साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

पर्या-कथा : माटाको  थुप्रो

साहस बटुली बाहिर निस्केँ । जङ्गली हात्तीले छिमेकी साइँलीको घर भत्काएर उदाङ्गो पारेछ । उनीहरू ज्यान जोगाएर 'भाग रे भाग' भएछन् । म पनि अरूलाई साथ दिँदै हुलको पछि लागेँ, केहीअघिसम्म । हात्ती हिँड्दै छेवैको पहाडतिर लागेको थाहा भयो ।

Chovar Blues Mobile Size

“बिचरी साइँलीको बिजोग भएको रहेछ । बल्ल बल्ल सरकारबाट सेनिटरी शैचालय बनाउन धन त आएछ, तर ढिलो । काम चाँढै नसके रकम फर्किएर जाने रे । आत्तिएकी छ । घडेरी पनि कति पो ठुलो छ र ? आधा टेनिस कोर्टको जति मात्र त हो। सेप्टिक ट्याङ्क बनाउँदा  खनिएको माटो कहाँ राखोस् बबुरीले? घरमा एकै जनको त आय श्रोत हो । त्यो पनि ज्याला खटेर । हाइबरी । खर्च पिटाएर कहाँ लगेर मिल्काओस् त्यो माटो ? हुन त २-४जना ग्राहक नलागेका पनि होइनन् रे । तर भनेजस्तो मोल पाएकी रहिनछ बिचरीले….”

हावाको वेगमा कुदेकी मेरी श्रीमतीलाई मैले बिचमै टोकेँ ..” के यस्तो माटो पनि बिक्री हुँदोरहेछ?” मैले कुरा सक्नै पाइनँ। उनी फोक्सो फुलाएर दोब्बर स्वरमा बोल्न लागिन् ..” अन्त के त ?  बिर्सनु भयो?  माइतबाट फर्केर आउँदा हामीले बोराभरि माटो ल्याएको! गाडीको डिकी नै भरिएको थियो त? गाडी स्पीड ब्रेकरमा घरिघरि ठोक्किँदा तपाईँले उफ् उफ् गरी बिरक्त मान्नु भएको? त्यही माटो प्रयोग गरेर हामीले घरको छतमाथि कत्रो सागसब्जी फलाएका ?”

मौका मिल्ने साथ माइतीको झण्डा प्रदर्शन गर्ने, यो उनको पुरानो बानी हो। तर अहिले ‘उता’ बाट ल्याएको माटोमा पनि माइतीको फुटप्रिन्ट प्रष्ट जाहेर गर्दै थिईन उनी। माटो ल्याएको भोलिपल्टै गाडी मरम्मत गर्नु परेको थियो। त्यसले मेरो गोजीमा ठुलो छिँड पारेको थियो। बिचरा गाडीले कत्रो दुःख पायो होला! तर यी सब कुरा श्रीमतीले घुम्टोभित्रै लुकाइन्।

डा. देवेन सापकोटा (असम)

तर उनको कुरालाई मन मनै पर्गेल्दै थिएँ म।हुन पनि हो। अम्रो खाएको लइनो गाई जस्तो भएको छ गुवाहाटी सहर आजभोलि। देहा चाहिँ पोटिलो, तर दुदै नदिने। देख्नमा त यो विसाल छ नि। तर कङ्क्रिट नै कङ्क्रिट। माटो काहाँ ?

उनले स्वर बद्लाउँदै विषयको मूल धागो समाइन् ..”हाम्रो घरको भित्ताबाहिर फुटपाथमाथि कङ्क्रिट स्ल्याब छ। त्यसलाई बोगान भिलिया फुलका हाँगाले छोपेको छ। बेलुका त्यहाँ बेकामे केटाहरूको गफ हाँक्ने अड्डा बस्छ। उत्सव पर्वमा तास जुवा खेल्ने मञ्च हुन्छ। त्यही ठाउँमा बिचरीले माटो थुपार्ने अनुरोध गरेकी छ। माटो मलिलो रहेछ। सहजै बिक्ला। यो गुवाहाटी सहर हो। यहाँ पहाडको रातोमाटो सहजै बिक्री हुन्छ। यस्तो माटो त ग्राहकले रमाई-रमाई किन्लान्।

