दुइटा कथा, रङ्गमाला र दाइजो लेखिसकेको थिएँ । दुवै कथालाई डिजिटल पत्रिका ‘तपाईंको आवाज’ र ‘साहित्य सङ्गम’-मा छपाउँदा अपार सकारात्मक प्रतिक्रिया पाएँ । एकजना मेरी साथी, मिठो कण्ठकी धनी रजनीले कथा वाचन गरेर ‘सृजनावाचन’ यूट्युव च्यानलमा अपलोड गरिन् । त्यहाँ पनि प्रतिक्रिया राम्ररी फस्टायो । म, कथा पढ्ने रुचिकर पाठकको सुरूआतमा लेखिएका दुई कथाले यसरी माया पाएको देखेर मेरा पाइला भुइँमा रहेनन् । कसैले मेरा कथाको विषय लिएर गफ गर्दा लाग्थ्यो, मेरो कथाबारे चर्चा एवम् प्रशंसा भइरहोस् अनि म सुनिरहूँ, सुनिरहूँ ।
तेस्रो कथा लेख्ने अठोट गरेँ तर कथा लेख्ने विशेष घटना अनि पात्र हात परेनन् । दिमाखलाई निकै गहिरो जोड दिएर कथा निर्माण गर्ने प्रयास गरेँ तर अहँ कुनै सटिक मन छुने कथाको तत्त्व पाइनँ। एकजना वरिष्ठ नेपाली कथाकार राम शनिबारेले भनेको सुनेको थिएँ- ‘कथाका विषयवस्तु, पात्र जताततै छरिएका हुन्छन् । कथाकारले त्यसलाई नियाल्न, टिप्न अनि कथा निर्माण गर्ने कला जान्नुपर्छ।’ उहाँले भनेको कथन मेरो मनमष्तिष्कमा अहिले यसरी झुल्कियो जसरी अँध्यारोलाई चिर्दै सूर्यको ज्योति पृथ्वीमा झुल्किन्छ।
म, दिल्ली बसेर जागिर गर्ने मान्छेलाई, भीडभाड अनि कोलाहलबाट भरिएको सहरी जीवनबाट कथा टिप्न सजिलो पर्छ होला भन्ने ठानेँ । एक दिन आइतबार छुट्टीको दिन थियो, विशेष गरी कथाका पुर्जा खोज्नका लागि नै कोठा छोडेँ। हातमा कलम र सानो कपी च्यापेँ। युद्धका लागि दुवै हतियार तयार भएका थिएँ एउटा नौलो समयको कथा लेख्न । मलाई यस्तो कथाको घडेरी चाहिएको थियो जसलाई पढ्दा पाठकको मन नअघाओस्, स्वतः हृदयबाट वाह ! वाह ! को मुस्लो निस्कियोस्।
राम शनिबारे कथाकारले भनेअनुसार कोठा बाहिर निस्किसक्दा मनका नयन परिवेशको वृत्तमा डुलाउन थालेँ । प्रत्येक जीव अनि सजीवलाई हेर्ने दृष्टिकोण फेरीफेरी दृष्टिपात गर्न लागेँ।
पहिले दिल्लीमेट्रो चढेँ। यात्रुले ट्याम्म भरिएको रहेछ। कुनै यात्रु बसेका, सिट नपाउने उभिएका । बस्ने यात्रु आफ्ना दुवै हातका औँलाले मोबाइललाई अँगालेर मुसुमुसु हाँसेका, उभिएकाले एक हातले मोबाइल अनि अर्को हातले हेङ्गिङ्ग सपोटरलाई समातेका। सबै यात्रु स्वयंमा स्वयं व्यस्त। यसो आँखा तेर्सो पारेर चारैतिर डुलाएको, मोबाइलमा कोही फिल्म हैर्दै, कोही गेम खेल्दै, कोही ओटीटीमा वेभसेरिस हेर्दै, कोही सामाजिक सञ्जालमा, कोही च्याटिङमा व्यस्त। कसैलाई एकअर्काको