“ओइ खेँचा ! बाजे खस्यो !” मोबाइल उठाउनासाथै एकै सासमा बोलेर प्रनेशले फोन काटिहाल्यो ।
प्रनेशको बाजेको अन्तिम अवस्थाका धेरै रातहरू अस्पतालमा कुरुवा पनि बसेको थियो चन्द्रमणी । आज सिद्धिएछ बाजेको जीवनलीला ।
प्रनेशले बताएको थियो, “हाम्रो मृत्यु संस्कारमा बाहिरको मान्छे सामेल गराउन मिल्दैन । सबै काम आफ्नै गुठीभित्रकाले मात्र गर्नुपर्छ । फेरि सबै गुठियार जम्मा भएपछि मात्रै लास उठाउँछ, टाइम लाग्छ । तिमी बर्मुहरूको जस्तो छिट्टै लैजाँदैन ।”
“हामी मलाम जान पनि मिल्दैन ?”
“मिल्छ, तर पर बसेर हेर्न मात्रै ।”
त्यसैले चन्द्रमणीलाई कुदिहाल्नुपर्ने हतार थिएन । पर बसेर एक छिन रमिते बन्ने त हो ।
प्रनेश र चन्द्रमणी चाबहिलको पशुपति स्कुल पढ्दा जोडिएका साथी हुन् । स्कुलबाट नजिकै चारुमती विहारछेउ प्रनेशको घर भएकाले चन्द्रमणी सानैदेखि बारम्बार पुगिरहन्थ्यो । प्रनेशको परिवारमा पनि साह्रोगाह्रो, सुखदुःख जे परे पनि चन्द्रमणीलाई सम्झिने गरिन्थ्यो । त्यसैले चन्द्रमणी प्रनेशको परिवारकै सदस्यजस्तै भइसकेको थियो । बाह्र कक्षा आइपुग्दासम्म सँगै पढे दुबै । समयको त्यस लामो अन्तरालमा दुबैका अन्तरङ्ग कुराहरू एकअर्काबाट लुकेका थिएनन् । कसको कोसँग प्रेम बस्योदेखि त्यसपछि केके भएसम्म जानकार थिए, एकअर्कामा । दूधको दूध, पानीको पानी छर्लङ्ग ।
चन्द्रमणी पुग्दासम्म केही गुठियारहरू जम्मा भइसकेका थिए । सबैले सेतो मलमलको खोल हालिएको ढाकाको खास्टो टाउकाको पछिल्लो भाग छोपिने गरी ओडेका थिए । आँगनको छेउमा पुगेर अलग्गै उभियो चन्द्रमणी । बाजेलाई सम्झँदै उभिइरह्यो । एकदुई पटक प्रनेशलगायत घरका अरू सदस्यहरू पनि देखिए । तर, उदास शोकाकुल आँखा मात्र बोले, जोरिएका ओठहरू न खुले, न त तन्किए ।
०००
प्रनेशका बाजेको एक वर्षअघिमात्र जङ्कु भएको थियो । त्यतिबेलासम्म त फुर्तिलै थिए । उनको आवाजमा गज्जबको ओज थियो । भीमरथको सवारी चाबहिल गणेशतर्फ चल्न लाग्दा आँगनमा उभिएर उनले भनेका थिए, “चन्द्रविनायक पहिले हाँदीगाउँटिर थ्यो रे । कुनै चोरले चोरेर याँसम्म ल्याएछ । पछि लैजान नसकेर हो बा किन हो यहीँ छोदेर भागेछ । पछि हाँदीगाउँले आफ्नो भग्बान् खोज्दै आए । दैलामा आइपुगेका भग्बान्लाई हाम्रो बाजेहरूले फिर्टा लैजान दिएन । यहीँ मन्दिर बनाएर पूजा गर्यो ।”
उनको बोलीमा आफ्ना पुर्खाहरूको विजय भाव झल्कन्थ्यो । आज उनैको मलामी भएर त्यहीँ आँगनमा उभिँदा चन्द्रमणीलाई प्रनेशको बाजेको झझल्को आइरह्यो ।
