ऊ शङ्ख फुकेको आवाजसँगै उठ्यो। अबेर उठ्यो। सुत्न पनि त ऊ ढिलै सुतेको थियो। स्कुलबाट केही दिनमा मामाघर जाने हर्ष सहित फर्केको थियो। गर्मी बिदा हिजैदेखि त सुरु भएको थियो।

राती निदाउने बेला घरमा रुवाबासी भएको थियो। बुवा, आमा सबै रोएका थिए। छेउमा हजुरबुवा मस्त निन्द्रामा थिए। गाउँका केही मानिसहरू पनि भेला भएका थिए। “बुवा किन छाडेर जानु भयो? म टुहुरो भए” भन्दै उसको बुवा रुदै थिए। बुवा, आमा रोएकाले ‌‌ऊ पनि रुन थाल्यो। निकै बेरपछि कतिखेर आमाको काखमा निदायो पत्तै पाएन।

बिहान उठ्दा देख्यो आगनभरि मान्छेको भीड छ। हजुरबुवालाई तुलसाको मठमुनि राखिएको छ। रुवाबासी जारी छ। मलामी लाने चाँजो मिलाइँदै छ। उसलाई थाहा भयो उसको हजुरबुवा मर्नु भयो भनेर। मर्नु भनेको के हो उसले बुझेको छैन। ६ वर्षको बालकले जति बुझ्छ त्यति बुझेको छ। घर अगाडिको बाटो बस र गाडीले भरिएको छ। उसले आमा खोज्यो। आमाले देख्ने बित्तिकै अङ्गालो हालिन् र भन्न थालिन् “बाबु त रञ्जु आन्टीसँगै बस्। ज्ञानी भएर बस्। हामी आइहाल्छौ।”

ऊ रुन थाल्यो। जान्छु कि जान्छु भनी कर गर्न थाल्यो। “केटाकेटी जानु हुँदैन” भनी आमा हिँडिहालिन्।

सेतो कपडाले बेरेको हजुरबुवाको लास उठ्यो। बुवाले आँसुको थोपा झार्दै काध हाले। मलामी अघि बढे। मलामीहरू धेरै रोइरहेका थिए। उसले यति धेरै मान्छे रोएको कहिले पनि देखेको थिएन। हुन त उसले मान्छे मरेको नै कहाँ देखेको थियो र। गाउँमा कोही मर्दा “केटाकेटी जानु हुँदैन” भनी उसलाई कसैले लादैन थिए। रञ्जु आन्टीले उसलाई च्याप्प समातेकी थिइन्। ऊ हजुरबुवासँग जान पनि सकेन। उसलाई यति धेरै माया गर्ने मान्छेले सधैको लागि छाडेर जादै छन् भन्ने उसलाई कहाँ थाहा थियो र ।

लास गाउँको पूर्व दिशामा रहेको पिपलको बोटमुनि राखियो। त्यहाँ लाश किन राखियो त्यो ऊ बुझ्दैन। ऊ त्यहाँ त्यती धेरै मान्छे देखेर छ्क्क पर्यो। उसले त्यति धेरै मान्छे कहिले पनि देखेको थिएन। केही क्षण पछि लास उठ्यो र उसको आँखाबाट विलीन भयो।

“बाबु खाजा खान आउ।”

रञ्जु आन्टीले बोलाइन्। घडी हेर्यो। ९ बजिसकेको थियो। खाना खाने समयमा ऊ खाजा खान थाल्यो।

“आन्टी हाम्रो हजुरबुवालाई पिपलको बोटमुनि किन राखेको ?”

“मान्छे मरेपछि पिपलको बोटमा राखिन्छ ।”

“हजुरबुवा कहाँ जानु भएको ?”

