जति कोसिस गरे पनि त्यो रात निदाउन सकिनँ । बिर्को नछोपिएको मङ्गालजस्तै आँखाका परेलीहरू उदाङ्ग रहे । आँखाअगाडि उही ढाडे मोरो, साह्रै किचकिच्या ! उसको सबै कुरामा सही थाप्नुपर्ने । मैले बाटोमा भेट्टाएको पाँच पैसामाथि आधा हक लाग्छ रे उसको । क्या मज्जा ! त्यसलाई चलाउनु हिलोमा ढुङ्गा हानेर मुखभरि छिट्टा पार्नुजत्तिकै । झगडा मोल्नुभन्दा दुई पैसा दिने निधो गरेँ । उसको तीन पैसा हक लाग्छ रे । उसले भेट्टाएको भए कानाकौडी दिने थिएन ।
-‘खुरुक्क झिक्, हैन भने…’
-‘के गर्छस् ? लिने भए दुई पैसा ले । नभए बाटो लाग् !’
-‘दिन्छस् कि दिऊँ दनक ? यसोउसो भन्न पाउँदैनस् । पहिल्यै भन्दिया छु ।’
-‘दिन्न, तैँले भन्दैमा दिन्छु ?’ कमिजभित्र गोजीमा तामाको पाँचपैसे ढ्याक घुसारेँ । र, बेकारमा किन मुख लाग्नु भनेर म त्यहाँबाट हटेँ । उसले मलाई छेक्यो, ‘खुरुक्क निकाल्, हैन भने हेर् तँलाई…’
-‘हो…निहूँ खोज्या ? लौ छो त !’
-‘ल छोए ।’
-‘बढ्ता नहो, हिर्काऊँ ?’
-‘फुर्ती गर्या ? ल के गर्छस् ? ल…ल…।’
घचेट्दै मलाई भित्तामा जाक्यो । एउटा हातले पैसा भएको खल्ती च्यापेँ मैले । अर्को हातले उसलाई छेकेँ । खुट्टा हिलोमा चिप्लियो । उसको हात खुस्कियो । मेरो कमिजको टाँक चुँडियो । चिउँडो छातीमा गाडेँ । कमिजभित्र हात छिराई पैसा उसले हात पार्न खोज्यो । उसको हात समाएँ । उसले हात तान्यो ।
तानातानमा मेरो जनै चुँडियो, जनैमा थुक्यो । ढाडेले त्यहाँबाट कुलेलम ठोक्यो । लखेट्न खुट्टा उचालेको मात्र थिएँ, जनै दिनुभएका गुरुबाजेले मेरो खुट्टामा नेल ठोकेजस्तो लाग्यो । खुट्टा अघि बढाउन सकिनँ । गुरुले भन्नुभएको वाक्य कानमा गुञ्जियो, ‘जनै चुँडिए बोल्नु हुँँदैन । बिहान अर्को जनै फेर्नुपर्छ । जनै काँचो धागोको गाँठो होइन, बुझ्यौ ? कसैले बिगार्न नसक्ने रक्षाकवच हो जनै । भूत, प्रेत, पिसाच आदिले समेत तिम्रो रौँ पनि हल्लाउन सक्नेछैन ।’
भोक र थकाइले लखतरान भएँ । आन्द्रा-भुँडी हावाले भरिए । पिसाबले च्याप्न थाल्यो । सकुञ्जेल बल गरी रोकेँ, जलधार चुहियो । यताउति हेरेँ । कोही देखिनँ । भित्तातिर फर्की पेट हलुङ्गो पारेँ, कसैले छुन सक्दैन भन्नुहुन्थ्यो गुरुबाजे, तर ढाडेले मलाई भित्तामा टाँस्यो । जनै पनि चुँडाल्यो । खै जनैले छेकेको ? के गर्यो जनैले ? जनै नफेरे पनि यताउति गर्न मिल्ने भए ढाडेलाई देखइदिने थिएँ । जनैले छेकेर न हो ऊ उम्कन सकेको !
