“कान्छी ! तँलाई भेट्न आजसमेत तीन चोटी आइसकेँ । बिहान, बेलुका, दिउँसो कतिखेर पनि भेटिँदैन त, कहाँ जान्छेस् हाे ? आइमाई मान्छे भएर यसरी लखरलखर हिँडेको त राम्रो होइन नि, कि के के गर्न थालिस् ?” घरबेटी रमा दिदीले पातको मुठा फ्यात्त भुईंमा झार्दै प्रश्न गरिन् ।
उनको प्रश्नले म झस्केँ । ‘कहाँ जान्छेस् ? कि के के गर्न थालिस् ?’ भनेर के भन्न खोजेकी हुन् ? किन यसरी हेपेकी होला ? म उनको घरमा त्यसै त बसेकी होइन नि ? महिना मर्ने बित्तिकै भाडा बुझाएकी छु । कहिलेकाहीँ भरअभरमा सघाएकी पनि छु । तर पनि किन यसरी हप्काकी हुन् ? म अलमलमा परेँ । एक मनले ठानेँ, जसरी प्रश्न गरिएको थियो त्यसरी नै उत्तर दिऊँ । फेरि अर्को मनले सोचेँ, मैले पनि उनीजस्तै झर्केर उत्तर दिएँ भने झगडा होला । मान्छे अलि मापाकी छिन् । घरमा कसैले पनि उनको कुरा काट्दैनन् । लोग्ने मालपोतका कर्मचारी हुन् । पैसाको खाँचो छैन । अभाव नभएकी मान्छे अहिले नै मेरो घर खाली गर भनिन् भने यी लालाबाला लिएर यो चाडबाडका मुखमा म कहाँ जानु ? मनमनमा आँफैले आँफैलाई प्रश्न गर्दै उत्तर पनि दिएँ ।
मनलाई शान्त बनाउने प्रयत्न गर्दै सोधेँ, “किन र दिदी ? के गर्नुपर्यो मैले ? भन्नु न, गरिहाल्छु नि ।”
“तिहार आयो यस पटक सबैजना मेरो घरमा भेला हुने अरे । टपरीदुना चाहियो । सघाउँछेस् कि भनेर पातै लिएर आकी । जतिखेर आउँदा पनि कोठा बन्द हुन्छ । केटाकेटी पनि भेटिँदैनन् । बोडिङ छुट्टी भएन र अब त ?” उनले फेरि प्रश्न गरिन् ।
“छोरीहरू दसैंमा मावल गका, आका छैनन् । बाबुको नागरिकता बनाउनका लागि आमाछोरा एक हप्तादेखि वाडा कार्यालय धाकाधाई छौँ । सचिव नभएर काम भएको छैन । अपिस टायममा नगरपालिका जाँदै ठिक्क छ । बिहानबेलुका काममा व्यस्त छौँ। त्यसैले कोठा बन्द भाको हो । बोडिङ त मैले छाडिसकेँ।” मैले मलिन स्वरमा उत्तर दिएँ ।
“किन छाडेकी ? यी तीनतीन वटा बच्चा कसरी पाल्छेस् ? घरभाडा कसरी तिर्छेस् ? कमाइ-धमाइबिना ।” फेरि उनले कर्कश ध्वनि निकालिन् ।
“बोडिङको तलबले व्यवहार टार्न कठिन भयो । थोरै पैसा पनि समयमा दिँदैनन् । बिहान नौ बजेदेखि बेलुका पाँच बजेसम्म काम गर्यो । पाँच हजार तनखा आउँछ । त्यसले कसरी परिवार पाल्नु ? गाह्रो भएर बोडिङको जागिर छोडेँ। अहिले फर्निचरमा रङ लगाउने काम गर्न थालेँ । त्यहाँ दिनको छ सय दिन्छन् ।” मैले उनको जिज्ञासा तृप्ति गर्ने प्रयत्न गरेँ ।
“ए !उसोभए त“ भ्याउँदिनस् त ?”
