ऊ सानैदेखि अलिक शालीन र एकान्तप्रेमी नै थियो । पढ्नमा पनि त्यति कमजोर थिएन । कक्षामा पनि भर्सक एक्लै बस्ने उसलाई साथीभाइहरुसँग पनि कुनै दिलचस्पी लाग्दैनथ्यो। उसका बुवाआमा दुवै जागिरे । बिहानै खानापिना पकाएर खाइवरी आफूहरु आ-आफ्ना कार्यमा जान्थे र उसलाई पनि स्कुल पठाउँथे । ऊ स्कुल जान्थ्यो,आउँथ्यो दायाँ बायाँ कतै जाँदैन थियो ।भनौँ उसले काठमाडौँ सहर पनि पूर्ण रुपमा देख्न पाएको थिएन ।

आचार्य प्रभा

उसको नाम सन्तोष । नामझैं उसकाे बानी बेहोरा पनि सन्तोष नै थियो । कारण उसलाई घरमा आफ्ना अभिभावकले त्यही बानीमा हुर्काउन अभ्यस्त बनाएका थिए । त्यसैले ऊ स्कुल, घरबाहेक अरु सबै कुराबाट बञ्चित थियो । भनौँ ऊ अरुको जीवन बँचाइभन्दा बेग्लै जीवन बँचाइ भोगी रहेको थियो । बाउ,आमा दुवै कडा मिजासका । दाँयाबायाँ गर्ला भनेर सधैं कर्कश आवाजमा उसलाई डाइलाग दिइरहने बानी बाउआमाको थियो । ऊ पनि बाउआमाको आज्ञाकारी छोरा नै थियो । चिनेको र छोएको भनेको केवल पढ्ने किताब र कलम बस् ।

बाउआमाको कोठामा टिभी राखिएको थियो तर उसलाई हेर्नबाट वञ्चित गरिएको थियो । कहिलेकाहीँ यसो ढोकाबाट चिहाउन खोज्यो भने कि त आमाको, कि बाउको आवाज निस्कन्थ्यो – “जा आफ्नो कोठामा पढ्न, के यहाँ चिहाउँछस् ?” भनेर खेदिहाल्थे ।

समय बित्दै गयो । संसार परिवर्तनले गाँजिन थाल्यो । अनेकौं अनेक परिवर्तनहरु हर कुरामा देखिन थाले तर सन्तोषको घर र परिवारमा कुनै परिवर्तन आएन । उही दैनिकी,उही क्रिया कलाप । ऊ पनि जवानीको संघारमा उक्लँदै गइरहेको थियो । पढ्नमा पनि राम्रै भएकोले नौ कक्षा छिचोलेर दशौं कक्षामा पुग्न सफल भयो । आफ्ना साथीहरुमा पनि निक्कै परिवर्तन देख्न थाल्यो । सबै सबै जनासँग बोल्ने, हाँस्ने, इत्रिने केटाकेटी सराबरी हिँड्ने, खेल्ने गर्न थाले । ऊ मात्र एकलकाटे बनेर एक्लै बसेर अरुको रमिता हेरिरहन्थ्यो ।

सन्तोषको यो बानी देखेर कति साथीले त उसलाई समूहमा ल्याउन कोसिस पनि गरे तर ऊ किन हो ? डराएझैँ, लजाएझैँ गर्थ्यो । केटी साथीहरुसँग त झन् मरेकाटे बोल्दैनथ्यो । यस्तो लाग्थ्यो केटीहरुलाई हेर्यो भने त उसको अनुशासन भङ्ग हुन्छ या बिटुलो हुन्छझैं महसुस गर्थ्यो र सम्झी हाल्थ्यो – “त्यहाँ केटीहरुसँग इत्रिएलास् ।अहिले तेरो पढ्ने बेला हो । केटीहरुसँग बोल्ने उमेर होइन । पढाइ फेल मात्र हु न ! तँलाई घरबाटै निकाला गर्दिन्छौँ ।” बाउआमाको यही आवाज सम्झिन्थ्यो र आमाको क्रूर मुहारको झल्को देख्न थाल्थ्यो ऊ ।

