स्कुलको टिफिन हाम्रो लागि आधी छुट्टी जस्तो लाग्थ्यो । छुट्टी हुँदा घर जान पाइने, टिफिन हुँदा एक घण्टा खेल्न, उफ्रिन र खाजा खान पाइने । गृहकार्य नगरी स्कुल आउँदा, कक्षामा सोधेका प्रश्नको सही जवाफ दिन नसक्दा कक्षा शिक्षकको हप्की-दप्की अनि पिटाइ खाएर थाङ्थिलो तन र मनलाई राहत दिलाउने अचुक औषधि नै बन्दथ्यो टिफिनको समय । टिफिनको घन्टी बज्नेबितिक्कै कोही खेल्न कुद्थे, कोही छेउको धारामा पानी खान दगुर्थे, कोही अलिक तलको पोखरीमा पौडी खेल्न जान्थे, कोही नजिकैको दोकानमा पुग्थे, कोही शौचालय भएतिर हामफाल्थे, कोही अर्को कक्षाको मिल्ने साथी भेट्न हतारिन्थे, कोही खेलको टिम मिलाउन व्यस्त हुन्थे भने कोही पुरानो रिसिवीको निहुँ झिकेर झगडा गर्न समेत तम्सिन्थे । यस्तै थियो हाम्रो सरकारी स्कुलको साना-ठुला कक्षाका दैनिकी । हामी चाहिँ पहिला कबड्डी खेल्थ्यौँ, त्यसपछि शौचालय गएर पिसाब फेर्थ्यौं अनि धारामा गएर मुख धोइवरी पानी पिइसकेपछि स्कुल परिसरभन्दा पर्तिर ठेलावाल भैयाको चटपटे पसलमा पुगिहाल्थ्यौँ । कहिलेकाहीँ डिलमाथिको दोकानमा गएर चकलेट, बिस्कुट पनि खाइन्थ्यो । धेरैजसो चाहिँ चटपटे नै हाम्रो रोजाइमा पर्दथ्यो ।

म दिनैपिच्छे चारानाको चटपटे किन्थेँ । त्यही चारानाको कहिले चकलेट त कहिले बिस्कुट । घरबाट दिनको चाराना टिफिन खर्च प्राप्त हुन्थ्यो । त्यति सकेरै फर्किन्थेँ म । त्यो समयमा चारानाले एकजना टन्नै अघाइन्थ्यो । तर, म एक्लै खान्नथेँ । मलाई खाई सघाउँथी सान्नानीले । एक दानो मिठाई पनि सर्टको फेरमा टोकेर आधी-आधी बाँडेर खान्थ्यौँ हामी । दिनहुँ घरबाट टिफिन खर्च दिन नसक्ने भएकोले हप्तामा एक-दुई पटक मात्र ऊ किन्थी, बाँकी दिन मै धान्थेँ । यदाकदा उसिनेको सुठुनी र भुटेको मकै-भटमासको पोको बोकेर आउँथी ऊ । स्कुल पछाडिको चौरमा बसेर उग्राई-उग्राई खान्थ्यौँ हामी । अरु पनि कोही आए दिन्थ्यौँ । स्कुलका पाले दाइ मकै-भटमास भनेपछि हुरुक्कै हुन्थे । उनलाई त हामी बोलाएरै दिन्थ्यौँ । उनी हामीलाई माटोको घैलामा राखेको चिसो पानी एक जग ल्याइदिन्थे ।

सिन्धु पौडेल

एकदिन सान्नानीले सुन्तले बिस्कुट खाने इच्छा व्यक्त गरी । भनी – ‘सान्दिदी, आज सुन्तले बिस्कुट खाऊँ है!’ त्यो दिन आमाको थैलीमा चानचुने पैसा नभएको र बा सदरमुकाम जानुभएकोले टिफिन खर्च नभएर घिउमा भुटेको चिउरा खाजा बट्टामा हाल्दिनुभाको थियो आमाले । आज चटपटे खान नपाउने भएकोले त्यसै पनि दिलखुस थिएन मेरो । सान्नानीका कुराले झनक्क रिस उठ्यो । झोंक्किएर भने- ‘कहिलेकाहीँ त तैंले पनि किन्न हुन्छ होला नि ? आज मसँग पैसा छैन । भोलिदेखि आफ्नो लागि आफैँ जोहो गर्नू! सक्दिन म सधैं घस्याउँन तँलाई ।’ रुन्चे अनुहार पारेर ऊ पिलपिल आँसु झार्न थाली । म उसलाई अघोर माया गर्थेँ । उसको त्यो हविगत देखेर मन कटक्क भयो । बेकार भनिछु जस्तो लागेर हठात् भक्कानिएँ । अँगालो हालेर उसका आँसु पुछ्दै फकाएँ । फ्रकका गोजीहरू सबै छामे कतै पैसा भेट्छु कि भनेर, तर भेटिन ।

