जमाना बदलियो । आधुनिकतामा समाज यसरि होमियो मानौँ प्रेम, सदभावको भावना पनि महङ्गो बन्यो । सन्ततिहरु पखेटा हालेर गुँड छाडेर जान ठिक्क थिए । फुलमती बज्यैलाई समयले आठ दशकको काचुली फेर्याइसकेको थियो । दशकौँको हिउँद र बर्खा सहेको अनुहार चाउरिएर छालामात्र लतरङ्ग झुण्डिएको थियो । उनका आखामा अनेकौँ प्रश्न र असन्तुष्टिहरु थिए । सूर्योदयसँगै बज्यैले तुलसीको मठ पुजेर अक्षता भरिएको थाली र केही फूलहरु पिढीँमा राखिन् । उनका सन्ततीहरु घर छाडेर आफ्नो भविष्य खोज्न सहरतिर जाँदै थिए । बज्यै सुस्केरा हाल्दै पिढीँको डिलमा उभिन नभ्याउँदै दुई नातिनातिना उनको गुन्युमा घुक्क घुक्क गर्दै लपेटिए । आफ्ना नातिनातिनालाई टिका लगाइदिन उनले भुइँको पूजाको थाली र फूल हातमा लिइन् । अक्षता उनका कापिरहेका औँलाहरुले निधारमा नपुर्याउँदै भुइँमा झर्थे । गहभरि आँसु भर्दै आफ्ना नातिनातिनापछि छोरा बुहारीलाई टिका लगाइदिँदै आशीर्वाद दिइन् र पटुकीको फुर्कोले आँसु पुछिरहिन् । आफना सन्ततिको विछोडमा गहका आँसुले चाउरिएर मुजा परेका गालाहरु चिस्याउँदा इतिहास रोइरहेको जस्तो देखियो । फुलमति बज्यैको आशााहरु घनको चोटमा सिसा पिसिएसरि छियाछिया भए । थातथलो तिरस्कार गरेर सहर पस्न हिँडेका फुलमती बज्यैका सन्ततिहरुले हिँड्ने बेलामा आमाका गहका आँसु त देखे तर धुजा धुजा भएको मन निहार्न सकेनन् ।

अन्ततः जन्मस्थान र जननी त्यागेर आधुनिकताको मृगमरिचिकाको लागि सहर होमिए । उमेरले भन्दा पनि उनको स्वास आफ्ना सन्ततिले दबाइरहेको जस्तो भान भयो । मुटु चिथोरियो, तैपनि होस सम्हालेर विदाइमा सुकेका हस्तेहड्ढीहरु हल्लाइरहिन् । बज्यै एक्लिँदा आकास बलिन्द्रधारा रोयो । बज्यै टुहुरिँदा प्रकृति पनि निरास भएझैँ लाग्यो । तै पनि एकसर्को स्वासको माया चेत छउन्जेल लाग्ने नै भयो । त्यसैले घरमा मक्किएका दलिन र चौकोसको स्याहारका लागि बज्यै समयसित जुध्न थालिन् ।

सुरेन्द्र गौतम

हरेक दिन एक बज्रजस्तो लागे पनि बज्यैले स्वास धान्ने हिम्मत गर्दै थिइन् । प्रकृति प्रतिकूल बन्दै थियो । बादलले पनि बुढ्यौली शरीरलाई गिजाएजस्तो छिन्छिन्मा सूर्यसँग लुकाछिपी खेल्थ्यो । फुलमती बज्यैको आँखा अझ धुमिल बनाउथ्यो । चाउरिएर लत्रक परेका छालाहरुमा हावाका झोकाहरु सियोझैँ चुबिन खोज्थे । बुढेसकालको मन हतासिन्थ्यो । हातगोडा लल्याकलुलुक हुन्थे । एक्लोपनले सिरिङ्ग बनाउँथ्यो । अनेक तर्कनाले सताउँथ्यो । कठोर सन्ततिहरुको यादले हृदय भक्कानिन्थ्यो । तैपनि आफ्नो दुःखको बोझ हल्का गराउने ध्येयले बज्यै रामभरोसा पूजामा तल्लिन हुन्थिन् । अबको एक्लो जीवनको डोर उही आध्यात्ममा लिन हुनु मात्रै शेष रह्यो ।

