‘अब एक चानस त हेर्ने-हेर्ने ।’ सुशीलाको स्वरमा दृढता थियो । सुनेर सुशीलले अनुहार कालो पार्यो । कति चाँडो उसको अनुहारको रङ बदलिन्छ भनेर साध्यै छैन । उसको अनुहार त्यसै त हिस्सी मरु—त्यसमाथि पनि उसलाई बिलकुलै मन नपरेको कुरामा उसकी स्वास्नीको लिँडे ढिपी । लामो सास फेर्छ, अनि बिस्तारै भन्छ,‘लौ, तिम्रो जस्तो इच्छा ।’

नगेन्द्रराज शर्मा

भन्न त भन्छ तर आफैँले भनेको कुरा आफैँलाई मन पर्दैन उसलाई । दिक्क हुन्छ । जुरुक्क उठेर दुई लात दिऊँ स्वास्नीलाई चुल्ठामा समातेर जस्तो लाग्छ तर मीठो मुखले सोध्छ, ‘त्यसो भए यसपालि त तिमीलाई पक्का विश्वास छ त ?’

स्वास्नी सोच्छे कस्तो मूर्ख होला उसको लोग्ने, यो पनि कुनै विश्वास गर्ने वा नगर्ने करा हो र ? ‘विश्वास-अविश्वासको कुरा त होइन, तर पनि एक चानस हेर्ने मन छ ।’ मात्र भन्छे ।

माहिली छोरी नजन्मँदै उसले भ्यासेक्टोमी गर्ने अठोट गरेको—अब ठाहिँली टुकटुक हिँड्न थालिसकी—अझै लोग्नेस्वास्नी राय मिल्न सकेको होइन । स्वास्नीचाहिँलाई एउटा धुतुमुने छोरो नभई भा’ छैन—त्यो जन्मिदिएको होइन । लाेग्ने चाहेर पनि स्वास्नीको इच्छाको विपरीत केही गर्न सक्तैन—ऊ पनि त सुशीलादास हो नि—अरू अनेकौँ पत्नीदासहरू जस्तै ।

स्वास्नीकै ढिपीले गर्दा पोहोर र परार अर्थात् काहिँली र ठाहिँलीको पालामा पनि धोका खायो उसले । त्यसै बेला स्वास्नीले भनेको नमान्न सकेको भए कस्तो राम्रो हुने ! कहिलेकाहीँ उसलाई लाग्छ, उसकी स्वास्नीभन्दा ठूलो उसको अर्को शत्रु छैन, उसले जेजति दुख पा’ छ—स्वास्नीकै कारणबाट । उसलाई विश्वास छ—यो ढिपी अर्थात् स्वास्नीको अब अझै ‘एक चनास हेर्ने’ भन्ने लिँडे ढिपीले फेरि पनि उसलाई मुक्ति दिँदैन । किनकि यदि यो पनि छोरी नै जन्मी भने उसकी स्वास्नीले पक्कै पनि फेरि ‘एक चानस हेर्ने’ ढिपी गर्छे-गर्छे ।

उनीहरू पढेलेखेका दम्पती हुन्, प्रेमविवाह गरेका । यदि उनीहरूको विवाह बाबाुआमाले गरिदिएको भए पारपाचुके भइसक्थ्यो होला—त्यति नभए पनि यति त पक्कै थियो कि श्रीमतीजीले माइतैको शरण लिनपर्थ्यो ।

‘सुशीला, तिमीले के सोचेकी ? आजको जमानामा पनि तिमीले छोरा र छोरीमा यत्रो फरक देखेकी ?’

