

दुर्गा राई
पिउँदिन भन्दा भन्दै
पिलायो साथीले।
बिहे र बनभोजतिर विशेष गरी जमाउने यो गजल खाले गीत हो । तर आर पी अर्थात् रामप्रसाद शर्माले बद्लाएर गयो । राम्रो गायक हो र राम्रो गाउँछ। कार्यक्रमतिर त पेशागत रूपमै गाउँछ। उसको गायनको राम्रो माग छ। आज चाहिँ कार्यक्रम होइन होटलको कोठामा टाँसी र समिराको सामु गायो। गिटार बजाएर गायो। तर चुर मातेर गायो। एक दुई ठाउँ अलिक जिब्रो लट्पटियो। उत्तर आधुनिक कालको बाहुनको छोराले पिउनु पनि उत्तर आधुनिक घटना नै हो । आफू त बाहुन रातभरि डाउन भनेझैँ डाउन भएरै गायो-
पिउँदिन भन्दा भन्दै
पिलायो टाँसीले।
अन्तराभन्दा यी पङ्क्तिहरू तीन पटक दोहोऱ्याई दोहोऱ्याई गायो । यहाँ तीन पटकको अर्थ तीन पाने रक्सी भने जस्तो होइन। पैसाको कटगाह्रोमा लोकल तीन पाने रक्सी चलेकै हो । तर आज भोद्गा चल्यो । चिकन चिल्ली, फ्रेन्च फ्राइ के के चल्यो। आर पीको कमजोरी के हो भने ऊ परिकार सेवनमा भन्दा पिउनुमै बढी जोड गर्छ। आज पनि त्यसै गऱ्यो। त्यसरी एक दुईपटक जिब्रो लटपटाएर टाँसीले भन्दै गायो । तर आज ‘साथीले’ नगाएर किन ‘टाँसीले’ गायो त।
वास्तवमा टाँसी चाहिँ आर पीको साथी हो । उहिल्यै नभए पनि पहिल्यै बाल्यकालदेखि सँगै बढेको। अँगालो हाल्दै स्कुल गएर सँगै एउटै स्कुलमा एउटै कक्षासँगै छिचोलेको साथी हो । दुवैको सिङाने घिनहीन बाल्यकाल। त्यस्तो बालापनमा केको घिन। भुत्रोको भने जस्तो। तर यो भुत्रो पनि सिङाने दिक्मिकजस्तै नै हो । दाउ पर्दा लेख्नेले चलाइहाल्छ यस्तो शब्द । माया मारिहाल्नु हुन्न क्यार यस्तो शब्दलाई पनि।
‘पिलायो साथीले’ भन्दा बढी आजको सन्दर्भमा चाहिँ ‘पिलायो टाँसीले’ प्रासङ्गिक भएको छ । पिलाइ माग्ने पऱ्यो बाहुनको छोरो । संविधानले थुनामा पारेको जेनरल क्याटोगोरीको निम्छरो । पिलाउने चाहिँ संविधानले थै थै पारेर दर्जा उकासेको सेड्युअल ट्राइब। एसटीको डिएनएमा रक्सीको संस्कार भए पनि जोगिएर पियो टाँसीले । जेनरल आर पीले पगितो पियो । टाँसीको प्रोमोसन भयो। ऊ हिजदेखि बिडिओ भयो । यही खुसीमा टाँसीले यो भोजको आयोजना गरेको हो। भोलि उँधो कोचबिहार ब्लकमा खण्ड विकास अधिकारीको बिल्ला लगाएर जाने भयो परै त । बाहुनको छोरो बेकारी मोरो । के गर्ने त बरा।
माध्यमिक परीक्षामा सँगै फारम भर्दा अघिल्लो बेन्चमा आर पी पऱ्यो । एक नम्बरपछि पऱ्यो टाँसी । उस बेला बिहान बिहान लामै मन्त्रोच्चारण गर्ने तीक्ष्ण बुद्धिका आर पीले नब्बे प्रतिशत ल्याएर प्रथम परिणाम ल्यायो । आर पीको पछिल्लो बेन्चमा पर्ने टाँसीले छोटो मङ्गोलिय घाँटी तन्काइ तन्काइ आर पीको खाताबाट चालिस प्रतिशत कपी गरेर दोस्रो दर्जा हत्यायो । यो कुरोचाहिँ टाँसीले ढाँट्नु हुन्न । नत्र मरौमा घेवा गर्ने र दोमङ पढ्ने टाँसीको बाबुको पाप लाग्छ टाँसीलाई। सोही क्रम उच्चतर माध्यमिक परीक्षामा पनि दोहोरिएको हो र त्यस्तै परीक्षा परिणाम पनि आएको हो। त्यसपछि टाँसी कलकत्ताको कुनै कलेजमा पुग्यो।
