
भर्खरै उठेका होलान्, सडकका किनाराका पुराना मादलका धोद्रो तालहरु । अनि थोत्रो डेकमा बज्ने दोहोरीहरु । भागिसकेका छन्, पीडा देखाएर माग्नेहरु पनि । किनाराहरु ओगटिरहेका छन्, फुटपाथका व्यापारीहरुले । बाटो पन्छ्याउँदै दौडिरहेका छन् । हतार हतार हुँइकने यात्रुहरु । तिनको गन्तव्य कहाँसम्मको होला ? थाहा छैन । तरुनीहरुको राज चलिरहेको छ । रत्नपार्कको फुटपाथमा । कुन्नि केको प्रतीक्षामा बसेका हुन् ? फुटपाथ तिनले नै जाम गराएका छन् । पार गर्न हम्मे बनाएका छन् । निकै नै हतारोमा छ । ताहुर माहुर भएको छ । साँझ रनक्क रन्किएको छ । त्यसैले, रत्नपार्क निकै नै चटारोमा परेको छ ।

डा. चित्र मावो
भिड पन्छ्याउँदै हुँइकिरहेको थियो । निकै नै व्यस्त भएर, युकवीर । उनको कानमा एउटा आवाज आयो “जाने हो दाइ ?”
गोधुलीको शान्त साँझ बिथोलियो । स्थिर पोखरीमा ढुङ्गा परेजस्तै गरी । जहाँको त्यही रोकिदियो । कच्याङ कुचुङ् फोरेर आएको त्यो आवाजले । युकवीर टक्क उभियो ।
“जाने होइन दाइ ?” आवाज दोहोरियो । अब मात्र प्रस्ट भयो । युकवीरले बुझ्यो । ती महिलाले मलाई नै भनेको हो भनेर ।
अनि सोध्यो “काँ जाने र हौ ?”
“कि लाने हो ?” प्रश्नले उत्तर दिन भ्याईनभ्याई बनायो ।
“फुल सर्भेस पाँचमै हुन्छ ।” ती युवतीले राखिन् प्रस्ताव । जवाफ दिन भ्याएको थिएन युकवीर । युकवीर अकमक्क भयो । नाजबाफ भयो । हेरिरहन मात्र भ्यायो ।
फेरि भनिन्, “त्यति पनि पर्दैन । दुई दिए हुन्छ ।” ती युवतीले केको सौदाबाजी गर्दैछे ? थाहा भएन । युकवीर अझै पनि अलमल्ल भयो । ट्वाल्ल परेर हेरिरह्यो । अनविज्ञ बन्यो ।
युकवीरले भन्यो “तिम्रो घर काँ हो ?”
“हे ! दाइ पनि । परिचय गर्दै जाऊँ न । अहिले नै किन हतार ?” युवतीले हात च्याप्प समातिन् र तानिन् । युकवीरले पनि स्वीकार गर्यो र बाटो लाग्यो ।
युकवीरलाई अन्यथा लागेन । सोच्यो, “सारै अभरमा परिछे । एक रातको लागि सहयोग गर्दा के नै जान्छ र ।” युवती अगाडि लागिन् । फटाफट हिँडिन् । युकवीरले पछिपछि पछ्यायो । अलि पर, आकासे पुलको जिपनेर पुगिन् र पछाडि फर्किन् । भनिन्, “कता जाने हो ?”
“त्रिपुरेश्वर नजिक गेस्ट हाउसमा म बस्छु । त्यतै जाऊँ होला हौ ।” युकवीरले भन्यो ।
“कुन गेस्ट हाउस ?” युवतीले सोधिन् ।
“तिमीलाई था छ र ?”
