भास्कर बुढो सिँढीबाट चारहात खुट्टा टेकिने गरी भुइँमा पछारियो । एकछिन त उसले सोच्यो यो के भयो । उसको घुँडा सिमेन्टीमा बजारिएर चोट खान पुगेको थियो । धन्न हत्केला तछारिएका थिएनन् । घर गएर के जबाफ दिने भन्नलाई बाहिर देखिने गरी कुनै चोट देखिएको थिएन । तर भास्कर बुढोलाई लाग्यो उसको समय नजिक आयो । मानौँ समयको प्रतीक्षामा ऊ थियो र समय आएको चेताउन अदृश्यले उसलाई भुइँमा पछारेको थियो । यस्तो भान भयो बुढालाई । भास्कर बुढो जहिले पनि नुहाइधुवाइ चुस्तदुरुस्त देखिने प्रयासमा हुन्थ्यो तर जत्ति नै सुकिलोमुकिलो भए पनि आज दुर्भाग्यले ऊ भुइँमा सोत्तरिन पुग्यो । मनमा आघात पनि लाग्यो, यतिन्जेल आफूलाई चुस्त र फुर्तिलो देखाउने उपक्रमको भन्डाफोर भयो— मान्छे समयको खेलौना रहेछ ।
भास्कर बुढो जसरीतसरी टकटकिँदै उठ्यो । छेउछाउ मानिस हिँडिरहेका थिए । पसलभित्रका मानिसले पनि एकछिन उसलाई हेरे मात्र र फेरि किनमेलमा लागे । उसलाई मन दुखेर आयो । यत्रो बुढो मानिस भुइँमा पछारिएको छ र पनि कसैले च्च–च्च गर्दै उठाउन हात बढाएन । उसलाई शङ्का मात्र लागेन, पत्यार पनि लाग्यो मानिसहरूत्रभित्रको संवेदना सुकिसकेको छ । तर अझै उसमा यो विश्वास थिएन, मानिसहरू यति संवेशदनहीन हुन सक्छन् । उसलाई कसैले ‘ए बुढा याँ काँ सुतेको, बाटो छोड्’ भनेर हप्काएको थिएन, यो अलि राहत दिने खालको सन्दर्भ थियो । हुन पनि ऊ भुइँमा धेरै बेर लम्पसारिएको थिएन तैपनि केहीबेर ऊ घोप्टो परेरै भुइँमा सुतेको थियो । कसैले उठाउला भन्ने आसमा होइन, चोट लागेको ठम्याउन र उठ्न सकिने नसकिने थाहा नभइसकेकाले ऊ त्यसरी नै सुतेको थियो ।
अन्ततः ऊ उठ्यो । मानिसहरूले आश्चर्य भाव पनि देखाएनन्— ‘यसरी पनि बुढाहरू पछारिँदा रहेछन् ।’ वरिपरि हिँडिरहेकामध्ये सबै तन्नेरी वा उमेरदार थिएनन्, केही बुढाहरू पनि थिए । एक जना बुढोले उसलाई पेटीको छेउमा उभिएर एकछिन लाचार तरिकाले हेरिरह्यो र पछि मुन्टो बटारेर अर्कोतिर लाग्यो । सडकमा बाक्ले यातायात कुदिरहेको थियो । एउटा कोचाकेच भएको बस पनि गयो । भास्कर बुढोले त्यो बस समात्नु थिएन तर बसले उसलाई छाडेर गयो भन्ने अनुभूति भयो । ऊ त्यस्तै बस चढेर यता पसलमा किनमेलका लागि आएको थियो । उसले किनमेलका लागि पसल चहर्दाचाहर्दे यस्तो घटना भइदियो । उसको दृष्टिमा दुर्घटना । तर लडेपछि धेरै बेर यथावत् सुतिरहन सकिँदैनथ्यो । ऊ उठेर केही नभएको अभिनय गर्यो । उसलाई कसैले सोधेन पनि कि ‘बा तपाईंलाई चोट लाग्यो ?’ चोट त लागेको थियो । उसले चोटको घात विचार गर्न अलिकति हिँडेर हेर्यो । घुँडा सही थिए । हात चलाएर हेर्यो, ती पनि सही थिए । एक किसिमको नृत्यको पोजिसनमा ऊ रहेछ हात–खुट्टा र खुट्टाको घुँडा चलाइहेर्दा । सब ठीकठाक पाए पछि उसले लुगा टक्टकायो । खल्ती छाम्यो, थोरै रकम भए पनि यथास्थान सुरक्षित थियो ।
