इतिहास हरेक दिन लेखिँदैन । लेखिनु पनि हुन्न । अझ मजस्ताको त बिल्कुल हुँदैन । म गाउँ घरमा खेलिने मोजाको बल हुँ । मोजाको बलले विश्वकप खेलिँदैन । विश्वकप खेल्न फुटबलले पनि सुनको कारखानाबाट निस्किनुपर्छ । म परेँ सुन तस्करी हुने देशको सानो गाउँको मान्छे । मेरो जन्मभूमि गौरादह । नाम जस्तै यो गहिरो दहमा छ । डुबेको छ । डुबेको छ गहिरो दहमा जसरी डुब्यो टाइटेनिक जहाज समुन्द्रको गर्भमा । र डुबेको छ मेरो पुरै जिन्दगी त्यस्तै कुनै दहमा । सपनाको गहिरो दहमा । त्यस्तो कुनै दहबाट झिकेर कथा लेखिनु हुँदैन ।

मेरो कथामा यति बिघ्न आँसु छ कि कसैले हाँसीहाँसी लेख्यो भने पनि पढ्नेहरू रुन थाल्नेछन् । विगत डेढ महिना यता घरका सब रोइरहेका छन् । के त्यो काफी छैन र ?

छोरो बिचरा दिनहुँ आमालाई नरुनु भन्दो हो । घरमा सब किन रोइरहेका भन्ने लाग्दो हो उसलाई । कसैले छोडेर जाँदाको पीडा के थाहा त्यो अबोध बालकलाई । बस आमासँगै लागेर रोइदिँदो हो ।
यता कफिनभित्र म गुम्सिएको छु । उता उनीहरुको मन उम्लँदो छ । थाहा छैन यो बाकस घरको आँगन टेकेको दिन कति भयानक हुँदो हो ? उम्लिरहेको लाभा कसरी पोखिने हो ? थाहा छैन यो बाकस बरु त्यहाँ पुग्ने पनि हो कि हैन ? त्यहाँ पुगेन भने घरका मान्छेहरु कसरी बाँच्लान् खै ? अनि पुग्यो भने ? मर्दैनन् ?

रूपक अधिकारी

भुवन तिमी राम्रो खेल्छौ तर यदि तिमीलाई अन्तर्विद्यालय टुर्नामेन्ट खेल्नुछ भने जुत्ता चाहिन्छ है । भोलि जुत्ता लिएर आयौ भने तिमी हाम्रो टिमलाई नेतृत्व गर्नेछौ ’ हरि सरको कुराले मेरो मन गदगद् भयो । ग्राउन्डको एक चक्कर लगाएर खुसी जाहेर गरेँ । चिच्याएर नाचेँ पनि । तर मलाई यति त पहिले नै थाहा छ कि घरकाले मलाई जुत्ता किनेर दिने छैनन् । ’अब के ? ’ मनमनमा प्रश्न गरेँ ।

मलाई जुत्ताको बारेमा सम्झिँदैमा बान्ता होला जस्तै भयो । छाती भतभत पोल्न थाल्यो । मङ्सिरमा पनि पसिनाले खलखल भएँ म । मलाई भनन भएर आयो । म भुइँमा ढलेँ । भ्यात्त । जसरी पाकिसकेपछि आँप रुखबाट खस्छ । त्यसै गरी ।
नौ कक्षामा पढ्दा पहिलोपटक लढेको म त्यसपछि भने धेरैपटक पछारिएँ । हामी पानी परेको बेला पनि फुटबल खेल्छौँ । रोकिदैनौँ । यस्तोमा साथीहरू पालैपालो चिप्लिन्थे ।

’यो केटामा केही जादु छ । यस्तोमा पनि कहिल्यै लढ्दैन ’ अक्सर मलाई खेलेको हेर्नेले भनिरहन्छन् । ‘यो नेपालको पेले हो । सबैले देख्लाउ एकदिन यसले नेपालको लागि विश्वकप जितेर ल्याउनेछ’ भिडबाट बेलाबेला यस्ता कुराहरू मेरो कानसम्म आइपुग्थ्यो । म फुर्किएर अझै फुर्तिका साथ बल अघि बढाउँथेँ । तर फुर्किएर कहिल्यै मैमत्ता देखाइन । आमाले भन्नुहुन्थ्यो, ‘अरुले फुर्काउँदैमा कहिल्यै मातिनु हुन्न । मातिएको मान्छे नालामा लढ्छ तब देख्नेहरुले उठाउने हैन बरु हाँस्नेछन् ’ मेरो मस्तिष्कमा यो कुरा गहिरो गरी बसेको थियो ।