सरोकार थिएन, दोहोरो कोही बोलेको सुनिनँ। कथा टिप्ने प्रयासमा कोहीसँग बोलूँ जस्तो लाग्यो तर सबैको व्यस्तता देखेर बोल्न अनुचित ठानेँ । आफ्नै धुनमा सबै मातिएका । मातेका यात्रुहरूलाई बाधा हाल्न आँट आएन। भिजेको लुगा निचोड्दा अन्तमा केही थोपा पानी निस्के समान यो भीडमा मैले कथाका तत्त्व पनि थोपाको रूपमा अल्प मात्र भेटेँ तर मलाई त सागर चाहिएको थियो। निकै बेर यात्रुका अनुहार पढ्ने चेष्टा गरेँ तर विफलता हात लाग्यो।
मेट्रोबाट उत्रिएर लस्करै पसल भएको ठाउँमा अड्किन मन लाग्यो। लाग्यो, कतै यहाँ कथाको पात्र पाउँछु कि ! चिया पसलमा गएर मेरा चलायमान पाइला थामिए। पलास्टिको कुर्सी घर्र तानेर मेरो पसल थेचारेँ।
पसलेले परैबाट मलाई प्रश्न फ्याँक्यो- ‘चाय बना दे आपके लिए ?’
‘हाँ, कड़क अदरक वाली।’
ऊ चिया बनाउन व्यस्त, म यता कथा खोज्न मग्न। म मौन रहेँ। तर यसरी मौन बसेर कथा फेला पर्नेवाला थिएन। कुराकानीको मेला थालनी गर्न आवश्यक थियो। कथा निकाल्ने उत्कण्ठाले प्रश्न गरेँ- ‘कहाँ से हो भैया ?’
‘सीतामढ़ी, बिहार से। और आप?’
‘मणिपुर से।’
उसले उसका केही तिता, मिठा, चर्का, टर्रा, मसालायुक्त घटना ओकल्छ कि भनेर अर्को प्रश्नको पासो फ्याँकेँ-
‘इस चाय की दुकान से आपके परिवार का गुजारा हो जाता है भैया ?’
एउटा हातले दिउरेको उजिन्डो अनि अर्कोले निदार पुछ्दै पहिले मेरो अनुहार निहालो अनि पहेँला दाँत देखाएर फिस्स हाँस्यो। अनुहार पुछिसकेर जवाफ फर्कायो- ‘का बताए भैया! बिस बरस पहिले आया था दिल्ली। इसी दुकानवा से बेटे को पढ़ा लिया और बिटियाँ की शादी भी करा दी। और का चाहिए ! गुजारा हो रहा है। बाँकी प्रभु बैठा है उपर।’
यति भनेर ऊ चिया छान्न थाल्यो। ममा मौनता छायो। उसको अनुहारको खुसी र सुगमताले चलेको जीवनको अड्कल काट्दा मलाई चियावालाको घतलाग्दो कथा छ जस्तो लागेन। अगाडि केही प्रश्न गर्ने साहस बटुल्न सकिनँ। चिया टेबलमा आयो। चिया दिने ठिटो केटो लगभग दस वर्षको हुनुपर्छ। यो ठिटोमा केही कथा पाउँछु कि सोचेर केही सोध्न मात्र लागेको थिएँ चिया पसलेले ढ्वाङ्ग्रो आवाजमा बोलायो- ‘अरे डब्लू! इधर आ। जाके गिलास की सफाई कर, टाइम नहीं है खडे़ रहने का ।’
‘ठीक है’ भन्दै मिलिक्कै पछाडिपट्टि गएर अह्राएकाे काममा व्यस्त भयो। दस सुरुपमा चिया चिरिप्प पारेर चिया पसललाई छाडेँ।
कथा खोज्न पुरानो दिल्ली जान अटोमा बसेँ। नीलो रङको मैलो सफारी सुट लगाएको अटो चालक रहेछ। उसलाई निहालेँ।