घरमा यो डर थियो, भास्कर ससुरा बुढा आज मातेर नफर्कून् । आज ऊ पिउने मुडमा थिएन । सोच्यो — बिहानै के पिउने ? घरमा किनमेल बुझाएपछि सधैँको भट्टीमा पसेर पिउनु पर्ला, इज्जतसाथ । ऊजस्ताको पिउनुलाई इज्जत मानिँदैनथ्यो तर पैसा तिरेर पिएपछि कसैले कसैको इज्जतमा खोट लाउने हक रहँदैन भन्ने सोचाइ थियो भास्कर बुढाको । धेरैले भन्थे बुढेसकालमा पिउनु ठीक होइन । ठीक होइन भन्नुको आशय यो थियो, अकाल मरण हुन सक्छ । उसलाई आज मात्र पनि लागेको होइन, मरण अनिश्चित छ । तर त्यसरी कुनै कारण नै नभई बीचपेटीमा लडेपछि समय नजिक आयो भन्ने लाग्यो । उठेर लुगा टकटकाउँदा भाउन्न भएजस्तो पनि भयो । फेरि लड्ने गरी चक्कर लागेको थिएन तैपनि भित्रबाट मदानीले मथेजस्तो अनुभव भयो । उसले स्वगत भन्यो— ‘एक न एक दिन त सबैलाई जानु छ ।’ तर उसलाई आश्चर्य यसमा थियो मानिसहरू ऊ लडेकोमा विचलित थिएनन् । उनीहरूको सोचाइमा मानौँ यस्ता बुढाको यस्तै हबिगत हुनु स्वाभाविक छ ।
ऊ एकछिन पसलको बाहिरी भागको खाली ठाउँमा मानिसहरूको आवतजावतमा बाधा नपुग्ने गरी उभियो । घरमा छोराबुहारी ऊ फर्कने प्रतीक्षामा होलान् । ऊ केही किनमेल नगरी यसै रित्तै फर्कन सक्थ्यो । घर पुगेपछि स्पष्टीकरणमा भन्न सक्थ्यो— ‘सन्चो नहोला जस्तो भएर यसै फर्कें ।’ दिएको रकम साबुत फर्काएपछि घरकाहरू चिच्च्याउने कुरो थिएन । छोरोले पनि गडेर हेर्ने थिएन— बुढाले धोकेर आएछन् कि ? भास्करलाई यो कत्ति पनि मन पर्देनथ्यो, दारुबाजका रूपमा छोरोले हेरोस् । छोरोले उसलाई दारुबाजका रूमा मात्र हेर्ने गर्दैनथ्यो बरु अवसरको सदुपयोग गर्न असफल व्यक्ति भनेर मान्थ्यो । ‘बा तपाईं यसरी मातेर हिँड्दा हाम्रो इज्जत जान्छ । तपाईंका कारण हाम्रो यस्तो अवस्था छ ।’ छोरो भन्थ्यो तर भास्कर बुढो मान्दैनथ्यो, ‘इज्जत जाने गरी कहिले पिएँ र मैले ? मैले तँलाई पढाएँ लेखाएँ, जागिरमा लागेको छस् । खानलाउन पुगेकै छ । मेरो कर्तव्य पूरा गरेको छु ।’ छोरो उसको जकाफ सही भए पनि सन्तुष्ट हुँदैनथ्यो ।
