जुलुस आयो ।
तर जुलुस कराएको छैन ।
जुलुस त्यति ठुलो पनि होइन ।
जे होस् थोरै भए पनि जुलुस नै हो। जुलुसको अनुहारमा गाउँको छाप छ। जुलुस बोलेको पनि छैन। मौन जुलुस रहेछ। मौनताले पनि विरोध त गर्छ नै जस्तो कि यहाँ पनि गरिरहेकै छ । प्रत्येकको हातमा प्ले कार्ड छ। पहिलो प्ले कार्ड बोल्छ –हाम्रो गाउँ क्षेत्रमा फोहोर फाल्न पाइन्न ।
दोस्रोले माग गर्छ – “अलग्गै डम्पिङ ग्राउन्डको प्रबन्ध गर प्रशासन ।”
तेस्रोले अनुरोध गर्छ- “हामीलाई दूषित पर्यावरणबाट मुक्ति देऊ सरकार ।”
चौथो- “डम्पिङ ग्राउन्डमा आगो झोस्ने अपराधीलाई कार्वाही गर प्रशासन ।”
अलिक अघिअघि त्यसरी नै नबोली पुगेको जुलुसले पालोपालो थुक्न थाल्यो- “खाक्खाक् थु थु.. छिः छिः।”
मौन जुलुसको नियम बिथोलियो। जुलुसले नाक थुन्यो हातले, रुमालले, चुन्नीले। माक्स लगाउनेलाई झमेला परेन । जिज्ञासा हौसियो । हेऱ्यो । देख्यो- सडकछेउ एउटा कुकुर मृत अवस्थामा लडिरहेछ । परझाडु लगाउने नगरपालिकाको सफाइ कर्मीले यता हेर्दै हेरेको छैन । नदेखिएको अभिनय होला ।
जुलुसमा आउने एकजना भूतपूर्व सैनिकजस्तो मानिस रोकियो। अलिक पर गयो। भन्यो- ‘ए भाइ, यहाँ छेउमा मरेको कुकुर देखेनौ ? यसलाई हटाउने काम कसले गर्छ ?’
वार्तालाप
‘झाडु लाउने मात्र मेरो काम हो । मरेको कुकुर फाल्ने काम त मेरो होइन । मुर्गी कौवा भएको भए उठाउँथे । यति बड्का कुत्ता त गाडीमा फोहोर उठाउनेहरूले लगिहाल्छ नि हजुर ।’
– तर कुकुर त कुहुन थाले जस्तो छ त । म सय रुपियाँ दिन्छु । तिमीले उठाउँदा हुँदैन भाइ ? यसरी रहिरह्यो भने त यहाँ हैजा फैलिन्छ भाइ । फोहोर उठाउने गाडी कहिले आउँछ ?
– डम्पिङ ग्राउन्ड बन्द गरिदियो तपाईंहरूले । गाडी फोहोर बोकेर तीन दिनदेखि फाल्ने ठाउँ खोज्दै कुदिरहेछ । यता जान्छ त यतै विरोध गर्छ । उता जान्छ त्यतै विरोध गर्छ। आज पनि तपाईँहरूकै जुलुस आइदियो रे । तब त यस्तै भइजान्छ रे।
वयस्क व्यक्ति निःशब्द । मुखभरिको मुलाजस्तो । सफाइ कर्मीले ठोक्ने ठाउँमै ठोक्यो । झाडु लगाउने भए पनि दिमाग त बिजुलीजस्तो चल्दोरहेछ मोराको । कुदे जस्तो गयो वयस्क व्यक्ति जुलुस भेट्न । भेट्यो पनि ।
जुलुस त सोझै बिहानदेखि नै माइक बजिरहेको हलतिर लाग्यो । पुग्यो । रोकियो । हुल होइन भिड पुगेको जुलुस थप भिड बन्यो ।
बजेको माइकले कुनै कार्यक्रमको सङ्केत दियो। तर कार्यक्रम अलिक अनौठो। नयाँ शौचालयको उद्घाटन ! तर भिडले अचम्भ मानेन। सामान्य चल्मलाइरह्यो। हरेक कार्यक्रम राजनीतिको मखुन्डो बन्न थाल्यो। यस्तै सोच्यो उही वयस्कले। तर क्यार्ने ? ऊ पनि गाउँले ड्याङमा मिसिनै पऱ्यो ।
