श्मशान ।
नदीको एकोहोरो प्रवाह । डुब्न लागेको सूर्यको पहेलो घाम मृतप्रायः रोगीको भावरहित अनुहारजस्तै निर्जीव छ, धमिलो छ । चारैतिर शान्ति छ, चकमन्न छ । कहिलेकाहीँ विधवाको सुस्केरोजस्तो हावा सुस्केरो फेरेर एकान्त वातावरणमा सन्नाटा ल्याइदिन्छ ।
सिमलका विशाल रूखहरूका नांगा हाँगाहरू कालले डरलाग्दो हात पसारेर तान्न खोजेजस्तै फैलिएका छन् । त्यसमा दुई–चारवटा गिद्ध एकरत्ती नहल्लिएर धुमधुम्ती बसेका छन्, यस्तो लाग्दछ, मानो काल मूर्तिमान भएर कसैको निम्ति पर्खिरहेको छ ।
एक–एक गरी अरू पनि गिद्ध आउँछन् र आफ्नो भद्दा पखेटाबाट नराम्रो आवाज निकाल्दै भ्याट–भ्याट गरेर सारा हाँगालाई हल्लाएर बस्तछन् । एक छिनमा फेरि शान्ति हुन्छ, हाँगा हल्लिन छाड्छन् र चारैतिर फेरि चकमन्न ।
नदी किनारको बालुवाको सेतो फाँटबाट दुगुर्दै आएर एउटा स्याल टाढा बयरको झ्याङभित्र पस्तछ, सुकेको पातलाई कुल्चिएको स्वरको आवाज झ्याङभित्रबाट आउँछ ।
बालुवालाई छुने गरी एउटा हुट्टिट्याउँ उडेर कराउँदै नदी पार गर्छ, एउटा ढिस्कोमा बस्छ र एक छिनपछि फेरि कराउँदै उड्छ । फेरि दुइटा स्याल आउँछन् र बालुवालाई सुँघ्दै, बीचबीचमा रुकेर यताउति हेर्छन् र बयरको झ्याङभित्रै पस्छन् । टाढा, कतै स्याल कराउँछ ।
एकातिर जहाँसम्म आँखाले भेट्छ, बालुवाको फाँटैफाँट छ, कहीँकहीँ मात्र बयरका सानासाना झ्याङ छन् । अर्कोतिर हरिया सानासाना रूख, झ्याङ र लहराहरूको जंगल छ ।
गाउँबाट मुर्दा लिएर आउनेको निम्ति एउटा कच्चा सडक जंगल किनारको सानू आँपको बगैँचामा आएर विलीन हुन्छ । त्यो बगैँचा सायद कुनै मृतआत्माको अभिलाषा पूर्ति गर्न कुनै बाँचेको मानिसले बनाइदिएको होला ।
त्यही एकान्त बाटोबाट स्मृतिशून्य, आत्माशून्य, हृदयशून्य अरुण सुस्तरी लक्षरहित भएझैँ अगाडि बढ्दै छ । ऊ आँपको बगैँचामा बस्नासाथ दुई–चारवटा ढुकुर आफ्ना सानासाना पखेटा फट्फटाई डराएर भागे ।
अरुण अगाडि बढ्यो र बालुवा हुँदै सोझै श्मशानतिर लाग्यो । उसको हृदयलाई वेदनाको जालोले यति राम्ररी छोपिदिएको थियो कि हृदयमा न पीडा थियो, न जलन थियो, न कुनै किसिमको आकांक्षा नै !