“बिचरीले हाम्रो अप्ठ्यारो कसरी टालिदिएकी छे! तपाईँ त पारिवारिक कुरातर्फ सारै ध्यान दिनुहुन्न। गए दसैँमा हामी माइत गएका बेलाको घटना बिर्सिनुभो? साइँलीले राति १२ बजे फोन गरेकी ? एकमात्र रुँगालो राखेका थियौँ कृष्णलाई। त्यो हुस्सुले पानीको मसिन बन्द गर्नै बिर्सेछ। माथिको ट्याङ्कीमा पानी भरिएर छताछुल्ल भएछ। मध्यराति छङ्छङ् आवाजले उसलाई ब्युँझाएछ। धन्न सुचना दिई। नत्रभने रातभरि पानी तानिएर कुवा नै रित्तिन्थ्यो होला। हामी घरमा नभएका बेलामा अमाजनद्वारा मगाएका सामान उसले त राखिदिन्छे। गए महिना मैले प्रवेशद्वारमै मोबाइल झारेँछु। उसले भेटिछे। धन्य मलाई थमाइ दिई।”

श्रीमती एकछिन पर्खिइन्। एकघाँटी थुक निलेपछि फेरि जोसिली भइन्। “केहीदिनका लागि तो हो। हाँ भन्दिउँ”?  उच्चतम न्यायालयको सिपालु अधिवक्ताले पनि आफ्नो प्रार्थीका लागि यत्रो जुक्तितर्क दिँदैन थियो होला! अब मैले अर्को पक्षको अधिवक्ता र न्यायाधीश दुवैको कर्तव्य निर्वाह गर्नुपर्ने परिस्थिति आयो। तर यस्ता हालतमा श्रीमतीले राखेको जुक्ति नै हम्मेसि सर्वोपरि हुन्थ्यो। मेरो ‘ना’ भन्ने अवकाश नै हुँदैनथ्यो। मानौँ उनी चित्-पट खेलामा हातको सिक्का हावामा उडाउँदै टाउको उत्तानो परे ‘म विजयी’ भन्दै थिइन्। जहाँ सिक्काको दुवै पट्टी टाउको नै मुद्रित भएको हुन्थ्यो।

बेलुका लखतरान भएर कार्यालयबाट घर फर्केँ। प्रवेशद्वारको देब्रेपट्टि एउटा माटाको थुप्रो गजक्क परेर बसेको रहेछ। उसैले मलाई स्वागत गर्‍यो। यो अब अलिक दिनको लागि मेरो द्वारपाले हुने भएछ। आफैँले सन्तोक मानेँ।

समय गुडुल्किँदै गयो। केहिदिनमा त्यो थुप्रोले हरियो मजेत्रो ओढ्न थाल्यो। त्यसमाथि जङ्गली लहराहरू झाँगिन लागे। बेरिन लागे। बिस्तारै त्यो ध्यानमग्न चेवण ऋषि देखिन लाग्यो। लताहरू अझ लहरिँदै गए। माथि निहुरिएका बोगान भिलियातिर लम्कन लागे। फुलका हाँगामाथि अतिक्रमण गर्न थाले। हैकम जमाउन लागे। थुप्रोले हावापानी झेल्दै गयो। सुरुमा गजधम्म देखिने ढिप समय बित्दै जाँदा खच्किए जस्तो देखियो। जङ्गल जेलिएर अनुहार झत्ते, निनाउँरो भयो। ऊमाथि छर-छिमेकीका रित्ता पोलिथिन थुप्रिन लागे। बिहान-बेलुका बाटा डुलाउनेहरूले आफ्ना कुकुरका दिसा गर्ने ठाउँ बनियो। ऊ अझ कुरूप देखिन लाग्यो। कर्म व्यस्तताले गर्दा म उज्यालो हुँदा घरबाट निस्कने र बेलुका घर फर्कने यान्त्रिक मानव जस्तो भएँ।

धेरै दिनपछि भ्रमणबाट बेलुका घर फर्केँछु। प्रवेशद्वारको देब्रेतिर त्यो भष्मासुर थुप्रो गजक्क बसेको रहेछ। मैले मोबाइलको बत्तीले छेउमा ग‌ई नियालेँ। ऊ त्यतिबेलासम्ममा सहरको कुनै कुडादानी भन्दा थोर घिनलाग्दो भएको रहेनछ। प्रवेशद्वारको विपरीत दिशामा साइँली थर्को फिँजाएर छिमेकीका साथ फुटपाथमाथि इत्तरिरहेकी थिइन्। आफूले दिएको आश्वासन ती साइँलीले कतै गाडधन पारेर राखेकी होलिन्। त्यो विषय यतिबेर पुस्तकको बन्द अध्याय भएको होला। नैतिकताको कुरो त परै जाओस् ।

