सिमसिम पानी परिरहेको थियो । म बस स्टपमा बसेर हल्का भिजेको छाता संगालेर ब्यागमा राख्ने तरखरमा थिएँ । त्यत्तिकैमा पानी झनै दर्कियो । त्यही स्टपमा ओत लाग्न मानिसहरु जम्मा हुन थाले र गाडी आए गएको थाहै नहुने गरी म बसिरहेको ठाउँअघि भिड लाग्न थाल्यो ।

मानिसहरुका भिजेका कपालबाट स्याम्पू र बाफिएका शरीरबाट पसिना र पर्फ्युम मिश्रित गन्ध आउन थाल्यो । मिलाएर ब्यागमा राख्न तयार पारेको छाता खोल्दै म दर्के पानीमा निस्किएर गाडी आउने साइडतिर आफ्ना आँखा तन्काउन थालेँ । नभन्दै गाडी पनि आयो । गाडी रोक्ना साथ एक हुल मानिस गाडीको ढोकासम्म पुगे र तछाड मछाड गर्न थाले । गाडीमा सिट पाउने त परकै कुरा, खुट्टा टेक्न नि नपाइएला भन्ने लागेर म स्ट्याण्डतिरै फर्किएँ ।

गाडीको सहचालक भिड मिलाउँदै भन्दै थियो, “पछाडि जानुस्, दुई लाइन मिलेर उभिनुस्, ठाउँ जति पनि छ।”

नभन्दै मानिसको हुल गाडीभित्र इट्टा मिले जसरी मिल्न थाल्यो ।

मलाई पनि अघि चढ्ने बेला याद गरे जसरी उसले भन्न थाल्यो, “दिदी अझै पनि ठाउँ छ, आउनुस् ।”

म पनि उसको यहीँ वचनको पर्खाइमा रहे जसरी खुर्रर दगुर्दै गाडीको दोस्रो खुड्कीलासम्म पुगेँ । बगरकोट आएपछि धेरै मान्छे उत्रिए । र म पनि एउटा खाली सिटमा गई बसेँ । पानी रहेर घाम टिलपिल टल्किन थालिसकेको थियो । बसभित्रको वातावरण गुम्सिएझैँ भयो । मैले मेरै नजिकै बसेकी युवतीलाई झ्याल खोल्न आग्रह गरेँ ।

त्यतिकैमा ती युवतीले मलाई हेरिन्, हाम्रा आँखा जुधे। मैले बसेकै ठाउँबाट उसलाई तल देखि माथिसम्म सरसर्ती हेरेँ । उसलाई पनि म परिचित अनुहारजस्तै लाग्यो होला सायद । त्यो उसको हाउभाउमा प्रष्ट थियो । त्यसपछि उसले झ्याल खोली र बोल्नु नपरे हुनेझैँ गरेर उतै फर्किरही ।

मतिर एकचोटि पनि फर्किँदै फर्किन । म भने नजर कर्के पार्दै उसलाई चिन्ने प्रयत्न गरिरहेकी थिएँ ।

एकैछिनपछि मैले अड्कल लगाएँ र मनमनै पक्का भएँ, “ए, ए, २०१२ सालको एस. एल. सी. ब्याचकी, सरिता सिम्खडा ।”

एक टकले झ्याल बाहिर हेरिरहेकी ऊ, फर्केर मसँग बोल्लिन् कि भन्ने मनमा आशा रहिरह्यो । स्कुल छोडेको यत्तिका वर्ष हुँदा पनि उसलाई चिन्न मलाई अप्ठ्यारो परेन । तर के उसलाई, मलाई ठम्याउन गाह्रो परेकै थियो त ? त्यसो सोचौँ भने ऊ मसँग फेसबुकमा फ्रेन्ड पनि थिइन्। असहज गरायो । तर मतिर हेरेर चिनेको इसारासम्म गर्न नखोज्नेलाई म आफैँले बोलाउन अनुचित ठानेँ । भन्छन् नि- विद्यार्थी पढेर जति नै ठूलो होस् शिक्षकको भूमिका उसको जीवनमा सधैँ श्रेष्ठ हुन्छ रे । यो सोच्दै, मेरो अभिमान ऊसामु झुक्न खोजेन र उसले नबोलाई मैले बोलाउन उचित ठानिनँ ।

