“चार पैसाको सुपारी देऊ ।”

“हवस्, लानुस् ।”

“पोको पारेर देऊ न !”

काठमाडौँ आएको धेरै दिन भएको थिएन । घुमेर घर फर्कने बेलामा सुपारी किन्ने विचारले त्यस पसलमा उभिएँ । उसले पोको पारेर दियो । घर गएर सुपारी झिक्न लाग्दा देशी कागजमा बडो सुन्दर अक्षरमा केही लेखेको देखेर मैले पढेँ, मनमा एक किसिमको विद्रोह जलिरहेछ, देशको हरेक कुनामा घरघर जलिरहेछन् मचाहिँ…

दुगुर्दै गएर पसलेलाई भनेँ, “त्यो कापी लेऊ ।”

मेरो उत्सुकतामा उसलाई आश्चर्य भयो र मेरो गम्भीर बोलीले सायद उसलाई असर पनि पर्‍यो । हातमा लिएर मैले सोधेँ, “त्यसबाट तिमीले यो कागज च्यातेको होइन ? म त्यो कापी किन्छु, ल्याऊ ।” मैले एउटा मोहोर उसको अगाडि फालिदिएँ ।

त्यसमा कसैको नाम रहेनछ । सायद कुनै नवयुवकका डायरीका केही पाना रहेछन् । बीचमा त्यसै शुरु…

शङ्कर लामिछाने

“त्यत्रो मानिसले आज आफ्नो धनदौलत सब छाडेर हिँड्यो, किन ? आफ्नो स्वतन्त्रताका लागि । उसलाई के कमी थियो र ? केही कमी थिएन र सायद त्यसैले उसलाई पैसाले टोक्यो- म भोको छु, गरिब छु । मैले आज केही बोल्न खोजेँ भने पनि त्यो बेकार हुन्छ किनकि मेरो मुखमा सुनका दाँत छैन । तर मलाई एउटा कुरा साह्रै आश्चर्य लागिरहेछ । सबै उसलाई बिदा गर्न गएका थिए- त्यत्रो चउरमा टाउकै टाउका । पैसा भएकाले धनदौलत छाडे भने त्यो किन ठूलो कुरा गरिन्छ ? हामीसँग त झन् कहिल्यै पनि हुँदै हुँदैन तैपनि हामी ठूला किन गनिंदैनम् ? उसको जय मनाउँथे सब । उसकै नारा थियो सबको मुखमा । नारा ‘इनकालब जिन्दाबाद !’ त्यो शब्दमा कुन जादू छ कि मेरो मुटु चिसिएर जान्छ । कताकता, के सिरिङ्ग गर्छ । पुलिसले रामलाई समात्यो । मेरो साथीको मुख घाम या उत्तेजना केले हो रातो थियो । मेरो मुखमा हेरेर उसले मलाई सोध्यो, “तेरो शरीरमा के रगत हुँदैन ?” म हाँसिदिएँ, खोक्रो मुस्कान । …रगत बन्ने अन्न खै पेटभरि परेको र समयसमयमा ? साँच्चि नै ममा रगत छैन ।

“लडाइँ छिड्यो रे लडाइँ ? कैयौँ मानिस मर्दा हुन्, गोलीको स्वाद पाएर । मूर्खहरू ! जीवन मर्नेका निम्ति जस्तो ठान्छन् । यहाँ हामीलाई बाँच्न कति गाह्रो छ । तिनीहरूलाई भने मर्न सजिला रे ! अचम्म ! …कान्छीलाई ज्वरो आएको छ- औषधि छैन ख्वाउन । पैसा छैन किन्न । हामी पनि भोकै छौँ । आमा भोकै, सानो भाइ भोको र भोक मेट्न कुनै साधन छैन । जीवन अड्याउन खानेकुरा छैन र तिनीहरू खान पाएर पनि मर्न तम्सिहेछन् । किन ?”

