“यस्तै भयो यसपालि, छरेको मकै एक पनि उम्रेन ।” बिर्खे गराको छेउमा उभिएर बर्बराउँदै थे ।
“तिम्रा मात्रै हो र सबैको त्यस्तै त भा छ ।” हर्केले परबाट कुरा थपे ।
बिर्खे र हर्के बीच कुरा भएको सुनेर अलिकति माथि रहेको चन्द्रे, “के को छलफल हो ?” भनी हतार हतार तल बारीतिरै गए । मकैको उन्नत बीउ लेखेको थैलो समातेर, “मारेको माछा खोला फ़ेरि माछा मार “( मार्या माछा गाड फिरी माछा मार) भन्दै बारीमा पुगे।
“हेर हर्के ! गोरुले मज्जासँग जोत्थ्यो, समयमा उम्रिन्थ्याे। लक्क बढ्थ्यो ,घोगा पनि राम्रो हुन्थ्यो।”
“नयाँ प्रविधिको यो यान्त्रिकरणलाई दोष लाउन खोज्या होला काकाले तर होइन जलवायु परिवर्तनको असर हो ।” हर्के थप्यो ।
“सबैको त्यस्तै भयो ।” बिर्खे पनि गफगाफमा समेल भयो।
“तल्लाघरे लक्ष्मणको बिहाको पक्कापक्की भयो नि ।” कुरालाई विषयान्तर गर्यो बिर्खेले ।
“बिहा नगरी पनि भएन, राम्ररी नै भित्र्याएको थियो दुलही, के भो के भो पारपाचुके नै गर्नु पर्यो।” चन्द्रे भन्दै थिए ।
बिचमै, “त्यस्तै भयो” हर्केले थप्यो ।
सामाजिक क्षेत्रमा निकै ठुलो विचलन आएको छ । परिवारमा लोग्ने स्वास्नी बिचको झगडालाई सामान्य मान्दछन् । जसलाई परालको आगोको संज्ञा पनि दिन्छन् । तर अहिले साना कुराले पहाड बन्ने गरेका छन् । सामाजिक सञ्जालले मानिसमा द्वन्द्व बढाउँदै छ ।
रुपाको फेसबुक एकाउन्टमा कुनै पुरुषले फ्रेण्ड रिक्वइष्ट पठाएका रहेछन् । त्यही विषयमा सुरु भएको झगडा स्थानीय न्यायिक समितिमा पुग्यो । मलाई मुद्दा लगाइस् भनेर लोग्ने रक्सी धोक्ने भए ।अधिकार खोज्दै गर्दा फूलबारी जस्तै भएको घर नै भत्किने अवस्था आएको छ । जहाँ जति सेफहाउस बनेका छन् सबैमा पीडित महिला पुगेकै छन् ।
हरेक दिन आत्महत्याका समाचार सुनिन्छन् । ती समाचार पनि कुनै न कुनै रूपमा महिलासँग जोडिएका हुन्छन् । संयुक्त परिवार एकल एकल हुँदै लोग्ने स्वास्नी पनि छुट्टाछुट्टै बस्ने अवस्था छ । सद्भाव कहीँ कसैमा छैन । गाउँ होस् वा सहर नयाँनयाँ संस्करण देखिएका छन् । सामाजिक द्वन्द्वको अवस्था सृजना भएको छ ।
रिखिमल्लाका वन गाज्यो(खर) काट्न गएका महिला सबै “त्यस्तै भयो” भनिरहेका थिए ।
बिन्नरी- “तलखोलामा फ्याउरो कराएको सुनियो आज मेरो पोइले मार्छ” भन्दै थिई ।
बिस्नाको दुखेसो त्यस्तै थियो, “आधारातमा जाँड घोकेर आउँछ, कुट्छ गाली गर्छ । हिजो त मेरो मोबाइल फुटाइदियो । कुटाइ खानु, गाली सहनु, नित्यकर्मजस्तै भइसके ।”
हिमाले अनिष्टको बेलीबिस्तार गरी “आँगनिको छेवैको डालीमा बस्दै कालो कौवा करायो । हिजो साँझ फ्याउरो नराम्रो स्वरमा कराउँदै थियो । कुकुरको रोदन चलेको थियो । भन्छन् यी यस्तै अनिष्टका संकेत हुन् । निकै फर्फरायो दाहिने आँखा केही अनिष्ट पो हुन्छ कि केही न केही त हुन्छ खै के हुन्छ ।”