“तिम्रो हजुरबुवा देवी देवता भएको ठाउँ जानु भएको ।”

“हजुरबुवाले मलाई किन नलानु भएको ? हजुरबुवा मलाई सधैँ लिएर जानुहुन्थ्यो ।”

आन्टी केही बोल्न चाहिनन् र कुरा तार्न अरू नै कुरा निकालिन्।

कोठाहरू सफा गर्न थालियो। हजुरबुवाको खाट, आल्ना सबै निकालियो। ऊ चुप लागेर हेरिरहेको थियो। छिमेकी दाइले दबाइका बट्टाहरू भुइँमा झारे। टेबल खाली भयो। “यो मेरो हजुरबुवाको दबाइ हो। बेलुका खाना खाएपछि खानु हुन्छ” भन्दै टिप्न थाल्यो। उसले सानो हुँदादेखि देखिरहेको दबाइले भरिएको टेबल आज खाली भयो। कोठाबाटै निकालियो। उसको आँखा भित्तामा भएको लौरोतिर गयो। हतार हतार लौरौ टिप्दै भन्न थाल्यो, “हजुरबुवाले आज पनि लौरो लान बिर्सिनु भएछ। सधैँ बाटोबाट कराउनु हुन्थ्यो। म पुर्याएर आउछु ल” भन्दै कोठा बाहिर निस्कियो। त्यहाँ भएका सबै भावुक भए।

मलामी फर्कियो। उसका बुवा, आमा पनि फर्किए। तर बुवाका टाउकामा कपाल खै ? अरे काका, ठुलोबुवा कसैकोमा छैन। सबैले सेतो लुगा लगाएका छन्। घरमा कहिल्यै नआउने काका पनि आएको देख्यो। बुवातिर अघि के बढेको थियो बुवा “छुन हुँदैन” भन्दै पछि सरे।

उसले देख्यो बुवा, आमा अलग अलग कोठामा बसेका छन्। बुवा, काकाहरू एउटा कोठामा छन् । आमा, काकी र फुपूहरू अर्को कोठामा छन् । आमा र बुवाको कोठालाई छुट्याउने बिचमा बैठक कोठा छ जहाँ छिमेकी र आफन्तहरू गफ गरेर बसिरहेका छन्।

आमाले बोलाइन्। ऊ कोठाभित्र पस्यो। आमाले हतारीदै भनिन् “ती ढोकामै बस्।”

ऊ ढोका छेउमा ओछ्याएको गुन्द्रीमा बस्यो।

“अब तैले हामीलाई छुन हुदैन बाबु। हामी केही दिन यहीँ बस्छौ। छुट्टै पकाएर खान्छौ। बरु त मामासँग मामाघर जानु। उता आमाले तलाई माया गर्नु हुन्छ।”

ऊ छुट्टीमा सधै मामाघर जान्थ्यो। मावली हजुरआमा, मामा, माइजू उसलाई कति धेरै माया गर्छन्। तर अह उसलाई अहिले मामाघर जान मन लागेन। सायद यस्तो अवस्थामा उसको बुवा, आमा छाडेर जान मन लागेन। ऊ रुन थाल्यो। मामाघर जान्न भन्दै रुन कराउन थाल्यो। रोएको सुनेर बुवा आए र भन्न थाले “त राती कोसँग सुत्छ्स्? हामी तसँग सुत्न हुदैन।”

“विकाश दाइसँग” उसले जवाफ दियो।

विकाश दाइ उसको फुपूको छोरा हो। यतैतिर बस्छन्। बैंकमा जागिर खान्छन्। बेला बेला मामाघर निस्किराख्छन् र उसलाई औधी माया गर्छन्। धेरै पटक ऊ विकाश दाइसँग सुतेको छ तर उठ्दा सधैँ आमा, बुवा सुतेकै खाटमा उठ्छ।

आमाले सोधिन्, “विकाश कहाँ गएछन् ?”

