करिब एक-एक मिटरको दुरीमा ठूला ठूला सिङ्गल बेडहरु छन् । बेड नजिकै पानीको बाल्टिन र हात धुने साबुन, बाटा र सफा टावेल पनि सँगै राखिएका छन् । करिब एक महिना अघि म यस आइसोलेसनमा भर्ना हुँदा यहाँको परिवेश यस्तो थियो ।

त्यस यता आजसम्म कुनै पनि सुविधा थपिएका छैनन् । तर सुविधा लिने कोभिड संक्रमितहरु भने दिनदिनै थपिँदै गएका छन् । सिङ्गल बेडमा दुई जना सुत्न नमिल्ने भएकाले हरेक बेडको छेउमै भुइँमा ओछ्यान लगाइएको छ । भुइँमा बस्ने व्यक्ति र बेडमा बस्ने दुवैले मिलेर बेडको छेउमा राखिएका सरसफाइका सामग्रीहरु, तिनै साबुन, टावेल र पानी जतनले प्रयोग गर्न भनिएको छ ।

गीता कार्की

हिजो भुइँमा सुतेका एक जना बुढा बाले गाह्रो भयो भन्दै बिलौना गरे । बुढा बाको माया लाग्यो । उनलाई बेडमा सुत्न दिएर म उनी सुतेको भुइँको ओछ्यानमा पल्टिएँ । साँच्चै पातलो डस्ना छेडेर सिमेन्टको भुइँको चिसो शरीरसम्म आइपुग्यो । चिसोले गर्दा रात भर सुत्नै सकिनँ । मनमनै सोचेँ, बिचरा ७० नाघेका बुढा बा हिजो कसरी सुते होलान् ।

हरेक दिन आइसोलेसन हलमा हाम्रो हालखबर बुझ्न र स्वास्थ्य जाँचका लागि शरीरका कुनै भाग नदेखिने गरी सेता रेन कोट जस्ता वस्त्र लगाएर स्वास्थ्य कर्मी तथा स्वयं सेवकहरू आउने गर्थे । त्यसरी आउनेहरूलाई हरेक दिन हामीले भोग्नु परेका असुविधा बारे गुनासो पोख्थ्यौँ ।

तर उनीहरूको जवाफ यस्तो हुन्थ्यो, “अब त संक्रमितको संख्या अझै बढ्दो क्रममा छ । यस प्रदेश भरमा अलिक व्यवस्थित आइसोलेसन भनेको यहीँ हो । सुविधा र व्यवस्था खोज्नु भन्दा पनि अहिले पाइरहेको सुविधा अझै बाँडफाँड गर्न चाहिँ तयार रहनुहोस् ।”

उनीहरूको जवाफ सुनेर सबै चुप रहेका थिए, बोल्ने शब्द त धेरै थिए तर धेरै बोल्नु, होहल्ला गर्नु र आक्रोशित हुनु आफ्नै स्वास्थ्यलाई हानी गर्नु हो भनेर हामीलाई सम्झाइएको थियो । फेरि कसैले धैर्यता र संयमता नै हाम्रा लागि रोगको औषधी हुन् भनेर पनि भनेका थिए ।

२५, ३० को संख्यामा रहेका हामीलाई हलको भ्यान्टिलेसन पनि कम हुन थालिसकेका थिए । प्रचण्ड गर्मी, बिरामीको कोचाकोच भीड अनि हलको जस्ताको छानो तातेर आउने तातो हावाले गर्दा हामीलाई सास फेर्न पनि निकै कष्टकर भइरहेको थियो ।

भन्न त भाइरसको प्रवृति पनि फरक हुन्छ भन्छन् । व्यक्तिमा भएका अन्य दीर्घ रोग र व्यक्तिको प्रतिरोधात्मक क्षमता अनुसार भाइरसको असर बढी वा कम हुन्छ रे ! तर यहाँ भने यस बारे केही चासो राखिएको छैन, को बढी वा को कम प्रभावित छन् भन्ने बारेमा । कोहीमा सामान्य रुघाखोकी देखिएको छ त कोही मजस्ता, केही लक्ष्ण नदेखिएर पनि भाइरस संक्रमण देखिएका ।

