
म आइपुगेको छु सुरेशको बङ्गलामा। उनले मलाई आज साँझ आफ्नो घरमा खान बोलाएका छन्। हामी दोस्रो तल्लामा बनाइएको बगैँचामा छौँ। वातावरण अति मोहक छ। फूलका अनके सुगन्धहरू फैलिएका छन्।

विश्वराज अधिकारी
“मिलन ! हेर न, मैले त कुरा गर्न पनि बिर्सी सकेँ। केवल कुरा सुन्ने मात्र बानी परेको छ। मलाई त कुरा नै गर्न आउँदैन। कसरी कुरा प्रारम्भ गर्ने, कहाँ टुङ्याउने, मलाई कुनै ज्ञान छैन। कुनै मजाको कुरा सुरु गर न। आफ्नो जीवन त केवल बिरामी हेर्दा हेर्दै बित्यो। कत्तिको छाती चिरे, कत्तिको पेट चिरे, कत्तिको चुँडिएको आन्द्रा जोडेँ, गन्न सक्ने स्थिति छैन। मलाई लाग्छ, मेरो जीवनको आधा भन्दा बढी भाग त्यो अस्पतालको अपरेसन थिएटर, ओपिडी र वार्डमा चक्कर काटेर बितेको छ।’ यति भनेर मेरो सर्जन साथी सुरेशले गालामाथि हात राखे। टाउको कन्याए अनि मतिर हेरे। ‘सुनाउन कुनै नयाँ र खास कुरा। तिमीसङ्ग मजा मजाका कुराहरू हुन्छन पनि ।” उनले थपे पनि।
उनको इमान्दारी र प्रेमको मैले कदर पनि गर्नु पर्ने भयो। मैले केही बोल्नु पर्ने नै भयो।
“तिम्रो कलेज जीवन मोटा मोटा किताब पढेर बित्यो। जागिरे जीवन केवल बिरामी हेरे बित्यो। पैसा त निकै कमायौ। काठमाडौँमा महल पनि बनायौ। तर बेलामा जीवनको आनन्द लिन जानेनौ। डाक्टर बन्ने र पैसा कमाउने तिम्रो चाहनाले जीवनको आनन्दमाथि कालो पर्दा हालिदियो। तिमीले देख्न पाएनौ। बुझ्यौ सुरेश ?” मैले भनेँ।
सुरेश मेरो कुरा सुनेर अक्मकिए। उनले, देशको प्रसिद्ध डाक्टर भएर खुब ख्याति आर्जन गरेको र पैसा पनि अति कमाएको प्रति मैले ईर्ष्या गरेझैँ उनलाई लागेको मैले अनुमान गरेँ। मेरो अनुमान गलत पनि हुन सक्छ। मान्छेको मनले उल्टो पनि सोँच्छ।
‘होइन जीवनको आनन्द भनेको के हो? तिमीले के भन्न खोजेको हो? म जस्तो कुरा गर्न पनि बिर्सेको मान्छेलाई तिम्रो पेंचिलो कुरा कसरी थाहा हुन्छ? हेर, मैले त कहिलेकाहीँ मन लाग्दो गरी बोलेको र राम्रो गरी कुराकानी गरेको पनि एक हप्ता हुन्छ। कति हप्ता केवल अस्पताल र घर, घर र अस्पताल गरेर बित्छ।’
सुरेशको यो भनाइमा मलाई अलिकति पनि अविश्वास भएन। हामी दुई साथी बसेर शनिवार साँझ आनन्दपूर्वक ड्रिंक गर्दै कुराकानी गरिहरेको अवस्थमा कतिपटक अस्पतालबाट इमरजेन्सी कल आएर सुरेश हतारिँदै अस्पताल गएको मैल धेरै पटक भोगेको थिएँ। त्यसरी सुरेश अस्तपाल गएपछि रातभरि उनी उत्तै अस्पतालमा बसेको र यता सुरेशको वाइफ इन्दिरा र मैले गफ गरेर बिताएका रातहरू औंलामा गन्न सकिँदैन। इन्दिरा र म कलेजदेखिको साथी मात्र होइन म इन्दिराको व्वाइफ्रेन्ड भएकोले पनि हाम्रो सम्बन्धलाई चाहेको जुनसुकै दिशामा जान छुट छ। कुनै सीमाना छैन। रोकछेक छैन।
मैले सुरेशको जिज्ञासा शान्त पार्नु पर्ने भयो। हुन पनि सुरेश जस्तो किताबको किराले मेरो दार्शनिक कुरा कसरी बुझ्नु ?