“हे ! भन्नू न दाइ । कुन चाहिँ था छैन र ? यो ठाउँ त हाम्रो किल्ला हो किल्ला । त्यो पर एउटा गेस्ट हाउसको सुड्डो चाहिँ लास्ट गिद्दी छ क्या । त्याँ भने चाहिँ जानै मन लाग्दैन ।” युकवीरलाई अनौठो महसुस भयो । उसलाई लाग्यो, “किल्ला पनि भन्छ । गुहार पनि मागिरा छ । कस्ताे केटी रहेछ ।”
“तिरिरि तिर….।” सिटि बज्यो ।
“छापा होलान् । साँझ यसरी नै दु:ख दिन्छ्न् । यिनले गरिखान पटक्कै नदिने भए । यता छड्के बाटो जाऊँ दाइ ।” सानो गल्ली भएर छड्किए ।
गेस्ट हाउसमा पुगे । गल्लीको बाटो भएर । पलङ्गमा थ्याच्च बस्दै भनिन्, “तिनलाई हाम्रो सर्भेसबाट हजार पन्ध्र सय छुट्याएर पुगेन । लास्ट गिद्दी गर्छन् छापाहरु । छाला खियाउने हामी, तिनको श्रीमतीलाई मोज गराउने उनीहरु । तर दाइ ! यी छापाहरुको पनि बिजोग छ । कतिको त जोडीहरु हामीसँगै फुटपाथमै हुन्छन् । कति धनाढ्यका हुन्छन् ।”
“छापा चाहिँ को नि ?” युकवीरले सोध्यो ।
“ए ! था छैन र दाइ ? तपाईं नयाँ मुर्गा पो हो ? छापा भनेको त्यही नि, पुलिस भनौँदा पापीहरु । लास्ट टेन्स गराउँछन् । फेरि उनीहरुलाई कमाइको नछुट्याको पनि त होइन भन्या ।”
“अनि तिम्रो नाम के नि ?”
“मेरो नाम तारा ।”
“घर कता हो ?”
“मेरो घर त झापा हो ।”
“अनि याँ के गर्छौ ?”
“मेरो पेसा नै यही हो नि दाइ ।”
“तिम्रो कुरा बुझिनँ मैले ?”
“समाजले त वेश्या भन्छन् नि हामीलाई । तर हामी स्वतन्त्र पेशा गर्ने पेशाकर्मी हौँ । हामी हाम्रो अधिकारको निम्ति कति आन्दोलन गर्छौं तर सरकारले सुन्ने होइन । यहाँ त केही गरिखाने वातावरण छैन दाइ ।” सानका साथ ती युवतीले जवाफ दिइन् ।
युकवीरलाई अब मात्र थाहा भयो । ऊ त अभर पर्ने बटुवासँग थिएन रहेछ । उसको भेट त एउटी वेश्यासँग पो भएको रहेछ । निल्नु न ओकल्नु भयो । लाज भित्रैदेखि उर्लियो । शंकाले पिरल्यो । कसैले देखे कि ? भनेर । भन्यो, “तिमी वेश्या पो हौ ?”
“अँ ।” टाउकोले संकेत गरिन् ।
अब युकवीर युकवीर रहेन । ऊ त एउटा वेश्यामा परिणत भयो । मुटु पोल्न थाल्यो । हुन त अनजानमा गरेको गल्ती हो । तर, त्यसले मनमा अधीरता छाउन थाल्यो । तब भन्यो, “तिमी यहाँबाट जाउँ । तिमीले गर्दा म पनि वेश्या हुन्छु । मान्छेले मलाई वेश्या भन्छन् ।”
“म पनि त्यतिकै वेश्या भा हो र ? मेरा पनि बाध्यता छन् दाजै ।” झर्केर कराइन् ती महिला ।
“के हुन्छ र वेश्याको ? गतिछाडा ! अरु काम गर्न सक्दैनौ ?”
“सक्छु तर यो समाजले नै वेश्या बनायो त म के गरूँ ?”
“कसरी बनाउँछ समाजले वेश्या ?”
“अर्काको पीडा यहाँ कसले पो बुझ्छ र ? सब स्वार्थी ।”
“कसरी ? भन न त ? तब त तिमी निर्दोष हुन्छौ ।”
“मेरो कथा लामो छ सर ।”
“के छ त्यस्तो ?”
