हतकडीसहित ऊ भित्र पस्छे, पछाडि निलो पोषाकमा दुई प्रहरी पनि छन् । करिब सात महिनाको गर्भ रहेको उसको पेट झर्लक्क देखिने भएको छ ।
यो के खोलिदिन मिल्दैन ? हतकडीतर्फ इङ्कित गर्दै डाक्टर रोजीले प्रहरीलाई सोध्नुभयो । हत्कडी खोलियो अनि ऊ बिरामी जाच्ने बेडमा लम्पसार परी । डाक्टरले परिक्षण गरुन्जेल मैले उसको कार्ड र रिपोर्टहरु पढेँ;

नाम: लालिमा शर्मा
उमेर: उन्नाइस वर्ष।

“फ्याक्टर कन्ट्रीब्युटिङ टु दि एडोलोसेन्स प्रेग्नेन्सी” अर्थात “किशोर अवस्थामा गर्भधारण गर्न बाध्य पार्ने तत्त्वहरु” पत्ता लगाउने मेरो शोधपत्रको लागि ऊ एक सदस्य थिई । मैले ऊसँग केही प्रश्नको उत्तर सोध्नुपर्ने थियो ।

“नमस्कार म शोभा लामिछाने, म यहीँको सिस्टर हुँ । मैले बीस वर्षअगाडि नै गर्भधारणका के कति कारण हुँदारहेछन् भनेर अध्ययन गर्दैछु । हजुरलाई समस्या पर्दैन भने, के म हजुरसँग केही कुराकानी गर्न सक्छु ?”

“मसँग कुराकानी गर्न उता सरहरुलाई सोध्नूस् ।”, महिला प्रहरीतर्फ देखाउँदै लालिमाले जवाफ दिई ।

म्याडम नभनेर सर भनिने रहेछ, मलाई पनि बल्ल थाहा भयो । मैले प्रहरी समक्ष पनि अनुरोध गरेँ।

“सरी, उहाँलाई जचाएर फिर्ता लगिहाल्नुपर्ने छ ।”, प्रहरीबाट निषेध भयो । मैले गफ गर्ने अनुमति पाइनँ । उसको हातमा फेरि हतकडी कसियो र उनीहरु फटाफट बाहिरिए ।

शोभा लामिछाने

मलाई अनौठो लागिरहेको थियो । एक त कैदी, त्यसमाथि किशोरी गर्भवती । तर कुनै असहज भाव, कुनै दुख वा सङ्कोच वा कुनै निराशा थिएन उसको मुहारमा । किन जेल परेकी होली ? विवाहित हो कि अविवाहित गर्भवती बनेकी होली ? उसलाई जेलमा के कस्तो पौष्टिक आहार र स्याहार उपलब्ध होला ? मेरो दिमागमा प्रश्नको वर्षा भइरहे तर अनुत्तरित।

करिब एक महिनापछि सुत्केरी वार्डमा भेटेँ । यतिबेला उसको सिजरियन अपरेसन गरेर बच्चा निकालिसकिएको रहेछ।

“कस्तो छ लालिमा ? कतै दुखेको त छैन नि ?”, मैले सोधेँ ।

“छैन ।”, उसले छिटो र छोटो जवाफ दिई।

बच्चालाई नवजात शिशु कक्षमा राखिएको कुरा फाइलमा लेखिएको थियो।

“आफ्नो बच्चालाई देख्यौ त ?”, मैले कुराकानी अगाडि बढाउन खोजेँ ।

“अँ ।”

“अनि दूध खुवाएको छ कि छैन त बच्चालाई ?”