मूलतः भास्कर बुढोको अगाडि अहिले यो प्रश्न थिएन— छोरोले के भन्ला ? उसलाई खरो रिस यसमा उठिरहेको थियो कि एक जना बुढो बीचपेटीमा पछारिएर घोप्टो परेको छ । मानिसहरूबाट एउटा शब्द पनि सहानुभूतिको उच्चारण छैन । मानिसहरू किन यस्ता भए ? यो प्रश्न उसलाई बिझाइरहेको थियो । त्यो बिझाइ कम गर्ने उपाय गर्नु पर्ने भयो र उपाय थियो । उसले नियमित किनमेल गर्ने किराना पसलको छेउमा एउटा अँध्यारोअँध्यारो साँघुरो गल्ली छ र त्यसबाट छिरेर केही पर गएपछि एउटा भट्टी छ । ऊ त्यतै लाग्यो । भट्टीबाट निस्कँदा ऊ मातेको थियो । घर पुग्ने चेत उसको हराइसकेको थियो । किनमेलको कुरो बिर्सियो । निर्भय भएर ऊ हल्लँदैहल्लँदै गल्लीको अगाडि पर्ने व्यस्त सडकको बीचमा उभिन पुग्यो ।
भास्कर उभिन सक्दैनथ्यो तर हल्लिँदैहल्लिँदै ऊ बीच सडकमा पोलझैँ उभिने चेष्टामा थियो । उसलाई यसरी उभिनुमा सार्थकता छ भन्ने लाग्यो । गाडीवालाहरू चिच्च्याइरहेका थिए— ‘ए बुढा हट्, साले ! जा, मर्ने मन छ भने विष्णुमतीमा गएर हामफाल !’ विष्णुमतीमा पानी कम छ भन्ने सबैलाई थाहा छ । तर रिसको झोँकमा कसले गीता पाठ गर्छ र ! कारवालाहरू उसको छेउबाट बाटो निकालेर जान्थे । पर पेटीमा केटीहरू मुख छोपेर हाँस्दै उसको चर्तीकला हेरिरहेका थिए । भास्कर बुढो भन्दै थियो— ‘लौ आओ ए मान्छे हो मलाई किचेर जाओ ।…हिम्मत छ ? मलाई हेप्ने ? सडक तिमीहरूको बाउको हो ?’ हल्लिँदैहल्लिँदै ऊ यस्तैयस्तै फलाक्दै बस अगाडि उभिन जाने उपक्रम गथ्र्यो र ड्राइभरले सडक चिरिने गरी ब्रेक लगाएर बस रोक्थ्थो । एउटा भद्दा गाली उच्चारण गर्दै ड्राइभर झ्यालबाट टाउको झिकेर चिच्च्याउँथ्यो— ए बुढा मर्ने मन छ कि क्या हो ?’ प्रसङ्ग नमिले पनि भास्कर बुढाले सोधेको सडक कसैको बाउको थिएन तर ड्राइभरलाई उसले यसो भनेको छ भन्ने थाहा थिएन ।
केहीबेर यस्तै खेलाबैला मच्चिएपछि उताबाट ट्राफिक प्रहरी टिर्र–टिर्र सिठ्ठी फुक्दै भास्कर बुढोको पाखुरा समात्न आइपुग्यो । ऊ पहिले त प्रहरी तानेतिर गएन, अडिन खोज्यो । ‘लगेर खोरमा जाक्छु र । खुरुक्क पेटीतिर हिँड् बुढा !’
भास्कर बुढोको मात केही ओरालिएको थियो तर उसले अप्रासङ्गिक रूपमै ट्राफिक प्रहरीलाई धम्काउँदै भन्यो— ‘लौ लैजाओ जता लैजाने हो । साना माछा समात्ने त हौ तिमारू । ठूला माछातिर त आँखा उठाएर हेर्न सक्दैनौ ।’
भास्कर बुढोको भनाइमा प्रहरीले केही हप्की थपेन । उसले बुढोलाई डोर्याएर पेटीमा पुर्यायो । बस चढाएर घरतिर पठाइदियो । के प्रहरी जवानले ठूलो माछा समात्न सकिन्न भन्ने प्रसङ्गमा घत मानेर बुढालाई फ्रीमा बस चढाएर घरतिर पठाइदिएको हो ? भास्कर बुढोले मात ओर्लेपछि घरमा बुहारीको खप्की खाँदै सोच्न सक्छ, सोच्यो पनि— मान्छभित्र केही संवेदना बाँकी छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।