झ्यालबाहिर टाउको निकाली मेरी आमाले मलाई बोलाउनुभयो । शरीरमा जनै थिएन । बोल्न मिलेन । त्यो बेला मुख भएर पनि म लाटो भएँ । जवाफ फर्काउन सकिनँ । फेरि एकछिनपछि मेरी बहिनीको बोलावट सुनेँ । मैले आफूलाई रोक्न सकिनँ । हुत्तिँदै घरभित्र छिरेँ । पानीले खुट्टा पखालेँ । सन्ध्याकर्म सकेर आएझैँ बहाना बनाएँ । हातको पानी झार्दै भात खान भान्सामा गएँ ।
हो, त्यो रात जता फर्के पनि निदाउन सकिनँ । उनै गुरुबाजे मेरो अगाडि आइटोपल्छन् ।
मेरो व्रतबन्धको विधिविधानमुताबिक कर्मकाण्ड सकियो । आमाले सिकाउनुभएअनुसार दक्षिणा राखी गुरुबाजेको सुइरोजस्तो खुट्टाको तीखो नङले निधार कोरियो । निधार सुमसुम्याई उभिइरहेँ । कपाल रगतले रङ्गियो ।
‘पैसा राखी बजैको पनि खुट्टा ढोग् !’ आमाले अराउनुभयो । कहाँ, रत्नपुस्तक भण्डारको भित्तामा झुण्ड्याइएको भीमसेनजस्ता चौवन्नवर्षे अग्ला बलिष्ठ बाजे, कहाँकी पुतलीजस्ती बजै ! हाम्रा पूजाकोठीमा सजाएकी सिंगमरमरकी लक्ष्मीजस्तै ठूल्ठूला टल्केका आँखा, सुलुक्क परेको नाक र गुलाफी गाला फुलेकी बजै । मेरो टाउको निहुरियो ।
मभन्दा दुई-तीन वर्षले जेठी बजै । गोडा तानी पलेँटी कसिन् । मलाई ढोग्न दिइनन् । मेरै उचाइकी बजै लोभलाग्दी राम्री पुतली । बाजे पहलमान । मेरो मनभित्र उब्जिरहेको विषाक्त विचारको छाया बजैको अनुहारमा देखियो ।
म बिहानीको पर्खाइमा थिएँ । रातभर निद्रा परेको थिएन । जूनकीरीको पुच्छरमा पल्याकपुलुक झुल्किने उज्यालोमा पालैपालो बाजे र बजैका अनुहार हेर्दै रात कट्यो । जनै चुँडिएको सम्झना मात्रले पनि आङ सिरिङ्ग हुन्थ्यो । बिहान मच्छिन्द्रबहालपछाडिको एउटा धागो पसलबाट जनै किनी लगाएँ । मन अलि हलुङ्गो भयो ।
मनमा फेरि सन्ताप थपियो, मुखै नधोई काँचो धागोले बेरिँदैमा राम्रो होला ? कुरा सम्झियो कि शरीर काँप्थ्यो । खाएको केही हजम हुँदैनथ्यो ।
समयले राम्रा नराम्रा सबै बिर्साइदिँदो रहेछ । दिन बित्दै गए । जनैको कुार पनि बिर्सिएँ । त्यसपछि ओछ्यानमा शरीर बिसाउनासाथ मस्त निदाउने भएँ । रात सजिलै बित्थ्यो ।
हरेक पूर्णिमाको बिहान गुरुबाजेको घर जान्थेँ । म घर पुग्ने समयको अन्दाज गरी बजै झ्यालमा बसी मेरो बाटो हेरिरहन्थिन् । मलाई देखेपछि तल आई ढोका खोलिदिन्थिन् । म बजैको पछि लागी माथि जान्थेँ । बजै बुइँगलमाथि जान्थिन् । म झ्यालमा गई बस्थेँ । बजैले मेरो हातमा बाफिलो चिया राखिदिन्थिन् ।
-‘बजै, जनै फेर्नु छ ।’
-‘हुन्छ, पिऊ ! मैले बनाएको चिया पिउनु मुख धुन पर्दैन । खाऊ, केही पीर मान्नु पर्दैन । तिमीले भने मात्र, नत्र बाजेलाई के थाहा ? आज बाजे ढिलो पशुपति जानुभयो । चाँडै फर्कन हुन्न । बाजेहरूका पूजाविधि लामो छ ।’
खोपाबाट जनै झिकी देखाइन्, ‘बाजेले तिम्रो लागि बनाउनुभएको जनै । मैले बनाएको यो । तिमीलाई कुन मन पर्छ ?’