यो श्मशानमा ऊ किन आयो, उसलाई नै थाहा छैन, के गर्छ, ऊ भन्न सक्तैन । एक महिनासम्म लगातार मगजको कोलाहल सुन्दासुन्दा अब उसको मगजमा त्यो कोलाहल सुन्न सक्ने शक्ति रहेको छैन, मगज बहिरो भएको थियो ।
घरबाट निस्किँदा यो श्मशानमा आउने उसको इरादा थिएन । गोडाले यतैतिर ल्यायो, उसले गोडालाई बाधा दिएन र घरले खान खोजेको हुनाले ऊ बाहिर निस्किएको थियो ।
घरमा बस्दा उसलाई सम्झना हुन लाग्छ— त्यो मधुर स्मृति उसको अगाडि डरलाग्दो भएर आउँछ । ऊ खप्न सक्तैन, अनि बाहिर निस्किन्छ । वृक्षसँग बेरिएको लताजस्तै, फूलसँग टाँसिएको सुगन्धजस्तै र आँखासँग मिसिएको ज्योतिजस्तै अरुणको जीवनसँग पनि सरिता— उनकी पत्नी बेरिएकी, टाँसिएकी र मिसिएकी थिइन् । यो थिइन् भन्ने विचारले अरुणलाई लघार्छ, एक ठाउँमा बस्न दिँदैन, कुनै कुरा सोच्न दिँदैन ।
बस्, तीन दिनकी बिरामी, अनि सरिता छैनन् । अरुणलाई लाग्दछ कि त्यो सपना थियो । डाक्टर आए, गए । वैद्य आए, गए– अनि सरिता समेत गइन् । अरुणले हतबुद्धि भएर उनलाई सुरुसुरु जान दियो, आँखाबाट आँसु खसाल्न पनि उसले बिर्सियो ।
मानिसहरू आए, छिमेकीहरूले सरितालाई उठाएर तल लगे । ऊ टुल्ल हेरिरह्यो । हरियो बाँसको अर्थी बनाउने काममा सबै लागे, आँगनको एउटा कुनामा सरिता चुपचाप सुतिरहेकी थिइन्— मुख छोपेर ।
एक दिन राती उनले आफ्नो पतिलाई भनेकी थिइन्, “म त मुख छोपेर सुत्नै सक्तिनँ, अरुण ! उकुसमुकुस हुन्छ ।” अहिले पनि उकुसमुकुस भयो होला भनेर अरुण आफू बसेको ठाउँबाट उठ्यो र लासनेर गएर सरिताको मुख उघारिदियो । अनि, फेरि आफ्नो ठाउँमा बसी तमासा हेर्न लाग्यो ।
यो बाँससँग यी ठूला मानिसहरू के खेल खेल्दै छन्, उसले बुझ्न सकेन । एक छिनमा अर्थी तयार भयो । सरितालाई बोकेर त्यसमा राखिदिए, रातो रेशमको लुगाले सारा शरीरलाई छोपेर अबिर–फूलमालाले सिँगारी सरितालाई बोकेर लगे । …उसले रोकेन, लग्न दियो । जसरी बाँधेको गाईले आफ्नो बाछोलाई बोकेर लग्न लागेको हेरिरहन्छ त्यसरी नै बाँधिएको अरुणले सरितालाई लग्न दियो ।
रोक्नुपर्छ भन्ने पनि उसलाई ज्ञान भएन, रोक्नु हुन्न भन्ने पनि उसलाई ज्ञान भएन । धेरै बेरसम्म ऊ त्यही ठाउँमा बसिरह्यो । अनि, सरितालाई लग्ने मानिसहरू फर्के । सरितालाई कहाँ छोडेर आयौ भनी उसले सोधेन, किन फर्काएर नल्याएको भनी उसले सोधेन । उसले सबैलाई टुल्ल हेर्यो मात्रै ।
अनि, उसलाई नुहाउन लगाए, उसले नुहाइदियो । कोठा सफा गरेको उसले हेरिरह्यो । एक–दुईजनाले आएर उसलाई सम्झाए पनि । तर, उसले बुझ्न सकेन कि उनीहरू किन सम्झाउँदै छन् ।
फेरि सरिता आइनन् । तर, अरुणलाई लाग्दैन कि सरिता छैनन् । सरिताको मीठो बोली ऊ जहिले पनि सुनिरहन्छ, सपनामा सुनेझैँ । उनलाई जहिले पनि देखिरहन्छ, कहिले आँगनमा हिँडेजस्तै । कहिले कोठामा बसेजस्तो र कहिले नजिकै उभिएजस्तो ।
‘अरुण !’ यो प्रिय परिचित बोलीले मानूँ, सरिता उसलाई पल्लो कोठाबाट बोलाइराखेकी छिन् । कहिले ऊ सुन्छ, ‘यो सुहाएन अरुण । तिम्रो अनुहार, कालो टोपी सुहाउँछ ।’
ठिक त्यसै गरी ऊ सुन्छ, जसरी उसले खैरो टोपी लगाउँदा सरिता भन्दथिन् र लाग्दछ कि सरिता अरुणलाई कालो टोपी लगाइदिँदै छिन् ।
घरभित्र ऊ यही सब सुनिरहन्छ, यही सब देखिरहन्छ । अनि, घरमा बस्नै सक्तैन । आज उसको गोडा श्मशानतिर लाग्यो, उसले लाग्न दियो । ऊ एकान्त चाहन्थ्यो, एकान्त पायो, यो श्मशानको एकान्त ।