चौरमा लढेको म आँखा खुल्दा सामुदायिक अस्पतालको बेडमा थिएँ । मेरा आँखा अगाडि बुवा , आमा र हरि सर हुनुहुन्थ्यो । सबैको अनुहार मलिन थियो तर आमाको अनुहारमा सबैभन्दा बढी चोट देखिन्थ्यो । लढेको म थिएँ तर चोट भने आमाको मुटुमा परेको थियो । जसै मेरा आँखा खुले उनको आँखाको तालमा बनेको ड्यामको ढोका पनि खुल्यो । सबै खुसी भए तर धेरै खुसी उनी थिइन् । उनको आँखाबाट उम्किएको आँसुले यो कुरा प्रष्ट पारिरहेको थियो ।

’ म त एकदम डराएको थिएँ । भुवन बिना हाम्रो टिम कसरी खेल्थ्यो ? ’ हरि सरले बुबातिर हेर्दै भन्नुभयो । ‘तपाईंको छोराको नसामा फुटबल बग्छ । एकदिन हेर्नुहोला गर्वले तपाईंको छाती फुल्नेछ ’ हरि सर त्यति भनेर बिदा हुनुभयो । गर्वले कहिले फुल्छ त्यो थाहा भएन तर पिडाले फुलेको छाती अझै मत्थर भैसकेको थिएन ।

लाठे भएको छोरा पिँठ्युमा बोकेर बुवा घरतिर लाग्नुभयो । आमा अघिअघि थिइन् तर उनको मन अझै अस्पतालको खटियामा सुतिरहेको थियो । मेरो मन मैदानमा फुटबल खेल्दै थियो । दर्शकको उपस्थिति र हुटिङ चलिरहेको थियो । “गोल भुवन गोल “ भन्दै भिड कराइरहेको थियो । थाहा छैन बुवाको मन भने कहाँ थियो । कमसेकम हिँडिरहेको बाटोमा त थिएन । मलाई बोकेर हिँडेका उनी बाँकी दुनियाँ बिर्सिरहेका थिए । बाटोको सिसा देखेनन् । टेके । उनको भन्दा मेरो नजर परसम्म देख्न सक्थ्यो तर तिनले पनि देखेनन् । मेरा आँखा फुटबल बाहेक अरु केही पनि देख्न सक्दैनन् थिए । दिमागले जुत्ता भन्दा अरु केही सोच्दैनथ्यो ।

“ ऐया “ बा कराए । आमा पछाडि फर्किइन् । ‘ल हेर यिनका फुटेका आँखा ’ सारीको फेर च्यात्दै आमा बोलिन् । बुवाले मलाई बिसाए तर हामीले मन बिसाउन सकेनौँ । कसैले पनि सकेनौँ । आमाले सारीको टुक्रो बुवाको काटेको खुट्टामा बाँधिन् । मैले बा’लाई बोक्न खोजेँ । ’ खै छोड तैंले सक्दैनस् ’ भन्दै आमाले बुवालाई पिठ्युँमा बोकिन् । मैले चुपचाप हेर्न बाहेक केही सकिनँ । हामी घर पुग्यौँ तर हाम्रो मन खै कता पुग्यो केही थाहा छैन । आमाले चामलको बोराझैं जतन गरेर बुवालाई पिँढीमा राखिन् । म पनि बा नजिक गएर बसेँ ।

’अब भए भरको सप्पै काम घरगोठ , घाँसदाउरा मैले नै गर्नुपर्ने भयो । दैव के पिरलो आइलागेको हो कुन्नी ’ आमै भुतभुताउँदै भित्र पसिन् । दुइटा गिलासमा मोही लिएर आइन् । बाउ छोरालाई एउटा एउटा गिलास थमाउँदै भन्न लागिन्, ’काल आउनेबेला अनेक हुन्छ भन्थे हो कि खै ? हिजोआज सपना पनि राम्रो परेको छैन ।’

‘कति झर्को मान्छे हौ यो आइमाई ? केई भयो कि कचकच सुरु । सारै गाह्रो परेको भए गए भयो त कहाँ सजिलो हुन्छ तेतै ’ आमाको अनुहारमा हेर्दै बा कड्किए । ‘हामी बाउ छोरा जे गरौंला ।’

‘अँ नाप्यौ खुबै म नभई एउटा सिन्को भाँचिने हैन ’ आँगनमा सुकाएका गोबरका गुँइठो भेला गर्दै आमै बोलिन् । ‘उमेर हुँदा त कतै गइन अब बुढेसकालमा जाँदी हुँ खुबै ’ गुँइठो लिएर आमा भित्र पसिन् । हामी बाउ छोरा एकअर्काको मुख हेराहेर गरेर बस्यौँ ।

रातिको खाना खाइसकेपछि आमाले दुधमा बेसार हालेर हामीलाई दिनुभयो । ‘फेरि बेसार हालेर पो मरिछे है ज्यामराज ’ भन्दै बुवाले गिलास आँगनमा हुत्याइदिए । बेसार नै नहाले पनि कहिलेकाहीँ बाले यसरी हुत्याइरहन्छन् । मैले केही नबोली सुरुप सुरुप गर्दै दुध पिएँ ।