भोलिपल्ट सदाझैं टिफिन हुनेबितिक्कै हुरुरु दोकानमा पुग्यौँ । केटाकेटी हौँ, हिजोको तितो मनबाट पखालीइसकेको थियो । दोकान पुग्नासाथ उसले हतारहतार स्याँस्याँ गर्दै सुन्तले बिस्कुट मागी र फ्रकको गोजीबाट झिकेर पैसा दिई । पसलेले पैसा हातमा लिएपछि नियालेर हेर्दै भन्यो- ‘यो खोटो सिक्का चल्दैन!’ अघिसम्म पूर्ण चन्द्र जस्तो धपक्क बलेको उसको मुहारमा बादल लाग्यो । मैले लिएँ पसलेले फर्काएको पैसा र हेरेँ । पैसामा कुनै अक्षर या अङ्क केही थिएन । पसलेले फेरि भन्यो- ‘भारु हो कि नेरु हो, त्यो पनि चिनिँदैन । चटपटेवाला भैयाकोमा जानू, तै चल्छ कि !’ हामीले पसलेको कुरा मान्यौँ र उसको बोली भुइँमा खस्न नपाउँदै सासै नफेरी पुगिहाल्यौँ । उही मैलो न मैलो धमिलो, अक्षर, अङ्क नचिनिने पैसा दिँदै उसले चटपटे मागी । स्कुलको छेउमा एकमात्र चटपटे दोकान भएकोले भैया सधैं व्यस्त रहन्थ्यो । त्यसमा पनि टिफिनको समय उसको मुख्य सिजन हो ।

वरिपरी अन्य थुप्रै केटाकेटी चटपटे खान लाइन लागेका थिए । भैया प्रायः सधैं चटपटे दिइसकेपछि मात्र पैसा लिन्थ्यो । दुई सोली चटपटे हामीलाई दियो र पैसा समायो । हामी हतारहतार चटपटे खाँदै बाटो लागिहाल्यौँ । सधैं चाराना दिएर चटपटे माग्न म हाँजिर हुन्थेँ, आज सान्नानीले पैसा दिई त्यो पनि अलिक ठुलो सिक्का । फिर्ता पैसा आउँथ्यो केटीहरू भुलेर गए भन्दै एकछिन त मख्ख पर्यो होला । तर, देश खाई शेष भएको भैयाले थाहा पाइहालेछ । ‘ए, यो पैसा चल्दैन, यो खोटो सिक्का हो । अर्को पैसा दिनू !’ भनेर कराउँदै हामीलाई बोलायो । निल्नु न ओकल्नु हुँदै आधी सोली चटपटे हातमा बोकेर हामी फर्कियौँ । हाम्रो नियति कुनै ठुलो अपराधी अदालतमा बयान दिन उभिएझैं दयनीय थियो । भैयाले पैसा फिर्ता फालिदियो । पसिनासरि हातको मुट्ठीमा कसी सान्नानीले । शिर निहुराएर मैले भने- ‘हामीलाई थाहा भएन, भोलि म सक्कली पैसा ल्याइदिन्छु है!’ हामी उसको नियमित ग्राहक भएकोले उधारो दिन अफ्ठ्यारो मानेन भैयाले । हामी ठुलो दसाबाट उम्कियौँ त्यो दिन ।