जङ्कुको केही महिनापछि प्रनेशले भनेको थियो, “अचेल बाजेलाई त्यति सन्चो छैन ।”
सुनेकै दिन बाजेलाई भेट्न गयो चन्द्रमणी । कोठामा पस्दा बाजे सुतिरहेका थिए । चन्द्रमणीलाई आफूनजिकै बस्ने इसारा गरे । केही भन्न खोजे । तर, उनको आवाज साउतीमा सीमित भएको थियो । चन्द्रमणीले बुझ्न सकेन । बोली लर्बरिएको पनि महसुस गर्यो ।
बाजेको शरीर कामेको र स्वर भासिएको थियो । “कति छिटो गलेछन् । धेरै बाँच्दैनन् यी,” चन्द्रमणीको मनले बाजेको बाँकी उमेर नाप्ने कोसिस गर्यो ।
चन्द्रमणीले बाजेको मुखैमा आफ्नो कान पुर्याएर बोली ठम्याउने प्रयास गर्यो । अहँ ! केही बुझेन । प्रनेश पनि आइपुग्यो । उसले पनि बाजेका कुरामा कान थाप्यो । “… का ! …का ! … काका ! … काका ! …का ! …,” बाजेका कुरामा सही थप्दै गयो । चन्द्रमणीले केही नबुझे पनि उत्सुकतापूर्वक सुनिरह्यो । बाजे थामिए ।
प्रनेशले बाजेका इच्छा चन्द्रमणीलाई सुनायो, “हामी चाःबही (चाबहिल)को रैथाने डङ्गोलहरूको छुट्टै घाट छ पिङ्गद्वीप, ओम अस्पतालको पछाडि । बाजेलाई आफ्नो पितापुर्खा जलेको पिङ्गद्वीपमै जल्ने मन छ । थला परेदेखि त्यै एउटै कुरा रट्टा लगाइरहनुभको छ ।”
“… तर, अहिले त्याँ घरैघर छन् । बस्तीको बिचमा लास जलाउनु राम्रो पनि होइन । त्यसैले सकेसम्म अचेल पशुपति नै जाने चलन छ । तैपनि बाजेजस्ताको अन्तिम इच्छा पूरा गर्न कहिलेकाहीँ पिङ्गद्वीपमै दाहसंस्कार गरिन्छ ।”
०००
बाजेको लास उठ्यो । काँधमा परालको मुठो बोकेर एउटा अघि लाग्यो । काँचो हाँडी खर्पनमा बोकेर अर्को पछि लाग्यो । ठुलो डाँको गरेर रुँदै महिलाहरू पनि लासको अघि नै लागे । लास बोकेकाहरू पछिपछि लागे । अझै पछि लागे खास्टो ओढेका पुरुषहरू । अलग्गै पछिपछि लागे चन्द्रमणी र ऊजस्तै अन्य खेँचाहरू ।
चाबहिल गणेशस्थानपछाडिको बाटो हुँदै पिङ्गद्वीपतिर लाग्यो शवयात्रा । आगो लगाएपछि हिँडिहाल्ने सुर थियो चन्द्रमणीको ।
पिङ्गद्वीपतिर लास लगिँदै गर्दा मान्छेहरू अचम्म मानेर हेर्दै थिए । त्यहाँ पुगेर लास बिसाइयो । वरिपरि सबै घरका झ्याल खुले । झ्यालबाहिर निस्किएका मुन्टाहरूका कानमा डायल गरिएका मोबाइल टाँसिए । प्रत्येकले कसै न कसैलाई सम्पर्क गर्ने प्रयास गर्यो ।
एकै छिनमा सबै घरहरूबाट मान्छे बाहिर निस्किए । अलि परका कोही दौडँदै आए । कोही घिच्चिँदै आए । कोही मोटरसाइकल चढेर आए । सकेसम्म सबै आए ।
मलामीभन्दा धेरै अरू मान्छे जम्मा भए । केही रमितेहरू पनि थुप्रिए । महिला मलामीहरू एउटा कुनामा बसेर रोइरहे ।