******

“पैसा सापट माग्न भनेर हिँडे तर को दिन्थ्यो ? मानिसमानिसबीच विश्वास छैन । विश्वास पनि बिकिरहेछ ।” यही सब सोचेर हिँडिरहेथेँ । पछाडि एउता मोटर आएछ । सुनिनँ । करायो ड्राइभर, “ए, बहिरो भइस् ।”

बहिरो ? आँखा उठाएर हेरेँ- पाउडर, क्रिम र हीरामोतीले मुख र जीउ छोपेका पुतलीहरूमा आँखा पर्‍यो । ढुङ्गामा यत्तिको प्रेम छ कसैको । हामीचाहिँ अन्नलाई प्रेम गर्न पाउँदैनम् ।

सिनेमातिर गएर मोटर अड्यो । हामी भोकै छौँ । घरमा कान्छी बिरामी छे, सानो भाइ रोइराखेको होला । आमा राम्रो आँखा देख्नुहुन्न । यो सबै नसुनेर, नदेखेर फिल्म हेर्न जाने बहिरा कि, म बहिरो ? यो सम्झिँदा जीउमा करोडौँ सियो रोपिन्छन्, मानौँ कोही भन्छ, चेत, अझ चेत ! ठीकै भन्थ्यो-मेरो शरीरमा रगत छैन, चेत्ने शक्ति पनि छैन ! के चेत्ने, के कराउने ? …घर फर्केर आउँदा भाइले मेरो मुखतिर खूब आशाले हेर्याे । सायद केही ल्यायो भनेर होला । तर…तलब आउँदैन, २-३ गते नभई र सायद माग्न सकिने पसल कुनै बाँकी छैनन् । ‘छैन’ भन्न मुख बाउन खोजेथेँ तर त्यो शक्ति भएन कि भाइसँग आँखा जुधाऊँ । कत्रो कमजोर !

******

आज पनि जुलुस निस्क्यो । अस्तिअस्ति नै जस्तो मलाई आज किन डर लागेन ? म पनि नारा लगाउँदै पछिपछि लागेँ । तर, अरूको जस्तो स्वर मेरो किन ठूलो छैन । लाजले होइन तर यस्तो लाग्छ कि कसैले मेरो घाँटीको प्वाल स्यानो पारिदियो । म चिच्याउने चाहन्थेँ, आवाज आउँदैनथ्यो । असन पुग्दानपुग्दा मैले सम्झेँ- हाकिमको घर त्यही छ, उसले देख्यो भने ? मेरो जागिर हिँड्छ । जागिर हिँड्यो भने ? अरू अगाडि सोच्नुभन्दा पहिले म छेडोपट्टि लागिसकेको थिएँ । बेसै भएछ । रानीपोखरीमा पुलिसले अश्रुग्याँस र लाठीचार्ज गरेछ । धेरै जना घाइते भएछन् ।

घाइतेमध्ये म नि परेको भए ? आमा पीरैपीरले मर्नुहुन्थ्यो होला । बहिनीको के गति हुने थियो ? अनि भाइ ? उफ् ! मबाट देशको सेवा हुन सक्छ ? अरू हुँदै छन् नि ? म एउटाले केही गरिनँ भने के होला र ? अरू त्यतिका गर्ने छैनन् र ? म आफ्नी आमालाई छाड्न सक्तिनँ । मेरा जहानलाई भोकभोकै मर्न म दिन्नँ ।”

******

न्हुच्छेमान भन्ने मरेछ, पुलिसको लाठीचार्जले रे ! आज उसको जुलुस निस्केको थियो । हजारौँ मानिस त्यसपछि लागेका थिए । झ्यालझ्यालबाट लावा र फूल बर्सेको थियो । मानिसहरू कसरी उसको पछि टोपी फुकालेर लम्केका । …हुँ…उसको जुलुुसले मेरा आँखामा आँसु ल्यायो । मलाई रुन मन लाग्यो । ऊ मेरो कोही पनि होइन, जीवनमा मैले पहिले उसलाई देखेको पनि थिइनँ होला तर पनि उसको मृत्युमा मेरा आँखा छचल्किए । लासपछिपछि जाँदाजाँदा मेरो शरीर भतभती पोल्न थाल्यो । उसको घर सम्झेँ । उसका पनि त जहान होलान् । उसको पनि भाइ होला, उसका छोरी, बहिनी पनि होलान् । तिनीहरू सबै रोइरहेका होलान् । म पनि त रुँदै छु । म उसको को हुँ ? तैपनि मेरा आँखामा आँसु किन ? अहिले यो लेख्तालेख्तै मलाई मानौँ, न्हुच्छेमान भनिरहेछ- “आइज ! देशको निम्ति गोली खानु जाती होइन र ?”