बज्यैलाई लाग्थ्यो उनको गाउँ पहिले अत्यन्तै सुन्दर र रमणीय थियो । हिमालको फेदीमा रहेको सानो गाउँ प्राकृतिक छटाँले भरिपूर्ण थियो । कुनैसमय पदयात्रीहरुको लाम लाग्ने त्यो सुन्दर ठाउँ दुर्लभ वन्यजन्तु र वनस्पतिहरुको घर थियो । कलकल गर्ने खोला र झरनाहरु, मनोरम तालहरुले भरिपूर्ण । बज्यैको गाउँको उत्तर दक्षिणमा एक विसाल चट्टाने पहाड थियो । गाउँलेहरु त्यसलाई भुते चट्टान भन्ने गर्थे । धेरै गाउँलेहरु घाँसघुरेन गर्दा त्यही बाटो भई जाने गर्थे । भुते पहाडले आजसम्म आठ जनालाई ठहरै पार्यो होला । गाउँलेहरु त्यहाँ सियो छ तान्छ भनेर धेरै पहिले त्यो बाटो हिँड्नै छाडेको ठाँउ । एकपटक विदेशी टोली त्यो पहाडको अध्ययन गर्न नेपाली सरोकारवालालाई साथ लिई आएको थियो । गाउँलेलाई पछि थाहा भो त्यँहा सरकारले विदेसीलाई उत्खनन्को जिम्मा दिएको रहेछ । कुनै बहुमूल्य धातुको खानी छ भन्ने हल्ला देशभर फैलियो ।

ग्राम विकास प्रादेशिक गौरवको आयोजना अन्तर्गत वैदेशिक अनुदान सहायतामा त्यहाँ युरेनियम खानी सञ्चालन गर्ने परियोजना पर्यो । हाल ग्रामीण विकास समितिको सहमतिसहित त्यो स्थान विदेशीले भाडामा लिई काम गर्दै आएको थियो । भुते चट्टानको चारैतिर तारबार लगाइको थियो । विभिन्न अजंङ्गका मेसिनहरुले दिनरात चट्टान फोड्थे । भूकम्प गएझैँ जमिन थर्किन्थ्यो । वरपरका सल्ला र कटुसका रुखहरु दिनहुँ नासिँदै थिए । कति मृग, हरिण र बदेलहरु विदेशीहरुको भोजन बने गिन्ती थिएन । चट्टान फोड्न प्रयोग गरिने बारुदको गन्ध, मेसिनहरुको कर्कश आवाजले गाउँ नै कोलाहाल थियो । धुवाँ धुलोले प्रकृतिको काया लुटेको थियो । पहिला भुते चट्टान र गाउँको बिच भएर बग्ने साङ्गले खोला गाउँको सिचाई र खानेपानीको प्रमुख स्रोत थियो । खानी उत्खननका क्रममा त्यही खोलाको पानीको प्रवाह हुने मार्ग नै फेरिइसकेको थियो । हिमाली भेगमा पाइने जडीबुटी खोज्न भुते चट्टान हुँदै जानु पर्थ्यो । अहिले त्यो ठाउँमा उनै विदेशीको हालिमुहाली थियो । गाउँलेहरुको आम्दानीको स्रोत त्यही हिमाली किरो यार्सागुम्वा थियो तर अब त्यो पनि उनीहरुको पँहुचमा थिएन ।

फूलमती बज्यैको आँखामा विगत झलझली नाच्दै आयो । अहिले उनी खुइय गर्दै आफैँसँग भन्दै थिइन्, “गाममा बस्ने बातावरण भएन र त मेरा बचेराले गुँड सारे होलान् । के कलि आयो कुन्नी ? आफ्नै ठाममा पनि सुखले बाच्नु छैन् । हरिराम….हरिराम….”

