आज सत्रौं दिन भयो रितु बेपत्ता भएकी । खोजखबर गर्दागर्दा वसन्त व्याकुल छ । रातको निद्रा न दिनको भोकजस्तो भएको छ उसलाई । रितु हराउनु अघिल्लो दिनसम्म सबकुरा ठीकठाकै थियो उनीहरुबीच । कुनै कुरामा भनाभन वा विवाद पनि भएकै थिएन । के कुराको असन्तुष्टिले रितु बेपत्ता भएकी हो भनेर थाहा छैन उसलाई । यसरी एकाएक रितु हराउनुको अर्थ बुझ्न ऊ असमर्थ छ ।
औपचारिक रुपमा विवाहित जोडी भने होइन रितु र वसन्तको । छुट्टाछुट्टै गाउँबाट आ–आफ्नो भाग्य चम्काउने ठूलो सपना बुनेर काठमाडौं छिरेका हुन् यिनीहरु । कलेज पढ्दापढ्दै भएको भेट प्रेममा बदलिएको थियो । रितुलाई एकोहोरो मन पराएर वसन्तले नै प्रस्ताव राखेको थियो । पटक पटक नाइँ भन्दा पनि उसले रितुलाई मनाई छोडेको थियो ।
रितुले प्रस्ताव स्वीकारेपछि फेरि उसले रितुलाई सँगै बस्न बाध्य पारेको थियो ।
“हामी अबसँगै बसौँ । सँगै बसेपछि कोठा भाडा जोगिन्छ । एकअर्काको साथ पाएपछि पढाइ र कामलाई निरन्तरता दिन सजिलो हुन्छ ।” वसन्त सधैँ भन्ने गर्थ्यो ।
एक्लै बसेर कोठाभाडा तिरेर पढाइखर्च बेहोर्न रितुलाई पनि मुस्किल नै थियो । उसलाई वसन्तको कुरा ठीकै लाग्यो । यताउता बुझ्दा उसका धेरै साथीहरु यसैगरी बसेको पत्ता लाग्यो ।
आफूहरु पनि सँगै बस्नु नौलो कुरा होइन रहेछझैं लागेको थियो रितुलाई । आफूलाई वसन्तले धेरै माया गर्ने कुरामा उसलाई कुनै शंका थिएन । हुन पनि पाँच वर्ष सँगै बस्दा उनीहरुबीच खासै मनमुटाव भएन । एकअर्काको मायामा दुबै समर्पित भइरहे । पढाइ र कामलाई दुबैले प्राथमिकतामा राखे । मिलेर बचत गर्थे । सरसल्लाहमा नै सबै काम हुन्थ्यो ।
स्नातकोत्तरसम्मको पढाइ उनीहरुले यसरी नै पूरा गरे । थेसिस लेख्दा पनि एकअर्कालाई सक्दो सहयोग गरे । आफू अनुकूलको अस्थायी जागिरहरु खाने र छोड्ने क्रम जारी नै थियो उनीहरुको । वसन्तको गणित धेरै राम्रो थियो भने रितु अरु विषयमा पोख्त थिई । होम ट्युसन पढाएर पनि उनीहरुले आफ्नो खर्च चलाएका थिए । उनीहरु दुवैजनालाई एकअर्काप्रति कुनै गुनासो थिएन । पूर्ण रुपले उनीहरु एकअर्कामा समर्पित थिए ।
वसन्तको अगाडि पाँच वर्षसम्मका हरेक घटनाहरु पुनरावृत्ति भए । सबथोक ठिकै थियो उनीहरुबीच । उसले रिस पोख्दा पनि कहिल्यै रितुले मुख फर्काउँदिन थिई । उसको मुड बुझेर व्यवहार गर्थी । सधैँ उसमाथि प्यार नै बर्साउँथी । कुनै कुराको गुनासो गरेकै थिइन। उसका हरेक कुरामा आँखा चिम्लेर सहमती जनाउँथी ।
एक्कासी रितु गायब भएकी थिई । बिहान काममा गएकी रितु साँझसम्म नफर्केपछि वसन्त रिसले चुर भएको थियो । साँझ छिप्पिँदै गएपछि उसको रिसको पारो बढ्दै गएको थियो । ढिलो हुने कुराको जानकारी नदिएकोमा वसन्तको आक्रोश बढ्दै थियो । तुरुन्त फोन अथवा मेसेज गर्नुको सट्टा रितुलाई कुरेरै बस्ने अनि फर्किनासाथ उसमाथि झम्टिने इच्छा प्रबल हुँदै थियो । मनमनै अनेक तर्कना खेलाउँदा खेलाउँदै ऊ निदाएको थियो ।
