दायाँ पर्दा खोल्नासाथ सुन्दर हिमाल देखिन्थ्यो । बायाँ पर्दा खोल्नासाथ पल्लो घरको झ्याल देखिन्थ्यो । प्राय: दुवैतर्फका पर्दा सधैँजसो खुल्लै रहन्थे । मेरा आँखाले सधैँजसो बायाँतर्फको झ्यालबाट देखिने दृश्य चिहाइरहन्थे । देख्नलाई त दुबै झ्यालबाट मनोरम दृष्य देखिन्थ्यो । दायाँ झ्यालबाट देखिने दृष्य सजिलै देख्न सकिन्थ्यो । बायाँतर्फको झ्यालबाट देखिने दृष्य हेर्न निकै सकस पर्थ्यो । सुन्दर हिमाल हेरेर नअघाएका मेरा आँखा— पल्लो घरको झ्यालबाट देखिने दृष्य हेर्न नपाएर भोकाएका थिए ।

पुस महिनाको मौसम— जाडो निकै बढ्न थालिसकेको थियो । बिहान बेलुका हातगोडा ठिहिराए पनि दिउँसो पख न्यानो घाम ताप्दै छतमा बस्नुको मज्जा नै बेग्लै थियो । सहरलाई नियाल्दै बसिरहेका मेरा आँखा पल्लो घरको छतमा लुगा सुकाउँदै गरेकी युवतीलाई देखेर टक्क अडिए । उसको अनुहार नदेखिए तापनि उसले लगाएको रातो भेष्ट र कालो सुरवाल प्रष्ट देखिन्थ्यो । उसले मपट्टि एक नजर पनि नघुमाई सरासर छतबाट ओर्ली । खासै उसलाई ध्यानपूर्वक हेर्ने जाँगर पनि पलाएन ! बरु पब्जी खेल्ने जाँगर अघिबाटै पलाएको थियो । म पनि हातमा भएको मोबाइलमा पब्जी लगाउँदै ओर्लिए ।

सदाझैँ ५ बजे देखि ६ बजेसम्म धरानका चोक-चोक डुल्न निस्किएँ । बाटोभरि गाडीको लामो लाम देखिन्थ्यो । प्रायः सधैँ जसो यही समयमा बाटो जाम हुन्थ्यो । मलाई भने यस्तै जाम भएको बेला सडक छिचोलेर वारिपारि गर्न सारै सजिलो लाग्थ्यो । क्षितिजमा घाम डुब्नै लाग्दा धरान बजार सुनका गहना लगाएझैँ पहेलपुर भएर सजिएको थियो । माथि भेडेटार आस-पासका पहाडले रातो पछेउरी ओडेजस्तै देखिन्थ्यो ! हेर्दा निकै आकर्षक ।

विक्रम पौडेल

यत्तिकैमा म एउटा चिया पसल छिर्छु अनि एक कप चिया र चुरोट मागाउँछु । चियाको चुस्की लिँदै चुरोटको धुवाँ हावामा उडाउँदा खुब मज्जा आउँथ्यो ! उसरी नै चियाको चुस्की लिँदै चुरोटको धुवाँ उडाएर आनन्द महसुस गर्छु । आनन्द त साँझ परेपछि धरानका चोक-चोक डुल्दा पनि निकै आउँथ्यो । बाहिर सडकमा बत्ती बल्न सुरु गरिसकेका थिए । म तिनै सडक बत्तीको इसारामा डेरा फर्किए । कोठामा पुग्न साथ खाना बनाए, खाना खाएर दायाँ पर्दा लगाए, बायाँ पर्दा लगाउन खोज्दा पल्लो घरको झ्यालभित्र उही दिउँसो छतमा लुगा सुकाउँदै गरेकी युवतीलाई देखेँ, ऊ कोठाभित्र केही समान मिलाइरहेकी थिई ।

यो सब मैले पर्दा लगाउन बिर्सिएर टुलुटुलु हेरिरहेँ ! मेरा आँखा यता आउन मानिरहेका थिएनन् । जबर्जस्ती पर्दा लगाएर म ओछ्यानमा पल्टिएँ । मनमा अनेक कुराले बुर्कुसी मार्न थाले, त्यो पल्लो घरभित्र को होली ? उसको बारेमा जान्ने इच्छा जागेर आयो । अनेक प्रकारका अनुमान लगाएँ तर आफैले लगाएको अनुमानमा आफै विश्वस्त हुन सकिनँ । आँखा चिम्म गर्दा पनि निदाउन सकिनँ । ओल्टेकोल्टे फेरिरहेँ । भित्तामा झुन्डिएको घडीले रातको ११ बजाइसकेको थियो । मेरो मनमा खै के बजिरहेको थियो ? मैले कुनै मेसो पाउन सकिरहेको थिइनँ । यदि पाउन सकेको भए त्यसरी छट्पटीमा रात कटाउनु पर्दैनथ्यो होला । छट्पटीमै कुन बेला निदाएछु पत्तै पाउन सकिनँ ।

बिहानको झिसमिसे सङ्गै निन्द्राबाट बिउँझिएँ । बिउँझिनासाथ बायाँ झ्यालको पर्दा खोल्न पुगेँ । तर पल्लो घरकोझ्याल र पर्दा दुवै बन्द थिए । बिहानभरि मेरा आँखाले पल्लो घरको झ्यालतिर चिहाइरहे । न त पर्दा नै खोली न त झ्याल नै । मेरा सबै आसा निरासामा बदलिए । बरु उल्टै सिसामा आफ्नो अनुहार आफैँतिर फर्केर उसै गरी जिस्काउन थाल्यो ! केटा केटीले खिज्जाए जस्तो । मलाई आफैँदेखि आफैँसँग लाज लागेर आयो ! म आफ्नै यथास्थानमा फर्किएँ । मनभित्रको एउटा कुनामा कौतुहलले टुसा हाल्यो ! पल्लो घरको झ्यालभित्र को होली ? कस्ती होली ? बच्चाकी माउ छ कि तरुनी ? होची छ कि अग्ली ? मोटी छ कि पातली ? काली छ कि गोरी, हेर्ने इच्छा तीब्र भएर आयो । पटक-पटक मेरा आँखाले पल्लो घरको झ्यालतिर चिहाइरहे ! नदेखेपछि उसै हार खाएर चिहाइरहन मानेनन् ।

