‘साँझको बेला त्यता नहिँड्नू बच्चाहरु रुन्छन् ।’ त्यति मात्र भन्नुहुन्थ्यो साइँली आमा । हामीलाई साँच्चै बच्चा निस्केर रुन्छ होला भन्ने लाग्थ्यो । हामी डराउँथ्यौँ । केही गरी त्यता हिँड्दा रात पर्‍यो भने सातोपुत्लो उड्थ्यो । साइँली आमाको बोली कानैमा गुञ्जिरहन्थ्यो । झनै डर लाग्थ्यो । अनि गुटुटुटु कुद्थ्यौं हामी । ढुकढुकी बढेर सास फेर्न गाह्रो हुन्थ्यो । अलि परसम्म दौडेपछि सास आउँथ्यो अनि मरीमरी हाँसेर डर पचाउँथ्यौं ।

‘यी छौडाहरुलाई झन् साँझको बेला त्यता नजानू भन्यो टेरे त मर्नु ।’ भन्दै माटोको डल्लोले हान्नुहुन्थ्यो साइँली आमा । हामी १० हात अगाडि हुँदा १० हात पछाडि डल्लोले हान्नुहुन्थ्यो । लाग्ला कि भनेर तर्साउन मात्र ।

साइँला बा उहिल्यै बित्नु भएको हुनाले साइँली आमा सादा पोसाकमा हिँड्नुहुन्थ्यो । शिरमा विभुति कि के भन्ने खरानीजस्तो लगाउनुहुन्थ्यो । झुट बोल्नुहुन्न थियो । केटाकेटीलाई असाध्यै माया गर्ने हुनाले साइँली आमा गाउँको केटाकेटीको लागि साँच्चै आमा हुनुहुन्थ्यो । बिहान ४ बजे साइँली आमा उठ्नुहुन्थ्यो र भोटी कुकुर लिएर मकै रुङ्न हिँड्नुहुँन्थ्यो । गैरीखेतसँगै जोडिएको ठुलो बाँसझ्याङ थियो । बेलुका बाँदरहरु त्यहाँ बास नबसेसम्म त्यहीँ रुङ्नुहुन्थ्यो र बिहान पनि ४ बजे नै पुग्नुहुन्थ्यो ।

भरत सरकार

“ए मोरामोरी हो छिटो आहो बाँदर खेद्न !” बिहानै सबैको निन्द्रा खुलाउनु हुन्थ्यो । सबै भेला भएर बाँदर नखेदाएसम्म साइँली आमा त्यहीँ कराइरहनु हुन्थ्यो । कहिले भरुवा बन्दुक पड्काइन्थ्यो । कहिले सबै भेला भएर डाँडा कटाउथ्यौं बाँदर खेदेर । विडम्बना के भने हामीभन्दा पहिले बाँदर आइपुग्थे गाउँमा । बाँदर नहुँदो हो त मकै खेतिको रौनक सकिन्थ्यो होला ।

एकचोटि हुलाकी जिवा (हजुरबा) खसेको बखत म मलामी गएँ । अरु सबै ठुलाठुला थिए म सानो । नदी किनारमा राखिएको लास रुँगेर बस्ने जिम्मा मलाई दिए । लु तँ रुँगेर बस् हामी दाउरा खोजेर आउछौँ भनेर सबै गए ।

झमक्कै साँझ परिसकेको थियो । आफ्नो होसले ठाउँ छोड्यो । म आँखा पनि नझिम्काई लासलाई हेरेर बसेँ । हल न चल भएँ । पछाडि हेरौँ भने लास उठेर तान्ने हो कि जस्तो लाग्यो । दायाँबायाँ हेर्ने आँट पनि आएन । मैले सास पनि कसरी फेरेँ थाहा छैन । झण्डै आधाघण्टा पछि एकजनाले ठुलो मुढा लिएर आयो । अनि मात्र लामो सास फेरेँ । जीवनदान पाएजस्तो भयो ।