उसको भेना उतै कलकत्ता पुलिसमा कार्यरत रहेको हुँदा खाने र बस्ने व्यवस्था सहज भयो। हुने बेलामा जताबाट पनि तालमेल मिल्दो रहेछ टाँसीको जस्तो। नहुने बेलामा गनाउने मुख आर पीको जस्तो। पञ्चायत विभागमा चतुर्थ श्रेणीमा कार्यरत आर पीको बुबाले बाहिर पठाउने आँट पनि गर्न सकेनन् । दसैँ छेक विदा मिलाएर सिक्किमतिर जजमानी गरेर अर्जेको रकमले एउटा सानो घर जोड्नसम्म चाहिँ सकेको हो। अध्ययनरत भाइ र बहिनीलाई पनि बुबाले खर्च धान्नै पऱ्यो । के पनि गरोस् । तै जसोतसो स्थानीय महाविद्यालयबाट अङ्ग्रेजी भाषा साहित्यमा सम्मानसहित स्नातक उत्तीर्ण बन्न सक्यो आर पी।
भोलिपल्ट बिहानै टाँसी कुचबिहार लाग्यो। हिजो अलिक बढी पेग चढाएको हुँदा आर पी बिहान चाँडो उठ्न सकेन। कस्तो बढी टाउको भारी भएको त ए बा। निम्बु पानी सम्झ्यो। ह्याङ ओभर काट्छ। तर भान्सा कोठामा त्यो थोक भए जस्तो लागेन। हलुका पक्षघातले देब्रे पाटो बाङ्गो भएर हिँड्ने आमा त्यहाँ के के तुनुमुनु गर्दैछिन्। यस वर्ष माध्यमिक र उच्च माध्यमिक दिने भाइ र बहिनी पाठ घोक्दैछन्। भित्र सानो पूजा कोठामा बुवा दुर्गा जाप गर्दैछन्। सबै आ-आफ्नै काममा लागेका छन्। तइनमा नहुने त आर पी आफू मात्र पो रहेछ। जानी जानी किन यसरी जीवन बिटुलो पारेको नि। साँझतिर अड्डाबाजी गर्नमा उसको एक नम्बरको बिल्ला छ। कुनै कुनै समय उसलाई पश्चताप हुन्छ बिहान। तर साँझ पर्दै गएपछि कहाँ कहाँ भित्र्याउँदै हुँदै आउँछ।
आज पनि पश्चतापले झस्क्यो। मतवालीलाई पनि जित्ने जनैधारी आर पी शर्मा अधिकारीले जनै छोयो। त्यसलाई छात्तीबाट बाहिर निकाल्यो। हेऱ्यो- मैला मैला। छिः छिः बिग्रेको बाहुन। तर रूपनारायण सिन्हाको बिग्रेको बाहुन हुन सकेन। जनै पुर्ने कहिले हो; फेर्नु पर्छ। माते पनि संस्कार त पालन गर्नै पऱ्यो। जनैलाई भित्र हाल्यो। टाँसीले निक्कै पहिला जनै हेरेर भनेको थियो। ‘छिः जुम्राको पिङ’ सम्झ्यो।
तर आर पिलाई हिजोको भोजमा एउटा कुरो अचम्भ लाग्यो। समिरा आएकी थिई। अहिले जनै छाम्दा उही समिरालाई सम्झ्यो। समिरा उर्फ जात सुब्बा। भर्खरै संविधानले काखी च्यापेको एसटी क्याटोगोरीभित्र पर्छ । तर उसको बढी हेमखेम जनैधारी जेनरल आर पीसँग छ। वास्तवमा दुवै युगल प्रेमी प्रेमिका हुन् । हुन त टाँसीको पनि साथी हो। भोटेको छोरो मोटो शारीरिक वृद्धि रोकिएको हुँदा कचल्टिएको र हेर्दा फर्से टारबाटै आएको हो कि जस्तो लाग्छ।
आर पी भने आर्य बीजले सप्रिएको गठिलो राम्राे र जिउ ज्यान मिलेको उच्च कदको। आरपीको ओजस्वी गायन कलाले पनि समिरा उस्तै मोहित बनेकी हो। तै पनि साथीहरू हुन् उनीहरू। वास्तवमा समिरालाई आर पीको छात्तीको रौँ मन पर्छ। एकान्तमा मौका पर्दा समिरा जनैसँगै रौँको लर्को छामिरहन्छे। टाँसीले जनै लगाउने कुरै आएन। एकान्तिक मौकामा समिरा आर पीको छात्तीमा झुल्छे। जनै खेलाइरहन्छे। त्यसरी छोइरहँदा उसको आँखा मदहोस् बन्छ।
एक दिन के के यस्तै भनी समिराले-
‘म त एक दिन नि यही जनैमा झुन्डिएर आत्महत्या गर्छु ल ?’