भोलिपल्ट त रितु पक्कै आउली भन्ने आशा पनि निराशामै बद्लियो । यसैगरी दुईतीन दिन बितेपछि मात्र उसको पुरुष अहकांरले रितुलाई फोन गर्ने अनुमति दियो । फोन त उसले गर्यो तर स्वीच अफ आयो । अब भने उसलाई साँच्चै डर लाग्यो । रितु अनलाइन छे कि भनेर हेर्दा पनि देखिएन । धेरै दिनदेखि अनलाइन नभएकीले पनि होला, कतिघण्टा पहिले भनेर पनि केही देखाएन ।
केही अनिष्ट हुन सक्ने संकेत बल्ल वसन्तले पायो । रितुसित सम्पर्क गर्न उसले ढिलो गरिसकेको थियो । पश्चात्ताप त उसलाई थियो नै, रितु बेपत्ता भएकै दिन खोजी गरेको भए समस्याले विकराल रूप लिने थिएन । समयको ख्याल गर्न नसक्दा सानो कुराले भयकंर रूप लिइसकेको थियो । उसको मन डरले काँप्न थालेको थियो । रितुले नराम्रो कदम पनि चालेकी हुन सक्थी । आत्महत्या गरेकी हुन सक्थी, अपहरणमा परेकी हुनसक्थी, कसैले हत्या गरेर फालेको पनि हुन सक्थ्यो ।
यो कुराको चेतना भएपछि उसको छटपटी बढेको थियो । उसलाई केही भएको खण्डमा ऊमाथि सबै आरोप आउन सक्थ्यो । रितुका आमाबाबुसित साक्षात्कार नभए पनि उसका भाइबहिनीलाई उनीहरुको सम्बन्धबारे सबै थाहा छ । उसलाई लाग्यो उसले कहिल्यै रितुमाथि दुर्व्यवहार गरेको छैन । सधैंँ उसलाई खुसी राख्ने प्रयत्न नै गरेको छ । उसले पक्कै पनि आफ्नो कारण घर छाडेकी होइन ।
विषम परिस्थितिमा पनि वसन्तको मनले आफूलाई निर्दोष साबित गरिरह्यो । जति सम्झिँदा पनि उसलाई रितुमाथि आफूले कहिल्यै अन्याय गरेको जस्तो लागेन । खाली आफूहरुले एकआपसमा माया साटासाट गरेको मात्र याद आयो उसलाई । आफूलाई हरेक कोणबाट सुरक्षित र असल मानव ठान्यो उसले । रितुलाई अप्ठ्यारो परेको बेला मद्दत गरेको, आफूले उसलाई माया दिएको, उपहारहरु दिएका यादहरु मात्र उसका स्मृतिमा आइरहे ।
दिनहरु बितिरहे । रितुसँगको सम्पर्क विच्छेद जस्तै नै थियो । अरु उपाय नदेखेपछि अनि आफूलाई कुनै पनि कोणबाट दोषी नपाएपछि उसले प्रहरीमा उजुर पनि गर्यो । उसको हुलिया बताएर आफूहरुबीच कुनै विवाद नभएको बताउन पाउँदा उसले लामो सास फेरेको थियो । सहयोगको आश्वासन पाएर ऊ घर फर्कियो ।
रितु बेपत्ता भएको निकै दिनपछि मात्रै उसले उसका भाइबहिनीलाई जानकारी गराएको थियो । आफूहरुबीच अत्यन्तै राम्रो सम्बन्ध भएको र घटना घटेको दिन कुनै भनाभन नभएको कुरा उसले बारम्बार दोहोर्याइरह्यो । रितुका भाइबहिनीको पनि साथ पाएपछि उसलाई पनि हौसला मिल्यो । रितुलाई खोज्न अझै सहज हुने भयो भनेर ।