बेसारमा रोगसँग लढ्ने क्षमता हुन्छ भन्छन् । त्यहीँमाथि आमाले पिलाएको विषले पनि अमृतको काम गर्छ भन्ने राम्रोसँग थाहा छ । यहाँ त आमाले ओखती बनाएर दिएकी हुन् तर खै बा ले किन बुझ्न चाहेनन् । आमाले अर्को गिलास दुध लिएर आइन् तर बाले त्यो पनि पिएनन् । आमाले त्यो दुध मेरै गिलासमा खन्याइन् र बचेको आफूले पिइन् । ‘कुनदिनमा यिनको हातको घडी देख्नु परेको मलाई पनि । अनुहार हेरेको भए यी बाहिर भित्रै कालो भएको मान्छेसँग किन पो बिहे गर्थें र ? ’ आमा साडीको फेरले आँसु पुछ्दै आँगनको गिलास उठाउन लागिन् ।

ऊ बेला बा भुटानी शरणार्थीको रेजिमेन्टमा काम गर्थे रे । बुढाको सान नै बेग्लै थियो रे । बुढा बहुत सौखिन थिए रे । आइमाई र रक्सीमा भए भरको सम्पत्ति सक्काएका हुन् रे । मैले देख्दा यही चुहिने छनो भएको घर र खेत मात्र हो । रक्सी त बुवा आज पनि उत्तिकै पिउँछन् । ’ एक गिलास नखाई त निन्द नै पर्दैन । त्यहीँमाथि तेरी आमाको सँधैको कचकच यहि हो ’ बा ओछ्यानबाट कराउन लागे ।

दुध पिएको गिलास पिँढीमै छोडेर म पनि आफ्नो बिस्तरामा पल्टिएँ । अनि फेरि उही जुत्ता आँखा अगाडि घुम्न थाल्यो । फनफनी आधी रातसम्म ओल्टेकोल्टे गर्दै छटपटाइरहेँ । त्यसपछि कतिबेला आँखा लागेछन् पत्तै पाइन ।

दर्शकले खचाखच भरिएको मैदान । चारैतिर बाट गुन्जिरहेको एक नाम “ भुवन “ , “ भुवन “ ।

हाम्रो टिम मैदान पस्यो । खेल सुरु हुनै लागेको थियो । रेफ्री मेरो नजिक आएर मलाई मैदान बाहिर जान इशारा गर्न थाले ।
’ म यो टिमको क्याप्टेन हुँ ।’

मेरो कुराको बेवास्ता गर्दै मेरो खुट्टा र बाहिर जाने बाटो देखाए । धेरै बिन्ति बिसाएँ तर उनले एक सुनेनन् । त्यसपछि आँखाभरि आँसु लिएर मैदान बाहिर अघि बढेँ । ग्राउन्डको रेखा पार गर्न लागेको थिएँ त्यतिकैमा भिडको आवाज अझ चर्को बन्यो । त्यहिबेला बिरालोले भान्सामा भाँडा लडाएछ “ खन्द्रङ “ आवाजले म ब्युझिएँ । अब के गरी जुत्ताको व्यवस्था गर्ने होला भन्ने पिरले त्यसपछि सुत्नै सकिन । जुरुक्क उठेर बाहिर निस्किएँ ।

सुनसान सडक । चरा मुसा केही थिएन । रोडको बिचमा उभिएर पिसाब गरेँ । कति ठिक कति बेठिक गरेँ सोच्नुपर्नेमा जुत्ता मात्र सोचिरहेँ । आसाको ज्योती कहीँ देखिएन । सायद औंसीको रात भएकाले हुनुपर्छ । बाटोको ढुङ्गा उठाएर बाटोमै जोडले प्रहार गरेँ । अर्को ढुङ्गा उठाएर आफ्नै घरको छानामा हानेँ । अन्त हान्ने हिम्मत पनि थिएन । कोही यति क्रूर कसरी हुनसक्छ ? ’ कसरी सुत्न सक्छन् कोही , कोही यहाँ यसरी रातभर छटपटाइरहँदा । ’ मनमनै भन्न लागेँ । म नसुत्नु मेरो समस्या हो यसमा गाउँलेको के दोष । दिनुपर्ने कुरामा त आखिर भगवानले सबको भागमा रात बराबर दिएका छन् । तर नियति होला कुनैकुनै रात सुत्नको लागि नहुँदो रहेछ ।

