चोर्ने बानी उसको कसरी बस्यो, यसबारे यक्किन थाहा छैन, त्यसकारण स्पष्टीकरण दिनु छैन । साँच्चिकै आफ्नाे जन्मदेखि लिएर आजसम्म पनि ऊ केही पनि जान्दैन । उसले यस्ता दुनियाँमा आफूलाई आँखा उघारेदेखि फेला पारेको थियो, जहाँ चोर बन्नु सायद नागरिक बन्नु भन्दा पनि अनिवार्य थियो ।

यो कुनै मनोवैज्ञानिक ग्रन्थिको कुरा होइन । न कुनै सामाजिक समस्या । यसमा खास कुनै राजनीति पनि देखिँदैन । परिबन्द परिस्थितिले ऊ चोर ठहरिन गयो, यस्तो पनि होइन । कुनै विवशता, भोक, विद्रोह अथवा कुनै लहडले चोर बनेको होइन भन्ने उनको धारणा छ ।

ऊ त केवल यत्ति जान्दथ्यो कि उसको बाबु पनि चोर थियो ।

ऊ पनि चोरै थियो । अझ चोरै जन्मेकाे थियो भने पनि कुनै मान हानिको प्रश्न छैन, श्रीमान् । भनिन्छ, उसको जन्मभन्दा केही समयमात्र अघि, उनीहरूको टोलको एउटा नामी चोर मरेको थियो । त्यसपछि ऊ जन्म्यो । सबैको अड्कल थियो (हुँदो हो) ऊ त्यही चोरको फेरिएको चाहिँ जुनी हो ।

समानता : मर्ने र जन्मने दुवै चोर प्रायः टाट वातावरण सास फेर्ने गर्थे ।

उसमा चोर्नुप्रति कुनै अज्ञात कारणले भनुँ, चोर्नुप्रतिको सबै लगाव रह्यो ।

उसले देख्यो सारा चोर्छन् । र मान्छेको सम्पूर्ण मौलिकता, चोर्ने तरिकाको मौलिकताले मात्र त्यहाँ ठम्मिदोरहेछ । तपाईं यसलाई यस शताब्दीको कुरो ठान्नुहुन्न भने पनि ठिक्कै छ । यो कुनै अरू शताब्दीकै कुरो हो । यसले फरक के पर्छ ? अझ भनुँ यो भन्नु त एउटा पेशागत धर्म पनि हो ।

भने हेर्नुस् महानुभावहरू, हरियोस् यो बाटुलो, घुमिफिरी एकै ठाउँमा आइपुग्ने चटक । जति चोर्‍यो त्यति आम्दानी बढ्छ, जति आम्दानी बढ्छ त्यति मान बढ्छ, जति मान बढ्छ, त्यति दर्जा बढ्छ, जति दर्जा बढ्छ, त्यति चोरी बढ्छ ।

चोरी नगरेको दिन, मान्छेहरू पक्राउ पर्थे । किनभने एउटा क्षति र एउटा चिटिक्क पारेर थामेको कुरामा गडबड उत्पन्न गर्ने वा बिगार्ने कोशिस हुन्थ्यो ।
ऊ जबसम्म चोरिरहन्थ्यो, उसका दिन र रातहरू सुख चयनमा गुज्रान हुने गर्थे ।

चार दिनदेखि चोर्न पाइएन, सरप्लस धनले गर्दा । उसमाथि टोलेहरूका सदिग्ध आँखा गाडिन थाले ।

अनि हिजो त, ४-५ जना पुलिस आएर उसलाई गिरफ्तार पो गरे बा । उसले सोध्यो-के अभियोग लाउँछौ ?

—चोरीको । पुलिसले खोक्रो र कठोर शब्द झार्‍यो ।

—चारी त मैले गरेको छैन ? उसले भन्यो । वास्तवमा ऊ यस एक्कासिको आरोपले अलमलमा परेको थियो ।

—तपाईंले नगरेको कुरा पनि के भो ? चोरी नै भयो होइन ? पुलिस अफिसरले व्याख्या गर्‍यो—वास्तवमा चोरी भन्ने शब्द कुनै न कुनै रूपमा तपाईंमाथि लागु हुन्छ । हामीलाई यति नै प्रशस्त छ, तपाईं कहाँ आउन ।

