Chovar Blues Mobile Size

आफ्नो उमेरभन्दा पनि निक्कै बुढो, बेचैन  र तनावग्रस्त अनुहार लिएर हरेराम बुर्लाकोटी दुईहप्तामा एकपटक साँझ परेपछि नेपाल पैसा पठाउने अफिसमा पुग्छ  र ७०० डलर डार्लिङ्गलाई पठाइसकेर  बाहिर निस्कन्छ । अनि एउटा चुरोट सल्काएर तान्दै  भिडियो कल गरेर भन्छ, “डार्लिङ् तिम्रो नाममा मैले पैसा पठाइदिएको छु है। आज चाहिँ च्याटमा तिमीलाई नभनीकन आएर सरप्राइज दिऊँ भनेको क्या।”

हरेरामको आईफोनको मोबाइलको स्क्रिनमा डिस्प्ले भएको भिडियोमा उता एयरफोन कानमा घुसाएकी अधबैंसे महिलाको अनुहारमा खुशीको रङ्ग प्रष्ट देखिन्थ्यो।

हरेरामले बिस्तारै डार्लिङ्सँग कुरा गर्न थालेपछि बिस्तारै तनावहरु भुल्दै गयो र रोमाञ्चित हुँदै गयो। उता डार्लिङ् पनि बिस्तारै पग्लँदै थिई मैन बत्ती झैँ। उनको गालामा हल्का गुलाबी रंग छाउँदै थियो। एताबाट हरेरामले डार्लिङ्लाई फ्लाइङ किस गर्यो। प्रेममा पर्नुको मज्जा नै सायद यहीँ होला।

***

डार्लिङ् भनेकी हरेरामले सामाजिक सञ्जाल फेसबुकमा भेट्टाएकी एउटी अधबैंसे महिला हुन्। करिब ८ बर्ष अगाडिदेखि हरेराम डार्लिंङ्सँग निरन्तर कुरा गरिरहन्छ र पैसा पनि पठाइरहन्छ।

“आ…फेसबुकमा भेटिएका सबै स्वास्नीमानिसहरुलाई    पैसा पठाउँदै जाँदा, कमण्डलु बोकेर हिँड्नु पर्ला नि है दाई, अनि नेपालमा रहेकी असली भाउजू र छोराछोरी रिसाउलान् नि।” मैले हरेरामलाई  भनेँ।

“के गर्ने बैनी, यो विदेशमा म एक्लै छु । त्यसमाथि पनि बिदाको दिनमा आफू एक्लै हुँदा ज्यादै नरमाइलो लाग्छ। बुढी सधैँ पैसा पैसा भनेर कचकच गर्छे। मेरो समस्या बुझ्दिन, कहिल्यै मीठो पनि बोल्दिन र चयनसँग बस्न पनि दिन्न। यहाँ पैसो कमाउन नै  मुस्किल छ । तलब आएको दिन पैसा सबै उसैलाई पठाउँछु। तैपनि बुढीको फोन उठायो भने तनाव नै हुन्छ र सकेसम्म कुरा नै गर्दिन। बरु अलिकति थोरै पैसा नै भएपनि मेरी डार्लिङ् खुशी हुन्छे र ऊ खुशी हुँदा म पनि खुशी हुन्छु । ऊ रिसाई भने मलाई पनि दिनै नरमाइलो लाग्छ।”  हरेरामले तीतो सत्य पुष्टि गर्दै मलाई भन्यो,“फेसबुकमा आफन्तहरुसँग यसो हाई, हेल्लो के छ  भनेपछि कुरो सकिजान्छ । गफ गरेर बस्ने र मुड फ्रेस गर्ने भनेको चाहिँ केटीहरुसँग  मात्रै  रहेछ।”

हरे शिव, धन्न अनलाइन ! चिन्नु न जान्नुको मान्छेसँग धनको  लोभ ।

“दाइ, तिम्रो यो माया निस्वार्थ हो किवा कसैले तिमीलाई फसाइरहेछ ?”  मैले हरेरामलाई सोधेँ।

“मलाई कसैले पनि फसाउन त सक्दैन थे होला तर म आफैँ आफ्नै विवशता र परिस्थितिले फसेको चाहिँ पक्का हो।” उसले  भन्यो ।

एक मनले सोच्यो, “नेपाल मै भएको भए उसकी स्वास्नीले कुच्चाले ढाडमा ठटाउँथिन् होला।” फेरि अर्को मन सोच्यो, “अनलाइन नै त एउटा चौतारी हो जहाँ हामीजस्ता परदेशिएका मानिसहरु सामाजिक जीवनमा भौतिक उपस्थिति जनाउछौँ। पार्कमा गयो कोही बोल्दैनन्। ट्रेनमा कोही बोल्दैनन्। रेष्टुरेण्टमा खान गयो कोही बोल्दैनन्। काम गर्ने ठाउँमा पनि हाई हेल्लो बाहेक केही बोल्दैनन्। मनभरिका भावना कसलाई भन्ने त ?” मैले चित्त बुझाएँ।