हलको प्रवेशद्वार नजिकै एउटा टेबल थियो र टेबलमाथि एउटा पुरानो जमानाको टिभी । एकजना कर्मचारीले भनेको सुनेको थिएँ कि त्यो टिभी पनि एक जना संक्रमित व्यक्तिकै घरबाट ल्याएर राखिएको हो रे ! त्यस व्यक्तिलाई परिवारले गरेको पर्वाह देख्दा मलाई पनि आफ्नो परिवारको याद आइरहन्छ ।

मेरो घर त यहाँ पनि होइन । कोशी पार गरी यस समथर जमिनलाई आफ्नो कर्म थलो र यसै थलोका समस्याहरु आफ्नो ठान्दै आफ्ना काममा लीन थिएँ ।

संसारभर एक अलग प्रवृतिको भाइरसले धेरै देशमा जन धनको क्षति भयो । म भने यस समस्याले आफ्नो ठाउँमा प्रतिकूलता नल्याउला भन्ने सोचेर बेवास्ता गरी नै बसेँ ।

खुला सिमानाका कारण छिमेकी मुलुकमा रोजगारी साथै अध्ययनका लागि गएकाहरु स्वदेश फर्किने क्रम बढ्दो हुन थाल्यो । यस बाहेक नाकामा उचित चेक जाँच नहुनाले र विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप क्वारेन्टिनको व्यवस्था नहुनाले साथै स्वयं व्यक्तिहरुले पनि सतर्कताका साथ सावधानीका उपायहरु नअपनाएका कारण केही समयमै यस समस्याले यहाँ पनि उग्रगति लियो ।

ढिलै भए पनि घर फर्कने इच्छा गरेँ तर त्यति बेलै सबै यातायात र नाका बन्द गरिए । म आफैँ पनि संक्रमित भए, त्यो पत्यारलाग्दो नै भएन मेरा लागि । आफ्नो अवस्था स्वीकारेर निको हुने इच्छा शक्ति बढाए पनि घरका र आफन्तहरूको दिनकै फोन र चिन्ताले साँच्चै म निको हुदिनँ त भन्ने लाग्न थालेको छ अचेल मलाई । आज यसरी बसेको पनि एक महिना भएछ ।

सोच्दा सोच्दै त्यही एउटा कुनामा रहेको टिभीको आवाजले मेरो ध्यान भङ्ग गर्‍यो। प्रत्येक बेडका मानिस अनि तल ओछ्यानमै बसेका मानिस समेत बेडको खुट्टाका एकछेउबाट टिभीमै आँखा तन्काउदै थिए । साँच्चै हलको एक छेउबाट अर्को छेउसम्म सबैले बाँडेका सुविधा यही थियो, भौतिक रुपले बाँड्नु नपरे पनि । धेरैको मन बहलाउने राम्रो माध्यम भएको थियो त्यो थोत्रो टिभी ।

टिभी ल्याएर राखिदिने बिरामीको परिवारलाई मनमनै धन्यवाद दिँदै थिएँ ।

यतिकैमा भुइँमा पल्टिरहेका बुढा बा बोले,“टिभी त छ नि, तर के गर्नु एउटा राम्रो खबर सुन्न पाइने होइन । जताततै आतंक, काटमार, भ्रष्टाचार । विरक्त लाग्ने !”

