नो अपार्टमेन्टमा लिएर गयो । त्यहाँ पनि उसले फ्रिजबाट वियर निकालेर दिएपछि गफ गर्दै पिउन थाल्यौं । कोठामा ऊसँग निक भन्ने साथी बस्ने गर्थ्यो । तर उनीहरुका बीच मित्रता टुटेपछि ब्रायन एक्लै बस्न थालेको रहेछ । त्यस रात हामीले सुईस सालादबाट खाना मगाएर खायौं । राती अबेरसम्म ब्रायनले गे पेरेड र तेस्रो लिङ्गीको अधिकारका बारेमा मलाई धेरै कुराहरुका बारेमा जानकारी दिँदै विभिन्न समयमा गे-पेरेडको बेला खिचिएका फोटोहरु देखाउन थाल्यो । अबेर रातसम्म हामी कुरा गरेर एकअर्काको जिज्ञासा मेटाउँदै गयौं । कुरा गर्दा गर्दै ब्रायनले मेरो हात समात्ने, मेरो शरीरमा औंलाले हल्का स्पर्श गर्ने, मेरो कपाल चलाउँदै आँखा, नाक, कान, ओठहरुलाई स्पर्श गर्दागर्दै हाम्रा अधरहरु एकआपसमा जोडिएर तृष्णा मेटाउँदै गयौं अनि थकित भएर निधाएको थाहा नै पाइनँ ।

वियरसँगै नौलो अनुभवको मातले लठ्ठिएर म अबेरसम्म निधाएछु । बिहान उठेपछि ब्रायनले कफी बनाएर मलाई नै कुरेर बसेको पाएँ । कफीसँगै नास्ता गर्दै केही समय गफ्फिएपछि तयार भएर चर्च स्ट्रीट तिर लाग्यौं । चर्च स्ट्रीटमा भोली गे पेरेडको तयारी भइरहेको थियो । त्यहाँबाट ब्रायनले मलाई योङ् स्ट्रीटको हट स्नो क्लबमा लिएर गयो । क्लबमा सबै नाचेर रमाइलो गरिरहेका थिए । ब्रायनसँग म पनि केहीबेर नाचेँ । त्यहाँ ब्रायनले मलाई धेरै अपरिचितहरुसँग मिट माई हार्ट भन्दै परिचय गराएको थियो । दुई दिनमा नै म उसको मुटु भएकोमा मलाई खुशी लागेकोले मैले प्रतिकार पनि गरिनँ । क्लबबाट लगभग एक बजेतिर हामी कोठा तिर लाग्यो । चर्च स्ट्रीटमा अहिलेसम्म रौनक नै देखिन्थ्यो । मलाई हेमिल्टनको एकान्तले पिरोलेकोले चर्च स्ट्रीटमा रमाइलो लाग्न थाल्यो ।

त्यस रात पनि वियरका बोतलहरु एकपछि अर्को रित्तिँदै गइरहेको थियो । ब्रायनले मलाई हेमिल्टन छोडेर  टोरन्टोमा आउने सल्लाह दियो । गत रात झैँ ब्रायनका औँलाहरुले मेरा शरीरका अंगअंग खेलाइरहेको थियो । यो के भइरहेको थियो भन्ने कुरामा म नै अनभिज्ञ थिएँ । सानोमा साथीहरुले जिस्केर मोहनी भन्दै मेरो म्वाई खाने गरेको सम्झेँ । हरिलाई सम्झेँ । उसले त ओठमै आक्रमण गर्ने गर्थ्यो । शायद ती नै थिए मेरा चुम्बनका अनुभवहरु । तर यहाँ ब्रायनले मेरो चुम्बनप्रतिको परिभाषालाई नै बदल्दै गइरहेको थियो । कतिखेर म निधाए थाहा नै भएन । वियर धेरै खाएकोले मिर्मिरे बिहानै पिसाबले च्यापेर म ब्युझिँए । मसँगै ब्रायन पनि सुतेको थियो । हामी दुवै प्राकृतिक पहिरनमा थियौं । उ मस्त निद्रामा  थियो । पिसाब फेरेर ओच्छ्यानमा पल्टेर म गत रातको घटनालाई रिवाइण्ड गरेर विस्तारै सम्झने प्रयास गर्दै गएँ । मलाई आफैसँग लाज लाग्न थाल्यो । यो सब ब्रायनको औंलाको जादु थियो । तर समष्ठीमा जे भयो मलाई रमाइलो भए जस्तो लाग्यो । रातका घटनाहरुलाई पुनः सम्झँदै म कति बेला निधाएछु थाहा नै भएन ।