बेलुका रातको ९ बजे सुत्ने तयारीमा थिएँ । त्यतिकैमा पल्लो घरको झ्यालबाट त्यही युवतीको सुरिलो ध्वनी कानैसामु आएर ठोक्कियाे । ऊ इत्रिँदै फोनमा बोल्दै थिई । घरी ‘जाउन’ घरी ‘किन्देउन’ जस्ता शब्द निकै चिप्लो पारामा बोल्दै थिई । छिनमै उसको हाँसो फुत्कियो । उसको हाँसो मिठो लाग्यो ! सुनिरहुँ लाग्ने । अनायासै उसको झ्यालतिर हेरेँ, रातो बुटे पर्दा वारपार भएर उभिएको थियो । बोली मिठो, हाँसो झन् मिठो, मान्छे चाहिँ कस्ती होली ? मनले सकी नसकी उसको आकृति कोर्न थाल्यो तर सकेन । बरु पछारियो बर्खे हिलोमा चिप्लिएर पछारिएझैँ ।

बिहानदेखि नै पर्दा भित्रकी युवतीलाई हेर्ने इच्छा पलाएको थियो । फिलिम हलको पर्दा अगाडि कतिखेर फिल्म सुरु हुन्छ भनेर कुरेझैँ कुरिरहेँ । अन्ततः हात लाग्यो शून्य । पर्दा खुले त मरिजाउ, उसको मिठो बोली सुनिरहेँ, उसको बोली सुन्दा लाग्थ्यो अब पर्दा खोल्छे, अब उसको अनुहार धित मरुन्जेल हेरिन्छ । तर त्यो पल कहिले आएन खडेरीमा आकाश गर्जिएर पानी नपरेझैँ ।

***

२-४ दिन यता पल्लो घरको झ्यालतिर एक नजर पनि फालेको थिइनँ । फालुँ पनि कसरी, सधैँ जसो झ्याल र पर्दा दुवै बन्द । तर फेरि अर्को दिन तल्लाे घरको छतमा अर्की युवतीलाई देखेर हेरेको हेरै भएँ । उसलाई छतबाट प्रष्ट देख्न सकिन्थ्यो । उसको कसिलो शरीर, छिनेको कम्मर, आकर्षक छाती अनि उस्तै नितम्ब, गोरो छाला— हेर्दा लाग्यो चन्द्रमाको टुक्रा जस्ती । त्यति राम्री युवती न टोलमा थिए न कलेजमा । थिए होलान् अनगन्ती सहरभरि— मनमा खुसीले पखेटा हाल्यो ।

लाग्यो यति राम्री केटीसँग भेट हुन जुरेको रैछ र पो पल्लो घरको ज्यालभित्र कि युवतीलाई नदेखेको रैछु । देखेर दोधारमा पर्छ भनेर भगवानले लुकाइदिए जस्तो लाग्यो । नदेख्नुमा पनि खुसी लागेर आयो । एकपल्ट उसलाई बोलाउन मन लाग्यो । मन मात्र लागेर के गर्नु ? बोलाउनलाई उसको नाम नै थाहा थिएन । बोलाउनुभन्दा पहिला उसको नाम थाहा पाउन जरूर थियो । उसको नाम कसरी थाहा पाउने ? कसलाई सोध्ने ? कसले भनिदेला ? मनमा अनेक कुराले काउकुती लगाउन थाले । एक मनले भन्यो ‘बोलाउनलाई के को आइतबार नाम थाहा नभएर के भो बोलाउनलाई अनेक बाहना छन् । एक पल्ट सुसेली दिउँजस्तो लाग्यो । सुसेल्न लागेको मात्र के थिए फेरि अर्कोमनले भन्यो । ‘सुसेल्नलाई यो गाउँ पाखा होइन ! यो त सहर हो । सहरमा सुसेलेर केटी पट्टिँदैनन् । सुसेल्यो भने नराम्रो ठान्ली ! फेरि केटी जिस्काउने लफङ्गो सोची भने त्यसै एउटा सुनौलो अवसर खेर जान्छ ।’

‘ख्वाक ख्वाक’ दुइखेप खोक्न पुगेछु । नलागेको खोकी कहाँबाट लाग्यो, खोकेपछि पछुतो लाग्यो । मेरो खोकी सुनेको केही बेरमै उसले मतिर पुलुक्क हेरी । उसको हेराइले म लजावती झारझैँ फतक्क गलिहालेँ । दोहोरो आँखा जुधाउने आँट ममा पलाएन । मान्छेहरू भन्थे ‘कोही कसैका नजर गोलीझैँ लाग्ने हुन्छन् ।’ हो त्यस्तै लागे उसका नजर ममाथि— आकाशमा गरूण देख्दा भुइँका सर्प लुकेझैँ ।

पहिलो पल्ट देख्नसाथ उसलाई मन पराएछु । सायद ममा विपरीत लिङ्गीप्रतिको आकर्षण तीब्र भएको हुनुपर्छ । मेरो मनले गीत गुनगुनाउन थाल्यो— ‘धरानको बजारमा माया बस्यो एकै नजरमा माया धरानी ।’ कुनै फिल्मको सुटिङ हुँदो हो— म उसका हात समाएर छमछमी नाच्दै हुने थिएँ । तर यो त रियल जीवन बाँची रहेको थिए । त्यसैले उसका हात समाएर नाच्न सकिनँ । मनभित्रको मायाको तलाउमा डुब्न पुगे । तैरिन जानिनँ ।अनगिन्ती कल्पना मनमा कल्पिएर झोक्राएँ ! भविष्यका पखेटा फिजाएर ।