अस्ति भर्खर माधव सरले स्टाफ रुममा मलाई मोबाइल देखाउँदै, “म्याम, यो रेसम होइन” भन्दै पूर्व विद्यार्थीको प्रोफाइल देखाउँदै थिए । मैले नि हो भनेको थिएँ।

“हैट, अमेरिकामा सर्जन भइसकेछ।” दङ्ग पर्दै भन्दै थिए।

प्रोफाइल खोली बायो चेक गर्दै भन्दै थिए, “अचेल धेरै पुराना विद्यार्थीहरूसँग जोड्न पाइएको छ । प्रगति देख्न पाइएको छ । धन्न फेसबुक छ, र पो । नत्र को कता के अत्तोपत्तो नहुने ।”

“आफूले पढाएको विद्यार्थी अघि बढेको देख्दा हाम्रो समय चाहिँ स्थिर रहेझैँ लाग्दो रहेछ कि कसो, रश्मी म्याम? ” फेसबुक स्क्रोल गर्दै उनी भन्दै थिए।

मैले पनि हो मा हो थपिदिएको थिएँ । तर आजको मेरो अनुभव ठीक विपरित थियो । यस्तो लाग्यो सायद सामाजिक सञ्जालले हाम्रो भर्चुअल दुनियाँमा निकटता ल्याए पनि वास्तविक दुनियाँबाट हामीलाई कोसौँ टाढा बनाइरहेको छ ।

सरितालाई सम्झेँ । ऊ आज्ञाकारी विद्यार्थी थिई । निकै मिहेनेती र पढाइमा पनि अब्बल । कक्षा ९ मा हुँदा जिल्ला स्तरीय वक्त्तृत्व कला प्रतिस्पर्धामा निकै मेहेनत गरेकी थिई । र प्रथम भई पनि । मैले नै उसलाई वक्त्तृत्व कला प्रतियोगितामा भाग लिनु पर्छ भनेर नाम टिपाइदिएको पनि सम्झिन पुगेछु। फेरि सोच्छु उसले मलाई वा मैले उसलाई बेवास्ता गर्न हामी त्यति अपरिचित पनि त थिएनौँ ।

एक टकले बाहिर फर्केकी उनको मुन्टो कति दुखिसकेको होला। मेरो उपस्थितिले उसलाई कति असहजता गराउँदै होला । बस स्टप नआउन्जेल मलाई पनि ज्यादै असहज महसुस भइरह्यो । स्टप आएपछि गाडीबाट ओर्लिएँ र उसलाई अप्ठ्यारो नहोस् भनेर उत्रेपछि एकपटक पनि ऊ बसेतिर हेरिनँ।

पानी परिसकेर पारिलो घामले दिन रमाइलो बनाए पनि मेरो मन अघिको मुसलधारे पानीले दिन धुम्मिएभन्दा बढी धुम्मियो ।

सामाजिक सञ्जाल सामिप्यता बढाउने राम्रो माध्यम भयो भन्छन् । तर आजको घटनाले यो कुरा निरर्थक लाग्यो मलाई । निर्धक्क फ्रेन्ड रिक्वेष्ट पठाउने तर कत्तै भेट्दा मुन्टो बटारेर नचिनेजस्तो गर्ने, मानिसहरुलाई सामाजिक सञ्जलाले ढोँगी र असामाजिक बनाएझैँ लाग्यो ।

सोच्दा सोच्दै कत्तिखेर रुम नजिक आइसकेछु, पत्तै भएन । कोठा गुम्म भएको रहेछ, झ्यालहरु खोलेँ अनि रङ्ग कडा हालेर चिया पकाएँ । चियाको सुर्को तान्दै जाँदा दिमागभरिका बोझ कम भएझैँ लाग्यो । चिया सक्किन नपाउँदै फोन बज्यो, नर्वदा म्यामको रहेछ ।

“यत्तिका दिन कता हुनुहुन्थ्यो, फोन पनि लाग्दैन, मेसेन्जरमा गरेको मेसेज पनि हेर्नु भएको छैन।” म्याम रिसाएजस्तै सुनिनुभयो।

“म्याम, म यता दिदीको तिर थिएँ। नेटवार्कको समस्या थियो र फोन लागेन होला, सरी म्याम।” डराएको स्वरमा मैले उत्तर दिएँ । “विद्यालयमा अन्तिम परीक्षा सकिएको केही दिन मात्र भएको थियो ।”