रितु हराएकी लामो समय भइसकेको थियो तर उसको कुनै अत्तोपत्तो थिएन । घरिघरि वसन्तको मन पनि चिसो हुन्थ्यो । केही दुर्घटना नहोस् भनेर उसले पनि ईश्वरसँग प्रार्थना गरिरह्यो । रितुको आगमनको प्रतीक्षा गरिरह्यो । हरसम्भव प्रयास गर्दा पनि असफल भएपछि मिडियामा जाने विचार आयो उसको मनमा ।
उसलाई थाहा थियो मिडियाबाजी गर्नु आफैँमा ठूलो रहस्योद्घाटन गर्नु हो भनेर । उसका निकटका केही साथीहरु बाहेक अरुलाई उनीहरुको लिभिङ टुगेदरको बारेमा थाहा थिएन । आफ्ना परिवारजनबाट पनि वसन्तले यो कुरा लुकाएको थियो । तैपनि आफूमाथि अनावश्यक आरोप आउनु अगावै सचेतता अपनाउनु जरुरी थियो । त्यसमाथि प्रहरीले भन्दा छिटो यस्ता बेपत्ताकाण्डहरु मिडियाले सल्टाएका उदाहरणहरु सामाजिक सञ्जालभरि छ्यासछ्यास्ती छन् । त्यसैले पनि मिडियामा जानु नै एक अन्तिम विकल्पझैं लाग्यो उसलाई ।
मिडियामा जानुअघि रितुका भाइबहिनीलाई सोध्नु पनि जरुरी थियो । उनीहरुले सहमती जनाएमा कदम चाल्ने विचार थियो वसन्तको । उनीहरुसँग फोनमा कुराकानी पश्चात भोलिपल्ट मिडियामा जाने निधो गरे उनीहरुले ।
अचम्म भयो । अर्को दिन रितुकी बहिनीले वसन्तलाई फोन गरेर रितु काठमाडौंमै भएको जानकारी दिई । बिहान मात्रै रितुले बहिनीसित टेलिफोन सम्पर्क गरेकी रहिछ परिस्थिति बुझ्न । रितुकै आग्रहमा बहिनीले वसन्तलाई एउटा कागजको पाना उसको हातमा थमाइदिई ।
आफ्नो हातमा कागजको टुक्रा परेपछि ऊ टोलाइरह्यो एकछिन । खोलेर हेर्दा पत्र रहेछ रितुले उसको नाममा लेखेकी । वसन्तको मुटुको धड्कन बढिहाल्यो के लेखिएको रहेछ भन्ने कौतुहलताले गर्दा । थरर कामेका हातहरुले च्याप्प समातेर पढ्न थाल्यो त्यो लामो पत्र ।
***
प्यारो वसन्त,
बेनामी सम्बन्धमा निकै वर्ष बसेकाले होला तिमीलाई सम्बोधन गर्ने शब्द नै भेटिनँ मैले । प्रेमी भनौँ भने त्योभन्दा बढी हौ तिमी । श्रीमान् भनौँ, त्योभन्दा अलि कम हौ । किनभने समाजका अगाडि पतिपत्नी कहलिने त्यो कदमसम्म पुग्न असफल भयौँ हामी ।
आज जीन्दगीको यो मोडमा आइपुग्छु भनेर मैले कहिल्यै सोचेकी थिइनँ । कुनै दिन पनि तिमीसँग छुट्टिन नपरोस् भन्ने चाहना थियो मेरो । तिमीसँग बस्न थालेपछि तिमीलाई नै सर्वस्व मानेकी थिएँ । तिम्रै खुसी, तिम्रै रहर, तिम्रै मनोकाक्षां र महत्वाकाक्षांलाई आफ्नो ठानिरहेँ । म त सधैँ तिमीमै विलीन हुन चाहन्थेँ । विस्तारै आफ्नो अस्तित्व नै पो बिर्सन थालिसकेकी रहेछु । मैले त आफ्ना लागि बाँच्नै बिर्सिएकी रहिछु । हाँस्न पनि छोडिसकेकी रहिछु ।