छटपटाउँदै पिँढीमा बसेँ । रात नयाँ बिहानी लिएर आउँदै गर्दा त्यहीँ निदाएछु । भालेको डाकसँगै आमा उठिन् । गोठ गरेर हातमा गोबर लिएर आउँदा मलाई देखिन् अनि के चाहिन्थ्यो कराउन सुरु गरिन् । ’हामी बुढाबुढी भुइँमा सुतेर पनि उसलाई खाट राखिदिएका छौँ । यो मुर्दार भने आँगनमा पल्टेर मरेको छ ’ गाली गर्दै आमा रुन लागिन् । मेरा आँखा खुले तर मुख खुलेनन् । ’जुत्ता चाहियो ’ कसरी भनुँ त्यसको लागि एउटा बाख्रा बेच्नुपर्छ । दशैँको लागि भनेर अस्ति आमा बिरामी हुँदा नबेचेको बाख्रा हो यो । यही बेचे त दशैँ टर्ने हो । म आफ्नो खेलका लागि कसरी उनीहरुको भावनासँग खेल्न सक्छु ? कोही कसरी सक्छ ? ’ बाउआमाको मन छोराछोरीमाथि अनि छोराछोरीको ढुङ्गा मुढामाथि भनेको यही त होला’ आमा झन रुन थालिन् ।

’फेरि आज के भयो यसलाई ? एकाबिहानै फलाक्न सुरु गरि त’ चर्को आवाजमा कराउँदै बा बाल्टी लिएर निस्किए । आमाले हत्तपत्त आँसु पुछिन् । अँध्यारो भएकाले बुवाले देख्नुभएन । आमा केही बोलिनन् । म पहिल्यै चुप थिएँ । केही बोलिन । बुवा सरासर गोठ पसे गाई दुहुन । कास गाई जस्तै अर्को केही हुन्थ्यो दुहुनलाई जसले दुध नभएर पैसा दिन्थ्यो । म दुहुने थिएँ आफूलाई चाहिने जति रुपैयाँ र किन्ने थिएँ जुत्ता ।

पाउमा चप्पल नभएकै कारण बाको खुट्टा काटेको बिर्सिएछु नत्र पैसा दुहेर बाउको गोडामा चप्पल हाल्छु भन्नुपर्ने हैन र ? आखिर किन यति स्वार्थी भएको म ? किन आफ्नो बारेमा मात्र सोचिरहेको छु ?
घामको रातो धर्को देखिन थाल्यो र बिस्तारै आफ्नो स्वरुप हाल्दै गयो । बिस्तारै मलाई तैंले पनि चर्किनुपर्छ भन्ने बताउँदै गयो । तर चर्किने उपाय बताएन । हुन त उसलाई मेरो जुत्ता नभएको कुरा के थाहा । हरि सरलाई थाहा नभएको हैन तर हरि सरले जुत्ता लिएर आउनु मात्र भने । ’ कसरी जोहो गर्छस् त केटा ? ’ एकपटक पनि सोधेनन् । ’सकेसम्म काँडा भएको किन्नु ’ सरले भने तर देखेनन् जुत्ता नभएर कतिपटक काँडाले घोचेको छ । खुट्टामा भन्दा धेरै मनमा । च्वास्स ।

’तँ आज स्कुल किन नगएको ? झन छोराछोरी पढ्लान् र सुख पाइएला भनेको त मेरो कर्मै खोटो । उही बाउको छोरो त पर्यो किन पढ्नु ? ’ आमै भुतभुताउँदै डोको लिएर खेततिर लागिन् ।

मलाई एकदिन हाजिर हुन नपाएकोमा कुनै दुख लागेन बरु एकदिन कम फुटबल खेल्न पाएँ भनेर पिर परिरहेको थियो । दिनभर जुत्ता मनमा नाचिरह्यो अनि म आँगनमा ।

‘भुवन दाइ ठूलो भएपछी मसँग बिहे गर्नु ल । मेरो बुवासँग धेरै पैसा छ । बाले धेरै दाइजो दिन्छन् । दिदीको बिहेमा पनि धेरै दिएका थिए । त्यसपछि त तपाईंले गरिब हुनु पर्दैन’ एक साँझ स्कुलबाट फर्किने क्रममा लक्ष्मीले भनेकी थिई । मैले लक्ष्मी सझिएँ । लक्ष्मीको बाबाले मिल चलाउँथे । काठ मिल । खुब पैसा थियो । ‘बरु तपाईंलाई कुनैदिन पैसा चाहिए भन्नू म गल्लाबाट चोर्छु ’ उसले भनेकी थिई । मलाई लाग्यो ऊसँग मिलेर चोरी गर्नुपर्छ । अरु कुनै बाटो पनि देखेको थिइन । बीस , पचास चोर्नु र हजार चोर्नुमा धेरै फरक छ । उसको बुवाले थाहा पाए भने के गर्ने ? अहँ चोरी गर्नु हुन्न । चोर्नु पाप हो ।

‘भुवन दाइ आज स्कुल किन नआउनु भको ? हिजो ग्राउन्डमा लढ्नु भको रे ! म त कस्तो आत्तिएकी ’ लक्ष्मी स्कुलबाट घर नगई सिधै मलाई भेट्न आई । ‘त्यस्तो केही पनि हैन । सब ठिक छ ’ भन्दै उसलाई बस्न ईशारा गरेँ । ऊ बसी । उसलाई हेर्दै म बसेँ । हरि सर पनि मेरो खबर बुझ्न घरमै आइपुग्नुभयो । मैले उही उत्तर दिएँ ।

‘ल भोलिदेखि गयल नहुन । अब टुर्नामेन्टको लागि एक हप्ता मात्र बाँकी छ ’ भन्दै सर आफ्नो बाटो लाग्नुभयो । म भने टाउको हल्लाएर बसिरहेँ । दाहिने आँखाको कुनाबाट आँसु खस्नै लागेको थियो ।

‘भुवन दाइ के भयो ? किन रुनु भएको ?’