यसरी सन्तोष आफ्नो घरको नचाहिँदो बन्देजले अप्राकृतिक जीवनको दिनचर्या भोगिरहेको थियो । उसको मानसपटलमा यही छाप बसेको थियो कि, “यो उमेर बिग्रिने उमेर हो । साँच्चै केटीहरुसँग बोल्नु हुँदैन । यताउती बरालिनु हुँदैन । हरेक समय पढाइमा ध्यान हुनुपर्छ ।”

हो यस्तै मानसिकताको शिकार बनिरहेको थियो सन्तोष ।

घरको एक्लो सन्तान भएकोले ऊ अरु कसैसँग झ्याम्मिन पनि सक्दैनथ्यो । समयको रफ्तारसँगै दिनहरु महिना र महिनाहरू वर्षमा परिभाषित हुन थाले । आमाको पनि पहिलाजस्तो घरको सबै काम धन्दा निमिट्यान्न पारेर अफिस जाने अवस्था सकिँदै गइरहेको थियो, त्यसैले घरमा यसो कामधन्दा सघाउन भनी गाउँबाट उसकै उमेरकी कलिकी कोपिला आमाले ल्याइन् । कोपिला पनि ७ कक्षासम्म पढेकी । सुन्दर,हँसिली र फुर्तिली अनि बोलाइली पनि थिई ।

उक्त घरमा कोपिला आएर वातावरण अलिक रमाइलो अर्थात् मान्छे बसेजस्तो लाग्न थाल्यो । छरछिमेकी पनि पातलो भएकोले त्यो घरको वातावरण प्राय: शून्यजस्तै लाग्थ्यो ।

सन्तोषको कक्षामा एउटा नयाँ विषय थपियो स्वास्थ्य शिक्षा । जसमा विद्यार्थीले मान्छेको जीवनको हरेक अङ्गअङ्ग र ती अङ्गहरुको मुख्य भूमिकाबारे पढ्न पर्थ्यो । नारी जातिको अङ्ग, प्रत्यङ्गबारे पनि शिक्षकले सबै कुरा खुलाएर पढाउँथे । मानिसको जन्म कसरी हुन्छ ? मान्छे जन्मिनुमा पुरुष र महिलाको कस्तो भूमिका रहन्छ ? भन्ने बारे शिक्षकले सबै अर्थ्याएर पढाउँदा सन्तोष भने आठौँ आश्चर्यमा परेझैँ देखिन्थ्यो । कता कता उसको मुहारमा सरमका रेखाहरु सल्बलाएझैँ देखिन्थे । त्यो विषय पढाउँदा कक्षा कोठा नै स्तब्ध बन्थ्यो सायद सुरु सुरुमा सबैलाई असहज लागेर होला । छात्राहरु त आँखा झुकाएर नै बस्थे । के गर्ने ? शिक्षकले सबै नसिकाएर पनि नहुने । पाठ्यक्रमभित्र नै पर्ने विषय पर्यो । त्यही विषयमा विद्यार्थीहरुले दाग लगाए भने पनि शिक्षककै कमजोरी ठहरिन्छ ।

यसरी समयसँगै सबै कुरामा परिवर्तन हुँदै गएको थियो । बिस्तारै बिस्तारै सन्तोषमा पनि परिवर्तनका छिटाहरू तप्किन थाले । ऊ पनि अलिक बोल्ने साथीहरूसँग झ्याम्मिने हुन थाल्यो । उसले महसुस गर्न थाल्यो कि समयसँगै आफू पनि बदलिनु पर्ने रहेछ नत्र त जमाना र समयले आफूलाई पछाडि धकेल्ने रहेछ भनेर उसले सोच्न थाल्यो ।

उसको परिवर्तन देखेर घरमा बाउ आमा पनि अचम्भित हुन थाले । उनीहरुलाई त एउटै पीर थियो । सन्तोष बिग्रिएला, भड्किएर हिँड्ला भनेर । छोराको बद्लिँदो स्वभावले उनीहरुमा केही निराशा पनि छाएको थियो । उनीहरु चाहन्थे कि, छोरा केवल किताबी किरो बनोस् । दायाँ बायाँ नगरोस् ,कतै नहिँडोस् । मानौँ छोरा, एउटा छोरा हुनुको नमुना होस् मात्र नमुना ।