उनले गुमाएको आनन्द के हो त्यो प्रष्ट पार्ने प्रयास गर्दै मैले भनेँ, ‘सुरेश, कलेज पढ्दा केटीहरूलाई नियालेर हेर्यौ ? उनीहरूसँग टाँस्सिएर बस्यौ? कसैसँग प्रेम गर्यौ? कसैको तातो छाती स्पर्स गर्यौ ? अनि अरु कुरा… पनि गर्यौ ? हो, तिमीले आफ्नो विद्यार्थी जीवनमा यस्ता कुराहरू कहिले पनि गरेनौ। केवल पढाइमा ध्यान दियौ। केटीहरूलाई साथी बनाउनुको सट्टा मोटा मोटा किताबहरूलाई आफ्नो साथी बनायौ। हो, त्यो कारणले गर्दा तिमीले जीवनको आनन्द उठाउन सकेनौ। जवानीमा विपरित लिंगी व्यक्तिको तातो शरीरको आनन्द लिन सकैनौ। अब यो साठ्टी वर्षे उमेरमा चाहेर पनि लिन सक्तैनौ। यो कारणले गर्दा तिमीले जीवनको आनन्द गुमायौ।”
सुरेशको मुहारमा प्रतिविम्बित जिज्ञासाले अझै थप कुरा जान्न खोजेको मैले अनुमान गरें।
थप प्रष्ट पार्नको लागि भनेँ, “मेरो कुरा सुन्छौ, मेरा त दर्जनौँ गर्लफ्रेन्ड थिए मेरो कलेज जीवनमा। मेरो कलेज जीवन रङ्गीन थियो। मेरो जवानी रङ्गीन थियो। मेरो जवानीको मैले भरपूर आनन्द उठाएँ। त्यसकारण मलाई मेरो जवानीसँग कुनै गुनासो छैन। उल्टो मेरो जवानी अनेक रङ्गीन कथाहरूले भरिएको छ। अहिले ती कथाहरू सम्झिंदा पनि आनन्द आउँछ। आहा, निर्मला, शिवु, नेहा, गंगा, ज्योत्सनासँग बितेका मेरा दिनहरू।”
मैले निष्कर्ष सुनाएँ, “जवानीका दिन जसको रंगिन हुँदैन उसको जीवन अधुरो हुन्छ।”
सुरेशले मेरो कुराहरू सुने मात्र। उनले थप केही कुरा गरेन। इन्दिरा भएको भए मसँग उनको दोहरो र लामो कुरा हुन्थ्यो। इन्दिरालाई मैले भाउजु भन्ने गरेको थिइनँ। इन्दिरा मेरो साथी हो भन्ने कुरा सुरेशलाई थाहा थियो तर उनी मेरो कलेजको जमानाको गर्लफ्रेन्ड हो भन्ने थाहा थिएन। इन्दिरा र मैले सावधानीपूर्वक यो गोप्यता लुकाएका थियौं।
***
सुरेशकहाँ गएको पाँच वर्ष भन्दा बढी भइसेको थियो। यता म कलेजको कामले गर्दा ज्यादै व्यस्त हुन पुगेको थिएँ। व्यवस्थापन समितिले मलाई करकाप गरेर क्याम्पस प्रमुख बनाएको मलाई पटक्कै मन परेको थिएन। म जस्तो खुला पंक्षीलाई क्याम्पस प्रमुख पद भालुको कन्पट भएको थियो। क्याम्पस प्रमुख भए पछि आम्दानी ह्वातै बढे तापनि त्यो आम्दानी मेरो लागि हातखुट्टा सजिलै चलाउन नदिने जन्जिर हुन पुगेको थियो। मेरा गर्लफ्रेन्डहरूसँग भेट्न पाएको थिइनँ।
म शनिवार साँझ सुरेशको घर पुगेको थिएँ।