मेरो स्पष्टीकरणमा वास्तासमेत नदिई म्यामले भन्नु भयो, “शिक्षक भएपछि, परीक्षा गराएपछि ड्युटी सकिन्छ र ? रिर्पोट तयार गर्नु परेन। तिलक सरहरु हिजैबाट स्कुल हाजिर भइसक्नु भयो, ल तपाईं पनि भोलिबाट जसरी हुन्छ हाजिर हुनुपर्यो ।”

कुरा सकिए जस्तो लागेर हवस् भन्दै म्यामले फोन काट्नुहोला लागेको थियो तर फेरि म्याम बोल्नुभयो, “कुन दुनियाँमा बस्नुहुन्छ तपाईं ? तपाईंलाई मेसेज गर्यो उत्तर दिनै घण्टौ लगाउनु हुन्छ । मान्छेलाई कति आपत् परेर मेसेज गरेको हुनसक्छ । अलिक ध्यान दिने गर्नु।”

हुन त अरुले पनि मलाई भन्ने कुरा तिनै हुन्, म फोन चलाउन वा सामाजिक सञ्जालमा सक्रिय छुइन रे, आफूसँग सम्बन्धित व्यत्तिहरुका फोटोहरु पोष्ट गर्ने र अरूका पोष्टमा वा कुनै घटनाक्रममा आफ्ना विचार प्रतिक्रियाहरु पोख्ने गर्दिनँ रे ।

म्यामले मलाई त्यही कुरा भन्दा असामान्य लागेनन् । पछि म आफैँ पनि सक्रिय नहुने बारे यति सजक हुन थालेँ कि कसैले ट्याग गरेका फोटो वा पोष्ट आफ्नो टाइमलाइनमा एड गर्न समेत हिच्किचाहट मान्थेँ ।

यो मात्र नभई कोही ज्यादा सक्रिय भएर दिनहुँ पोष्ट गर्दथ्यो त अरुका व्यापक सक्रियता देखेर पनि ममा एक किसिमको चिड्चिडापन व्याप्त हुन्थ्यो । आजित भएर अनफलो गर्न समेत पछि पर्दिनथेँ । मन लाग्दा पोष्ट गर्नु आफ्ना इच्छाका कुरा पनि हुन् तर तिनै क्रियाकलाप अत्यधिक हुँदा मेरा चिड्चिडाउँदो व्यवहारका शिकार भई कत्ति अनफलो भए होलान् जसमा सायदै उनीहरुको गल्ती थियो ।

केही दिन अगाडिबाटै नर्वदा म्याम मसँग निरास हुनुभएझैँ लाग्थ्यो, कारण पहिल्याउने कोसिसमा म पुनः विगतका केही घटना क्रम सम्झन पुगेछु ।

नर्वदा म्याम हाम्रो स्कूलको प्रधानाध्यापक हुनुहुन्छ। साथसाथै उहाँ अवकास प्राप्त कर्नेलको श्रीमती पनि हुनुहुन्छ। उहाँको रवाफ, लवाइखुवाइको कसैसँग तुलना गरी साध्य छैन । स्कुलमा सुनिन्थ्यो कि- म्याम एक पटक लगाएको लुगा दोस्रो पटक लगाउनु हुन्नथ्यो । हुन त म्यामलाई पुगिसरि पनि थ्यो । छोरा छोरी सबै आत्मानिर्भर भई कोही अमेरिका त कोही अष्ट्रेलियामा थिए।

उहाँलाई आफ्नो कमाइले आफ्ना लागि चाहेको जस्तो जीवन जीउने स्वतन्त्रता थियो । फेरि कुनै दिन सुने कि उहाँले स्कूलका स्टाफहरूलाई सेकेण्ड हेण्ड कपडाहरु बेच्न थाल्नु भएको थियो । नभन्दै एकदिन मलाई पनि उहाँले सामान किनिदिन आग्रह गर्नु भएको थियो ।

भन्नुभएको थियो, ‘परिवारका सबै ठूला ठूला अहोदामा छन् , कहिले बिहे पर्छ , कहिले पास्नी। एक पटक लगाएको लुगा दोस्रो पटक लगाएर तिनै आफन्तहरू माझ जान अप्ठ्यारो लाग्ने, हेर्नु न ! फेरि सरको परिवारको नातासम्बन्धको लर्को पनि लामै छ, अनि रवाफ पनि बेग्लै । परिवेशअनुसार मिल्नै पर्यो।”