मलामीहरु फर्किने क्रममा प्रधान दाइले सोध्नुभयो ‘ए माइला ! कतिजना मान्छे भयो भने यहीँ रात काट्न सक्छस् ?’ माल्दाइले पेट्रोलमेक्समा दम दिँदै भन्नुभयो ‘बेलबोटे दाइ र म भए बस्न सक्छौं’ । ‘तँलाइँ हुलाकी बूढा आएर सँगै लैजान्छन् अनि थाहा पाउँछस्’ अर्का दाइले थपे । देखिनस् त्यसरी आउलान भनेर काँडाको बार लाएर आको ? माल्दाइ झन् के कम । बेलबोटे दाइ पनि मख्ख परे । सायद निडरको ठाउँमा आफूलाई पाएर होला । बेलबोटे दाइको गोजीमा पाचक हुन्थ्यो । हामी दाइको पछि लाग्थ्यौँ पाचक खान । केटाकेटी झुम्मिन्थे दाइसँग ।

“डराएर हेर्‍यो भने अलि परको रुख सर्न थाल्छ । मान्छे हिँडेजस्तो लाग्छ । नडराई हिँड्यो भने जस्ताको तस्तै हुन्छ केही हुँदैन ।” बेलबोटे दाइले थपे ।

“एकचोटी एकादशी मेलामा जाँदा साह्रै निद्रा लागेर ढुङ्गामाथि सुत्नुभयो रे बेलबोटे दाइ । निदाउन खोज्दा झसङ्ग झसङ्ग भएर निदाउन सक्नु भएन रे । बिहान खाली भएको बेला हेर्दा त त्यो चिहान रहेछ रे । जति नै नडराई सुते पनि चिहानमाथि चै निदाउन नसकिने रहेछ ।” बेलबोटे दाइको कथन थियो ।

हाम्रो वेँसीखेत निकै टाढा थियो । जान, आउन हामी केटाकेटीलाई त निकै समय लाग्थ्यो । डर पनि लाग्थ्यो । एक लास ठाउँको खेतमा पनि पानी भाँचेर लैजान्थे दाइहरुले । हाम्रो घरमा दह्रो खरो कोही थिएन । म सानै थिएँ । बल्लबल्ल लगाएको बालीनालीमा यसो हेरचाह गरिदिऊँ भन्ने त कहाँ हो कहाँ उल्टो पानी मार्दिने, सुख्खा बनाइदिने गर्थे सदियार दाजुहरु ।

पानीको मुहान जंगलभित्रको अनकन्टारमा थियो । निकै लामो खेवा थियो कुलोको । जान डरलाग्थ्यो । तल्लो कुलो दाइहरुले एकलौटी चलाउँथे । त्यहाँको पानी हाम्रोमा लगायो भने कराउँथे । डर लाग्थ्यो । हामी मास्लो कुलोको पानी लगाउँथ्यौं । त्यो पनि वर्षमा २-४ दिन लाग्न पाउँथ्यो हाम्रोमा । अरु सबै दिन दाइहरुले नै लगाउँथे पानी ।

एकदिन पानी लगाउन जाने क्रममा बाघ कराएको आवाज आयो । सास न बास भएर कुद्यौं हामी । अलिमाथि टुनीबोट भन्ने खेत थियो । त्यही बाटो जाने क्रममा आफ्नो अगाडि सेतो वस्तु देखेँ मैले । मनमा डर थियो । त्यो सेतो वस्तु झन् अग्लो भएको भान भयो । डरले छोटो बाटो छोडेर लामो बाटो हिँडेर घर पुगियो । घरपुग्दा धुकधुकी मात्र बाँकी थियो । भोली पल्ट के रहेछ भनेर हेर्न गएँ । अग्लो काँसको बोट रहेछ सेतै फुलेको । मन ढुक्क भयो । बेलबोटेको कुरा सुनेर मैले यही घटना संझिएँ ।