“मेरो घर झापाको हापेन चोक हो । म यहाँ आउँदा केही बुझ्दिन–जान्दिन थिएँ । तिनै होटलले मलाई वेश्या बनायो । जहाँ म काम गर्नलाई बसेको थिएँ ।”
“कसरी बनायो ?”
लामो स्वास तानिन् । अनि आत्माकथा सुरु गरिन्, “म त्यो होटलमा वेटर गर्ने भनेर काम सुरु गरेँ । काम गरेको दुईचार दिनपछि मलाई होटल साहुले नै जबर्जस्ती गर्न थाल्यो । त्यतिले मात्र भएन, अलिपछिबाट ग्राहक बोलाउँदै सर्भेस दिन लगाउन थाल्यो । त्यसपछि मलाई वेश्या हुन कर लाग्यो ।”
“तिमीले केही गरेनौ ?”
“कसलाई के भन्नू र ? त्यहीँ होटलमा एकजना पुलिसको ठूलो मान्छे हो भन्थे । ऊ आउँथ्यो । मैले उसलाई बिन्ती गरेकै हो नि । सुनेन । पछि त त्यहीँ पुलिस पो धाउन थाल्यो मसँग । त्यसपछि कसैलाई केही पनि भनिनँ । यो काम मेरो कर्तव्य नै हो जस्तो लाग्न थाल्यो । बानी पर्दै गएपछि ।”
“ए ऽ ऽ ऽ ऽ…! अनि त्यो होटलमा अहिले पनि जान्छौ ?”
“जान्न, छाडिदिएँ सर । पछिबाट त्यो होटलमा एउटी महारानी आउन थालिन् । रत्नपार्कको सबै व्यवसाय उनैको हेन्डिलमा चल्छ । अहिले पनि महारानी नै छे । उनले यो बाटो देखाइदिइन् । अनि म यहाँ पुगे ।”
“अनि तिमीलाई कता ठिक लाग्यो ?”
“के ? होटल र याँ ?”
“अँ !”
“यही ठिक छ नि सर । याँ त मालिक पनि आफैँ, कामदार पनि आफैँ । महिनामा छापाहरुलाई टेक्स बुझाएपछि ढुक्क । कहिलेकाहीँ ढिलो भयो भने गिद्दी गर्ने हुन् । अरुबेला त स्वतन्त्र । छापाहरु हामीलाई देख्नेबित्तिकै परपरै हुन्छन् । मालामाल छ यार याँ त । धायो पैसा गन्यो । धायो पैसा गन्यो । कुनै कुनै मुर्गाहरु त यति खरिएका हुन्छन् र भन्या ? मार्लान् जतिकै गर्छन् । तर पैसोको मुख हेरेर सहनु पर्यो नि दाइ ।”
“अनि काठमाडौँ चाहिँ कसरी आइपुग्यौ नि ?”
“होस्, भन्दिनँ सर ।” कहिले सर त कहिले दाइ भनेर सम्बोधन गर्थिन् । युकवीरले भने साइनो दिएन । तिमी भनेर सम्बोधन गर्यो । बोलाउने साइनो नै त्यति । उसलाई त्यो नै बढी भए जस्तो भयो । तँ भन्न मन थियो । त्यहाँसम्म भने पुगेन युकवीर ।
“भन्न नमिल्ने हो र ?”
“कसरी भनौँ दाइ ? भन्न पनि डर लाग्छ ।” ताराको आँखाबाट पिलपिल आँसु बग्न थाल्यो । कथा सुरु गरिन्, “त्यो रात हामी खाना खान लागेका थियौँ । अचानक कम्रेडहरु आए । मेरो बुबा स्कुलको हेड सर हुनुहुन्थ्यो । राती नै बालाई लगेर गए । बिहान गाउँकै झाडीमा बाको लास मात्र भेटियो ।”
“किन नि त्यसो गरेका रे ?”
“स्कुलको पैसा खायो भनेर रे । म त सानो थिएँ, राम्ररी थाहा भएन ।”
ग्लानि महसुस भयो । आफू त्यो पार्टीको सदस्य भएकोमा । गर्व गरेको बेकाम भएको भान भयो । महान् पार्टीको कार्यकर्ता भएको छु भनेर । युकवीरलाई ताराको आत्मकथाले गिज्याएझैँ अनुभूति दिलायो । मनमनै भन्यो, “सर्वहारा क्रान्ती – जिन्दावाद ! गरिखान नदिने पार्टी– मुर्दावाद !”
