म बिरालो हुँ। किन ? अचम्म लाग्यो ? के बिरालोहरु जापानी लेखनमा मात्र बोल्ने हुनुपर्ने हो । कृष्ण चंदरले उहिल्यै गधा र नेहेरुको भेट गराएर विचार विमर्श गराएका थिए, यो देश पनि त पारिजात, देवकोटा , गौतमहरूको देश हो ।
एक क्षणलाई कल्पनाको फैलावट बढाऔँ न मित्रहरु हो ।
मैले कति फोर्थवाल ब्रेक गर्नुपर्ने हो र ?
बिरालोहरु प्यारा हुन्छन्। त्यसैगरी म पनि प्यारो छु। क्युट छु। कमसेकम इन्स्टाग्राम र टिकटकतिर राम्रो कन्टेन्ट बन्न लायक ! मलाई सबैभन्दा मन पर्ने काम सुत्नु हो। दुनियाँको मतलब नगरी बस् सुतिरहनु। आखिर मतलब गर्न लायक नै के छ र यो दुनियाँमा ? सुत्ने र रमाउने कामबाट जति समय शेष रहन्छ, म त्यो समय समाचार र किताब पढ्नमा बिताउँछु । र कहिले कसो सिनेमा पनि हेर्ने गर्छु । सामाजिक सञ्जाल भन्ने कुरा मन नपरे पनि त्यहाँ कहिले कसो संसारभरका यावत् प्रजातिका बिरालो साथीहरुले बनाउनु भएका मिम र भिडियो हेर्ने गर्छु। यस्सो विचार गर्दा लाग्छ यो आधुनिक युगमा मान्छेका सबै भन्दा मिल्ने साथीहरु बिरालो भएका छन्।
….
अचेल साँझ साँझ हिँड्ने बानी परेको छ । त्यसो गर्दा धेरै फाइदा हुने रैछन् । चिसो हावा खाँदै ढलिरहेको घाम हेर्ने मिल्ने, राति मीठो निद्रा पर्ने, जीवनका नगण्य सूक्ष्मतालाई नियाल्न मिल्ने ! महसुस हुने जीवन त्यति खत्तम पनि होइन !
तर मलाई साँझ हिँड्दै गर्दा सबैभन्दा मन पर्ने कुरा चाहिँ म सँगसँगै बिरालो पनि हिँड्दछ। म सम्झन्छु म पहिले कति भयङ्कर राष्ट्रवादी थिएँ, पछि मानवतावादी भएँ। र अहिले आएर बिरालोवादी भएको छु । ‘म्याऊ’वादी भएको छु। र बिरालोको बेप्रवाह जिन्दगीबाट प्रभावित भएर होला, अहिले आएर मलाई दुनियाँको खासै मतलब पनि छैन !
आखिर,
ये इंसान के दुश्मन समाजों की दुनिया,
ये दौलत के भूखे रवाजों की दुनिया,
ये दुनिया अगर मिल भी जाए तो क्या है .
….
मन्टो भन्थे, ‘बिरालो र नारी मेरो समजभन्दा बाहिर छन्।’
नारीका बारेमा त थाहा भएन तर बिरालो प्रजातिलाई जो कोही बुझ्न सक्दैनन् !
….
घाम ढल्दै थियो । चिसो हावा चल्दै थियो । बाटोको छेउमा म हिँड्दै थिएँ । अर्को छेउमा बिरालो मेरै रफ्तारमा मलाई पछ्याउँदै थियो !
यत्तिकैमा बिरालो रोकियो । म पनि रोकिएँ। ऊ कसैको खुट्टामा लुटपुटिएको थियो !
म बिरालो नजिक गएँ। मेरा अघि थियो एउटा सुन्दर मुस्कान, र थिए दुई शान्त आँखाहरु !
ती दुई शान्त आँखा बिरालोका अर्का दुई शान्त आँखासँग ठोकिए । र सुमधुर आवाजमा एउटा शब्द हावामा गुञ्जियो !
‘हाई…’
बिरालो चुपचाप आफ्नै शान्तिमा मस्त थियो !
उसले अझै अङ्ग्रेजी सिकेको छैन। अहिलेलाई उसलाई नेपाली मात्र आउँछ ।
(ए भगवान् ! यो मान्छे किन हिन्दी फिल्म हेर्छ यार ?)
नेपालीमा कुन कुन शब्द आउँछ नि ?
म्याउँ, सुरी ।
ऊ हाँसी ! (धन्न)
…..
ऊ अचेल साँझ हिँड्दा अलिक बढी खुसी हुन्छ। कहिले मुस्कान साट्छ । कहिले ‘हाई…’। कहिले नमस्कार!