“अघि सिस्टरले भनेर खुवाउन लागेको, दूध नै आएन, मैले नजानेर हो कि, नखाएर हो कि कुन्नि, अनि ल्याक्टोजिन खुवाइदिनुभयो ।”, अहिले बल्ल लामो वाक्य बोली लालिमाले ।

“ए… आएन भनेर नखुवाउने होइन, बच्चालाई दूध चुसाइराखेपछि दुध आउँछ । अनि आज तिम्रो सरहरु हुनुहुन्न त ?”, मैले सोधेँ ।

“अँ छैनन् । दुई साताअघि नै मेरो जमानत भएर घरमा बुझाइदेका ।”

“ए ल राम्रो भयो नि, अनि बच्चाको बाबा कता हुनुहुन्छ त ?”, मैले सहजै अनौपचारिक गफमा सोधेँ ।

ऊ एकाएक अँध्यारो अनुहार लगाई अनि परेलीको डिलबाट तिनचार थोपा आँसु बरर खसेको मैले देखेँ ।

“सरी ल, मैले नसोध्नुपर्ने ।”, अपराधीझैँ मेरा नजर पनि झुके ।

एकछिन मौन सन्नाटापछि, म आफ्नो अन्य काममा लागेँ ।

चारदिनपछि उसको डिस्चार्ज हुने दिन आयो । डिस्चार्ज हुँदा, सुत्केरी अवस्थामा आफ्नो स्याहार, पोषण, बच्चाको स्याहार, खोप लगाउने तरिका, अस्थायी परिवार नियोजन सम्बन्धी कुराहरु बताउनुपर्ने हुन्छ र सबैका बारे मैले जानकारी दिएँ ।

जानेबेलामा उसले मलाई कानैनेर आएर खुसुक्क भनी, “सिस्टर, मलाई परिवार नियोजन गर्नु पर्दैन । मेरा श्रीमान् छैनन्, उनैलाई मारेको मुद्दामा त हो मलाई थुनिएको ।”

यति भनेर ऊ गइहाली, म अचम्मित भएँ । अहो ! यस्तो गम्भीर कुरा कसरी यति सहजै भन्न सकेकी होली यसले । अनेकौं कौतुहलले मनमा हलचल मचायो । ऊसँग भेट्ने र उसको जीवनको कहानी सुन्ने हुटहुटी चल्यो । उसको फाइलबाट फोन नम्बर आफ्नो मोबाइलमा सेभ गरेँ ।

एकहप्तापछि फोन गरेर उसलाइ भेट्ने अनुमति मागेँ, अनि महिना दिनपछि ठेगाना सोधेर हान्निएँ उसको माइतीघरतिर । ऊ बिस्तारामा बच्चासहित पल्टिरहेकी थिई । म छेउको मोडामा बसेँ ।

“साँच्चै लालिमा, म तिम्रो जीवनको कहानी सुन्न चाहन्छु । तिमीमा कति पीडा छ होला, तर तिमी देखाउँदिनौ । के तिमी मलाई साथी वा दिदी जस्तै ठानेर आफ्नो कथा सुनाउन सक्छौ ?”

“के देखाउनु के लुकाउनु छ र दिदी, हत्कडी लगाएर अस्पताल डुलेकै हो ।”, उसले दुबै ओठभित्रतिर तानेर मुख बाँधी । एकछिन सन्नाटा छायो ।

आ होस्, नसोधौँ, भन्ने पनि लाग्यो मलाई एकक्षण । म कुनै न्यायकर्मी होइन । उसको व्यथा कोट्याएर के नै सहयोग गर्न सक्छु होला र मैले ? तर उसले “म भन्न चाहन्नँ” भनेकी छैन ।

उसलाई आफ्नो कथा भन्ने मन पो छ कि ? मनको बह पोखेर त हल्का पार्ने हो । तर पनि बाध्यता नठानोस् भनेर म बिदा हुन खोजेँ ।

“तिमीलाई थप चोट लाग्छ भने तिम्रो घाउ उक्काउन चाहन्न लालिमा ! म अहिले जान्छु है, अस्पतालमा केही सहयोग चाहिएमा फोन गर ल !”