“अनि आमा नि ?”
“आमा पनि जनयुद्धले नै खाइदियो । सहिद भइन् ।”
“कसरी ?”
“त्यसपछि आमा तरकारीको व्यापार गर्नुहुन्थ्यो । त्यो दिन आमा सामान लिन जानुभएको थियो । आमालाई शाही सेनाको गस्तीले भेटेछ । बलात्कार गरी गरी ज्यान लिए । त्यसपछि म टुहुरी भएँ । अनि काठमाडौँ आएको हो ।”
ताराको कथाले युकवीरको अतीत खोतल्यो । उसको अतीतले झन् झन आक्रोशित बनायो ।
***
त्यसताका …
युकवीर नौ कक्षाको विद्यार्थी थियो । रोल्नम्बर एक । गाउँमा खुब चर्चा चल्थ्यो । युकवीरको सबैमा सम्मान हुन्थ्यो ।
गाउँ गाउँमा जनयुद्ध सुरु भएको थियो । कहिलेकाहीँ “जनयुद्ध – जिन्दावाद !” भन्दै उफ्रनु पर्थ्यो । राता रात । कहिले सात भञ्ज्याङ् काटेर जानु पर्थ्यो आमसभा सुन्नलाई । युकवीरले नै गर्थ्यो त्यसको नेतृत्व पनि । रोलनम्बर एक भएको नाताले ।
त्यो रातको कुरो हो । युकवीरलाई कम्रेडहरुले उठाएर लगे । जान्न भन्ने अवस्था थिएन । रातभर सेन्टी बस्नु पर्यो । किन हो ? केको लागि हो ? थाहा भएन ।
बिहान हुँदै गयो । गाउँभरिका भाले बास्न थाल्यो । मिर्मिरेमा नै एकजना कम्रेड आयो र भन्यो, “खरीखटलाई सफाइ भयो ?”
तर्सिएर सोध्यो युकवीरले, ” किन रहेछ कम्रेड ?”
“अस्ति हाम्रा साथीहरु भूमिगत भएका थिए नि ? हो त्यही केसमा रहेछ ।”
“किन ? के भएछ त्यसमा ?”
“आतंककारीको टाउकाको मूल्य सात लाख राखेछ नि । सरकारले । त्यहीँ लोभमा हाम्रा साथीहरुलाई झुक्याएर घाँटी छिनाएछन् । र जिल्लामा लगेर पुगेका थिए रे ।”
“हो र ?” युकवीरको आँखामा झलझली नाच्न थाल्यो । लाहुरे बुढा । जातले लिम्बू । पेशाले लाहुरे । बुढा निकै हट्टाकट्टा थिए । बाबै गर्जदा टोक्न आउने कुकुर पनि डरले लुतुक्क हुन्थ्यो । बाबैको गर्धन सानो मान्छेको कम्मर जत्रो थियो । पाखुरा तिघ्रा जत्रो । कति हो कति खत्रा । त्यस्तो बाबैको गर्धन छिनियो रे । खबर पनि कति कहाली लाग्दो हो ? कति ?