पुगेको भिडले साइसुत्त प्ले कार्डहरू लुकायो । लुकाएर श्रोतावर्गमा परिणत भयो ।
कुकुर त्यहाँ मरेको छ भनेर सुइँको पाउनेहरू त्यताबाट थोरै हिँडे । थाहा नहुनेहरू उसरी नै खाक्- थु गर्दै आए ।
झुक्किएर त्यहाँ एकजना सम्भ्रान्त स्त्री पनि पुगी । उसको काखमा एउटा नाक मुख कुचुक्क परेको फुस्रो विदेशी नश्लको सानो कुकुर छ । सायद मर्निङ वाकबाट फर्केकी हुँदो हो ।
कराइ- “ओ सियट! वाट द हेल । छिः छिः कस्तो गह्नाएको । डाइमन्ड खोइ तिम्रो मुख छोपुँ त । छिः यहाँ कुकुर मरेको रहेछ। डाइमन्ड तिमीलाई इन्फेक्सन हुन्छ होला है । भरै डाक्टरको च्याम्बरमा जानु पर्छ है ल ।”
मोबाइल हराएछ। खोज्दै ठ्याक्कै जुलुसको उही वयस्क त्यही आइपुग्यो । निहारेर वरपर हेऱ्यो।
कुकुर नै खोज्न आएको भन्ठानेर सम्भ्रान्ताले सोधी- ‘यो मरेको कुकुर तपाईंकै होला । खोज्न आउनुभएको ? मरिसकेछ त। उठाएर फाल्नोस् अब ।’
– “म त मोबाइल हराएर खोज्दै आएको। मरेको कुकुर मेरो होइन। तर हामी सबैको हो।”
-” के रे ? के भन्नु भएको त्यस्तो ? कसरी यो हामी सबैको हो ?”
– “दुर्गन्धले हामी सबैलाई सताइरहेछ । दुर्गन्ध सामूहिक समस्या भएपछि यो कुकुर पनि हामी सबैको भएन त ल ?
– “कस्तो कुरा गर्नु भएको ? तपाईं त अलिक क्र्याक हुनुहुन्छ क्या हो ?”
– “होइन म त्यस्तो होइन । तर मेरो मोबाइल हराएजस्तै यो कुरा पनि साँचो हो । हेर्नोस् तपाईंको काखको कुकुर पनि यो जस्तै त हो ।”
– “बुलसिट, यो कुकुर होइन । डाइमन्ड हो डाइमन्ड ।”
– “डाइमन्ड पक्कै तपाईंको हो । तर मरेको कुकुर हामी सबैको हो । सुगन्ध व्यक्तिगत हुन्छ । तर दुर्गन्ध सामूहिक हुन्छ । माने हामी सबैको । तपाईंको घरमा काम गर्ने मान्छे छ ?”
– “छ, दुईजना छ। तर किन चाहियो तपाईँलाई मेरो मान्छे ।”
– “एकैजना भए हुन्छ । मलाई सघाउन कुकुर फाल्न।”
– “इडियट, तपाईं साँच्चै खुस्केको हो क्याउ ! मरेको कुकुर तपाईंकै हो । आफैँ फाल्नु । कस्तो कस्तो हुन्छ हौ मान्छेहरू पनि ।”
फुइकेर गई सम्भ्रान्ता ।
फेरि अर्को एउटा हुल आयो । अघिको जुलुसभन्दा सेक् सेक् सानो । मौन होइन। प्ले कार्ड छैन । नारा छ।
– “हाम्रो चेयरमेन जिन्दावाद।”
– “फलानो पार्टी जिन्दावाद।”
– “विपक्षा दल होसियार।”
– “हाम्रो चेयरमेन जिन्दावाद।”
नारा लगाउनेहरू पनि कोही थुक्दै गए । कोही नाक छोप्दै गए । कुकुरको दुर्गन्धले बिथोल्यो नाराका नाकहरूलाई पनि । यो हुलले पनि माइक बजेकै दिशा ताक्यो । मोबाइल खोज्ने वयस्कले मोबाइल भुल्यो । टचे होइन; सानो सस्ते कालो पुरानो टिपटिपे मोबाइल भएरै होला। उसले टाउको दुखाएन । हिँड्यो ।