कुराकानीको क्रम प्रारम्भ भयो। कम बोल्ने र केवल घोरिएर सोच्ने सुरेशले त्यो दिन मलाई अलमलमा पारिदिए। कुरा उनले सुरू गरे।
हाँस्दै भने, “हेर न मिलन, बिरामीलाई उसको आफ्नो स्वास्थ्यको भन्दा बढी चिन्ता हामी डाक्टरहरूलाई हुन्छ। बिरामीले समयमा औषधी खायो वा खाएन भनी चिन्ता हुन्छ। ज्वरो बढ्यो कि भन्ने चिन्ता हुन्छ। रक्तस्राव भएको की भन्ने चिन्ता हुन्छ। कुनै बिरामीले दर्द कम गर्ने र निद्रा लाग्ने औषधी खाएर शान्तिसँग अस्पतालको बेडमा रात बिताउँछ । यता हामीलाई त्यो बिरामीको स्वास्थ्यको चिन्तामा परेर, अनेक कुरा सोचेर रातभरि निद्रा लाग्दैन। बिरामीले बरू नडराएर आफूलाई मन परेको तर स्वाथ्यलाई हानी पुग्ने कुरा खाइदिन्छ । हामी भने बिरामीले त्यस्तो नगरोस् भन्ने हरपल कामना गरिरहन्छौँ। कस्तो अचम्मको पेशा रोजेछु मैले ! चोट बिरामीलाई लाग्ने पीडाको अनुभूति हामी डाक्टरलाई जुनबेला पनि भइरहने।”
सुरेश निकै बेर हाँसे । पुरानै कुरा दोहर्याए, “यार कुनै नयाँ कुरा गर न, मैले त कुरा पनि गर्न बिर्सिसकेको छु। केवल सोच्न भने सक्छु । मात्र अनेक कुराहरू । यो औषधीले यो बिरामीलाई ठिक नभएमा कुन औषधी दिने, त्यो औषधीले त्यो बिरामीलाई ठिक नभएमा कुन औषधी दिने। यस्तै यस्तै अनेक कुराहरुमा लामो बेरसम्म म घोरिन भने सक्छु।”
हामीबिच लामो कुराकानी भयो। कुराकानीमा इन्दिराको उपस्थितिले वातावरण झनै रमाइलो हुन पुग्यो।
“अर्को शनिवार हामी, केवल म र तिमी कतै घुम्न जाऔँ। आउने शानिवार अस्पतालबाट छुट्टी लिनू। अकल ड्युटी पनि नलिनू। पूर्ण रुपमा स्वतन्त्र हुनू, है त। अनि, इन्दिरा हामी दुईलाई घुम्न जान दिनु है, सुरेशलाई नरोक्नू नि ?” मैले प्रस्ताव राखेँ।
इन्दिराबाट कुनै अवरोध नभएकोले मेरो प्रस्ताले उनीबाट स्वीकृति पाएको मैले अनुमान गरेँ। रातीको दस बजिसकेको हुनाले म आफ्नो घर भैसेपाटीतिर लागेँ।
***
अर्को दिन, योजनाअनुसार चावहिलस्थित सुरेशको घर म पुगेँ। त्यहाँ पुग्दा साँझको सात बजिसेकेको थियो। म र सुरेश कारमा चढेर ठमेलतिर लाग्यौँ।
“हामी कहाँ जाने हो ?” सुरेश प्रष्ट हुन खोजे ।
“हामी ठमेल जाने हो ।” मैलै भनेँ ।
“ठमेलमा कहाँ जाने हो ?”
“त्यहाँ पुगे पाछि थाहा भइ नै हाल्छ नि।”
हाम्रो कुराकानीबाट गन्तव्य प्रष्ट भएको हुनाले कारचालक ठमेलतिर लागे ।
कारचालकलाई पार्किंग स्थानमा राखेर हामी लाग्यौँ मैले रोजेको गन्तव्यतिर।
“हामी कहाँ जाने हो ?”