“…बिच बस्तीमा लास जलाउन पाइँदैन,” एउटा खाइलाग्दो केटो अघि बढेर कुर्लियो । मलामीहरूले नसुनेझैँ गरी सद्गत प्रक्रिया अघि बढाइरहे ।
“… सुन्नुभएन ? अन्तै लैजानुस् तपाईंहरूको लास । हाम्रो आँगनमा नजलाउनुस् । यो टोलमा केटाकेटी र बिरामी पनि छन्,” अझै केही मानिस अघि सरे । चन्द्रमणी छेउमा बसेर सुनिरह्यो ।
“… यो हाम्रो पुर्ख्यौली घाट हो । हामीहरू पुस्टौँपुस्टादेखि यहीँ दाहसंस्कार गर्दै आउँथ्यो । अचेल यटा बस्टी बधेकोले आउन छोदेको माट्रै हो । अहिले पनि आउदैनथ्यो । टर मर्ने बाजेको अन्तिम इच्छा नै यहीँ जल्ने भएर माट्रै हो ।”
चन्द्रमणीको छिट्टै भाग्ने मेसो मिल्ने छाँट देखिएन । भिडको अनुहार केलाउन थाल्यो । विशेष गरी महिलाहरूका । अझै भनौँ सकेसम्म कम उमेरका र राम्रा अनुहार भएका युवतीहरू नियाल्न लाग्यो । यो राम्री कि त्यो राम्री ? सबैभन्दा राम्री कुन ?
“… मर्नेको इच्छा भन्दैमा अर्काको आँगनमा लास जलाउनु कस्तो संस्कार हो ?” भिडको विवादतिर चन्द्रमणीको खासै चासो थिएन ।
“…हाम्रो घाट पहिले मानव बस्टीभन्दा पर नै बनाइएको हो । टर टपाईँहरूले नै सस्टोमा पाइयो भनेर घाटमा ठुलाठुला घर थद्याउनुभो । ट्यसले गर्दा हाम्रो पिङ्गद्वीप बस्टीको बिच भागमा पर्न गयो । यो पहिले हाम्रो घाट हो, अनि मात्र टपाईँहरूको आँगन । दोष टपाईँहरूकै हो, हाम्रो होइन ।”
खास्टो ओढेको प्रनेश भिड छिचोल्दै चन्द्रमणीको छेउ पुग्यो । पिङ्गद्वीपको सिरानैमा रहेको झ्यालमा उभिएको किशोर आकृतितिर चन्द्रमणीलाई सङ्केत गर्यो र केही नबोली साविक ठाउँमा फर्कियो । चन्द्रमणीका आँखा त्यस झ्यालतिर तत्कालै तानिए । चन्द्रमणीले एकतर्फि रुपमा मनमा सजाएकी एक स्वप्न सुन्दरी झ्यालमा बसेर भिडतिर हेर्दै टोलाइरहेकी थिई ।
०००
चन्द्रमणीमा कुनै केटीका अगाडि उभिएर प्रेम प्रस्ताव राख्ने हिम्मत हुनु त परको कुरा, कुनै नौलो केटोसँग पनि आफै अघि सरेर बोल्ने हिम्मत समेत थिएन । तैपनि नेहा उसकी स्वप्न सुन्दरी हो । कलेजमा हरदम चञ्चल रहन्थी । चन्द्रमणीका लोभी नजरहरू पहिलेदेखि नै नेहाका नजरहरूसँग पटकपटक जुधेका हुन् । दुबै ओठहरू पनि पटकपटक मुस्कुराएकै हुन् । चन्द्रमणीले पाएदेखि नेहालाई भित्र्याउन नै कम्मर कसेको हो । प्रनेशले पनि पटकपटक हौसला दिएकै हो । तर आफ्नै अन्तरमुखी स्वभावले थिचिएको चन्द्रमणीले खुलेर प्रेम प्रस्ताव अघि बढाउन कहिल्यै सकेन । धेरैको रेजाइमा पनि थिई । धेरैले प्रेम प्रस्ताव राखेका पनि हुन् । तर कसैलाई भाउ दिएकी थिइन नेहाले ।