“हैन पर्खनूस् । तपाईंले मेरो यति धेरै चिन्ता र फिक्री गरेर यहाँसम्म भेट्न आउनुभयो, अब मेरो जीवन कहानी सुनेरै जानुहोला। बरु म यो छोरोलाइ तेल चुप्रेर निदाउँछ, अनि कुरा गरौँला ।”

उसले बच्चालाई घाममा तेलमालिस गरेर स्तनपान गराई । बच्चा निदाएपछि झलुँगोमा हाली । आफ्नो शिरको थाप्लोमा एकमुठी तेल खन्याएर थपथप पारी । अनि एउटा मजेत्रो टपक्क टाउकोमा बाँधेर कुराकानी गर्न इशारा गरी ।

मैले सोधेँ, “तिम्रो श्रीमानको मृत्यु कसरी भयो ? चोटपटक केही बिमार ?”

“मृत्यु त बिख खाएरै भएको हो । तर मैले खुवाएको होइन।”

“किन खानुभयो त बिख उहाँले ?”

“उहाँलाई पनि थाहा थिएन त्यो चियामा बिख थियो भन्ने कुरा ।”

“चियामा कसले, किन कसरी पर्यो त बिख ?”

“मैले नै राखेकी थिएँ, तर उहाँलाई मार्न होइन; आफैँ मर्नको लागि ।”, लालिमाका परेलीबाट एकाएक मुशलधारे वर्षा भयो।

म स्तब्ध भएँ । मैले बुझेअनुरुप लालिमाले आत्महत्या गर्न तयारी गरेको बिषयुक्त चिया भुलवश श्रीमानले पिएछन् र उनको मृत्यु भएछ । बीस किनेर ल्याउने लालिमा नै भएकोले उसलाई हत्याको अभियोग लागेको रहेछ ।

म उसको खाटमा सरेर बसेँ । उसको कुममा थप्थपाएँ र उसको आँसु पुछ्न हातमा तौलिया थमाइदिएँ ।

“अनि तिमीलाई त्यतिबेला मर्न मन किन लागेको लालीमा ? के अहिले पनि मर्न मन लागिरहेको छ त ?”

“मर्न मन लागेको थियो दिदी, अचानक पेटभित्रको बच्चाको माया लाग्यो, ठिक्क पारेको चिया पिउन सकिनँ, रुँदै घरैछेउको मन्दिरमा गएर पसारिएँ । त्यही बेला उहाँ अफिसबाट आउनुभएछ र कपको चिया खानुभएछ । मन्दिरबाट फर्किँदा, उहाँ हुनुहुन्थेन । मेरै गल्तीले यस्तो भयो ।”, अपराधबोधको एक लामो चित्कार फैलियो।
म मौन रहेर सुनिरहेँ ।

के कस्तो पीडा, कुन मानसिकताले आत्महत्या गर्न प्रयास गरेकी थिई होला, श्रीमानको मृत्यु जसको कारक ऊ स्वयं थिई यसले अझ उसलाई कति पिरल्छ होला, म अनुमानमा घोत्लिरहेँ ।

“अहिले के, अझै आत्महत्या गरौँ जस्तो लाग्छ त तिमीलाई ?”

“त्यही दिन त्यही मन्दिरमा कहिल्यै आत्महत्याको प्रयास गर्नेछैन भनी देउतासँग कसम खाएर आएकी थिएँ । अब मर्न मन छैन, यही छोराको लागि पनि ।”, उसमा एकप्रकारको संयम र दृढता झल्कियो।

मैले कुराकानी अगाडि बढाएँ, “अनि साँच्चै तिम्रो यति सानै उमेरमा कसरी बिहे भएको ? उन्नाइस वर्षमा त बच्चा नै पाइसक्यौ ।”

“बिहे हुनुमा पनि ठुलो कहानी छ दिदी, ठुलो रहस्य छ ।”

“के रहस्य होला ? भन्न मिल्छ ?”

“अब के नै लुकाउनु छ र ?”