फुपूले भनिन्, “एकछिन घर पुगेर आउछु भन्दै थियो।”

बुवाले भने, “भयो यही बसोस् । विकाशसँग मान्छ पनि।”

त्यो रात ऊ विकाश दाइसँगै सुत्यो। बिहान, दिउँसो , बेलुका खुवाउने काम रञ्जु आन्टीले गर्न थालीन्। खान त ऊ आफैँ खान्थ्यो। बिहान ऊ विकाश दाइकै खाटमा उठ्यो। आमा , बुवाको खाटमा उठेन।

स्कुल छैन। बिदा छ। कस्तो संयोग । स्कुलले जानेरै बिदा दिए जस्तो। ऊ खाना खाएर आस्थाकोमा गयो। आस्था उसको साथी। घर पनि नजिकै छ। स्कुल पनि सँगै पढ्छन्। उमेर ५ । हेर्दा डल्ली तर बोल्नमा कसैले नजित्ने। हजुरआमाले सुनाउने कथा ऊ सधैँ सुनाउथी। रामयणमा हनुमानले लंका जलाएको कथा, महाभारतमा एकलभ्यको औला काटेको कथा उसलेनै सुनाएकी थिई। केही दिन अघि चामे र गौंथलीको कथा सुनाएर सबै साथीहरूलाई भन्न लाएकी थिई, “बुढा बुढीको झगडा परालको आगो।”

“विजय तिम्रो हजुरबुवा मर्नु भयो नि।”

“तिमीले कसरी थाहा पायौ ?”

“बुवाले भन्नु भएको।”

“तिमीलाई थाहा छ? तिम्रो हजुरबुवा त अब कहिले पनि आउनु हुन्न रे।”

“मेरो हजुरबुवा आउनु हुन्छ। तिमीलाई के थाहा हजुरबुवा लौरो नलगि धैरे टाढा हिड्न सक्नु हुन्न।”

“मैले सुनेको तिम्रो हजुरबुवालाई त आगोमा जलाएको रे।”

“तिमी धेरै नबोल। मेरो हजुरबुवालाई केही भएको छैन।”

“हिजो मेरो बुवा आमा गफ गर्दा सुनेको।”

हिजो उसले राती सुत्ने बेलामा सुनेकी थिई। बुवाले उसको आमालाई भन्दै थिए, “लास जलाउदा नरुने कोही थिएनन्।”

उसले आस्थाको कुरालाई विश्वास गरेन। उसले आस्थाको अहिलेसम्म हरेक कुरा विश्वास गर्दै आएको छ। तर यो कुरा उसलाई स्विकार भएन। ‌ऊ रिसाउदै घर गयो र बुवालाई सोध्यो। बुवाबाट नि चित्त बुझ्ने उत्तर नपाएकाले ‌ऊ रुदै कराउदै आमालाई सोध्न गयो।

विजय निकै रिसाहा छ। सबैलाई थाहा छ। रोएर कराउन थालेपछि उसका बुवा, आमा सकेसम्म उसले भनेको हरेक कुरा पूरा गर्दिन्छ्न्।

ऊ बुढेसकालको छोरो हो। उसको बुवा अहिले ४७ वर्षका भए। १४ वर्षसम्म उसका सन्तान भएनन्। जचाउन काठमाडौँदेखि डिल्लीसम्म पुगे। केही सीप लागेन। तिनै हजुरबुबाको करले पाथीभरा गएर भाकल गरे। एक वर्षपछि विजय जन्मियो।

सबै चुप थिए। कसैले केही आवाज निकालेनन्। सही जवाफ दिन सायद कसैलाई मन भएन । बुवाले मसिनो स्वरमा भने “त रुन छोड अनि मात्र भन्छु।” ऊ रुन छोड्यो। “हामी सबै एक दिन मर्नु पर्छ। तैले भनेको कुरा सहि हो। मैले नै जलाएर आए तेरो हजुरबुवालाई।”