बिहान सबैरै ब्रायनको मोबाइलको घण्टीले हामी दुवैलाई ब्युझ्याइदियो । फोनमा कुरा गर्दै ब्रायनले नो… नो… नो… भन्दै अंग्रेजीका नकारात्मक शब्द दोहोराइरहेको थियो । यसको अनुहारमा पनि मैले एक प्रकारको रिसानुभाव देखिरहेको थिएँ । त्यसैले मैले को र के भन्न चाहिन र चुपचाप ओच्छ्यानमै पल्टेर कुरा सुनिरहेँ । मेरा आँखाहरुले ब्रायनलाई नै चिहाइरहेका थिए ।

केही बेरपछि फोन बन्द गर्दै ब्रायन करायो – फक ! हाउ कम इट पोसिबल, नोआम कम्प्लेटली अनकम्फर्टेबल विथ हिम नाउ ? नो वे ? हि केन नट रिफर द पेरेड फर आवर युनिफर्मिटी भन्दै मलाई च्याप्प समातेर म्वई खाँदै –  नो मोर निक, नाउ यु आर ईन माई लाईफ भन्दै मलाई जोडले अङ्कमाल गर्यो । वि हेप टु गो भेरी फार, लोङ् लाईफ हनी भन्दै धेरै अन्तरालपछि लाहुरबाट फर्केको श्रीमानले श्रीमतीलाई  माया गरेझैँ गरेर ब्रायनले मलाई माया गर्न थाल्यो । मैले आफै पनि नयाँ अनुभव पाइरहेकाे थिएँ । शायद यही पलको पर्खाइमा म बसकेको थिएँ होला ।

ब्रायनले जे गरे पनि मैले  विरोध गरिनँ । मलाई ब्रायनका यी क्रियाकलापहरुमा मेरै जित र मेरै अभिलाषा पुरा भएको झैँ लागेको थियो । फोनमा ब्रायनसँग बस्दै आएको निकले आज गे पेरेडको उपलक्ष्यमा पुराना कुरा बिर्सेर फेरि मित्रता गाँस्ने र ब्रायनसँग सँगै बस्ने इच्छा गरेको थियो । तर ब्रायनलाई मेरो निकटता मन पर्न थालेकोले निकसँगको सम्बन्धमा तगारो लगाइदिएको थियो । मैले पनि यथाशिघ्र हेमिल्टनबाट कुम्लो बोकेर ब्रायनको कोठामा सर्ने निणर्य गरिसकेको थिएँ । गे-पेरेडको अघिल्ला दुई रातले मेरो जीवनको बाँच्ने शैली नै फेरिदिएको थियो ।

यो मेरो पहिलो गे पेरेड थियो ।  यस पटक अन्टारियोका प्रान्तीय प्रमुख प्रिमियरले पनि भाग लिँदै थिएँ । उनी पनि समलिङ्गी परिवारको सदस्य भएर होला हातमा ‘प्राउड टु बि फ्रम द गे कम्युनिटी’ लेखेको प्लेकार्ड थियो ।  गे-पेरेडमा विश्वभरीबाट समलिङ्गीहरु आउँदा रहेछन् । पेरेडमा धेरैले ‘जस्ट मेरिज’ लेखेको प्ले कार्ड बोकेको देखेँ भने कसैको हातमा ‘लेट्स युनाईट फर द गे राईट्स’ अनि कसैले ‘वल्र्ड फर अल’ लेखेको प्लेकार्ड बोकेर हिँडेका थिए ।

मैले पनि आफूलाई यस परिवारको सदस्य बनाएर हातमा ‘आई एम योर न्यु मेम्बर फ्रम नेपाल’ लेखेको प्लेकार्ड बोकेर ब्रायनसँगै जुलुसमा सामेल भएको थिएँ । आधुनिक समाजको सप्तरङ्गी रङ्गमा समाहित हुँदै म आफैँमा हराइरहेको थिएँ । आफैँमा आनन्दित हुँदै आफू विदेश आउनुको सार्थकता ठम्याउन खोजिरहेको थिएँ । उनीहरुको रङ्गमा रङ्गिएर म निथ्रुक्क भएको थिएँ। आनन्दले निथ्रुक्क । व्यक्ति स्वतन्त्रताले निथ्रुक्क । आफ्नो इच्छा र चाहना पुरा भएपछि वर्षेको खुशीको बाछिटाले निथ्रुक्क ।