वि.स. २१०० ताकाको कुरो हुनु पर्ने, सुरिनामवासी मात्मा र पुण्यप्रसाद काम विशेषले एक दिन अगाडि मात्र काठमाडौँ आइपुगेका थिए । सुरिनामबाट आउँदै गर्दा प्लेनमा उनीहरूको परिचय काठमाडौँवासी अम्बानीसित भएको थियो । आज उनीहरू अम्बानी र उसकी श्रीमती मानकीसँगै बिहान झिसमिसेमै पशुपति दर्शन गर्न हिँडेका छन् । मूल मन्दिरपरिसर टन्नै भरिभराउ देखियो । जता आँखा गयो, उतै देशी–विदेशी पर्यटकहरू । च्यातेको कट्टुदेखि जोगीवस्त्र धारण गरेका गोरा, काला, पहेँला, खैरा दर्शनार्थीहरू यत्रतत्र फैलिएका थिए । मन्दिरको मूल गेटनिर लहरैसित दर्जनौं टिकट भेन्डिङ मेसिन राखिएका थिए । ठ्याक्क निजगढ रेलवे स्टेसनमा राखिएका मेसिनजस्तै । प्रत्येक मेसिनउपर मसिनो अक्षरले लेखिएको थियो– मित्रराष्ट्र श्रीलङ्काबाट सप्रेम उपहार प्राप्त । पुण्यप्रसाद र मात्माका आँखा त्यही लेखिएको वाक्यांशतिरै अडिए ।

मात्मा मसिनो स्वरमा बर्बरायो– “हदै भयो ! के ठेगान, यिनीहरूले आफ्नो घरमा समेत अनुदानमा झिकाइएको इन्डक्सन चुल्हो राखेका होलान् ।” मात्माको गनगनबाट अनभिज्ञ अम्बानीले एक मेसिनमा हजार रूपियाँका तीनवटा नोट छिरायो । तीनवटा टिकट फुत्तफुत्त बाहिर आए । बल्ल उनीहरू मन्दिरको मूल प्राङ्गणभित्र छिर्न पाए । भित्र अन्य दर्शनार्थीहरूसँगै उनीहरू पनि लाममा लागे । लाम जतिसुकै लामो भए पनि स्वचालित हिँड्ने बाटो (अटोमेटिक वाक–वे) भएकोले तानातान–ठेलमठेल केही थिएन । उनीहरूको पालो पनि आयो ।

मन्दिरको गर्भगृहमा खटिएका पुजारीको रूपमा समेत गोरा–चिल्ला कुइरेहरू नै भेटिए । उनीहरूभन्दा ठ्याक्क अगाडि चिनियाँ दर्शनार्थीहरू थिए, पुजारीले उनीहरूलाई चिनियाँ भाषामै आशीर्वाद दिन भ्याए । मात्मा, अम्बानी र मानकीलाई नेपालीमा, पुण्यप्रसादलाई हिन्दीमा मन्त्रोच्चारण गरेर आशीर्वचन प्रदान गरे । उनीहरूको ठिक्क पछाडि अफ्रिकनहरू थिए, उनीहरूलाई अफ्रिकन भाषामै शुभकामना दिए ।

गणेशप्रसाद लाठ

“वाह, यो पो हो नयाँ नेपालको सही छनक !” मात्माले मुक्तकण्ठले प्रशंसा गर्यो । पुण्यप्रसाद त इन्तु न चिन्तु भएका थिए, खुस्केको मान्छेजस्तै व्यवहार गर्दै थिए । पालोमिचाइ गरेर भए पनि आयातित पुजारीहरूलाई निकैबेरसम्म एकतमास हेरिरहे । नाइजेरियन महिला सुरक्षाकर्मीले आएर मायालु पारामा हप्काउँदै नपठाएकी भए उनी त जडमूर्ति भएर त्यत्तिकै उभिइराख्ने थिए त्यही ।