तिमीसँग लिभिङ टुगेदरमा बस्न मैले स्वीकार्नुको एउटै कारण चाहिँ मेरो दाइभाउजुको तीतो दाम्पत्य सम्बन्ध थियो । अरु कसैले जोडिदिएको सम्बन्धमा बाँधिएर उहाँहरु कहिल्यै खुसी हुन सक्नु भएन । उहाँहरुको दिनरातको झगडाले म आजित भएकी थिएँ र आफूले मागी विवाह गर्दै नगर्ने निष्कर्षमा पुगेकी थिएँ । तिमीसँगै बसेपछि जीवनभर मायाप्रेम कसिलो हुनेछ भन्ने मेरो विश्वास थियो ।
तीन महिना जति भयो मैले आफूलाई नियाल्न थालेकी । तिमी नै सधैँ मेरो प्राथमिकता बनिदियौ तर म चाहिँ तिम्रो प्राथमिकतामा कहिल्यै पर्न सकेकी रहिनछु । तिमीलाई चोट पर्दा मेरो मन दुखे पनि मलाई चोट पर्दा तिम्रो मन कहिल्यै दुखेजस्तो आभाष भएन मलाई । तिमीलाई याद छ, हरेकचोटि तिम्रो रिसको शिकार कसरी म हुन्थेँ ? बिना कुनै दोष म तिम्रो लागि अपराधी बनिदिन्थेँ ।
कति सहजै तिमी आफ्ना पेशागत कुण्ठाहरु ममाथि थोर्पथ्यौ । मैले मुखले नबोले पनि मनले त मनन गर्थें नि । सहन सक्ने क्षमता देखेर हो वा विवाह नगरीकनै सँगै बस्ने आइमाई ठानेर हो, तिमीले आफूलाई जे मन लाग्यो त्यही भनिरह्यौ । अनि सहिदिनै पर्ने चाहिँ महिलाको कर्तव्यजस्तो ठान्यौ । मलाई हरपल एउटा वस्तुजस्तै व्यवहार गर्यौ ।
म पनि त जिउँदो मान्छे नै हुँ नि तिमीजस्तै । मेरा पनि तिमीबाट कति धेरै आशा थिए । तिम्रो मायाको लागि म पलपल तड्पिन्थेँ तर तिमीले कहिल्यै बुझेनौ । सम्झना छ तिमीलाई ? तिमीसँग एकपल्ट भनाभन हुँदा म रातभरि रोएकी थिएँ तर तिमीले मलाई वास्तासम्म गरेका थिएनौ । अझ भोलिपल्ट बिहानै घरबाट निस्किएर बहादुरी देखाएका थियौ ।
सुन्निएका आँखाका डिलहरु लिएर फेरि साँझ मैले नै सरी नभनेसम्म तिम्रो मुख औँसीको रातझैँ अँध्यारो थियो । यो घटना त एउटा उदाहरण मात्र हो । यस्तो चोट त मैले हरेक दिनजस्तो भोगेकी थिएँ । तिमीले हेक्का नराख्दैमा मलाई चोट नपरेको हुने हो र ? पाँच वर्षमा पाँचसय पल्ट रोएँ होला म तर तिमीले कहिल्यै फकाउन जरुरीसम्म ठानेनौ ।
विवाहबिना नै सँगै बस्ने तिम्रो प्रस्ताव मानेर गलत गरेँ सायद । त्यतिखेरको हाम्रो आर्थिक स्थिति र आवश्यकता त्यस्तै थियो क्यारे । तिमीसँग बसेपछि मैले मेरो जीवनको केन्द्रबिन्दु तिमीलाई नै मानेकी थिएँ । तिमी हाँस्दा मात्र मेरो मन हाँस्थ्यो । तिमी दुःखी हुँदा मेरो मन पनि रोएको देखाउन पो जानिनँ कि ? त्यसैले पनि मेरो चोटले तिमीलाई नपोलेको हुन सक्छ । यदि मबाट त्यस्तो गल्ती भएको भए मलाई माफ गर है ।
मलाई ज्वरोले हनहन बनाउँदा मलाई एक्लै छोडेर तिमी साथीहरुसँग कसरी घुम्न जान सक्यौ ? तिम्रै आग्रहमा गर्भपतन गराउँदा मलाई बेवारिसे जस्तै गरी भोकभोकै छोडेर अफिस जाने बहाना कसरी बनाउन सक्यौ ? आफूलाई सन्चो नहुँदा तिम्रो साथको अपेक्षा गर्नु गलत थियो र ? के तिमीलाई सन्चो नहुँदा मैले त्यस्तै गरेकी थिएँ ? तिमीलाई आघात पर्ने कुनै गतिविधि गरेकी थिएँ ?