सन्तोषकी आमा बाउभन्दा अझ तिक्खर स्वभावकी थिइन् । उनलाई छोरा धेरै बोलेको, साथीभाइसँग घुमेको पटक्क मन पर्दैनथ्यो । सन्तोषको बद्लिँदो आनीबानी देखेर एकदिन उनले छोरालाई बेस्सरी हप्काइन् ।

“ए ! सन्तोषे आजकाल तँलाई निक्कै बैंस आउँदैछ होइन ? निक्कै बोलक्कड पनि भाको छस् । जुल्फी लर्काउँदै हिँड्छस् । के हो तेरो चाला ? फेरि गाई बस्तु गोठाला हुन पर्ला नि ! होस् गरेस् । यताउति तेरो बारेमा सुनेँ भने तेरो स्कुलमै गएर म बेइज्जत गरिदिन्छु नि !”

आमाको यस्तो कर्कस बोली र अपशब्दले ऊ विक्षिप्त बन्यो । उसलाई अति नमिठो लाग्यो र ऊ झोक्राउन थाल्यो । सोच्ने गर्थ्यो आखिर उसले त्यस्तो के नै गरेको छ  र गर्ने वाला छ ? भर्खर पन्ध्र वर्षको केटो । उसलाई साँच्चै भन्ने हो भने नारी र पुरुषको आकर्षण र नारी पुरुषबीचको शारीरिक सम्बन्धबारे पनि राम्रो थाहा थिएन । जब स्वास्थ्य शिक्षा कक्षा सञ्चालन हुन थाल्यो तब मात्र उसले नारी पुरुषबीचको सम्बन्ध, यौनजन्य कृयाकलाप र मानव जन्मबारे बुझ्दै गएको थियो ।

कक्षामा स्वास्थ्य शिक्षाबारे गुरुले पढाइरहनु भएको थियो । भित्तामा मान्छेको सम्पूर्ण शरीरको चित्रसहित गुरुले व्याख्या गरिरहेका थिए । बोल्नमा अभ्यस्त र अप्ठ्यारो नमान्ने विद्यार्थीहरुले गुरुलाई प्रश्न सोध्दै बुझिरहेका थिए । सन्तोष भने चुपचाप कलम मुखमा टोकेर एकोहोराे भएकाे थियो । सन्तोषको त्यो चाला देखेर सरले सन्तोषलाई उठाएर प्रश्न सोधे, “सन्तोष ल भन् त युवतीहरुलाई आमा बन्न कति कुराले भूमिका खेलेको हुन्छ र कुन उमेरदेखि युवतीहरु आमा बन्न सक्षम हुन्छन् ?”

ऊ अवाक् बनेर हेरिरह्यो । उसको ध्यान भने घरमा आमाले गरेको व्यवहार र आमाको गालीमा केन्द्रित थियो । उसलाई त लागिरहेको थियो कि, कक्षामा मैले यही विषय पढ्न थालेदेखि ममा पनि अलिक परिवर्तन आयो । म कतै आफूलाई अलग बाटोमा त लगिरहेको छैन ? ऊ फेरि गुरुको आवाजले झस्कियो र मलाई यसको जवाफ आउँदैन भन्यो ।

गुरुले सबै साथीहरुको अगाडि बेस्सरी सन्तोषलाई हकार्दै , “भोली यो प्रश्नको जवाफ तिमीले आमासँग सोधेर भए पनि भन्न सक्नु पर्छ । यदि मैले पढाको बुझेनौ भने । आमाले सहजै भन्नु हुन्छ । आमा झन् पहिलो शिक्षिका हुन् छोराछोरीका लागि ।”

उसले यसको जवाफ चाँहि नडराई गुरुलाई भन्यो, “सर मलाई आमासँग सोध्न डर लाग्छ यस्तो लाज हुने प्रश्न ।”

गुरुले सन्तोषलाई बुझाउने भावले फेरि भने, “हेर यो लाजको विषय होइन । यो प्रकृतिको नियम हो । महिला, पुरुषमा आकर्षण हुनु, फेरि विवाह हुनु अनि सन्तान जन्मिनु । अहिलेको समयमा पनि यस्तो विषयमा लजाउन थाल्यौ भने पछि डाक्टर पढ्ने इच्छा भयो भने कसरी पढ्छौ ? आमालाई यति प्रश्न सोद्धा केको लाज ? सोध्न सक्छौ मज्जासँग ।”

तर आमाको कर्कश आवाज र छोराप्रतिको बन्देज ती गुरुलाई के थाहा ?