अम्बानीले प्रस्ट्यायो– “अचेल पशुपतिनाथ क्षेत्र व्यवस्थापनको जिम्मा ग्लोबल टेन्डरमा परेको कम्पनीलाई मात्र दिइन्छ । प्रत्येक वर्ष पारदर्शी पारामा टेन्डर आह्वान गरिन्छ । पारदर्शी पारामै छनौट पनि गरिन्छ । गोलमाल हुने ठाउँ नै छैन । बढाबढमा जुन देशको कम्पनी परोस्, उसैलाई पशुपतिनाथ क्षेत्र एक वर्षका निमित्त जिम्मा लगाइन्छ ।” कुरा सुनेर मात्माहरू छक्क र दङ्ग परेका थिए ।

मन्दिर प्राङ्गणमा डुल्दै अन्य विभिन्न देउताहरूलाई नमस्कार–प्रणाम गर्दै उनीहरू पछिल्लो भागमा पुगे । वागमती नदीमा कालो लेदोजस्तो पानी बग्दै गरेको देखेर मात्माहरू अचम्मित भए । नदीतिर औला तेर्स्याउँदै मात्माले कौतुहल प्रकट गर्यो– “साह्रै फोहर रै“छ । किन हो यस्तो ?”

“धत्, यसलाई फोहर नभन्नू नि । मूल्यवान् रासायनिक तत्त्व मिसिएर यस्तो देखिएको हो । यसै पानीबाट वेस्टिफायर तकनिक लगाएर बिजुली निकाल्ने परियोजना सुरू भएको छ ।” अम्बानीको जबाफ सुनेर मात्माहरू दङ्गदास भए ।

पुण्यप्रसादको मुखबाट फुत्त निस्कियो– “अनि यो फोहरमा जौहर देखाउने तकनिक पनि दानदातव्यमै आएको होला नि ?”

“अरे, त्यो त कुरै भएन नि ! मित्रराष्ट्र पाकिस्तानबाट सप्रेम सहयोग पठाइएको छ ।” अम्बानीले खित्त हाँस्तै फर्कायो ।

मन्दिरको निकास गेट भएर बाहिर आउँदा आयातित कोमल, सफासुग्घर चकटी ओछ्याएर मगन्तेहरू लहरै बसेका थिए । कोही ट्यापे, कोही मुन्द्रे त कोही कुण्डले अनि कोही त चुल्ठे । पहिरन पनि सबैजनाको भव्य र सभ्य । स्टेनलेस स्टिलको टल्किँदै गरेको कचौरा बजाउँदै भीख माग्दै थिए ।

“यहाँका मगन्ते पनि पाँचतारे मापदण्डका ।” जिब्रो टोक्दै पुण्यप्रसाद बर्बराए ।

“अभी खुद्रा पैसा नहीं है, बाद में मिलेगा ।” कचौरा बजाउँदै टाँसिन आइपुगेको एक मगन्तेलाई उनले हकारे ।

“नो प्रोब्लम सर, वी कैन गिभ यु चेन्ज । इफ यु हैभ मोबाइल मनी ओनली, देन अल्सो नो इस्यु । यु कैन ट्रान्सफर मनी इन माई मोबाइल ।” मगन्तेले अङ्ग्रेजीमा फर्काएको सुन्दा पुण्यप्रसाद ट्वाँ परे ।

अलि अगाडि हिँड्दै गरेको अम्बानी उतिखेरसम्म फिर्दा उनीहरूको छेउमा पुगिसकेको थियो ।

“ए, नयाँ आएछौ ? मान्छे चिन्दैनौ ? तेरो इलाका इन्चार्ज कता छ ?” मगन्तेलाई हप्कायो अम्बानीले । कुन्नि कुन दुलाबाट इलाका प्रभारी पनि फुत्त आइपुग्यो । गोरो, अग्लो, सुट–टाईमा सुसज्जित कालो चस्मा लगाएको सिने नायकजस्तो व्यक्तित्व ।

“अम्बानी दादा नमस्ते ।” प्रभारीले दुई हात जोर्दै अभिवादन गर्यो । मगन्तेलाई त्यहाँबाट भाग्न अर्हायो ।

“सुरे ! तिम्रा ठिटाहरूलाई अलिक ज्ञानदीक्षा दिएर राख है ! मान्छे पनि चिन्दैन यार !” अम्बानीले त्यो इलाका प्रभारीलाई सम्झाउने पारामा भन्यो ।