******

निद्रा किन लाग्दैन ? हिजोआज मलाई यो के भो ? आँखा चिम्ली निदाउन खोज्छु कि कोही मेरो कानमा भन्छ- “काथर ! अझ चुप छस् ?” मनको यो भाव पन्छाउन खोज्छु, न्हुच्छेमानको जुलुस मेरा आँखामा पर्न आउँछ । अनि म सोच्छु-“म मरेँ भने पनि यसरी बोकेर लैजानेछन् त मलाई पनि ? तर मरेँ भने हाइन मारिएँ भने । सायद त्यसै गरी मेरो जयनाद नेपालका गल्लीबाट उठ्नेछ । मानिसहरू त्यसरी नै टोपी फुकालेर मेरो पछि लम्कनेछन् ! सबैका आँखामा आँसु ! सबैको मुखमा मेरै नाम तर… मेरी आमा ? भाइ ? यिनीहरूको के गति हुनेछ ? म के गरूँ ? अझ मैले केही…!”

******

यहाँतिर कागज च्यातिएको रहेछ । अनि अर्कोमा बीचमा त्यसै शुरु । …थियो तर अब त्यो छैन । मनभित्र एउटा बलियो पर्खाल मैले बनाइसकेँ । म एउटा नजन्मेको भए पनि आमाहरूको सायद काम रुक्ने थिएन होला । आह ! अनि आमाले किन नसोच्नु कि म जन्मिँदै जन्मिनँ । जहाँ बोल्ने, खाने, हेर्ने, बुझ्ने, शक्ति छैन; त्यस देशको एउटा प्राणी रे म ! म के मात्रै बाँचेको छु र ? अब यसरी मरेर के बाँच्ने, बरु एकछिन भए पनि बाँचेर मर्छु । २४ वर्षको यत्रो जीवनमा हात र मुख जाेर्नबाहेक मैले गर्न मात्रै के सकेँ र ! हुँ… हाम्रो तलब बढ्ने रे ! केटाकेटीलाई पापा दिएर मुखमा बुजो लाउने जस्तै । लाखौँ आज मरिरहेछन्, लाखौँ आज जान्दैनन् उनीहरू किन गरिब छन् । (केही दिन अगाडि म पनि त जान्दिनथेँ नि !) उनीहरूलाई थाहा छैन कि देशको छरिएको पैसा कसरी बटुलिएर एक ठाउँमा सडिरहेछ । पत्थर सुनमा अल्झिरहेछ । पाउडर क्रिमको धूलो र हिलोमा उडिरहेछ ।

मेरा सबै साथी आज जेलमा कुहिरहेछन् र मचाहिँ सेतो ब्याज लाएर सडकमा हिँड्ने । कसैले मेरो मुखमा गौर गरेर हेर्यो भने मेरो शिर निहुरिन्छ… ऊ के सोच्तो हो ? एउटा मुर्दा सिँगारिएर हिँडिरहेछ भन्दो हो । साँच्चि हो । राम ठीकै भन्थ्यो, मेरो शरीरमा रगत छैन । …तर अब म देखाउनेछु कि शहीदहरूको रगत खेर गएको छैन । त्यो त सोहोरिँदै मेरो जीउमा थोपरिएको छ । मेरा वीर दाजुहरूको तातो रगत किन खेर जान्थ्यो ? म अरूलाई देखाउने कि म मरेको छैन, बाँचेकै छु । मेरो मनमा एक किसिमको विद्रोह जलिरहेछ । ममा के छ र म मात्रै पछि रहिरहूँ ? आज जताततै आगो सल्केको छ । देशका हरेक कुनामा घरघर सल्किरहेछन्, मचाहिँ ? म पनि अब आफ्नो बल्ने रगतको होम दिन्छु यो अग्निलाई, यो आगो ननिभ्दै..!

******

भोलिपल्ट मैले पसलेलाई सोधेँ, “हिजोको कापी कसकहाँबाट तिमीले ल्यायौ ?”

“कृष्णचाको आमाले उसको किताब, कापीहरू बेचेको थियो, त्यै हो । बिचरा गरिब छन् । एउटा कमाउने छोरा पनि मर्यो ।”

“मर्यो कि…”, म अकमकाएँ ।

“तपाईँलाई थाहा रहेनछ । उही जेलनिर गोली लागेर मर्ने के ?”

“ए, उसको जुुलुस निस्क्यो त ?”

कहाँको जुलुस ? धेरैले थाहा नै पाएनन्, कर्फ्यू थियो नि ?

(साभार : ‘गाैँथलीकाे गुँड’पुस्तकबाट)