सुरुसुरु एउटा बालुवाको ढिस्कोमा आएर ऊ बस्यो । अगाडि नदी बग्दै छ, पारिपट्टि बालुवैबालुवाको फाँट देखिन्छ । सूर्यको पहेँलो किरण अब छैन । सूर्य डुब्यो, तर दुनियाँ उज्यालै छ ।
अलि पर सुकेको एउटा बाँस फालिएको थियो र त्योनजिकै पानीमै मुर्दा पोलेको एउटा कालो टाटो थियो । आधा बलेका एक–दुइटा दाउराका ठुटाहरू यताउति छरिएका थिए । अरुणलाई लाग्यो— यही त्यो दाउरा हो, जसले उसकी पत्नीलाई खरानी पारिदियो । सायद त्यो कालो टाटो पनि त्यही ठाउँ हो, जहाँ सरिताको शरीरले आखिरी स्थान पायो ।
घुँडालाई हातले बेरेर ऊ बसेको थियो, बसिरह्यो । ठाउँ–ठाउँमा मानिसका हाड छरिएका थिए, कतै खप्पर, कतै पाखुराका हाड र कतै करङ । उसको ध्यान कतै थिएन । एकटकले ऊ नदीछेउको कालो टाटोलाई हेरिरहेको थियो ।
अलिअलि गर्दै सन्ध्याको धमिलो चारैतिर फैलियो र एक छिनपछि अँध्यारोले ढाक्यो । आकाशमा छरिएका ताराहरूको प्रतिबिम्ब नदीमा टल्किन लाग्यो । जुन आँपको बगैँचा भएर अरुण आएको थियो, त्यो डरलाग्दो किसिमको कालो भएर धुमधुमती उभिएको थियो ।
अरुणनजिकैको सिमलको विशाल वृक्षको टुप्पो कालो आकाशमा मिसिएकोले मानौँ, गगनचुम्बी राक्षसझैँ देखियो । कुनै प्रेतात्माले सुसेलेझैँ हावा सुसेल्न लाग्यो । एउटा एक्लो स्याल टाढा कतै रोयो ।
अरुणको हृदयलाई बेरेको वेदनाको जालोले मानौँ, अचानक हृदयलाई फुक्का गरिदियो । हराएको अरुणले आफूलाई श्मशानमा पायो, त्यो श्मशानमा जहाँ उनकी पत्नी अब छैनन्, मरिन् ।
जसलाई उसले आफ्नो छायाजस्तै सधैँको साथी भन्ठानेको थियोे, तिनलाई अब ऊ कहिल्यै भेट्न पाउन्न । उनको परिचित बोली अब ऊ कहिल्यै सुन्न पाउन्न, उनको शरीरको स्पर्श अब ऊ कहिल्यै गर्न पाउन्न ।
सपना त हैन ? हैन हैन, यो एकदम सफा विपना हो । उसको शरीरलाई छोएर अगाडि बढेको हावाको स्पर्श सपनाको जस्तो छैन, नदीको प्रवाहसँग नाचेका ताराहरू सपनामा हैनन् । यो एकोहोरो रोएको स्यालको आवाज विपनाको हो । यी हुटिट्याउँ कराएको विपनामा कराएको हो । अत्यन्त सत्य विपनामा ।
र, अरुण यो कठोर विपनामा एक्लो छ ।
के अब सरितासँग भेट होला ? अचानक यो एकान्तमा, यो श्मशानमा, यो डरलाग्दो अँध्यारो रातमा एकपटक सरितालाई भेट्नका निम्ति ऊ व्याकुल भयो ।
मरेको मानिससँग पनि भेट हुनसक्छ, उसले सुनेको थियो । जसरी नभएका देवताबराबर मानिसलाई दर्शन दिइरहन्छन् भने सरितालाई त उसले एक हप्तापहिले मात्र देखेको हो । उनको आत्मा जिउँदै थियो, बोल्दै थियो, हिँड्दै थियो । शरीर पो मर्छ भन्छन्, आत्मा त मर्दैन ।
कतिको मुखबाट उसले सुनेको थियो कि मरेको मानिसको आत्मा छायाको कलेवर लिएर त्यहाँ डुल्दछ, जहाँ मर्नुभन्दा पहिले ऊ मन पराउँथ्यो । बरु, सरिताको छायाको कलेवरसँग नै भेट्न पाए पनि ऊ सन्तोष हुन्छ ।
“अरुण ।” कसैले उसलाई बोलायो ।
सिमलको रूखको फेदनिरबाट आएको यो चिरपरिचित आवाज अरुणले प्रस्ट सुन्यो । जताबाट यो आवाज आएको सुनेको थियो, त्यतै फर्केर हेर्यो । कतै केही छैन, सिमलको मोटो फेद कालो डरलाग्दो भएर आकाशमा बिलाएको छ । उसले चारैतिर हेर्यो, कतै केही छैन, कोही छैन ।
चारैतिर अन्धकार र आकाशमा तारा । फेरि आवाजलाई कान थापेर ऊ पर्खियो, तर केही सुनेन । हावा उसको कानमा टक्राएकोले एक किसिमको साइँसुइँ र भाइँभाइँको आवाजबाहेक अरू केही थिएन ।
के उसलाई भ्रम त भएको होइन ?