वास्तवमा हरेराम आफ्नै श्रीमतीलाई माया गर्न, आँखाभरि हेर्न, महसुस गर्न, मनभरिका गुम्सिएका भावनाहरु, मायाका दुई शब्दहरु पोख्न र सुख दु:खका सम्पूर्ण कुराहरु गर्न चाहन्थ्यो। तर उसले त्यो अवसर अहिले बिहे गरेको २८ बर्षमा पनि नपाएको गुनासो गर्छ।

“केटी हेर्न गइयो, अनुहार राम्रै थियो, बिहे पनि राम्रै सँग भयो, दुलही ल्याइयो । समाज, नातागोता सबैका अगाडि उनी मेरी श्रीमती भइन्, म उनको श्रीमान भएँ। शारीरिक सम्बन्ध पनि भयो र बच्चाहरु पनि भए तर प्रेम र रोमान्स चाहिँ हामीबीच कहिल्यै भएन।” उसले गहिरो कुरा गर्यो।

यसो भन्दा हरेरामको मनमा कुनै पाप पनि थिएन र उसकाे कुराबाट उसकाे पीडा अवश्य बुझ्न सकिन्थ्याे । उसका सबै कुराहरु सुनिसकेपछि मलाई लाग्यो ऊ दुई छोराछोरीको बाबु हो र कसैको लोग्ने पनि हो । तर के यति हुँदैमा उसको आफ्नो जिन्दगी समाप्त भयो त ? किनभने ऊ आफ्नो बसिसकेको घर पनि बिगार्न पटक्कै चाहँदैन र उसकी डार्लिङ्सँगको कुराबाट नेपालमा  रहेकी आफ्नी श्रीमतीलाई  पनि चोट पुर्याउन चाहँदैन थियो। उनीहरुले अनलाइनमै गहिरो र मिठो मित्रता कायम गरेर रमाइरहेका छन् भने यसमा बिग्रने के छ त ? मलाई लाग्यो।

हरेराम र  डार्लिङ्बीच जीवनका बारेमा अनगिन्ती कुराहरु भैसकेका छन्। दुबैले मनमुटुमा दबाएर, छुपाएर राखेका भावनाका पत्र पत्रहरु खोलिसकेका छन्। दशहजार माइल टाढा रहेको नेपाल र अमेरिकामा रहेका उनीहरु सँगै छैनन्  तर सँगै भएझैँ महसुस गर्छन्। माया अगाध छ तर साथ छैन। उनीहरु दुबैलाई प्रेमका पाइलाहरु सँगसँगै चाल्ने रहर छ। तर यो कुनै पनि हालतमा सम्भव छैन। एक दशकअगाडि नै हरेराम भविष्य उज्वल बनाउने चक्करमा मानव तस्करलाई मोटो रकम बुझाएर  कहिँ कतैबाट अमेरिका छिरेको थियो। त्यो जोखिमपूर्ण यात्राका ती दिन बिस्तारै बिर्सँदै गएको छ र ऊ अब सम्झन पनि चाहँदैन। अमेरिका छिर्नु अघि पनि घरकै कचकच सहन नसकेर ऊ दुबईमा गएको थियो र त्यहाँको तलब कम भएको भन्दै पैसा कमाउने लहै लहैमा एता अमेरिका छिरेको हो।

एता आएपछि पनि जीवन सहज थिएन। एकजना बंगालीको सहयोगमा ग्रिनकार्ड बनाउने चक्करमा लागेर नेपालमा उसले श्रीमतीसँग डिभोर्स माग्यो। श्रीमतीले पनि आजीवन महिनामा २ लाख पैसा पठाइदिने र नातागोता कसैलाई नभन्ने मौखिक सर्तमा डिभोर्स गरिदिइन्। एता एउटी अमेरिकन महिलासँग बिहे गरेको थियो। कागजी बिहेको सर्तमा भएपनि उनीहरु एउटै अपार्टमेन्टमा बस्थे। केटीले बारम्बार पैसा मागिरहन्थि र हरेकदिन कि त रेस्टुरेन्ट लानुपर्थ्यो नलगे घरमै खाना पकाएर खुवाउनु पर्थ्यो।

सपिङ् गर्ने, लण्ड्री, घरको सफासुग्गर सबै उसैले गर्नुपर्थ्यो। यसो गर्दा कमाएको पैसा यहीँ पुग्दैन थियो। उता नेपाल पठाउने पैसा नै नबच्ने। उसको ग्रीनकार्ड बन्न नै नपाउँदै उसलाई ग्रीनकार्ड बनाइदिने भनेकी श्रीमती अकस्मात बेपत्ता भई र ऊ कहाँ छे भन्ने थाहा समेत छैन। ऊ कानुनी रुपमा विवाहित भएकाले न त उसकी डार्लिङ्लाई ल्याउन नै सक्छ न त अमेरिका छोडेर भेट्न नेपाल जान नै सक्छ। हरेराम विवाहित हो कि अविवाहित हो भन्ने कुरा बेला बेलामाआफैं कन्फ्यूज हुन्छ। यो पीडा भने उसले आफ्नी डार्लिङ्लाई शेयर गर्न सकेको छैन।