नारा जुलुस र हुद्दा यता र उता कुद्दा बनेको भ्रम भए पनि भ्रममै कुद्ने देसान दर्साउने र विपक्षीलाई तर्साउनमा नै व्यस्त छ अहिलेको दुनियाँदारी । पहाडमा कामकारी होइन बेकारी बडी थुप्रिएका कारण जताततै भिड जमिहाल्छ । सही मुद्दालाई लुतो फ्याँकेजस्तो गरेको भ्रमित हुद्दाको पछि कुद्ने अर्द्ध नेता उर्फ ठेकादारहरू र बेकारीहरू नेताहरूको पैसाको पछि यता पाउँदा यता कुद्या छ, उता पाउँदा उतै कुद्या छ । हैट! यस्तै हैट भनेर चेतना बटुल्ने सामर्थ्य भएको त्यो अघिको वयस्क पनि भिडकै बिच उभिन पुग्यो । बरा के गरोस् । नत्र आकाश थाम्न खोज्ने एक्लो हुट्टिट्याउँ बनिने डर ।
कुकुरको लास उठाउनु पर्छ भन्ने चेतना त हुद्दालाई छ । तर त्यहाँ नवनिर्मित शौचालयको शृङ्गारको क्रमिकतामा तेर्सो तेर्साइएको रातो रिबनमा भिडको आँखा केन्द्रित छ । वयस्कको आँखा पनि उतै छ। रङ्गिन रिबनले उसको चेतनामा एउटा धर्सा कोऱ्यो सरर। एउटा व्यक्तिको चेतनाले सम्पूर्ण समाजको चेतनालाई प्रतिनिधित्व गरे पो त्यो साँचो नेतृत्वमय चेतना बन्छ । त्यस्तो भूमिका यस वयस्कले निर्वाह गर्न सक्ने भए त ऊ यस भिडको मात्र होइन सम्पूर्ण नेतृत्वको सिरानमै उभिएको हुने थियो । तर के गर्ने ? यस्तै सोचमा मात्र तल्लिन रहेर भिडमा उभिन सक्ने मात्र भएको छ ऊ ।
वयस्कले घिच्रो तन्काएर अहिले सामुको टाउकोभन्दा अग्लो हुने प्रयासमा फेरि रातो रिबनलाई निखारेर हेऱ्यो । उसले यस्तो सोच्यो – रिबिन काट्ने मानिस त भाग्यमानी हो । तर अहिलेसम्म उसले ती भाग्यमानी मानिसलाई देखेको छैन । खप्परमै श्री लिएर आउनु पर्दो रहेछ मानिसले । अहिले उसले आफूलाई भुसुना नै सम्झ्यो ।
माइक बजिरहेछ- “दम मारो दम …।”
नवनिर्मित शौचालयदेखि केहीमाथि छेलिएको कुइनेटोको झाडीमा केही भट्टु केटाहरू गाँजा भर्दै दम मारिरहेछन् ।
घुम्दैछ सुल्फा एउटा हातदेखि अर्को हात । थाहा पाएपछि वयस्कले निधार खुम्चायो । यसबारे भिडलाई कुनै खस्खस् नै छैन। भिडमा अर्कै टिप्पणी छ । तर दम मार्ने भट्टुहरूबारे कदापि होइन ।
– “चिकन मात्र चालीस केजी पाक्दै छ ।”
-“खसीको मासु दस केजी कम अर्थात् तीस केजी ।”
– “माछा पनि खसीकै ओजन।”
– “कोल्ड ट्रिङ्क्स र कफी को खाउ।”
– “रस मिठाइ उत्तिकै गन्ती छैन।”
– “खट्नेहरूका लागि कडा पनि छ। तर कार्यक्रमको समापनपछि।”
– “क्याटरिङ पार्टी सिक्किमको मन्त्रीहरूको छोरा छोरीको बिहेतिर जानेहरू रहेछ ।”
– “बाफ्रे। कसले गरेको हौ यत्रो खर्च ।”
– (कानेखुसीमा) “पार्टीले हौ, चेयरमेन्टको पार्टीले ।”
– “चेयरमेनको अन्डरमा सघाउने ठेकादारहरू छन् एक सा एक ।”
– “”पलाउको सेन्ट आउँदै छ है ।”
– आज चैँ नाइटोले हाइ काडुन्जेल खाइन्छ।”