तिमीलाई यी प्रश्नहरु सोध्न चाहेर पनि सकिनँ । यी प्रश्नहरु सोधेकी भए पनि जवाफमा फेरि तिम्रो आक्रोशको सामना गर्नुपर्थ्यो। त्यसैले हिम्मत जुटाउन नसकेकी होला ।
तिमीले नै मलाई खर्च गर्न दिएको पैसा खाईनखाई बचत गरेकी थिएँ । ट्याक्सी चढेर अस्पताल जान तिमीले दिएको पैसा बस चढेर जोगाएकी थिएँ । आफूले घरघर ट्युसन पढाएर भविष्यको लागि गरेको बचतको पनि तिमीले इज्जत राख्न सकेनौ । मैले थाहा नपाउने गरी मेरो एटिएम प्रयोग गरी रकम झिकिएको कुरा मलाई थाहा छ ।
तिम्रो स्वाभिमानमा धक्का नलागोस् भनेर मात्रै मुखले उच्चारण नगरेकी हुँ तर तिमीले यसलाई मेरो मूर्खताको रुपमा लियौ । अहिले यो कुरा लेखिरहँदा पनि हिसाबकिताब खोजेकी भनेर नबुझ्नु । कुरा त आर्थिक हिसाबकिताबको होइन, माया र विश्वासको हो । माया र विश्वासको हिसाबकताब त मैले पलपलको राखेकी छु । अनि पलपल तिम्रो व्यवहारले विक्षिप्त भएकी छु ।
मैले जे जे गरेँ वा भनेँ, तिम्रै लागि गरे । जे जे गरिनँ वा भनिनँ, त्यो पनि तिमीलाई नै चोट नपरोस् भनेर भनिनँ । कसरी बुझ्यौ मलाई थाहा छैन तर मेरो माया र समर्पणलाई चाहिँ तिमीले बुझ्न नसकेकोमा सधैँ खेद् भइरह्यो । बुझिदिए हुन्थ्यो भनेर मनले कामना गरिरह्यो ।
दसैँ जस्ताे महान चाडमा हरेक वर्ष मलाई एक्लै छाडेर तिमी गाउँ जान्थ्यौ एक अविवाहित छोरा बनेर । म त आफ्नो जन्मघर जान पनि सक्दिनथेँ । विवाहबिना नै एउटा पुरुषसँग बसेर मैले आफ्नो आमाबाबुको इज्जतमा आँच आउने काम गरिसकेकी थिएँ । त्यसैले दसैंमा एक्लै बस्न बाध्य हुँदा नरमाइलो त अवश्य लाग्थ्यो, त्योभन्दा बढी नरमाइलो त तब लाग्थ्यो जब तिमी आमा दिदीबहिनीले बिहे गर्न कर गरेको, नयाँ नयाँ केटी हेर्न गएको कुरा सुनाउँथ्यौ ।
अहिले पनि अचम्म लाग्छ तिम्रो निर्लज्जताका प्रसङ्गहरु सम्झेर । एउटी नारीलाई आफ्नो स्वार्थको आडमा बन्धक पारेर कसरी तिमी ती प्रस्तावित केटीहरुको मुहार सम्झेर मुस्कुराउँथ्यौ ? उनीहरुको सुन्दरताको बखान मेरो अगाडि कसरी गर्न सक्थ्यौ ? मनमा असन्तोषका लहरहरु दौडिए पनि तिम्रा अगाडि देखाउन असमर्थ हुन्थेँ म । तिमीविरुद्ध आवाज उठाउनु भनेको तिमीलाई गुमाउनु सरह थियो किनकि बिनाकुनै कारण मलाई छोडिदिने, मार्ने, आत्महत्या गर्नेजस्ता धम्कीहरु मैले निरन्तर सुनिरहेकै कुरा थियो ।