कहिले कसो मसँगै हिँड्छन् यी दुई प्राणी । त्यो समय म अलिक सुस्त हिँड्छु । एकछिन गफ गर्छन् । खुसी हुन्छन् । मुस्कान साँट्छन् । मौनता साट्छन् ।
दिनहरु यसरी नै खुसीका धागोमा बेरिन्छन्, फुत्किन्छन्, बित्छन् ।
एकदिन ऊ साँझ हिँड्न आइन ।
अर्को दिन :
तिमी हिजो नआएर बिरालो क्या दुःखी भयो नि ! हिँड्नै मानेन, तिम्रो ‘हाई’ खुब मिस गर्यो रे ।
उसलाई अङ्ग्रेजी आउँदैन भन्या होइन ? मेरो निधारमा हात राख्दै उसले सोधी ।
तिमीसँग बोल्न पाए अङ्ग्रेजी त के ऊ फ्रेन्च पनि सिकिहाल्छ ।
है ! धन्न यो बिरालो छ मलाई सम्झिने । म नआउँदा मेरो ‘हाई’ मिस गर्ने ।
कोही मान्छेहरुलाई त यहाँ अरु मान्छेको मतलब नै छैन ।
आफ्नो अनुहारमा सूक्ष्म मुस्कान लुकाउँदै उसले भनी !
यति सुनेपछि केटो लजायो। केही बोल्न खोज्यो, खोज्यो मात्र, बोल्न भने केही सकेन।
किन ऊ उनको नजिक हुँदा अर्कै मान्छे बन्थ्यो, किन उसलाई अघिसम्म बेकार लागेको संसार कता कता सुन्दर लाग्न थाल्थ्यो ! जीवन किन बाँच्न लायक हुन्थ्यो ? अनि संसार बचाउन लायक !
हावामा जुन मोहकता उडेको हुन्थ्यो । सायद जीवनको अर्थ त्यही हो, उनको आँखामा जुन चमक थियो, सायद जीवनको उज्यालो पनि त्यही हो, गन्तव्य पनि त्यही हो, अन्त्य पनि त्यही हो !
‘ जीवन भनेको त दुःख हो र बाँच्नु भनेको दुःखमा पनि अर्थ खोज्नु हो, होइन र ?’
ऊ पनि यस्तै सोच्थ्यो, ती पुराना दार्शनिक जस्तै !
होइन रहेछ !
कहिलेकसो जीवन कति धेरै अर्थ बोकेर समीप आउने रहेछ ।
बस अङ्गाल्न सक्नु पर्यो ! बस् नजिक जान सक्नु पर्यो !
एउटा मायालु स्पर्श काफी हुने रहेछ ! यी अर्थहीनताका कङ्क्रिट सहरहरुलाई ध्वस्त बनाउन । त्यसैले सायद अर्थहीनता विरुद्धको क्रान्ति नै प्रेम हो।
….
प्रेम सायद मृत्यु हो।
किन ?
मोक्ष प्राप्तिको गन्तव्य, मृत्युको बाटोमा हिँडेर मात्र पुगिन्छ।
वाह ! दामी कुरा भन्यौ त !
केटो एक पल मख्ख पर्यो, दुई पल मुसुक्क हाँस्यो ।
केटीहरूले सुनिदिए मात्र पुग्छ । केटाहरू कमेडी गर्न थाले जर्ज कार्लिन बन्छन्, कविता लेख्न थाले आफूलाई देवकोटा सोच्छन्, गफ गर्न थाले आफूलाई शाहरुख खान ठान्छन् । दर्शन, खेलकुद, कला, साहित्य, विज्ञान, सिनेमा, सङ्गीत जे कुरामा पनि गफ दिन सक्छन् !
सिउडो- इन्ट्लेक्ट पोख्न सक्छन्। बस कोही सुनिदिने मात्र हुनु पर्यो! उत्तिनै जिज्ञासाले जति अभिलाषाले उनीहरू सुनाउने गर्छन् । हावा कुरा सही, कोही त चाहिने रहेछ आखिर कुराहरु सुन्नलाई ।
यी दुई अजीव प्राणी जो मेराअघि छन् । एउटा प्राणी जो गरिरहेछ कुरा तार न ताम्यका आँखाभरि उत्सुकता बोकेर र अर्की प्राणी छिन् जो यी कुराहरु सुनीरहेकी छिन्। उत्तिनै जिज्ञासा आँखाभरि छरेर । मानौं यी दुवै यस्ता तरल आत्मा हुन् जसको स्पेसिफिक ग्रयाभिटी उस्तै छ र क्रमशः मिस्सिदै छन् दुई अस्तित्व एउटामा!
……..
हिजो साँझ तिम्रो खुब याद आएको थियो नि मलाई !
ए ! हिजो साँझ मात्र ? हुन त तिमी कहाँ सम्झन्छौ र मलाई !