उहाँले फेरि थप्नुभएको थियो, “अचेल त एक पटक कपडा लगाएर फेसबुकमा फोटो राखेपछि कपडाको फेसन गइहाल्छ, दोस्रो पटक राख्न पनि । दोस्रो पटक नलाउने भएपछि दराजमा कपडा थुपारेर किन राख्नु भन्ने लागेर सेकेण्ड ह्याण्डमा बेच्न थालेकी नि ! फेरि आफ्नै कार्यालयमा यत्तिका महिला स्टाफ भएपछि बाहिर ग्राहक खोज्दै हिँड्न नि परेन ।”

यति भनी सकेपछि म बसे नजिक आउँदै मोबाइलमा फोटो देखाउँदै, “ल, तपाईं पनि एउटा साडी रोज्नुहोस् ” भन्नुभयो ।
किन्नु थियो वा थिएन समेत नसोधी अचानक कुन लिनुहुन्छ भन्दा म रनभुल्लमा परेँ ।  म वा अरु स्टाफसँग उहाँ त्यस्तै आग्रह गर्दै आइरहनु हुन्थ्यो । म्यामलाई देख्दा लाग्थ्यो कि मानिसले आफ्ना लागि कति थुपार्दो रहेछ । लागे थ्यो ऊ ती वस्तुका मालिक नभई तिनका दास चाहिँ हो ।

एक दुई पटक उहाँबाट सामान लिएपछि अरु कपडा लिने विकल्प रहेन किन कि उहाँका कपडा प्रायः फेन्सी र विलासी हुन्थे । म जस्तो सामान्य व्यत्तिले ती कपडा लगाएर कहाँ हिँड्नु होला । फेरि उहाँ जस्तो हप्त्तै पिच्छे पार्टीमा जानु पनि पर्दैनथ्यो मलाई । महिना महिनामै त्यस्ता विलासी कपडा किन्दै उपभोग गर्न मेरा पैसा त्यत्ति सस्तो पनि त थिएनन् । खाइ, बचाइ घरमा समेत पैसा पठाउनु पर्थ्यो मैले । स्कुले छोरी थिई, वर्षैपिच्छे उसका खर्च र आवश्यकता पनि बढ्दै थिए । पाइ पाइ हिसाब गरेर खर्च गर्नु पर्यो ।

एक दिन गफैगफमा म्यामलाई ती कपडा कुनै कपडा बैंकमा दान दिन सल्लाह दिएको थिएँ । भनेको थिएँ, “त्यसाे गर्दा समाज सेवा गरे जस्तो पनि देखिने र आवश्यकता भएकाहरुलाई काम पनि दिने ।”

मेरो कुराले उहाँ अलिक रिसाए जसरी भन्नु भएको थियो, “त्यसरी कपडा बैँकमा दान गर्न मेरा कपडा तपाईंलाई त्यत्ति सस्ता र गुणस्तरहीन लाग्छन्, र ?”

यो वाक्य मेरो मन मस्तिष्कमा यसरी गुञ्जियो कि लाग्यो यो विगतको घटना नभई अघि भर्खरै नर्वदा म्यामले मलाई फोन मार्फत हकार्दै भन्नुभएको थियो । पछुतो लाग्यो, मलाई त्यस बेला त्यस्तो सल्लाह किन दिनुपरेको होला । तर फेरि सोचेँ, शिक्षकजस्तो गरिमामय पेशा, अझ प्रधानाध्यापकजस्तो व्यक्तित्वकै देखावटी संसार थियो त विद्यार्थीहरूलाई सरलता र सहिष्णुता कसरी सिकाउनु हुन्थ्यो होला उहाँले ।

पछि थाहा पाएँ, उहाँले कार्यालयलाई व्यापारिक स्थल बनाउन छोड्नु भएछ । सायद एक किसिमको तिक्तता थियो होला उहाँलाई मप्रति । जुन मेरा सामान्य भुलचुकमा पनि उहाँले देखाउने अस्वाभाविक आक्रोस र गुनासोमार्फत सजिलै अड्कल गर्न सकिन्थ्यो ।

ओछ्यानमा ढल्किएर फोन चलाउन थालेँ । फेसबुक खोलेँ । लक्ष्मीको पोष्ट अगाडि आयो ।

लेखिएको थियो, “फिलिङ्ग एक्स्साइटेड फर न्यू एड्भेन्चर , ह्यासट्याग फिङ्गर क्रस।”