भने ऊ समातियो । थुनियो । एकदिन उसलाई लगेर अड्डामा पेश गरे ।

एउटा राम्रो र सिंगारिएको मेचमा उसको फैसला गर्ने मान्छे बसेको रहेछ । त्यसको नाउँ रहेछ ‘नाफनाफ’ । त्यसको दारी नचाहिएका बखत पनि हल्लिँदो रहेछ । यही एउटा उसमा खास विशेषता रहेछ र सुनिन्छ यसै एउटा अद्भूत विशेषताले गर्दा त्यो न्यायकर्ता नियुक्त भएर बसेको थियो ।

त्यसले उसमाथि धेरै अभियोगहरू लगायो । ती सबै चोरीहरूको उल्लेख गर्यो, जुन उसले भूतकालमा सम्पन्न गरेको थियो । त्यसमाथि मूल आरोप के भने, यदि उसले चोरी चालु नै राखेको भए, आज यो परिस्थितिनै आउँदैनथ्यो, धिक्कार भाग्य ।

चलन यो थियो कि ‘नाफनाफ’ले चोरी भन्ने अभियोग साबित गर्दा दसी प्रमाण दिएन भने, न्याय अपर्याप्त ठहरिन्थ्यो ।

भने उसले देख्यो ‘नाफनाफ’ आफ्नो बगलीबाट एक एक गरेर ती प्रमाण वा वस्तुहरू झिक्दै टेबिलमा राख्न थाल्यो, जुन उसले कुनै बखत चोरी गरेर जम्मा पारेको थियो ।

त्यो देखेर उनको पहिलो भाव चिन्ताको थियो—ऊ अब गरिब भएछ । यो जम्मै चोरी नगर्नुको भुक्तमान हो । तिमी चाेर भएर पक्राउ पर्छौ राम्रो कुरा होइन ।

दोस्रो भाव अचम्म र उदेकको थियो कि यो मानिसले कुन चटक गरेर उसले चोरेका मालहरू आफ्नो खल्तीबाट झिक्न सकेको हुँ ?

त्यसले आफ्नो खल्तीबाट जे पनि झिक्न सक्दोरहेछ ।

उसको आश्चर्यलाई देखेर नाफनाफले सोध्यो—तिमीलाई केही भन्नु छ कि ?

श्रीमान्, मैले चोरेका मालहरू किन हजुरको बगलीबाट निस्किन्छन् ? नाफनाफ मुसुक्क हाँसेर बसिरह्यो ।

उसलाई पछि थाहा भयो, उसलाई सुलीमा हाल्ने आज्ञा भएछ ।

नाफनाफले फैसला गरेपछि, उसले चोरेका बस्तुहरू, एक से एक र दुई कौडीका, एउटै नविराई, आफ्नो घर्राभित्र हाल्यो र ऊतिर हेर्यो ।

त्यसले भन्यो—तिम्रो आखिरी धोको केही छ कि ? भन ।

उसले उत्सुक भएर भन्यो—श्रीमान्, मैले चोरी गरेका सामानहरू हजुरको बगलीबाट कसरी निस्के ?

नाफनाफले हाँसेर भन्यो—मैले यो रहस्य बताइदिएँ भने, म यस मेचमा बस्न पाउन्न । तिमी नाफनाफ हुन्छौ र म तिम्रो ठाउँमा चोर, बुझ्यौ ? जाऊ आफ्नो काम गर ।

उसको काम अब सूलीमाथि चढ्न मात्र रहेको थियो ।

तपाईंलाई कस्तो लाग्ला, यदि भनियोस् कि ऊ शिर उचाली सूलीतिर लम्किन थाल्यो ।

कस्तो लाग्ला, यदि भनियोस् ऊ फेरि सूली चढेर, नाफनाफको गोजिबाट निस्कने आशामा सूली चढ्न थाल्यो ।

सूलीतिर पुगेपछि उसको आश्चार्यको सीमा रहेन । तिनीहरूले त उसलाई सूलीमा चढाइसकेका रहेछन् ।

ऊ आफ्नो मृत्युमा शोक मनाउन थाल्यो ।

उसलाई फेरि समातियो । यस पल्ट ऊ, बगलीमारको रूपमा समातिएको रहेछ, किनभने, उसले नाफनाफको बगलीबाट निस्किने रहर पालेर मर्न खोजेको थियो ।

(पुस्तक“अभिव्यक्ति पूर्णाङ्क २००”बाट)