बज्यैलाई बाहिर बस्दा उखरमाउलो गर्मीले च्वास्स पोल्थ्यो । भित्रबाहिर गर्दा पनि स्वा.स्वा हुन्थ्यो । पिढीँको छेऊमा मान्द्रो विच्छाएर बत्ति काट्दै बस्ने गर्थिन । बेलाबेलमा आगनको डिलमा आई हत्केलाले सूर्यको छेल पारेर गाउँ वरपर नियाल्थिन् । गाउँले प्रविधिको खोल ओढेको थियो । बारी, खेत, जङ्गल र पहरा ओदारेर धुवाँ पुत्ताउने मेसिन गाउँगाउँ पसेका थिए । बेस्वादिलो हावाको झोकका नाकका प्वालहरुमा अन्तर्नाद गर्दै भित्र पस्न खोज्थे । खङ्गरङ्ग सुकेर अररो परेका फुलका बोटहरु, रुखहरु बज्यैको बुढेसकाल सङ्गै ओइलाउँदै गएजस्तै देखिन्थे । वातावरण बिटुलिएको थियो । वरपरको वातावरण उनलाई भययुक्त लाग्थ्यो । मोटरका ठुला ठुला कर्कस आवाजले कान गुन्जिन्थ्यो । धुलाम्मे सडकले वातावरणलाई मरणासन्न पाथ्र्यो । पारि हिमालका टाकुराहरुमा न हिउँ देखिन्थ्यो न त पहिले जस्तो सुन्दरता । हिँउ पग्लेर अङ्गार जस्तै भएको । बज्यै अवाक् भएर फेरि पिढीँमा गई बस्थिन् । उनको वृद्ध मानसपटलले सुमधुर कोइली खोज्थ्यो । भुनभुनाउने माहुरी सम्झिन्थ्यो । रड्ढिविरङ्गि पुतलीहरुको न्यास्रो मान्थ्यो । त्यो चिरिबिर, त्यो हरियाली, त्यो स्वच्छ, निर्मल हावा, त्यो छङ्गछङ्ग खोला र झरना, त्यो दन्तेलहर हिमाल सबै स्मृतिमा दगुथ्र्यो । बज्यैलाई लाग्थ्यो वातावरण पनि उनी जस्तै बुढ्यौलीमा टेक्यो क्यारे ।

युग परिवर्तन भए पनि फुलमती बज्यैको जीवन सदाझैँ निर्धो नै रह्यो । बज्यैमा अब उत्साह र चहानाको आभा विलिन हुँदै थियो । कहिले ढन्मनाउँदै, कहिले बत्ताउँदै घर भित्रबाहिर गर्थिन् । धुवाँमा खोक्दै, आँखा मिच्दै खाना तयार पार्थिन् । साह्रोगाह्रो टार्न जसोतसो सकेकै थिइन् । आफ्ना भनाउँदाहरुले तिरस्कार गरे पनि उनीहरुकै यादमा सुक्सुकाउथिन् । आफ्नो दुख आँफैलाई कहन्थिन् । उनको दुख देख्न यहाँ न आफन्त थिए, न त मुखबोलाऊ घरपालुवा जन्तु ।

सोमबारको मध्यान्नमा पिढीँको डिलमा बसेर बज्यैले कपास बाटेर पलासमा राख्दै थिइन् । दिनमा साह्रै पोल्ने गरी घाम चर्केको थियो । जमिन तातेर बुढो शरीरलाई तातो राप दिएको थियो । पानी धेरै समय नपरेकाले वरपर सबै अररो भएर सुकेजस्तो थियो । जमिनबाट धुवाँ उडेजस्तै देखिन्थ्यो । बज्यैले कातेको बाती पलासमा राखी भित्र पूजाथानामा राखेर बाहिर निस्किन् । अगेनाको डिलमा निस्कदा पारिको जङ्गल आगोले ह्वारह्वार्ती दन्केको देखि्न । भुते पहाडको युरेनियम खानीबाट सल्किएको आगोले वरिपरि लपेट्दै ल्यायो । आगो विस्तारै गाउँतिर पस्दै थियो । जंङ्गलतिरको चरिचरनमा भएका केही चौपाया पुच्छर ठाडो पार्दै भाग्दै थिए । केही त्यही आगोको लपेटामा परी मरे । चराचुरुङ्गीहरु धुवाँको मुस्लोमाथिबाट छटपटाउँदै केही जमिनमा झरे त केही बल्लतल्ल उम्केर उडे । आगोको राप र धुवाले वायुमण्डल घेर्यो । केही गाउँलेहरु हस्याङ्गफस्याङ्ग गर्दै आगो निभाउन दौडिए । बज्यैले धुधला आँखाले पारि नियाल्दै फुस्पुसाइरहिन्, “हरे दैव ! के विपत्ति आईलाग्या होला यस धर्तिमा ? के दिन देख्न बाँकी रह्यो अब यो जुनीमा ? ”

गाउँमा थोरै मानिसहरु मात्र थिए । सहर, विकास, प्रविधि, र सुविधाले सम्पूर्ण गाउँका मानिसहरु खोसेको थियो । शिक्षा, रोजगार र व्यवसायले बयस्क मात्रै होइन, बालबालिकाहरु पनि गाउँमा बिसाएनन् । समाजमा भएका केही गरिब र अनपढ किसानहरु आफ्नो दुःखलाई शिरोधार्य गरी बसेका थिए । दुर्गम गाउँ समाज न कुनै अवसर , न त कुनै सुविधा । तैपनि केही मानिसहरुलाई सहरको मोहले तानेन या भनौ सम्पत्तिले पुगेन । उही खेत खलिया, पशु चौपाय अनि ओतलाग्ने घरमा उनीहरुको गुजरबसर थियो । उनीहरुको निवालामा कहिले खडेरीले सताउथ्यो त कहिले आधिँहुरीले सोहोथ्र्यो । पानी पर्न थाले रोकिने नाम लिँदैनथ्यो । बर्खाको पहिरो र बाढीले हिउदलाई काम पुर्याइदिन्थ्यो ।