‘अच्छा भैया ! अटो से आपकी जीविका बढ़िया से गुजरती है ?’ केही कुरा निकाल्छ भन्ने आशामा प्रश्न गरेँ।
मैले प्रश्न गरेर सास फेर्न नपाई उसले जवाफ फर्कायो- ‘हाँ जी, बढ़िया से चलती है। केजरीवाल आखिर बिजली, पानी सब फ्री में दे रहा है।’
सबै मजा छ भने यसको कथा नै के होला र जसको पात्रले मेरो उच्च कोटिको कथा निर्माण होस् । पुरानो दिल्लीको बजारमा झरेँ। खुट्टा राख्न नहुने भीड रहेछ। यही भीडमा कथाको कुनै अनौठो पात्र भेट्ने यत्नमा भीडलाई चिर्न लागेँ। वरिपरिका पसलेलेलाई हेर्छु, बाटोमा पानी, चिया, चिसो, मकै बेच्नेलाई हेर्छु, ‘यो ब्रान्डेड समान चोरेर ल्याएको हुँ, सस्तोमा लैजा’ भन्दै गरेका बेचन्तेलाई हेर्छु, खिलौना बेच्नेलाई हेर्छु, कमण्डल बोकेर पसल-पसल माग्दै हिँडेको पीताम्वर वस्त्रधारीलाई हेर्छु, कथा टिप्न खोच्छु तर पारै पाउँदिनँ। तीन घण्टासम्म बजारमा यता त उता डुलेँ, बग्रेल्ती बेच्न राखेका समान भेटेँ तर कथा भेटिनँ। लखतरान भएपछि कोठा घुरेँ।
राति धेरै बेरसम्म निद्रा देवीले बोलाइनन् । मनको सवारीमा दिनभरि कथा खोज्न गएको बाटोलाई फेरि अवलोकन गरेँ। सबै पात्रसँग भेटेँ, गफ गरेँ तर मन छिचोल्ने पात्र समात्न सकिनँ। असफलता हात लाग्यो सहरमा कथा खोज्दा। सहरमा भन्दा गाउँको समाजकीय परिवेशमा साहित्यको बास राम्रो हुन्छ, भन्ने सुनेको थिएँ। सोही लाग्यो, सायद गाउँमा मैले कल्पेको कथा पाउँछु होला ! आखिरी गाउँ नगएको पनि वर्षदिन भइसकेको थियो।
भोलिपल्ट नै घर जान छुट्टीको अवकाश पत्र कार्यालयमा बुझाएँ। दस दिनपछि छुट्टी मिल्यो। हवाई जहाजको टिकट काटेँ। मलाई घर जाने कौतुहलभन्दा पनि कथाको पात्र खोज्ने कौतुहलका छालहरू मनमा छल्किरहेका थिए।
घर जाने दिन आयो। सूर्य देवताको आगमन अगाडि, पाँच बजेको मिरमिरे उज्यालोमा टिकट थियो। तीन बजे तयार भएर एयरपोर्ट जान उबरबाट ट्याक्सी बुक गरेँ। हिँड्नु अगाडि डायरी र कलम व्यागमा सुरक्षित भएको निदो गरेँ। आखिर मेरो मिसनका हतियार यिनै थिए। ट्याक्सीमा चढेँ। चालकले ओ.टी.पी. माग्यो। मैले ओ.टी.पी. भन्दै चालकतिर पात्र भेट्ने निहुँमा हेरेँ। ऊ अरू चालकभन्दा भिन्न देखियो। चालकको हुलियामा भए पनि ऊ कुनै कोणमा चालक देखिएको थिएन। आँखामा चश्मा, साफसुग्घर सफारी सुट, गहुँ रङको छाला । मनलाई स्वतः प्रश्न गरेँ पनि आखिरी यो चालक कसरी भयो होला ? प्रश्न गरूँ कि जस्तो लाग्यो तर एकाबिहानै कसरी सोध्नु अनि आफ्ना आँखा पनि निद्राले बिजाइरहेका थिए।