ऊ चुप भयो। रोएन। कराएन। बोरु उसको बुवा आँसु पुछ्दै कोठा भित्र पसेको देख्यो। ऊ जिल पर्यो। मरेका मान्छे कहिल्यै नफर्किने गरी जाँदा रहेछ्न्। पोलेको चिज उसले खरानी भएको देखेको छ। ऊ निश्चित भयो उसको हजुरबुबा अब फर्कदैनन्। आस्थाले भनेको कुरा उसलाई अब बल्ल विश्वास भयो।

***

राती सुत्ने बेलामा विकाश दाइलाई सोध्यो,

“दाइ हाम्रो हजुरबुवा के भएर मर्नु भएको ?”

“बिमारी भएर। सुगर, प्रेसर के के थियो के के। सुत् अब ।”

उसको मुटु ढुक ढुक गर्न थाल्यो। अनुहारमा पसिना आउन थाल्यो । ऊ डराएर केही बोल्न सकेन। उसको बुवालाई पनि सुगर, प्रेसर छ भन्ने कुरा उसलाई थाहा छ। उसको आमाले यी वाक्यहरू कयौँ पटक खाना खादा उच्चारण गर्ने गर्छिन्

“सुगर, प्रेसर भएको मान्छे किन धेरै चिल्लो, चाप्लो खानु ?”

“सुगर, प्रेसर भएको मान्छे बार्नु सार्नु केही छैन ।”

उसको बुवाले औषधी खाएको सधैँ देखेको छ। भुँडीमा सुइ हानेको पनि देखेको छ। उसलाई डर भयो उसको बुवा पनि मर्नु हुन्छ भनेर। ऊ बुबालाई गुमाउन चाहदैन। उसको हजुरबुवाले छोडेर गए जस्तै उसको बुवाले छोडेर गएको ऊ हेर्न चाहदैन। ऊ डराइ डराइ निदायो।

भोलिपल्ट ऊ आस्थालाई भेट्न गयो। आस्थालाई उसले आफ्नो दुखेसो सबै सुनायो। उसले रुदै राती देखेको सपना पनि सुनायो। उसको हजुरबुवा उसको बुवालाई लिन आएका रहेछन्। ऊ चाहिँ बुवा नजानु नजानु भन्दै रुदै बुवाको हात समातेर तान्दा रहेछ। हजुरबुवा, बुवा दुबैले सेतो लुगा लगाएका थिए।

आस्थाले आफ्नो ज्ञानको प्रयोग गर्दै भन्न थाली

“सपनामा सेतो लुगा लगाएको देख्यो भने मान्छे मर्छ नि।”

“कसले भन्यो तिमीलाई?”

“आमाले। अस्ति तिम्रो हजुरबुवा मर्नुभन्दा अगाडी आमाले सपनामा सेतो लुगा लगाएका मान्छे देख्नु भएको थियो।”

हो उसकी आमाले बिहान चिया खादै लोग्नेलाई सपना सुनाएर भनेको थिइन्, “मैले देखेको सपना मिल्यो।” त्यही सपना सुन्ने धुनमा त हो नि आस्थाको जिब्रो तातो दुधले पिल्सिएको।

उसले आस्थाले भनेको कुरा विश्वास गर्यो। विश्वास नगरोस् पनि कसरी। उसले विश्वास नगरेको सबैभन्दा ठूलो कुरा नै हिजो सत्य प्रमाणित भएको थियो।

ऊ हिक्क हिक्क गर्दै रुन थाल्यो। उसलाई उसको बुवाको माया लागेर आयो। ‌ऊ बुवालाई गुमाउन चाहदैन किनकी उसको बुवाले उसलाई अति नै माया गर्छन्। अरूका बुवाले छोराछोरी कुटेको उसले देखेको छ। उसको बुवाले उसलाई कहिले पनि कुटेनन्। बोरु आमाले उसलाई कुट्थीन्। बुवा बचाउमा आउथे। बुवाले उसलाई ठूलो स्वरले २-३ पटक गाली गरेको मात्र याद छ त्यो पनि उसले गल्ती गरेको कारणले।