सुशीला जबाफमा मुखले केही बोल्दिनन्, केवल अनुहार मात्र कालो पार्छिन्, अझ कालो पार्छिन् ।

पाँचवटी छोरीहरू—पञ्चकुमारी वा पञ्चकन्या…आँगनमा खेलिरहेका छन् । तर घर शून्य लाग्छ बाबुआमालाई । एउटी रुन्छे—कसैले वास्ता गर्दैन—अर्की लड्छे, कसैले उठाउँदैन ।

वराहक्षेत्रदेखि लिएर मनकामनामाईसम्मको दर्शन गरिन् । मनमनै रोईरोई छोरो मागिन्—छोरो पाएको खण्डमा फेरि दर्शन, पूजा र बलि पनि चढाउने भाकल गरिन्—मनमनै सुशीलाले । तर सुशीले अन्यमनस्क उनको पछिपछि गयो मात्र । उसलाई न त सुशीलाको प्रत्येक कदममा उसले साथ दिएकै थियो । गणेशको जस्तो भुँडी लिएर मध्यघाममा मनकामनाको उकालो स्वाँस्वाँ गर्दै चढिरहेको उसकी भूतपूर्व प्रेमिका तथा वर्तमान धर्मपत्नीको निस्तेज अनुहार देख्ता उसलाई जति दया र माया उम्लेर आउँथ्यो, उति रिस पनि उठेर आउँथ्यो उनको अन्धविश्वास र लिँडे ढिपी गर्ने बेहोर सम्झँदा ।

०००

यात्रा सकेर साँझ डेरामा आइपुगे । आफ्नो डेराको आफ्नो ओछ्यानमा आएर पल्टिँदा सुशीलालाई संसारै विजय गरेर फर्केको जस्तो सन्तोष लागिरहेको थियो । तर सुशील भने उस्तै देखिन्थ्यो हिजोअस्तिको जस्तै । उनको अनुहार भावशून्य थियो । न उसमा यात्राको थकाइ झल्किन्थ्यो न त यात्रासमाप्तिको सन्तोष । उसको अनुहारमा त कहिल्यै नमेटिने जस्तो थकाइ र पराजयको स्थायीभाव थियो । पाँच थान छोरीहरू र एक थान श्रीमतीको भार त छँदै थियो—उसको सीमित आम्दानी मात्र गर्न सक्ने कमजोर काँधमा । त्यसमाथि अर्को थान मुख र पेटको भारी थप गर्ने पक्षमा ऊ थिएन, चाहे त्यो छोरै किन नहोस् । उसको मधुरो कल्पनामा मात्र दुई सन्तान थिए । एक छोरा एक छोरी वा जेजे भए पनि । तर पाँचवटी छोरीमाथि पनि श्रीमतीको गणेश मार्का भुँडी देख्ता उसलाई हाँगाबाट खसेको वानर वा लडाइँ हारेको सिपाही जस्तो अनुभूति भइरहेको थियो ।

एउटा साधारण डेराको साधारण कोठा । एउटा ओछ्यान खाटमा एउटा भुइँमा । खाटमा ऊ पल्टिरहेको छ, भुइँमा उनी । बेला साँझ छिप्पिइसकेको छ । उनीलाई अलिकति बिसन्चो छ—उसलाई अलिकति रक्सी लागेको छ । उनी सोच्छिन्, ‘कस्तो होला उनको लोग्ने ! उनको त्यस्तो अवस्थामा पनि अलिकति सहानुभूतिसम्म देखाउँदैन—उनको औषधीको सट्टा आफू रक्सी पो खान्छ र अरूहरू आठ महिना पुगेकी स्वास्नी कस्तोविधि हेरचाह गर्छन्, ज्यूज्यू गर्छन् । आफ्नो लाेग्ने त मान्छे हो कि मुढो ! पहिले त यस्तो हृदयहीन थिएन ।’

ऊ सोच्छ, ‘यस आइमाईको तृष्णाको पराकाष्ठा कहाँ होला ! एक दर्जन छोरी पाए पनि यसको एउटा छोरा पाउने धोको मेटिदैँन । आजको जमानामा पनि यस्तो असह्य भेदभाव गर्दछे यो छोरा र छोरीमा—कस्तो मुढ आइमाई होली । जबसम्म आइमाईका समाजमा यो हीनभावनाको समाप्ति हुँदैन, उनीहरूले समान अधिकार खोज्नु पनि धिक्कारै छ…।’