पोष्ट देख्नासाथ उसलाई फोन लगाएँ । उसले पनि तुरुन्तै फोन उठाई र मैले बोल्न नपाउँदै बोली, “अहिले म बाहिर छु, बेलुका भेटौँला।”

मैले एकैचोटि धेरै प्रश्न सोधेँ, “फेसबुकमा के लेखेकी, के हो नयाँ एड्भेन्चर, सयौं कमेन्ट छन् त।”

उसले उत्तेजित हुँदै भनी, “ए होर ! इन्टरभ्युलाई आएको छु, जागिर लगभग पक्काजस्तै छ । पर्खिंदै गर बेलुका भन्छु,” यति भन्दै फोन काटी ।

लक्ष्मी र म यहीँ आएर साथी बनेका हौँ । मान्छे ऊ बोलाइली र मिजासिली छे । उसलाई पनि नर्वदा म्यामको जस्तै सामाजिक सञ्जालमा रमाउने बानी परेको छ । ऊ पनि फेसबुक वा टिकटकमा पोस्ट गर्नकै लागि नयाँ नयाँ ठाउँ घुम्ने, लुगाहरु किन्ने र कुनै असल अभ्यास वा बेथितिबारे फेसबुक स्ट्याटसमार्फत खुलेर विचार व्यक्त गर्ने गर्छे । टिकटकमा लाइक बढाउनकै लागि त्यहाँ चलेका कलाकारका गतिबिधि कपी गर्न पनि ऊ पछि पर्दिन चाहे ती पृथक् हुन् वा वाइयात ।

लक्ष्मी र म बराबरी कमाउँथ्यौँ । तर उसका आवश्यकता र खर्च मेराभन्दा बढी थिए । तलब आउनुअघि उसलाई चाहिने कपडा र घुम्नुपर्ने ठाउँहरुको लिष्ट तयार भइसक्थे र तलब आएको दोस्रो दिनमै ऊ टाट पल्टिसकेकी हुन्थी । अनि म कहाँ आएर आफ्ना आर्थिक सङ्कट सुनाउँथी कि कता कति कति ऋण भए ।

पछिल्लो समय आफ्नो कमाइले आधारभूत आवश्यकतासमेत परिपूर्ति नहुने भयो भन्दै नयाँ जागिरको खोजीमा छु भन्दै थिई ।

म जस्तालाई आधारभूत आवश्यकता भनेका दुई छाक टार्नु, कोठा भाडा तिर्नु, चाहिँदा कपडा किन्नु र घर खर्च पठाउनुथ्यो । लक्ष्मीका सन्दर्भमा आधारभूत आवश्यकताको परिभाषा अलि फरक थिए । दिनहुँ जसो राम्रा रेष्टुरेन्ट चाहर्दै डिनर गर्नु, मन लाग्दा जति पनि कपडा किन्नु, साथीहरुसँगका अनिवार्य घुमघाम आदि मेराभन्दा थप थिए ।

नर्वदा म्यामजस्तै उसका दराजमा उपभोग नगरिएका लुगा खचाखच हुन्थे । कति पटक त मैले आफूलाई हुने लुगा छानेर पनि ल्याएँ । एकचोटि किनेर लगाएर फेसबुक र इन्स्टामा फोटो पोष्ट गरेपछि उसका लागि ती लुगाको महत्त्व शून्य बराबर हुन्थ्यो ।

मलाई लाग्छ अचेल हरेक व्यत्तिका प्रवृत्ति यस्तै नै हुन्छन्, विशेष गरी महिलाका । देखाउनकै लागि आवश्यकताभन्दा बढी कपडा किन्यो, जम्मा गर्‍यो र कुनै दिन फोहाेरका रुपमा फाल्यो । उपभोक्ता बढेकै कारण कपडाको व्यापार अधिक फस्टाएका पनि हुन् ।

यी सब देख्दा बाल्यकालका यादहरु दिमागमा ताजा भएर आउँछन् । त्यस ताका नयाँ लुगा लगाउन दशैं नै कुर्नु पर्थ्यो । त्यस बीच नयाँ कपडा पाउन कि विद्यालय परिवर्तन हुनुपर्थ्यो कि विदेशबाट मामा, काका कोही आएर नयाँ लुगा ल्याइदिनु पर्थ्यो ।