पातलो कम्बल तान्दै शरीरलाई ओढाए र ढल्किँदै फेरि बाले भने, “खाना खाने समयमा उठाउनु है बाबु ।”

ओछ्यानमा चल्मलाउँदै गरेका बाबाट ध्यान हटाउँदै म अगाडि बजिरहेको टिभीमा ध्यानमग्न भएँ ।

बाले भन्नु भएझैँ म पनि यस विषमपरिस्थितिमा बढेका काला कर्तुतका कारण एकैसाथ चिन्तित र आक्रोशित हुन्थेँ । हुन पनि यही समय अनियमितता, सीमा अतिक्रमण, कालोबजारी, भ्रष्टचारका साथै घरेलु हिंसा, आत्माहत्या र अपराधले समेत उचाइ लिइरहेका थिए ।

हालको स्थितिमा यो भाइरस आफैँमा ठूलो समस्या भएको थियो तर यहीँ महामारीको अवसर पारेर फैलिएका लोभलालच, भ्रष्टाचार, कालोबजारी जस्ता मानव जातीका मगजमा लागेको लोभ पापको भाइरस यो महामारीको भाइरसभन्दा खतरनाक भइसकेको थियो ।

टिभीमा नारायण हिटी राजदरबार बारे रिर्पोट आइरहेको थियो, जुन हाल सङ्ग्राहालयमा परिणत गरी सर्वसाधरणका लागि खुल्ला गरिएको छ ।

सन्नाटालाई चिर्दै हलको एउटा कुनाबाट कसैले भन्यो, “ओहो, आज त जेठ १९ पो त, दरबार हत्याकाण्ड भएको दिन ।”

फेरि अर्कोले आश्चर्यको भावमा भन्यो, “१९ वर्ष पो लागिसकेछ, हैट !”

त्यसपछि सबै त्यो काहालिलाग्दो घटनासँग जोडिएका आफ्ना स्मरणहरु बताउन थाले ।

कसैले भन्याे “त्यहीँ साल म सेनामा भर्ति भएको थिएँ ।”

फेरि कसैले भन्यो “त्यो साल मैले एस.एल.सी दिएको थिएँ ।”

सबैले आफ्ना जीवनका पाटा यस घटनासँग जोड्दै गर्दा म पनि आफू आठ वर्षको नाबालक हुँदा घटेको यस घटनासँग जोडिएका यादहरुमा चुर्लुम्म डुब्न पुगेछु ।

“ए बाबु उठ, हिजो राति राजा मारेछन् । सबै मान्छेहरु तेल नुन किन्न जाँदैछन् । अब त खानै पाइँदैन रे !”

यो कुरा हरेक दिनका झैँ मलाई उठाउनका लागि आमाले गर्दै आउनु भएको एक झिनो प्रयास लाग्यो त्यस दिन पनि । बिउँझाउनैका लागि किन यति नमीठो झुट बोल्नुभयो होला भन्ने चाहि निद्रामै लाग्याथ्यो ।

आमाले उठाउन नसकेर उहाँ कता जानुभयो र म भने अल्छी पाराले आफ्नै समयमा उठेँ । उठेर बाहिर धारामा मुख धुँदै गर्दा एकातिरबाट हातमा मट्टीतेलका जर्किन लिँदै पसलतिर हानिँदै गरेका र अर्कातिरबाट पसलबाट टनाटन रासन बोक्दै आएका मानिसहरु देखेँ ।

त्यत्तिकैमा आकाशमा एकपछि अर्को गर्दै हेलिकप्टर गटट् उडेको देखेपछि हतपत्त कौशी उक्लिएँ । ती हेलिकप्टर आँखाबाट ओझेल नहुन्ञ्जेल हेरिरहेँ । साँच्चै आमाले भन्नुभएको सबै सत्य रहेछन्, त्यी सत्य जुन म देखेर र अरु मानिसहरुबाट सुनेर पनि स्वीकार्न सकिरहेको थिइनँ ।

पत्याउथेँ पनि कसरी, एक महिनाअघि मात्र राजा वीरेन्द्रको सवारी हाम्रो विद्यालयमा भएको थियो । दुई तीन स्कूलका विद्यार्थीहरु समेत समावेश गरेर हाम्रो ठूलो प्राङ्गणमा पि.टि. परेड, नृत्य र गाना आदिका अभ्यास गराइएको थियो । यसका लागि करिब डेठ महिनादेखि पढाइ पनि खुबै प्रभावित भएको थियो । पढाइ कम र अभ्यास बढी हुने गरेको थिए ।