यति भन्दै ऊ धाराप्रवाह आफ्नो कथा सुनाउन थाली;

अब के लुकाउनु हजुरलाई । खासमा म बलात्कृत भएकी थिएँ ।

कानुनी भाषामा त्यो बलात्कार ठहरिने रहेछ, तर मलाई उसले बल प्रयोग गरेको होइन मेरै राजिखुसीले म उसकहाँ जान्थेँ ।

दुई तीन वर्षसम्म म उसकहाँ रमाएरै गइरहेँ । त्यतिबेला मेरो उमेर करिब आठ दस वर्ष थियो होला । ऊ पेन्सनवाला लाहुरे, म जत्रै नातिनातिना को हजुरबा थियो । र मैले पनि उसलाई हजुरबा नै भन्थेँ । मेरो घर जोडिएको घर थियो उसको । आफ्ना छोराछोरी नातिनातिना सबै हङकङमा बस्छन् भन्थ्यो ।

उसको तिनतले घरको भुइँतलामा किराना पसल थियो । बाँकी सिङ्गै घर मलाई खेल्नकै लागि खुला हुन्थ्यो । उसले मलाई मनपर्ने खानेकुरा चिजबल्स, चकलेट रोजाएर किनिदिन्थ्यो । खाएर अघाइसकेपछि माथिल्लो तलामा रहेका खेलौना, बल, टेडिबियर, बेलुन, सबै खेल्न दिन्थ्यो । ऊ बहुत प्यारले मलाई काखमा राख्थ्यो । धेरै बेर मेरो कपाल सुम्सुम्याउँथ्यो, म आनन्दित भई निदाउनै लाग्थेँ तब ऊ मलाई बिस्तारामा राखेर “नुनुनुनु” खेलम् भन्थ्यो । बढो प्यारसँग मेरो लुगा खोलिदिन्थ्यो । हाम्रो शरीर जोडिन्थ्यो अनि एउटा गजबको चालमा चलायमान हुन्थ्यौँ हामी । मलाई यो खेलमा बहुत आनन्द आउँथ्यो । मलाई कहिल्यै पीडा भएन । खै त्यो कसरी सम्भव भयो ? तर मलाई अझै पनि लाग्छ त्यो बलात्कार थिएन । केवल मलाई मनपर्ने “नुनुनुनु” खेल नै थियो । करिब तिनवर्ष जति म र ऊ खेलिरह्यौँ ।

कसैले सुइँकोसम्म पाएन सायद । कसैले यस्तो होला भनेर शंका पनि गरेनन् होला सायद । त्यसपछि ती हजुरबा घर बेचेर गाउँ गए भनेर नयाँ आएका मान्छेले भने ।
ऊ गयो । त्यसपछि कहिल्यै भेट भएन । म हुर्किदै गएँ र पढ्दै गएँ । अनि बुझ्ने भएपछि थाहा पाएँ कि त्यो मेरो बलत्कार रहेछ। “म बलात्कृत बालिका हुँ”, “म जुठी हुँ” भन्ने हीनताबोध पैदा हुँदै गयो । उमेरले सत्र वर्ष लागेकी थिएँ । त्यो व्यक्तिसँग बदला लिन्छु भन्ने सोचले उसको बारेमा सोधखोज गरेँ । उसकै गाउँको छिमेकीले नै उसको घर किनेको हुँदा उसैसँग सोधेँ, त्यो बुढो कहाँ बस्छ अहिले भनेर, तर छिमेकीले केही महिना अगाडि प्यारालाइसिस भएर उसको मृत्यु पनि भैसकेको खबर सुनाए ।
अब के बदला लिनु, के सजाय दिनु ? मैले त खेल खेलेँ, रमाएँ । त्यति रमाइलो खेललाई बलत्कार र अपराध भनिदिने कानुन नै पो गलत हो । मैले यस्तै सोचेर आफ्नो चित्त बुझाएँ । तर पनि विगतको त्यो खेल सपनामा पुनरावृत्ति हुनथा ल्यो। सपनामा त्यो खेल रमाइलो भएन, भयावह लाग्न थाल्यो । म हरेक रात सपनामा बलात्कृत हुन थालेँ । मेरो मानसपटलमा अनेक विचारहरु खेल्न थाले । घरमा बुबाआमाले मेरो व्यवहारमा फरक देख्नुभएछ र एकदिन आमाले फकाएर सोध्नुभयो।
मैले आमाको फकाइमा पग्लिएर सबैकुरा भनेँ । त्यसदिन आमाको मुटु पनि पग्लियो र चोलो निथ्रुक्क हुने गरी आँखाबाट पोखियो । मेरो भयावह सपना त्यसैरात देखि हराउन थाले, तर आमाका सपनाहरु भने अब भयावह हुन थालेछन् ।