“यो  कुरा सुनायो भने डार्लिङ्ले पनि छोडिदिन्छे र म एक्लै हुन्छु।”  उसले बाेल्या ।

हरेरामको आधा जिन्दगी नेपालबाहिर विदेशमै बित्यो। उसलाई आफ्नै छोराछोरीले पनि खासै वास्ता गर्दैनन्। श्रीमतीसँग कर्तव्यबाहेक कुनै किसिमको पनि सम्बन्ध विकसित हुनै सकेन। आफन्त नातागोताहरुले पनि लगभग बिर्सी नै सके। उसको हातमा एउटा मैलो पुरानो हरियो राहदानी छ। अनलाईनमा च्याट गर्ने एउटी डार्लिङ् छिन्। न त आफ्नो बस्ने छुट्टै कोठा छ न त बैंकमा कुनै ब्यालेन्स छ न त भविष्यमा यसो गर्छु भन्ने कुनै योजनाहरु नै बनाउन सक्छ।

मेन्हाटनको एउटा सुपर मार्केटमा करिब १२ घण्टा काम गर्छ। थोरै डार्लिङ्लाई र धेरै डिभोर्सी श्रीमतीलाई पठाउँछ। आफूले कोठा भाडा तिर्न, नेपाली होटलमा भात खान, मोबाईलको बील तिर्न र मेट्रोको लागि अलिकति पैसा राख्छ। यति विशाल सहरमा एउटा सानो कोठामा तीनजना साथीहरुसँग खुम्चिएर बसेको छ। ऊ फैलन वा, जिउ तन्काउन परे कोठा बाहिर नै निस्कनु पर्छ। एकान्त खोज्न कि त पार्कमा वा कुनै स्टारबक्सको कुनामा बस्न जानुपर्छ।

उसले ग्रीनकार्डका लागि बिहे गरेकी  अमेरिकन श्रीमतीले काँटा चम्चा समात्न, पाउरोटीमा बटर दल्न, लन्ड्री गर्न, क्रेडिट कार्ड घोट्न, घरमा सामानहरु सजाएर राख्न, नरम भएर मान्छेहरुसँग बोलचाल गर्न, नपुग्ने र नपुर्याउने वाचाहरु नगर्न, श्रीमतीलाई कुनै युद्ध लड्न गएको सिपाहीको कमाण्डर जसरी पछाडि लगाएर हैन कुममा कुम जोडेर सँगसँगै हात समाएर हिँड्डुल गर्न, सँगै बसेर खान वा काममा भएपनि श्रीमतीको सामीप्यमा रहिरहन, शिष्ट तरिकाले प्रेम गर्न, पर्खेर बस्न , अङ्कमाल गर्न, एकले अर्कालाई सन्चो बिसन्चो सोध्नलगायत थुप्रै कुराहरु सिकाएकी थिई।

वास्तवमै हरेरामलाई सुरुवातमा यो प्रेम हो कि जीवनको तमासा हो बुझ्न गाह्रो भएको थियो । जस्तो लागेपनि बिस्तारै प्रेम भनेको त यस्तो गहिरो पो रहेछ त भनेर महसुस हुन थालेको थियो। भाषाको कठिनाइ र खर्चालु लागेपनि त्यो सम्बन्धमा निक्कै मिठास र खुशी पनि मिसिएको थियो। तर उनले चटक्कै छाडेर बेपत्ता भइदिइन्। त्यति बेला हरेरामले अलिकति धोकाको महसुस पनि गर्यो। तर त्यो प्रेम अहिले डार्लिङ्सॅग अरु सप्रिरहेको महसुस गर्छ। तर उनी अझैपनि कतै फेला परिन् भने अझैपनि बिनासर्त स्वीकार गर्न तयार छ। तर त्यो सम्भावना पनि छैन।

उसको सातामा एकदिन छुट्टी हुन्छ । छुट्टीको दिन लन्ड्री गरेर टिल्ल रक्सी पिउँछ र डार्लिङ्लाई फोन लगाएर “आइ लभ यु डार्लिङ्” भन्छ। यसो भन्दा उसलाई हृदयमा तिरले हानेको जस्तो महसुस हुन्छ र आफैंसँग खिन्न हुन्छ। न त आफ्नो चाहनाअनुसारको संसार बनाउन सक्छ न त उसकी डार्लिङ्लाई आफ्नो जीवनको वास्तविकतालाई खुलाउन नै सक्छ।

हरेराम सिर्फ उसका सपना र वेदना मात्रै बाँडिरहन्छ।