चन्द्राले थपिन्, “हुनिहार दैव नटार भन्छन्, भन्न त । हाम्रो समाज जतिसुकै परिस्कृत भए पनि रुढीवादी र अन्धविश्वास जस्ताको तस्तै रहेको छ ।”
हिमा आफ्नो कुरा साथीहरूले नबुझेको जस्तो मान्छे, “बिन्नरीकै नियति मेरो पनि हो ।”
“जे जस्तो छ मिलाएर परिवार चलाउने हो ।” जैताले थपी ।
तिनीहरूको कुराको प्रसङ्ग नै नबुझेकी लक्ष्मीले, “अहिलेका आइमाई पनि कति छिल्लिएका कुरा मिल्दासम्म साथी ,लिभिङ टुगेदर, कार्यक्रममा सँगै जाने, खान बोलाएको भन्ने । कुरा बिग्रेमा जबर्जस्ती भन्ने ।”
चन्द्रा,बिन्नरी,हिमा,जैता सबै लक्ष्मी भए तिर आए । एकछिन विश्राम गर्न सबै एकै ठाउँमा बसे ।
“अस्ति अस्पताल गएकी सुन्नरीसँग भेटेँ । ‘चौथो भयो के गर्नु फाल्न आएँ ।’ तर परको बेडमा रहेकी चौध वर्षकी रहिछ । हाडनाताको रहेछ त्यसले पनि फ्याँकी।” भनेर जैताले जमघटको प्रसङ्ग सुरु गरी ।
बिन्नरीले थपी, “अर्को ठूलो वैधानिक प्रश्न खडा भएको छ । प्रचलित कानुनले बीस वर्ष पारी बिहाबारी भन्छ तर चौध पन्ध्रमा धेरै बच्चा जन्मेका छन् । धेरै नाबालक जेलमा छन् तर त्यस्ता बच्चाको बाबुको सवालको वैधानिक समस्या आउँदैछ ।”
“हो भन्या यस्तै हुँदै छ” हिमा जोड्छे।
“लबुलीहरु तिमीले थाहा पायौ तल्लाघरे लक्ष्मणको बिहा हुँदैछ । हुँदाखाँदाकी दुलही सम्हाल्न सकेन अर्की देवी आउँछिन् होली… ?”
चन्द्राको कुरा काट्दै बिन्नरीले, “जोडी लछेको मात्र दोष छैन होला । कस्ती थिई सात बाघसँग लडुँला जस्ती । हरेक दिन कुटाकुट चलिरहन्थ्यो । अन्ततः पारपाचुके नै भएछ । बिहा त गर्ने भए तर मार्या माछा गाड फिरी माछा मार हुँदैछ ।”
“यी आइमाईका गफले दिन काटिएको थाहा नै हुँदैन । घरमा ढिलो भए अर्को आन्दोलन सुरु हुन्छ । “लक्ष्मी भन्दै उठी ।
“यी लबुलीका कुरा यस्तै हुन् । घरजम गर्नु घर खानु सामान्य काँ छ र ।” गाज्योको भारीतिर जाँदै चन्दाले भनी,”समाज यस्तै छ यस्तै भयो ।” गुनगुनाउँदै भारी उठाई।
“रिखिमल्लाबाट गाज्योको भारी ल्याएर आउने बेला भैसक्यो हामी गफमै छौँ । मकै छर्नु पर्यो ।”भन्दै चन्द्रेले च्याम्फा स्टार्ट गर्यो।
“खेतीपाती त यस्तै भयो । मार्या माछा गाड फिरी माछा मार जस्तै छ ।” बिर्खे आफ्नो बारीतिर जाँदै बोलिरह्यो।
“लक्ष्मणको बिहा कैले भन्नु भो ?” हर्केले सोधे ।
“कुरा चलेको छ।” बिर्खेले भने।
तीन वर्षदेखि खटपट रहेको सम्बन्ध अन्ततः पारपाचुके नै भयो । सम्बन्धविच्छेद हुँदा पनि निकै ठूलो रकम नै बुझाउनु पर्यो । एउटा बनेको घर भत्किएर अर्को निर्माण गर्न त्यति सरल छैन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।