अहिले पनि मलाई आफ्नो बालापनमा लगाएका हरेक कपडा याद छन् जबकि अचेल आफैँले केही वर्षअघि लगाएको लुगा याद गर्न गाह्रो पर्छ । त्यति बेला लुगाको मूल्य घटाउने यस्ता कुनै सामाजिक सञ्जाल पनि त थिएनन् । एकचोटि किनिएका कपडा बडो जतन र प्रमले वर्षैवर्ष लगाइन्थ्यो ।

लक्ष्मी कहाँ पुग्दा ढोका खुल्लै थ्यो तर भित्र बत्ति बालेको थिएन । फेरि देखेँ कि लक्ष्मी बत्ति नबाली भित्रै सुतिरहेकी रहिछ ।
मैले बत्ति बालेँ।

नजिकै गई सोधेँ, “के भयो तँलाई ! किन यति खेरै सुतेकी ?”

उसले भनी, “कत्रो आश गरेको थिएँ यो जागिर पाइएला भनेर । सब बर्बाद भयो !”

“के भयो र ?” मेरो मुहारमा कौतुहल्ताका प्रश्न चिह्न थियो ।

थप्दै गई, “रमा चिन्छेस् नि, उसैको मामाको संस्था हो त्यो। उहाँले त पक्का हुन्छ भन्नु भएको थियो तर अन्तिमा अन्तर्वार्तामा फालिएँ ।”

“कुरा पक्का नभई फेसबुकमा प्रचार गर्न किन हतार गरेकी त तैँले”, म अलिक जङ्गिदै बोलेँ ।

“पहिले पूरा कुरा त सुन।” ऊ फेरि बोल्न थाली, “केही दिन अघि मात्र तराईमा घटेको दाइजो प्रथालाई लिएर मैले फेसबुकमा तराई बासीबारे खण्डन गरेकी थिएँ ।”

अलिक भावुक हुँदै, ऊ भन्दै गई , “त्यसको संस्थाको निर्देशकले म तराईमा रहेर त्यहाँका मानिसहरुका लागि काम गर्न सक्दिन भन्ने निर्णय गरेछन् ।”

“किन नसक्नु र सर ।” भन्ने मेरो प्रश्नमा उनले भने, “केही दिन अघि तराईमा घटेका घटना बारे टिप्पणी गर्नुभएको रहेछ, त्यो देख्दा तपाईं त्यहीँ समाजमा बसेर त्यही नै मानिसहरुका लागि काम गर्न सक्नुहुन्छ जस्तो लागेन , त्यसैले सरी ।”

“अर्काबारे के लेख्छ के भन्छ पहिल्यै फेसबुकमार्फत विचार गरिसकेका रहेछन, म तीन छक्क परेँ ।” यति भनिसकेपछि ऊ अलिक शान्त भई ।

आफ्नो बोल्ने पालो पाएँझै म बोल्न थालेँ, “आफ्ना राय र टिप्पणी दिँदा अरु कसैलाई प्रभाव पर्न सक्छ, विचार गर्नु पर्थ्यो । फेरि कुरा पक्का नभई प्रचार गर्नुको के अर्थ ! अलिकति धैर्य त गर्नुपर्छ नि ।”

उसले झिजो मान्दै भनी, “ल, ल त्यो बिहानको पोष्ट हटाइसकेँ, अब तँ पनि भाषण नदे ।”, यति भन्दै कम्बल तान्दै शरीर ढाकेर सुती ।

उसलाई नि त्यो घटनाबाट केही सिक भयो होला कि भन्ने सोच्दै म त्यहाँबाट हिडेँ ।

लक्ष्मीलाई मात्रै के भन्नु। आफ्ना सफलता वा उपलब्धि प्रचार गर्न लक्ष्मीजस्ता धेरैलाई अचेल सामाजिक सञ्जाल उपयुक्त माध्यम बनेका छन् । एक ताका सामाजिक सञ्जाल नहुँदाको समय पनि थियो जब मानिसका सफलता वा गतिविधिहरू आफैँसँग सीमित रहन्थे । तर अब त हरेक सफलता वा गतिविधिहरू यी सञ्जालमा प्रस्फुटन नगरी मानिसहरू धैर्य कायम गर्नै सक्दैनन् ।

पानी परेकाले बाटो हिलाम्मे थ्यो र भ्यागुताका ट्यार ट्यार कानैसम्म आइरहेको थियो । रुम पुग्नु अगावै घरबाट फोन आयो । फोन उठाउँदै ढोकाको लक खोलेँ । आमा बोल्नुभयो । सामान्य गफगाफ भए, स्कुल कहिले खुल्ने, खाना खाए नखाएको यी आदि ।

आमाले बोल्दै जानुभयो, “आज तल्ला घरका छिमेकी भन्दै थिए, छोरीले त लोग्ने स्वास्नीको फोटो कहिले राखेको देख्दिन, दुई बीच आराम कुशल त छ नि ?”