जहाजमा बसेँ। सुन्दर एयरहोस्टेसले छेउमा आएर मिठो स्वरमा भनी- ‘सर, कायन्डली टाय यर सिट बेल्ट। फ्लाइट इस एबाउट टू टेक अफ’। यति भनेर मन घाइते हुने मुस्कान छोडेर अर्को यात्रुतिर गई । मेरो छेउमा बसेको सहयात्रीलाई हेरेको अघि नै निद्राको सागरमा डुबिसकेको रहेछ । अगाडि-पछाडि केही अनौठो दृश्य भेट्छु कि भनेर नेत्रलाई घुमाइहेरेँ तर नेत्रको कार्य व्यर्थ। आँखा चिम्म गरेको जहाजले पखेँटा खोल्दामात्र उघ्रिए।
000
गाउँमा कथा भेट्छु भनी म अत्यधिक एक्साइटेड थिएँ। घर पुग्नुअघि आमा-बाबा, दाजु, दिदीबहिनीसँग पलपलको खबर साटासाट भइरहेको थियो। घर पुगेँ, म आएकोमा त्यति उत्साह कसैमा भेटिनँ जुन उत्साह र खुसी आजभन्दा दस वर्ष अगाडि भेट्थेँ। घरका, वरिपरिका भाइबहिना, छिमेकी काकाकाकी, आफन्तहरू आएर बसेका हुन्थेँ। लगेको कोसेली सबैले बाँडेर खाएको देख्दा अर्कै खुसी लाग्थ्यो। निकैबेर गाउँ र सहरका कुरा साटासाट गरिन्थ्यो। भुराभुरी पुच्छर भएर अगाडि-पछाडि हिँडिरहन्थे। त्यो उत्साहलाई एकचोटि सम्झेर मुसुक्क हाँसे । खल्तीमा भएको मोबाइल हातमा लिए अनि यसैलाई दोषी ठहराएँ, यो क्षणका लागि।
भोलिपल्ट बिहानैबाट गाउँ डुल्न थालेँ। मेरा साथी लगायत चिनेजानेकासँग भेटघाट गरेँ। मैले भेट्न लक्ष्य राखेकाहरूलाई नछोडी भेटेँ। सबैले गाउँको हालखबर आन्द्राभुँडी बाहिर गरेर सुनाएँ। गाउँमा नयाँ पुस्ताहरू नशामा व्याप्त भएका, पढाइ र जागिर गर्न सहर पसेका चेलीले उतै अन्तर्जातीय बिहे गरेका, मोबाइलको सहुलियतले छरछिमेकमा महिलाले बहुसबन्ध राखेका, आत्महत्या गरेका, आफ्नै नानी मारेर आमा झुण्डेर मरेका, फौजीकी पत्नी अर्कैसँग भागेका, धेरै जनाको घरमा चोरी भएकाजस्ता अनेकौँ घटना सुनियो सबैबाट। राति सुत्दा सबै घटनालाई एकएक गर्दै सम्झेँ तर कुनै पनि पात्रसँग मेरो आत्मा गाँस्न सकिनँ। लाग्यो, अब गाउँका घटना र सहरका घटनामा के नै अन्तर रहेछ र ? गाउँ सहर भइसकेछ र सहर गाउँ !
मलाई मन भिज्ने कथा भेटिनँ। तनाव भयो। लागेको थियो गाउँमा कथा प्रचुर मात्रमा भेट्छु होला ! तर कथाको झोला रित्तो नै भइरह्यो। रातिको नौ बज्न लागेको थियो। जुरुक्क उठेँ। लोहटाको पानी घट्घट् पिएँ। लामो सास फेरेँ। सुत्दा काडेका लुगा फेरि जिउमा टाँगेपछि हजुरआमाको कोठातिर मेरा पाइला हाकिएँ । सोचेँ, पक्कै पनि हजुरआमासँग उहाँले जीवनभर देखेका र भगेका कथा-व्यथा होलान्!