उनको लेब्र्याईं खाएको मानसिकताले म घरभित्र पसेँ। भित्र-भित्रै उत्तेजित त थिएँ। तर अनुहारमा झल्काइन। चियाको चुस्की साथै श्रीमतीसँग कुरा निकालेँ। “त्यो छिमेकी ले त तिमीलाई न्यानो थाङ्नोमा पो सुताइछे। तिम्रो सहानुभूतिलाई मूलधन बनाएर हामी सबैलाई लाटो बनाइछे। केहि दिनका लागि मात्र थुपारेको माटो अझै लगिन।  परेको पानीका प्रत्येक थोपाले थुप्राको माटो बगाएर फुटपाथको स्ल्याबतल झार्छ। थुप्रो एक समयमा हराउला। तलको नालो पुरिएला। परेको पानीले घरअघि कृत्रिम बाढी ल्याउला। उसलाई त के र? बाटाको पल्लापट्टि बस्छे। बाह्र हातका टाङाले पनि छुँदैन। थुप्रो यतिबेला छर-छिमेकीको कुडादानी भएको रहेछ। रित्ता पोलिथिनले दाँत निकालेर खितित्त गरिरहेका छन्। बिच बिचमा रक्सीका रित्ता बोतलहरूले आँखा झिम्काई रहेका छन्। लक्ष्मी पस्ने द्वारको छेउमा ठ्वाँस्स गनाउने थुप्रो छ।”

म जति जति वर्णन गर्दै थिएँ श्रीमती उति उति  सर्पले फेणा फिँजाए जस्तो गर्न लागिन्। श्वासको तीव्रता बढ्दै गयो। दुवै नाकका पोरा फुल्दै गए।निधारमा बलिरेखा स्पष्टिदै गए। दुवै नेत्र विस्फोट हुन्छन जस्ता भए। उनलाई मेरो ओखतीले काम गर्ने जस्तो लाग्यो। शुद्ध शाकाहारी धर्मप्राणा हुन् उनी। रातिनिली हुँदै कडा भइन्.. “लाखेस् है त। त्यो छलिया पुतनालाई। त्यसले यो बृहस्पति पण्डितकी छोरीलाई अझ चिनेकी रहिनछे। भोलि उज्यालोचाहिँ होस् न। त्यसलाई जान्दो गरेरै छाड्छु”। म ढुक्क परेँ। अब भोलि दुधको दुध पानीको पानी होला। रात्रि भोजनपछि केही विश्राम लिएँ।

भोलि ४ अक्टुबर। विश्व पशुप्राणी अधिकार दिवस। मेरो एउटा प्रवचन छ विश्वविद्यालय पेक्षागृहमा।अब ल्यापटपको साथमा बस्नु पर्छ। प्रस्तुतिका लागि।

कृङ् कृङ् कृङ्.. मोबाइलले झस्कायो।उतापट्टि माइला दाजु हुनुहुँदोरहेछ। स्वभावैले केही कडा बोल्नुहुन्छ उहाँ। म जवाफ फर्काउन सतर्क भएँ।

“के-कस्तो छ त्यता”?

“निको आनन्दै छ, दाइ”।

“यतिबेला के गर्दै छस्”?

“भोलि विश्व पशुप्राणी अधिकार दिवसका लागि प्रवचन तैयार पार्दै छु, दाइ”।

“के लेखिस् छोटकरीमा भन् त “।

मैले केही यस्तो भन्दै गएँ  ….