त्यतिबेला म नौ बर्षको थिएँ । त्यति बेलै हो मेरो बुबा खस्नु भएको पनि । बुबा खसेपछि गाउँमा कोही कसैको मृत्यु हुँदा ठुलो छोरो भएकोले मलामी जाने म नै थिएँ । माल्दाइ र बेलबोटे दाइको कुराले यो भूतसुत, तर्साउने सर्साउने केही नहुने रहेछ क्यार भन्ने लाग्यो । साइँली आमाले भनेको ठाउँतिर जाँदा डर चैँ लाग्थ्यो तर पहिले भन्दा कम । सुकुवा बगरमा त माल्दाइ र बेलबोटे दाइ भए राति बस्न सक्छन् रे । यो त गाउँकै छेउ हो के को डर भन्ने लाग्थ्यो ।

हामीले बर्खाभरी गाइबाख्रा चराउने ठूलो चौर थियो । चौरको पूर्वपट्टि थियो सुरिला सुरिला पात्लेको बिरुवाले ढाकेको जंगल । अलि बलिया र ठुला केटाकेटी रुखडुम खेल्थे । अलि बुढापाका दहलमारा । हामी सानाखाले डण्डिवियो । त्यो अचम्मको चौर थियो । लगेर छोडेपछि गाई, बाख्रा, भैंसी चरिरहन्थे तर बेलुका फर्किँदा बिहान लगेभन्दा भोको हुन्थे ।

जंगलको दक्षिणपट्टि एउटा थुम्को थियो । थुम्कोबाट पुरै खराङ गाउँ, अरुणपारीका संखुवासभा र धनकुटाका भूभागहरु रमाइला देखिन्थे । संखुवासभाको शिरतिर हिमाल पनि देखिन्थ्यो । त्यो कुन हिमाल हो भनेर गाउँका मान्छेलाई खासै थाहा थिएन । त्यस्तै मलाई पनि । अहिले लख काट्दा सायद मकालु हिमशृङ्खला हो कि ! हामी बेलाबेला त्यही झक्रिन थुम्कोमा गएर रमिता हेर्थ्यौँ । त्यसै क्रममा साइँली आमा भन्नुहुन्थ्यो नानी रुन्छ साँझमा त्यता नहिँड्नू भनेर ।

नानी रुन्छ मात्र भन्नु हुन्थ्यो । हामी डराइहाल्थ्यौँ । सायद तर्साउने होला । भूतसुत यस्तै केही होला भन्ने लाग्थ्यो मनमा । कहिल्यै प्रश्न गरिएन साइँली आमालाई । नानी रुने कारणको बारे कहिले सोधिएन । साइँली आमाको कुरा नबुझीकनै हामी एसएलसी दिने भयौँ । एसएलसीको रिजल्ट पर्खिने समयतिर त हामी दैनिकजसो झक्रिन थुम्को जान्थ्यौँ । त्यो पनि साँझपख । कहिल्यै नानी रोएको सुनेनौँ । कोही साथीहरुले खैनी खान थालेका थिए । कोहीले चुरोट पनि । मैले पनि चुरोट चाखेको त्यही बेलामा हो । सर्किएर घन्टौ खोकेको थिएँ ।

हामी जहिले त्यता जाने भएकोले होला हामीलाई त्यो जंगलमा घोचा काट्ने गरेको आरोप पनि लाग्यो । झुटो आरोप लाएपछि चित्त पनि दुख्यो र डर पनि लाग्यो । त्यता जान छोडिदियौं ।

एकदिन मध्य दिनतिर केही बर्दी लगाएका पुलिसहरु आए । डम्बरी अगाडि लागेर आई । औंलपलपे ठाउँ देखाई । पुलिसहरुले फोटोसोटो खिचे र डम्बरीलाई लिएर गए । ईलाका प्रहरी कार्यालयबाट पनि जिल्लामै लगे रे ! किन लगेको भन्ने हामीलाई पत्तो भएन । गाउँमा डम्बरीलाई केही समयदेखि देखिएको थिएन । कसैले खासै चासो पनि दिएको थिएन । कसैले सोधी खोजी गरेको पनि थाहा भएन । जुन दिन डम्बरी देखिई साथमा पुलिसहरु थिए ।