‘हजुरआमा, तपाईंले भोगेका या यति लामो जीवनमा देखेका कुनै पनि घटना सुनाउनु न।’
पछिल्लो वर्ष नै भाइले ल्याइदिएको मोबाइल हेर्दै गर्नुभएकी हजुरआमाले मोबाइल बन्द गर्नु भयो अनि कानबाट एयरफोनका ठेडी झिकेर भन्नुभयो -‘के भनिस् नाती ? सुतेको मान्छे उठेर किन आइस् ?’
मैले त्यही कुरा दोहोर्याएर भनेँ । हुजुरआमाले सुस्ताउँदै भन्नुभयो- ‘नाती, कति राम्रो नेपाली दोहरी गीत युट्युबमा हेर्दै छु। छोड्न मन लागेन । राति पनि भयो। भोलि भन्छु ल।’
मलाई हजुरआमाको आनन्दमा घाँटीको हड्डी अड्के समान अड्किन मन लागेन । हातको मोबाइललाई हेरेँ अनि फेरि यसैलाई दोषी ठहराएँ, यो क्षणका लागि। हजुरआमालाई ढिप्पी नगरी कोठा आएर सुतेँ। घण्टौँबेरसम्म निद्रा लागेन।
000
छुट्टी सकिन दुई दिन मात्र थियो। गाउँबाट पनि कथा पाइसकेको थिइनँ । लाग्यो, जाबो एउटा कथाधरी लेख्न सकिनँ, सायद ममा कथा लेख्ने कला छैन होला। मन यसै खल्लो भयो। मुड फ्रेस पार्न मेरो घरदेखि एक कोसमा स्थित खोलामा गएँ। पुगेपछि चारैतिरको रमिता हेरेको, कोही माछा मार्दै थिए, कोही पौडी खेल्दै थिए, कोही बालुवा चाल्दै थिए। बालुवा चाल्दै गरेको ठाउँबाट पचास पाइलाको दूरीमा बसेर एकटक बालुवा चालेको हेर्न लागेँ। तीन थुप्रो बालुवा चालिन्दै थियो। बेल्चा चलाउने पुरूष र चाल्ने महिला थिए। बेल्चाबाट बालुवा फ्याँकेको र तीन जनाले बालुवा चालेको तालमा मेरो रक्त प्रवाहको ताल मिलाएर एकोहोरो हेरिरहेँ।
कथा नभेटेर मेरो मनस्थिति निराशाले छोपेको थियो। पुर्पुरोमा हात राखेर हेर्दै गरेको दृश्यले मलाई आकर्षित गरिरहेको थियो। यो दृश्य हेर्दाहेर्दै मेरा आँखा धमिलिएजस्तो लाग्यो। चारैतिर रिमरिमे उज्यालो छाएको परिवेश निर्माण भयो। शून्यतामा हराउँदै गरेको अनुभव लाग्यो। आफू उपस्थित भएको ठाउँ पनि चेतनाबाट शनैः शनैः लुप्त हुनतिर लाग्यो। केही क्षणमा रिमरिमे उज्यालो जुनेली रातको मिठो प्रकाशमा परिणित भयो ।
आहा ! मन रोमाञ्चित भएर आलौकिक भइदियो। अघि चारैतिर देखिएका मान्छेहरू विलुप्त भएका थिए। मेरो अगाडि अद्भूत, दिव्य, सौम्य अनि आलौकिक दृश्य देखा पर्यो। राजकुमारी भनूँ, परी भनूँ, देवी भनूँ या ब्रम्हाण्डकी सुन्दरी। उसको चारैतिरबाट दिव्य प्रकाशले सुरक्षा-कवच बनिएको। उसको अनुहार हेर्दा लाग्यो मानौँ ब्रह्माण्डको सबैभन्दा सुन्दर वस्तुको दर्शन हुँदैछ। ऊ सुशीलताले पाइला चाल्दै मेरो सामु आएर उभिइन्। मलाई केही डर लागेन। मलाई उसको मधुर, सौम्य, विनयशील र सुन्दर मुस्कानले स्वर्गको भ्रमण गरेसमान लाग्यो।