“आस्था”

“हजुर”

“तिमी भन म के गर्नु अब। म मेरो बुवालाई बचाउन जे पनि गर्छु।”

“तिमी टेन्सन नलेउ। हामी भोली मन्दिर गएर देउती माताको प्राथना गर्नु पर्छ। तिमी बिहान केही नखाइ म भएको ठाउँमा आउ।”

ऊ बिहानै उठ्यो। हात मुख धोयो र आस्था भए ठाउँ गयो। आस्था र ऊ सँगै मन्दिर गए। उनीहरूको अघि अघि ३ जना महिलाहरू रातो साडी लगाएर मन्दिर गइरहेका थिए। मन्दिर पुगेर दुर्गा माताको अगाडि लगेर आस्थाले भनिन्

“तिमीलाई जे माग्नु छ देउती मातासँग माग। आँखा चिम्मा गर। मन मनै माग। मन मनै मागेको कुरा मात्र दिउती माताले पूरा गरिदिनु हुन्छ।”

उसले मन मनै माग्यो,

“देउती माता मेरो बुवालाई मर्नबाट बचाइदिनु। मेरो आमालाई सेतो साडीले सुहाउँदैन । रातो साडीले सुहाउछ।”

घर आइपुग्दा उसको बिहानको खाना खाने बेला भएको थियो। बिहानको खाजा पनि उसले खाएको थिएन। घरमा उसको खोजी भइरहेको थियो।

“कता गएको थिइस् ?”

आमा रिसाउदै उसलाई समाउन अघि बढेको थिइन् । झ्ट्ट सम्झिन र ती रोकिइन्। उसलाई संस्कारले अघि बढ्न रोक्यो। रञ्जु आन्टीले उसलाई खाना पस्कीदिइन्। उसले खाना खायो। भोक निकै लागे पनि उसलाई खाना रुचेन। चिन्ताले हो या मन्दिर जादा आउदाको थकाइले हो।

आमा कराउँदै थिइन् ।

“आजदेखि कहीँ जानू पर्दैन। घरमै बस्। रन्जु आन्टीसँगै बस्। बोरु आस्थालाई पनि यहीँ बोलाएर ल्याउनु।”

आज ऊ घरमै बस्यो। कहीँ गएन। तर आज उसलाई अचम्म लाग्यो। घरमा आउने जाने मान्छे त उसले देखेको थियो तर फोटो हेर्दै के के पढ्दै गरेको उसले आजै देख्यो। कृतन मण्डलीबाट आज उसको घरमा समवेदना लिएर आएका थिए।

“हाम्रा अत्यन्त मिलनसार, समाज सेवी, यस मण्डलीका सदस्य…..७२ वर्षको उमेर…।”

उसको हजुरबुवा ७२ वर्षको उमेरमा स्वर्गवास हुनु भएको थियो। यो कुरा उसले समवेदना सुनेर थाहा पायो। उनीहरू गएपछी टेबलमा राखीएको त्यो समवेदना उसले हेर्यो। त्यहाँ ७२ वर्ष लेखिएको थियो। उसको मुटु ढुक ढुक गर्न थाल्यो। अनुहारमा पसिना आउन थाल्यो। उसले त सुनेको थियो मान्छे १०० वर्षसम्म बाच्छ्न् भनेर। तर अह उसको हजुरबुवा त जम्मा ७२ वर्ष मात्र बाचेँ। उसले यो बुझ्यो कि मान्छे जति वर्षमा नि मर्ने रहेछन् । १०० वर्ष नपुगी पनि मर्ने रहेछ्न्। ऊ हतार हतार कोठामा आयो। कापी कलम खोज्यो। कापी कलम खोज्न उसलाई केही समय लाग्यो।