“राति गाँसौला नि ।”
“ल ! ल ! कसरी हुन्छ ? समय मिलाएर गाँसिदे न । म पनि विचार गरौँला ।”
घरभरि मान्छे छन् । उनले सिन्को भाँच्नु पर्दैन । उनको काम भनेको नोकर्नीलाई हप्काउने मात्र हो । यति टपरा त आफैँ गाँस्नु नि, आफूलाई भ्याईनभ्याई छ । विचार गर्छु भनेर मुखले ठिक पार्छिन् । भरेभन्दै कामकाे पैसा दिने बेलामा एउटा न एउटा बहाना बनाएर टार्छिन् । अस्ति पनि काम गर्ने मान्छे नभएका बेला सनिबार दिनभरि लुगा धुन लगाइन् । भरे त सय रुपैयाँ पो दिइन् । यस्ती लुच्ची आइमाई ।
०००
“जमुना मिस ! वाडाध्यक्षले सचिव आए अरे भन्ने खबर पठाउनुभको थियो । तपाईंलाई भेट्नै सकिनँ हिजो । अहिले खबर पनि गर्नुपर्यो । एकछिन र्हिंड्नु पनि पर्यो भन्दै आकी । सन्चै हुनुहुन्छ ?” बोल्दैबोल्दै बिहान झिसमिसमै बिमला मकहाँ आइपुगिन् ।
“ए ! हो र, कहिले आएछन् ? अस्ति लगातार एक हप्ता गएँ तर भेट्न सकिनँ । दसैंमा घर गका काममा फर्केका रहेनछन् । सेवाग्राहीको भीड थियो । सबै रिसाउँदै र्फिर्कँदै थिए । कोहीकोही चाहिँ वाडाध्यक्षलाई झपार्दै थिए । कोही चाहिँ सरकारी जागिर यस्तै हो भनेर चित्त बुझाउँदै थिए । म पनि निरास हुँदै घर फर्केँ ।” मैले पनि सचिवलाई नभेट्दाको पीडा उनीसँग कहेँ” ।
“सचिवलाई किन खोज्नुभएको ?” उनले जिज्ञासा राखिन् ।
“छोराको नागरिकता बनाउन वाडाबाट सिफारिस निकाल्नु पर्दो रहेछ । त्यसको लागि वाडाध्यक्षले सचिवलाई भेट्नपर्छ भन्ने कुरा गरे । त्यही भएर हो ।” म उनको प्रश्नको उत्तर दिँदै खाना बनाउनतिर लागेँ । उनी पनि एकछिन गफ गरेर घरतिर हिंडिन् ।
लामो प्रतीक्षापछि सचिवको आगमनको खबरले मन फुरुङ्ग भएको छ। अब त छोराको नागरिकता बन्छ होला । ऊ बाउबाट नागरिकता बनाउन चाहँदैन । उसको मन दुुखेको छ । नदुखोस् पनि कसरी ? बाउको माया कस्तो हुन्छ ? उसले अनुभव गर्न पाएन । उल्टै बेलाबेला बाउले उसलाई धम्क्याइरहन्छ । बाउले उसप्रति गरेको व्यवहारले होला। छोरो बाउको नाम पनि सुन्न मान्दैन । “म तपाईंकै नामबाट नागरिकता बनाउँछु । मेरो बाउ भने पनि आमा भने पनि तपाईं नै हो” भन्दै लहसिन्छ ।
यसको नागरिकता बनाउन पाए मलाई पनि ठूलै युद्ध जितेको अनभूति हुने थियो । यसको बनेपछि त छोरीहरूको बनिहाल्थ्यो । जीवनमा आफ्ना इच्छा-चाहनालाई त्यागेर उनीहरूकै खुसीका लागि बाँचे । उनीहरू खुसी भए म पनि खुसी हुन्थेँ। दुखी हुनबाट जोगाउने हरतरहले प्रयत्न गरिरहेँ । हे भगवान् ! म यो काम पनि फत्ते गर्न सकूँ । मलाई शक्ति देऊ । काँतर बनेर मैदानबाट नभागूँ। सोच्दासोच्दै बिहानको दश बजिसकेछ । छोरालाई बोलाएर खाना दिएँ र आफूले पनि दुई गाँस च्यापेर वाडाकार्यलयतिर हुइकेँ ।”
