साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

छिरिङ्को साइकल

” ह्या अंकल, आउनु न भन्या ! “, छिरिङ्ले दोस्रोपटक बोलायो । मलाई उसको कुरा टार्न निकै गाह्रो भइरहेको थियो । पसलका साहुजी मतर्फ नै हेर्दै थिए । हत्तपत्त चियाको पैसा तिरेर उसको पछि लागेँ।

छिरिङ्को उमेर ८ वर्ष हो । म छब्बीस । मलाई उसले अंकलभन्दा पनि दाइ भनेर बोलाए हुन्थ्यो जस्तो लाग्छ। तर पनि उसले मायै गरेर भनेको भएर खासै दु:खमनाऊ गर्दिनँ।

bahulako diary small and inside post

छिरिङ् घरभित्र छिर्छ । म उसलाई बाहिर पर्खन्छु। घरको एक्लो छोरो भएर होला, छिरिङ्ले सबैको माया पाएको छ। अस्तिको हप्ता मात्रै उसकी आमाले उसलाई जन्मदिनमा एउटा साइकल किनिदिइन्। ऊ त्यही लिन त भित्र गएको हो।

छिरिङ्लाई साइकल चलाउन आउँदैन। त्यसैले मलाई सिकाइदिन भन्छ। उसका साथीहरू निमा र दोर्जेलाई भने साइकल चलाउन आउँछ, तर छिरिङ् उनीहरूलाई गुहार्नेवाला छैन।

तिनीहरू छिरिङ्लाई सधैं चिढ्याइरहन्छन। अस्ति फुटबल खेल्दा पनि उनीहरू छिरिङ्लाई जानीजानी लडाएर कुट्न खोज्दै थिए, धन्न म नजिकै थिएँ र उसलाई जोगाए। पछि आँसु पुछ्दै ऊ भन्दै थियो, “पख न, मेरो बाबा आएपछि तिमेरूको बारे सब भन्दिन्छु।”

बिचरा छिरिङ् ! उसले आफू जन्मेदेखि नदेखेको उसको बाबा आउन अझैँ कति वर्ष लाग्ने हो !

छिरिङ्लाई उसका हजुरबा/ हजुरआमाले हुर्काएका हुन् । उसकी आमा र दिदीले पनि उसलाई आफूभन्दा बढी माया गर्छन्। तर पनि किन हो ऊ, मसँगै बढी हौसिन्छ।

म यो ठाउँमा आएको पनि कति नै पो भयो र ? कहिलेकाही त लाग्छ, कतै उसले मलाई आफ्नो बाबुको स्थान त दिइरहेको छैन ? छिरिङ् मलाई निकै माया गर्छ । उसो त म पनि उसलाई कम्ति माया गर्दिनँ।

“अंकल, जाम न!”, छिरिङ् छेउमै बसी मलाई बोलाइरहेको रहेछ । म भने फेरि टोलाउन पुगेछु।

आठ-दश महिना जति नै भयो, यस्तो हुन थालेको । धन्न वरिपरि कोही थिएनन्, र देखेनन्। नत्र लाजैमर्दो हुन्थ्यो।

छिरिङ्को साइकल मेरा लागि सानै हो। तर उसका लागि भने त्यही पनि ठुलो। म ह्यान्डल समात्छु। छिरिङ् आफैँ पछाडिको सिटमा चढ्छ। माथिबाट छिरिङ्की हजुरआमा हामीलाई नियालिरहेकी रहिछन्। म उनीलाई हेरी फिस्स हाँसेजस्तो गर्छु, अनि बिस्तारै साइकल अघि बढाउछु। छिरिङ् मलाई कस्सेर समात्छ्, अनि पछाडिबाट जोडजोड्ले चिच्याउन थाल्छ, “बाटो छोड्, बाटो छोड्, आ होई …~~~ ”

================

४/५ दिन भयो.. यसरी छिरिङ् र म दिनहु साइकलमा घुम्न थालेको। ऊ आफू साइकल चलाउन सिक्नुभन्दा पनि मेरो पछाडि बस्न नै मज्जा मान्छ। मलाई पनि यो गर्मीको मौसममा साइकल चढी साझपख सल्लेरी वनको बाटो हावा खान जाँदा आफ्नै बाल्यकालमा पुगेसरह भान हुन्छ । यत्तिकै होइन होला, मेरा बाले मलाई, “त सधैंभरि बच्चै हुने भइस्” भनेका ।

हुन पनि मलाई मेरा उमेरका मानिसभन्दा साना भुराहरू नै प्रिय लाग्छन्। मेरा आफ्ना उमेरका साथीहरू पनि त्यति छैनन्। साच्चै, किन होला है ? शायद बच्चाहरू बनावटी नहुने भएर हो कि ? .. मलाई बच्चाहरूको हाँसो निश्चल लाग्छ ।

प्रकृतिको वरदानझैँ लाग्छ, बच्चाको हाँसो… !

“अंकल !” छिरिङ् एक्कासी चिच्याउँछ । म फेरि टोलाएछु । अगाडि हेर्छु, भीषण मोड अनि मोडसँगै गहिरो ओरालो ! हत्तपत्त ब्रेक लगाउन खोज्छु, सक्दिनँ। साइकल वेगले हुत्तिन्छ र अलि पर एउटा रूखमा गई ठोक्किन्छ। हामी दुवैजना छेउमा पछारिन्छौ । म हतासिदै छिरिङ्लाई हेर्छु । धन्न केही भएको रहेनछ । साइकल पनि जोगिएछ। छिरिङ् मलाई हेदै हाँस्न थाल्छ । म पनि उसलाई हेर्दै हाँसिरहन्छु ।

बिस्तारै उठ्छु, अनि कपडा टक्टकाउछु । छिरिङ्लाई पनि धुलो लागेको रहेछ, झारिदिन्छु। यसो हेर्छु, अगाडि दुइटी केटीहरू यही बाटो हुँदै आउँदै रहेछन्। हत्तपत्त छिरिङ्लाई राखेर साइकल कुदाउनै के लागेको थिए.. कानैमा आवाज आइहाल्यो, “हामी पनि बस्न मिल्छ होला कि !”

हेर्छु, छिरिङ्कै दिदी रहिछे।

नक्कली ! खुब जिस्काउछे मलाई ! साथी पाउदा मात्र यस्ती हो, नत्र एक्लै पर्दा आँखा जुधाउन पनि डराउछे। कम्ताकी छे मोरी !

म चुपचाप साइकल अघि बढाउँछु। पछाडि उनीहरूको हाँसो गुन्जन्छ। साइकलको पांग्राको चालसँगै मेरो मुस्कान पनि बिस्तारै खुल्न थाल्छ। एक्कासि वनैभरि हावा चलेझैँ लाग्छ, मुटुमै स्पर्श गर्नेगरी ।

मनमनै सोच्छु, “छिरिङ् नभाको भए त उसैलाई पछाडि राख्थें!”

फेरि सोच्छु, ” छिरिङ् नहुँदो हो त यो साइकल पनि त हुने थिएन !”

अन्तिममा मनैले ढाडस दिन्छ,”साइकल नै पनि किन चाहियो र, मनैमा राखुला नि !”

म फिस्स हाँस्न थाल्छु। फेरि सोच्छु, “थुक्क, यही डाइलग अघि नै दिन पाको भए..!” फेरि आफैँसँग मुर्मुरिन्छु। म आफैँ त्यसै मक्ख पर्छु।

छिरिङ् फेरि कराउछ, “अंकल……..!!!”

 

प्रतिक्रिया
Loading...