हिजोको भोजमा समिराले बदमासी पनि गरी। मात लागेको आर पीलाई फकाइ फकाइ सुँगुरको मासु खुवाई। खान मन नगर्दा मायाको नखरा देखाई। आफ्नो जुठो बियर पनि एक दुई घुट्को पिलाई। जे होस्- रमाइलो भयो।
कोचबिहार जाने दिन टाँसीले आर पीलाई केही पनि भनेन। समिरा उर्फ आर पीकी प्रेमस्त्रीले पो टाँसीलाई पुऱ्याउन गइछे। हेर्नु नि जनजाति जनजाति मिलेको। तर हरे यो कस्तो मिलन हुँदैछ नि। सरकारले त्यस्तो मिलन गराएका परैहरूलाई। जेनरल क्याटोगोरीको आर पी भुतुक्कै पऱ्यो। अचेल एकातिर जेनरल हुनुको पीडाले खाइरहन्छ। उता बेग्लै के के जस्तो हुँदैछ। किन किन समिरा त ऊ र टाँसीबिच बेग्लै बिन्दु बन्दैछे। बिन्दुको सन्तुलन कतातिर ढल्किएला- आर पी अचेल यही कुरोले चिन्तित छ।
समिरा पनि अध्ययनमा त उस्तो उम्दाको हुँदै होइन। टाँसी जस्तै सामान्य परिणाम लिएर उत्तीर्ण हुँदै आएकी। उस्तै उस्तै टाँसी नै जस्तै। त्यसैले ती दुई एसटीहरू सामान्य स्नातक मात्र बने। अङ्ग्रेजी भाषा र साहित्यसहित स्नातक आर पी अङ्ग्रेजी गीत पनि उस्तै गाउँछ र समिराको मुटुमा छाउँछ। टाँसीको कोठामा घन्टौँ अङ्ग्रेजी हिन्दी नेपाली गीत गाएर दुवै एसटीहरूलाई एउटा जेनरलले मक्खै पार्दै आएको हो। टाँसीलाई त टेबल ठोक्न पनि उस्तो आउँदैन। समिरा ताली बजाउन पनि लजाउँछे। मक्खै परेर सुन्छे। सुनेर ऊ ङिच्च हाँस्छे मात्र। तर त्यो हाँसोमा आर पीको कलात्मक रूपप्रतिको उसको सम्मोहन झल्कन्छ हरेक साँझ। सायदै दोहोरिएला अब उसो यस्तो साँझ। टाँसी चाहिँ आबा न चाबाको। सुनेर ताली मार्फत प्रतिक्रिया पनि जनाउँदैन। त्यसो नगर्नु सायद आर पीप्रति एउटा ईर्ष्या बोध पनि होला।
आर पी फेरि झस्कियो। साँच्चै नभनीकनै पो गयो टाँसी। ठुलो भएछ अब। बिडिओ भयो। बिडिओ साहब। केन्द्र र राज्य सरकारका प्यारा सन्तानहरू।
मन चिरा पऱ्यो। आर पी दिनभरि घोरिरह्यो। कोठाबाट निस्कँदै निस्केन। आमाले गुन्द्रुक र भात पकाइन्। भुटुन छ्वाइय्य बज्यो। लसुन डढ्यो। कति खानु गुन्द्रुक। गुन्द्रुककै झोल भइसक्यो जिन्दगी। भोक टरेर गयो। हिजो त्यस्तो गुणात्मक भोज खुवाएको टाँसीले। आज त के रुच्छ र। आः नखाने। आमाले बोलाइन्। खान्न भनेर सुतिरह्यो। दिनभरि नै प्रायः।
आर पीको थोत्रो टिप्टिपे मोबाइलमा समिराको टचे सेलबाट कल आउँथ्यो। टाँसीलाई एक्लै पुऱ्याउन गई। ठिकै छ। तर कल त गर्नु पर्ने नि। त्यो पनि छैन। गरिन। बेलुकीसम्मै पनि गर्दै गरिन। किनारीकृत गर्न लागेकी पो हो कि। कति चाँडो बदलिन्छ नि मानिसको मन। टाँसीले त अझ के पो गर्छ। भ्याएन पनि होला। एक छिन पुऱ्याउन गएर घर फर्केकी समिरा पो के भएकी ।