गुरुले मज्जाले सम्झाए सबै विद्यार्थीलाई,  “आफ्नो स्वास्थ्यको विषयमा जानकारी लिन धक मान्नुहुन्न । सबैले जान्न जरुरी छ । खुलेर बोल्ने, मनमा उठेको कौतुहलता सोध्ने । लजाएर,धकाएर अघि बढिन्न ।”

सबैले हुन्छ सर भनेर टाउको हल्लाए ।

०००

घरमा काम गर्न बसेकी कोपिला फर्साईली,हँसिली र शालीन पनि थिई । सन्तोष कहिलेकाहीँ ऊसँग पनि बोल्न थालेको थियो तर आमाको छेउमा भने डराउँथ्यो । आमाले पनि सन्तोषलाई कोपिलाको अगाडि ढिम्किन दिन्नथिइन् । तिनीहरु पर परै हुन्थे । कोपिला पनि खुलेर सन्तोषसँग बोल्दिन थिई तर कहिलेकाहीँ मुसुक्क हाँसेर मस्किन्थी ।

समयले पङ्ख फिँजाउँदै बिस्तारै उडान भरिरहेको थियो । कक्षा नौका विद्यार्थीहरु पनि दशमा उकालो चढे । सन्तोष पनि यो समय अलिक बोल्ने र रुमानी बनिसकेको थियो । देख्नमा पनि सुन्दर, शालीन र अल्पभाषी थियो । केही केटीहरु पनि ऊसँग आकर्षित बनिरहेका थिए तर सन्तोषको शालीन स्वभाव र अबोलापनाले केटीहरु हम्मेसी ऊ नजिक आउन सक्दैनथे ।

एकदिन कक्षा दशका विद्यार्थीहरुलाई शिक्षकले शैक्षिक भ्रमणमा लैजाने योजना बनाए । सबै विद्यार्थीहरु राजी भए तर सन्तोषलाई भने आमाबाउले जान नदिने भए । सन्तोषले कति बिन्ति गर्दा पनि – “ऐले तेरो घर छाडेर हिँड्ने बेला होइन । हैन पढाइ त स्कुलमा पो हुन्छ त हौ ! कस्तो घुमाउन लैजाने भनेका विद्यार्थीलाई ? बढेको छोराछोरी त्यसरी रातबिरात कहाँ एकजना गुरुको भरमा छाड्ने ? पर्दैन जान ।” भनेर जान दिएनन् । ऊ जान पाएन ।

शैक्षिक भ्रमणमा गएकोले स्कुलमा दश कक्षाका विद्यार्थीलाई एकहप्ता छुट्टी दिए । सन्तोष घरमै बस्ने भयो । सन्तोष घरमै बस्ने भएकोले आमाले भनिन्, “तेरो छुट्टी छँदैछ दुईचार दिन घर रुँगेर बस् । बाउ र म यसो मावला पुगेर आउँछौँ । कोपिलाले भात पकाएर खुवाइ हाल्छे । आनन्दले पढ्दै घरमा बस्नु । त्यहाँ कोपिलासँग किच्करिने होइन नि ! आजकल तँ निक्कैको भाको छस् । किन हो कुन्नि ! बैंस चढेको हो कि ?”

