गाउँको मन्दिरमा सामान्यतया वर्षमा एक दुई पटक जति मात्र मुख्य गत पूजामा जान्थे हरिदत्त । विशेष केही भएछ, कसैले पूजा लगाएछ भने निम्तो मान्न पनि जान्थे । उनकै परिवारसँग जोडिएको छ यो मन्दिरको पूजा सम्बन्धी व्यवस्था जतिसुकै जिम्मेवारी भए पनि मन्दिरभित्र अनिवार्य कामबाहेक कमै आवतजावत हुन्छ । गाउँ नजिकै भए पनि मन्दिरमा त्यस्तो काम पनि केही हुन्थेन पनि । असार ,पुस महिनामा बोका काटिने भएकाले को आउँदैछन् बोका चढाउन बाटो हेरी रहने, तिनलाई सघाउने, रीतिरिवाज बताउने गर्न अग्रसर नै भैरहन्थे । मन्दिरमा कोही चढाउन ल्याए भने सबै प्रक्रिया भनी दिने हुन्छ देवतामा पूजा लागेको बेला म चढाइदिउँला भन्दै सामग्री आफूसँगै राख्ने गर्थे । सामग्रीको दसुन,बिसुनको हिसाब गर्न भुल्दैनथे । सामग्री ,त्यसको दस ,बीस प्रतिशत राखेर देउताको तर्फबाट आशीर्वाद पनि दिइहाल्थे । बिस्तारै बिस्तारै देउता रिसाएका यसो गर्दा ठिक हुन्छ पनि भन्न थाले । देउताको रीतपरम्परा बताउने भए । देउताकै प्रसङ्ग धेरै थानका बारेमा जानकारी राख्थे । कुनै सोध्न आए भने स्थापना देखिका सबै कुरा बताउथे । देउता रिसाएको ठिक गर्ने कुरामा आफूले गर्न सक्ने र कार्य गर्दा आफूलाई लाभ हुने गरी कार्ययोजना दिन्थे । पछिपछि देउता प्रकट गरी धामी काँपेर भन्न पनि सुरु गरे ।

कैलाशकुमार पाण्डे

धेरैलाई बोका काट्ने नै सल्लाह दिन्थे जसले उनलाई पनि लाभ हुन्थ्यो । बोका देउतामा चढाउँदा नानाथरि कृत पनि गराउँथे । देउता षोडसउपचारले पूजा गर्नु पर्ने । पुजारीलाई वरणी गर्नु पर्ने , पूजा सामग्रीसँगै बोकाको मूल्यको दस प्रतिशत दसुन र बीस प्रतिशत बिसुनको छुट्टै रकम पुजारीको दक्षिणा सबै हिसाब अगाडि नै सुनाइहाल्थे । स्वार्थका लागि मानिस जे पनि बन्धक राख्न तत्पर हुन्छ । सबैमा नैतिकता अलिकति मात्र पनि बाँकी हुन्थ्यो भने सामाजिक विकृति बढ्दैनथे । नैतिकता कुन चरीको नाम हो । सबै जना दुनो सोज्याउनमा लागि पर्छन् । यस्तै भयो बोका प्रसङ्गमा । सुरु सुरुमा अनुमानका भरमा नै धेरै कुरा भन्थे । पछि गएर देउता प्रकट नै गरी हाल्थे । पीडितको नालीबेली बुझ्ने र एउटा दोस देखाउने र भन्ने गर्थे । नेजाधाजा ,निसानमा घण्टा र कालो बोका प्रायः सबैलाई त्यही भनिन्थ्यो । बोका उपचार पद्धति बन्यो । बोका ल्याएपछि त्यसमा आफूले पाउने हिस्साको निकै बहस हुन्थ्यो । बोकाको टाउकोका लागि कसैसँग उनी सम्झौता गर्दैनथे । बोका काटिएपछि त्यसको बाँडफाड काट्नेले पाउने हिस्सा,हतियारको हिस्सा,त्यस्तै हिसाबमा टाठाबाठाले गतिलो हात पार्न कस्सिने र पाउने पनि ।