उसले छेउमा आएर मलाई नम्रतापूर्वक सोधिन्- ‘लक्ष्मण, तँलाई के समस्या छ ? किन यसरी निराशाको अग्निमा हाम्फाल्न लागेको ?’ उसको दिव्य स्वर मेरो कानबाट हुँदै हृदयमा गएर गाभियो। मैले केही भन्न सकिनँ। मुखमा अलिकति जमेको थुक पनि घुटुक्क किल्किलेबाट छिर्यो । बोल्ने चेष्टा गरेँ तर मेरो वाक्य फुटेन। उनले आफ्ना कोमल हातले मेरो चिउँडो पाँचै औँलाले समातेर त्यही प्रश्न दोहोर्याइन्।
मेरो अवरुद्ध भएको कण्ठ-द्वार खोलियो। मैले दुई हात जोडेर जवाफ फर्काएँ – ‘प्रणाम देवी, मलाई लेखनको क्षेत्रमा प्रतिष्ठित कथाकार हुने इच्छा छ। केही सातादेखि लेख्ने जमर्कोमा छु तर मैले चाहेको कथा-पात्र एवम् कथानक पाएको छुइनँ। के मलाई सहायता गर्नसक्नु हुन्छ ?’
मेरो इच्छा बुझेर पहिले ऊ मधुरतासँग मुसुक्क मुस्काइन् अनि मलाई आशीर्वादस्वरूप मेरा गाला उसको दुवै हातमा राखेर भनिन्, मानौँ म कुनै अबोध बालक हुँ।
‘अवश्य, तर एउटा सर्त छ ?’
‘के हो देवी ? आज्ञा गर्नुहोस् ?’
‘मसँग यही क्षण भ्रमणमा जानुपर्छ ।’
‘कहाँ देवी ?’
‘त्यहाँ, जहाँ तँ कथाको खोजीमा गएको थिइस् ?’
‘देवी, यहाँबाट दिल्ली धेरै टाढा छ। अहिले जान सम्भव हुँदैन होला !’
‘त्यसको चिन्ता नगर! मैले चाहेँ भने क्षणमै तँलाई जगत् भ्रमण पनि गराउन सक्छु ।’
उनको यति कुरा सुनिसकेपछि म स्वयंलाई रुईसमान हलुको लाग्न थाल्यो। म हावाको प्रवाहमा आफ्नो चाल चल्न सक्न थालेँ। भुइँलाई छोडेर आकाशमा उड्न सक्ने भएँ मानौँ म आकाशमा उन्मुक्त उड्ने पक्षीराज हुँ। पवन मलाई आफ्नो बुई चढाएर भ्रमण गराउ उत्सुक भएको छ।
देवीले मेरो दाहिने हात समातेर आकाश मार्गतिर लिएर हिँडी । म अत्यन्त खुसी भएर देवीको गतिमा गति मिलाउँदै अघि बढ्न थालेँ। देवीले मलाई यसरी डोहोर्याएर लैजाँदैछिन् जसरी अभिभावकले आफ्ना सन्तानलाई शिक्षाका लागि विद्यालय लिएर जान्छन् । तारा, चन्द्रमा, बादल, नक्षत्र, पिण्डहरूको दृष्टिपात गर्दै हामी दिल्ली राजधानी पुग्यौँ। देवीले पहिले दिल्लीमेट्रो लिएर गइन् । देवीले नै केबिनबाट दुईटा टोकन लिइन्। मैले उसको हात छोडेको छैन । लाग्यो, हात छोडेँ भने यो आलौकिक दुनियाँबाट हराउने छु। दुवै मेट्रोमा भित्रियौँ। उनको त्यही यात्रुलाई औल्याइन् जो यात्रु मेरो छेउमा उभिएर मस्त च्याटिङ्ग गर्दै थियो।
देवीले इसारा गरेको मैले अड्कल काट्न सकिनँ। म अलमल्ल परेँ। मेरो अलमल्ल्ता भापेर देवीले भनिन्- ‘लक्ष्मण, तैँले पात्र खोजेको बेला मस्त च्याटिङ्ग गरेको यात्रुमा ठुलो कथा छुटाएको छस् ।’
‘कसरी देवी ? यो मान्छे आफ्नो मोबाइलमा आफन्त या उसकी प्रियसीसँग मस्त गफ गरिरहेको छ ?’