सन्तोषलाई पनि अब भने अत्ति भएछ कि क्या हो ? उसले पनि आमालाई जवाफमा भन्यो, “त्यस्तो लाग्छ भने मलाई मेरै कोठामा ताला लगाएर जानु न ! त्यो कोपिलालाई पनि आफूसँगै लगे भो । घरमा बसेको मान्छेसँग बोल्दै बोल्नु हुन्न मैले ? किन यस्तो कुदृष्टिले मात्र मलाई हेर्नुहुन्छ ? म पनि मान्छे हुँ नि ! मलाई पनि बोल्न, हाँस्न मन लाग्छ । जमाना कहाँ पुगिसक्यो ? तँपाईंहरुको सोच कति पुरानो ?”

यसरी छोरो बोलेको सुन्दा र छोराको बदलिँदो व्यवहार देखेर आमाबाउ दुवै मौन बने । सायद सोचे हुन्, साँच्चै हामी गलत पो सोच्दैछौँ कि भनेर ।

भोलिपल्ट सन्तोषका बाउआमा बाटो लागे । घरमा सन्तोष र कोपिला रहे । पहिलो दिन त उनीहरु एकार्काको छेउमै परेनन् । पकाको भात सन्तोषले आफैँले झिकेर खायो कोपिला पनि परपरै हुँदै काम गरिरहेकी थिई । सन्तोष पनि आफ्नै कोठामा बसेर पढिरहेको थियो । भोलिपल्ट अचानक -“दाइ चिया खाने ?” भन्ने वाक्यले सन्तोष झस्कियो । यसो टाउको फर्काएर हेर्दा कोपिला मधुर मुस्कानको साथ ढोकामा उभिइरहेकी थिई । कोपिलाको मधुर मुस्कान सहितको उपस्थितिले किन हो किन सन्तोषलाई मिठो झट्का मुटुमा लागेझैँ भयो । ऊ केहीबेर मौन नै बनेको देखेर कोपिलाले फेरि मिठो मुस्कानसहित -“चाँडो भन्नु न ! नत्र म लुगा धुन जान्छु ।” भन्दै लाडिएरको आवाजमा भनी । तबमात्र सन्तोष झसङ्ग झस्कियो र शिर हल्लाएर हुन्छ भन्ने संकेत गर्यो । कोपिला पनि लजावती झारझैँ लपक्क पर्दै भान्सातिर लागी । कोपिला गएकी सन्तोषले परसम्म हेरिरह्यो ।

खै ! त्यो क्षणदेखि सन्तोषलाई के भयो कुन्नि ? एकोहोरो टोल्हाएर सोच्न थाल्यो । अनेकानेक कुराहरु मनमा खेल्न थाल्यो । आफू आफूभित्रै हराएझैँ लाग्न थाल्यो । कक्षामा शिक्षकले पढ़ाउनु भएको स्वास्थ्य शिक्षाका विषयहरुबारे सम्झिन थाल्यो । नारी र पुरुषबिचको आकर्षण र त्यस्तै त्यस्तै अन्य कुराहरु । घरीघरी आफूलाई ऐना अगाडि उभाएर नियाल्न थाल्यो अनि आफ्नो उमेरको अङ्क गन्न थाल्यो ।अब त सोह्र टेकेर पनि सत्र लाग्ने बेला भएछ भनेर मनमनै गुन्यो ।

हातमा चियाको कप बोकेर कोपिला अगाडि उभिई । चिया कोपिलाको हातबाट लिँदा उसको हातसँग छोइयो । सन्तोषलाई हातमा नै बिजुलीको झट्का लागेझैं भयो । कोपिलाको पनि उसको हात सन्तोषको हातसँग छोइँदा लजाउँदै कुदेर गई । कोपिलालाई पनि सन्तोष केही परिवर्तन भएझैँ लागेर अलिक संकोच मानेझैँ गरी परपर हुन थाली तर पनि कोपिलाको मुहारमा भने लाजको रातो लाली छाउँदा सन्तोषलाई एक किसिमको आनन्द आइरहेको थियो ।