घर-परिवार र टोल-छिमेककि सानी मेरा लागि सान्नानी थिई । मैले उसलाई मायाले ‘सान्नानी’ भनेर बोलाउँदा खुसीले फुरुक्क हुन्थी । उसले पनि स-सम्मान ‘सान्दिदी’ भनेर पुकार्थी, र मलाई नि असीम स्नेह जाग्दथ्यो यो शब्दप्रति । स्कुलमा भने हामी दुबैको नाम अर्कै-अर्कै थियो । उमेरले मभन्दा तीन-चार वर्ष कान्छी हुँदी हो सान्नानी । तर एकै कक्षाका विद्यार्थी भएकाले हामी दौंतरी सरह थियौँ । पढाइमा त मभन्दा तेज पो थिई ऊ । हाम्रो स्कुलका शैक्षिकसत्रहरू क्रमशः उकालो चढ्दै गए । हामी कक्षा पाँचमा पढ्ने भयौँ । यी दिनहरूमा पढाइसँगै हाम्रो बालप्रेम पनि मौलाउँदै गयो । मेरो टिफिन खर्च चारानाबाट आठाना, रुपियाँमा बढोत्तरी भयो । तर, सान्नानीको अवस्था फेरिएन । मैले नै धन्नुपर्दथ्यो सबै पूर्ववत् दिनचर्या । त्यो खोटो सिक्का भने च्यापिरहन्थी ऊ । दोकानमा पैसा नपुग्दा त्यही देखाउँथी, पसलेले चल्दैन भनेपछि फेरि गोजीमा घुसार्थी । हामी क्रमशः हुर्किंदै थियौँ, कहिलेकाहीँ यसो हाटबजारतिर पनि जान्थ्यौँ सख्खर किनेर खाने रहर हुँदा त्यही खोटो सिक्का निकाल्थी, त्यहाँ पनि चल्दैनथ्यो पुन: गोजीमा फिर्ता लान्थी । सबैतिर मै तिर्थें पैसा र मन भरेर फर्किन्थ्यौँ । एकदिन सान्नानीले खोटो सिक्काको रहस्य खोली- उसका बाले तखतामा राखेको पैसा तीनदिनसम्म फिर्ता नलगेपछि बाले बिर्सिनुभएछ अब म सान्दिदीलाई तीनदिन मोज गराउँछु, कत्ति उनको मात्रै खानू भनेर रमाउँदै लुकाएर राखेकी रे !

एक्कासी स्कुल आउन छोडी सान्नानी । त्यति राम्रो पढ्दा-पढ्दै छोड्न बाध्य किन भई ? प्रश्नहरूको जुलुसले मलाई चिमोट्न थाले । मलाई भनेकी भए पनि हुन्थ्यो, केही भनिन । यसरी अचानक उसलाई स्कुलमा नदेख्दा म पो बेचैन भएँ । त्यसो त शान्ति उसको मनमा पनि कहाँ होला र ? केही न केही गडबड छ भन्ने लागेर उसको घरैमा गएर बुझेँ । उसकी आमाले भनिन्- पढाउन नसक्ने रे अब । उसका बाले भने रे- छोरीले सिक्ने घरधन्दा हो, पढाइ होइन । अचेल देख्छु- हरेक बिहान चराको सुरिलो चिरबिर आवाजसँगै आफूले थेग्नै नसक्ने घर-धन्दामा जोतिन विवश छे ऊ । स्कुल र पढाइ अब एकादेशको कथा भइसकेछ उसका लागि । तुरुक्क आँसु झारी मलाई देखेर । म पनि मन थाम्न नसकी फर्केर आएँ निशब्द!

सान्नानीका ती निश्चल र सुन्दर आँखामा छचल्किएको मिठो बाल रहर हेरेर एकान्तमा टोलाउने गर्छु । कत्ति लाग्दो हो साथीहरूसँग पहिलेझैं रमाएर स्कुल जान उसलाई । ती विगतका रमाइला दिनहरू कहिले आउलान् फेरि ? उसको कलिलो मन-मस्तिष्कमा खेल्दाहुन् कत्ती रहरका बयलीहरू । एकचोटि कल्पनाको सागरमा चर्लुम्म डुबुल्की मारेर निस्किँदी हो कि कतै मेरो स्कुल जान पाउने दिनहरू पुन: फर्केर आउलान् त ? तर उसले सोचेको जस्तो थिएन त्यहाँ । त्यहाँ त उसकै रखवारीमा हुर्किरहेका स-साना भल्ट्याङ्-भुल्टुङ् भाइहरूको गोठालो हुने काम थियो । गरिब परिवारमा जन्मेकी सान्नानी मुनिका तीन भाइहरू थिए, जसलाई उसले नै हेर्नुपर्ने थियो । ऊ तीन भाइहरूकी यौटै दिदी र परिवारकी एक्ली छोरी ।