सुन्नेहरू हाँसे। तर वयस्क हाँसेन। हरेक पकवानहरू मगमग छ हावामा। सबै प्रतीक्षारत छन् । कहिले चेयरमेन आउने हुन् । नारी समूहको रगरगी छ । उस्तै छ युवा समूहको पनि । वयस्कले आफैँलाई कुन समूहको हो भनेर सोध्यो । तर उसलाई आफ्नो समूहको मार्का नै थाहा भएन ।
समूहहीन खान आउने आँतछिना समूह पनि होला । ऊ पनि त्यस्तै समूहको त होइन ? वयस्कले अप्ठेरो मान्यो ।
अहिले नारा जुलुस छैन । तर भिड बोलेको मौरीको गोलाको आवाज छ । के के बोलेको स्पष्ट छैन । यद्यपि खट्नेहरूलाई अरन-खटन गरेको आवाजमा खटाउने एकाध नारीहरूको चर्को आवाज चाहिँ स्पष्ट बुझिन्छ ।
भिडले पर्खेको पर्खेकै छ। चेयरमेन आइपुगेका छैनन्। यसरी पर्खनु पनि एक रकमले त पीडा नै हो । आङ तान्ने, हाइ काड्ने। आङ तानेर सोझ्याउँदै दुवै हात खप्टाएर टाउको पछि राखेको देख्दा भिडलाई साँच्चै नै प्रतीक्षा पीडित देखिन्छ । प्रायः अनुहारहरूमा भोककै विज्ञापन छ । क्याटरिङ पार्टीलाई भ्याइनसक्नु छ उता । कसै कसैले त टाउको उँभो पारेर नाकले पकवानको मसलादार बासना लिन खोज्दा उनीहरूको किलकिलेको डल्लो घुटुक्क चलेको पनि वयस्कले देख्यो । मोराहरू कोही त नखाई आएछ कि क्यार । तै उसले चाहिँ किलकिले हल्लाएर थुक निल्न परेको छैन । उसले बिहान डम्म परेको बाबरी रोटी खाएर आएको हो । यस्ता कार्यक्रममा प्रायः मानिसहरू खाने दाउमै झुत्ता परेको उसले अनुमान लगायो । यस्तो सम्झदा अलिलि लागेको भोकको भाउ त्यसै बिलायो ।
अघि माथि ‘दम मारो’ गीतको बोलमा सुल्फा घुमाउँदै गाँजा उडाउने भट्टु केटाहरू कराउँदै आए- ‘आयो आयो आयो हाम्रो चेयरमेन आयो।’
हो कि भन्ने अनुकृतिमा भिडले आउने दिशातिर टाउको घुमायो। हेरिसकेर भिडमा कसैकसैले ‘थैट’ भनेको पनि सुनियो। आउँछ आउँछ –को अपेक्षामा भिड कुण्ठित बन्दै गयो।
‘उः अब त आयो, आयो। ’
कराउँदै भनेर एउटा भट्टु केटोले क्याप हावामा उडाएर फेरि च्याप्प समाती उल्टो लगायो।
‘एइ पागलहरू’
कराउने नारी पार्टीकै होलिन्।
आउन चाहिँ आयो। निश्चय नै आयो।
तर दुईजना भिखारीहरू आए। एकार्काका हातहरू समाएर आए बिचराहरू। एउटा ख्याउटे कुप्रो र अर्को लङ्गडो। भट्टू केटाहरूले तिनीहरूको आगमनमा पटट ताली मारे। भिड केही हाँस्यो पनि। पकवानको सुइँको पाएर आए भोकाहरू। वयस्कले देख्न सक्ने दुरत्वमा ती दुई रोकिए।
यतिकैमा माइकमा घोषणा भयो- ‘सुन्नुहोस् सबैले। तपाईंहरू सबैको ध्यान आकर्षण गर्न चाहन्छु।’
जादु लागेजस्तो भिड चकमन्न भयो र भिडले माइकमा बोल्ने मानिसलाई केन्द्रित गऱ्यो।