अझै थप्दै जानुभयो, “तँ पनि राख्देन त फोटो अनि बुझो लाग्ला तिनका मुखमा। उनकै छोरा बुहारीलाई हेर न, कत्ति मज्जाले फोटो पोष्ट गर्छन्, घुमेको र रमाइलो गरेका । आहा ! कत्ति राम्रा जोडी भन्दै कमेन्टै कमेन्ट हुन्छन् फेसबुकभरि।”

ती छिमेकीले मेरो टिप्पणी गरेको सुन्दासम्म मलाई केही लागेन तर आमाले तिनका कुरा सुनेर मलाई सल्लाह दिएपछि रिसले तिरिरि भएँ ।

“अब त फोटो पोष्ट नगरी, मायाका दुईचार हरफ नलेखपछि पतिपत्नीको सम्बन्ध सुमधुर नरहने रैछ, हैन आमा ।” आमालाई तरून्तै जवाफ फर्काएँ ।

“फेसबुकका भित्तामा फोटो मात्रै होइन, छिमेकीले समेत सुन्ने गरी झगडा गर्थे त, त्यसको नि भिडियो बनाएर पोष्ट गर्नु रे भन्दिनु नि !” एकै स्वासमा आफ्ना कुरा राखेर फोन काटिहालेँ ।

आमाका कुराले एकछिनसम्म डिस्ट्रर्ब भइरहेँ । यति मात्र नभई सामाजिक सञ्जाललाई लिएर आज भएका कुरा वा क्रियाकलापले दिनभर प्रभावित भइ नै रहेँ ।

अस्ति दशैँमा घर जाँदा बाटोमा दुर्घटना भएर जाम भयो । धेरै बेर बाटो नखुलेपछि म नि माहोल बुझ्न घटनास्थलमा गएको थिएँ । घाइतेलाई एम्बुलेन्समा हालिँदै थियो । पुलिसले घटनास्थल जाँच गर्दै थिए । मेरै नजिक दुई युवक मोवाइलमा फोटो लिएर फेसबुकमा पोष्ट गर्दै थिए । घाइतेको फोटो रहेछन् , मेरा आँखा ठ्याक्कै त्यहीँ पुगे।

एउटाले के लेख्नु भनेर अर्कालाई सोध्दै थियो। अर्कोले सिकाउँदै थियो, “लेख्देन, आज बाटोमा देखिएको कहालीलाग्दो दुर्घटना।”

हत्तपत्त तिनीहरूको अगाडि गएँ र भने, “के पारा हो भाइहरू ! यसरी स्वीकृतिबिना अरुको रगत्ताम्मे शरीरको फोटो पोष्ट गर्न लाज लाग्दैन । एउटा मोबाइल र सामाजिक सञ्जालको पहुँच छ भन्दैमा जे पनि गर्दिने।”

“पुलिस दाइ यहीँ छन्, बोलाइदिऊ कि पोष्ट हटाउछौ ” यति भनेपछि डराए जसरी सानो स्वरमा एउटाले बोल्यो, “ह्या दिदी, ठूलो स्वर नगर्नु न ! हटाइहाल्छौँ नि।”

त्यसरी हुन्न मेरै अगाडि हटाउनुपर्छ भनेपछि, “यो दिदी नि के सारो ल्याङ रैछ” भन्दै फटाफट फोटो डिलिट गरे।

केही समय अघि तिलक सर छिमेकमा मलामी जाँदाको घटनाबारे पनि भन्दै हुनुहुन्थ्यो।

“बाबा, बाबा भन्दै र्याल, सिगान एक भइसके र पनि मोबाइल समाउन छोडेको हैन, बाउको फोटो खिच्न छोडेको हैन। आफ्नो पिताको दाहासंस्कार र मृत तस्बिर सामाजिक सञ्जालमा राख्न कस्तो असहज नलागेको होला।” उनी आफैँ छक्क पर्दै सुनाउँदै थिए।