घिमिरे बा भनेर चिन्थे उसको बालाई गाउँ-घरमा । तर घिमिरे बा गाउँमा बस्दैनथे ! सबै भन्छन्- हिन्दुस्तान गएका छन् उनी नोकरी गर्न र पैसा कमाउन । अनि ती स-साना लालाबालाको पालन-पोषण गर्ने उपाय खोज्न । घरमा तरुनी श्रीमती अनि आफ्ना नाबालक बच्चाहरू छोडेर ।

घिमिरे बा आउँदा-जाँदा सुनिन्थ्यो हिन्दुस्तानमा उनी एउटा कपडा कारखानमा काम गर्छन् रे ! वर्षेनी नेपाल आउँथे अनि केही समय बसेर जान्थे । फेरि अर्को वर्ष घर आउँदा अर्को एउटा सन्तानको जन्म भैसकेको हुन्थ्यो उनको । घरमा विचरा सानी, उसका भाइहरू अनि आमा मात्र । चार-चार वटा भैसक्दा पनि सन्तानको चाह अझै पलाउनु त्यहीमाथि गरिबीको बोझ कति नै थेग्न सक्थ्यो र त्यो परिवारले । त्यसैले त सानुले आफ्ना रहरहरू पोको पारेर मनभित्रै बाँधीराख्न बाध्य थिई । कलिलो उमेरमै त्यो घरको अभिभावकझैं काम गर्नु उसको दैनिकी बन्दै थियो । यत्तिकैमा सुनियो – उसका बा यानिकि घिमिरे बाले अब उसको बिहेको लागि गाउँमा केटा खोज्दैछन् ।

केटाकेटी नै थिई सानी । त्यसो त म पनि खासै ठुली थिइन । तर ऊभन्दा जेठी भएकीले उसकी दिदी थिएँ म । ऊभन्दा केही बढी कुरा बुझ्ने ज्ञान जान्ने भइसकेकी थिएँ । उसको घरकै बाटो भएर म स्कुल जाँदा-आउँदा सोध्ने गर्दथी– “सान्दिदी, आज स्कुलमा के-के भयो ? कस्तो चटपटे खान मन लागेको छ! सुन्तले बिस्कुट खान त कहिले पाइएला र है अब?” म जवाफ बिहिन भएर हिँडी मात्र रहन्थेँ । कारण म ऊसँग बोल्न सक्दैनथेँ । कता-कता मन पोलेझैं भएर आउँथ्यो । सानी मेरो सहपाठी मात्र होइन, सहयात्री पनि थिई । अहिले ऊ स्कुल जाने मनभरिको रहर मनैमा मारेर स-साना भाइहरूको गोठालो गर्दैछे । म एक्लै स्कुल जाने-आउने गर्दा उसको अभावले निससिन्छु । कहिलेकाहीँ म मेरी आमासँग सोध्ने गर्दथे– त्यो सानीलाई किन स्कुल नपठाएका होलान् भनेर । मेरो कपाल मुसारिदिँदै मेरी आमा जवाफ दिनुहुन्थ्यो– यस्तो अर्काको कुरामा मन डुलाउने गर्नु हुन्न, किन पठाएनन् मलाई के थाहा ? तँ आफू चाहिँ खुरुखुरु पढ् न! आमाका कुराले एकछिन त म चुप लाग्थेँ, तर यो बालापनको जिद्दी मन न हो मान्दैनथ्यो । सोधेर हैरान पार्थें म आमालाई । आमा भन्न बाध्य हुनुहुन्थ्यो तर छोटोमा भन्नुहुन्थ्यो– गरिब भएर पढाउन नसकेका रे उसका बा-आमाले ।