-‘बजैले दिएको मन पर्छ ।’
-‘कति बाठो ।’ बजैले मेरो गाला समाई तानिन् । उनले बनाएको जनै मेरो शरीरमा ठ्याक्कै मिल्छ । नापेर बनाएको जस्तो सेतो मसिनो काँचो धागोको जनै । सानो तीलको दानाजत्रो गाँठो, शरीरमा नबिझ्ने ।
जनै लिन जाँदा चिया नपिलाई पठाउँदिनन् । चाहिँदा-नचाहिँदा कुरा फतफताइरहन्छिन् । बेतुकी सवालहरू तेर्स्याउँछिन् । बाजेको बारेमा केही कोट्ट्याए निधार खुम्चयाउँछिन् । मैले कहिल्यै नसोँचेको कुरा सोध्छिन्, ‘बिहे गर्ने बेला भएन ? समयमा बिहे नगरे बूढी कुखुरी फेला पर्ला ।’ बजैको आँखामा टलपलाइरहेको आँसुले नै उनको प्रश्नको उत्तर दिइरहेको हुन्छ । कहिले बहुलाइझैँ हरर हाँस्छिन् र कहिले सुँकसुँक रुन थाल्छिन् । त्यो घरभित्र बसुञ्जेल मलाई शरीरभरि माउसुली दौडिरहेजस्तै लाग्छ । घरबाट बाहिर आउनासाथ मन हलुङ्गो हुन्छ ।
‘स्नान गरी जनै नफेरुञ्जेल एक थोपा पानी पनि मुखमा हाल्नु हुँदैन ।’ बाजेको आदेश सम्झन्छु । पेट खसखसाउन थाल्छ । अमिलो पानी मुखसम्म आइपुग्छ । बजैले कर गरी पिलाएको चियो पेटभित्र चलमलाउन थाल्छ ।
‘भोकै बस्दैमा धर्म लाग्ने, खाए पाप लाग्ने होइन ।’ बजैले मलाई आश्वस्त पार्न तर्क गर्छिन्, ‘मन शुद्ध हुनुपर्छ ।’
बजैले मलाई जति अर्ति-बुद्धि दिए पनि किन हो किन बाजेको खबरदारीले मलाई आतङ्कित पार्छ ।
म अलि बेढङ्गी र बेहोशी मान्छे । कम बिराउँछु । मुखमा गाँस कोचेपछि झल्याँस्स सम्झन्छु । लौ सत्यनाश ! आज पनि जनैको काम बिर्सिएँ ।
धेरैपटक गायत्री पाठ गर्न बिर्सेपछि जनैका कर्मकाण्डबाटै पार लिएँ । भर्याङको आवाज कानमा पर्नासाथ हत्तपत्त मन्त्र पढिरहेको जस्तो स्वाङ गर्थें । आँखा चिम्ली ओठ चलाइबस्थेँ ।
वर्षदिनपछि फेरि जनैपूर्णिमा आइपुग्यो । मानिसले बिर्से पनि समयले चाडपर्व बिर्सन सक्दैन । जनै लिन बाजेको घर जान्छु । बाजेले बनाइराखेको माेटो खस्रो धागो, त्यसमाथि ठूलो केराउजत्रो गाँठो देखिने र बजैले बाटेका मसिनो चिल्लो नरम धागोमा नदेखिने तील आकारको जनै, दुई हत्केलामा हाली मलाई हेर्दै हाँस्छिन्- ‘तिमीलाई जुन मन पर्छ, लेऊ !’