अन्ततः त्यो दिन पनि आयो जब राजाको सवारी हुने भयो । बेलुकी ३ बजेबाट स्वागत गीत र परेड हुने जानकारी भयो । म पनि गानामा सहभागी हुने भएकाले मेरो मनमा पृथक् उत्सुकता थियो । राजा सवारी हुने समय अझै रहेकाले खाजा खान घर आएँ, एकै गाँसमा निलौला जसरी खाएँ ।

साबिकभन्दा बाटोमा मान्छेका चाप बढ्दो थियो तर सुरक्षाकर्मीद्वारा बाटो घेराबन्दी गरी प्रवेश निषेध गरिएको थियो । हेर्न आउने ती नै बारेका बलियो डोरी र किल्लाबाट राजा सवारी भएको देख्न पाउथे ।

भीड छिचोल्न गाह्रो हुने सोच्दै म र मसँगै खाजा खान आएका साथीहरु खेतका फाटैफाट स्कूलतर्फ लाग्यौँ । हिँड्दाहिँड्दै एउटा पाल्तु कुकुरले हामीलाई खेद्न थाल्यो । सबै साथी दौडिए तर डरले म धेरै परसम्म भाग्न सकिनँ । कुकुर मैमाथि जाइलाग्यो । दुई पटक उफ्रिउफ्री मेरो कम्मरमा आक्रमण गरेपछि म संसार नै थर्कने गरी चिच्याएँ । मेरो चिच्याहटले कुकुर पनि तेस्रो पटक मलाई आक्रमण गर्नबाट पछि हट्यो ।

एकैछिनमा मलाई घर ल्याइयो । पाल्तु हुनाले मलाई खोप लगाउनु परेको थिएन । त्यो दिन बाबाले त्यसरी अर्काको खेत, बारी हुँदै हिँडेकोमा कराउँदै हुन्थ्यो । तर बाबाका गाली र कुकुरको टोकाइबाट आफूलाई भएको दुखाइको पीडाभन्दा पनि राजाको लागि स्वागत गीतमा समावेश हुन नपाएकाले र राजा वीरेन्द्रलाई देख्ने इच्छा पूरा नभएकाले म धेरै रोएको थिएँ । कति लगाव रहेछ राजाप्रति मलाई त्यतिबेला, अहिले सम्झदै छु ।

त्यति मात्र नभएर मलाई याद छ कि राजा देख्नकै लागि म घण्टौ समाचार हेर्न बस्थेँ । उनको भाषण आउँदा खेल्दै गर्दा पनि खेल छोडेर टिभी अगाडि उपस्थित हुन्थेँ । त्यो अबोध बालापनमा उनको मृत्युले मेरो मनस्थिति अत्यन्त मर्माहत भएको थियो ।

त्यस दिन शनिबार थियो तर सदाको शनिबारझैँ शनिबार हुनुको खुसी मनमा थिएन । शनिबारको सिनेमा हेर्न टिभी खोल्दा नेपाल टेलिभिजनमा पशुपतिको तस्बिरमा शंख फुकेको आवाज मात्रै आइरहेको थियो । राजा बितेकाले घरमा नुन बार्ने कुरा भयो र साँझ परेपछि आमाले पर मोडबाट दुध लिएर आइज भनेर १० रुपयाँ दिनुभयो ।

आफ्ना अघिपछि फुच्चाफुच्चीहरु लिएर पसलतिर हानिएको थिएँ । दुध किनेर फर्किँदै गर्दा अचानक होहल्ला मच्चियो । जेष्ठको गर्मीमा बाहिर शीतल खान बसेका मानिसहरु अचानक कराउँदै, हतारिँदै घरभित्र पस्न थाले । बिहान सबै संकटकाल लाग्छ भन्दै थिए । मलाई चाहि संकटकाल लाग्यो कि भनेझैँ लाग्यो । बिचरा, त्यतिखेर आठ वर्षे बालक म ! मेरो दिमागले संकटकाल भनेको जताततै गोली चल्नु, बम पडकनु र मान्छे मर्नु भन्ने नै सोच्यो ।