एकदिन गाउँमा डुल्दै गरेका घिमिरे बालाई भेटेँ मैले । सोध्न मन लाग्यो- ‘किन सानीको बिहे अहिल्यै गरिदिने ? केटा खोज्दै हुनुहुन्छ रे नि उसको लागि ?’ तर डर लाग्यो, त्यस्तो सोधिन । फुत्त मुखबाट आयो– बा, कहिले आउनुभो परदेशबाट ? घिमेरे बाले जवाफ दिए– ‘एक हप्ता भो । यो त हलक्कै बढिछे, हाम्री सानी चाहिँ खासै…..!’ यति भनेर घिमिरे बा आफ्नो बाटो सरासर हिँडे । म एकछिन दोधारमा परेँ । के गरूँ, कता जाउँ, कसो गरूँ भनेर । सानीको बिहे हुने कुराले मेरो मनमा ठुलो खुलदुली चलेको थियो । खास कुरा बुझ्ने बाल रहर ममा पनि जागृत भई नै रह्यो । सानीभन्दा केही ठुली भए पनि मन त कलिलै थियो, दिमाग पनि खासै छिप्पिसकेको थिएन । अचानक सानीको घरतिर सरासर गएँ । घरमा उनकी आमा घिमिरे आमै र स-साना भाइहरू मात्र थिए । सानी कता गएकी थिई पत्तो पाइनँ । घिमिरे आमै अँगेनामा आगो फुक्दै एक्लै फताफताइरहेकी थिइन् के-के जाती । मलाई देखेर– के कामले आइस् नानी ? भनेर सोधिन् । मैले अरु केही भनिन । एक्कासी मुखमा आएछ– सानीको बिहे गर्दिने रे हो आमै ? घिमिरे आमैको जवाफ- हो, त्यसै भन्दैछन् उसका बा । उनको कुराले मेरो मनमा हठात् तरङ्ग पैदा भयो । सानै छे त, बिहे गर्ने बेला भो र? मेरो प्रश्नको जवाफ फेरि यसरी दिइन् उनले– एघार बर्ख पुगी, रजस्वला भएकै छैन, यतिबेलै कन्यादान दिन सके सय गाई दान गरे बराबर धर्म हुन्छ भन्छन् । उसका बाको मर्जी हो यो, म त खास कुरै बुझ्दिन नानी । यति भनिसक्दा घिमिरे आमैको आँखा भने रसाइरहेका थिए ।

के एउटी केटी गाई जस्तै हो त ? कस्तो अचम्म सुन्दा पनि नमिठो लाग्ने । केही नबोली चुपचाप घर फर्किएँ म । सोच्दै आएँ- के धर्म र संस्कारको नाममा छोरीलाई पशु जस्तो व्यवहार गर्नू पाप होइन र ? घरमा आएपछि फेरि आमालाई सोधें– छोरीहरू गाई जस्तै पशु समान हुन् आमा ? रजस्वला नहुँदै बिहे गरिदिँदा सय गाई दान गरे बराबर धर्म मिल्छ रे नि त ! मेरी आमाको ठाडो जवाफ आयो– होइन यसले कहाँबाट के सुनेर आई ? कसले भन्यो तँलाई यस्ता कुरा…? सुरुमा रिसाएझैं गरेर सोधे पनि तुरुन्तै आमाले फकाएर सोध्नुभो मलाई फेरि । मैले सबै कुरा फटाफट भनिदिएँ अघि घिमिरे आमैले भनेका जति । आमाले फेरि कराउनुभो- अब आइन्दा यस्ता कुरा सुनेर हिंड्नु हुँदैन है, खुरुखुरु पढ्नुपर्छ । यो त गाउँ-गाउँ चाहरी हिँडेर अनेकानेक कुरा पो बटुली हिड्ने भैछे है! तँलाई पख न, भरे बालाई नभनी त कहाँ छोड्छु र ! म बेस्सरी डराएँ, केही बोलिन, जिउ थरथर काँप्न थाल्यो । यो देखेर आमा तुरुन्त पग्लिनुभो र मलाई मायाले सम्झाउन थाल्नुभो– तिमीले यस्ता कुरा सोच्ने र गर्ने बेला भएको छैन छोरी ! मेरो कपाल सुमसुम्याउँदै आमाले यसो भन्दा म चुप त थिएँ तर मन भने एक तमासले पोलिरहेझैं थियो । रातभरि निद्रा लागेन । एक खालको छटपटी र तर्कना मनमा उर्लिरह्यो । एक छोरी बराबर एक सय गाई दान । उफ्….कस्तो समाज हो यो ? घिमिरे बा र आमैको कथन । यता मेरी आमा भने मैले यस्ता कुरा सोच्ने बेला भएको छैन भनेर मलाई पढ्ने मात्र ध्यान गर्न सिकाउनु हुन्छ । बालकबाट किशोरी हुँदै थिएँ कि म, त्यसैले त अनेकानेक कुराहरू मनमा खेल्दा रहेछन् । सानी त बालकै छे नि, मभन्दा तीन-चार वर्ष सानी । एघार वर्षमै बिहे गरिदिन लागेका छन् । रहरमा होइन, कहरमा ।