सन्तोषले सोच्न थाल्यो सायद नारी, पुरुषबिचको आकर्षण यसैलाई भनिन्छ होला । मलाई पनि कोपिलासँगको नौलो सोच र नयाँ अनुभव हुनुको अर्थ यस्तै होला । तर …अँह ऊ मेरी बहिनी समान छे । मैले उसलाई गलत नजरले हेर्नुहुन्न । तर मैले गलत नजरले हेरेको पनि त होइन । उसको मधुर मुस्कान र लज्जा नै कति सुन्दर लाग्छ । उमेर हुँदै गएपछि मात्र केटाहरुलाई पनि थाहा हुँदो रहेछ युवतीहरुप्रतिको आकर्षण र मन पराइ ।

ऊ नौ कक्षा पढ्दा ताकाको समयमा फर्किएर सोच्न थाल्यो । सीमा जो उसकै क्लासकी छात्रा थिई, कोपिलाले जस्तै गरेर लजाउँदै, मस्किँदै सन्तोषसँग बोल्थी । सन्तोषलाई टाढाबाट पनि हेरिबस्थी । केही न केही बहानामा सन्तोषको नजिक आएर बोल्ने गर्थी तर सन्तोषले उसलाई वास्तै गर्दैनथ्यो । कति पटक छेवैमा आएर पनि बसेकी थिई तर उसलाई केही फरक परेको थिएन । आज ऊ सोँच्दैछ , मैले सीमाको प्रेममय भाषा र आकर्षणको अर्थ बुझिनछु । कति केटाहरुले झिस्काउँथे पनि उसलाई तर ऊ त्यस्ता व्यङ्ग्यभाव बुझ्दैनथ्यो।

आज सन्तोष सम्झिँदैछ सीमाको त्यो हावभाव अनि नजिक हुन खोज्नुको अर्थ र सम्झिँदैछ साथीहरुको व्यङ्ग्यमय वाक्यहरु । बल्ल बुझ्दैछ विपरित लिङ्गको आकर्षण । अब भने सोच्दैछ ऊ । सीमाको मनको कुरा नबुझेर उसले गल्ति गरेछ किनकि एकार्कामा चाहनु भनेको गलत होइन । यो त प्राकृतिक नियम हो । यसलाई मिठो प्रेममा परिभाषित गर्नुपर्छ न कि आलिङ्गन र चुम्बनको स्वार्थमा मात्र यसलाई समाहित गर्नु । केही साथीहरुले यस्ता व्यवहार उसलाई नसुनाएको पनि होइन तर उसले कहिल्यै वास्ता गरेन । उसलाई ती साथीहरुसँग अब भने घृणा पनि लाग्न थाल्यो ।

सन्तोष यस्तै यस्तै कुराहरु सोचिरहेको थियो, कोपिलाले फेरि खाना खाने भनेर खबर दिई तर सन्तोषलाई भान्सामा गएर कोपिलासँगै खाना खाने इच्छा भएन, कारण उसले बुझिसकेको थियो । हरेक युवा-युवतीमा आकर्षण हुन्छ । माया, प्रेम बस्न सक्छ त्यसैले उसले कोपिलाको दमित आकर्षणको भाव बुझी सकेकोले ऊबाट टाढिन नै बेस हुन्छ भन्ने सोचमा थियो । किनकि कोपिला उसको घरमा एक बहिनीको रुपमा भित्रिएकी थिई । उसमा अञ्जान प्रेम पलायो भने पनि मैले पाप सोच्न हुन्न ।कुदृष्टिले हेर्न हुन्न र झुटो आश्वासनमा मक्ख पार्न हुन्न भन्ने लागिसकेको थियो ।

सन्तोषका सहपाटीहरु भ्रमण सकेर फर्किए । भोलिदेखि स्कुल पनि लाग्ने भयो । ऊ व्यग्र प्रतीक्षामा रह्यो । कहिले भोलि हुन्छ र सीमालाई भेट्ने भनेर ।

सन्तोषका बाउआमा पनि साँझमा घर आइपुगे । यात्राको थकानले चुर भएकाले बेलुकाको भात खाएर ओछ्यान पसिहाले । सन्तोष पनि आफ्नो कोठामा पसिसकेको थियो । कोपिला भान्साकोठामा यताउति गर्दै सन्तोषलाई पनि चिहाउँदै थिई तर सन्तोष भने कोठा बन्द गरेर सुत्ने तरखरमा थियो । ऊ एकपटक सन्तोषलाई एक झल्को मात्र चिहाएर सुत्न पाए हुन्थ्यो भन्ने प्रतीक्षामा थिई ।