दिनहुँ जसो हाम्रो हेराहेर हुन थाल्यो । ओल्लो छतदेखि पल्लो छत । पल्लो छतदेखि ओल्लो छत । एक अर्काले आँखा तन्काएरै हेर्न थाल्यौँ । आँखाले आँखाको भाषा नबुझे पनि मनले मनको भाषा बुझिसकेको थियो । बोल्नलाई एक अर्काको नाम थाहा थिएन । थाहा पाउनलाई उपयुक्त वातावरण पनि थिएन । थियो त केवल हेर्नलाई वल्लो छतदेखि पल्लो छत ।

सधैँजसो मेरो बसाइ छतमै बित्न थाल्यो । आकलझुक्कल हाम्रा आँखा जुद्न थालिसकेका थिए । मेरा आँखा उसका आँखाको गहिराइमा डुब्न चाहन्थे तर त्योभन्दा पहिला पर क्षितिजमा घाम डुब्यो । अनायासै म कोठा फर्किए । खाना बनाउनुभन्दा चुरोट सल्काउन सजिलो लाग्यो । त्यसैले चुरोट सल्काए, मनलाई जति चुरोटको धुवाँ तान्दा आनन्द आउँथ्यो त्योभन्दा बढी आनन्द उसलाई सम्झिएर टोलाउँदा आउन थाल्यो । चुरोटले मनको भोक मेटाए पनि पेटको भोक मेटाउन सक्दैनथ्यो । त्यसैले खाना खानु जरूर थियो । अघिल्ला दिनदेखिका जुठा भाँडा पलास्टिकको आरीमा बसिरहेका थिए । जसरी नेपाली जनता विकासको आस गरेर बसेका छन् । त्यसरी नै जुठा भाँडा माजिने आसमा थिए । जसरी हाम्रा देशका प्रतिनिधिलाई विकास नगरेर लाज छैन ! त्यसरी नै मलाई पनि जुठा भाँडा नमाझेकोमा लाज थिएन ।

हाम्रा देशका राष्ट् प्रमुखलाई विदेशी राष्ट् प्रमुख आउँदा लाज र पछुतो लाग्छ कि लाग्दैन ? मलाई चाहिँ साथी कोठामा आउँदा अवस्य लाग्छ । मैले त जसोतसो जुठा भाँडा छोपछाप पारेर लुकाउँला तर देशको लाजमर्दो कुरा लुकाएर लुकाउन सम्भव छैन । जति नै प्रकृतिले भरिपूर्ण देश होस् कृत्रिम सुन्दरता त अवस्य चाहिन्छ । हाम्रा देशका जन प्रतिनिधिलाई चुनावी घोषणपत्रमा समेटिए जति विकास किन भएन भनेर सोध्यो भने— उत्तरमा सगरमाथा जत्रै प्रश्न वाचक चिन्ह खडा भएर उभिदिन्छ ।

***
उसलाई देखेदेखि मेरा दिनचर्या पुरै फेरिए । बेलुका चोक-चोक डुल्नुभन्दा छतमा गएर तल्लो घर वालीसँग भुल्नुमा मज्जा लाग्थ्यो । मलाई यस्तो लाग्यो— मान्छे जीवनमा खुसी हुन्छ भने त्यो बेला खुसी हुन्छ । जुन बेला उसको मनमा आएर कोही बसिदिन्छ । हामीले आँखाको इसारा हुँदै मुस्कानको इसारा साट्न थालिसकेका थियौँ । तर ऊ एक मुस्कान दिएर भाग्थी । म अर्को मुस्कानको पर्खाइमा छतमै कुर्थेँ ! ऊ फर्केर आउन्नथी ।

पुस सकिएर माघ महिना सुरु भयो । जाडोले बिहान सबैलाई छोएर जान्थ्यो । सूर्यको प्रकाशले बाक्लो तुवाँलोलाई मुस्किलले छिचोलेर धर्तीमा पाइला राख्थ्यो । प्राय: शनिबार धेरै जसो फुर्सदमा हुन्थे । ती फुर्सदिलाका भिडमा म पनि पर्थें । म हेर्दै थिएँ तल्लो घरकी युवतीलाई, ऊ हाते झोला लिएर तल ओर्लँदै थिई । मैले अनुमान लगाएँ पक्कै पनि तरकारी किन्न निस्किएकी हुनुपर्छ । कोठाको एक कुनामा आलु, तरुल, टमाटर, प्याज भए पनि म हतारहतार तरकारी किन्न निस्किएँ ।

उसको नाम थाहा पाउनकै निमित्त भए पनि निस्कनु पर्ने थियो । ऊसँग बोल्नकै निम्ति भए पनि उसको पिछा गर्नै पर्ने थियो । बोलचाल नगरी एक अर्काभित्र भएको सङ्कोचको गाँठो फुकाउन सकिन्थेन । जसरी भए पनि त्यो लाजको पर्दा हटाएर मायाको पछ्यौरी ओड्नु थियो । म उसको पछि-पछि नजानिँदो पाराले पछ्याउँदै हिँडिरहेँ । उसले बेला-बेला पछाडि फर्केर हेर्थी, म भने उसले ग्रीन सिन्नल दिएको बुझ्थेँ । उसलाई पछ्याउनुमा पनि मजा थियो । ऊ तरकारी पसल छिरी म पनि सरासर तरकारी पसल छिरेँ । तरकारीको दुःख थिएन ! पैसाकाे अनिकाल लागेको थियो । सर सापट गर्ने ठाउँ कतै थिएन । तैपनि मन नलागी-नलागी उसका रोजाइका तरकारी किनेँ । प्रेममा परेपछि मान्छे यतिसम्म गिर्दो रहेछ ! जसको गठिलो उदाहरण म आफैँ बनिरहेको थिएँ । मैले तरकारी किन्दा उसले अनौठो मानेर हेरिरही ! मलाई लाग्यो उसका रोजाइ र मेरा रोजाइ मिले ।

फर्कँदा सँगै फर्कियौँ एक अर्काको आमनेसामने भएर । निकै बेरको मौनतापछि मेरो बोली फुट्यो, “तपाईँ तल्लो घरमा बस्नु हुन्छ ?”