बाहिर ढोकाबाट बुवाले हेरे। छोरो पढिरहेको देखे। खुसी भए। तर छोराको मन भित्र के को आगो दन्किरहेको थियो उसलाई के थाहा।

भोलिपल्ट ऊ आस्थाकोमा गयो। उसले नयाँ कुरा थाहा पाएको थियो। त्यो कुरा सुनाउनु अघि आस्थाले भनी

“तिमीलाई थाहा छ मान्छेलाई लिन यमराज आउछ । यमराज आएपछि मान्छे यमराजसँगै जानु पर्छ। यमराजसँग गएका मान्छे कहिले फर्किदैन। ऊ मर्छ ।”

हिजो राती हजुरआमाले यमराजको कथा सुनाएकी थिइन्। त्यही कथा जुन कथामा यमराज सुरु सुरुमा प्रत्यक्ष देखिने गरी आउँछ र पछिपछि मान्छेले नदेखिने गरी आउने गर्छ।

“हामीले हिजो मन्दिरमा मागेकोले केही हुँदैन। देउती माताले केही गर्न सक्दिन्न। हामीले अब यमराजसँग माग्नु पर्छ। तिम्रो बुवालाई बचाउन मन छ भने भोली आउ सँगै जानुपर्छ।”

सुगर, प्रेसरको बिमारी भएको हजुरबुवाको निधन भएपछि बढेको उसको मनको त्रासमा समवेदनाले बुझाएको १०० वर्ष नपुगी मान्छे मर्ने कुरा र देउतीमाताले केही गर्न नसक्ने कुराले आगोमा घ्यु थपिदिएको थियो।

घर गयो। खासै केही खाएन। निन्द्रा पनि ढिलो लाग्यो। विकाश दाइले बोल्न खोज्दा पनि खासै बोलेन। ऊ पनि सधैँ फोनमै व्यस्त हुन्छन् ।

भोलिपल्ट ऊ यमराज भएको ठाउँ जानु छ। उसलाई आफ्नो बुवाको जिन्दगी माग्नु छ। अहो! यमराज त नदेखिने भएर आउछन् रे। हामीले कसरी देख्नु यमराजलाई? कसरी माग्नु उसँग? यही सोच्दा सोच्दै ऊ निदाउछ।

भोलिपल्ट ऊ खाजा खाएर आस्थाकोमा गयो। आस्थाले उसलाई यमराजसँग कि त रातीको १२ बजे कि त दिउँसोको १२ बजे मात्र भेट हुन्छ पो भनि । ऊ घर फर्कियो र १२ बज्न लाग्दासम्म पर्खियो। त्यो पर्खाइ उसले जीवनमा सबै भन्दा बढी गरेको पर्खाइ थियो।

ऊ १२ बज्नु केही अगाडी आस्थाकोमा पुग्यो।

“यमराज भनेको भुत हो। खेतको बिचमा हुन्छ्न्। मान्छेको पुरानो लुगा लगाएर बसेका हुन्छन् ।”

चरा धपाउन बनाएको बुख्याचालाई पो यमराज भनी उसले। दिनभरि खोजे। अह कतै भेटाएनन्। १२ बजेको टन्टलापुर घाममा हिडेकाले थकित भएर घर फर्किए। अब उसलाई झन डर भयो। यमराजलाई भेट्नसम्म पाएको भए उसले विलौना गर्ने थियो। रुने थियो, कराउने थियो। आफ्नो बुवालाई केही नहोस् किनभने ऊ उसको बुवालाई असाध्यै माया गर्छ। त्यो रात पनि उसले खासै खाना खाएन। यस्तै यस्तै सोच्दै सुत्यो।

उसले आफ्नो बुवाको मृत्यु हुन्छ भनेर सोच्न थालेको धेरै दिन भैसकेको छ। ऊ खादा, सुत्दा उसको दिमागमा यहीँ कुरा खेलिइरहन्छ। उसको मनमा डर भन्ने चिजले एकसत्र रूपमा राज गर्न थालिसकेको छ।