होइन होइन। म त सधै सम्झन्छु नि तिमीलाई! कम बेसी भन्ने मात्र कुरा हो।
हेर न, अझ कुरा बिग्रिसकेपछि कुरा मिलाउन कति जानेको !
अँ किन याद आयो त त्यसो भए ?
हिजो साँझ बिजुली गाको थियो त्यति बेला तिम्रो मुस्कानको खुब याद आयो !
उसले आफ्नो हाँसो थाम्न सकिन, एकछिन पछि सोधी कुन फिल्मको लाइन हो यो ?
केटो पनि हाँस्यो अहिले त नाम बिर्सिए भनेर कुरालाई मोड्यो !
……
प्रेमले मान्छेलाई शान्त बनाउँछ, साधु बनाउँछ, बुद्ध बनाउँछ!
अनि घृणाले ?
घृणाले जे सुकै बनाओस्, सके प्रधानमन्त्री राष्ट्रपति बनाउँला तर बुद्ध बनाउँदैन!
के प्रेमले मान्छेलाई श्रीमती सन्तान घर चटक्क छाडेर जङ्गल पस्ने बनाउँछ र ?
प्रेमले त बनाउँदैन, बनाउन नपर्ने हो तर विवाहले बनाउन सक्ला! त्यसका बारे चाहिँ मलाई खासै ज्ञान छैन।
यो सुनेर ऊ मस्त हाँसी।
तिमी कति फन्नी हौ । उसने भनी।
(हो र ? उसले मनमनै सोच्यो, नभए पनि यति राम्री मान्छेले भनेपछि कसले विश्वास गर्दैन र ? उसले पनि विश्वास गर्यो ।)
मलाई प्रेम जस्तो आध्यत्मिक कुरा अरु छ जस्तो लाग्दैन । आखिर प्रेम त हो जसले मान्छेलाई ईश्वरको नजिक पुर्याउँछ, सायद प्रेमको अस्तित्व नै ईश्वरको अस्तित्व हो। यो सुनेर पहिले त केटो मख्ख पर्यो, त्यसपछि झसङ्ग भयो। होइन तिमी त आफू एथिस्ट भन्थ्यौ, अहिले फेरि ईश्वर, प्रमात्माका कुरा गर्यौ ?
हावा दर्शनवाला गफ तिमीलाई मात्र आउँछ र ?
यति भनेर ऊ हाँसी । मलाई बोलाई, हामी सँगै दगुर्न थाल्यौँ !
केटो हाम्रो चर्तिकला हेर्दै मुस्कुरायो ।
……….
उसले मलाई ‘दि नेमसेक’ हेर्न भनी, मैले हेरेँ!
फिल्म कस्तो लाग्यो ?
तपस्याजस्तो । अनुपम सौन्दर्यजस्तो । मुटु छोएजस्तो ।
देख्यौ ! मुटु नछुने मुभी म कहाँ हेर्न भन्छु र ?
यसो भन्दै गर्दा उसको मुहारमा मसिनो मुस्कान पोतिएको थियो। त्यतिकैमा साँझको चिसो हावाले हामीलाई स्पर्श गरेर गयो।
तिमीलाई सबैभन्दा मन परेको सीन?
समुद्र किनार वाला दृश्य !
‘बाबा, मैले कति समयका लागि सम्झनुपर्छ ?’
‘बाबु तिमीले जीवनभरलाई सम्झनु, तिमी र मैले त्यहाँसम्मको यात्रा गर्यौँ जहाँबाट अघि जानलाई बाटो नै थिएन।’
यो सुन्दा उसको अनुहार आत्मसन्तुष्टिले प्रदीप्त थियो !
त्यसपछि उनीहरू केही बोलेनन् । मानौँ अब शब्दहरूको कुनै आवश्यकता नै रहेन। केवल मौनतामा मुस्कान साटिरहे !
…..
चियाको पहिलो चुस्की खाएपछि उसले भनी, ‘चिया त एकदम मीठो बनाउने रैछौ तिमी !’
– बनाउन खोजेको त मख्ख हो, अहिलेलाई चियाले नै काम चलाम न है! के छ र ?
तिमीलाई थाहा छ एक महान् दार्शनिक भन्ने गर्थे चिया खानु अघिको म र चिया खाएपछिको म दुई अलग मान्छे हुन्।
मलाई किन किन ती महान् दार्शनिक तिमी नै हौ जस्तो लाग्दैछ।
लाग्नु स्वभाभिक हो, म पनि त बेला बेला चाहिने नचाहिने दर्शन छाँटिरहन्छु।
बाहिर पानी पर्दै थियो । पानी पर्नु पनि सङ्गीत हो।
तिमीलाई चिया किन यति विधि मन पर्छ ?
खै यसै !
