“पतिको मृत्युपछि सँगै चितामा जल्ने स्त्रीलाई सति भनिन्छ। तर पत्नीको मृत्युपछि सँगै चितामा बल्ने पतिलाई चाहिँ के भनिन्छ ?” हाम्रो समाजले यो सम्बन्धमा केही नाम दिए जस्तो लाग्दैन मलाई।
आजको नारायणी दैनिकी खबर पत्रिकामा एउटा अपत्यारिलो समाचार छापिएको छ। पत्रिकाको मुखपृष्ठमा छापिएको हुनाले हामी अन्दाज लाउन सक्छौँ कि यो समाचार ज्यादै खोजमुलुक र रहस्यमय छ, जसको शीर्षकले पनि पाठकको ध्यानाकर्षण हुन्छ । समाचारअनुसार “भरतपुरका एक रिटायर्ड जर्नेलले आफ्ना छोरालाई पत्र लेखेर आफूलाई गोली हानी आत्महत्या गरे” । कुरो आत्महत्यासँग जोडिएकोले सबै पाठकको संवेदनशीलतालाई छुनु स्वाभाविकै थियो । मैले पनि समाचार पढेँ ।
पढ्दै जाँदा मनमा एक प्रकारको खुलदुली, बेचैनी र नरमाइलो लाग्न थाल्यो ।
“जर्साबले आफू मर्नुअगाडि छोरालाई पत्र किन लेखे होलान् ? पत्रमा त्यस्तो के थियो ? उनले के कारण आफूले आफैलाई गोली हानी आत्महत्या गरे ?”
यो जान्नुअघि, संक्षेपमा जर्नेलले आफ्ना छोरालाई के कारणले पत्र लेखे भन्ने बारेमा थाहा पाउनु जरुरी हुनेछ।
०००
सेनामा जर्नेल पदबाट रिटायर्ड भएपछि उनी आफ्नी श्रीमतीसँग भरतपुरमा आफूले बनाएको एक महँगो बङ्गलामा बस्नथाले। नारायणी नदी तटमा सानदारको आधुनिक घर थियो, वरिपरि बगैंचा, नोकरचाकर, दुधालु गाई, स्विमिङ पुल सहितको त्यो घर, त्यो वरिपरिको एउटा सान नै थियो । जसले पनि जर्साबको घर भन्थे पुलुक्क फर्किहेर्थे। नेपाल एकीकरणका अभियन्ता वीर भक्ति थापाका सन्तान थिए जर्नेल पृथ्वी बिक्रम थापा । आँगनमा घोडा साथमा अंग रक्षक पुर्ख्यौली सम्पत्ति पनि प्रशस्त त छँदै थियो त्यो माथि पनि उनले आफूले जोडेको मेघौली एयर्पोट नजिकै हाइवेमा पाँच बिघामा ठुलो फार्म हाउस थियो । त्यँहा आठ-नौ जना त कामदार नै थिए ।
उनका दुई छोरा थिए । अजित बिक्रम थापा-जेठाे छाेराे र असीम बिक्रम थापा-कान्छाे छोराे । उनीहरू अमेरिकामा बस्थे। यहाँ यो उल्लेख गर्न आवश्यक छैन कि ती जर्नेलका बुढाबुढीले आफ्ना दुई प्यारा सन्तानलाई हुर्काउन जिन्दगीमा कुनै कसर बाँकी राखेका थिएनन्। बालबालिकाले पनि सफलताको सिँढी चढे। उनीहरु पढेर लेखेर यति योग्य भए कि तिनले विश्वकै प्रतिष्ठित कर्पोरेट कम्पनीमा जागिर पाए । संयोगवश, दुवै दाजुभाइ आ-आफ्नो परिवारसँग एउटै देशमा बस्थे, तर अलग अलग।
एक दिन एक्कासि बाबुले रुँदै आफ्ना छोराहरूलाई फोन गरी खबर सुनाए, “छोरा हो ! तिमीहरूको आमा अब यो संसारमा रहिनन्। म धेरै दुखमा छु। हिन्दू परम्पराअनुसार आफ्नी आमाको अन्तिम दाहासंस्कार गर्न तिमीहरू अवस्य नेपाल आउने नै छौ। म तिमीहरूको आगमनको प्रतीक्षामा छु। तिमीहरू नआउँदासम्म म भरतपुर अस्पतालको बेडमै हुनेछु र तिमीहरूको आमाको भौतिक देहलाई यही अस्पतालमा कुरेर बसिरहनेछु।”
खबर पुगेको पर्सिपल्ट कान्छो छोरा आइपुगे। र हतारमा अस्पताल पुगे । जहाँ जर्साहेब एक्लै अस्पतालमा आफ्नी प्रिय पत्नीको भौतिक शरीर कुरेर बसिरहेका थिए।
कान्छो छोरालाई देखेर जर्नेल बेस्सरी रोए। छोरालाई अँगालो हाले। अस्पताल आउने सबै जना भन्दै थिए कि- “यस्तो बुढा मान्छेले आँसु झार्दै रोएको कस्तो नसुहाउने रहेछ है !”