उसले मलाई पुलुक्क हेर्दै भनी “हजुर” ! अनि मुख बिगार्दै भनी “बस्छु” ।

तपाईँ माथ्लो घरमा बस्नु हुन्छ भन्छे जस्तो लागेको थियो तर उसले केही भनिन ।

फेरि आफैँ बोल्न तम्सिएँ, “तपाईँलाई भर्खर-भर्खर देख्दै छु तपाईँ नयाँ हो ?”

यसपल्ट उसले हाँसेर जवाफ फर्काई “नयाँ नै हो ! तपाई चाई पुरानो ?”

“हजुर पुरानो नै भन्नु पर्ला ! २ बर्ष जति भयो !

तपाईँको नाम के हो ?” मैले जिज्ञासु मन बनाएर सोधेँ ।

“मेरो नाम थाहा पाएर के गर्नु हुन्छ ?” खिस्स हाँस्दै उसले भनी ।

“तपाईँको नाम थाहा पाएर के गर्नु, बोलाउँछु ।” मैले उस्तै जवाफ फर्काएँ ।

“अहिले चाई चुप हुनुहुन्छ ?” उसले व्यङ्ग्य हान्दै भनी ।

उसको बोली भने भर्खर धार लगाएको छुरा जस्तो निस्कियो ! बुढापाका भन्थे ‘रूप भएर के गर्नु चाटेर बस्न हुँदैन ।’ एक पल्ट मौन सहमति जनाएँ । फेरि अर्को पल्ट सोच्न पुगेँ ‘रूप हेर्दा त चाटेर बसुँ जस्ती छे । कुरा गराई सुन्दा काटेरै फालुँ जस्ती छे ।’

केहीबेरको मौनतापछि कुराको सुरुवात उसैले सुरु गरी “हजुर के गर्नु हुन्छ ?”

उसले मेरो बारेमा सोध्दा गुलियो चियाको स्वाद मुखैमा भएजस्तो लाग्यो ।

“म पढ्छु । ”

यो भन्दा बढी उसले सोधिन । मैले  भनिनँ।

मैले ऊपट्टि हेर्दै भनेँ, “सून्नु न ?”

“भन्नु न ?”

“तपाईँको नाम नभन्ने ?”

“मेरो नाम जानेर के गर्नु हुन्छ ?”

“नाम जानेर के गर्नु तपाईंसँग भेट हुँदा नामबाट बोलाउँछु ।” मैले उसका आँखामा आँखा गाडेर भनेँ ।

“हामी भेट्नलाई जरूरी छ र ?” उसले आँखा अर्कोतिर पल्टाउँदै भनी ।

“एउटै टोलमा बसेपछि भेट भइहाल्छ नि ।” मैले निकट भविष्यलाई सोचेर भनेँ ।

“भेट्नलाई चिनजान हुनु परेन ?”

केटी बल्ल लाइनमा आई । “तेहि त अघिदेखि भन्दै छु चिनजान गरुम् भनेर ?”

“तपाईँ किन यति मरिहत्ते गरेर मेरो पछि लाग्नु भएको ?” उसले आँखा तर्दै भनी ।

“म तपाईँको पछि लागेको होइन ! तपाईँ मेरो अघि लाग्नु भएको ।” मैले आकाशतिर हेर्दै भनेँ ।

ऊ मेरो कुराले खित्खिताएर हाँसी । अनेक कुरा गर्दागर्दै हामीले घर आइपुगेको पत्तै पाएनौँ ।

घरनजिक आइपुग्नसाथ उसले अपरिचितलाई झैँ व्यावहार देखाउन थाली, मलाई बेवास्ता गर्दै ऊ गेट खोलेर भित्र पसी ।

मैले सोचेँ बुबा आमाको डरले हुनुपर्छ ।

म पनि गेट खोलेर भित्र पसेँ । कोठामा छिरेर एउटा चुरोट झिकेर सल्काएँ, पुरै कोठाभर धुवाँ फैलियो । कोठामा बस्न मन लागेन छतमा गएँ । तल्लो घरतिर एक नजर फालेँ, उसलाई देखिनँ ! फेरि कोठा फर्किएँ । बायाँ पर्दा खोल्नासाथ पल्लो घरको झ्यालबाट देखिने दृश्य छर्लङ्ग देख्न पुगेँ, पल्लो घरवाली सामान मिलाइरहेकी थिई । सिसावाला झ्याल बन्द थियो तर त्यहाँबाट देखिने दृश्य खुलै थियो । उसको अनुहार प्रस्ट नदेखिए पनि उसले गरेका हरेक क्रियाकलाप मज्जाले देखिन्थ्यो ! सायद सूर्यको प्रकाशलाई बाक्लो तुवाँलोले छेकेर होला । ऊ दायाँबायाँ कतै नहेरिकन लुगा फुकाल्न थाली ! यदि मतिर हेरेकी भए पक्कै पनि पर्दा लगाउँथी होला ।

उसले लुगा फेरेको एक टकले हेरिरहेँ । ऊ निकै हतारमा भएजस्तो लाग्यो, उसले कालो भेष्ट फुकालेर पलङ्गमा मिल्काई ! कालै कलरको ब्राले उसका स्तन छोपेको थियो । उसै गरी फिक्का रातो कलरको सुरुवाल खोलेर उसै गरी पलङ्गमा मिल्काई— रातै कलरको पेन्टीले उसको घुप्ताँङ्ग छोपेको थियो । झट्ट हेर्दा ऊ यूरोप अमेरिकातिर समुन्द्रको किनारामा डुल्ने युवतीझैँ देखिएकी थिई । उसको सेतो छालामा कालो ब्रा र रातो पेन्टी सुहाएको थियो ।

मैले सम्झिएँ यो सहरकी होइन । यो देशकी पनि होइन । ऊ त यूरोप अमेरिकाकी कुइरेनी हो । उसलाई निहालीरहँदा मेरो अन्तर मनले यही सोच्यो । उसको अर्धनग्न देखेर कुनै लाज मान्नु पर्ने कुरै थिएन । हामीले टिभीमा फिल्ममा हरेकचोटि देख्दै आइरहेका थियौँ । अझ यूरोप अमेरिकातिर त यसको कुनै मतलब नै हुँदैन । बरु मलाई पो फेर्नेलाई भन्दा हेर्नेलाई लाज भनेझैँ भएर आयो । मलाई भने उसले देख्छे कि भन्ने डर भयो । त्यसैले पर्दालाई पुरै ढाकेर एक कुनाबाट चिहाएर हेरिरहेँ । खासमा कुनै नौलो कुरा उसले देखाएकी थिइन । मैल पनि नौलो कुरा देखेको थिइन । मेरा लागि नौलो अनुभव भएको थियो ।