“साँच्चैको मायाले रोएको हो कि फेसबुक लाइभबाट मान्छेको कमेन्ट बढाउने ढोङमा रोएको हो, बुझ्नै गाह्रो !” उनले त्यतिखेर व्यङ्ग्यात्मक तरिकाले हाउभाउ पार्दै भनेका थिए, सुन्दै हास उठ्ने गरी । अहिले त्यहीँ कुरा सम्झिँदा रिस मात्रै उठिरहेछ।

उनी खुइयँ गर्दै फेरि पनि भन्दै थिए, “दाहासंस्कार जस्तो अत्यन्त संवेदनशील कुरा पनि सजिलै सामाजिक सञ्जालमा पोष्ट गर्न थाले अब त ! के भन्नु र खै, आखिर मानिसको प्रइभेसी भन्नु कही कतै रहेन, न मानिसको जन्ममा न मृत्युमा।”
उनले यति भन्दा हामी सबै गम्भीर भएका थियौँ ।

“यस्तै हो सर यहाँ। पहिले व्यत्तिगत जविनमा अरुको हस्तक्षेप हुनुहुन्न भन्नेहरू आज आफ्नै प्राइभेट लाइफ यहीँ सञ्जालमा प्रदर्शन गर्न आनाकानी गर्दैनन् ।” त्यहीँ रूममा अर्को कसैले नि भनेको थियो।

सरिताको कहानीदेखि लक्ष्मीको कहानीसम्म सबै एउटै परिधिमै घुमे आज र त्यो थियो सामाजिक सञ्जाल । यी सँगै पहिलेका घटनाक्रमहरू पनि जोड्दै म एउटै विषयमा धेरै एकोहोरी सकेको थिएँ।

सामाजिक सञ्जाललाई लिएरै म किन यति आवेगमा त ? यी कुराले म किन यति प्रभावित ! के सामाजिक सञ्जालमा आफ्ना गतिविधि देखाउनु, व्यापकता वा सक्रियता दर्शाउनु नकारात्मक नै थिए त ? सायद यो मेरा आशय थिएन पनि होला । मेरो निन्दा यिनै क्षेत्रमा बढिरहेका देखावटीका लागि थिए । सामाजिक सञ्जालमा एक अर्कासँग जोडिने तर भौतिक रुपमा असम्बन्धित वा वास्ता नगरिने मानव सम्बन्धका लागि थिए । यही क्षेत्रमा अरुलाई आफू यो हुँ भनेर विश्वास दिलाउन चलेका अस्वस्थ प्रतिस्पर्धा वा होडबाजीप्रति मेरो चिन्ताको अभिव्यक्ति पनि थियो ।

गत साल सामाजिक सञ्जाल वरदान वा अभिशाप भन्ने पक्षमा तर्क दिँदै एक विद्यार्थीले भनेका थिए कि सामाजिक सञ्जालमा जति सक्रिय भयो मानिस त्यत्ति नै सामाजिक देखिन्छ रे ! यो कुराले मलाई मनमा चस्का परेको थियो । मजस्ता अरुलाई पनि पर्थ्यो होला किनकि, सामाजिक सञ्जालमा सक्रिय हुने व्यक्ति सामाजिक हुन भन्नुको अर्थ नहुनेहरू चाहिँ असामाजिक हुन भन्ने थियो त ?

“सामाजिक सञ्जालमै सक्रिय नभएर म असामाजिक कहलिन्छु भने सोही ठीक, नराम्रो देखिन्छु त त्यो पनि ठीक। आ…मीठै खाउँला, राम्रै लगौँला, पर्दा अरुलाई सहयोग पनि गरौँला तर ती क्रियाकलाप कुनै सामाजिक सञ्जालमा उजागर नगरे पनि खुसी नै रहौँला ।” आवेगमा आफैँसँग सङ्कल्प गर्न पुगेछु।

कोल्टे फेर्दै, आफैँलाई सम्झाउँदै सामाजिक सञ्जालप्रति मनभरिको तीतोपन उखेलेर फ्याल्न खोजेँ। त्यहीँ कोसिस गर्दागर्दै कतिखेर आँखामा निन्द्राको पट्टी कसिएछ पत्तै भएन।