‘यो तेरो सामान्य दृष्टिकोण हो । तैँले एक कोणबाट सोच्ने भएर यस पात्रमा कथा भेटिनस् । यसको पात्रमा स्वयंलाई पाएर हेरिस् भने यो यात्रु ठुलो सङ्कटमा परेको पाउनेछस्। जोसँग यो यात्रु अहिले च्याटिङ् गर्दै छ उसले यसलाई ठुलो जालमा फसाएकी छे। केही महिनाअगाडि यसले सामाजिक सञ्जालमा भेटेको थियो । कुरा गर्दागर्दै यी दुईमा गहिरो प्रेमको घडेरी बस्यो । हिजै यी जोडी फोनमा शारीरिक सम्बन्धका कुरा गर्दा केटीले भिडियोकल गरी । भिडियोमा धेरैबेरसम्म दुवैले अश्लिल कुरा गरे, अङ्ग प्रदर्शन गरे। केही घण्टाअघि यो यात्रुलाई केटीको म्यासज आयो- एक लाख पैसा दे नत्र यी फोटा अनि भिडियोहरू सबै भायरल गर्दिन्छु।
यति भनेर हिजो भिडियोमा गरेका कुरा अनि दुवै भएको स्क्रिन फोटो पठाई। केटीको यो धम्कीले उसको खुट्टादेखि भुइँ नै खस्कियो। तबबाट यो यात्रु सङ्कटको तालमा इज्जत र संस्कार बचाउन पौडी रहेको छ। कसरी यो समस्याबाट पार पाऊँ भनी त्यही केटीसँग च्याटिङ्मा भिडियो अनि फोटा डिलिट गर्ने अनुरोध राख्दै छ ।
मेरो चेतनाको एउटा कपाट खोल्यो । देवीले फेरि मलाई चिया पसलको कुर्सीमा लगेर बसाइन् । उनका कोमल हातले मेरो अनुहारलाई सुस्तरी स्पर्श गरिन् । म प्रफुल्लित भएँ उनको छुवाइले । मेरो मन-मस्तिष्क अनि चेतनाको द्वारमा लागेको माम्री उक्केझैँ लाग्यो । अब नौलो चेतनाको चक्षुबाट चिया पकाउँदै गरेको चियावाला भैयालाई हेरेँ । उसको हृदयमा स्वयंलाई पाएर उसको जीवनी निहाली हेरेँ । पाएँ- उसले दुइटै छोरीको विवाह त गरिदियो तर एक महिना अगाडि कान्छी छोरीले आत्महत्या गर्ने प्रयासमा मर्दैमर्दै बाँची। कारण थियो, दाइजो कम लिएर जाँदा सबै परिवारबाट पाएको सहन नसक्ने ट्रर्चर।
देवीले मलाई अटोमा बसाइन्। अटोवालाको सिटमा मनको शक्तिले स्वयं बसेँ। पाएँ- केजरीवाल सरकारले फ्रीको स्कीमले चालकलाई सहायता पुर्याएको छ । दुई महिना अगाडिको कुरा हो । उपचुनावको समय थियो । भोट हाल्ने एक दिन अगाडि उम्मेदवारले देशी ठर्रा सक्दो बाँड्यो । चालकको दाइले पनि बेस्मारी ठर्रा तीनदिनसम्म पिई बसिराख्यो। फेरि के हुनु थियो चार दिनपछि ओछ्यान समात्यो अनि कहिले नआउने गरी भोट हाल्न गयो । तबबाट चालक मनमा पिरको पोको लिएर हिँडेको छ।