भोलिपल्ट बिहान उसले आफ्नो काका रोइरहेको देख्यो। उसले आफ्नो काका रोएको कहिल्यै देखेको थिएन। उसले काका यो घरमा हजुरबुवाको निधन हुनुभन्दा अघि आएको कहिल्यै देखेको थिएन। काका रुदै भन्दै थिए

“दाजु मैले हिजो सपनामा बुवालाई देखेको थिए। उहाँले सेतो लुगा लगाउनु भएको थियो। तपाई दुईजना दाजुहरू बुवाको काखमा ढल्किरहनु भएको थियो। दिदी ठुङ मार्दै थिइन्। बहिनी बुइ चढ्न खोज्दै थिइन्। म त्यहाँ थिइन। अलिक पर रुखमा बाधिएको थिए। बेला बेला बुवा, तपाई र दाजुले मलाई ढुङ्गा हानीरहनु भएको थियो। दाजु मैले सम्पतीकोलागि बुवासँग र तपाईसँग जे गरे त्यो कुराले एकदम पश्चाताप भइरहेको छ। कति वर्ष भएको थियो बुवासँग मैले दशैँमा टीका पनि लाएको थिइन। बुवासँग त म अब माफ माग्न सक्दिन। दाजु तपाई चाहिँ मलाई जसरी भए पनि माफ गर्दिनुहोस्।”

विजयलाई औडाहा भयो। उसको काकाले पनि सेतो लुगा लगाएको मान्छेको सपना देखेछ्न्। विजयले पनि देखेको थियो। सेतो लुगा लाएको सपना देख्दा मान्छे मर्छन् भनेर आस्थाबाट उसले थाहा पाइसकेको थियो।

दाजुले भाइलाई फकाउँदै भने,

“भाइ तैले जे गरेको थिइस् एकदमै गलत गरेको थिइस्। तर म तलाई माफ गर्छु। बुवाले जे संघर्ष हाम्रो लागि गर्नु भयो त्यो तैले बुझ्न सकिनस्। बुवाको जस्तो संघर्ष त हामीले कहाँ गर्न सक्छौ र। अहिले नै रोगले च्याप्न थालेको छ। बुबाको जति पनि कहाँ बाचिएला र। मान्छेको जीन्दगी आज छ भोलि नहुन नि सक्छ। आज म तसँग यसरी बोलीरहेको छु भोलिको दिन मर्न पनि सक्छु। आमा मरेपछि छोराछोरी साच्चीकै टुहुरो हुन्छ भन्छन् तर अहिले बुवा मरेपछि साच्चीकै टुहुरो भए जस्तो लागेको छ किनकि आमा बित्दा बुवा छ्न् भनेर चित्त बुझाएको थिए। अब चित्त बुझाउ कसरी? त यो घरमा आउने गर मेरो भाइ। यो तेरो पनि घर हो। त आइस् भने मलाई ज्यादै खुसी लाग्छ।”

विजय रुन पो थाल्यो। उसलाई अब झन विश्वास भयो उसको बुवा मर्छ्न भनेर। उसको बुवाको मुखबाट भखरै त सुनेको थियो उसको बुवा मर्ने कुरा। ऊ यसरी रोएको कसैले देखेको थिएन। बुवा छक्क परे। आमा, फुपूहरू पनि छक्क परेर हेर्न थाले।

ऊ भक्कानिदै रोइरहेको छ। ‌ऊ बोल्न पनि सकेन। उसलाई उसको बुवाको एकदम माया लाग्छ। उसको बुवा मर्ने कुराले उसको मन मष्तिस्कमा नराम्ररी असर गरिसकेको छ। रञ्जु आन्टीले उसलाई काखमा लिइन्। उसले बल्ल आवाज निकाल्यो “म बुवाको काखमा बस्छु।”

धर्म ठूलो कि सन्तान ?