टाँसीको प्रमोसनले गर्दा सायद समिराको मन मोहित बन्यो। हिजो टाँसीको हातमा आइफोन थियो। समिराले त्यो मागेर खेलाइरही। आर पीले पनि पत्लुनको गोजीमा आफ्नो पुरानो मोबाइल छामेको थियो। त्यस्तै पनि हराए बेकारीलाई अर्को समस्या। आइफोन नभए पनि समिरासँग राम्रो दामको फोन छ। उसलाई पनि आइफोनकै रहर होला। तर एक दिन किन्छे पनि। किन कि उसको पनि डब्लुबिसिएसको परीक्षा परिणाम अपेक्षित छ। टाँसीले उँधो सोर्स मिलाइसकेको कुरो समिराले सुटुक्क भनेकी थिई। कसैलाई पनि नभन्नु भन्ने सर्तलाई समिराको किलकिलेले रोक्नै सकेन। अग्रिम बधाई छ समिरा तिमीलाई। आर पीले मन मनै औपचारिकता पुरा गरेको थियो।
समिराले सम्पर्क गरिन।
केही दिनपछि आर पीले एउटा खबर सुन्यो। यो चाहिँ आर पीका लागि पनि राम्रै हो। खबर के भने सहरमा एउटा साङ्गीतिक कार्यक्रम आयोजना हुने भयो। हुन त कुनै राजनैतिक दलको आर्थिक सहयोगमा हुने कार्यक्रम त्यो दलको प्रचार प्रसारकै कार्यक्रम हो।
आर पीले पनि चारवटा गीत गाउने ठेका पायो- दुईवटा नेपाली, दुईवटा हिन्दी। राजनैतिक दल जुनसुकै भए पनि पैसाको कुनै दल हुँदैन। गान्धीको छापले कसैलाई छुट्याउँदैन। आयोजना हुने मियाद एक महिनाकै छ। हरेक साँझ रिहर्सलपछि प्रायः सबै सोम रसमा रमिरहे। हरेक बिहान आर पीले गरम नुन पानीले लामो गलल गरेर गला साफ गरिरह्यो। भान्सामा अमिलो बन्द। चिसो पानी बन्द। चिया पिएर पुरानो हारमोनियमको रिड ठोक्दै स्वरसाधना गरिरह्यो। यही हारमोनियम जस्तै भयो जीवन। सम्झन्छ। दुःख लाग्छ।
समिरासँग उसको कुनै सम्पर्क छैन। टाँसीको त अझ कुरै आएन। आज बेलुकी रिहर्सलका लागि हलतिर जाँदा बाटामै समिराका साथीसँग भेट भयो। यस्तो बताई- समिराले पनि सामान्य तहमा भए पनि डब्लुबिसिएस पास गरी। सायद यसमा टाँसीकै भूमिका होला। हिजो फ्लाइटमा कलकत्ता उडिछे पनि। कोचबिहारबाट टाँसी पनि सोझै कलकत्ता लागेछ। अहो राम्रो भएछ। राम्रै होस्। आरपीले भलो चितायो। हलमा पुगेर आर पीले कार्यक्रममा गाइनु पर्ने गीत रिहर्सल गरेन। अर्कै अर्कै गायो। अर्कै अर्कै अर्थात् समिरा र टाँसीले मन पराएका गीतहरू गायो। मनमनै गीतहरू टाँसी र समीरालाई समर्पण गऱ्यो। वाद्यवादक र आयोजकहरू छक्क परे। आर पीको अनौठो रूप देखेर कसैले केही भनेनन्। गाइरहँदा पनि उसको मनले भनिरह्यो- राम्रो होस् समिरा तिमीलाई राम्रो भइरहोस्। बधाई टाँसी तिमीलाई।