घामको किरणसँगै गाउँमा हल्ला छरियो ।
“लाहुरे बुढालाई सफाइ भयो रे” भनेर । प्रतिस्पर्धा चल्यो । राम्रो भन्ने र नराम्रो भन्नेहरुको । जसले जे भने पनि हुने कुरो भइसकेको थियो । राम भन्नबाहेक काँध हाल्न सक्ने ठाउँ थिएन । बुढाले पनि हुन त ठुलै गल्ती गरेका हुन् । भन्छन् नि, “फलाम काट्ने फलाम नै हो ।” तर, सबै उखान टुक्का व्यवहारमा मेल नखान पनि त सक्छ । यहाँ त न बुढाले व्यवहारको लेखाजोखा राखे ? न संगठनले नै राखे ? दुवै मूर्ख । अन्तमा दुबैलाई भयो घाटा । गाउँलेहरुलाई पनि चयन छैन । गाउँमा नै घटेको घटनाले गर्दा हो । हुन पनि कसरी होस् ? घटनाले गाउँ नै रुवायो । नरुवाओस् पनि कसरी ? गाउँमा कहाली लाग्दो घटना घटेको छ ।
“लाहुरे बुढालाई सफाइ दिने जतिको खोजी हुँदैछ रे । सबैलाई कार्वाही गर्ने रे । अब को को पर्ने हुन, कुन्नि ? सरकार नै लागे पछि त कसैको केही पो लाग्दैन है ।” सबैले भन्छन् । मुटुले ठाउँ छाड्छ । मनमा कुराहरु खेल्छन् । युकवीरलाई गाउँमा बसिसाध्य भएन । त्यसैले, युकवीर पार्टीको पुर्णकालीन कार्यकर्ता भयो । गाउँ छाड्यो ।
त्यो अतीत झल्झली नाच्यो । युकवीरको आँखामा । झनै झलझली भयो । ताराको अतीत । यी दुबै घटनाले मन अशान्ति बनायो । धैर्य टोडिदियो । घृणा जन्माइदियो ।
युकवीरको आँखाले आँसु रोक्न सकेन । खस्न थाल्यो बर्बर्ती । नाकको टुप्पो हुँदै । छाती चिरियो । भक्कानो छुट्न खोज्यो । पार्टीको सदस्यता परिचय पत्र निकाल्यो र च्यातचुत बनाउँदै भन्यो, “म तिमीजस्तो अबोधलाई दुःख दिने पार्टीबाट मुक्त हुन चहान्छु ।”
“आब्बुई !” डराइन् तारा ।
युकवीरले भन्यो, “आजदेखि नै म तिमीले नडराउने मान्छे भएँ । नडराऊ । म आजदेखि भ्रम मुक्त भएँ । यस्तो अपराधबाट साटेको गणतन्त्र चाहिन्न अब ।”
जुरुक्क उठिन् तारा । बाहिर निस्कन खोजिन् । युकवीरले रोक्न खोज्यो । हतार हतार भागिन्, “साला गौरवशाली ! दुनियाँलाई भ्रममा राखेर । अपराधको खोल ओडेर ।” युकवीर मुर्मुरायो ।
***
हापेनचोक । आज त्यहीँ पुगेको छ युकवीर । जहाँ ताराले पाउनु दु:ख पाएकी थिइन् । कम्रेडहरुले हेडमास्टरलाई सफाइ दिएका थिए । शाही सेनाले आमालाई बलत्कार गरी गरी ज्यान लिएका थिए । ती चीत्कार नै हुन् । अहिले गणतन्त्रलाई अपमान गराउने ।
त्यहाँका बासिन्दाहरुसँग युकवीरले अन्तर्वार्ता नै लियो । तर, त्यहाँ भेटिएन ताराको विगत । न भेटियो सफाइ पाएका हेडमास्टर । न भेटियो शाही सेनाले सहिद बनाएकी तरकारीवाली । त्यो विगत कतै भेटिएन । युकवीरले सम्झियो, “तारा सानी थिइन्, त्यसैले ठाउँको नाम बिर्सिन् होली ।”
***
रत्नपार्क भन्दापारि, रानीपोखरीबिचतिर हो । कच्याङकुचुङ गरिरहेका छन् । एक हुल जमात । युकवीरले नजिक पुगेर हेर्यो । एक नौ जवानको मुखदेखि रगत बगिरहेको थियो । ओठदेखि हो या छातीदेखि हो ? रगत बगेको छ । ठम्याउनै गाह्राे भयो । तर जे होस, रगत भने निकै नै बग्दै थियो ।
एउटी युवतीले त्यो पुरुषको कठालो समाएकी थिइन् । तिनले भन्दै थिइन्, “नकचरो ! तेरो घरमा चेलीबेटी छैन ? कुन मुखले भनिस् है । फेरि भन त ? यहाँ हिड्ने सबै वेश्या नै हुन्छ ? हामी जस्ताको त यहाँ हिँडिसाध्य भएन । इज्जत नै बर्बाद होला जस्तो छ ।” दुई झ्याप हानिन् ।
युवकले के भन्दै थियो ? बुझिएन । बुझ्ने प्रयास पनि भएन । सबैले बेवास्ता गरे । एकैछिनमा “हुइ.. हुई .. हुई ..हुइ ..।” पुलिस आइपुग्यो । दुई-चार शब्द के केरकार गरे । युवकलाई भेनमा लगाए । भेन हुँइकियो । युकवीरले टाढासम्म हेरिपठायो ।
अलिक पर । बारमा टाँसिएकी थिइन् तारा । तारालाई युकवीरले चिन्यो । फेरि उसै गरी भनिन्, “जाने हो दाइ ?”