साँच्चै मैले त्यसरी हेर्न नहुने थियो । उसले पनि त्यसरी पर्दा नलगाई लुगा फेर्न नहुने थियो । जमाना खराब छ ! त्यो भन्दा त अहिलेको प्रविधि झन् खतरा छ । उसले हतारहतार सेतो कलरको भेष्ट लगाई अनि पलङमा बस्तै कालो कलरको जिन्स पाइन्ट जबर्जस्ती तानेर लगाई । सेतो भेष्टको दायाँ भाग पेन्टभित्र घुसारी, बायाँ भाग पेन्ट बाहिरै छाड्दी । यो सब मैले आँखा नझिम्काई हेरिरहेँ ।

। ऊ हतार-हतार रातो ब्याग टिपेर कोठाबाट निक्ली । पल्लो घरको गेटबाट ऊ फुत्त बाहिर निस्किन्छे । उही सेतो भेष्ट, कालो पाइन्ट, खुट्टामा कालै कलरका स्यान्डील, हल्का रातो केस, आधा अनुहार छोप्ने कालो माक्स र आँखामा कालै चस्मा । जुन हुलियामा निस्किएकी थिई । मानौं कोरोनाको जोखिम कम भए पनि उसलाई माक्स लगाउने बानी परिसकेको हुनुपर्छ । मैले अनुमान लगाएँ । ऊ फटाफट चोकतिर हिँडी । म भने लाटाले पापा हेरेझैँ टुलु टुलु हेरिरहेँ । ऊ निकै पर पुगेपछि एकाएक उसको पिछा गर्न मन लाग्यो । म सोझै ऊ गएको चोकतिर हानिएँ, तर उसलाई भेट्टाउन सकिन । निरास मन लिएर चिया पसल छिरे । चिया र चुरोट मगाएँ ।

म चिया र चुरोटको प्रतीक्षामा थिएँ, मेरो ठीक सामुन्ने अगाडि एउटी ९-१० पढ्ने केटी आएर झोला राख्दै साउनी नजिक गई । मैले यसै अनुमान लगाएँ यो पक्कै पनि होटलवालाकी छोरी हुनुपर्छ । उसको ब्याग निकै गरुङ्गो देखिन्थ्यो । पक्कै पनि यो ब्याग भिरेर विद्यालय जाने आँट उसमा आएन, त्यसैले मम्मीसँग अटो भाडा लिन गएकी हुनुपर्छ । केहीबेरमै उसले दायाँ हातमा चुरोट र बायाँ हातमा लाइटर लिएर मेरै सामुन्ने आई— मलाई कस्तो नरमाइलो लाग्यो ।

आफूभन्दा कान्छी असाध्ये राम्रो ज्यूडाल मिलेकी केटीले चुरोट ल्याइदिँदा । मागुँकी नमागुँको दोधारमा परेँ । फेरि सोचे ह्या मागुँ एउटी केटीदेखि डराएर हुन्छ । यसरी डराउने हो भने यो धरानमा यस्ता कति केटी होलान् ! ती सबैदेखि डराउने हो भने जीन्दगी कसरी चल्छ । यही सम्झिएर मैले उसको अगाडि दायाँ हात तेर्स्याएँ— उसले आँखा फुकालुलाझैँ हेरी । म तर्सिएँ, मलाई पछुतो लाग्यो हात बित्थामा तेर्साएछु भनेर । तत्काल पछुतो महसुस गर्न पुगेँ । कतै मैले गर्दा उसको विद्यालय ढिलो हुनेभएकोले मदेखि रिसाएकी त होइन । अहँ यो त पक्कै होइन ।

मैले फकाउने बहाना खोजे अनि उसको अनुहारमा हेर्दै सुस्तरी भनेँ “मैले गर्दा तिम्लाई ढिलो हुने भयो सरी ।” उसले मलाई हेर्दै ओठ लोपारी उसका गुलाबी ओठ देख्दा मलाई आफू लाजको पात्र भएको भान पर्यो । ऊ कुर्सीमा गएर बसी बस्नसाथ उसले दायाँ हातको चोरी औँला र माझी औँलाको बीचमा चुरोटलाई यसरी च्याप्छे मानौँ आजसम्म मैले त्यसरी चुरोट च्यापेको थिइनँ। उसका कलिला दूधे ओठका बिचमा चुरोट यसरी घुसाउँछे कि मानौँ उर्भर हरियाली भूमिमा जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले आणविक बम खसाएझैँ लाग्यो । उसको कलिलो फोक्सोभित्र पुगेर फर्कियो पहिलो धुवाँको सर्को । म यो सब देखेर छक्क परेँ ,अघि भर्खरको कुरा सम्झिएर आफैँलाई पछुतो लाग्यो । चाहिने भन्दा बढ्ता सोचेकोमा ।

उसका गुलाबी ओठमा नसुवाई नसुवाई चुरोट सल्किँदैसल्किँदै धुवाँ हावामा मिसिँदै थियो । उसले ओठले तान्दै नाकाका फोराबाट फाल्दै थिई । यो सब म नियालिरहेको थिएँ । उसले मतिर ईशारा गर्दै बोली “के हेरेको भाइ— कहिल्यै केटीको अनुहार देखेको छैन ?” उसको कुराले म झस्किएँ । फेरि उसै गरी उही पारामा भनी, “के हो भाइ कहिल्यै केटीको अनुहार देखेको छैन ?” दोर्याएरभन्दा मलाई झनक्क रिस उठ्यो तर त्यो रिस यहाँ पोख्न चाहिन ।