दशैं पूर्णिमाको साइत पारेर सानीलाई डाँडापारि पल्लो गाउँको एउटा अधबैंसे केटालाई टिका लगाइदिएर जिम्मा दिए रे घिमिरे दम्पत्तिले । गाउँ-घरमा यस्तै हल्लाले सनसनी पिट्यो । तर, बिहेमा कुनै तामझाम, भोजभतेर, निम्तो, पाहुना केही देखिएन । सुटुक्कै गरेका रहेछन्, तर एक कान दुई कान मैदान भनेझैं त्यो कुराले पनि सबैतिर चर्चा पायो । रुढीवादीहरू भन्थे– ठिकै गर्यो घिमिरेले, रजस्वला नभई कन्यादान दिनु पो कन्यादान । पुण्य कर्म गर्यो घिमिरेले । कुटुम्ब पनि खानदानी छन् रे…! अलिक पढेलेखेका, सचेत र आधुनिक मान्छेहरूको मुखबाट सुनिन्थ्यो– पाप गर्यो घिमिरेले । अन्धिसस्वास र पैसाको लोभमा त्यो बालिकालाई बुढोसँग जबर्जस्ती विवाह गरिदियो । यो जाती भएन, ठिक भएन, अनुचित भयो, आदि-इत्यादि । घिमिरे बा चाहिँ “छोरीको राम्रो कन्यादान गरेँ, ढुक्क भयो अब, छोराहरूलाई राम्ररी पढाउँछु ।“ भन्दै गाउँ चाहार्छन् भनेको सुनियो । बिभिन्न खाले चर्चा-परिचर्चा चले गाउँमा केही समयसम्म । बिस्तारै त्यो चर्चा पनि पुरानो हुँदै गयो र मान्छेहरूले भुल्दै पनि गए ।

यता मेरो मन भने झन्-झन् आन्दोलित हुँदै गयो । मलाई त्यही एउटा शब्दले पटक-पटक पोलिरह्यो– एक छोरी, सय गाई । फेरि पुन्य । यदि त्यसो हो भने मलाई पनि सानैमा विवाह गरिदिएर पुण्य कमाउने चाहना किन गरेनन् मेरा बा-आमाले ? गाउँमा अरु-अरु पनि छन् छोरी-चेली । अरुले चाहिँ सानीका बा-आमाझैं पुण्य कमाउन किन चाहेनन् ? के यो सब गरिबीकै कारणले गर्दा भएको हो ? कि संस्कार नै त्यस्तै हो कि रजस्वला हुनुभन्दा अगाडि नै विवाह गरिदिँदा सय गाई दान गरे बराबर पुण्य पाइन्छ । मेरो त रजस्वला भइसकेकोछ अब । यदि मेरा बा-आमाले मेरो बिहे गरिदिए नै भने पनि सानीका बा-आमाले झैं सय गाई दान गरे बराबर पुण्य कमाउन पाउँदैनन् होला नि ? बालापनबाट भर्खरै माथि चढ्दै गरेको मेरो किशोर मन यस्तै-यस्तै अनेकथरिका प्रश्नको चंगुलमा भासिएको छ यतिबेला । निस्किन खोज्छु यो सोचको भुमरीबाट, तर सक्दिन । मेरी आमाले भने जस्तो सजिलो कहाँ रहेछ र ? यस्ता कुरा सोच्ने बेला झन् भएको रहेछ मेरो । आमा भन्नुहुन्छ- यस्ता कुरा नसोच्नू । मेरो मन झन्-झन् उत्सुकतापूर्वक सोच्दछ, सोचिरहन्छ यस्तै कुरा ।