संस्कार ठूलो कि सन्तान ?

संस्कृति , परम्परा आदि इत्यादि ठूलो कि सन्तान ?

उसले यो केही सोचेन तर यस्तै बारे कोही कोही कुरा गर्न थाले। कोही कोही चर्को स्वरमा भन्दै थिए

“मेरो छोरो २ वर्षको थियो मेरो आमाको काममा। छोराको कति माया लाग्यो लाग्यो । खोइ मैले १३ दिनसम्म छुइन्। न्यास्रो लाग्यो भन्दैमा….”

उसलाई उसको छोराको धेरै माया लागेर उसले आफ्नो छोरालाई छोएन मात्र काखमा राखेर म्वाइँ पनि खायो।

छोरालाई काखमा राखेर के भयो भनेर सोध्न थाले। छोराले सबै बेलीबिस्तार लगायो। बुवा मर्न लागेको, मन्दिर गएको, यमराजलाई भेट्न गएको कुराहरू सुन्दा सबैजना छागाबाट खसे जस्तो भए। छोराको मन मन्स्तिष्कमा परेको असर देखेर बुवा छक्क परे। उसले छोरालाई फकायो। काम सक्किएपछि घुमाउन लैजान्छु पनि भन्यो। तर अह छोरा निराश नै छ। उसले छोरालाई रातीसँगै सुताउने भयो। छोरा खासै बोल्दैन। सोधेको कुराको मात्र जवाफ दिन्छ। तर राती बुबासँग सुत्न लाग्दा आफै बोल्यो “आमा आउनु हुन्न?”

लोग्ने स्वास्नीको सल्लाह मिल्यो। छोरालाई सँगै सुताउने भए। विकाश सुत्ने खाटमा उनीहरू सुत्ने भए। विकाशलाई माथिको कोठामा सुत्न भनियो। आमा सुत्न आउदा केही प्रतिक्रिया दिएन। खुसी भएको पनि देखिएन।

छोरा बोल्दैन। सोधेको कुराको मात्र जवाफ दिन्छ। कति फकाए कति फुल्याए। बजारबाट केके किनेर पनि ल्याउन लाए। अहँ छोरा निराश छ। केही दिन यही क्रम चलिरह्यो।

आज १०औ दिन घरमा मान्छेको घुइचो छ। आगनभरी आफन्त, नाता गोताहरू छन् । पहाडदेखि दाजु भाइहरू भेला भएका छन्। सबै चोखिन आएका छन्। बुवा ,आमालाई एउटै चिन्ता छ आफ्नो छोरा विजयको।

“काका नमस्ते”

“ओहो भतिज कहिले आयौ ?”

यी भतिज नाता पर्ने भतिज हो। डाक्टरी पढ्दै छ। पढाइ सकेको चाहिँ छैन् । उसले भतिजलाई सबै कुरा सुनाए। भतिज ती कुरा सुनेर छक्क पर्यो।

उसले फोन दबायो र कोसँग हो एकछिन बोल्न थाल्यो। फोन राखेर काकालाई भन्न थाल्यो

“मैले चिनेको एक जना psychiatric counsellor छे। एक चोटी विजयलाई ‌ऊ भएको ठाउँमा लिएर जाऔँ। हेरौ के हुन्छ। तर समस्या के मा पर्यो भने उसले आफ्नै आमा, बुवा साथमा लिएर आएको राम्रो हुन्छ भन्दै थिई।”

“के को समस्या? म मेरो छोराको लागि जे पनि गर्न तयार छु।”

आगनभरि मान्छे छन् । बाटामा पनि गाउँका मान्छे भेला भएका छ्न्। गाडीको पछिल्लो सीटमा तिन झोक्राएको अनुहार छ।

गाडी अघि बढ्छ।

***

 

नाम: विवेक भण्डारी