केन्द्रित मान्छे फेरि बोल्यो- ‘एक दुःखको विषय के हो भने चेयरमेन साब अचानक अस्वस्थ्य बनेको कारण यहाँ आउन सक्नुहुन्न । उहाँलाई भर्खरै सिलगढीको न्युटियामा लगिएको छ। यसर्थ उहाँको सट्टा भाइस चेयरमेन साबले रिबन काटी यो नवनिर्मित जनशैचालयको उद्घाटन गर्नु हुनेछ।’
केन्द्रित मानिस अडियो । भिडको हेराइ अहिले अलिलि हल्लिरहेको रिबनमा केन्द्रित बन्यो ।
त्यो मानिस फेरि बोल्यो- ‘यो शौचालय एकैपटकमा दसजनाले प्रयोग गर्न सक्नेछन्। पानीको व्यवस्था राम्रो छ। अब क्षेत्रवासीले दुर्गन्ध सहन पर्दैन। यसलाई राम्रोसँग प्रयोग गर्ने जिम्मेवारी अब तपाईंहरूको हो ।’
उद्घोषकले हात फैलाएर भाइस चेयरमेन साबलाई सङ्केतद्वारा अघि आउने आग्रह गऱ्यो। अब लामो केशराशी भएकी सुन्दरी ट्रेमा कैँची लिएर आई । रातो भाले टाइ कसेका भाइस चेयरमेन साब अघि आए।
भिड केही हल्लियो। वयस्कले दसैवटा डौँठे औँलाहरू भँचाएर बाख्राको टाट्नाजस्तै बनायो। नमन गरेको मुद्रामा उभिरह्यो। भाइस चेयरमेनले चट्ट रिबन काटे। पटट ताली बज्यो। भट्टु केटाहरूले सुइ कि सुइ पनि पारे।
युज एन्ड थ्रो थालीको जोहोमा भिड अव्यवस्थित बन्यो। माइकमा भाइस चेयरमेनको भाषण सुरु भयो। भिडलाई सरोकार छैन। भोजन वितरणको क्रम रोकिएन। छिटो छिटो भाग लिन सक्नेहरू सजिलो ठाउँ खोज्दै खपाखप खान थाले। हात धोइरहने आवश्यकता नै परेन। निकैबेरपछि दुई भिखारी र वयस्कको पालो आयो। खाने क्रममा भिड बोल्दै पनि थियो।
– “हिजो होटलमा ठुलो भोज थियो ’रेन्त चेयरमेनहरूको।”
– “लिबर प्रोब्लेम छ बुढोको।”
– “मटन र ब्ल्याक डग निकै चडायो ’रेन्त।”
– “पचेन रहेछ। उधौली उभौली भएछ बिचरालाई।”
– “हैट्, डिहाइड्रेसनले निक्कै सिरियस भएछ त बुडो।”
खाइसके भिखारी र वयस्कले पनि।
लङ्गडोले कुप्रेलाई भन्यो- ‘एइ खाइसकिस् होइन ? हिँड् अब कुकुर खोज्नु। तीन दिन भयो हराएको पनि।’
वयस्क झसङ्ग बने। भिखारीहरू बाटो लागे। वयस्क पनि उठ्यो कुकुरको प्रसङ्गले तान्यो उसलाई। पछि पछि लागे ती दुई जहाँ पुग्नु थियो।
पहिलो भिखारी – (अघि सर्दै) “हेर त एइ हाम्रो कुकुर त यहाँ पो मरिरहेछ त। बिचरा। (खुइ काड्यो) तलतिर खोज्दा खोज्दा हामी त । बिचरा हाटघरमा हामीसितै सुत्थ्यो। यो हराएको रात त म आधा रातसम्म निदाइनँ । आउँछ कि भनेर पर्खिबसेँ। तँ त रक्सी खाएर निदाइहालिस् ।”
दुवैजनाको नाटकीय वार्ता सुरु भयो । वयस्कचाहिँ अब यिनीहरूले केके भन्लान् र के गर्लान् भनेर परैबाट जोख्न थाल्यो ।
दोस्रो भिखारी –(कुकुरलाई मुसार्छ) “यो कुकुर पनि म ‘लङ्गडोको साथी’ जस्तै थियो । ‘लैनसिंह बाङ्गदेल’को उपन्यासमाजस्तो । म खोल्ट्याङ खओल्ट्याङ गरेर हिँड्दा मेरै पछिपछि आउँथ्यो । तँ मोरो त कालो अच्छेर भुइँसी बराबर । मैले त नाइन पढ्दा स्कुलमै पढेको लङ्गडाको साथी ।”