एउटी श्रीमतीले जसरी घुर्की नै कहाँ लगाउन पाएँ र मैले ? मैले त मात्र सहेँ तिम्रा प्रताडनाहरु, घुर्कीहरु, संवेदनहीन व्यवहारहरु, आवेगका वाणीहरु । अफसोस त यो छ कि तिमीलाई कहिल्यै महसुस नै भएन तिम्रो व्यवहारले मभित्र कति छालहरु उर्लन्थे भनेर ।
सधैंँ रोएकी भए समुद्र भइसक्थेँ होला । रोइनँ, रोएर देखाइनँ, तिमीले पनि बुझेनौ । मैले बुझेको सत्य यो पनि थियो कि रोएर त मैले आफ्ना आँसुका थोपाहरुको मोल नै राख्न सक्ने थिइनँ । मलाई रोइरहेको अवस्थामा नै तिमीले छोडर गएका ती क्षणहरु याद आउँथे हरपल ।
सुरु सुरुमा हामी कति खुसी हुन्थ्यौँ हाम्रो नाम वसन्त ऋतु भएकोमा । आफसेआफ नाम मिल्न गएकोमा । जीवनलाई वसन्त ऋतझैं मनमोहक बनाउने हाम्रो सपना अब पूरा हुनेछैन । मैले यो कुरा बुझिसकेँ कि नाम मिल्दैमा, जात मिल्दैमा, स्तर मिल्दैमा सम्बन्धहरु सार्थक हुँदैनन् भनेर । सम्बन्ध सार्थक हुन एक अर्काको मन मिल्नु र भावना बुझ्नु सबैभन्दा महत्त्वपूर्ण रहेछ । अझ बढी त एकले अर्काको सम्मान गर्नु जरुरी रहेछ । स्वार्थले बेरिएर अरुमाथि आफ्नो कुण्ठा थोपर्नु कहाँ माया हो र ? तिमीले मलाई माया गरेजस्तो गरे पनि त्यो माया चाहिँ थिएन किनकि त्यसमा स्वार्थ हावी थियो ।
जे–जस्तो भए पनि पाँच वर्ष तिमीसँगै बिताएर तिमीलाई छर्लङ्गै बुझ्ने अवसर पाएँ । मायाको बदला रिस र घुर्की नै पाएँ । तिमीसँगको बसाइ यही पाँच वर्षलाई नै काफी छ सायद । अब आफ्ना आमा, दिदीबहिनीले कुरा चलाएका युवतीहरुलाई नै रोजी रोजी बिहे गर्नु । तिमी स्वतन्त्र छौ नयाँ दाम्पत्य जीवन सुरु गर्नको लागि । म आएर भाँजो हाल्ने छैन । वाचा गर्छु, तिम्रो जीवनको नवमार्गमा कहिल्यै अवरोध बन्ने छैन ।
वसन्त, म अहिलेसम्मको लागि सकुशल छु । भविष्यको चिन्ता लिएकी छैन । मायामा परेर लिएको निर्णयलाई त सहि मान्न सकिएन भने अब मलाई अरु कुराले सायदै छुन सक्छन् । पाँचवर्ष सँगै बसेर पनि आफ्नो प्रेम, भावना र वेदना तिमीलाई बुझाउनै सकिनँ मैले, आफू एक्लै तड्पिरहेँ । तिमीले पनि सब ठीक छ भनेर सोचिरह्यौ, मलाई बुझ्ने कोसिस नै गरेनौ । अब अझै तिमीजस्तो निष्ठुरीको आक्रोश सहेर बसिरहने क्षमता बाँकी छैन ममा ।