एकदिन सानी माइत आएकी छे भन्ने सुनेर म दगुर्दै घिमिरे बाको घरमा पुगेँ । मलाई देख्ने बित्तिक्कै भक्कानिएर रुन थाली सानी झ्वाम्मै मलाई अँगालो हालेर । दुब्लाएर कस्तो झिट्टी भएकी मेरी सान्नानी त! अनुहार पनि कस्तो हुराहुराउँदो चैते बतास लागेको सालको रुख जस्तो । आँखा भासिएका उस्तै, ओठ सुकेको त्यस्तै । बिरामी परेर माइती आएकी रे । घरतिर उति वास्ता गर्दैनन् रे । सासु-ससुरा पनि उस्तै दुष्ट छन् रे । लोग्ने त झन् के भनौ- आफूभन्दा तीन गुणा जेठो जरखरिएको । त्यहीँमाथि लठेप्रो । आफ्नो इच्छा, अनुमति र चाहना बिना दिनैपिच्छे गिजोलेर बिरामी नै पारेछ बिचरीलाई । आफूले सक्ने भन्दा बढी कामको बोझले झन् सताएछ । जब बिरामी भई, उपचार गर्नुको सट्टा माइत पठाइदिएछन् । असाध्यै नमिठो लाग्यो मलाई सान्नानीको यस्तो पीडादायी हालत देखेर । उसका आँखामा टिलपिलाएका आँसुका ढिका देखेर मैले पनि मन थाम्न सकिन । रोएँ सान्नानीसँगै अन्धाधुन्ध । सुमसुमाएँ उसलाई प्यारले, चुमे उसको निधारमा मायाले । मैले उसलाई त्यहाँ भन्दा बढी गर्न सक्ने अरु उपाय पनि त केही थिएन । तर, मन भने झन् बढी आन्दोलित र बेचैन भैरह्यो । आफुले सक्दो उसलाई सम्झाएर म घर फर्कें । कहाँ गएकी थिइस् यत्रो बेर भन्ने प्रश्नको ओइरो मेरा बा-आमाले लाए मलाई । तर सत्य कुरा जस्ताको तस्तै भनिदिएँ ।

यतिबेला घिमिरे बाका छोराहरू चाहिँ पढ्न-लेख्नमा मस्त छन् । छोरीलाई सानै उमेरमा विवाह गरेर पठाइदिए पनि छोराहरूलाई चाहिँ राम्रै पढाएका छन् । हिन्दुस्तानको नोकरी पनि निक्कै फापेको जस्तो बुझिन्छ आजकल उनको । वर्षेनी घर आउने-जाने गरे पनि पहिला जस्तो सन्तान उत्पादन भने रोकिएको छ घिमिरे दम्पतिको । छोरी त्यो हालतमा माइत आउँदा पनि खास वास्ता गरेनन् घिमिरे दम्पतीले । बरु उल्टै घर पठाउन उद्दत छन् रे । भन्छन् रे– हामीले त बिहे गरेर पठाइसकेका हौँ, मारे पनि पाले पनि कुटुम्बकै सम्पत्ति हो । नभन्दै त्यही बिरामी हालतमै घर पठाइदिएछन् सान्नानीलाई । सुनेपछि मलाई झन् पिर पर्यो, जाने बेलामा एक पटक भेट्न पनि पाइन । उता घरमा पनि राम्रो उपचार भएनछ बिचरीको । रोग र शोकले जिङ्लाएर कस्ती बिरूप भा’कि छे रे भन्ने खबर आउँथ्यो । पछि बिमार निको भई कि भइन कि, सुखी-खुसी जीवन बिताउन पाई कि पाइन कि केही पत्तो पाइएन । बिहे गरेको निक्कै साल बितिसक्दा पनि उसका सन्तान भने भएका थिएनन् रे । उमेरले त बेला भएकै हो अब त!