मान्छेहरुलाई चिया किन यति विधि मन पर्छ ? मैले कहिल्यै बुझ्न सकिनँ ।
चिया खाका छन् कहिले सिरियाको चिन्ता लिएका छन्, कहिले कश्मिरको! कहिले प्रेमको सौन्दर्य जोतेका छन् कहिले प्रमियर लिगको गफ।
कहिले साम्यवाद भुकेका छन् कहिले समाजवाद!
यति धेरै विषयमा गफ लगाउन मिल्ने यो कस्तो चिया हो ?
धन्न मार्क्स दाजुले धर्म चियाको नशा हो भनेनन् ।
दुई चार चियाको चुस्की खाएपछि ऊ भन्छे, ‘तिमीलाई मृत्युसँग डर लाग्छ ? मृत्युपछि कसरी बिलाउन मन छ तिमीलाई ?’
‘आज मौसम कति रोम्यान्टिक छ’ भन्नु। ‘रनवीर कपुर क्या हट छ’ भन्नु । ‘यो शनिबार कतै घुम्न जाम’ भन्नु !
यो उमेरमा यस्तो निरासावादी कुरा को गर्छ यार ? अस्तित्वको यति गरुङ्गो भारी को बोक्छ ?
अझ केटो जवाफ फर्काउन थाल्छ ।
‘खै दुःख जेमा हुन्न त्यस्तो मृत्यु । निदाउँदा आज अन्तिम पटक निदाउँदै छु भन्नेबाट बेखबर मृत्यु । चुपचाप । सुनसान । शान्त । पीडारहित मृत्यु।
तिम्रो मृत्युपछि तिम्रो शरीरलाई के गरियोस् भन्ने चाहन्छौँ ?
-खै थाहा भएन, तर सायद जलाएको ?
मेरो मृत्यु जस्तो होस् तर म यस्तो तरिकाले बिलाउन चहान्छु ।
मौनता मौनता एकछिन मात्र मौनता
कसरी?
म चहान्छु मेरो मृत्युपछि मेरा विज्ञानले साट्न मिल्ने सबै अङ्गहरु निकालियून् । मेरो मृत्युपछि मेरा आँखाहरुको सहायतामा कसैले संसार देखोस् । सौन्दर्य देखोस् । दुःख देखोस् । दुनियाँ देखोस् । मेरो मृत्युपछि पनि मेरो हृदय कसैको प्रेममा बेस्सरी धड्किन सकोस् । फोक्सोले सास लिएर प्रकृतिको अनुकम्पा चिनोस् । छालाले प्रेम महसुस गरोस् आत्मीयताको न्यानोपन थाहा पाओस् ।
त्यो सिप अफ थिससजस्तै ?
हजुर ठ्याक्कै त्यस्तै !
अनि बाँकी शरीर ?
बाँकी शरीर एनाटोमी विद्यार्थीले पढून् ।
वा फालियोस् जङ्गलमा । र त्यहाँ गिद्धले लुछ्दै एक दिनको आहारा बनाउन्। त्यसपछि सूक्ष्म जीवहरूले मलाई माटोमा समेटून् ।
कसैले सोधे मेरो
अन्तिम इच्छा
म उसलाई के बताऊँ?
कार्बनबाट बनेको म
फेरि पनि,
कार्बन नै बन्न पाऊँ
एटम नै बनी
प्रकृतिमै हराऊँ ।
सासको आवाज, सासको आवाज , त्यसपश्चात मेरो म्याऊ ।
अन्तिमको कुरा पोयटिक हो या स्याडिष्ट मैले छुट्टयाउन सकिन !
…..
कुनै विदेशी पर्यटक ठिटीसँग नेपाली समाज, विश्वसाहित्य, सिरोयान, भूपी, रोका, पारिजातका कुरा गरेर म थकाइ मार्दै थिएँ ।
अघिको दृश्यले मेरो ध्यान खिच्यो । मैले सी ए टी क्याट्, क्याट् माने बिरालो भनेर लेखेको भन्दा धेरै इभल्भ बिरालो मेरा अघि थियो ।
नजिक आएर भन्छ, ‘शङ्करज्यू नमस्कार !’
हैन ! नेपालका लेखकहरु कति झुर लेख्न थाले र हौ एक हजार वर्ष भन्नुहुन्थ्यो, एक सय वर्षअघि नै भेटिनु भो त ?
त्यति भनेर बिरालो अघिको बेन्चमा गयो जहाँ दुई प्रेमिल प्राणी बसेका थिए । बिरालो केटोको काँधमा चढ्यो, जसको अर्को काँधमा उसकी प्रेयसीको शिर थकाइ मार्दै थियो । घामले फर्किने बाटो खोज्दै थियो । सायद ती तीन प्रेमिल प्राणी हेर्दै थिए, अर्धमूदित नयनले डुब्न लगाएको घाम !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।