“त्यहाँ पुगे पछि थाहा भइहाल्छ नि?” एउटै कुरा मैले दोहोर्याएँ।
हामी गन्तव्यमा पुगेपछि सुरेशले हाँस्दै भने, “ओ हो, ठमेलको डान्सबार पो ल्याएछौ ।”
अनेक रंगको प्रकास छरिएको थियो त्यहाँ। वातावरणले नै त्यहाँ हुनेहरूलाई उत्तेजक तुल्याइरहेको थियो। युवायुवतीहरूले भरिएको थियो त्यो डान्स बारमा अर्ध नसामा भएकाहरू अर्को चर्को स्वरमा बोलिरहेका थिए। उनीहरूको नजरमा कामुकता प्रष्ट गरी झल्किन्थ्यो।
“मलाई यहाँ कसैले चिने भने मैले के गर्ने होला ? हजारौँ बिरामीहरुले मलाई चिनेका छन्। डाक्टरले आफूले हेरेको बिरामी चिन्दैन तर कुनै बिरामीले आफूलाई देखाएको डाक्टरलाई भने जिन्दगभरी बिर्सिँदैन।” सुरेश डराएर अभिव्यक्त गरे।
“सुरेश ! हो, त्यो कारणले मैले तिमीलाई कैप र सन ग्लास लगाउन भनेको हो र बस्नका लागि यो डान्सबारको यो अलि अँध्यारो ठाउँ रोजेको हो।” मेरो खास योजना मैले सुनाएँ।
सरेश अब अलि निश्चिन्तझैँ देखिए।
टेबलमाथि रहेका खाना खाँदै, ड्रिंक गर्दै, हामीबीच कुराकानीको क्रम चल्यो। मेरो योजनाअनुसार एक युवती सुरेश बसेको कुर्सीमा नै टाँस्सिएर बसिन्। आफ्नो शरीरको अग्र भाग सुरेशको पृष्ठमा पुर्याएर बेस्सरी टाँस्सिन् पनि।
सुरेशको काँधमा हात राख्दै उनले भनिन्, “सर ! किन धेरै सिरियस हुनुभएको ? डान्सबारमा आएपछि त डान्स गर्नुपर्छ। अर्कै संसारमा पुग्नुपर्छ। यस्तो रमाइलोमा आफूलाई बिर्सिदिनुहोस्। आवश्यक परे मलाई कुनै पनि बेला बोलाउनु भए हुन्छ। म यो डान्सबारमा काम गर्छ ।”
यति भनेर ती युवती अलप भइन्। ती युवतीको कुरा सुनेर सुरेशलाई केही असहज भएको मलाई लाग्यो।
मैले सुरेशलाई भनेँ, “तिमीसँग जोरिएर बस्ने ती युवतीलाई डान्सबारबाट बाहिर पनि लग्न सक्छौ, तिमीलाई आवश्यक परे भने। यी अति नै राम्री छिन्, है। हट पनि उत्तिकै। अनि अनेक किसिमको रमाइलो गर्ने पनि…।”
डान्सबारमा डान्स प्रारम्भ भयो। अनेक किसिमको डान्सहरू भए। अनेक किसिमका गीतहरू गाइए। रात मध्य बिन्दुमा पुगेको थियो। डान्सको क्रम टुटेको थिएन। पछिल्ला डान्सहरूमा भने नर्तकीहरू अर्ध नग्न अवस्था देखिन थालेका थिए। केहीले त आफूलाई क्षणभरका लागि निर्वस्त्र नै पारेका थिए। अति रङ्गीन मिजाजका केही युवाहरू स्टेजमा नै पुगेका थिए।
यो पछिल्लो स्थितिमा भने सुरेश पूर्व अवस्था भन्दा निकै खुलिसकेका थिए। उनी पनि आफू बसेको स्थानमा हल्लिन थालेका थिए, डान्स गर्ने युवतीहरूको तालमा नाच्न थालेका थिए।
“सुरेश, युवतीहरूको नग्न शरीरले हामीलाई जस्तै तिमीलाई त उत्तेजित पार्दैन होला?” मैले जिज्ञास राखें।
“किन र कसरी?”