सरिता सानै थिई । ७-८ वर्षकी हुँदी हो । तिहारको समय भैलो खेल्न गई पल्लो घरतिर आफ्नै भाइबैनी भेला गरेर । त्योबेलाको गाउँमा बिजुली बत्ति थिएन । बाँसको सिटा बनाएर हिँड्ने चलन थियो । भैलो खेल्दा खेल्दै राँको निभ्यो । सकियो । आफ्नै छिमेकीको घर त हो भनेर अगेनोको अगुल्टो झिक्न गई । अगुल्टो मज्जाले हल्लायो भने छोटोबाटोलाई काम चल्थ्यो । खाना खाइसकेर सुत्नेबेलामा भोलीलाई आगोको जोहो गर्न अँगेनोमा अगुल्टो घुसार्ने चलन थियो ।

मूल ओछ्यानमा सँधै डम्बरी सुत्छे भन्ने उसलाई थाहा थियो । घरभित्र अँगेनोको छेउमा हुने ओछ्यानलाई मूल ओछ्यान भन्ने गरिन्थ्यो । उसले अगुल्टो झिक्दै गर्दा सिरकबाट सेतो हात बाहिर निस्केको देखी । अनौठो मानी । हातको घडी हेरी । केटामान्छेको हो भन्ने अडकल काटी । डम्बरी त काली थिई त्यो सेतो हात कसको हो ? त्यो डम्बरीको हात त हुँदै होइन । छोरामान्छेको हात हो । उसलाई उत्सुकता भयो । मूल ओछ्यानमा को सुतेको थियो भन्ने उत्सुकताले घरमा आमालाई सुनाई । आमाले “चुप लाग ! होला कोही तँलाईं के चासो ?” भन्नुभयो ।

बाल चासो न हो सरिताले सबैलाई भन्न थाली पल्लो घरमा भैलो खेल्न जाँदा … सेतो हात… “ए चुप चुप” भन्दै सरिताकी आमा मुख थुन्दिन्थिन् ।

सरिताकी आमालाई थाहा थियो त्यहाँ कसको आउजाउ छ भनेर । तर, बोल्न सकेकी थिइनन् । उनको घरमा पनि सरिताका बुबा थिएनन् । सरिताको बाउले कान्छी ल्याको छ भन्थे । मनिपुरतिर बस्छन् रे । त्यसैले सरिताकी आमा आफैले असुरक्षित महसुस गरिन् । सानो घर । एक लात हान्यो भने भताभुङ्ग हुने दैलो । उस्तै परे एक लातमा गारै ढल्न सक्थ्यो । घरमा ठुलो मान्छे कोही थिएन । सानासाना केटाकेटी थिए छोराछोरी पनि । यस्तो अवस्थामा मात चढेका भुसतिघ्रेहरुसँग कसले जोरी खोजोस् । म त चुपै लाग्छु भन्थिन् ।

“काका ! काका ! पल्लो घरमा भैलो खेल्नजाँदा ….”

“ए चुप् ! भनेको सुन्दिनस् ?” आमाले कराएपछि सरिता चुप लाग्थी ।

त्यही समयदेखि डम्बरी गुप्तबासमा बसी । टोपेले अनेक जुक्ति लगायो । गुजरगानोदेखि कुभिण्डोसम्म खुवायो । तर, केही लागेन । उसको पेट बढीरह्यो । टोपेले कति चोटी त पेटमा लात बजार्यो । घाँटी थिच्यो तर डम्बरी मर्न सकिन ।  न त डम्बरीको पेट नै खाली भयो । उसको तर्फबाट बोल्ने पनि कोही थिएन । टोपेले पहिले देखाउने माया अब अत्याचारमा परिणत भयो । हुने सम्मको सबै उपाय र कुपाय लगाउँदा समेत डम्बरीको गर्भ तुहिएन । उमेर छिप्पिएको टोपे मुखियाले पालेको बीउ राँगो जस्तै थियो । मान्छेहरु बोल्न डराउँथे ।