घरभित्र पस्ने सबै बचे नसक्ने जति मर्ने भए भन्ने सोचेँ । आफू कता जानु कता लुक्नु सोच्दै अल्मलिदै थिएँ, मसँगै आएका दुई फुच्चाले पनि मेरा हात छोडी कुलेलाम ठोके । अचानकको दौडादौड र कोलाहलले सडकका कुकुर पनि भुक्न थाले । भन्छन् नि अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा पनि तर्सिन्छ ।

कुकुरको डरले म पनि जोडतोडले कुद्न थालेँ । नभन्दै भुक्दै गरेको एउटा कुकुर मेरैपछि लाग्यो । सारा बाटो कुकुरलाई जितेर म घर पुग्न सक्दिन थिएँ, न त दोस्रो पटक कुकुरको टोकाइ खप्न सक्थेँ । दगुर्दा दगुर्दै बाटो छेउकै एउटा घरको मुल ढोका खुल्ला देखेँ र भित्र पसी ढोका मज्जाले धकेलेँ ।

मेरो हस्याङफस्याङ सुनेर तल आएका घरभेटीले आत्तिँदै सोधे, “के भयो बाबु ? को हौ ?”

बढिरहेको स्वासलाई दबाउँदै आफू अघि घटेका घटनाक्रम, मान्छे अघि स–विस्तार वर्णन गरेँ । केही बेरमा बाहिर माहोल शान्त भयो । ती व्यक्तिले ढोका खोली मलाई घर पठाए ।

घर पुग्दा भुराहरु त पुगेर नि टिभी अगाडि उपस्थित भइसकेका रहेछन् । साथमा आमा, बाबा र अरु केही मानिसहरु पनि कोठै भीड पारेर बसिरहेका थिए । मलाई देख्नासाथ आमा उठ्नुभयो र मेरो हातबाट दुध लिँदै भान्सातिर जानुभयो । दिनभर पशुपतिको दृश्य र शंखको एकनास धुनले गुन्जिएको टिभीमा अचानक अरु नै केही देखाएजस्तै लाग्यो ।

ढोकाबाट म पनि चप्पल नफुकाली जिउ तन्काउँदै कोठाभित्र टाउको पसाउँदै टिभी भएतिर मोडिएँ । राजा वीरेन्द्र र उनको परिवारको शव यात्रा प्रशारण हुँदै रहेछ । हत्तपत्त चप्पल फुकाली भित्र पसेँ र फुच्चाहरुसँगै बसेँ । दिन भर टिभीमा उराठलाग्दो धुन मात्रै सुनेका ती फुच्चाहरु शव यात्रा पनि खुब चाख लाएर हेर्दै थिए ।

ठीक्क त्यतिबेलै मेनका दिदी पनि हस्याङफस्याङ गर्दै भित्र पसिन् । भन्दै थिइन्, “बजारमा मानिसहरु दौडादौड गर्न थाले । म पनि आतिएँ । शव यात्रा सुरु भएर पो रहेछ ।”

उनको यति स्पष्टले मैले पनि अघि आफूले संकटकाल भनेर गलत बुझेको अन्योल सुल्झाएँ र राजालाई देख्नकै लागि मानिसहरुको आतुरी रहेको कुरा बुझेँ ।

बेलुकी सुरु भएको शव यात्रा राति आठ बज्दा समेत सकिएको थिएन । त्यी मृतहरुको मुहार र बाटाभरि राजाको एक झल्को देख्न बसेका मानिसहरुको चिच्याहट र रुवाबासी देख्दा टिभी अगाडि चुपचाप दृश्य नियाल्दै बसेका हामी आफैँ पनि यस यात्रा सँगसँगै भावविह्वल हुँदै गयौँ ।