‘केटीको अनुहार त आजसम्म धेरैको देखेको थिएँ तर तिमीजस्ती कलिली केटीले चुरोट तानेको आजसम्म देखेको थिइनँ ।’ मुखभरि जवाफ आइसकेको थियो तर मुख फोरेर भन्न चाहिनँ । किनकि म आफैँ चुरोटको पारखी थिएँ । म चुरोटको पहिलो सर्को तान्दै थिएँ  । ऊ अन्तिम सर्को सर्कोमा पुगेकी थिई । ऊ चुरोटलाई निभाएर आफ्नो गरुङ्गो ब्याग उठाएर विद्यालय गई । म चिया र चुरोट सकाएर कोठा फर्किएँ । त्यसपछि त्यो केटीसँग कहिले कतै भेट भएन ।

***

सधैँ जसो शुक्रबारको बेलुका सबै साथी मिलेर पार्टी खान्थ्यौँ । शुक्रबारलाई शुभ कामको साहित कुरेझैँ कुर्नु पर्थ्यो २-४ बोतल बियर र कुखुराको भुटन चुस्न । शुक्रबार पाटी खाने चलन अहिले होइन राजाकै पालादेखि चलिआएको थियो । शुक्रबार आउँदा दशैंनै आएजस्तो लाग्थ्यो । तर त्यही शुक्रबार राजा वीरेन्द्रको परिवारमा कालो रातमा दसा बनेर भित्रिएको थियो । त्यो दसा चानचुने थिएन— त्यसले राजा वीरेन्द्र मात्र होइन पुरै देश र जनताको भविष्य अन्धकारमा धकेलिदिएको थियो । माथि आकाशमा कालो बादल लागेकै थियो । म यस्तै-यस्तै कुरा सम्झिएर पल्लो घरतिर हेर्दै थिएँ ।

बेलुकाको पाटी मेरो कोठामा थियो । सबै जना मेरो कोठामा भेला भए । ४ केजी बोईलर ४ बोतल रुस्लान पिउने ५ जना । जब भुटन तयार भयो तब हाम्रो पार्टी सुरु भयो । एक थाल भुटन ५ गिलास भोड्का । भरिएका गिलास ठोक्किएर एक सुरुप लिँदै सुरु भयो हाम्रो पाटी । पहिलो सुरुप मेरो मुख हुँदै घाँटी अनि पेटमा प्रवेश गर्यो । बिस्तारै मेरो छाती मन्द गतिमा तात्न सुरु गर्यो । हामी बिस्तारै नसामा डुब्दै थियौ तब रक्सीकै तालमा हाम्रा गफ सुरु भए । पढाइका, राजनीतिका, देशका, भविष्यका, मान्छेका, आधुनिक प्रविधिका अनि केटीका । मैले सुनाएँ स्कुल पढ्ने केटीले चुरोट तानेको कुरा ।

मेरो कुराले केटाहरु मुर्छा परुन्जेल हाँसे । रविले सुनायो छाडेर गएकी गलफ्रेन्डको कुरा । भुवनले सुनायो कलेजकी चश्मावालीको कुरा । ऊ भन्दै थियो, “त्यो चस्मा वाली क्या पट्ठी छे है— तर त्यसलाई त्यो चस्मा कस्तो नसुहाएको ! त्यसलाई आज मैले छाता चोकमा देखेको थिएँ । तर त्यसको जिउडाल अनुसार पटक्कै नसुवाएको चस्मा ।” चस्मा वालीको कुरा सुनायो । “अनि तैँले बोलाइनस् ?” चुरुप्प लगाउँदै मैले सोधेँ । “यसलाई भाउ पनि दिनु पर्यो नि ।” सुजनले भन्यो । भुवनले सुजनलाई आँखा तर्यो । सुजन अलिपछि सर्यो । यो देखेर हाम्रो ओठमा हाँसो निस्कियो— हा… हा… ।

रवि आफ्नो छुटेको प्रेम कहानी सुनाउन तम्सियो । उसले विगतका एक-एक किस्सा ओकल्न थाल्यो, “उसले मलाई होइन मेरो हैसियत लत्याएर गई ! घरी यो किन्दे घरी ऊ किन्दे भनेर कर गरिरही । सुरु-सुरुमा त किन्दिएँ, त्यसपछि त सुक्काराम । उसलाई लुगा किन्दिँदा किन्दिँदै आफैँ नाङ्गिने स्तिथिमा पुगियो । त्यसपछि उसैले फुक्का भन्दै आफै छाडेर गई ।” उसले अमिलो अतीत डक्कर्यो बियरको डकारसँगै । अनि फेरि बोल्यो । “कँही नभएकी चिप्ले रैछे नमज्जाले छक्याई । चिप्ले मुसुक्क, गोजी भुसुक्क हरी कङ्गाल बनाएर गई ।”

उसको कहानीमा गई तर पल्लो घरको कोठामा ऊ आई ! कोठाको बत्तीबाल्न साथ सिसावाला झ्यालबाट प्रकाश छिरेर बाहिरसम्म फैलियो । रातमा त्यो सिसाको ज्यालले आफ्नो कर्तव्य भुलेन । केटाहरुको ध्यान उही झ्यालतिर तेर्सिएको थियो । उसले बिहानझैँ लुगा फेरी भने केटाहरुले र्याल काडी-काडी हेर्दा हुन् । कमसेकम लुगा फेर्दा त पर्दा लगाउनु पर्छ नि । म यता सोच्दै थिएँ उसले अघि पर्दा लगाउन भ्याइसकिछे । अब भने ढुक्क भएँ । रातको ११ बज्न लागेको थियो तब हाम्रो पाटी सकियो । पाटी सकिनासाथ कसैलाई निद्रा, कसैलाई छादले, कसैलाई पादले अनि मलाई बिहानको कुराले सताउन थाल्यो ।