लपलपेका ३ छोरा थिए । (जतिखेर पनि जिब्रो निकालिरहने र चलाइरहने भएकोले उसको नाम लपलपे राखेका थिए गाउँलेले) बेलगामका मातेका घोडा जस्ता । लपलपे पहिले निकै धनीमानी थियो रे । जुवातास र रण्डीबाजीमा लागेर सकिएको हो भन्थे । घर त ठुलै थियो तर घर चलाउने आधार कम थियो । जेठो छोरो टोपे स्कूलमा पियन काम गर्थ्यो । आम्दानीको श्रोत भनेको त्यत्ति नै थियो । घरबारी रातमाटे भएकोले खासै उब्जनी हुँदैन थियो । अलिकति खेत थियो धान राम्रोसँग पाक्न नपाउँदै खाइसक्थे । चरम गरिबी थियो । तर, टोपेको बाउको गाउँमा ठुलाबडासँग साँठगाँठ भएकोले खान,लाउन चैँ खासै दुःख थिएन ।

गरिबीकै कारणले होला टोपेको बिहे पनि हुन सकेको थिएन । बुढोकन्ने भन्थे गाउँमा । उसको बिहे नभएपछि उसका भाइहरुको पनि बिहे भएको थिएन । जवानी चढेको शरीर फेरि ठुलाबडासँग बाउको संगतले गाउँमा केही रवाफ थियो यिनीहरुको ।

कुरा भित्रभित्रै भुसको आगोजस्तो सल्किएपछि टोपेको बिहे गर्ने निधो गरे लपलपेले । केही गरी टोपे डम्बरीसँगको सम्बन्धमा फस्यो भने ….  बुढालाई आतेस भयो । केटी खोजियो । हतार हतार बिहे भयो । तर, टोपेको मनमा शान्ति थिएन । उसको मनको अशान्ति दिन प्रतिदिन चुलिँदै थियो । अब त ससुरालीको इज्जत पनि थपियो टोपेको काँधमा । कसरी जोगाउने ? अनिणर्यले बौलायो टोपे ।

टोपेले डम्बरीलाई धम्की दियो मेरो नाम नलिनू । लिएमा सबै साखासन्तानलाई मार्दिने कुरा गर्‍यो । बच्चा जन्मेपछि मारेर झक्रिन थुम्कोमा गाड्नू भन्ने आदेश दियो ।

अन्ततः समय आयो खाएको कुरा ओकल्ने । डम्बरीले सन्तान जन्माउन पनि घर छोडेर पर जानुपर्‍यो । घरमा जन्माए सबैले थाहा पाउँछन् भन्ने डर थियो उसलाई । बारीको बीचतिर ठुलोठुलो कान्लाको बीचमा गल्ली जस्तो थियो । त्यहाँ हत्तपत्त कोही पुग्दैन थियो । डम्बरीलाई व्यथाले च्यापेपछि त्यहीँ गई । यो कुरो टोपेले थाहा पायो र पुग्यो हस्याङफस्याङ गर्दै ।

गल्ली जस्तो ठाउँमा सालिम्बोको थुप्रै गुच्छाहरु उखेली डम्बरीले व्यथाको क्रममा । मडारिई । हारगुहार मागी । त्यहाँ टोपे बाहेक कोही थिएन । टोपे अलमल्ल पर्‍यो । उसलाई त त्यही व्यथाले माउ-बच्चा दुबै मरे हुने भन्ने थियो । न कसैको सहयोग न कसैको भर । न बच्चा पाएर पनि बचाउने आशा थियो डम्बरीलाई । कति खेर जन्माउँछे र घाँटी न्याँकौ भनेर ढुकिरहेको थियो टोपे । धेरै ठुलो छटपटि र व्यथापछि डम्बरीले बच्चा जन्माई ।

त्यो सुत्केरीले आफ्नो बच्चा छोरा थियो या छोरी भनेर हेर्न नपाउँदै टोपेले भन्यो ‘घाँटी थिचेर मार ।’ उसले थाङ्नामा गुटमुट्याई आफ्नो बच्चा । कुन आमाले पाउनासाथ आफ्नो बच्चाको घाँटी थिच्न सक्छे । यसो हेरी छोरी रहेछ । हातखुट्टा हेरी । टोपे पट्टि गएकी रहिछ । गोरी, सग्ला हातखुट्टा । उसैउसै डम्बरीको ममता पग्लेर आयो । छातीमा टाँसी र बलिन्द्रधारा आँसु खसाली ।