लासमा आगो लगाउनुअघि सम्मान स्वरुप घाटमा लामबद्ध सैनिकहरुद्वारा बाजासहित राष्ट्रिय सम्मान दिइयो । रातमा क्यामेराले कैद गरिएका भिडियोमा बलिरहेको लासहरुले अन्धकारमा ढलिसकेको पशुपतिलाई पनि उज्यालो बनाए । लासबाट उठेको बाक्लो धुवाँले पशुपतिको आकाश तुवाँलो लागे जस्तै भयो ।

आमाले भान्साबाटै खानको लागि आवाज दिनुभयो । मेनका दिदीलाई पनि रोकेर खाएर जान भन्नुभयो । सधैँ मीठो लाग्ने दुध रोटी त्यस दिन एउटाभन्दा बढी मुखमा हाल्न सकिनँ । मैले त्यसरी नखाएको देखेर आमाले बारम्बार तलाई के भयो सोधिरहनुभयो ।

“तँलाई खुब मनपर्थ्यो होइन दूध रोटी ” भन्दै निधार छाम्नुभयो ।

“ओहो, यसलाई त ज्वरो पो आएछ ” भन्दै गालासम्म छाम्नुभयो ।

मैले केही खान नमानेपछि आमाले खाटमा गई पल्टिन भन्नुभयो । राजा त मरेर आफ्नै अघि जले । उनका लागि दुखी त थिएँ नै तर त्यस अबोध मस्तिष्कमा मृत्यु के हो भन्ने ज्ञान पनि भर्खरै पस्दै थियो ।

सबैले भने राजामाथि ठूलो अन्याय भयो रे ! म भने राजाको हत्या गर्नेलाई कारबाही कहिले होला भन्ने सोचमै हुन्थेँ । यिनै कुरा सोचेर अनि मुखमा माडसम्म नहालेकाले मलाई ठीक हुन एक हप्ता बढी नै लाग्यो । आमा ढिपी गरेर खुवाउन खोज्नुहुन्थ्यो ।

म आमालाई सोधिहाल्थे, “आमा राजा मार्नेलाई कहिले जेल हुन्छ ?”

आमा पनि अब छिट्टै हुन्छ भन्दै सान्त्वना दिँदै एक दुई गाँस मुखमा हाल्दिनुहुन्थ्यो । आँखाबाट आँसु बग्दै ओठसम्म आउथे र चपाउँदै गरेको गाँससँगै निलिन्थे । मेरो आत्माबल निकै जीर्ण हुँदै गएको कारण राजाको मृत्युले हो भनेर घरमा सबैले अड्कल गरिसकेका थिए ।

यी सब घटनाक्रमको सम्झनाबाट बाहिरिँदा ती बा अझैँ पनि घुर्दै सुतिरहेका थिए । टिभीमा म्युजियम बारे विस्तृत जानकारी दिएपछि त्यस भवनतर्फ क्यामेरा मोडियो जहाँ राजा र उनका सन्तति सखाप पारिएको थियो । एक, दुई, तीन, चार अङ्कित बोर्ड देखाउँदै राजा र उनको परिवारका सदस्यहरु मारिएको स्थल देखाइँदै थियो ।

यति मात्र नभएर भित्तामा खोपिएका गोलीका दाग समेत क्यामेराले केन्द्रित गर्दै देखाइयो । त्यो देख्दा मनमा विरहको खहरे उर्लेर मनै छिया छिया पारेझैँ भयो । पहिल्यै पनि हत्या लगत्तै भत्काइएका त्यी भवनप्रति भन्नेले तथ्य लुकाउन भत्काइएको भन्थे नै !