“सरी दादा ! यस्तो मिस्टेक अब दोहोरिँदैन ।” दुई हात जोर्दै सुरे नाम भएको इलाका प्रभारीले क्षमायाचना गर्यो । उनीहरू त्यहाँबाट अगाडि बढे ।

“गजब, यी मगन्तेहरूको कारोबार त व्यवस्थित रै’छ ।” मात्माले कौतुक प्रकट गर्दा अम्बानी हाँस्न थाल्यो । हो नि, कुनै बेला यस क्षेत्रमा आर्गेनिक मगन्तेको बोलबाला हुन्थ्यो । सार्है असभ्य, गन्हाउने र फोहरी हुन्थे । देशको नाकै काटियो भन्दै उनीहरूलाई यताबाट धपाइयो । अचेल हाइब्रिड मगन्तेहरूलाई मात्र बस्ने अनुमति छ । सफासुग्घर, सभ्य र चिटिक्क परेका । हरेक कुरोमा सिस्टमेटिक । यिनीहररूको समेत वार्षिक टेण्डर आव्हान हुन्छ ।”

अनि यो सुरो को हो ? तिम्लाई कसरी चिन्दो हो ? मात्माले आर्को जिज्ञासा प्रकट गर्यो । “सुरेलाई मगन्ते कलाको डिग्री होल्डर भन्दा पनि हुन्छ । असाध्यै ज्ञानीगुणी केटो ।

बेलाबखत “माग्ने काइदा सिकाइ दिनोस्” भन्दै गाडी चढेर ठूल्ठूला मान्छे यही केटासित प्रशिक्षण लिन आउँछन् । पुरानो चिनजान भएकाले मलाई साह्रै मान दिन्छ ।” उसले स्पष्ट्यायो । मात्माले अचम्भ मान्दै सोध्यो, “ठूल्ठूला मान्छेले माग्ने काइदा किन्न सिक्नु पर्यो ?” “ला, त्यति पनि थाहा छैन, बर्रालाई । मगन्ते को छैन यो संसारमा ? कोही ईश्वरसमक्ष दुई हात जोरेर भिक्षा माग्छ, कोही ईश्वरप्रदत मान्छेको खुट्टा समाएर भिक्षा माग्छ । कोही धनशक्तिको भिक्षा माग्छ, कोही ज्ञानशक्तिको । कोही सत्ताशक्तिको भिक्षा माग्छ भने कोही मानकीजस्ती दुलही प्राप्तिको ।” भन्दै अम्बानी अर्थपूर्ण ढङ्गले मुस्काउन थाल्यो । मानकीको अनुहारमा समेत मुस्कानको आभा प्रकट भयो ।

मात्माहरूको झिटीगुन्टा अम्बानीको गाडीमै राखिएको थियो । दर्शन गरेर गाडीसम्म फर्किँदा पुण्यप्रसादले पछिल्लो सिटमा राखी छोडेको हाते झोला बेपत्ता भएको रहेछ । उनको सातो गयो– “लौ बर्बादै भइयो, मेरा पानमसला, सुपारी र अन्य औषधीहरू त्यसैमा थिए । कसैले चोरेजस्तो छ ।” उनी पुर्परामा हात राख्तै रोइलो गर्न थाले ।

अम्बानीले हतारहतार कसैलाई फोन गरेर झोला चोरिएको कुरो अवगत गरायो ।

“चिन्ता गर्नुपर्दैन, पुण्यप्रसादजी, तपाईँको झोला केही मिनेटभित्रै फिर्ता हुनेछ । चोर्ने मान्छेले नै बोकेर ल्याउँदै छ ।” अम्बानीले आश्वस्त गरायो ।

मिनेटभित्रै एउटा सेतो कार टुप्लुक्क आइपुग्यो । एकजना बामपुड्के पुण्यप्रसादको झोलासहित कारबाट ओर्लियो । सरी भन्दै उनको हातमा झोला थमाएर फुत्त फर्कियो । पुण्यप्रसाद त अक्क न बक्क । उनले कपाल कन्याउँदै अचम्म माने– “नेपालमा त ठूलै तरक्की भएछ ।”