भोलिपल्ट स्कुल लाग्यो । सबै साथीहरु निक्कै रमाइला, हँसिला देखिन्थे । एकार्कामा यात्रामा रमाएका कुराहरु गरेर गफ़्फ़िइरहेका थिए । सन्तोष भने चुपचाप बसेर सीमाको बाटो कुरिरहेको थियो । केही क्षणमा अलिक पर बाटोमा दुईवटा छाँयाहरु सल्बलाएझैँ देख्यो उसले । अलिक नजिक आइपुग्दा ती छाँयाहरु हातको इशाराले बाइबाइ गर्दै छुट्टिए । जब नजिक आइपुगे ती दुई छाँया । ऊ झस्कियो । सीमा र कमल रहेछ ।

सीमा सन्तोषकै नजिक भएर आई तर पहिलाजस्तो सीमाको व्यवहार र हाउभाव सन्तोषले पाएन । सीमा त “हेल्लो सन्तोष” मात्र भनेर कक्षा कोठामा पसी । सन्तोष निराश बन्यो र आफैँलाई धिक्कार्यो । प्रेमको भाषा नबुझ्नु र नारीको आकर्षण नबुझ्नु पनि युवावस्थामा श्राप नै रहेछ । मैले बुझेको भए सीमा मेरो मनमा बस्न सक्थी सायद ! अब ऊ त अर्कैकी भइसकिछ ।

जे होस् । कोपिलाको मायालु व्यवहार र लजालु स्वभावले मलाई एउटा तरुण युवक हुनुको बोध गरायो । नारीप्रतिको स्वच्छ र निस्वार्थ प्रेमको आभास दिलायो । तर कोपिलाको पनि त मेरो जस्तै मन टुक्रियो या टुक्रिन्छ होला तर मन पराएँ भन्दैमा नाता, गोता, सम्बन्ध र आफ्नोपन पनि त बिर्सिनु हुन्न । मैले झुटो आश्वासन र नाटक मात्र गरेर उसको जीवनसँग खेल्नु पनि त हुन्न । यदि त्यसो गर्नु हो भने त अन्य ती गतिछाडा केटा सरह नै भएँ नि म पनि । मन पराएको मान्छे नै आफ्नो बन्छ र बनाउनु पर्छ भन्ने छैन । सीमालाई मैले अज्ञानताको नाताले बुझिनँ र उसलाई चित्त दुखाएँ, सायद अब कोपिलालाई पनि मैले निस्वार्थ भावले टाढा पन्साउनै पर्छ नि !

एक त आमा हिट्लर शासनकी मान्छे । वहाँको बन्देज, शासन र कठोर अंकुशको कारणले पनि म यस्तो कुराबाट अनभिज्ञ बनेँ । यो एक पक्षीय राम्रो कुरा पनि हो तर चाहिनेभन्दा बढी निगरानीले पनि मलाई कति कुरामा पछाडि धकेलेको छ जसको कारण म साथीभाइको उपहासको पात्र पनि बन्छु।

आजकल सन्तोष अझ एकान्तप्रेमी र अझ शालीन देखिन थालेको छ । ऊ मनमा हरेक तर्कना लिएर सोची बस्छ ।अनि साथीहरुले जिस्काउँदै भन्छन् -“सन्तोषलाई पनि प्रेम रोग लागेछ।” । ऊ मनमनै सोच्छ र भन्छ, “जसले दश कक्षा पढुञ्जेलसम्म पनि प्रेमको भाव र विपरित लिङ्गप्रतिको आकर्षण नै बुझेको थिएन जसलाई, एउटी घरमा राखेकी अञ्जान, अनपढ युवतीले आँखा खोल्दिई, उसैलाई यस्तो शंका गर्ने ।” ऊ मनमनै मुर्मुरिन्छ तर पनि मौन बन्छ र सम्झिन्छ फेरि कोपिलाको लजालु र मायालु मुहार अनि सीमाको अञ्जान प्रेमको प्रस्ताव ।