आज त कस्तो भावुक भएर भएर गाएको। बेग्लै राम्रो न राम्रो गाएको। वाद्यवादकहरू छक्क परे। मानौँ यो रिहर्सल होइन। आर पी साँझ हो। हलभरि गीत सुन्ने श्रोताहरू कहाँ कहाँबाट कसरी कसरी बाक्लै भेलामा जुटे। फर्माइस् पनि सुरु भयो। के के गाइरहेको छैन र आज हिन्दी नेपाली गजल बेरोक गाइरह्यो। उदास भएरै गायो। फर्माइस् आइरह्यो। एकजनाले भोद्गा काजु बदाम टक्रायो। जगजितको गजल फर्माइस भयो। एक छिन स्वरलाई विश्राम दियो। मन्त्रमुग्ध बनेका श्रोताहरूले आर पीको सेवा गर्न थाले। चार पेग भोद्गा चढिसकेको थियो। स्वरलाई विश्राम दिने क्रममा गिटार समायो। केही धुनहरू बजायो।
घाम डुबिसकेको थियो। सन्ध्याको सम्मोहनमा मदहोसी बनेर फेरि जगजितको गजल गायो। नारायण गोपाल गायो। गाउँदै गयो। दीप श्रेष्ठ गायो। पङ्कज उदास गायो। के के गायो के के। प्रत्येक गजल र गीतपछि बिसायो। उसको गायनमा मोहित श्रोताहरूले भोद्गा थपिदिइरह्यो। काजु बदामसँग आर पीले लिइरह्यो। तल्लीन भएर भएर जस्तो कि तल्लीन नै भएर गाइरह्यो।
अन्तमा अब अन्तिम गीत भनेर गाउन सुरु गऱ्यो। तर रोकिएर ठट्टामै यस्तो पनि भन्यो- ‘लास्ट गीत गाउँदैछु साथी हो। वा मेरा लागि अन्तिम गीत नै त हुँदैन?’ भनेर अनौठो हाँस्यो ।
सबैले ‘हुँदैन हुँदैन’ भनेर कराए।
एकजनाले भोद्गा थपिदिँदै भन्यो।– ‘हैट ब्रो गीत त कहाँ लास्ट हुन्छ। भोलि पनि आउनु पर्छ। तर आजलाई एकपटक गाउनुहोस् न।’
हल्लामा हाँसेरै सबैले ताली बजाए। कसै कसैले साइ साइ सुइ सुइँ पनि आवाज पारे।
भोद्गा सिध्याएर आर पीले गाउन थाल्यो-
पिउँदिन भन्दा भन्दै
पिलायो साथीले।
अहिले चाहिँ अस्ती होटलमा जस्तो ‘टाँसीले’ भनेर गाएन। साथी नै गायो। टाँसी अब उसो साथीजस्तै रहन्छ रहँदैन। त्यसैले टाँसी नसम्झी साथी भनेर गायो। बेकारीको साथी बिडिओ कहाँ हुन्छ।
आर पीले पुरै गीत गायो। भोद्गाको मातले जिउ गले पनि उसको जिब्रो गलेन। प्रत्येक गीत र गजल ठिक ठिक नोटमा गायो। गाइसकेर हात जोडेर सबैलाई नमस्कार गऱ्यो। समूहले समूहमै कराएर थ्याङ्क यु भन्यो।
आज आर पी अलिक हिँड्न नसक्ने नै भएछ।
त्यहाँ एकजना बाइकवाला श्रोता निस्क्यो। भन्यो- ‘म पुऱ्याइदिन्छु दालाई।’ घर चिन्दो रहेछ।
‘बिस्तारै पुऱ्याइदिनु नि। आज अलिक…।’
बाइक नभएको अर्को श्रोता आधाकल्चो बोल्यो। दुईजना अन्य शुभ चिन्तक श्रोताहरूले आर पीलाई दुईपट्टि कोखिलामा दह्रो समाएर सिँढीदेखि बिस्तारै ओह्राल्यो। बाइकको इन्जिन चालु छ। झन्डै उचालेकै पारामा दुईजनाले आर पीलाई लिखुरे बाइकवालाको पछि बसाए।