यसरी देवीले मैट्रोदेखि लिएर पुरानीदिल्ली हुँदै हवाई जहाजसम्म पुर्याउँदा अनेकौँ कथा-वस्तुहरूबाट अवगत गराइन्। मेरो दृष्टिकोणले ठुलो पाठ सिको जब देवीले मलाई एयरहोस्टेसको मुस्कानपछाडि लुकेको वेदनालाई स्पष्ट पारिदिइन्। एयरहोस्टेसको घाँटीमा देखेको निलो दाग मैले लभबाइट भनेर सोचेको पूर्ण सत्य होइनरहेछ अपितु त्यो लभबाइट नभएर अरूसँग सम्बन्ध राखेकी छ भनी शङ्का गरेर दिनै पतिले कुटेको निसान रहेछ।
मलाई सेरोफेरो घुमाएर देवीले त्यही खोलाको बगरमा ल्याइन् । म अत्यन्त खुसी भएर देवीलाई चरणस्पर्श गर्न झुकेँ तर देवीलाई मलाई रोक्दै भनी- ‘लक्ष्मण, चरणस्पर्श किन? म स्वयम् तँमा छु, तँ ममा छस् । तँ र म एकै हौँ। तसर्थ, चरणस्पर्श किन ? आइज आलिङ्गन गरौँ।’
देवीले अघि सरेर मलाई आलिङ्गन गरिन्। उनको आलिङ्गन त्रिभुवनको समस्त आनन्दको वर्षा मलाई मात्र गरिदिएको जस्तो महसुस लाग्यो ।
आलिङ्गन गर्दा उनले भनिन्- ‘मैले चेतनाको द्वार खोलिदिएको कहिले पनि बन्द नगर्नू । तँलाई सधैँ आफ्नो लेखनीले सन्तुष्ट पार्नेछ।’
आलिङ्गनको आनन्दमा बन्द भएका आँखा जब मैले खोलेँ तब स्वयंलाई त्यही बगरको वास्तविक ठाउँमा पाएँ। माछा मार्दै गरेका, पौडी खेल्दै गरेका, बालुवा चाल्दै गरेका दृश्य। यो परिवेशलाई पुनः मेरा आँखालाई गोलाकारमा घुमाउँदै हेरेँ। बालुवा चाल्दै गरेको ठिक पछाडि चारवटा साना खाबा गाडेर पलास्टिकको छानो हालिएको, त्यस मुनि एकतिर पलास्टिकले नै बारेर बस्ने ठाउँ बनाइएको रहेछ । त्यहाँ सानो नानी, करिब अढाई वर्षको हुनुपर्छ, भर्खरै उठेर आँखा मिच्दै रुँदै थियो। कपडा थोत्रा थिएँ, कत्लैकत्ला। तीनजना महिला मध्ये यो नानी कसको होला भनी बालुवा चाल्दै गरेका महिलातिर ध्यानमग्न भई विचारेँ। तीनजनामध्ये एक जनाको पोसाक साधारण र रङविहीन थियो। उसको सिउँदोमा सिँदुर थिएन। अनुहारमा खुसी एवम् आत्मविश्वासको रेखा थिएन । सोचेँ, पक्कै पनि यसको लोग्ने मरेको छ होला ! आफ्नो र नानीको पेट पाल्न यो भीषण गर्मीमा जीवनको आशा र निराशा यही बालुवासँग चाल्दै छे । बिचरी ! यसको हिम्मत र कर्मठतालाई सलाम!
निकैबेर सोचमग्न भई मेरो अगाडिको परिदृश्यलाई हेरेपछि कलम र कपी निकालेँ अनि कथाको पहिलो शीर्षक लेखेँ- ‘चाल्नाले छानेको मेरो भाग्य’।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।