
लामा थुण्डुपकी स्वास्नी आनी डोमा आफ्नो थाकेको डँडल्नो सोझ्याउन घर बाहिर निस्किन् । बिहानीको चिसो हावा र खोलाको अविरल मधुर सुसाहटले उनलाई एकैछिनमा टाठो बनायो । क्वाङ्दे हिमालको चुचुरामा फेटा बाँधे जस्तो गरी बेरिएका हिउँका धर्साहरूले उनका आँखालाई सन्तुुष्ट दिए । घर अगाडिको गहिरोतिर हेरेर उनले आफ्ना विचारलाई सम्याउने प्रयत्न गर्न थालिन् ।
उनलाई दिन नरमाइलो लाग्यो । माद रेम्डुको ठूलो पर्व हालै मात्र सकिएकाले त्यसको झझल्को हराएकै थिएन । तर गुम्बामा र वरपर जम्मा भएका मानिस सबै फर्किसकेको हुनाले त्यो ठाउँ बिलकुल शून्य भइसकेको थियो । आनी डोमा गुम्बाको आँगनतिर टोलाएर हेर्न थालिन् । तर चाँडै नै उनको तन्द्रा भंग भयो । भित्रबाट उही धोत्रिएको तर पेट भित्रदेखि नै निस्किएको दृढ आवाजले बोलायो “डोमा” । आनी डोमा भित्र पसिन् ।
लामा थुण्डुपले इसारा गरे । उनी बसिन् ।
आनी डोमाले देखिन् – आज लामाको अनुहार अघिपछि भन्दा उज्यालो र आँखा धेरै चन्चल थिए । उनी केही भन्न खोजिरहेका थिए । कुरा स्पष्ट थियो ।
“अहिले कस्तो छ ?” मसिनु आवाजमा आनी डोमाले सोधिन् ।
“ठीक छ” उही दृढ आवाजमा लामाले जवाफ दिए ।
लामा अलिअलि भएर ओछ्यान परेको एक महिना बढी भइसकेको थियो । दिनदिनै बढी कमजोर र मलिन हुँदै गइरहेका थिए र तर आज अचानक अलि बढी सन्तुष्ट तथा दृढ देखिएका थिए । आनी डोमा पनि अलि विष्मयका साथ लोग्नेका अनुहार नियालेर हेर्न थालिन् ।
“मैले आज सपना देखेँ ।” लामाले बिस्तारै आनी डोमातिर हेर्दै भने ।
“सपनामा सब जनालाई देखेँ ।” यस बेला उनको अनुहार अझ हँसिलो र उज्यालो देखिन थाल्यो ।
“आज लामा बुन्दा छेन जने लामा सोङ्ग दोर्जे र ठूले रिम्पोछेको अघिल्लो अवतार सचेतको दर्शन पाएँ ।” आनी डोमा आनन्द र सन्तुष्टिले विभोर भएर बूढाको अनुहारमा हेर्न थालिन् । ती महान् तपस्वीले ८६ वर्षको उमेरसम्म बिताएको धार्मिक जीवन र गरेको आराधना आज पूरा भएकोमा र त्यस्तो मानिसको जीवनमा थोरै वर्ष भए पनि साथ दिन पाएकोमा आनीले आफूलाई कृतकत्य ठानिन् ।
“मलाई फेरि आउनु भन्ने आज्ञा भएको छ ।” अलि गम्भीर भएर लामा कुरा गर्दै थिए ।
“म फेरि जान्छु ।”
लामाका आँखाले केही खोजे जस्तो गरी चन्चल भएको आनी डोमाले देखिन् । पहिलेभन्दा निकै कमजोर आवाजमा लामा भन्दै गए,
“पूर्वपट्टि …।”
उनले आँखा गाडेर डोमालाई हेरे ।
बाहिर घाम उदाए । झ्यालका अन्तरबाट घामका धर्साहरू भित्र पस्दा कोठामा उज्यालोको धूलो एकै चोटि पोखिए जस्तो गरी कोठाभरि उज्यालो रंगीन कणहरू उडिरहेका देखिए । तर आनी डोमा चाहिँ लामाकै कुरा सुन्न व्यस्त रहिन् ।
“खोलाको किनारमा…।”
लामाको आवाज ज्यादै क्षीण हुँदै गइरहेको थियो तर उनको ओठ भने चलिरहेको थियो । तर डोमाले आवाज सुन्न सकिनन् । नजिकै गएर कान थापिन् । त्यसपछि नाक र मुखमा हात राखेर हेरिन् । अनि त्यसपछि आँखा जुधाउन खोजिन् । तर उनका आँखामा भरिँदै गएको आँसुले सबै डम्म छेकियो । दुई थोपा आँसु लामाका गालामाथि तप्तप खसे ।
आधा घण्टापछि वरपरका ठावा र गेलुङहरू सबै जम्मा भइसकेका थिए । वरपरबाट गाउँलेहरू पनि धमाधम जम्मा हुँदै गए । प्रत्येक पटक पहिले आइसकेको मानिसले पछि आउने मानिसलाई आफूले पहिले सुनेको कुरा सुनाइदिन्थ्यो ।
“लामा थुण्डुप आज बिहानै घामको घोडा चढेर देवा चेङ जानुभयो । तर उहाँले अवतार लिन्छु भन्नु भएको छ रे । यहाँबाट पूर्वपट्टि, खोलाको किनारमा रे ।”
“अनि उहाँले देवा चेङ जानुअघि खुम्बुका सबै ठूला लामाको दर्शन पनि पाउनुभयो रे ।” अनि झन्डै प्रत्येक जसो सुन्ने व्यक्तिको जवाफ हुन्थ्यो “ओहो, किन नपाउनु लामा थुण्डुप जस्ता तपस्वी धर्मात्मा महापुरुषले ।”
(साभारः’डोरबहादुर विष्टका कथाहरू’ पुस्तकबाट)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