०००
सचिवलाई भेट्न सेवाग्राहीको लामो लाइन भइसकेछ । म पनि त्यही लाइनमा बसेँ । एक बजेतिर उनी आइपुगे र सरासर वाडाध्यक्षको कोठामा पसेँ। म पनि उनका पछिपछि गएर सम्पूर्ण कागजात देखाउँदै आफ्नो समस्या राखेँ, “श्रीमानले दोस्रो विवाह गरेपछि हामी अलग भयौँ। छोराछोरी मसँग बस्छन् । उनीहरूको पालनपोषण मैले नै गर्दै आएकी छु । उसको दवाबका कारण मैले सम्बन्ध विच्छेद पनि गरिसकेँ । छोराछोरीको संरक्षक म नै छु । अहिले बाबुको उमेर पुगेकाले नागरिकता बनाउन सिफारिस लिन आकी हुँ ।”
मेरो कुरा सुन्दै सम्पूर्ण कागजपत्र हेरे र भने, “छोराछोरी तपाईंसँग नै बसे पनि उनीहरू बालिक भइसकेपछि उनीहरूमाथि स्वतः बाउकै हक लाग्छ । नाबालक होउन्जेल मात्र आमाको हक लाग्छ । त्यसमा पनि तपाईंले सम्बन्ध विच्छेद गरे पछि त झन् उनीहरूमाथि तपाईंको अधिकार हुँदैन । कानुनी रूपमा तपाईं त अलग भई सक्नुभो । त्यसैले तपाईंबाट छोराको नागरिकता बनाउन मिल्दैन । यदि तपाईंले छोडपत्र नगरेको भए आमाको नामबाट पनि नागरिकता बनाउन मिल्थ्यो तर त्यो त तपाईंको केसमा सम्भव भएन ।”
“अहिलेको कानुनमा छोराछोरीले आफ्नो इच्छाअनुसार बाउ वा आमामध्ये कसैको नामबाट पनि नागरिकता बनाउन पाउँछन् भन्ने सुनेकी थिएँ त मैले । के त्यो गलत हो त ?” मैले जिज्ञासा राखेँ ।
“पाउँछन् तर सम्बन्ध विच्छेद नगरेको खण्डमा मात्र ” उनले छोटकरीमा भने ।
“सरले नागरिकतासम्बन्धी कानुन राम्रोसँग अध्ययन गर्नुभएको छैन कि क्या हो । मेरी दिदीको छोरो पनि अधिकृत छ । उसले विराटनगर सिडियो कार्यालय नागरिकता फाँटमा गएर बुझेर आएको हो । त्यहाँ सविना ढकाल नाम गरेकी अधिकृत मेडम हुनुहुँदो रहेछ । उहाँलाई मेरा सबै सामग्री देखाएपछि हुन्छ भन्नुभएछ र म सिफारिस लिन आकी हुँ ।” एक सासमा वृत्तान्त कहेँ ।
“हामीले सिफारिस दिए पनि नागरिकता बन्दैन । तपाईंलाई नै अप्ठ्यारो हुन्छ । त्यही भएर मैले जानेको कुरा भनेको हँ । तर माथि नै बुझेर आउनुभएको हो भने ठिकै छ । एक नं. कोठामा लेखनदास बस्नुहुन्छ । उहाँसँग सिफारिसको नमुना हुन्छ । तपाईं त्यहाँ गएर सम्पर्क गर्नुस् ।” उनी बोल्दै बाहिरिए ।
उनको कुराले राहत मिलेको अनभूति भयो । मन हलुङ्गो बनाउँदै एक नं. कोठातिर मोडिएँ। त्यहाँ पनि मानिसको लाइन बाहिरसम्म नै रहेछ । म पनि त्यहीँ समाहित भएँ । करिब एक घण्टा पर्खेपछि मेरोे पालो आयो । उनले आफैं विवरण भरिदिँदा रहेछन् । उनले मसँग पनि “केको सिफारिस ?” प्रश्न गरे । मैले विवरण बताउँदै सम्बन्ध विच्छेदको कागज देखाएँ ।