‘बिस्तारै लानु है बिस्तारै।’ एकजनाले यसै भन्यो।
ठुलो साँझ ओहोर्लिई सकेको थियो।
खटराजस्तो बाइकले घोर्ले घ्यारर घ्यारर गरेर बाक्लो धुवाँ छाड्यो। हल्लँदै अघि गुढ्यो। चिनेकै होला र बाइकवालाले टुँङ्गो सोधेन। घुम्ती काटेर बाइक गएपछि समूह आफ्नो आफ्नो बाटो लागे। बर्खाको पानीले खाल्डा खुल्डी बनाएको ठाउँतिर उफ्रँदै घ्यारारा गरेर बाइक गुड्दै गयो। ल्याम्पोस्टको नाम मात्र छ। लोड सेडिङले हानेको क्षेत्रमा कसो कसो एउटा ठुलो खाल्डो जस्तो भागमा बाइक कराएर उफ्रियो। पार त भयो। तर आर पी पार भएन। त्यही खाल्डोमा ढाँड बङ्ग्याएर लडिरह्यो।
साँझको बेला फर्कनेहरूको भिड लाग्यो। इन्तु न चिन्तु आर पी उठ्नै सकेन। बाइकवाला डराएर उता उतै कता लाग्यो। कसैले चिनेन।
अस्पतालको पलङमा सुतिरहेको ऊ भोलिपल्ट ब्युँझदा आमाले पो रुँगिरहेको थाहा पायो। रुँगिरहेकी मात्र होइन रोइरहेकी पनि थिइन्। प्रतिक्रियाहीन उसले माथि सिलिङ हेऱ्यो।
भाइ आयो कुन्नि के लिएर। बुवा पनि आए। एक छिन् हेरेर केही नभनी फर्के बुवा।
उसले ‘उठ्छु एक छिन्’ भन्यो।
भाइले निक्कै बल गरेर उठाउँदा आमाले पनि भर दिइन्। भाइले कम्मरदेखि उँधो छाम्दा उसलाई त्यति छोएको बोध भएन। मेरुदण्ड गडबड पो भयो कि। भाइसँगै ऊ झस्क्यो। भाइले फेरि मालिस गरे जस्तो गऱ्यो निक्कै बेर। निक्कै बेरपछि मात्र अलिलि थाहा पायो त्यो भागमा छुवाइ।
दिउँसो कार्यक्रमका आयोजकहरू आए। मनकारी सहयोगीहरू पनि आए। अबको सातौँ दिनमा हुने कार्यक्रममा उसले गाउन सक्ने सम्भावना नै रहेन। सबैले थक्थक् माने। सबै गइसकेपछि आर पी आफैसँग भक्कुचुर रिसायो। फेरि आफैले आफैलाई भन्यो- ‘ल्याङफ्याङ छ जिन्दगी।’
समिराको फोन आएन। टाँसीको पनि। थाहा पाए कि पाएनन्। पाउनु नै पर्ने। सायद व्यस्तताले गर्दा थाहा पाएनन्।
अर्को दिन समिराकी उही साथी आई। अनुहार नियास्रो पारी। यस्तो नियास्रो रूप त समिराको पो हुनु पर्ने। उसले फल बिस्कुलको कालो प्लास्टिक पोका सिरानीको समानान्तर सानो टेबलमाथि राखी। धेरै बेर बोलिन। जति बोली त्यसको सार यस्तो थियो-
समिराले टाँसीकै ब्लक कोचबिहारमा ड्युटी ज्वाइन् गरी, ती दुवैले दुर्घटनाबारे पनि सुनेछन्।
समाचार संवाहक धेर बेर बसिन पनि। जति भन्नु थियो भनेर गई। दिनभरि अनि साँझसम्म पनि केही नखाई आर पी घोरिरह्यो।