‘अरुण !’
फेरि उही आवाज । अहिले अझ प्रस्ट छ, ठिक सरिताले नै बोलाएजस्तै । तर, पहिले जहाँबाट आएको थियो, अहिले ठिक त्यसको अगाडि नदीको माझबाट आएको छ ।
जुन सरितालाई उसले जिन्दगीभर माया गरेर आयो, जसको निम्ति अहिले ऊ व्याकुल छ, ऊचाहिँ बोलाइरहोस् र अरुणचाहिँ जवाफ नदियोस् ?
“म यहाँ छु सरिता ।” अरुणले कराएर बोल्यो ।
यो श्मशानको एकान्त अँधेरोमा उसको आवाज उसैलाई डरलाग्दो लाग्यो । उसले बोलिसकेपछि पो चारैतिर पहिलेको भन्दा बढ्ता चकमन्न छायो । ऊ डरायो ।
सिमलको वृक्षमा गिद्ध चटपटाए । च्याँऽऽऽ गरेर एउटा चरो आकाशबाट कराउँदै नदीको पारितिर गयो । बयरको झ्याङभित्र स्याल हिँडेको खस्याकखुसुकको आवाज आयो । आँपको बगैँचामा लाटोकोसेरो करायो ।
‘अरुण ?’
फेरि उही आवाज । सरिताको बोली सुनेर अरुण डरले काँप्यो । जसको बोली सुन्नलाई व्याकुल थियो, उसैको बोली सुनेर ऊ भयभीत भयो । जहाँ उसले उज्यालोमा कालो टाटो देखेको थियो, अहिले उसले देख्यो कि त्यो नदेखिने कालो अत्यन्त बिस्तारो सेतो हुँदै छ । आधा बलेका दाउराका ठुटाहरू पनि बिस्तार–बिस्तार सेता हुँदै छन् ।
र, एक छिनमा अरुणले एउटा मनुष्यको धमिलो छाया त्यो सेतो टाटोमा उभिएको देख्यो । शनैः शनैः छाया प्रस्ट हुँदै गयो र त्यसले सरिताको रूप लिँदै गयो । अरुणले अब राम्ररी नै सरितालाई चिन्यो । भर्खर नुहाई सुकिली भएर जसरी उनी सेतो पोसाक लगाएर नुहाउने कोठाबाट निस्किन्थिन्, ठिक त्यस्तै सरिता अरुणले आफ्नो अगाडि देख्यो ।
डराएर अरुण उभियो । सुस्तरी छाया अरुणनजिकै आउँदै थियो ।
अरुण कहालियो । ऊ दुगुर्दै सडकतिर भाग्यो । बीचबीचमा ऊ पछि फर्केर पनि हेर्दै थियो । त्यो सरिताको छाया उस्तै सुस्तरी अगाडि बढ्दै थियो ।
भाग्नुपर्छ भन्ने कुराबाहेक उसको मगजमा अरू केही कुरा खेलेको थिएन । आफ्नो पूरा शक्ति लगाएर ऊ दुगुर्दै थियो । एउटा खप्परमा अल्झिएर ऊ लड्यो, तर झटपट उठेर फेरि दुगुर्यो । अब उसले पछि फर्केरसम्म हेरेन ।
आँपको बगैँचामा पनि ऊ रुकेन । सडकैसडक ऊ गाउँतिर दुगुर्दै भाग्यो । स्वाँ…स्वाँ भएर उसको मुटु फुट्न लाग्यो, तर ऊ रुकेन । भागिरह्यो, दुगुरिरह्यो ।
वृक्षसँग बेरिएको लताजस्तै, फूलसँग टाँसिएको सुगन्धजस्तै र आँखासँग मिसिएको ज्योतिजस्तै अरुणको जीवनसँग बेरिएकी, टाँसिएकी र मिसिएकी सरितालाई देखेर अरुण भाग्दै छ, दौड्दै छ…. फर्किएर हेर्नसम्म उसलाई साहस छैन ।
(‘तारिणीप्रसाद कोइरालाका समग्र कथाहरू’ बाट ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।