वि.स. २१०० (आजभन्दा २१ वर्षपछि) ताकाको कुरो हो, सुरिनामवासी महात्मा र पुण्यप्रसाद कामविशेषले एक दिन अगाडि मात्र काठमाण्डौँ आइपुगेका थिए । सुरिनामबाट आउँदै गर्दा प्लेनमा उनीहरूको परिचय काठमाडौँवासी अम्बानीसित भएको थियो । आज उनीहरू अम्बानी र उसकी श्रीमती मानकीसँगै काठमाण्डौँमा घुम्दै छन् ।

“महात्मा, यता हेर ! सर्वोच्च निद्रालय । यो हो केन्द्रिय बाँडफाँट विद्यालय । यता हेर, युरोयुनियनको विवेचनालय । यो भयो युनाइटेड नेसन्सको मुख्यालय । अनि यो हो, विश्वशान्ति सैनिकको भोजनालय । यी लहरैसित भएकाहरू ठूलठूला, अग्ला भवनहरू अन्तर्राष्ट्रिय दातृसंस्थाका कार्यालय हुन् ।”

गणेशप्रसाद लाठ

“यता हेर, यो हाम्रो देशको राजनैतिक विरोध प्रदर्शन गर्ने स्थल– मण्डला ।” मण्डलानिर विशाल भीड लागेको देखियो । भद्रभलादमीको पहिरनमा सुकिला महिला–पुरूषहरू थरीथरीका प्लेकार्डसहित उभिएका थिए । एक सज्जन भाषण दिँदै थिए । उनी कुनै बेन्च अथवा स्टुलउपर उभिएको हुनुपर्छ, भीडभन्दा अग्ला देखिन्थे । कुन्नि कुन विषयउपर ज्ञान बाँड्दै थिए, बुझ्न सकिएको थिएन ।

महात्मालाई कौतुहल भयो– “अम्बानी, बिहानबिहान केको भीड लाग्या होला यता ?”

“यहाँ त दिनदिनै थरीथरीको भीड लाग्ने र भाषण चल्ने गर्छ । थाहा पाउन मन छ भने ओर्लिएर सुन्नुपर्छ ।”

मण्डला काटेलगत्तै अम्बानीले अवगत गरायो– “लु, अगाडि देब्रेपट्टिको थकाली होटेलमा गाडी छिराउँछु है ? यहाँको खाना गजबको मीठो हुन्छ । हामीहरू यतै भात खाने ।”

महात्माको मनमा अर्कै कुत्कुती चल्दै थियो । “तिमीहरूले अनुमति दियौ भने म त्यो मण्डला भनिएको ठाउँ पुगेर आउँछु नि । तु जान्छु, तु आउँछु, हुँदैन ?”

“हुन्छ नि ! भीडभाडबाट तर अलि परै उभिएर भाषणको रसास्वादन गर्नू । हूलभित्र पाकेटमारको हात–सफाइ र पुलिसको लट्टी–पिटाइको कुनै ठेगान हुँदैन ।” मानकीले सम्झाई ।

महात्मा पायक ठाउँमा पुग्दासम्म पूर्ववक्ताको भाषण सकिएर नयाँ वक्ताको सुरु हुँदै थियो ।

“मित्रहरू हो ! म कुटिलदेव नेपाली । यहाँहरूको सेवक । पूर्ववक्ताले भन्नुभयो: हामीहरू भोलिदेखि आन्दोलनमा जाँदै छौँ । एकदम सही निर्णय, हाम्रो महादेशभक्त मञ्चको पूर्ण समर्थनमा रहेको म सगौरव यहाँहरूलाई अवगत गराउँछु । भोलि एक दिनको नेपाल बन्द कार्यक्रममा म र मेरा हजारौँ कार्यकर्ताले यस पुण्य कार्यमा मन, वचन र कर्मले सघाउने विश्वास पनि दिलाउन चाहन्छु ।