करिब एक महिना पछि हाम्रो घरमा थुप्रै पाहुना आए ।

पल्तिर ठुलाबाको छोरी बिना दिदी, बिहे छिनोफानो भैसकेपछि अर्कैसँग भागिछन् र त्यही दिदीले छोडेको मान्छे मेरो श्रीमान बन्यो । म लुरुलुरु उसको पछि लागेर आएँ उसको घरमा । बिहे गर्दिनँ भनेर मैले अनिच्छा जाहेर गरेकी थिएँ, आमाले मलाई त्यही शब्दले सम्झाउनुभयो कि, तँ “जुठी” लाई यत्तिको पाउनु भाग्य हो । सहरमा आनन्दको जीवन काट्न पाउँछेस् । उताको र यताको दुबैतर्फको इज्जत पनि जोगिन्छ ।

मैले माइतीको र श्रीमानको दुबैको इज्जत त जोगाएँ । तर मेरो शरीर जोगिएन । वास्तवमा बलात्कारको सामना त मैले बिहेपछि गरेँ । बिहेको रात म भोकै थिएँ । थाकेकी थिएँ । मेरो श्रीमानले मलाई के खायौ सोधेनन् । न त्यो बुढोले झैँ काखमा राखेर मलाई निन्द्रा नलागुन्जेल मेरो निधार कपाल नै मुसारे ।
मेरा श्रीमान् सोझा थिए र सोझै मलाई समाएर बिस्तारामा लपेटे । मलाई यो नुनुनुनु खेलमा प्रथमपटक पीडा भयो । त्यो चालमा आनन्द नभई निस्सासिएको महसुस भयो । म मौन थिएँ । मौनताभित्र लुकेको मेरो अनिच्छा मेरो श्रीमानले कहिल्यै देखेनन् । न मैले केही मनपर्ने खाना वा चकलेट नै पाएँ । न खेलको आनन्द नै कहिल्यै लिन सकेँ ।

विधिको विधान, अनिच्छाको यो खेलमा पनि शरीरले केही ग्रहण गर्दोरहेछ, बिहेको केही महिनामै मलाई वाकवाकी लाग्न थाल्यो। मेरा श्रीमान् बिहानैदेखि बेलुकासम्म काममा व्यस्त हुन्थे । उनको आफ्नै कपडा दोकान थियो । पैसा पनि कमाउँथे । सधैँ आज यति कमाइ भयो भनेर मलाई देखाएर पैसा दराजमा राख्थे । तर कहिल्यै मलाई केही खानेकुरा वा उपहार ल्याइदिएनन् । यो पैसाले तँलाई मन लागेको खा भनेर हातमा थमाइदिएनन् । उनी घर आउँथे, पैसा थन्क्याएर हातमुख धुन्थे, मैले खाना पस्किदिन्थेँ। जस्तो पकाए पनि दोस नलगाई कपाकप खान्थे । चुठेर बिस्तारामा जान्थे र मेरो व्यग्र प्रतीक्षामा हुन्थे । तर म खुसी हुन सकेकी थिइनँ । म नियममा चल्ने मेसिनझैँ, समयमा उठ्थेँ, सरसफाइ गरेर खाना बनाउँथेँ । दिनभरि उनलाइ कुरेर बस्थेँ, साँझमा फेरि खाना बनाउँथे, उनलाई पस्किदिन्थेँ । धन्दा सकेर बिस्तारामा हाँजिर हुन्थेँ । उनी झटपट मलाई तन्नामाथि ओच्छ्याउथे । दिनभरि वाकवाकी लागेर मैले एकसितो भात ननिलेको उनलाई थाहै हुन्थेन । मेरो शरीरमा शक्ति नभएर शिथिल भएको पनि उनलाई थाहै हुन्थेन । दिनभरि मेहनतसाथ काम गरेर आएका मेरा श्रीमान् भुसुक्क निदाउँथे । तर म रातभरि ननिदाएको थाहै हुन्थेन । सारै सोझा थिए मेरा श्रीमान् ।