‘केइ हैन । आँखामा के परेजस्तो छ’ आँखा माड्दै उत्तर दिएँ । ‘खै म हेरिदिन्छु । त्यसरी माड्नु हुन्न ’ ऊ मेरो आँखामा “फुफु“ गर्न लागी । त्यसपछि उसलाई के भयो खै मेरो गाला चुमी र झोला नै नबोकी दौडिएर घरतिर भागी । म ट्वाल्ल परेर ऊ दौडिएको बाटो हेरिरहेँ । गाउँको एक मात्र पक्की घर उसैको थियो जहाँ वरिपरि पर्खाल लगाइएको थियो । स्कुलमा जस्तै । बजारतिर भने प्रायः सबैको घर पक्की थिए । हाम्रो वरपर भने काठका घर ज्यादा थिए । केही माटाका छाप्रा थिए ।

अर्को बिहान स्कुलका लागि तयार भएँ । लक्ष्मी बाटोमा मलाई पर्खिरहेकी थिई । मैले खल्तीबाट नोट झिकेर हेरेँ । रुपैयाँ ५०० रहेछ फेरि खल्तीमा नै राखेँ । म लक्ष्मीतिर ध्यान नदिई खुरुखुरु हिँड्न लागेँ । उसले दौडिएर मलाई भेट्टाई । ‘ किन भागेको ए चोर केटा ? ’ सँधै दाइ भन्ने उसले अचानक चोर भनेपछि मन आत्तियो । पाइलानै चलेनन् । ‘तपाईंले हिजो मेरो झोला ल्याइदिँदा पैसा चोरेको देखेकी थिएँ ’ ५०० को नोट मलाई दिँदै उसले भनी । पहिलोपटक चोरी गरेर आफ्नै नजरमा नराम्रोसँग पछारिएँ । चोरी गर्नु गलत हो थाहा छ तर के गर्नु फुटबल बाहेक केही सपना पनि त छैन ।

‘मलाई थाहा छ दाइ तपाईंले जुत्ता किन्न पैसा चोर्नुभयो तर त्यतिले पुग्दैन । यो लिनुस् ’ उसको कुराले मनमा झन तीखो काँडाले रोप्यो । कास मैले उसलाई भनेको भए त चोरी गर्नै पर्ने थिएन । मनमा कुरा मयुरझैं नाच्न थाल्यो । ‘बुवाको जुत्ता लाएर गोल हानेको देखेकी थिएँ मैले ’ उसले भनी । मैले कसरी थाहा पायौ भनेर सोध्नै परेन । उसले सबै बुझेकी थिई । सबै देखेकी थिई । उसका आँखामा हेरेँ । मेरो लागि प्रेम र सम्मान थियो । उसलाई चुमौं जस्तो लाग्यो तर नजर मिलाउन सकिन । निहुरिएँ । उसले मेरो सर्टको गोजीमा पैसा राखिदिई र दौडेर गई । म ऊ गएको बाटो धेरैबेर सम्म हेरिरहेँ ।

स्कुलभन्दा पहिले बजार आउँथ्यो । बजारमा पनि मेरो खेलले गर्दा धेरैले मलाई चिन्थे तर जुत्ता किन्न नसक्ने हैसियत छ भन्ने जान्दैनन् थिए । एउटा मारवाडीको जुत्ता पसलमा गएँ र आफ्नो लागि जुत्ता मागेँ । अनि मोजा पनि । जम्मा ९०० भयो । मसँग अझै एक सय बाँकी रह्यो । अब यो पैसा कहाँ खर्च गर्ने भन्ने पिर पर्यो । साथीहरूले देखेभने चोरेको पत्तो पाउनेछन् भन्ने लाग्यो । मन औधी डरायो ।

सय रुपैयाँ खर्च गर्न पनि सयपटक सोच्नुपथ्र्यो । एकपटक सोचेँ लक्ष्मीलाई फिर्ता दिउँ तर उसको मायाको अपमान होलाकी भन्ने लाग्यो । बजार कटेपछि स्कुलभन्दा पहिले सुनसान बाटो हिँड्नुपथ्र्यो । एउटा ठूलो कदमको रुखमुनि ढुङ्गाले खोस्रेर पैसा गाढेँ र चिनो स्वरुप केही ढुङ्गा त्यहीँ राखिदिएँ । लामो सास तानेँ अनि एकैचोटी छोडिदिएँ । कसैले पनि देखेनन् । स्कुल पुगेर हरि सरको अगाडि उभिएँ ।