उनले त्यो कागज अध्ययन गरेपछि मलाई राम्ररी निहाले र भने “तपाईंको नामबाट छोराको नागरिकता बन्दैन । उसले बाउबाट बनाउनु पर्छ ।”
“किन ?” मैले प्रश्न गरेँ” ।
“श्रीमानसँग छोडपत्र गरेपछि तपाईं वंशबाट नै अलग हुनुभो । कानुनी रूपमा वंशबाट अलग भइसकेपछि व्यवहारमा बालबच्चा तपाईंसँगै बसे पनि उनीहरूको नागरिकता तपाईं बनाउन सक्नुहुन्न । कानुनले मान्दैन । उसको नागरिकता बनाउन बाउ नै चाहिन्छ ।” उनी झर्केर बोले ।
“बालबच्चाको पालनपोषण गर्न बाउ नचाहिने । एक्ली आमाको छाहारीमा हुर्किरहँदा, बाउको अभाव भइरहँदा चाहिँ कानुनले बाउको जिम्मेवारी बोध गराउन सकेन । सम्पूर्ण भर आमामाथि सुम्प्यो । अहिले नागरिकता बनाउने बेलामा चाहिँ आमा वंशबाट अलग भई भनेर बाउ खोज्ने ? कस्तो कानुन हो ? पहिले किन खोजेन बाउ ?” मैले पनि रिसाएर प्रतिउत्तर फर्काएँ ।
“धेरै ल्याङ्ल्याङ् नगर्नुस् । तपाईं जानुस् । मलाई काम गर्न दिनुहोस् ।” फेरि उनले ठूलोठूलो स्वरले कराए ।
“मैले सबै कुरा बुझेर नै आकी छु । तपाईंलाई जबर्जस्ती सिफारिस बनाइदिनुस् भनेर कानुनविपरीत काम गराउन खोजेकी छुइनँ ।” काम सम्पन्न नहाेलाकि भनेर म अलिक मलिन भएर बाेलेँ ।
“तपाईं मलाई कानुन सिकाउने ? २५ वर्ष अदालतमा काम गरेर आएको हुँ” । कानुन सबै थाहा छ । तपाईंजस्ता आइमाई (सरी) कति आउँछन् ? कति जान्छन् ?” उसले फलाक्दै राताराता आँखा पारेर मलाई हेर्यो ।
अघि नै मेरो धैर्यताको बाँध टुटिसकेको थियो । झन् उसको दम्भ र हेराइले मलाई कालीमाता चडिहालेछ । आफ्नाअगाडि केही पनि देखिनँ । रिसले चुर हुँदै उसका हातबाट सिफारिस पत्र खोसेर आफै विवरण भरेँ । अनि वाडाध्यक्षको कोठामा पसेर उनलाई साइन गराएर घर फर्केँ ।
०००
भोलिपल्ट सत्यमोहन जोशीको निधनमा सरकारले एक दिन शोक विदा दिने निणर्य गरेकाले सबै कार्यालय बन्द भएर काम हुुन सकेन । पर्सिपल्ट बिहान ८ वजे नै बाबुलाई लिएर म विराटनगर हिडेँ । गाडीमा बाटाभरि अनेकाैँ प्रश्नहरूले मलाई गिजोलिरह्याे । त्यहाँका कर्मचारी कस्ता छन् ? वाडाकार्यालयका जस्तै छन् भने फेरि पनि मलाईं दुःख दिन्छन् होला । भएन भने के गर्ने ? छोरो बाउसँग नागरिकता बनाउन जादै जाँदिन भन्छ । अस्ति सन्तोषले सोधपुछ गरेकी सविना मेडम पनि छन् कि छैनन् ? छन् भने त सजिलै होला । उनले हुन्छ भनेकाले नै मैले यत्रो आँट गरेर सिफारिस बनाएँ । कानुनका बारेमा मलाई केही थाहा छैन । अर्काले भनेका भरमा दौडिरहेकी छु ।