हरिप्रसाद पनि त्यही गाउँको एक गरिब किसान थियो । आफ्ना दुई छोराछोरी र श्रीमतीसँग जीवनको बोझलाई बाँड्थ्यो । गरिबीको कारण आफ्ना सन्ततिहहरुलाई पनि गोठाले जीवन बाहेक अरु केही दिन सक्दैनथ्यो । आफ्नो गुजारा चलाउन ज्याला मजदुरीमा दिनभर छोरालाई साथ लिएर पल्लो र ओल्लो गाउँ चाहार्थ्यो। चैतको महिना टन्टलापुरे गर्मीमा पारिको गाउँमा घरको गाह्रो उठाउन जानुथियो उसलाई । ज्यालादारीका लागि छोरालाई लिएर भोलिपल्ट हरिप्रसाद बाटो लाग्यो । फुलमती बज्यैको घरमुनि हुँदै बाबुछोरा जादै थिए । बज्यै आगनको छेउमै बसिरहकी थिइन् । हरिप्रसादलाई बोलाउँदै बज्यैले भनिन्, “ए नानि ! डढेलोले बस्तुभाउ केही नष्ट पो पुर्यायो कि ? के हुन आटेको छ बाबै यो कलिमा ? बोटविरुवा, पक्षिको बसेरो, स्याउला घुरेन, दाउरापात सबै स्वाहा पार्यो बाबै !”

हरिप्रसादले बज्यैलाई हेर्दै भन्यो, “जे भो भो ! चिन्ता नलिनोस आमोई । हाम्रो बसमा केही भैदिए पो ! जबदेखि त्यो खानी यँहा बस्यो त्यही दिन देखि गाउँमा बज्र पर्यो बज्यै ।”

“हो त बा । हाम्रो पुस्ता त जेनतेन गुजरबसर गर्यौ । अब तिमी नानिहरुको खै”, बज्यैले हरिप्रसादको छोरालाई हेर्दै भनिन्, “नाति पनि काममा हात बढाउने भैसकेच ! हैन ?” हरिप्रसादले चिन्तित हुँदै भन्यो, “के गर्ने आमोई पढाउन लेखाउन सकिएन, मै जस्तो गोठालो हुने भो ।”

फूलमती आमाले थोते मुस्काउँदै भनिन्, “सन्तति साथमा भएपछि साह्रोगाह्रो टारिहाल्छ नि । पढेकाहरु त भगौडा हुने रछन् ।” बज्यैले अझै थोते मुख बाएर खित्काइन् । केही बेरसम्म हरिप्रसादका बाउछोरालाई नियालिरहिन् । अनि पुनः बाती बटार्दै टोलाइरहिन् ।

सहर, धन र सुविधाको खोजीले मानिसहरु कत्ति मरिहत्ते गर्दा रहेछन् । आधुनिकताले गाउँलाई पनि कृतिमतातिर लगेको यथार्थताले बज्यैको मन पिरो बनायो । गाउँको आपत विपतमा हारगुहार गर्ने कोही नहुँदा जिउ सेलाउँदै गए जस्तो लाग्यो । आजकाल त वृद्ध र केही गरिब परिवारका माहिला र बच्चा बाहेक अरु कोही देखिँदैन गाँउमा । मानिसहरु आफ्नो गाँउघरको खेत खलियान बेवास्ता गर्दा खेतबारि निलो झार र वनस्पतीले ढाकिएकोमा दुख लाग्यो । गाउँमा सन्नाटा छाएको थियो मानौँ टवा्रटवा्र गर्ने भ्यागुता हराइसके, झ्याउझ्याउ गर्ने झ्याउकिरी पनि भागिसके । बज्यै एक्लो सुनसान घरमा बस्दै सोच्ने गर्थिन् । उनलाई लाग्थ्यो त्यो धान झुल्ने खेत मुर्झायो, तोरी फुल्ने पहेलो खलियान बन्जर बन्यो, चिरविर गर्ने चरा तथा छगंछगं गर्ने खोलाको सुसेली अहिले सुस्तायो ।