’ जुत्ता खै त ? ’ मेरो खुट्टामा हेर्दै सरले भन्नुभयो । मैले हत्तपत्त झोलाबाट झिकेँ अनि लगाएँ । चप्पल टक्टकाएर झोलामा राखेँ ।बेलुका अबेरसम्म अभ्यास गरेर हामी बिदा भयौँ । बिहान पैसा राखेको रुखमुनि पुगेँ तर त्यहाँ पैसा थिएन । झन फसाद आइलाग्यो । कसले लग्यो होला त ? कहीँ लक्ष्मी ? मनमनमा सोचेँ । ऊ त म भन्दा पहिले स्कुल गएकी हो । आखिर कसले लग्यो होला त भन्दै सोच्दै घरतिर हिँडे । लक्ष्मीको बुवा उसलाई गाली गर्दै हुनुहुन्थ्यो । हातमा लौरो पनि थियो । डरले मेरा खुट्टा काम्न थाले । दौडिएर म घर पुगेँ । ऊ रोएको आवाज सुनेँ । मन थाम्नै सकिनँ ।

‘किन दौडेको तँ ? ’ बुवाले रोक्नुभयो तर म रोकिइन । म दौडेर लक्ष्मीको घर पुगेँ । ‘पैसा लक्ष्मीले हैन काका मैले चोरेको हुँ फुटबल खेल्नलाई ’ मेरो कुरा सुनेर उनले खाउँलाझैं गरेर हेरे । ‘तँलाई चोर फटाहा ’ भन्दै खुट्टामा दुई लौरो हिर्काए । ‘अब उपरान्त मेरा घरमा टेकिस् भने तेरो गोडा भाँचिदिन्छु अनि खेल्लास् ’ हातको लौरो भुँइमा फालेर उनी भित्र पसे । लक्षु निहुरिएर रोइरही । उसलाई अन्तिम एकपटक बाई भन्न सकिन । उसका बुवाले उसलाई भटभटेमा ल्याउने लैजाने गर्न थाले । स्कुलमा पनि हाम्रो भेट पातलिन थाल्यो ।

त्यसपछि किन हो म दिनदिनै कमजोर हुँदै गएँ । खेलमा पनि मेरो ध्यान हुनुपर्ने बराबर हुन छोडेकोथ्यो । फाइनल खेल चल्दै थियो । म दौडिँदा दौडिँदै कसैले छिर्के लगाएझैं भएर पल्टिएँ । दुई बल्ड्याङ खाएपछि मलाई उठ्न धेरै गाह्रो पर्यो । मलाई बैकल्पिक खेलाडिद्वारा परिवर्तन गरेर खेल अघि बढाइयो । हामीले पहिलोपटक नराम्रोसँग हार्यौं ।

हेर्दाहेर्दै दुई महिनामा मेरो ज्यान सुकेर पोलियो लागेको बिरामीको जस्तो भयो । त्यसपछि म एक महिना स्कुल गइन । मैले लक्ष्मी र फुटबल एकसाथ गुमाएँ ।

म दस कक्षा पुगेँ । हाम्रो समयमा दशमा पढ्नेले खेलकुदमा सहभागी हुन पाइँदैन थियो । त्यसपछि हरि सर काठमाडौँ जानुभयो । ’ एस एल सि सकेर उतै आउनु । म तिमीलाई फुटबल सिकाउँछु । तिमीले अझै धेरै सिक्नुपर्ने छ ’ भनेर अंगालो हाल्नुभयो । सरले छोडेपछि म फेरि लढेँ ।

त्यही साँझ हो गाईले हानेर बुवा ओछ्यानमा लढ्नुभयो फेरि उठ्न नसक्ने गरी । अब पढाईसँगै घरको जिम्मेवारी पनि मेरो काँधमा आयो । जिम्मेवारीको अगाडि सपनाले घुँडा टेक्दो रहेछ । यसै पनि ओरालो लाग्दै गरेको मेरो कौशल त्यसपछि भने नउक्लने गरी खाडलमा पर्यो । स्कुल , घर , गाईबस्तुमा मेरो दैनिकी सकिन्थ्यो । आमाले आफ्नो काम सकेर अरुका घरका भाँडा माझ्न सुरु गरिन् । एस एल सिपछि एक वर्ष लक्ष्मीका बुवाको काठ मिलमा काम गरेँ । उनले पुरानो कुरा बिर्सिएर मेरो अवस्थालाई काम दिए । यसबीच माल्दाई मेरो जिन्दगीमा आए । पढाइ पहिल्यै जिन्दगीदेखि दूर भैसकेको थियो । उनीसँग मिलेर मैले भौतिक निर्माणका काम गर्न थालेँ । दिनरात जति मेहनत गरे पनि घरको अवस्थामा सुधार आएन । बुवा अझै ओछ्यानमा नै लढिरहनु भएको थियो ।