युकवीर र तारा सुनधाराको चौतारोमा पुगे । योपल्ट गेस्ट हाउस गएनन् । युकवीर थ्याच्च बस्यो । थकित भएझैं गरेर । थकान मेट्न तर दुवैको शारीरिक थकान भने थिएन । ताराले भन्यो, “किन बसेको ? यहाँ नबसौँ । रुममा जाउँ ।”
“नजाने । तिमीसँग यही कुरो गर्नु छ ।’
“हामी कुरो गर्न आएका होइनौँ । यहाँ कुरो बिक्दैन ।”
“झुट त नबिकोस् पनि । भन तिम्रो गाउँ कता हो ?”
“सिन्धुपाल्चोक ।”
“अनि तिमी कसरी यहाँ आइपुग्यौ त ?”
“म मेरो जीवनी भन्न आएको होइन याँ ।”
“पैसो दिउँला नि ।”
“पक्का ? कति दिने ?”
“पाँच त सक्दिनँ, दुई मात्र ।”
युकवीरले त्यति मात्र भनेको हो । ताराको आँखामा आँसु रसाउन थाल्यो । कथा सुरु गरिन्, “म सानो थिएँ । मेरो बाबा सानैमा सहिद बन्नु भयो । जनयुद्धमा । मेरो भाइ र ममीलाई पहिरोले बगायो । म एक्ली भएँ । त्यसपछि आफन्तलाई पछ्याएर काठमाडौँ आएँ । पछि त्यही आफन्तले नै दुर्व्यवहार गर्न थाल्यो । त्यसपछि म बाध्य भएँ । त्यसैले मैले रत्नपार्कलाई कर्मथलो बनाउन पुगे । मलाई रत्नपार्कले बचाएको छ । त्यसैले हाम्रो निम्ति रत्नपार्क प्यारो लाग्छ ।”
“अनि झापा ?”
“तपाईंको कुरो मैले बुझिनँ ।”
युकवीरले सम्झियो । तारा लजाइन् र मलाई ढाँटिन् । ताराको घर झापा नै हो । पुर्वेली देखेर छल्न खोजिन् होला । दुई हजार निकालेर दिँदै भन्यो, “अब जाऊ ।”
“यो त कथाको भयो । अब अर्को सर्त नि ?”
“म त्यस्तो मान्छे होइन । तिमी जाऊ । म त तिम्रो वास्तविकता बुझ्न मात्र खोजेको हो । तिमीले लुकायौ । अब भयो ।”
“मेरो त व्यापार बिग्रियो नि दाइ । काँ त्यसरी हुन्छ र दाइ ? कि अगि नै राम्रो एग्रिमेन्ट गर्नुपर्छ । यसरी त भएन नि ?”