हामीहरू गाडीगुडी, पसल, कारखाना, अस्पताल, स्कुल केही चल्न दिँदैनौँ । त्यसपछि विरोध कार्यक्रम चरणबद्ध रूपमा थप्दै लैजानेछौँ । त्यसपछि पनि कुम्भकर्णहरू बिउँझेनन् भने अनिश्चित कालको हडतालजुलुसमा जानेछौँ ।

मित्रहरू ! केही जडसूत्रवादीको दृष्टिमा हडतालजुलुस खराब कुरो हो रे । तर, हेक्का रहोस्, सरकारको सिंहासन उल्ट्याउने सशक्त संयन्त्र भएर होला, हडतालजुलुसबारे भ्रमपूर्ण कुराहरू फिँजाइएका छन् । हडतालजुलुस निन्दनीय होइन बरू पूजनीय एवम् वन्दनीय अनुष्ठान हो । यसले आमजनतालाई नोक्सान पुर्याउँछ भन्ने कुरो नितान्त मिथ्या हो । हडतालजुलुस आयोजकहरू त यथार्थमा राष्ट्रप्रेमी एवम् जनसेवक हुन् ।

मित्रहरू ! केही ज्वलन्त दृष्टान्त दिन्छु । सुनेपश्चात् यहाँहरूको ज्ञानचक्षुमा श्रीवृद्धि हुनेछ । केही तथाकथित अगुवाहरू भन्छन्ः दैनिक आम्दानीको भरमा गुजारा गर्ने, दैनिक ज्यालादारीमा आश्रित श्रमिक, तरकारी पसले, दूध व्यापारी, ड्राइभर, खलासी, कन्डक्टरको एक दिनको आम्दानी रोकियो भने त्यो एक दिन दुई छाक खाना जुर्दैन रे । हडतालजुलुसको मार त्यस्ता गरिबहरू उपर सर्वाधिक परेको हुन्छ रे ।

कस्तो भ्रमपूर्ण उदेकलाग्दो कुरो सुन्नुपर्छ यस देशमा । अरे, हडतालले मानिसलाई अल्पव्ययी, संयमित र सङ्घर्षशील बनाउँछ भन्ने कुरो कसैको गिदीमा किन घुस्दैन ? अनि व्रत–उपवासमा बस्नु नराम्रो कुरो हो भनेर कुन ग्रन्थपुराणमा लेखिएको छ ? बताउनोस् त !

मित्रहरू हो ! रोजीरोटीकै कुरो गर्ने हो भने, नेपालमा यस्तो ठूलो जमात पनि छ, जसको रोजीरोटी नै हडतालजुलुसकै कारणले चलेको छ । मसालधारी, लट्ठीधारी, प्लेकार्डधारी, नाराशिरोमणि, ढुङ्गेमुढे विशेषज्ञ, सिठ्ठीवादक र नग्न जीउ प्रदर्शनकारीजस्ता मानवसंसाधनको सदुपयोग त हडतालजुलुस आदि–इत्यादिमै गरिने हो । यस्ता सेवाप्रदायकहरूको रोजीरोटीबारे फिक्री गर्नुपर्यो कि परेन ?

मित्रहरू ! एउटा कुरो मैले भन्नैपर्ने भयो । यस देशमा राज्यपक्षद्वारा मागपत्रउपर सुनवाइ उठान गरिएको विषयको गहिराइ मापन गरेर होइन, येनकेनप्रकारेण जुटाइएको भीडको आयतन देखेर गरिन्छ । के गर्ने ? यस देशको चलन नै यस्तो छ । अनि नेपाली जनतालाई आफ्नो मागपूर्तिको निमित्त हडताल–जुलुसकै शरणमा जानुपर्ने हुन्छ ।
मित्रहरू ! अर्को कुरा, गाउँका निमुखा, सोझा गरिबहरू यस्तै हडतालजुलुसको अवसर पाएर सहरबजारमा छिर्न पाएका हुन्छन् । आतेजाते साधन निःशुल्क, खानपिन निःशुल्क र साथमा थोरबहुत खाजाभत्ता । ती गाउँलेहरूको पर्यटन अवसर त यस्तै हडतालजुलुसले मात्र दिएको हुन्छ ।

