आज म गएँ। कुमार सरको घर। सुटुक्क! नै भनौँ । कुनै जानकारीबिना नै मैले दैलो ढकढाउँदा कुमार सर आत्तिएँ कि क्या हो ! कुनै रेस्पोन्स नै आएन भित्रबाट। मिनेटसम्म।

को ? – भने पछि।

सर ! -मैलेभन्दा स्वरले नै चिने मेरो । दैलौ खोले । झटपट ! मलाई देखेर रमाए । म पनि रमाएँ । हामी दुई नै खुसी भयौँ।

कुमार सर साउथ मुभिको किरा हुन् । रबि तेजा उनको फेब् एक्टर हो । जीनें नहीं दुंगा ! हिन्दी डबिङ फिल्म हेर्दै रैछन् । ल्यापटपमा । बन्द गरे म भित्रिए पछि ।

हेर्नुहोस् न‌ सर – मैले भनेँ ।

भरे हेर्छु – उनले भने ।

अनि हामी दुई नै बेमतलव अलिकति हाँस्यौँ । मुसुक्क !

धेरै कम जाने गर्छु म कुमार सरको घरमा । जब कि हामी प्रायः छेउ छेउ नै बस्छौँ।

उनी पनि त्यस्तै छन् । सारै आउँदैनन् मेरो घर । तर हाम्रो प्रत्येक भेटले मलाई केही न केही सिकाउँछ। कुनै लपनछपन छैन कुमार सरसँग । मलाई तान्छ उनको व्यवहारले ।

कफी कि चिया ? सोध्छन् मलाई ।

मलाई दुईवटा नै पिउन मन छैन । भर्खरै खाना खाएर आएको ।

तातोपानी – मैले भनेँ।

लिन गए ।

मेरो भाग्य पनि बडो गजबको छ! सुन्नु हुन्छ ? किन ?-

तातोपानी टेबलमा राख्दै कुमार सरले मलाई भने, ‘भाग्य त सबैको हुन्छ तर यो गजबको भनेको चैँ के हो !’

आज मैले सिक्ने विषय नै यो हो वास्तवमा।

भाग्य त बनाउने कारक हो । निर्माण गरिनुपर्ने तत्त्व हो । म मान्दिनँ प्रारब्ध,आरब्ध।

कुमार सरको विचार बुझ्न म आतुर छु अहिले । सुन्न उत्सुक छु ।


कुरा लामो छैन । अनि यो कथा पनि होइन ।

त्यो दिन म बसमा चढेपछि समस्या उत्पन्न भएको थियो । काँकडभिट्टाबाट बस मध्यान्हको बाह्र बजी हिँडेको थियो । बसमा चढ्ने यात्रीहरू मध्ये अन्तिम समयमा म बस चढेको सबैले याद राखेका थिए । पछि थाहा भयो ।

म धरानसम्म जाँदै थिए । इटहरी नपुगी म चढेको बस हिसाबले नौपल्ट बिग्रियो । अघिल्लो दुईवटा चक्का दुई पल्ट पड्कियो । धन्न बसले अलकत्रा छोडेन । बसभित्र बजिरहेको बाजा अकस्मात् बिग्रियो । कति कोसिस गर्यो खलासीले फेरि बजाउन । तर बजेन । नबजेको रिस सबै यात्रुले त्यो खलासी भाइमाथि निकाल्दै थिए । कराउँदै थिए सबैले । यात्रा गर्दा मान्छेलाई संगीत चाहिन्छ अहिले । पछि खलासीले त्यो बाजा निकालेर खिर्कीबाट फ्याँकिदिए । सबैलाई ढुक्क भयो । तर मलाई सरोकार थिएन बसमा बजेको बाजाप्रति । जुलाई महिनाको अस्थिर मौसमले होला बसको बनेट तीनपल्ट खोल्नु पर्यो खलासीले । इन्जिन तातेर धुवाँ धुवाँ भयो एकपल्ट । सबै डराएर ओर्लिए । सेलाएपछि फेरि चढे ।

बिर्तामोड काटेपछि बाटो छेउको अग्लो गोकुल रूखको गत्तिलो डाला बसको छप्परमा झर्यो…! त्यो आवाज डरलाग्दो थियो । महिला यात्रु चिच्याए ! अचानक बस रोकियो । चालकले जोडसँग ब्रेक लगाउँदा पछिल्लो सिटको यात्री एकैचोटी पहिलो सिटमा जोत्तिए ।

सबैले मलाई नै हरेको जस्तो लागिरहेछ यात्रीहरूले अहिले । किनकि म मात्र एकदम नौलो यात्री थिए उनीहरुको बीच । प्रायः दैनिक र नेपाल सरकारको कार्यालय सम्बन्धित महानुभावहरु मात्रै यो बसमा चढ्दा रहेछन् । बस पनि सारै पुरानो होइन ।