अँ, आज भन्नै पर्ने कुरा । म हराएको तीन दिनसम्म पनि मेरो मोबाइल अफ थिएन वसन्त । मलाई आशा थियो तिम्रो फोनको, प्रेमकाे, मेसेजको । तिम्रो फोनको एकै घण्टीमा म आफूलाई तिम्रो अगाडि उपस्थित गराउने थिएँ । मायाप्रेममा यस्ता कुरा झिनामसिना हुन् भनेर चित्त बुझाउने थिएँ । तिमीलाई फेरि पनि माफ गर्ने थिएँ । ती तीन दिनमा मैले तिमीलाई जाँच्ने मौका पाएँ । तीन दिन तीन रातसम्म खोजी नगर्ने अहंकारीलाई म कसरी आफ्नो पूरै जीवन सुम्पौँ ? सबै कुरा बिग्रेपछि अहिले आएर तिमीले मिडियामा नाटक गर्दैमा मेरो हृदयको घाउ निको हुन्छ र ?
आत्महत्याको सोच नआएको पनि होइन तर मनमा दयाभावसम्म नभएको व्यक्तिको लागि अमूल्य जीवन फाल्नुले के नै अर्थ राख्छ र ? मलाई जन्म दिने आमाको कोखको पनि त इज्जत छ नि, होइन र ?
तिमीले मिडियामा जान लागेको थाहा पाएर मात्र यो पत्र बहिनीमार्फत तिमीलाई पठाउँदैछु । अब कहीँ कतै जानु जरुरी छैन । बिन्ति छ, मेरो जीन्दगीलाई अझै ठुलो मजाक नबनाइदेऊ । म सहि सलामत छु । तिम्रा अगाडि मात्र नआएकी हुँ । विदेश जाने प्रोसेस पहिले नै चालेकी थिएँ । हिजो त भिसा पनि आयो । तिमीले छिट्टै सोधिखोजी गरेको भए तिम्रो मायाले पनि रोक्ने थियो होला । अब त दृढ भइसकेँ । जुनसुकै हालतमा पनि जाने मनस्थितिमा छु ।
उही तिमीलाई सधैँ चाहिरहने,
रितु
***
चिठ्ठी पढेर पहिलोपल्ट वसन्तका आँखा रसाए । पुरुष अहंकारले बन्द भएका आँखा एकाएक खोलिए । अन्जानमा आफूबाट भएका अपराधका लिस्ट एकएक गर्दै आँखा अगाडि आए । जुन कुरा सधैँ उसलाई ठीक लाग्थे ती त सबै बेठीक रहेछन् रितुको नजरबाट हेर्दा । आफूलाई रितुको ठाँउमा राखेर कहिल्यै हेरेको रहेनछ । सहअस्तित्वको भाव त उसमा एक अंश पनि रहेनछ । उसले त पाँचवर्षसम्म एउटी नारीलाई चरम शोषण मात्र गरेको रहेछ । उनका भावनाहरुको कदर गरेकै रहेनछ ।
सधैं आफ्नो कोणबाट मात्र रितुलाई बुझिएकोमा आत्मग्लानि भयो उसलाई । उसको कोमल मनमा परेका चोट सम्झिँदा मात्र पनि निधारबाट चिटचिट पसिना छुट्न थाले । मुटुको धड्कन अलि कम भएपनि छटपटी बढ्न थाल्यो । त्यत्तिकैमा पत्रलाई कच्याककुचुक पारेर गोजीमा राखेर ऊ रितुका भाइबहिनी बस्ने कोठातिर हान्नियो रितुलाई फर्काउने आशामा ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।