  • पशुको अधिकार रक्षा हेतु सचेतनता र व्यवस्थापन गर्नु।
  • पशुकल्याणप्रति मानिसमा जागरुकता ल्याउनु ।
  • पर्यावरण संरक्षणमा पशुहरूको अहम् भूमिकाबारे मानिसमा चेतना जगाउनु ।
  • पशुहरूका निम्ति सहायक कोष गठनगर्नु ।
  • लोपोन्मुख पशुहरूको संरक्षण र उन्नत जीवनयापनको व्यवस्था मिलाउनु ।

“पशुप्राणीका लागि यत्रो लेख्ने? हामी मानिसका अधिकारका लागिचाहिँ खोइ? यी पशुप्राणीको त जगजगी छ । हामीलाई पो उठिबास लगाउन लागे। यतिबेर गाउँमा बसिनसक्नु भएको छ। रुखमा फल्दै गरेका नरिवल, तामुलहरू* छिप्पिनै पाउँदैनन् लोथर्केको उत्पातले। उता बाँदरले गर्दा बारीमा तुलफुल लगाउनै सकिँदैन। अरू त के भान्साघरमा पसेर खानेकुराको भाँडा बोकेर भाग्छन्। फ्रीजभित्र पनि केही राख्न नहुने भो। हात्तीको उपद्रो त छँदै छ।फलेको धान त सखाप पार्छन् नै ढिकुटी फोरेर पनि खान्छन्”।

मैले बिच मै काटेँ..’मानिसले उनीहरूको वासस्थान वनजङ्गल सखाप पारेर हो नि। यसको निराकरणको लागि पनि निश्चय बोल्नेछु, दाइ”।

“तिमी सहरियाहरू लेकचारबाजी मात्र गर्छौ। गाउँमा आएर हेर त हामी कति कष्टमा जीवन खियाउँदै छौँ। अब पशुप्राणीको भन्दा बरु मानिसको अधिकार दिवस मनाउने गर”। दाइले झ्वाँक मै फोन काट्नु भयो। हुन पनि हो। दुई वर्षअघि हात्तीले खेदाउँदा उहाँको देब्रे खुट्टा भाँचिएको थियो। यतिबेर गाउँको बाँदर लखेट्ने सेनाको दलपति हुनुहुन्छ। दाइको बाक्यवाणले मेरो मुटुमा प्रतिध्वनि गराइरह्यो। धेरैबेर।

एक्कासि डाङ डाङ र डुङडुङ ध्वनिले ब्युँझेछु। पटेका पड्काएका र टीन आदि बजाएको कोलाहल थियो। मानिसहरूको होहल्ला बाटैबाटो बग्दै गयो।झ्याल खोलेर बाहिर चाल बुझेँ। छिमेकीहरू हातमा राँको बालेर कमिलाको ताँती भएका रहेछन्। “हात्ती आयो है, हात्ती”। मानिसका चिच्याहटहरू ध्वनि र प्रतिध्वनिले वातावरण घोलिरहेका थिए।अकासका ताराहरूले रातको अध्यारोलाई छिचोल्न वृथा प्रयास गरिरहेका थिए। शुक्र ताराले आफ्नो अस्तित्व ढिप्  ढिप् झल्काई रहेका थिए।

साहस बटुली बाहिर निस्केँ । जङ्गली हात्तीले छिमेकी साइँलीको घर भत्काएर उदाङ्गो पारेछ । उनीहरू ज्यान जोगाएर ‘भाग रे भाग’ भएछन् ।म पनि अरूलाई साथ दिँदै हुलको पछि लागेँ, केहीअघिसम्म । हात्ती हिँड्दै छेवैको पहाडतिर लागेको थाहा भयो । मानिसहरू फर्केर आ-आफ्ना डेरातिर लागे। म पनि यिनीहरूको पछि पछि। फर्केर प्रवेशद्वार नेरि आइपुगेँ।मिरमिरेमा देखेँ – मेरी श्रीमती माटाको थुप्रोतिर फर्केर नमस्कार मुद्रामा रहिछन्। फुसफुस केही मन्त्र पढे जस्तो सुने। ‘हे गणपति बाबा रक्षा गर….’ सम्मुखमा केही फुलहरू थुप्रिएको देखेँ। त्यसतल हात्तीको भीमकाय लिदी भर्खर जन्मेको शिशु भएर निद्रामा रहेछ। एउटा ठुलो प्रश्नचिह्न बिचैमा आएर झुन्डियो। के अब यो माटाको थुप्रो नचट्पटाउला?

पोलिथिनरूपी रैथानेको  प्रमाणपत्र निधारमा टाँसेर त्यो थुप्रो मलाई नै गिज्यारहेको थियो।

लेखक परिचय
डदस
डा. देवेन सापकोटा
प्रतिक्रिया
Loading...