म एकोहोरी भएको देखेर होला बच्चोले सान्त्वना दिँदै भन्यो, “किन टोलाउनु भएको ? सन्तोष दादा पनि त सरकारी कर्मचारी हो नि । उहाँले सोधपुछ गरेर अनि बुझेर नै हुन्छ भन्नुभाको हो । दादाले अधिकृत सविनाको फोन नं. पनि म्यासेज गर्नुभएको छ । उहाँ नागरिकता फाँटमा नै हुनहुन्छ अरे । भएन भने उहाँलाई भेटेर कुरा गरौँला नि ।”
छोराको सल्लाहले मन अलिक शान्त भयो । करिब ढेड घण्टाको यात्रापछि हामी विराटनगर पुग्यौँ । बिजुली अपिसमा ओर्लिएर सफारी चढेर गन्तव्यतिर लाग्यौँ । त्यहाँ पुग्दा ९:३० भएको थियो । कार्यालय खुल्ने समय भएकै थिएन तर सेवाग्राहीको लाइन पर बाटासम्म लागेको थियो । बाबुलाई लाइनमा राखेर म यताउति हेर्न थालेँ । कार्यालयको गेटमाथि नै कुन कामका लागि कति नं. कोठामा जाने भनेर लेखेको हुँदोरहेछ । त्यो सबै हेरिसकेकाले गेट खुलेपछि कोठा नं. दशको झ्याल नं. एकमा गयौँ । त्यहाँ एकछिन उभिएपछि पालो आयो । अब के हुने हो । हुने हो कि नहुने हो ? भनेर मनमा त्रास उत्पन्न भइरहेको थियो तर महिला कर्मचारीलाई देखेपछि अलिक साहस आयो । मैले सबै कागजात बुझाएँ ।
सामग्री हेरिसकेपछि “तपाईंको सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र यहाँ छैन । त्यो पनि ल्याउनुस् ।” उनले भनिन् ।
मैले कुरा नबुझेर उनको अनुहारमा हेरिरहेँ । म अलमल परेको देखेर होला उनी फेरि बोलिन्, “जन्मदर्ता, मृत्युदर्ता प्रमाणपत्र जस्तै सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र पनि हुन्छ । त्यो तपाईंको वाडामा सम्बन्ध विच्छेद दर्ता गरेपछि दिइन्छ । त्यो चाहिन्छ भनेको बुझ्नुभएन ?”
“सम्बन्ध विच्छेद पनि दर्ता गर्नुपर्छ भनेर मलाई थाहा नै थिएन ।” मैले उत्तर दिएँ ।”
“ठिकै छ, छैन भने अब दर्ता गर्नुहोला । तपाईंले यहाँ बुझाएका सबै सामग्रीको सक्कली प्रमाण पनि देखाउनु ।” उनले अनुरोध गरिन् ।
मैले मसँग भएका कागजपत्र दिएँ । उनले सबै कागाजात राम्ररी हेरिन् र भनिन्, “बाबुको जन्मदर्ताको सक्कली कागज छैन । त्यो पनि ल्याउनुहोस् ।”
“त्यो त मसँग छैन । उसकै बाबासँग छ । माग्दा दिएनन् र मैले गाउँपालिकाबाट अर्को बनाउन खोज्दा पनि उनले आफैसँग भएको कुरा गरेपछि बनेन ।” म विस्तारै बोलेँ ।
उनले मलाई राम्ररी निहालिन् र भनिन्, “अझै पनि महिलाको अवस्था … ?”
भएका सबै सामग्री हेरेपछि उनले अर्को कोठामा पठाइन् । त्यहाँ पनि एकछिन लाइनमा बसेपछि पालो आयो । उसैगरी त्यहाँ पनि सामग्री मागियो । बुझाएपछि बस्तै गर्नुस् २-३ घण्टापछि नाम बोलाउँछौँ भने । ३ घण्टापछि नाम बोलाएर बाबुसँग फोटा मागे । फोटा दिएको १ घण्टापछि नागरिकता पाइयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।