त्यस्तै, हडतालजुलुसको समयमा उद्योग–कलकारखानाहरू बन्द हुन्छन् रे । असल कुरो भएन र ? अस्वस्थ प्रतिस्पर्धाका कारण बजारमा आवश्यकताभन्दा दोब्बर–चौब्बर मात्रामा उत्पादनहरू थुपारिने चलन बढ्दो छ । यस्तो नकारात्मक अवस्थामा केही दिन हडतालजुलुस गरियो भने उद्योग–कलकारखानाको उत्पादनमा नियन्त्रण आउने भयो । र, माग र पूर्तिबीच स्वःस्फर्त सन्तुलन पनि हुने भयो ।

अनि मेसिन, कलपुर्जा, कर्मचारी, श्रमिक, सबैले गतिलो आराम पनि पाउने भए । अहोरात्र काम गर्ने श्रमिक माहुरीको आयु हेर्नोस्, केही हप्ता मात्र । कति सानो ! दिनभरि आफ्नो घरमै आराम गरी बस्ने रानी माहुरीको आयु हेर्नोस्, तीनदेखि चार वर्ष । कति ठूलो फरक ! आरामको महत्त्व मैले अझै सम्झाउनुपर्छ र ?

मेरो अन्तिम मत मित्रहरू हो ! हडतालजुलुस मात्र यस्तो माध्यम हो जसले नेपाललाई विश्वमञ्चमा चिनारी दिएको छ । हडतालजुलुस नभइदिएमा कुनचाहिँ अन्तर्राष्ट्रिय न्युज चैनलले नेपालको समाचारलाई ग्राह्यता दिने थियो र ? विश्वास गर्नोस्, नेपालमा हडतालजुलुस नै गरिएन भने नेपालबाहिरका मानिसको मानसपटलबाट नेपाल अलप हुन बेर लाग्दैन ।”

मान्छेहरूको आवेगसँगै भीड थपिँदै गएको थियो । प्रहरीको उपस्थिति बाक्लिन थालेको थियो । महात्माको आन्द्राभुँडीले पनि विद्रोह गर्न थाल्यो, ऊ भाषण स्थलबाट फर्कियो । होटलभित्र छिर्दा खाना टेबलमा लागिसकेको थियो । सबैजना उसैलाई कुरेर बसेका थिए ।

भात खाँदै गर्दा उसले ती नेताले वाचन गरेको हडतालजुलुस महिमाबारे सबैलाई अवगत गरायो । सबैजना दङ्ग परे ।

अम्बानीले हाँस्तै भन्यो– “भाषणमा त दम त छ यार । अस्ति नै मेरो एक मित्र भन्दै थियोः हडतालको मौका पारेर ऊ सपरिवार तीर्थाटनमा जाने गरेको छ । यस अर्थमा हडतालकै कारण उसले पुण्य आर्जन गर्न भ्याउँदो हो । अन्यथा फुर्सदिलो समय निकाल्नै गाह्रो रे ।”

अम्बानी आफ्नो भनाइमा बिराम दिँदै खाना खानमा व्यस्त भयो ।

यतिखेरसम्म अम्बानीको कुरो मात्र सुनेर बसेकी मानकीले मुख खोली, “महात्मा, एउटा कुरा मैले पनि सम्झेँ । हडतालले पारिवारिक सम्बन्धमा प्रगाढता पनि ल्याउँदो रै’छ नि । तपाईंको नवोदित मित्र अम्बानी, हडताल भएको दिन मात्र त मसँगै घरमा बस्छ । अनि हडतालकै दिन यसले मलाई घरायसी काममा सघाउँछ । अस्तिको हडतालको मौका पारेर मैले यसको संयोग पाएर थन्किएका काम सक्न भ्याएकी थिएँ । अन्यथा यसको नाकमुख देख्नै मुस्किल ।”

“बाफ रे, गब्बरसिंहलाई समाजसुधारक विद्रोहीको रूपमा हेर्ने कित्तामा पुण्यप्रसाद अथवा मेरा हजुरबा मात्र रहेनछन् त ।” मात्माले आफ्नो पुर्पुरामा हात राख्तै भन्यो ।