उसले मारिसकेँ भनेर जवाफ दिई । एकछिन पछि, फेरि बच्चा रोयो । टोपेले पहिले डम्बरीमाथि लात बजार्यो । बच्चा खोस्न तम्सियो । धेरैबेर लछारपछार भएपछि डम्बरी शिथिल भई ।

“मेरो नानी नमार्दिनू । म तपाइँको नाम लिन्न । सबै कुरा मै सहन्छु । नानी पाल्छु, हुर्काउँछु । मेरो नानी नमार्दिनू । बरु म गाउँ नै छोडेर कतै टाढा गएर बस्छु ।” यस्ता हजार बिलौना गरी । टोपेले जोर जुलुम गर्न छोडेन । लात हान्यो, घुसा बर्सायो । डम्बरी हल न चल भई । भूइँतिर हेरेर बसिरही ।

बच्चाको अनुहारसमेत नहेरी टोपेले घाँटी थिच्यो । न उसको हात काम्यो न त उसलाई डर नै लाग्यो । बच्चा चुपचाप भएपछि झक्रिन थुम्कोमा लगेर गाड्ने आदेश दियो र टोपे हिँड्यो ।

हिँड्न त हिँड्यो तर कहाँ जाने ? उसलाई पनि आफ्नो संसार साँघुरिएको आभाष भयो । अक्सर गल्ती गरेपछि अक्कल खुल्ने मान्छेको जातभित्र ऊ पनि पर्‍यो । यौनको प्यास कति खतरनाक हुँदो रहेछ । त्यतिबेला न जात हेरियो न धर्म । हेरियो त केवल डम्बरीको भरिलो जवानी र आफ्नो उन्मुक्तता । अहिले आएर जात देखियो । धर्म देखियो । समाज देखियो । डम्बरी पानी चल्ने सम्मको हुन्थी भने बच्चाको घाँटी थिच्ने बेला हात अवश्य काम्थे । मन अवश्य पग्लिन्थ्यो र आँट, साहस बटुलेर एउटा निणर्यमा अवश्य पुगिन्थ्यो । यसरी अनुहारसम्म नहेरी घाँटी किन थिचिन्थ्यो । यस्तै के के सोच्यो टोपेले । उसैउसै मात लागेजस्तो भयो । रिँगटा चल्यो र बरको फेदमा बस्दाबस्दै त्यहीँ निदायो ।

डम्बरी उठ्न सकिन । त्यहीँ बेहोस भै । दिन ढल्केपछि उसको खोजी भयो । आफ्नो मृत बच्चासँगै डम्बरी बेहोस भेटिई । डम्बरीको आमाको होस हवास उड्यो ।

सरिताकी आमा अझै केही बोल्न सकिनन् । सबै जना अवाक भए । केही समयपछि डम्बरी होसमा आई । कसको हो ? के हो ? किन ? कसरी ? कहिले यस्तै प्रश्नहरुको बर्षा भयो डम्बरीमाथि । डम्बरी चुपचाप भइसकेकी थिई । उसमा बोल्ने साहस र मन दुवै थिएन ।

घरैमुनिको माचतिर हेरी । त्यही माचमुनि त हो नि टोपेले उसलाई समातेको । लछारपछार गरेको । अनि, उसको अस्तित्व लुटेको । कटेरोतिर हेरी र सम्झी त्यहीँ त हो नि टोपेले मिठा मिठा प्रलोभनमा पारेर दोस्रोपटक करणी गरेको । तेस्रो पटकदेखि त डम्बरीले उल्टो टोपेको बाटो हेर्न थालेकी थिई । कताकता आकर्षण कताकता मायाजस्तो । आफ्नै सम्झिन थालेकी थिई टोपेलाई ।