करिब ९ वर्षपछि एकदिन आमासँग भनेँ ,’अब यसरी हुँदैन । म विदेश जान्छु ।’ माल्दाइसँग यतिका वर्ष सँगै काम गरेको विश्वासमा उनैले पासपोर्ट बनाउने पैसा दिए ।’ तेरो भविस्य यहीँ छ किन जान्छस् विदेश ? ’ पैसा दिँदैगर्दा उनले भने । म रोकिइन । फुटबल खेल्दा पनि म कहाँ गोल नगरी रोकिन्थेँ र । निरन्तर मेनपावर धाएँ । अन्ततः मेरो भिसा लाग्यो । कन्स्ट्रक्सन कम्पनीमा महिनाको १२०० रियाल तलबको लागि एउटा गाई बेचेर ०७२ साल बैशाख १२ गते बिहान ८ बजे कतारका लागि म उडेँ । २७ वर्षको उमेरमा पहिलोपटक गाउँ र देश बाहिर एकैसाथ पाइला टेकेँ । हामी कतार एयरपोर्टमा लिन आउने मान्छेको प्रतीक्षामा थियौँ । त्यतिकैमा टिभीमा खबर आयो । समाचरमा नेपाल र भुँइचालो मात्र बुझिन्थ्यो । आमासँग फोन थियो तर सम्पर्क गर्न मसँग थिएन । मन निकै आत्तियो । हामी सबै आत्तिएका थियौँ । साथीहरू घरमा फोन गरिरहेका थिए तर सम्पर्क भैरहेको थिएन ।

ग्राउन्डमा फुटबल खेलुन्जेल मलाई कहिल्यै जिन्दगी र गोलो भकुण्डो उस्तै हो लागेन । विपक्षी टोलीको पोस्टमा जाली चुम्न जाँदा गोलले जति लात खानुपर्छ सफलताको बर्को ओढ्न जिन्दगीले त्यति नै खानुपर्ने रहेछ । समस्याहरू भनेका त डिफेन्डर जस्तै रहेछन् । छेक्ने , लडाउने , खोस्ने गरिरहन्छन् ।

अगाडि अझै समस्याहरू पर्खिरहेका छन् भन्ने महसुस हुन थालेको थियो । परदेशको दुखका बारेमा पहिल्यै धेरै सुनेको हुँ तर अब आफै त्यो मैदानमा उत्रिएको छु । यहाँ फर्वाडदेखि गोलकिप्परसम्म सबैको भुमिका आफैले सम्हाल्नु छ । एक हप्तापछि घरमा सम्पर्क भयो र केही राहत महसुस भयो । हामी विज्ञानको नियमलाई चुनौती दिँदै ५० डिग्रीमा पनि निरन्तर काम गरिरहेका थियौँ । दुई वर्षपछि एक महिनाको बिदामा घर आएँ । आमा खुसी थिइन् । बुवा सामान्य हिँडडुल गर्नसक्ने भएका थिए । आमालाई साथी चाहिने भएकाले मैले बिहे गर्ने कुरा भयो । बिहा पनि भयो र केही दिनमा म कतार फर्किएँ ।

बिहेपछि उसले र मैले सामाजिक सन्जालमा मात्र समय दिन पायौँ । कतार पुगेको एक हप्तामै उसले खुसीको खबर पनि सुनाई तर खुसीमा उसलाई अंगाल्न सकिन । ऊ बहुत निराश भएकी थिई । ऊ कमसेकम डेलिभरीको टाइममा मसँगै हुन चाहन्थी तर २०२२ विश्वकप आयोजकको नाताले कतारले गर्नुपर्ने काम अझै धेरै बाँकी छ । उसले विश्वकप अवधिभर कसैलाई बिदा नदिने निर्णय सुनायो । यहाँसम्म कि कोभिडको जोखिममा पनि हामीले निरन्तर काम गर्नुपथ्र्यो । र हामीले लगातार गरि पनि रह्यौँ ।

कामको चापले गर्दा मेरो ऊसँग कुराकानी कम हुन थाल्यो । कामको लोड बढेको कुरा घरमा थाहा हुन दिइन । यसबीच कति साथीहरूले तनाव सहन नसकी आत्मदह गरे । कतिले दुर्घटनामा ज्यान गुमाए तर हामी लागिरह्यौँ । मिसिनझैं निरन्तर । दस मिनेट फुर्सद पाउनसाथ उसलाई दिने गर्थें । ऊ सधैँ घर बोलाउथी अनि म आउन छुट्टी मिलाउँदैछु भनिरहन्थेँ ।’ चाँडै आउँछु ’ सधै यही जवाफ दिन्थे तर त्यो चाँडै आउने भनेको समय कहिल्यै आएन । मैले ऊसँग बिहे गर्नुको एकमात्र कारण उसको नाम थियो । लक्ष्मी । यो त्यही नाम थियो जुन वचपनमा प्रेम बनेर फुलेको थियो । थाहा छैन उसले के देखेर बिहे गरी तर प्रेम औधि गर्छे । भोलि भोलि भन्दा भन्दै अब विश्वकप आउन केही महिना मात्र बाँकी छ । सँगै काम गर्ने साथीको दुर्घटनामा मृत्यु भएपछि काममा डर लाग्न थालेको थियो तर बाध्यताको अगाडि डरले पनि घुँडा टेक्दो रहेछ ।