ऊ बिस्तारै बोल्छ, ‘हेर, रमाकान्त बाहुनका त्यस्ता लायकलायक चार भाइ छोरा थिए, चारै भाइले आमाबाबुलाई चटक्क छाडेर आआफ्ना स्वास्नी च्यापेर सहरमा बसेका छन्, बरु छोरीहरूले यसो हेरविचार गर्छन् ।’

सुशीला बिस्तारै कोल्टे पर्छे, ‘सबैका छोरा त्यस्ता हुन्छन् ? ती बूढाबूढी पनि त कस्ता दुष्ट नि…छोराबुहारीका अनुहारै देख्न नसक्ने रे…तैपनि एउटा छोराले अलिअलि हेर्छ रे है…।’

‘हेर्‍यो…अब ? त्यो झन् महादुष्ट छ । बाबुआमाको गुठुली हात लाउँला भनेर लोलोपोतो गर्छ नै… स्वास्नीचाहिँ झन् चण्डाल छे रे ।’

‘चन्द्रपर्सातको नि…कस्तो देउता जस्तो छोरा छ…आमाबुबाको कस्तो…।’

‘किन रमाकान्त र चन्द्रपर्सातको कुरा गर्नु ! तिमी आफ्नै घरमा हेर न, मैले नै आफ्ना बाबुआमाका लागि के पो लछारपाटो लगाएको छु र ? हामीले हाम्रा छोराबाट त्यति मात्र आशा गर्नुपर्छ जति हामीले हाम्रा बाबुआमाका लागि गरेका छौँ ।’

‘तिम्रा बाबुआमाले हामीलाई गरेजस्तो खेदो पनि हामी हाम्रा सन्तानलाई कदापि गर्न सक्तैनौँ नि, थपडी एक हातले बज्दैन ।’ सायद यही जबाफ दिन चाहन्थिन् उनी तर अनुहार मात्र कालो पारेर कोल्टे फर्किइन् र एकछिनपछि कुन्नि किन हो उनका आँखा रसाएर आए ।

सुशील सिरानको तखताबाट कुनै जासुसी उपन्यास तानेर पाना पल्टाउन थाल्यो, मन नलागीनलागी ।

एक साँझ, डाक्टरको क्लिनिकबाट फर्कंदा सुशीलाको अनुहार ज्यादै निन्याउरो थियो । उनले केही भनूँभनूँ जस्तो गरेर पनि पतिलाई केही भनिनन् । खालि छोरीहरूसँग मात्र रिसाइरहिन्, झर्किरहिन् । सुशीलले पनि केही सोधूँसोधूँ जस्तो मात्र गर्‍यो तर सोधेन, सोच्यो—उनको पेटमा कतिन्जेल मात्र कुरा अड्ला र ?

०००

आखिर आइपुग्यो त्यो दिन, जुन दिनको सुशीलालाई प्रतीक्षा थियो । मीठो प्रसववेदना बोकेर उनी पुगिन् प्रसूतिगृहमा । यसपालि उनलाई ज्यादै डर, पीर र छटपटी लागेको थियो ।

घन्टौँपछि नर्सले हाँस्तै बाहिर आएर सुशीललाई बधाई दिँदै भनी, ‘दुईटी छोरी भए, बच्चीहरू र आमासमेत स्वस्थ छन् ।’

सुशीलालाई लागिरहेको थियो, यसै डेलिभरी रुममै कहीँ अलप हुन पाए पनि हुने या यी दुवै छोरीहरूसमेत आफू पनि यहीँ भुतुक्क हुन पाए पनि हुने । सुशीलले भने केही पनि सोच्न सकिरहेको थिएन, न त उसलाई घर फर्कने इच्छा नै थियो न त यहाँ बसिरहन सक्ने सामर्थ्य ।

(नगेन्द्रराज शर्माकाे कथासङ्ग्रह “पीपलकाे बाेटमुनि”बाट)