युकवीरले एक हजार दिँदै भन्यो “ल बोन्की । अब त जाऊ ।”
“सर्भेस बिनाको पैसो त पाप लाग्छ दाइ । सित्तैमा खाने चलन छैन ।”
कति इमान्दार ? युकवीरलाई त्यस्तै लाग्यो । मुसुक्क हाँसेर भन्यो, “मेरो पनि त्यसको निम्ति पैसो तिर्ने चलन छैन । वेश्या बन्ने रहर छैन । तिमी यहाँदेखि जाऊ । मान्छेले देख्छन् । देखे भने लाज लाग्छ ।”
हातबाट फुत्त पैसो तानिन् । सटासट लागिन् । युकवीरले परैसम्म हेरिपठायो । ओझेल भइन् तारा । ठुला ठुला घरहरुले लुकाइदियो ।
युकवीरले लामो श्वास तान्यो अनि बाटो लाग्यो । यही ताका हो । पोलको बत्तीले जिस्काएको । होटलमा बलेको झिलिमिली बत्तीले गिज्याएको । बाटामा हिँड्ने मान्छेहरूको नजरले समेत शंकाले हेरेको । तिनले भन्दै थिए, “वेश्याको सङ्गत लिने तँ पनि वेश्या भइस् युके ।”
तर युके वेश्या होइन । ऊ त खोजकर्ता हो । ताराको वास्तविकता खोज्ने । गहिराइ नापिरहेको थियो । थाहा भएन । कति गहिरो छ ? ताराको जीवन अनि गणतन्त्रको । कहाँ पुग्दा फिता सकिने हो ? या त गहिराइ पत्ता लाग्ने हो ? वास्तविकताको । युकवीरले खोजिरहेको थियो ।
***
“युकवीरजी !” पछाडिबाट कसैले बोलायो । युकवीर पछाडि फर्कियो । पछाडि गगन थियो । युकवीरले भन्यो, “गगनजी ! आज तपाईं कताबाट हो ?”
“भूमिगत बन्नु भयो त युकवीरजी ? कि के हो आजकाल ? चालामाला बुझिएन है ।”, हात मिलाउँदै गगनले युकवीरलाई जिस्कायो ।
“होइन, होइन गगनजी । यो पार्टी संगठन इत्यादिले दिक्क लागेर हो । आखिर आन्दोलन भन्यो । उफ्रियो । करायो । सबै ती ठूला बडाको निम्ति रहेछ । हामी त डिलमुनिको भ्यागुतो न हौं । जति उफ्रे डिल चड्न सकिने होइन । त्यहीँ भएर म त कतै निस्कन छाडिदिएँ ।”
“किन निरासावादी कुरो गर्नुभा युकवीरजी ? कि कसैले बनायो ? यो गोपिनी भन्ने चिज त धेरै विषालु हुन्छ है । होसियार बन्नु नि फेरि ।”, पिठ्युँमा धाप लगाउँदै गगनले भन्यो ।
“होइन गगनजी । अब आफ्नै सुति खेतीतिर पो लागियो ।”
“बुझ्दैछु । त्यो सुन्धाराको चौतारोले पो मन बिगार्यो कि ? कि कसो हो ?” हाँस्दै भन्यो ।
झसङ्ग झस्कायो गगनको कुराले । युकवीरले दायाँ बायाँ हेर्यो । कसैले सुनेकी भनेर । अनि भन्यो “होइन, होइन गगनजी । यसो आराम गर्दा आइन् अनि गफ मात्र गरेको हो । त्यस्तो नराम्रो केही पनि होइन ।”
“बुझ्छु । साथीको मर्म ।”
झनक्क पारो चढ्यो । अनुहार रातो पिरो भयो । अरु जवाफ दिने ठाउँ थिएन । युकवीरले रन्किएर भन्यो, “गगनजी ! सबै मान्छे एउटै हुँदैन । धेरै शङ्का गर्ने बानी छाडिदिनु होस् ।”
गगनले नरम भएर नै जवाफ दियो । उसले शारीरिक रुपमा कुनै प्रतिक्रिया दिएन । भन्यो, “होइन युकवीरजी ! त्यो तमलाई पनि थाहा छ । नरिसाउनु न । यसो जिस्काएको पो हो त ।”
“अनि के भन्न खोजेको त ?”
“नरिसाउनु न ।” यता उता हेरेर भन्यो, “म तपाईंलाई एउटा कुरो भन्नु छ युकवीरजी ।”
“के कुरो ? भन्नु न ।”
“तपाईं तै केटीसित जीवन बिताउने हो र ?”