भोज जस्तै मनाइन्थ्यो बोका काट्ने कार्यलाई । आआफ्नो भाग लाग्ने कुराको सबैले लिइहाल्ने । खुर्किँदा,चोक्टा काट्दा लुकाउन पनि लागिपर्थे । काटेको चोक्टा एउटा भागमा राख्ने अर्को चोक्टा गोजामा राख्ने । अलि राम्रो राम्रो मासु राखेर देउताको भाग छुट्याइन्थ्यो । अलि कमजोर रहेको रिठे दमाइ आफ्नो दावी पेश गर्थे “पोट्या मेरो ।”

आन्द्रा भुँडी गौना सहितको पोट्या लिएर छोड्थे । मन्दिरसँगका अन्य क्रियाकलाप बिर्सेर बोका संस्कृति ,बोकाको टाउको संस्कृति तथा पोट्या मेरो ,पोट्या मेरो संस्कृतिका रूपमा विकास भयो ।

मन्दिर सामाजिक एकताको थलो हो । सबै किसिमका राम्रा नराम्रा बिर्साएर एक भावना,एक परिवार,एउटा संस्कृतिको सम्मेलन हुन्थ्यो मन्दिरमा । संस्कृति एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुन्छ भन्ने मान्यता छ । वैदिक सनातन यस्तै हस्तान्तरित संस्कृति हो सनातन हिन्दु धर्म । तर त्यो वैदिक नाम कुनै पण्डितलाई थाहा होला । यताको सनातन आडम्बरी र ढोङ पद्धति भएको छ । जसलाई जस्तै अनुकूल भयो त्यस्तै ब्याख्या र प्रयोग गर्ने प्रवृत्तिले धर्म, संस्कृतिप्रतिको आस्था घट्दै गएको छ । त्यत्तिकै पूजा गर्दैन । मन्दिरका प्रतिको उच्च दर्शन छ । जीवनका छ वटा ऋणबाट मुक्तिका लागि धेरै अनुष्ठान गरिरहेका हुन्छन् । देव ऋण तिरिन्छ भन्ने मान्यतामा छ । तर एउटा पाप थपिँदैछ पशुवलिले । देवता खुसी खै कति हुन्छन् तर मासु खानेहरु भने निकै रमाउँछन् । रमाउने क्रियासँगै चोक्टाका लागि मरिहत्ते गर्छन् ।

बोका काट्ने कुनै संस्कृति होइन तर जबरजस्त रुपमा स्थापित भएको छ । बिहे गरी पठाएकी छोरीबेटीले माइती देउता मान्न बोका काट्नु पर्ने । हरेकले यस प्रकार विभिन्न बहानामा बलि प्रक्रियामा सामेल हुनु पर्ने नै हुन्थ्यो । अभियानका मुख्य अभियन्ता हरिदत्त थिए । बोका काट्न आउने पनि थरीथरीका हुन्थे । कुनै पञ्च बलिका लागि पाँच बोका ल्याएर आउँथे । कसैले पाँच पुर्याउन कुखुरा ,हाँस, भएनछ भने कुभिण्डो समेत ल्याउने गर्थे । कसैको केही कुनै चिज कम भएछ भने हरिदत्त पूरा गरिदिन्थे त्यसको हिसाब लिइहाल्थे । कालो बोका ,सेतो बोका घरमा पालिएका हुन्थे । कुनै समय रङ्ग नमिल्ने अवस्था भएमा जस्तो मिल्थ्यो सोहीलाई मिलाउने विधि खोज्दथे ।