***

अघिल्लो दिनको धङन्धनेले छाडेको थिएन । कागती पानी पिएँ अलि बिसेक भयो । बिहान एक खेप बाहिरी हावा खान निस्किएँ । केहीबेर बाहिरी हावा खाएर फर्किएँ । कोठामा पुग्नसाथ मोबाईलमा भएको लाउरेलाई एकफेरा युद्धको रणभूममा कुदाए । जब लाउरे गोली लागेर ढल्यो तब पब्जी बन्द गरेर साथीको कोठातिर गएँ । साथी मलाई लिन बाहिर गेटसम्म आयो, उसको कोठा मेरो भन्दा सानो थियो तर सफा अनि मेरा भन्दा धेरै सामान मिलाएर राखेको थियो । खाटको एक साइडमा केही किताब थिए अर्को टेबलमा केही आयोगका किताब ।

टेबलको अर्को साइडमा चर्चित साहित्यका किताब । मलाई लाग्यो यो मान्छे पढेर कहिले नथाक्ने रहेछ । मेरो साटो यसैले पढ्छ जस्तो लाग्यो । अरु काममा झैँ खेताला लगाउन मिल्थ्यो भने परीक्षामा म यसैलाई खेतालो लगाउने थिएँ । तर यो सब असम्भव थियो । यतिकैमा ६०-६५ उमेरका हजुरबा आएर विकास बाबु १-२ वटा किताब लैजानु पर्यो भन्दै केही साहित्यिक किताब टपक्क टिपेर गए ।

“को बा हुन् यी ?” मैले विकासलाई सोधेँ ।

“यी घरबेटी बा हुन् । मबाट किताब लगेर खुब पढ्छन् ।” होइन बुढालाई के विधि पढ्न जागेर लागेको बुढेसकालमा या घरबाट पढ्न भनी बसेको म त मोबाईलमा बन्दुक पड्काएर बसेको छु मनमनै सम्झिएँ ।

“मबाट किताब लगेर पढ्न थालेदेखि अरूलाई तीन हजार भाडा लिन्छन् मलाई भने १५ सय मात्र लिन्छन् ! मिठो मसिनो खाने दिन माथि नै खाना खान बोलाउँछन् ।” उसले घरबेटीले गरेको नालीबेली सुनायो । मैले उसको ढाडमा धपेडी मार्दै भने, “के हो केटा तेरा घाबेटी त सारै मजाका छन् कि क्या हो ?”

“अँ मजाका छन् ! तेरा मजाका छैनन् ?” उसले मपटि हेर्दै भन्यो । ऊ हिजोको पाटी अनि हाम्रा कुनै पाटीमा सहभागी भएको थिएन । तर हाम्रो सबै क्रियाकलाप उसलाई थाहा थियो । म कोठा सारेको उसलाई थाहा थिएन । त्यसैले उसलाई मेरो बसाईको बारेमा त्यति थाहा थिएन ।

“पहिलेका धेरै किचकिचे थिए ! अहिलेका घरबेटी अमेरिकामा छन् ।” मेरो कुरा सुनेर ऊ खिस्स हाँस्यो । “घरबेटीको सालो बस्छ त्यो पनि पाउना लाग्न आएजस्तो महिनामा दुई चार चोटी आउँछ । त्यो पनि राति आउँछ बिहान उज्यालो नभई जान्छ । अहिले त एक्दम आनन्द छ दारु पानी पिएर राति गए पनि भो लिएर गए पनि भो, जे गर्न फ्रि छ ।” मेरो कुरालाई कुन अर्थमा बुझ्याे तर ऊ जोडसँग हाँस्यो । एक घण्टा पछि हामी छुट्टियौँ । म कोठा आइपुग्न साथ घरवेटीको सालो ढोका छेउमा टुप्लुक्क देखा पर्यो । भाडामा बस्नेहरु हामी उसलाई घरबेटी मामा भनेर बोलाउँथ्यौँ । मैले नजिकै गएर भनेँ,

“घरबेटी मामा कतिखेर ?”

“भर्खर हो भान्जा ! तिमी कहाँ पुगेर ?”
“साथीकोमा ।”

”जाँउ एकछिन तल्लो घर ?” घरबेटी मामाले मनकै कुरा उक्काई दिए ! मैले मामालाई मनमनै धन्यवाद दिएँ । मलाई पनि के निउ पाउँ कनिका चपाउ भएको थियो । घरबेटी मामालाई साथी चाइएको मलाई बाहाना कस्तो मिलेको । हामी सरासर तल्लो घरतिर लाग्यौँ । घर पुग्नासाथ मेरा आँखाले नाम नभन्नेलाई खोजिरहेका थिए । नाम नभन्नेलाई देखिछाडे, ऊ चिया लिएर हामीसामु आउँदै थिई । मानौँ म घरबेटी मामालाई लिएर उसको हात माग्न आएको हुँ ।

इसाराको बाण हान्नलाई केको आइतबार देब्रे आँखा सानो बनाएर उसको तस्बिर खिचिदिएँ । उसले आँखा तर्दै, तर्की म मुसुक्क हाँसेँ । निकै बेरको बसाइपछि कुरा निस्कियो बिहेको । जुन केटीलाई ताकिरहेको थिएँ । त्यो त त्यस घरको हुनेवाला बुहारी पो रहिछे । भरसक मागको दोस्रो हप्ता बिहे गर्ने कुरा चल्न थाल्यो । एक महिना अगाडि त्यस घरको छोराले भगाएर ल्याएको रहेछ । बल्ल थाहा भयो उसले नाम नभन्नु कारण । तर्किनुको कारण । मलाई भने पश्चातापले भित्रभित्रै जलाउन थाल्यो । त्यहाँ बसिरहन उचित लागेन त्यसैले घरबेटी मामासँग विदा मागेर कोठा फर्किएँ ।

कोठामा आएर लगातार दुई वटा चुरोट सल्काएँ । एक घण्टासम्म अनेक कुरा सम्झिएँ । बेलुका पल्लो घरको झ्याल वालीसँग आँखा जुध्यो जुध्नासाथ उसले मिठो मुस्कान छाडिदिई मेरा ओठ आफसेआफ खुले मानौँ हामी वर्षौ अघिदेखि नभेटेका साथी हौँ । आगोको छेउमा नौनी पग्लिएझैँ पग्लिन पुगेँ। आखिर ममा पुरुष हुनुको औकात देखिँदै थियो । हामीले ज्यालबाट चिहाउदै आफ्ना काम सक्यौँ । मैले भन्दा बढ्ता उसले चियाहिरही। अब यताको आगो उता सल्किएको थियो । नसल्कियोस् पनि कसरी एउटी जवान युवती र जवान युवक बीच सय मिटरको दूरी हुँदैन भने ।