एकदिन सान्नानीको घरबाट नराम्रो खबर आयो । उसको लठेप्रो लोग्ने टाँकीको रुखबाट लडेर मर्यो रे! गाउँमा त्यो खबरले स्तब्धता छायो र सँगै अनेकौं हल्ला पनि ल्यायो । छोराछोरी जन्माउन सकिनस् भनेर उसका बाउ-आमाले लोग्ने-स्वास्नी दुबैलाई टोकसो गर्थे रे! गाउँका मान्छेहरू लोग्नेलाई नपुंसक र स्वास्नीलाई बाँझी भन्थे रे! खासमा सानीको लोग्नेका पहिल्यै तीनवटी स्वास्नी थिए रे! कोही मरेका, कोही पोइल गएका, कोही सन्तान जन्माउन नसक्ने नपुंसक भनेर माइतै बसेका रे! सानीलाई त ढाँटेर तीनवटी सौतामाथि पो दिएका रहेछन् त बाबै! गाउँको धारा-पँधेरामा बिहान-बेलुकै सुनिने सार्वजनिक समाचार नै यही बन्यो । सान्नानी उपर गाउँभरि फैलिएका यस्ता नमिठा कुराले कसलाई कसरी छोयो म भन्न सक्दिन । उसैका बाउ-आमा र माइतीलाई कस्तो असर परिरहेको छ त्यो पनि म जान्दिन । तर, म एक जवान नारी भावनाको बारीमा नारी संवेदनालाई जबरजस्ती सुकाउन बाध्य छु । करुणा र प्रेमले पग्लेर पानी-पानी छु तथापि सुख्खायाम जस्तो ठाडो घाँटी लाएर चिच्याउन शिवाय केही सक्दिन । कसैले अनुमति दिन्छ भने सान्नानीलाई जुरुक्क उठाएर ल्याउन चाहन्छु । सँगै स्कुल होइन, कलेज जान चाहन्छु । किशोरावस्थाले हराभरा समय छ यो । अब पो हाम्रो बिहे गर्ने उमेर भयो त! किन निमोठियो त्यो फूल कोपिलामै ? घिमिरे दम्पत्तिको घैंटोमा घाम लाग्यो त अब ? ब्रह्माण्ड थर्किने आवाजमा सोध्न चाहन्छु तिनीहरूलाई- पायौ त एक कन्याको दानले सय गाई दान गरेको पुण्य ?

सान्नानीका बारेमा अशुभ समाचार सुन्दा-सुन्दा विक्षिप्त मेरो मन अन्यमनस्क मनस्थितिमा आफैंभित्र टोलाउन अभ्यस्त हुने क्रममा नै अचानक फेरि अर्को अप्रिय घटनाको खबरले मर्माहत बनायो । घर र माइतीको बीचबाटोमा पर्ने खोला किनारमा उसको लास भेटियो रे ! अब सुन्न बाँकी यही छ जस्तो लागेको थियो, त्यो पनि सुनियो । नत्र, त्यो अभागिनीले भोग्न र हामीलाई सुनाउन के नै बाँकी राखेकी थिई र ? आकाश खसेझैं, पृथ्वी भासिएझैं भएर म शून्यतामा कता बिलाएँ कता पत्तै भएन । कि छाँगाबाट खसेर म पनि मरिसकेँ सान्नानीसँगै ? आफैँलाई चिमोट्छु, अलिअलि दुख्छ अनि थाहा पाउँछु ए, म त जिउँदै रहेछु भन्ने मात्र लाग्छ । सान्नानीको मृत शरीर भए नि हेर्छु भनेर हामफाल्दै गएँ म पनि । प्रहरीले लास उठाएर लगिसकेछन् । उतै हाँकीएर पुगेँ । छाद हालेर रुनु शिवाय अर्को विकल्प थिएन मसँग । माइतीले घर गरिखा भनेर पठाए । घरकाले बाँझी, पोइ टोकुवी भनेर खेदाए । जिउने आधार नभेटेपछि आफैँले त्यो कठोर निर्णय गरेर आफैँलाई खोलामा विसर्जन गरिछे । उसको मृत शरीरबाट पोस्टमार्टमका क्रममा प्रहरीले एकसरो लुगा बाहेक केही भेट्टाएनछ । अँ, पटुकीको फेरमा गाँठो पारीराखेको एउटा पैसा भेटियो । त्यही नचल्ने पैसा । त्यही खोटो सिक्का । त्यसकै कारण मैले सान्नानीलाई जीवनमा जम्मा एकपटक गाली गरेकी छु । अब मेरो कुरा सुन्दिन मेरी सान्नानीले । नत्र उसको खुट्टा समातेर माफ माग्दै त्यो एउटा शब्द फिर्ता लिने थिएँ । सान्नानीले आफ्नै जीवन पनि त खोटो सिक्का बनाएरै फाली । बाचुन्जेल पनि उसको जीवन छ न त थियो, तर न कतै बिक्यो न कहीं काम लाग्यो । उसैले दिसा-पिसाब सोहोरेर हुर्काएका डाक्टर भाइहरूको दबाई पनि त काममा आएन उसलाई बचाउन! यथार्थमा खोटो सिक्का नै सावित भएर अनन्तमा बिलाई मेरी सान्नानी! यो अन्धो समाजकी अभागी सानी !!