अरूहरूको अस्वीकृत प्रस्ताव देखेर नै चन्द्रमणी तर्सिएको थियो । पटक पटक हल्ला चल्थ्यो, “….फलानोलाई पनि बाल दिइनछ नेहाले ।” त्यसपछि लाइनमा उभिएको चन्द्रमणीका खुट्टा फतक्क गल्थे र ऊ थ्याच्च भुइँमा थचारिन्थ्यो । हिनताबोधले चन्द्रमणी प्रनेशसँग पटकफटक गुनासो गर्थ्यो, “…. मै पानी मरुवा। ” चन्द्रमणीले आँट गर्न नसक्दानसक्दै दुई वर्ष त्यसै बित्यो । त्यसपछि त चन्द्रमणीको पढाइ पनि अल्झियो । अनि त झनै मेसो बिग्रियो । नेहा चन्द्रमणीका आँखाबाट ओझेल परे पनि मनमा झन् झन् गाढा बन्दै गएकी थिई । यतिका वर्षपछि फेरि नेहालाई आँखै अगाडि देख्दा चन्द्रमणी दङ्ग पर्यो ।
०००
“पहिले यहाँ बस्ती नबस्दाको त कुरै बेग्लै हो नि । अब अहिले बस्ती बढेपछि त याँ लास जलाउन तपाईहरूलाई नै अफ्टेरो लाग्न पर्ने हो । नजलाउनुस् याँ । नजिकै तेत्रो ठुलो आर्यघाट छ । लैजानुस् पशुपतितिर ।”
झ्यालमा टोलाइरहेका नेहाका नजरहरूमा अल्झिएको चन्द्रमणी के गरौँ र कसो गरौँ गर्दै थियो ।
“द्वीपमा असाध्यै दरलाग्दो ख्याकहरू बसेर ल्याउछ । पहिलेपहिले दागबट्टी दिइसकेपछि हामी गुथियारहरू ट कोही पनि कुरेर बस्दैन । दराएर भागेर ल्याउँछ । टिमीहरू टेस्टो थाउँमा बस्न आयो । अहिले ट टिमीहरूको भिदमा टर्सिएर ख्याकहरू नै भागेर ल्याइसक्यो होला ल !”
“जे त पर्ला ! बोलौँछु आज त ।” चन्द्रमणीले कम्मर कस्यो र झ्यालतिर इसारा गरेर बोलाउन खोज्यो । तर भिडबाट निस्किएको इसाराको तरङ्ग झ्यालसम्म पुग्नै सकेन ।
“दलालले घाट बन्द भइसक्यो भन्यो । हामीले पत्यायौँ । घर बेचेर दलाल टाप कस्यो । ऐले हाम्लाई टेन्सन । त्यो दलाललाई भेट्न पाए ! यै घाटमा जिउँदै जलाउन हुन्थ्यो ।”
चन्द्रमणी धेरै होहल्लाको बिचमा उभिएको थियो । त्यसैले दुई हातको अँजुलीको आफ्नो मुखैमा टाँस्यो । अनि झ्यालतिर ठाडो मुन्टो लगाएर जोसिदै चर्को आवाज दियो, “… नेहा ऽऽ !”
धन्न झ्यालमा उभिएकी नेहाका कानमा चन्द्रमणीको आवाज ठोकिएछ । आवाजको स्रोत खोज्दै यताउता आँखा पल्याक पुलुक डुलाई । चन्द्रमणीले तलैबाट हात हल्लायो । बल्लतल्ल दुबै आँखाहरू जुधे । नेहाले माथिबाटै हात हल्लाई । दाहिने हातको ‘पख’को सङ्केत दिएर नेहा झ्यालबाट ओझेल परी ।
“ल हेरौँ त, कसरी जलाउँदो रैछ लास !” एउटा भुसतिघ्रे उफ्रिँदै बन्दै गरेको चिताछेउ पुग्यो । अनि एउटा मुढो थुतेर भुईँमा पछार्यो । बन्दै गरेको चिता भत्कियो ।
नेहा चन्द्रमणीछेउ पुगी, “चन्द्रमणि ! तिमी कताबाट यहाँ ?”