“किनभने तिमीले अपरेसन थिएटरको टेबलमा माथि कैयन युवतीहरूको पूर्ण नग्न शरीर देखिसकेका छौ, होइन त?”
“देख्न त देखेको हो। तर त्यो बेला मैले देखेका नग्न शरीरहरू केवल शरीर थिए। भावविहीन थिए। केवल वस्तु थिए। तिनमा भावना थिएन। अनि ममा, केवल कर्तव्य मात्र…।”
“हो र ? त्यस्तो पनि हुन्छ ?”
“हुन्छ। तिमी डाक्टर भएको भए यो तथ्य थाहा हुन्थ्यो।”
यस्तै कुरकानी चलिरहेको क्रममा सुरेशले भने, “अहिले भइरहेका डान्सहरू हेर्न देऊ। आनन्द लिन देऊ। यस्ता कुराहरू पछि गरौंला।”
यता युवतीहरू अनेक कामुक मुद्रामा डान्स गर्ने क्रम चलिरहेको थियो। रोकिएको थिएन।
रातले मध्य बिन्दु पार गर्न आरम्भ गरेपछि हामी माथिल्लो तल्लाबाट झर्यौँ। कार पार्क गरेको स्थानतिर लाग्यौँ।
***
प्रत्येक शनिवार वा महिनाको दुई शनिवार म र सुरेश अनेक डान्सबार जाने क्रम एक वर्षभन्दा बढी नै चल्यो। सुरेश जहिले पनि कैप सन ग्लाससहित पुग्थे। हामी डान्सबारको तोकिएको स्थानमा बस्थ्यौँ।
***
एक दिन सुरेशको घरमा पार्टी राखिएको थियो। काठमाडौँको पुष-माघको चिसोलाई न्यानो पारिदिएका थिए आँगनमा बालिएका दाउराका थुप्राहरूले। साँझको गाढा भइसकेको थियो। पचास जना जति आमान्त्रितहरूमध्ये अधिकांश डाक्टर र उनीहरूका परिवारका सदस्यहरू थिए।
कस्तो संयोग! दाउरा बालिएको एक स्थानमा म र इन्दिरा मात्र हुन पुग्यौँ।
“मिलन, आजभोलि तिमी र सुरेश प्राय: हरेक शनिवार कहाँ जान्छौ, हँ?”
“किन ?”
“तिमीले सुरेशलाई हरेक शनिवार बाहिर लग्न सुरू गरेदेखि सुरेश निकै बदलिएका छन्।”
“हो र ?”
“हो, पहिले भन्दा ज्यादै कामुक भएका छन्।”
“कसरी?”
“पहिले, सुरेश राती पलङमा, मेरो छेउमा सुत्नासाथ ढुङ्गा हुन्थ्यो। र त्यो ढुङ्गा केवल पाँच बजे जीवित हुन्थ्यो। र हत्तारिँदै सात बजे अस्पताल पुग्थ्यो।”
“आजभोलि नि?”
“आजभोलि त कुरा नै नगर, कहिलेकाहीँ त सुत्न पनि दिँदैन, सुरेशले। हा हा हा हा।”
“निकै रङ्गीन पो भएछ सुरेश।”
“हो निकै कामुक भएको छ सुरेश। मिलन, बरू सुरेशलाई यसरी शनिवार शनिवार घुमाउन लग्न क्रम जारि नै राख है, प्लिज।”
“बरू एउटा कुरा भन त मिलन। तिमीले सुरेशलाई शनिवार, शनिवार कता घुमाउन लग्ने गरेका छौ ?”
“डान्सबार, युवतीहरूको कामुक डान्स देखाउन।”
“हो र…?”
यस्तै यस्तै कुराहरू म र इन्दिराबिच भइरहेको क्रममा सुरेश टुप्लुक्क हामी नजिक आइपुगे। हाम्रो कुराकानीको क्रम रोकियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