उसलाई लाग्यो यो एउटा नमिठो सपना भैदिए पनि हुन्थ्यो । पेट बसेको भन्ने थाहा पाएदेखि डम्बरीको जीवन नर्क भएको थियो । डर, धाँक, धम्की कुटपिट, लछारपछारको साथमा अनेक थरीका औषधी सेवन गर्दागर्दा डम्बरी शिथिल भैसकेकी थिई । अब त ऊ काठको मुढाजस्तै बनेकी थिई । न बोल्छे । न हाँस्छे ।  न कुनै प्रतिकृया नै दिन्छे । दिन्छे त केवल आँखाबाट बलिन्द्र धारा आँसु अनि खामोसी ।

यत्तिकै मध्यरात भयो । डम्बरी सकी नसकी झक्रिन थुम्कोतिर लागी । कुटोले खाडलखनी एक हातले । बच्चालाई राखी अनि पुरिदिई । माथिबाट २/४ वटा ढुङ्गा राखिदिई । यति बेला उसलाई रुन पनि आएन । कतै केही पनि देखिन । सरासर घर गई र मूल ओछयानमा डङ्ग्रङ्ग लडी । बगरमा लडेको ढुङ्गाजस्तो ।

साइँली आमा भन्नुहुन्थ्यो – यी बजियाहरुको के कुरा गर्नु ? आफ्नै घरको करेसामा पनि चिहान छ यिनीहरूको । त्यो पनि आफ्नै दाजुबहिनीको सम्बन्धबाट जन्मेको बच्चाको । यी पापीहरूलाई त नर्कमा पनि ठाउँ नमिलोस् ।

भएछ के भने टोपेको भाइ भुक्केले आफ्नै बैनी ज्याम्तेलाई समातेछ । सुरुमा जबर्जस्ती भए पनि पछि अभ्यस्त हुँदै गइछे ज्याम्ते पनि । पेट बस्यो । घरमा सबैले थाहा पाए । ज्याम्ते केटी गायब भई । घरमै लुकाइएको रहेछ । बच्चा जन्मिएपछि घरैछेउमा गाडिएको रहेछ । साइँली आमालाई यो कुरा सबै थाहा रहेछ । आफ्नै दिदीबहिनी त नछोड्ने बजियाहरुको अनुहार हेरो भने अगति परिन्छ भन्नुहुन्थ्यो । टोपेको सन्तानहरु हिँड्ने बाटो हिँड्नुहुन्न थियो ।

टोपे गाउँमा देखिएन । सजायको डरले कतै भाग्यो होला भने सबैले । मन बिग्रिएको, अपराधी कहलिएका मान्छे कता हरायो थाहा भएन । केही समयपछि उसको श्रीमती पनि हिँडी । पछि कुरा गर्थे टोपे र टोपेकी श्रीमती बगानतिर छन् रे भनेर ।

डम्बरी पनि सजाय भुक्तान गरेर निस्की रे भन्ने सुनियो तर गाउँमा कहिल्यै आइन । सुनिन्थ्यो बेलुका जाँड खाए पछि प्रहरीहरुको मन भुलाउने ठाउँ पनि डम्बरीको सेल हुन्थ्यो रे । यसो कसैको मेजमान गर्नुपरे डम्बरीलाई नै प्रयोग गर्थे रे । डम्बरीलाई न्याय दिन सकेन त्यो गाउँले । उसले पनि त्यो गाउँलाई माइती मान्न सकिन । विरक्तिएर कता गई थाहा भएन ।

अहिले आएर साइँली आमाको कुरा बुझ्न थालियो । किन झक्रिन थुम्कोतिर नजानू बच्चा रुन्छ भन्नुहुन्थ्यो भनेर । त्यहाँ साना साना चिहानजस्ता थुम्काथुम्की पहिलेदेखि नै प्रशस्त थिए । फरक थियो त केवल डम्बरीले बनाएको अलि आलो थियो । सायद बच्चाहरु रुँदैरुँदै झक्रिन थुम्कोसम्म पुग्दा हुन् र त्यहीँ चकमन्न हुँदा हुन् ।