“त्यही कुरो हो तपाईंको ?”
“अरु पनि छन् ।”
“के हो ? सरासर भन्नुहोस् ।”
“त्यो केटीको बारे तपाईंलाई थाहा छ ?”
“छ । ऊ वेश्या हो । रत्नपार्क उसको व्यावसाय गर्ने थलो हो ।”
“अनि ? अनि किन फस्नु हुन्छ ?”
“म फसेको छुइनँ । उसको बारे बुझ्न मात्र खोजेको हो ।”
“केही बुझ्नु भयो त ?”
“बुझेँ । ऊ हाम्रो कारणले त्यो अवस्थामा पुगेको छ । त्यसैले हामी पापी हौँ । त्यही भएर मैले राजनीति पनि छाडेको हो ।”
“आउनुहोस् बसौँ । म बुझाउँछु उसको यथार्थ ।”
अब भने युकवीरले निकै चासो दियो । उसले सोध्यो, “तपाईंलाई कसरी थाहा भयो गगन जि ?” युकवीरलाई लाग्यो । गगनजी पनि धाउँदो रहेछ । तारा कहाँ । त्यसैले त उसलाई थाहा भयो ।
“उनी मेरो गाउँ नजिकको छिमेकी गाउँकी हुन् । तिनले मलाई देख्न साथ टाप कस्छे । मलाई चिन्छे । त्याँ पनि म पछाडि थिएर देखिनन् । नत्र कहाँ त्यसरी तपाईंलाई मुर्गो बनाउने गरी गफ हाँक्न सक्थी र ?”
“अरे हो र ? अनि ऊ कसरी त्यस्तो भयो त ? तपाईंलाई सबै कुरो थाहा छ त ?”
“उनले सानो जातको सँग बिहे गरिन् । त्यसपछि माइतीबाट बहिष्कार भयो । पछि बुढो विदेश पठाइन् । केटोले विदेशमा यति धेरै सम्पत्ति कमाएको हो र ।”
“अनि के भयो ?” उत्सुकताका साथ युकवीरले गगनको कुरामा चासो दियो ।
“केटो घर आउँदा धन पनि छैन । श्रीमती पनि छैन । सुकुम्बासी नै बनायो नि । बिचरो त्यो केटोलाई ! आज त्यसैको पाप बिहोर्दैछे तिनले । तिनले टिपेर हिँडेको केटोले पनि घरको न घाटको बनाएर छाड्यो । विदेशको सम्पत्ति रहुन्जेल माया गर्यो । मोज पनि गर्यो । पछिबाट धोका दियो । उजुरपाजुर गर्ने ठाउँ पनि थिएन । त्यतिकै बेवारिसे बनिन् ।”
“ए ! मलाई त जनयुद्धको कारणले पो यस्तो बनायो भन्यो त ?”
“वेश्याको कुरो पनि इमान्दार हुन्छ र ? तपाईं झुक्किनु भयो युकवीरजी । तपाईं त कति सिधा मान्छे ? तिनको त मान्छेपिच्छे घटना हुन्छ । कथ्न पर्दैन । ओठमा नै ठिक्क झुन्डिएको हुन्छ । भावनामा फस्नु हुन्छ नि फेरि । उद्दार सम्झने होइन । धेरै नै गद्दार हुन्छन् तिनीहरु । तिनीहरु कहीँ कतै फिट पनि हुन्रन् । बानी नै बिग्रिसकेको हुन्छ । केही पनि गरी खान सक्दैनन् ।”
कति भ्रम – कति यथार्थ ? जनयुद्धले जन्माएको वास्तविकता । निकै नै गहिराइमा छ । बुझ्नै नसकिने गरी । बुझेर साध्य नै छैन । त्यसै भएर त अद्येय छ – गणतन्त्र नेपाल । तब फेरि युकवीरले भन्यो, “गणतन्त्र नेपाल – जिन्दावाद ! वीर सहिदहरु – अमर रहुन् !”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