पहिलो भिखारी- “नापिस् पढेर । पढेको मान्छे भिखारी बनेको त तैँ मात्र होला ।”
दोस्रो – “एइ हेर् त, यसको एउटा आँखा खुल्लै छ । हामीलाई नै हेरेको होला । हाम्रो खुट्टामुनि सुत्दा पनि आँखा त यसरी नै खुल्ला राख्थ्यो हगि ।”
पहिलो – “झिँगा पो भन्कन थालेछ । गह्नायो पनि । धन्य हामी भिखारी भए पनि यसको मालिक त हौ । मरे पनि कहाँ माया मार्नु । संसारमा एउटा कुकुरको मालिकसम्म त बन्न सक्यौँ ।”
“दोस्रो- गोविन्द गोठालेको ‘मालिकको कुकुर’ त बन्न सकेन यो । हामीजस्तै अभागी रहेछ नि यो पनि । तर भिखारीको कुकुर त हो नि । अरू भुस्याहा कुकुरजस्तो त होइन नि । सुनिस् ? ‘मालिकको कुकुर’ भनेको बुझ्छस् ? पढेको भए पो ..हि ..हि ..हि ।”
पहिलो- “एइ लङ्गडो मोरो । कहाँको आएछस् पढन्ते । भिखारी हुनलाई पढेको ? म भिखारी, तँ भिखारी । के फरक छ भन् त ।”
वयस्कले भिखारीहरू घिनाएको हेर्न चाहिरह्यो । जुलुसले थू थू गरे जस्तो हेर्न चाहिरह्यो । तर अहिलेसम्म पनि त्यस्तो प्रतिक्रिया देखिएन ।
दोस्रो- “भो भो छाडिदे। म लङ्गडो तँ कुप्रे । बराबर । भन् अब हाम्रो कुकुरलाई के गर्ने ? भोलि चाहिँ एक छाक छाडेर यसको नाममा जुठो बारौँ । आज चाहिँ रक्सी नखा है ।”
पहिलो- “ल ल । पहिला यसलाई कतै लगेर गाड्ने काम गर्नुपर्छ । भुस्याहा कुकुरजस्तो कहाँ लावारिस छाड्ने र । भरै सुत्न अघि हाटघरमा यसको आत्माले शान्ति पाओस् भनी धुप बालेर प्रार्थना गरिदिनु पर्छ ।”
दोस्रो- “पहिला सहरबाहिर गाड्ने जग्गा हेरौँ। इस्लामपुरे मिस्त्रीबाट झ्याम्पल र बेल्चा मागिल्याउँला। मालिकको नाताले कमसेकम अन्तिम विदा दिनु पर्छ। सुनिस्, गोठालेको ‘मालिकको कुकुर’लाई मरेपछि नोकरले कस्तो बिजोग गरेर घसार्दै फालेको थियो ।”
पहिलो- “क्या हो त्यो गोठाले भनेको ? नाम पनि नपाएको । एइ हेर् त बिहान जाडोमा धुसाबेह्रेर हिँडेको राम्रै भएछ । अब यही धुसा यहाँनेर ओछ्याऔँ त । यसमै बेह्रेर बोक्ने ।”
ती दुवै मिलेर कुकुरलाई लास बेह्रे जस्तो गरी धुसामा बेह्रे । बिस्तारै उठाएर बोके। एकजनाले टाउकोको भाग भएको अन्दाज गरी काँध हाल्यो। अर्कोले पछितिर काँध हाल्यो ।
दोस्रो- “अर्को जुनीमा करोडपतिको कुकुर भएर जन्मनु । मालिकनीसँग गाडीमा घुम्नु ।”
दुवै –” राम नाम सत्य है। राम नाम सत्य है। राम नाम सत्य है।’
कुकुर बोकेर दुवैजना कुइनेटोबाट ओझेल परे। वयस्कको आँखा रसायो। हावामा अझै दुर्गन्ध छ । कुइनेटोतिर ऊ गएन । अघिकै बाटो भएर फर्कंदै वयस्कले मनमनै भन्यो – ओम् शान्तिः।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।