भिडियोको अन्त्यतिर राजाको शालिनता बारे प्रस्तोताले वयान गर्दै भन्यो, “भन्थे रे । रानी ऐश्वर्यले एकपटकसयन कक्षमा महङ्गो दरी बिछ्याउने रहर गर्दा राजा वीरेन्द्रले भनेका थिए रे – जनताले दुःख गरी कर तिरेको पैसाले दरबार सिर्जना र आफ्नो सुख सुविधालाई उपभोग गर्दिनँ, गर्नुहुन्न । साँच्चै यति विचारणीय राजनेता नेपाल र नेपालीले विरलै पाउलान् ।”

यति सुनिसक्दा हलभरिकाले एक सच्चा राजनेताको अभाव खड्किएको महसुस गर्दै आफ्नो आजमा अन्योलता र असुरक्षा व्यक्त गर्न थाले ।

“दरबार हत्या काण्डपश्चात केही समय राजतन्त्र नै रह्यो । फेरि राजतन्त्रपश्चात गणतन्त्र आयो र धेरै सरकार पनि बदलिए । सबैले आफ्नो कार्यकालमा दरबार हत्या काण्डको दोषी पत्ता लगाउने दाबी समेत गरे तर २१ वर्ष बित्दासम्म राजाको लागि अपेक्षित न्याय अहिलेसम्म प्राप्त भएन ।” यति भन्दै भिडियोले अन्त्य जनायो ।

यो सब सुनिसक्दा म तिनै कालसमयमा पुगेँ जब राजालाई त्यति तयारी गरेर पनि भेट्न पाएको थिइनँ । फेरि उनको मृत्युको पीरले आफैँ थला पनि परेको थिएँ । सम्झिदै जाँदा आँखाभरि आँसु जम्मा भएर टिभी नै टिलपिल टल्किन थाल्यो ।

राजतन्त्र सकिएर गणतन्त्र आएर प्रधानमन्त्री चुनिएको दिन चट्याङ्ग सहितको ठूलो वर्षा भएको थियो । म पनि त्यस बेलासम्म ठूलो भइसकेको थिएँ । त्यतिखेर हजुरबुवाले वर्षालाई सङ्केत गर्दै गहन कुरा बताउनु भएको थियो,

“राजतन्त्रलाई न्याय नभएको र द्वन्द्व कालमा मारिएका मानिसहरुको आँसु हो यो ।”

साँच्चै अन्यायको निक्र्योल नगरी सिर्जिएको र स्थापित भएको गणतन्त्र पनि कहाँ सफल रहन सक्ला र ! गणतन्त्र भित्रिएको यतिका वर्ष बित्दा पनि राजतन्त्रकै कार्य पद्धति र विकास स्थिति सह्रना गर्दछन् जनता अझै पनि ।

खानाको समय भएछ । ती नै सेता पहिरनमा आएका सेवकहरुले खाना ट्रेबाट निकाल्दै भुइँमा राखिदिए । सबै टिभीमा व्यस्त भएका दगुर्दै भोकमरीले प्रताडित भएझैँ खाना भएतिर हाम फाल्दै कुदे । म पनि आँसु पुस्दै भुइँमा सुतेका बालाई उठाएँ र म आफैँ गएर बा र मेरो लागि खाना लिएर आएँ । प्लेट उर्घादा भात साबिकै जति थियो तर दाल अझै पातलो अनि ऐना नै देखिने गरी तरकारीमा झोल थियो । बाले खाना हेर्दै मतिर हेरे तर केही नबोली चुपचाप खाना खाए ।

राती सबै जना सुते पनि मलाई अबेरसम्म निन्द्रा आएन । बा भन्थे टिभी नहेर तनाब मात्रै बढ्छ । हो पनि, उनी हेर्दैन्थे, सुर्ता पनि त गदैन्थे । त्यसैले मस्त निन्द्रामा थिए ।

हुन पनि सुन्नमा जे पनि आउथे । भाइरसका कारण निको हुने नहुनेको डर एकातिर छ, सरकारले संक्रमितका संख्या बढेकाले उपचार पद्धति र जाँचको प्रबन्ध संकुचित पार्दै लाने कुराहरु आउथे । फेरि अनेकौ राष्ट्रघाती सन्धी र सिमानामा बढ्दो तनाबका कुराहरु त्यत्तिकै बढ्दो क्रममा थिए ।