बजैले सधैँ मलाई अलमल्याउँछिन् । भाले छानूँ कि पोथी ? यसरी मलाई जालमा अड्काउन खोज्छिन् । जनै हेरिबस्छु । मेरो हात तानी बजै आफैँ मेरो हातमा एउटा जनै राखिदिन्छन् । बाँधिएको मुट्ठी फुकाली हेर्छु, बाजेले बनाउनुभएको जनै । बजैको आँखा मेरोमा खप्टिन्छ, तर मेरो मुखबाट शब्द निस्कँदैन । न जनै लिई फर्कन सक्थेँ न त्यहीँ छोडी खाली हात आउन सक्थेँ । फेरि मेरो पुनः परीक्षा हुन्छ, ‘लौ अझै समय छ । तिमीलाई मनपर्ने जनै छान !’
जनै हातमा राखी म टोलाइरहन्छु । बजैले मेरो हातको जनै टिपी खोपाभित्र थन्क्याउँछिन् । बजैले बाजेको जनै मेरो जिम्मा लगाउँछिन् ।
एउटा कुरा भनिहालूँ, मलाई पानीमा खेल्न मन पर्छ । बिदाका दिनहरूमा वाग्मती, विष्णुमती र पाटनको कुम्भेश्वर पोखरीमा पौडी खेल्न जाने गर्थेँ । पर्खालमाथिबाट पोखरीमा हाम्फाल्न अति रमाइलो लाग्थ्यो । कहिले कानभित्र पानी पस्छ, कहिले पेट पानीले टन्न भरिन्छ । कहिले नाकभित्र पानी छिर्छ । पीरोले रन्थनिन्छु । धन्न ठूलो दुर्घटनामा परिनँ, तर…काँधमा झुण्ड्याइराखेको जनैको पत्तो भएन, बाजेले लगाइदिनु भएको जनै ढाडेले चुँडाल्यो । बजैको जनै पोखरीमा हरायो । चुँडालिएको जनैले भन्दा हराएको जनैले पोल्यो । कुनै दुष्परिणाम भोग्नुपर्ने पो हो कि ! भयभित हुन्छु ।
त्यो दिन उपवास बसेँ । भोकै ओछ्यानमा पल्टिएँ । पसलमा बिक्रीमा राखिएका जनै किनी लाउन मन भएन ।
जनैपूर्णिमा आउन केही दिन मात्र बाँकी छ । त्यसैले बाजेको घर गई जनै लिन जाने जाँगर चलेन । के गर्ने ? के नगर्ने ? निधो छैन । मनमा अनेका तर्कन चलिरह्यो । मेरो हातमा जनै राख्ने बाजेले मेरो कानमा मन्त्र फुक्नुभएको थियो । मलाई शपथग्रहण गराउनुभएको थियो, ‘एक दिन पनि नबिराई गायत्री जप गर्नेछु । कसैलाई मन्त्र बताउन्न । छुवाछुतको ख्याल गर्छु । बाचा पूरा नगरे १०,००१ गाईहत्याको पाप लागोस् !’ बाजेले मेरो काँधमा जनै झुण्ड्याइदिनु भएको थियो । त्यो दिनदेखि जनै हराएको घडीसम्ममा घटेका परिदृश्यहरू घरी-घरी देख्न थाल्छु ।
जाँच नजिक आइसक्यो । अरू काममा बरालिने समय थिएन । जाँच चलिरहुञ्जेल मेरा दिल र दिमाग पढाइमा केन्द्रित रहे । कहाँ-कसरी जनै हरायो ? त्यतातिर पटक्कै ध्यान गएन ।
परीक्षाकाे परिणाम आउने समय नजिकिँदै गयो । कस्तो नतिजा आउने हो ? मुटु चस्स बिझ्यो । गायत्रीमन्त्र सुन्नुअघि बाचा हालेको सम्झिएँ । जाँच बिग्रिने पो हो कि । मुटु काँप्न थाल्यो । पछुताउँदैमा हुने केही होइन । देखा जायगा । छाती दह्रो पारेँ ।
परिणाम त्यति राम्रो नभए पनि सन्तोषजनक रह्यो ।
फेरि अर्को जनैपूर्णिमा पनि आइहाल्यो । निद्रा नपरे पनि ओछ्यानमा पल्टिरहेँ । नगरी नहुने कुनै काम थिएन ।
‘बाजेकहाँ जनै लिन जाने हैन ?’ आमाले सम्झाउनुभयो । स्नानतिर लागेँ । जनै लिन जान बासी लुगा लगाएँ । बाटो लागेँ । म बाटोमा आइरहेको बजैले देखिन् होली, बजै ढोकामा अडेस लगाई उभिइरहेकी रहेछिन्, ‘आज किन अबेर ? कुनै काममा अल्झियौ कि ? कि सञ्चो भएन ?’