भोलिपल्ट बिहान चोकछेउमा भेट भयो । कुरा गर्दै जाँदा उसको नाम थाहा भयो— समिरा शिवाकोटी । नाम सुन्न साथ एक दुई पल्ट दोहोराएँ । मान्छे राम्री— न होची न अग्लि सेतो छाला गोरो अनुहार । हिँडाइ हाँसकाे पोथी ढल्केझैँ । कस्तो नरम बोली । अझ उसको कोमल शरीर कति नरम होला मेरा हात उसको कोमल शरीरमा स्पर्श गर्न चाहन्थेँ । साँगुरो गल्लीमा ऊ टाँसिन आइपुग्थी । म उचित मौका छोपेर उसको कोमल शरीर छोइदिन्थे । यतिकैमा हामी बस्ने टोल आइपुग्यौँ । ऊसँगको रमाइलो यात्राबाट छुट्टिँदा भने पानीबिनाको माछाझैँ भएको थिएँ । भोक प्यास बिर्सिएर कोठामा पल्टिएँ । त्यसको केही घण्टापछि टोलभरि हुरी चल्यो जुन हुरी यत्रतत्र छरपष्ट भएर चल्यो । जुन घटना घट्यो त्यसपछि छाँगाबाट तल खसेको अनुभव भयो ।

त्यसको केही घण्टा नबित्दै थाहा भयो रविलाई कङ्गाल बनाएर कङ्गाल भन्दै छाड्ने केटी । विगत केही वर्ष यता धेरै केटाहरुलाई कङ्गाल बनाएर मोटाएकी केटी । तिनै माया जालमा फसाइएका केटाहरुको समूहले मौका छोपी सामुहिक रुपमा समिराको इज्जत लुटिदिएछन् । प्रहरीको अनुसन्धानपछि यही निष्कर्ष निस्किएछ । केहीदिन यता उसको झ्यालतिर आँखा गाडेर हेरेको धेरैले देखेका थिए । उनीहरूको सङ्का ममाथि परेछ । धन्न घटना भएको स्थान छेउको सिसी टिभीले केटाहरुको समूहलाई भिडियो खिचेको रहेछ । समिराको हत्या नभएको र उसलाई उपचारको लागि बि पि कोइराला स्वास्य विज्ञान प्रतिष्ठान घोपा क्याम्पमा लागिएको स्थानीयले बताए ।

समिरा गरीब परिवारमा जन्मिएकी र बढ्दो फेसन र जमना अनुसार चल्न खोज्दा उसले यो बाटो अपनाएको अनुसन्धानबाट खुलेछ । घटना भएकै स्थानमा मृत्यु भएकोभए र सिसी टिभी नहुँदो हो त म सिधैँ फस्ने सम्भावना थियो । यो सब सम्झँदा पनि मुटु जोडसँग उफ्रिन्छ । सोही दिन अर्को खबर कानले सुन्यो, जुन खबर सुन्दा पनि लाख पछुतो एकै पटक लाग्यो ।

भारतमा बाबुले छोरालाई पब्जी खेलेर समयको बर्बाद नगर भन्दा छोराद्वारा उल्टै बाबुको हत्या । यो समाचारले मलाई स्तब्ध बनायो । कुनै दिन त्यही बाबु सन्तान पाएर नाच्यो होला, रमायो होला, अनेक सपना देख्यो होला, भिडियो गेमले देखेका सपना छेकेको पनि देख्यो होला । अनि तिनै सपनाको बाधक पन्छाउन खोज्दा आफैँ पन्छियो यो संसारबाट । कस्तो नियति भोग्नु पर्यो एउटा बाबुले । भाँचिन लागेको भरोसाको लौरी जोगाउन खोज्दा आफैँ शिकार बन्यो । यही कुरा छिनमै समाचारको प्रमुख विषय बन्यो । सम्झिदा आँखा रसाए— बालाई सम्झिएँ । अनि तिनै बाको सपनालाई लात मार्न खोजेकोमा आफैँलाई पछुतो लाग्यो ।

बल्ल आएर मेरो नजरको पर्दा खुले । जुन यी दुर्घटनाले मस्तिष्कमा लागेको कालो पर्दा उघारिदियो । जुन पर्दा नलाग्नु थियो लागेपनि कलिलैमा उघारियो । छिपिन पाएको भए मेरो मस्तिष्कले उही भारतको घटना दोर्याउँथ्यो होला ।

मैले आफैलाई साँची राखेर कसम खाएँ । अब कुनै चेलीको झ्यालको पर्दामा गिद्दे नजर गाड्दिनँ । अर्काको झ्याल हेरेर समयको बर्बाद गर्दिनँ । आजबाट मनोरञ्जनको नाममा मन मस्तिष्क नै बिगार्ने कार्टुनकाे मार्ने र मर्ने पब्जी गेम खिल्दिनँ । यतिकैमा साहास जुटाएर पब्जी सदाका लागि मोबाईलबाट हटाइदिएँ ।

“अहिले चल्तीमा आएको दुई गेम पब्जी र फ्रिफायारले दक्षिण एसियामा कलिला मस्तिष्कलाई कुहिएको आलुझैँ बिगारी रहेको छ । जसलाई बेलैमा समाधान गर्न सकिएन भने भविष्यमा ठूलो विपत नआउला भन्न सकिन्न ।”समाचार वाचकको कुरा ध्यान पूर्वक सुनेँ । कोठा सफा गर्ने क्रममा यत्रतत्र छरिएका चुरोटका ठुटा भेटेँ । ती फोहोरसँगै गोजीमा भएको चुरोटको बट्टा मिल्काइदिएँ । अब कहिले यी ओठमा चुरोट घुसारेर फोक्सो बिगार्ने छैन ।
°°°