श्रीमानप्रति मेरो केही रिस वा गुनासो नै थिएन। बस, आफ्नै जीवनप्रति र खुसी हुन नसकेको यो मनप्रति थियो । कसलाई के कुरा भन्ने ? सुखले सहरमा कोठामा बसेको छ । न खेतीपाती गर्नु छ, न सासुससुराको टोकसो छ । श्रीमतीप्रति बफादार मेहनती उघमी श्रीमान छ । दराजभरि पैसा छ तर पनि मन दुखी छ कसरी भनुँ ? त्यसैले कसैसँग बात मारिनँ । मनको वितृष्णाले जीवन जिउनुप्रति नै वितृष्णा जगाइदियो । “जे सुकै होस्, सुटुक्क सुतेको सुत्यै भइदिन्छु आनन्द” भन्ठानेर आँट गरेँ । दराजको पैसा लिएर मुसा मार्ने बिख किनेँ । दुधचिया मिठो बनाएर पकाएँ र बीखको धुलो पनि घोलेँ । अलिकति सेलाएपछि स्वाट्टै पार्छु भन्ने प्रतीक्षामा थिएँ । अचानक, अचानक, पेटभित्रबाट कसैले धक्का दियो । र अचानक आभाष भयो म एक्लै मर्ने हैन बच्चा समेत मार्दैछु । त्यसपछि मर्ने हिम्मत आएन, बाच्न त मन नै थिएन । टेबलमा चिया तयार थियो के गरौँ के नगरौँ मनमा दोधार थियो । यस्तै अप्ठ्यारोमा अचानक भगवान् सम्झिँदोरहेछ । म पनि भगवानकै शरणमा जान घरबाट रूदै घरछेउमै रहेको मन्दिरमा गएर लम्पसार परेँ । पेटभरि रोएँ । झमक्क रात परेपछि घर फर्केँ । तर घरमा अनर्थ भैसकेको रहेछ । टेबलको कप रित्तो थियो र बिस्तारामा श्रीमानको शरीर चिसो । मैले भगवानसामु बाँच्ने निर्णय गरेर फर्के, तर मैले बोलाएको कालले मेरो श्रीमान लगेछ । मन लागेर पनि रुन सकिनँ, आखिर हत्यारा त म नै हुँ ।

लालिमाले आफ्नो कहानी बिट मारी ।

यति भनिसक्दा लालिमाको अनुहारमा आँसु सुकिसकेको थियो, तर आँखा भने राता र सुन्निएका नै थिए।

“ल ल, सुत्केरी मान्छे धेरै बात नमार, खान ढिला भैसक्यो ।”, लालिमाकी आमाले तात्तातो घ्यूभात र ज्वानोको मगमग बास्ना आउने झोल बिस्तारामै ल्याइदिइन्। ऊ खान थाली।

म अर्को दिन फेरि भेट्न आउने बाचा गर्दै बिदा भएँ।

लालिमाको त्यो मुहार, ती आँसु, त्यो कठोरता, त्यो बालापनको आनन्दित खेल, त्यो निरस वैवाहिक मेल, सबै सबै मेरो मथिङ्गलमा नाचिरहे।