साँझ परिसकेको थियो । फुलमती बज्यै भर्खर दाउरा झिजा बटुलेर आगो सल्काउन लागेकी थिइन् । यत्तिकैमा हरिप्रसाद हस्याङ्गफस्याङ्ग गरी बज्यैको घरम पस्यो । आफ्नो श्रीमती प्रसव पीडामा रन्थनिएको कुरा आमोईलाई सुनाउँदै भन्यो, “लौ न, बज्यै ! गाउँकी पाकी र अनुभवी तपाईँ नै हो । मेरोमा गइदिनु पर्यो । जाहानलाई व्यथाले चाप्यो ।” फुलमती बज्यैले ढाडस दिँदै भनिन, “किन आत्तिनु पर्यो । बरु साँझ परिसक्यो । बुढीमान्छे आखाले भेउ पाउँदिन, जाने पो कसरी ।” ए पख त ! बज्यैले थपिन्, परारै भुते पहाड पारि गएर गुर्जो र जेतेपाते लिएर राखेको । दुई जिउकीको दुख केही भए पनि हर्छ ।” बज्यैले आफ्नो साँचोकुचो राख्ने मुदुसमा छामछुम गर्दै एउटा पोको निकालिन् र पटुकामा बेरिन् ।

“हिँड बा ! बज्यैले हरिप्रसादलाई ढाडस दिँदै भनिन्, “यो ओखतीले पक्कै सन्चो गर्छ तिम्रो जहानलाई ।” हरिप्रसादले आगोको अगुल्टो सल्कायो, बज्यैलाई हातमा डोर्याउँदै आफ्नो घरमा पुर्यायो । श्रीमति ओच्छ्यान परेको ठाउँमा फुलमती बज्यैलाई हुलेर आफू बाहिर निस्कियो । आधा घण्टापछि फुलमती आमोई बाहिर निस्केर भनिन्, “ल फलोसफुलोस बाबै ! लक्ष्मि भित्रेकी छन् ।” हरिप्रसाद छोरी जन्मेकोमा खुसी व्यक्त गर्यो अनि बज्यैलाई घरसम्म पुर्याएर आफू पनि फर्कियो ।

विहानको भालेको डाकोले हरिप्रदासको आँखा खुले । उठेर सुचिनिची गरिवरि सुत्केरीको स्याहारमा पोषिलो झोल र जाउलो खुवाउनु थियो । आफुसँग सरजम थिएन । फुलमती बज्यैले विहानै मकहाँ आउनु जाउलो पकाउने अन्न दिउँला भनेको सम्झी बज्यैको घरतर्फ उकाली लाग्यो । घरमा पुगेर “आमाई ! आमोई !” भनेर बोलायो । भित्रबाट कुनै आवाज आएन । धेरै बेर पछि हरिप्रसादले बज्यैको घरको ढोका उघार्यो । भित्र गएर हेर्यो । बज्यै चाहिँ चिरनिद्रामा रहिछन् । हरिप्रसादले आफैँले तुलसीको मठ अगाडि गाईको गोबरले लिप्यो । बज्यैको पार्थिव शरीर बाहिर निकाली जल अर्पण गर्यो । भित्र पूजाकक्षबाट शंख निकाल्यो र फुक्यो । शंख रोएको आवाजले वातावरण नै स्तब्ध भयो । गाउँमा बचेखुचेका केही मानिसहरु अन्त्येष्टिको लागि बज्यैको शरीरलाई घाटतिर ओराले । समय शान्त बन्यो । मानौँ सम्पूर्ण जगत स्तब्ध भयो । तर फुलमती बज्यैको पार्थिव शरीरले उनको आफन्तको दुहाई गरेन । हरिप्रसादले कपाल मुड्यो । छाक छाड्यो । कर्म गर्यो ।

बज्यैसँगसँगै बुढ्यौलीमा विराजमान प्रकृति पनि रोइरहेको थियो । बज्यै एक धर्ति नै थिइन् । उनी विगत केही दशकदेखि व्याकुल थिइन् । आफ्नाहरुले नै उनलाई व्याकुल बनाइरहे । चोट दिइरहे । बज्यैको जीवनलीला चुडियो, वातावरणको काया पनि त्यसरी नै चुडिँदै गइरह्यो । बज्यैको सौन्दर्य, आसा र सपना पनि यही आधुनिकता र सम्वृद्धिको मोहमायाले खोस्यो जसरी धर्तिको आभा पनि आणविक युगमा जर्जर हुँदैछ ।