अहिले मलाई पनि लाग्न थाल्यो पनौती म नै हुँ । मैले सोँच्दा सोच्दै चालक बसेको सिट पछिल्तिरको नट बल्टु खकुलो भएर लिरिक-लिरिक हल्लिएर फेरि जोडले ब्रेक लगाउँदा पछिका यात्रीहरू सबै अघिल्तिर घोप्टो परे । त्यसबखतको गाली र हल्ला बडो दर्दनाक थियो ।

बल्टु कसेर फेरि चलाए बस चालकले । बाटोमा पर्ने सानो जंगल आयो केही क्षणपछि । रोक्ने आग्रह थियो यात्रीहरूको । बस रोकियो। दिसा-पिसाब फेर्न सबै यात्रु ओर्लिए अहिले । मेरो सिट बसको गेट छेउ थियो । झर्नेलाई मैले बाटो छोडिदिएँ । यात्री प्रायः सबै चोटिल,घाउखत भएका थिए ठोक्किएर!

सबै बसबाट ओर्लेर बाहिर थिए । त्यहाँतिर एकप्रकारको गुनगान आवाज थियो । तर मैले केही बुझ्न सकिनँ । म सिटबाट अलिकति पनि सरिनँ । झर्ने त कुरै आएन । सोच्दै थिएँ अचानक टिन सोरिएको आवाज आयो ।आवाजसँगै म पनि जोडले हल्लेर‌ हुत्तिएँ । झटपट उठेर हेरेँ !

म बसेको बसको दाहिने पाटोलाई सामान लादिएको ठुलो ट्रकले ठक्कर दिएर फुल स्पीडमा भाग्यो । भित्र म मात्रै थिएँ त्यो क्षण । मेरो मुटु झन्डै हत्केलामा आयो । बसको चालक खलासी अनि एक दुई यात्रीहरू गएको ट्रकतिर हेर्दै चिच्याएर गाली गरेको देखेँ मैले । म थर्थर काँप्न थालेँ । सबैले ट्रकले हिर्काएको बसको दाहिने पाटोलाई हेर्दै थिए ।

अलिकति छुएर गएछ -कोही भन्दै थिए । तर म अझ ओर्लिन । बसिरहेँ । आफ्नो सिटमा बसभित्र।

एकक्षण गुनगुन भएपछि एकाएक यात्रीहरू पुनः चढ । चालक चड्यो । खलासीले जाने निर्देश थियो । बस फेरि गुड्न थाल्यो। अब गोधुली समय भएको थियो । घामको पहेलो उज्यालो थियो। बसभित्र मौनता थियो । घरिघरि चालकले गियर परिवर्तन गर्दा फलाम चुइँक्केको आवाज थियो अनि कानै चिरिने बस कुद्दाको भद्दा आवाज…! इटहरी आउन केही अघि एउटा चोकमा बस रोकियो ।

– हजुर यहाँ नै ओर्लिनु होला ! यहाँबाट धरानको गाडी धेरै पाइन्छ ।

खलासी भाइले सोझै मलाई आग्रह गरे । बसबाट ओर्लेर बाहिर जान । भाडा पनि फिर्ता गरे । आधा ।

म छक्क परेँ । सबैले मलाई नै हेरिरहेका थिए ।

चालकले पनि भन्यो- लु झरौँ त दाइ !

अब मलाई कर लाग्यो बसबाट ओर्लिन । ब्याग तानेर म झरेँ बसबाट ! तत्काल चालकले वाहनको गति बढाएर हावाको चापसँग अघि बढायो । हेर्दा हेर्दै प्रायः तीन मिनेटपछि म अघिसम्म बसेको बस पड्कियो ! कुद्दाकुद्दै ब्लुङ्ग ! ब्लास्ट भयो । आगोको ज्वाला आकाशतिर उड्न थाल्यो । होहल्ला मच्चियो । पड्किँदा बस टुक्रा टुक्रा भयो । गाडीहरूको जाम लाग्न थाल्यो । धुवाँको गन्ध मसम्म आइपुग्दा म झसङ्ग भएँ । ब्याग बोकेर म ठिङ्ग उभिएर बस जलेको हेरिरहेको थिएँ….!

कुमार सरले यो घटना मलाई सुनाउँदा म त जिरिङ्ग- जिरिङ्ग भएँ ! मेरो तातोपानी चिसो भएछ । पिउन मनै लागेन । छोडिदिएँ। त्यसपछि कोरोना र लकडाउनमाथि केही छलफल भयो हाम्रो छोटो।

म गएँ – मैले भनेँ।

केही पनि भनेनन् कुमार सरले। म फर्केर हिँडेँ । आफ्नो घरतिर। थाहा भएन मलाई कुमार सरले पछिबाट मलाई हेर्दै छन् कि हेरेका छैनन् ।