जब कान्छो छोरा बुबाको काखमा घोप्टिएर रुन थाले अनि जर्नेलले कान्छोलाई सोधे, “कान्छा ! दाजु आएन ? अब कति घन्टामा आइपुग्छ त्यो अमेरिकाबाट ? जेठो नआइकन तिमीहरूको आमालाई देवघाट नलाने ।”
बुबाको इच्छा कान्छो छोराले बुझे पछि दाजुले आफूलाई भनेको कुरा बुबालाई सुनायो, “मलाई जागिरबाट बिदा मिलेन । त्यसकारण आमाको मृत्युमा तिमी नेपाल जाऊ, अनि बाबुको मृत्युको बेलामा तिमीले जानुपर्दैन म मात्रै जाउँला। हामी पालो पालो गरेर जाउँला ।”
आफूले अति माया गरेको जेठो छोराबाट यस्तो वचन सुनिसकेपछि अक्क न बक्क भए। पत्नीको देहावसानका कारण विक्षिप्त बनेका जर्नेल साहेबलाई असह्यै भयो। आफ्ना आँखाबाट बहेका आँसु कसैले देख्लान् भनेर उनी पिल्पिल गर्दै पत्नीलाई पहिला राखेको अस्पतालको बेडभित्र पसे। धेरै पटक आफूलाई सम्हाले, त्यसपछि जेठो छोरालाई पत्र लेखे।
०००
प्यारो जेठु !
म र तिम्री आमाले तिम्रो लागि हिसाबकिताब मिलाएर कर्तब्यको भाग लगाएनौँ अहिले तिमीले बाँडेजस्तो । मात्र हृदयभरिको माया पोख्यौँ । मायाले हुर्कायौं। हरदिन तम्रो भविष्य सोच्यौँ । संसारका सारा सुख दियौँ। उत्कृष्ट देश र संसारका अब्बल ठाउँहरूमा शिक्षा दिक्षा दिलायौँ। जब तिम्री आमाले आफ्नो जीवनको अन्तिम श्वास लिँदै थिइन्, म उनको साथमा थिएँ, उनी मर्ने बेलामा तिमीहरु दुवैको अनुहार एकपटक भए पनि हेर्न चाहन्थिन् र दुवैलाई काखमा लिएर चुम्बन गर्न चाहन्थिन् । ऊ तिमीहरु दुवैका हातमा आफ्नो प्राण बिसाएर स्वर्ग जान चाहन्थिन्। उनको मृत शरीरको छेउमा तिमीहरू दुवैलाई पर्खिरहेको थिएँ। त्यतिबेला मेरा छोराहरू यहाँ भइदिएका भए तिमीहरूकी आमाले आँखा नखोले पनि उसको आत्माले भन्थ्यो होला- “कि मेरा दुवै छोराहरु आज हजुरसँगै त छन् ! हजुर धेरै दुखी नहुनु है !” भनी सम्झाउँथिन् होला ।
मलाई सान्त्वना दिन तिमीहरू मेरो साथमा मेरो नजिक होऊ भन्ने चाहना थियो। जेठु ! अब मेरो मृत्युपछि मेरो मृत शरीरको छेउमा तिम्रो प्रतीक्षा गर्ने कोही हुनेछैन किनकि तिम्री आमा मलाई छोडेर अघि गैसकिन्। तिम्ले भाइसँग खबर पठाको रहेछौ कि, “तिमी आमाको पालामा जाऊ, म बुबाको पालामा जान्छ” । अब भो जेठु! तिमी मेरो मृत्युपछि मेरो चितामा आगो लगाउन नआउनू। म तिम्रो हातबाट अग्निदाह लिन चाहन्न।
कान्छु नेपाल आएको छ अब हामी दुवैलाई सँगै उसैले आगो देओस्। म यही चाहन्छु। भो तिमी नेपाल आउन पर्दैन । तिमीलाई बिदा नमिल्ला। म पनि अब मेरै पत्नीसँगै जानु राम्रो हुन्छ। मलाई बाँच्ने अधिकार छैन किनभने जुन समाजले जीवनभर धनको साथसाथै इज्जत पनि दियो, त्यही समाजलाई मैले तिमी जस्तो असभ्य नागरिक दिएँ ।
मेरो अन्तिम चाहना छ कि मेरो मेडल र फोटोहरू बटालियनमा फिर्ता होस्, आमालाई उपचार गरेर बाँकी रहेको पैसा केही कामदारहरुलाई दिनू । बैंकको निक्षेपको आधा पुँजी वृद्धाश्रम सेवा केन्द्र देवघाटमा र आधा सैनिक कल्याणकारी कोषमा जम्मा गरिदिनू । मेघौलीको जमिन जस जसले कमाइरहेका छन् तिनै कुमाले र माझीहरुलाइ दिनू। यो पत्र तिम्रो हातमा नपुग्दै मैले विश्व धराबाट बिदा लिइसकेको हुनेछु।
तिम्रो बुबा !
०००
हस्पिटलको प्राइभेट क्याबिनबाट गोलीको आवाज आयो । जर्नेल साहेबले आफैँलाई गोली हानेछन् !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।