एक समय सिमामा लड्ने बलभद्र कुँवरजस्ता योद्धा पनि थिए । उनका बारे पढ्दा मेरा छाती अभिमानले दरो भएको म अझै सम्झन्छु । पेटमा छुरा लागेर आन्द्रै बाहिर निस्किन लाग्दासम्म युद्ध गर्ने योद्धा र राष्ट्रभक्त सायद मेरा देशले विरलै पाउदो होला अब त । अबका त यिनै योद्धाले लडेर आफ्ना बनाएका जमिन बेचेर धनी बन्न आतुर हुने बढी निस्किए ।

यी अनेकौ सन्धिबारे सोच्दा आफ्नै गाँउघरको विकासको सन्दर्भ समेट्छु म । हवाइजहाजबाट मात्रै जान मिल्ने मेरो गाँउमा आज चिल्ला रोड बनेका छन् । अनेकौ नाम दिएर प्रजेक्ट सुरु गरिएका छन् । खोलामाथि ठूला ठूला पुल बनेका छन् र ठूला ठूला पहाड फोडेर सुरुङ्ग खनिएका छन् । खेतबारीमा काम गर्ने किसानहरु पैसाको लालचमा हाइड्रोपावरमा बालुवा ओसार्ने, गिट्टी फोर्नेजस्ता काममा लाग्नाले खेत बारी बाझो हुन थालेका छन् ।

आफ्ना प्राकृतिक श्रोत साधन अरुलाई सुम्पिएर आफू कम फाइदा लिएर विदेशीलाई बढी पोस्ने र आफ्ना स्रोत साधन आफैँ प्रयोग गरी देशमा विकासका लागि दक्ष जनशक्ति उत्पादन गर्न नसक्ने देशका नेतृत्व पङ्तिप्रति मेरो मनमा गहिरो आक्रोश छ । हो, पनि आफ्ना स्रोत साधन अर्कालाई थमाएपछि त्यसमा अरुको प्रभुत्व नहोला भन्न कहाँ सकिएला र !

आज देशका अधिकांश युवा स्वदेश वा विदेशमै आत्मनिर्भर रहे पनि देशै परनिर्भरतामा रहे, जनताको आत्मनिर्भरता पनि निरर्थक नै रहेझैँ लाग्दछ । देशका आधिकांश युवा जनशक्ति विदेसिन बाध्य पारेर उनीहरुको कमाइमा टिक्ने र देशमा रहेका बाँकी जनतालाई छिमेकी राष्ट्रको परनिर्भरतामा बाँच्न बाध्य पारेको सरकारप्रति मनभरिको आपत्ति पोख्न मन छ । तर ती सब आपत्ति मनभित्रै कुण्ठित पार्नु सिवाय बाहिर उजागर गर्न सक्दिनँ । उजागर गरे नि केही परिवर्तन गर्न सक्दिनँ किनकी म आफैँ पनि पीडित छु ।

पहिले पनि देशमा घटित विसङ्गतिबारे धेरै सुन्निथ्यो तर ती सब सधैँ यस्तै हो नि भनेर सामान्य रूपमा लिइन्थ्यो । आफ्नो काम, व्यस्तता र निजी जीवनमै ध्यानमग्न भइथ्यो तर हालको अवस्थामा यिनै बेवास्ता गरिएका विषयमा गहन विचार गर्न धेरै फुर्सद मिलेको छ ।

आफ्ना पीडा सँगसँगै देशको पीर खप्टिएर दिमागमा बोझ भएको महसुस हुन्छ । सारसौदो हुँदा आफ्नो लागि जे पनि गर्न सक्छु लाग्थ्यो तर अब आफूलाई पूर्णरुपले निसहाय महसुस गर्दछु । बरु कुनै समय हरतरहले अनुपेक्षित र निराशावादी रहेको यस सरकारसँग, आजको पलमा आफ्नो सकुशलताका लागि झिनो आश बोक्न बाध्य छु ।