हामी मन भुलाउन फुर्सदको समयमा समुन्द्रको किनारमा जान्थ्यौँ । समुन्द्रको पानी त्यसैले नुनिलो भएको हैन यसले मजस्ता धेरैको आँसु पिएको छ । साथीहरू फुटबल खेलेर रमाइलो गर्थे अनि म उनीहरु खेलेको हेरेर । मलाई खेल्न मन नभएको हैन । मन त औधी छ तर धेरै पहिले मैले संन्यास लिइसकेको छु । ‘मलाई आउँदैन ’ म हाँसेर टारिदिन्थेँ । मलाई आफ्नो बिगतको चोट फेरि बल्झाउनु थिएन । मलाई थाहा छ भर्खरै काटेको घाउभन्दा कोट्याएको घाउ बढी खतरनाक हुन्छ । यसले क्यान्सरको रुप लिन सक्छ । ‘अनि तैँले पिएको चुरोटले नि ? ’ मनले उत्तर दिन नसक्ने प्रश्नको झटारो हान्छ । म मौन बसिदिन्छु ।

कामको अधिक चापले गर्दा म टुर्नामेन्टको समयमाझैं कमजोर भैसकेको छु । म फेरि पनि लढ्न सक्छु । भ्यात्त ।
थकानको औषधि भनेर आजकल रक्सी पिउने भएको छु । ‘एक गिलास नखाई त निन्द्रै पर्दैन ’ बुवाले भनेको सम्झन्छु । साँच्चै एक समय आउँदो रहेछ एक गिलास नखाई निद्रै नपर्ने ।

जिन्दगी ९० मिनेटको खेल रहेछ । यस्तो लाग्छ रेफ्रीले सिट्ठी बजाउनै लागेका छन् । त्यसैले जति खेल्नुछ अहिले खेल्नुपर्छ । गोल गर्ने मौका आएको भए हातबाट जान दिनुहुँदैन ।

‘यसपालि दशैँमा त आउनुस् है जसरी पनि । छोरोले पनि हत्ते गरेको छ ’ आज दस मिनटको कुराकानीमा उसले यही भनी ‘तिमीलाई थाहा छैन तर म सानो हुँदा खुब फुटबल खेल्थेँ । सबले एकदिन यसले विश्वकप ल्याउँछ भन्थे । विश्वकप मैले नल्याए पनि पछि अर्कैले ल्याउँछ तर यसपालि प्रत्यक्षदर्शी बनेर त्यसको अनुभूति भने म पक्कै ल्याउँछु ’ यति भनेर मैले फोन काटेँ । धेरैपछि मेरा आँखा रसाए । साथीहरू किन रुन्छस् भन्न लागे ।

‘विश्वकपपछि लैजाउँला , यसपालि एकएक अनुभूति कैद गरेर लैजान्छु ।’

’ घरको याद आएर बौलायो साले । पिर नगर अब केही महिना त हो ’ सात वर्षसँगै काम गरेको साथी आज पहिलोपटक बोल्यो ।

’ ल ल भयो । आज बिदा छ रैला गर्नुपर्छ ’ सागरले त्यति भनेर रक्सी मगायो । हामी सबैले एकै सासमा पहिलो गिलास चट बनायौँ । मेरो छाती पोलेर औडाहा भयो । कसैलाई केही भन्न सकिन । दोस्रो गिलास तयार भैसकेको थियो । मासुको एउटा चोक्टा टोकेँ । एक चाना काँक्रा चबाएँ अनि दोस्रो पनि स्वाट्ट ।

आजको मदिराले विषको काम गरेछ त्यसैले यतिबेला मस्त निद्रामा छु फेरि कहिल्यै नउठ्ने गरी । अब यो काम बाँकी छ भुवन उठ भनेर कसैले उठाउन सक्दैनन् । सानोमा फुटबलमा मात्र हैन पढाइमा पनि अब्बल थिएँ । एस एल सिपछि सरहरु आइ ए सि गर्नुपर्छ भन्थे । त्यो तक्दिरमा थिएन तर अर्को जिन्दगीमा फर्किएर आए अवस्य पढौंला । फेरि फुटबल खेलौंला । फेरि गोल गरौंला र देशको लागि विश्वकप लिएर आउँला । अहिलेलाई परिवार , आफन्त , साथीभाइ र देशसँगको साथ यति नै रहेछ ।