राति आठ बज्ने बेला समिराको म्यासेज बज्यो। उही टिप्टिपे पुरानो फोन। भाइले खोलेर दियो। ‘गेट वेल सुन’ त्यही चल्ती सद्भावना। हात राम्ररी चल्ने भए त फोन नै पछार्थे भन्ने लाग्यो उसलाई। वाक्के नै बसेको भन्ने सम्झि छे, म्यासेज गरेको रहेछ। रिसायो। कन्चटको नसा एक दुई पटक भुलुक भुलुक गऱ्यो। रिस उठ्दा सधैँ यस्तै हुन्छ।
पर्ख न पर्ख… तर एक दिन।
उसको मन बोल्यो। फेरि दुखेर त्यही मन बोल्यो- जाती त बनुँ म। पर्खन एक दिन। मेरो त जिन्दगी ल्याङफ्याङ छ। पर्खन एक दिन। घोरिरहन थाल्यो। धेरै बोल्न छाड्यो। अवसादको लक्षण पो हो कि। उसको मन मात्र बोल्छ। बोलेपछि भित्र केले केले पोल्छ। पोलेपछि फेरि त्यही बोल्छ- ‘ पर्ख न पर्ख एकदिन।’
आर पी हस्पिटलमा एक हप्ता सुत्यो । मनकारी सहयोग र उचित उपचारले गर्दा डिस्चार्ज पाउने भयो । जाने दिनको बिहान चल्ने दाहिने कम्मरदेखि उँधो खुट्टा र पाइतालासम्मै चिलाएको थाहा पायो। भाइले उठायो। उठाएर खुट्टा टेकायो। टेकाएर अलिल हिँडायो। तर कुन्नि किन यसरी हिँड्न सक्ने हुँदा पनि ऊ खुसी भएन। पटक्कै भएन। बेडमा एकछिन खुट्टा झुन्ड्याएर बस्यो। फेरि पछि सरेर भित्तामा अडेस लागेर बस्यो। तर खुसी भएन।
‘दा म आउन सक्छु!’
एकजना लिखुरे केश पछिल्तिर चुल्ठो पारेको मान्छे दैलो समाएर उभियो। अनुमतिमा आर पीको टाउको हल्लियो।
लिखुरे भित्रियो। आएर आर पीको खुट्टा समाएर रुन थाल्यो। ऊ हेरेको हेरेकै। भाइ पनि त्यस्तै।
‘दा सरी, मैले नै बाइकबाट तपाईँलाई लडाएँ। दा सरी। एकदम सरी।’
लिखुरे एकछिन् रोयो । उठ्यो । फेरि दैलेनेर पुगेर अन्तिम पटक सरी भनी फर्क्यो । ऊ प्रतिक्रियाहीन । भाइ निःशब्द।
अपरान्ह कलाकार र आयोजक समूह आए । आएर पोको पारे जस्तै गरी आर पीलाई घर पुऱ्याए। बाटोमा ऊ लडेको ठाउँ पनि देखायो एकजनाले। खाडलै रहेछ। लडेको ठाउँ भन्ने सुनेर ड्राइभरले पनि सचेतजस्तो भएर गाडी धिमा पाऱ्यो।
फेरि समूहले पोका नै उठाए जस्तो गरी आर पीलाई थपक्कै घरको पलङमा राखिदिए । उसले आफूलाई दुःखको पोको सम्झ्यो।
घर आएपछि आर पी दिन दिनै अन्तर्मुखी बन्यो । जसो तसो जीवन धानिएकै छ । बाले दुःख गरेर भए पनि दाल भात जुराएकै छन् । बिहान एक छिमल घाम कोठामा पस्छ । सेतै फुलेकी आमाले चिया खाजा ल्याएर दिन्छिन् । बाको पञ्चायत कार्यालय खोला पारि हुनाले बिहानै ब्याग च्यापेर निस्कन्छन् । भाइ बहिनी आफ्नो परीक्षाका निम्ति तल्लीन छन् । ऊ दिनभरि सुतिरहन्छ। सुत्छ नै त्यसरी फगत सुत्ने मात्र भएर। बिहान एकछिन् घाममा निस्कन्छ । सुस्तरी हिँड्छ। हिँड्न पर्छ र केही टाढा पुग्न सक्ने हुन पर्छ भन्ने उसले ठानेको छ। बाँच्ने यो एउटा उपक्रम हो। हिँड्दा हिँड्दा बिस्तारै निकै हिँड्ने पनि भयो।
