म उनीलाई सदैव दुई प्रकारको पोसाकमा देख्थेँ : दौरासुरुवाल, कालो टोपी र खादीको कुर्था-पाइजामा । दुवै थरीको पहिरनमा कालो टोपी र एउटा झोला काँधमा झुन्डिएकै हुन्थ्यो ।

तराईको सहर हुनाले खादीको कुर्था-पाइजामा समाजसेवाको परिचित पोसाक थियो । सरकारी कार्यालयतिर दौरासुरुवालमा नै देखा पर्थे । मेरो उनीसित कुनै खास परिचय थिएन, देखादेख मात्र थियो । आज पनि देखेँ ।

मनु ब्राजाकी

म एकजना आफ्नो मित्रकहाँ बसेको थिएँ । उनी पनि त्यहाँ थिए । मेरा मित्र हाकिम थिए र यस विकासोन्मुख देशमा विकसित भइसकेका थिए ।

“म देशभक्त हूँ, नमस्कार !” देशभक्तले मतिर नहेरीकन विनम्रतासाथ भने ।

“नमस्कार !” मेरा हाकिम मित्रले सजगतासाथ जबाफ फर्काए ।

“सेवाकार्यका लागि निस्केको हुँ । धर्मभक्त, गंगालाल, शुक्रराज र दशरथका लागि केही निर्माणकार्य गर्नु छ । यहाँको के विचार ?”

प्रश्न अप्रत्याशित थियो । मैले देखेँ, देशभक्तका आँखा सर्पनेत्रझैँ सम्मोहक थिए । उनले आफ्नो सर्पनेत्रले कोठाको वैभवको निरीक्षण गरेपछि आँखा हाकिमसाहेबको अनुहारमा अड्याए । हाकिमसाहेब एकछिन अलमलिए । यस्तो महान् र शुभकार्यमा विचार गर्नु नै के थियो र ?

“कहिलेदेखि यो अभियान सुरु गर्नुभएको ?”

“भयो दुई वर्षजति । एक्लो छु । धर्मभक्त–गंगालालहरूको पनि यस समाजमा अस्तित्व रहिराखोस् भनेर यस पुनीत कार्यमा संलग्न छु ।”

“निर्माण कहाँ गर्ने ?”

“आफ्नै टोलमा । त्यस टोलमा व्यक्तिहरूले पनि बुझून् धर्मभक्त–गंगालालहरूको पनि यस समाजमा स्थान छ भन्ने ।”

मेरो पत्रकार मनले एकदुई कुरा अझै सोध्न खोजेको थियो । तर, उनीले आफ्नो गथासो या भनौँ पराक्रम सुनाउन थाले । अर्थात्, आज इतिहासमा नलेखिएका तर सात सालमा घटित भएका प्रसंगहरू केके थिए ।

उनी कसरी जेल गए, कुटाइ खाए, फेरि जेल गए, फेरि कुटाइ खाए इत्यादि–इत्यादि । यी इत्यादिहरूमा सत्य थियो कि थिएन, कुन्नि । उनको उमेरको अन्दाज गर्दा सात सालपछिकै जस्ता लाग्थे ।

एक महिनादेखि यस सहरमा छु भन्ने कुरा देशभक्तले भने । मैले पनि उनीलाई यहाँ देखेको महिना दिनजति भयो । घर काठमाडौं हो रे । दुई वर्षदेखि चन्दा संकलनको अधिराज्यव्यापी अभियानमा व्यस्त छन् ।

हाकिमसाहेबले बसीबसी श्रीमतीलाई अराए, एघारवटा रुपियाँ लेऊ भनेर । यो सुनेपछि देशभक्तले झोलाबाट चन्दादाताहरूको लिस्ट झिकेर हाकिमसाहेबको अगाडि तेर्स्याए । त्यहाँ ठूला–ठूला व्यक्तिहरूबाट ठूला–ठूला रकम प्रदान गरिएको देखियो । १०१ भन्दा तलको रकमै थिएन ।

हाकिमसाहेबलाई पर्यो फसाद, एउटा पत्रकार मित्रको अगाडि सहिदहरूका लागि निर्माण हुन थालेको कुनै महान् कार्यमा क्षुद्र योगदान दिनु उचित ठानेनन् । १०१ रु. प्रदान गरियो । देशभक्तले जयजयकार मनाउँदै धर्मभक्त र गंगालालको तर्फबाट आशीर्वाद दिँदै गए ।

यहाँ आएको महिना दिनजति भइसकेको हुँदा म चन्दा माग्न त होइन, सापट माग्न यी हाकिम मित्रकहाँ आएको थिएँ । किनभने, यस क्षेत्रमा मेरो अझै दस दिनको भ्रमण–कार्यक्रम थियो । निकै बेर गलबदी भयो । भ्रष्टाचार र महँगीदेखि लिएर  स्थानीय होटेलमा पाइने ‘कल गर्ल’ बारे समेत खासखुस भयो । तर सापटी पाइएन ।

थोरै तलबमा वर्तमान स्ट्यान्डर्ड मेन्टेन गर्न नसकेको कुरा सरकारी वकिलले झैँ जोडदार तर्कद्वारा मलाई बोध गराए । कुनै सीप नलागेर म उनको हिजाको झुत्रो र थोत्रो साइकल तथा आजको बंगला र मोटरबाइक सम्झिँदै बाहिरिएँ ।

पत्रकारको काम के ? लिन्ठिङलिन्ठिङ हल्लनदास । केही महिनापश्चात् काठमाडौंमा एकजना साथीकहाँ भेट्न हिँडेको थिएँ, एउटा नयाँ बनेको बंगलाअगाडि देशभक्तलाई उभिएको देखेँ । एउटा समाचार त भेट्टाएँ भनेर उनीतिर लम्किएँ, सहिदस्मारकबारे सोधपुछ गरिहालौँ भनेर ।

“भन्नुस् देशभक्तज्यू ! के हालखबर छ ?”

“हिँ–हिँ–हिँ तपाईंहरूको आशीर्वाद, आउनुस् ।”

उनी गेटबाट पछि हटे, म भित्र पसेँ । बंगलाअगाडिका खुला ठाउँमा फूलबारी लगाउने धमाधम रहेछ ।

“अनि त धर्मभक्त–गंगालालहरूका लागि निर्माणकार्य…”

उनले कुरा काट्तै र हाँस्तै भने, “यै हो ।”

“यै हो !” म अकमक्क परेँ । यो त कुनै आवासीय घरजस्तो देखिन्छ । एउटा डोरीमा, आँगनमाथि झुन्डिएका थिए भर्खर धोएका लुगाहरू– प्यान्ट, कमिज, सारी, पेटीकोट, चोलो, अन्डरबियर इत्यादि ।

“तर तपाईंले त भन्नुभएको थियो धर्मभक्त…” उनी फेरि कुरा काट्तै चिच्च्याए, “यता आओ केटाहरू हो !”

फूल रोप्न थालेका चौध वर्षदेखि पाँच वर्षसम्मका केटाहरू गुर्र कुद्दै आए । अनि उनी भन्न थाले, “म देशभक्त हूँ, यो जेठो धर्मभक्त हो । यो माइलो गंगालाल हो, यो साइँलो शुक्रराज हो, यो कान्छो दशरथ हो ।”

उनको सत्य–सत्य र यथातथ्य वचन सुनेर म त सिद्धि हराएको लठुवाझैँ ट्वाँ परेर हेरेको हेर्यै भएँ ।

(मनु ब्राजाकीको कथासंग्रह “तिम्री स्वास्नी र म”बाट)