“यसै भिड देखेर आएको तिमीलाई देखेँ । तिमी यहाँ बस्छ्यौ ?” उसले प्रनेशको बाजेको मलामी आएको कुरा लुकायो ।
“हो भन्या, हेर न । त्यैमाथिको कोठा हो । सस्तो कोठा पाएर आइहालियो । यस्तो ठाउँ पो रैछ । सर्न खोजेको कतै कोठा पाएकै छैन भन्या ।”
एउटा मलामीले चिता भत्काउने भुसतिघ्रेको कठालो समात्यो ।
“हेर न, मेरो कोठा त झन् त्यहीँ छ । कसरी बस्ने अब त्यो धुवाँमा । मलाई त भमिटै आउँछ । फेरि आज साथी पनि कोठामा छैन ।”
कानो चन्द्रमणीले आँखो भेट्यो । अनि आँट गरेर प्रस्ताव राख्यो, “हिँड, बरु कतै घुम्न जाऊँ ।” प्रस्ताव राख्दै गर्दा चन्द्रमणीको मुटु झन् जोडले धड्किएको थियो ।
एउटा पाको मान्छे बिस्तारै, नजानिँदो पारामा लासछेउ पुग्यो । छेउमा समातेर बल गरेर खटलाई भिडतिर तान्न खोज्यो । खटसमेत लास थोरै घिस्रियो ।
“माऽमऽपाखा बुरा,” मलामीहरू चिच्याउँदै लास तान्न खोज्नेलाई लखेटे ।
चन्द्रमणीको प्रस्तावले नेहालाई राम्रो विकल्प दियो, भनी “हुन्छ नि त ! … लुगा फेरेर आँउछु ल,” उज्यालो अनुहार लगाउँदै नेहा कोठातिर लागी । मलामीहरू झुरुप्प जम्मा भएर लासलाई घेरा हाले ।
“हेर्नुस्, यो घाट हाम्रो गुथीको जग्गा हो । हामी यहाँ जेसुकै गरौँ, हाम्रो सम्पट्टिमा हाम्रो अदिकार हुन्छ । टपाईंहरू विरोधमा उत्रनुहुन्छ भने हामी अबदेखि सदैँ यही माट्र लास जलाउन आउँछ । त्यो हाम्रो अधिकार हो ।”
विवाद झन्झन् चर्कंदै थियो । नेहा लुगा फेरेर ओर्लिई, “लौ पुलिस पो आयो ! जाऊँजाऊँ ! गैहालौँ,” बाटोको पल्लाछेउतिर हेरेर हतारिँदै भनी । नेहाले संकेत गरेतिर चन्द्रमणी हेर्यो । हातमा कटबाँस र प्लास्टिकका पारदर्शी ढाल बोकेका एक हुल दङ्गा प्रहरी पिङ्गद्वीपतिर लम्किरहेका थिए ।
नेहा र प्रनेशले ओम अस्पतालतिरबाट मूल बाटो समात्न खोजे । तर अस्पतालको गेटमा अर्कै हुल जम्मा भएर नारा लगाइरहेको थियो, “बिरामी मार्न पाइँदैन ! यस्तो अस्पताल चाहिँदैन !” प्रहरीले अस्पताल गेटमा नाराबाजी गरिरहेकाहरूमाथि लाठी बर्सायो । भिडको मुस्लो उनीहरूतिरै आयो ।
नेहा डराउँदै चन्द्रमणीसँग सक्दो लिप्सिई । चन्द्रमणीले खुसी हुँदै नेहाको हात करप्प अँठ्यायो । तितरबितर भिड पछिपछि आउँदै थियो । चन्द्रमणी र नेहा बल्लतल्ल ज्यान जोगाएर उम्किए ।
०००
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।