बेला बेला साङ्गीतिक टोलीका साथीहरू पनि आउँछन् । सक्छौ भने आउ न त कार्यक्रममा मौखिक निम्तो पनि पायो। तर ऊ गएन। मन मऱ्यो।तोकिएअनुसार कार्यक्रमको दिन पनि आयो।
साँझ पऱ्यो। कार्यक्रम सुरु भयो। तर आर पी आधारातसम्म सिरानी समाएर रोइरह्यो। समिराको म्यासेज पाएदेखि उसले फोन बन्द राखेको राखेकै छ। बन्द नै राखेको हो। अब उसो फोन खोल्दै नखोल्ने उसले अठोट लियो। अन्ततः उसले खोल्दै खोलेन पनि।
कार्यक्रमको भोलिपल्ट दिउँसो समिराको उही साथी आई।
‘कस्तो हुनु हुन्छ ?’ यसरी नै प्रश्न सोधी।
‘राम्रै।’ भन्न सकेको यति हो र यति नै भन्यो । एउटा सन्नाटाले गाँज्यो कोठालाई। आगन्तुकले असहज अनुभव गर्न थाली। खोकी। फेरि अलिकति बोली- ‘समिराले भनेको फोन अन गर्नुहोस् अरे।’
फेरि पनि ऊ बोलेन। आगन्तुकलाई अझ असहज भयो।
‘दा, एउटा कुरा।’ फेरि भनी।
तर ऊ बोलेन।
‘दा, समिराको टाँसीसँग इन्गेज्मेन्ट भयो।’
चट्याङ पड्क्यो। हुरी चल्यो। तर ऊ स्थिर रुखजस्तो यथास्थितिमा रह्यो।
‘दा, यो तपाईँलाई…।’
प्लास्टिकमा ल्याएको सामग्री पलङमा राखिदिई । निःशब्द आगन्तुक गई । उसले धन्यवादसम्म पनि भन्न सकेन ।
भोलिपल्ट आर पी घरदेखि बेपत्ता भयो ।
सारा टोलका छिमेकीहरू र साङ्गीतिक टोलीका साथीहरूले बिहानदेखि बेलुकीसम्मै रौँचिरा खोजी अभियान चलाए । साँझ पऱ्यो। सबै घर घर फर्के। कतै गएको होला, आँउछ होला भन्ने आसालाई सबैले मन मनै च्यापेर राखे।
अहँ आएन। घरमा आँसुको झरी पऱ्यो। आमा र बैनी बेहाल, बा रातभरि सुतेनन् । तर आर पी फर्केन । सबै घर घर फर्के । कतै गएको होला, आउँछ होला। तर पनि आएन। भाँचिएको मनलाई जोड्ने ठाउँ खोज्दै हिँडेको होला। एउटा झिनो सान्त्वना यस्तो रहिरह्यो ।
तीन दिनपछि माथि निकैमाथि आर पीलाई जङ्गलमा झुन्डिएको अवस्थामा भेटियो ।
अन्वेषण गर्ने पुलिस अधिकारीले पुलिसलाई खल्ती छाम्न भनी अह्रायो । त्यसै गऱ्यो । भेटियो । सुसाइट नोट नै होला। अधिकारीलाई दियो । बङ्गला भाषी । पढ्न सकेन । पुलिस पनि उस्तै । सिभिक पुलिसलाई पढ्न दिइयो ।
पढ्यो-
पिउँदिन भन्दा भन्दै पिलायो साथीले ! बिचरा ‘टाँसीले’ लेखेन रहेछ ।
फेरि पढ्यो-
ल्याङफ्याङ छ जिन्दगी ।
समिरा टाँसी अलविदा ।
हिजो अस्तिसम्म आर पीको विचलित मनले ‘पर्ख न एकदिन, पर्ख न’ भनेर पर्खिएको दिन त यस्तो दिन पो रहेछ !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