बलि प्रथाको उदाहरण प्रस्तुत गरिन्थे । गढीमाईमा लाखौंको बलि चढाइन्छ । दक्षिणकालीमा दैनिक सयौँको संख्यामा बलि हुने गर्छ । त्रिपुरासुन्दरी,मेलौलीमा त सयौँ रागाको बलि दिइन्छ । कहीँ परेवासमेत बलि गरिन्छ । बलि गरिएपछिका उपलब्धिको पनि निकै वर्णन गरिन्थ्यो । देवता अन्य रीतका विषयमा कोही केही भन्दैनन् । नौरथा बस्न छोडिसके । न्वागी चढाउने न्वागी पूजामा एक दुई जना मात्र आउँछन् । देलीबालो लागाउन बिर्सी सके । मन्दिरमा दिने ओल्को दिँदैनन् । वार्षिक पूजा पनि राम रमाइलो मात्र हुन्छ । जुन विधि पद्धतिमा हुनु पर्ने त्यस्तो हुँदैन । तर बलि मेला भब्य लाग्छ । नाउँको अधि पण्डित जोडन खोज्ने पनि त्यसैमा बढी जोड दिन्छन् । दिन,महिना समय कुर्नु पर्दैन, नित्य बलिको व्यवस्था भएको छ । बोकाको टाउको र बोका काटिएको अवस्थामा हाम्रो हिस्सामा आउने कुरा हामीलाई दिइए भन्नेको ठुलो गुनासो रहन्थ्यो।

एक दिन पञ्चबलिका लागि पाँच बोका ल्याएर एक जना श्रद्धालु आएछन् । जमघट पनि ठुलै भयो । त्यो दिन चोक्टा लुकाउनेको होड चल्यो । हरिदत्तले श्रीमती पनि साथै लगेका थिए । बोका टाउको,गौना,मासु सम्हालेर राख्ने जिम्मा लगाए । पाँच बोकाका टाउका अन्य मासु निकै थियो । हरिदत्तसँग माग्नेको पनि लाम नै लाग्यो । त्यहाँ उपस्थितले मासु खान त अघाउने गरी नै खाए धेरैले गोजीमा राखे ,धेरैले झिल्लीमा, केहीले पातमा बेरेर पनि लगे । पुजारी पत्नीले पनि घरबाट ल्याएको कट्टामा बोकाका टाउका अन्य सामग्री लग्दै गर्दा एउटा टाउको बाटोमै खसेको रहेछ । त्यस्तै निकै चिच्याई,कराई गरी रिठेले भुँडी, गौना लिएछन् । अलिकति सफा गरे जस्तो गरी झाडीमा लुकाएर राखे । सबै जना मासु माग्नमै व्यस्त रहे । लुकाएर राखेको पोट्या कुकुरले लगिसकेको रहेछ ।

पञ्चबलिको कार्य सकेपछि घर जान खोज्दा पोट्या हराइसक्यो । कता हरायो ,कता हरायो । ‘पोट्या मेरो’ भनेर झगडेर लिएको भाग त हराएछ । भुइँको टिप्न खोज्दा पोल्टा पनि झरेछ । उता हरिदत्त घरमा पुगेर मासुको वितरणको योजना बनाउँदै थिए । त्यही लगतमा एउटा बोका टाउको छैन । सातो जाने गरी गाली गर्न लागे । सबै बर्बाद भयो भनी जोरले कराउन थाले । रडाको माच्चियो । केही केटाहरू गोजामा लुकाएको चोक्टासँग डम्बर दाइको भट्टीतिर गएछन् । अलिकति मासु त्यता दिएर रक्सी मागेछन् । मुख गन्हाउने प्याग लगाएका थिए । विवाद सुरु भयो । अलि बढ्यो गाली गलौज हुँदाहुँदै कुटाकुटसम्म नै पुग्यो । पुलिस बोलाएर साम्य गर्नु पर्ने अवस्था आयो।गाउँका मांसहारी सबै अघाउने गरी पुग्ने मासु भएको बलि मेलामा चोक्टाका लागि, टाउकोका लागि, पोट्या गौनाका लागि रडाको मच्चियो ।