-‘हैन बजै । त्यस्तो केही हैन । अलि ढिलै आउने मनसायले ओछ्यानभित्र गुटमुटिइरहेको थिएँ ।’
-‘जनैपूर्णिमा पनि बिर्सियौ ?’
‘कहाँ बिर्सनु ?..’ मेरो जवाफ पूरा नहुँदै सधैँझैँ बजै बुइँगलमाथि गइन् । तातो चिया लिई ओर्लिन् र मलाई दिइन् ।
‘आज बाजे ढिलो पशुपति जानुभयो । ढिलो फर्कनुहुन्छ । काम गर्न राखेकी केटी सिदा लिन जजमानहरूका घरमा गएकी छिन् । घरमा अरू कोही छैन ।’ केही बिर्सेझैँ जुरुक्क उठिन्, ‘मूलढोका खुल्ला छ । ढोका लगाई आउँछु । भुस्याहा कुकुरहरू छिर्न बेर छैन ।’
मैले, तल जान तम्सिएकी बजैलाई रोकेँ, ‘आज बिदा हुन्छु बजै । राम्ररी ढोका लगाई जान्छु । बजैले भित्रबाटै चुकुल हाल्नुहोस् ।’
-‘आज जनै नलिने ? मैले दिएको जनैले तिमीलाई कतै घोच्यो ?’
-‘रिसाउनु हुन्न भने बजै, म एउटा कुरा निवेदन गर्छु ।’
-तिम्रो कुरा सुन्न बाचा हाल्नुपर्ने ? तिमीले जे भने पनि रिसाउन्न । कुरो के हो ?
-‘जनैको गाँठोले घोचेर होइन, मलाई जनै फापेन । बाजेले दिनभएको जनै ढाडेले चुँडालिदियो । बजैले बाट्नुभएको तीलजत्रो गाँठो भएको जनै पोखरीमा हरायो । अब यो काँधमा जनै नबेर्ने निधो गरेँ । रिसानी माफ होस् ।’
मुखले केही नभने पनि बजैको अनुहार साह्रै निन्याउरो भयो । ओठ फरफरायो । एकतमासले मलाई हेरिरहिन् । आँखा पीरो भएछ क्यारे, पछ्यौराले आँसु पुछिन् ।
त्यो दिनदेखि बाजेको घर जाने क्रम टुट्यो ।
एक बिहान अचानक बाटोमा बजैसँग भेट भयो । मलाई हेरी मुस्कुराउनुभयो । मैले केही भन्नुअघि उहाँको मधुर स्वर सुनियो, ‘सञ्चै ?’
मैले टाउको हल्लाएँ । र, मैले पनि उहाँकै प्रश्न दोहर्याएँ, ‘बजैलाई कस्तो छ ? बाजेलाई सञ्चो छ ?’
बजैको मुखको रङ्ग मौलायो । अलि गह्रौँ आवाजले जवाफ फर्काइन्, ‘अब म त्यो घरमा बस्दिनँ ।’ यति भनी फर्किन् ।
(कथासङ्ग्रह “हिजो र आजका कथा”बाट)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।