मलाई अपवादमा बाहेक शून्य मन पर्छ । शून्य हुनु भनेको जिरो हुनुमात्र हैन । बरु शून्य हुनु भनेको स्वामी हुनु हो । कुनै स्त्रीको स्वामी नभई स्वयं आफ्नो स्वामी हुनु हो । शून्यमा शून्य हुनु भनेको घामपछिको इन्द्रेणी हुनु हो । मानवीय ढाँचामा सप्तरंगी इन्द्रधनुष हुन भाग्य मात्र हैन सौभाग्य पनि दह्रो हुनुपर्छ । र मेरो त नामै काफी छ – सौभाग्य । सौभाग्य विक्रम राणा ।

मेरो जन्म शून्य समयमा भएको हो । घडीमा शून्य हुँदैन तर प्रकृतिलाई शून्य समयको राम्रो ज्ञान छ । पारिजात पनि शून्य समयमा फुल्छ तर एउटै समयमा फुले पनि, म त्यसले जति सुवास छर्न सक्दिनँ ।

म एकभन्दा पहिले शून्य थिएँ । सम्भावना भावुक हुनुअघि मेरो शून्यतासँगको सम्बन्धमा ब्रेक लागिसकेको थियो । सम्भावना कुँवर मान्छेको स्वरुपमा एक अप्सरा । इन्द्रलोकबाट मेरै निमित्त भागेर आएकी हुनुपर्छ । मेरा अपर्याप्त शब्दले उसको बयान गरेर सकिन्न । ऊ चन्द्रमाको शितलता ओढेर आएकी छे । मुहारमा सूर्यको तेज पोतेर यो जगलाई उज्यालो बनाउने अभियानमा छे । ऊ मेरो नजरमा आउनुअघि शरीरमा बाहिरी चोट केही थिएन तर मभित्र लाभा उकुसमुकुस भैरहेको थियो । बाल्यकालको लगाभ थाहै नपाई कहिले प्रेममा बदलियो र सम्हालिने आँट गर्दै हिँड्दा साथ छुट्यो पनि । दैवको कस्तो खेल हो कुन्नि उसले केही दिन पहिले मात्र बिहेको प्रस्ताव स्विकार्दै मलाई शून्यबाट एक बनाउन खोजी । कुनै महान् कविले भनेका थिए सफल हुनु छ भने स्त्रीको साथ लिनु र चाहन्छौ अँध्यारोमा धकेलिन तब स्त्रीको मात्र साथ लिनु ।

रूपक अधिकारी

परम्परागत मान्यता वा कानुनको मन्जुरी बिना नै हामी बन्धनमा बाँधियौँ । कसले पो सम्बन्ध क्षणभरको कल्पना गरेको हुन्छ र । हाम्रो सम्बन्ध दियो र बाती जति पवित्र र अनन्तकालसम्मको लागि हो भन्थी ऊ । मलाई पनि त्यस्तै लाग्यो । तर दियोमा तेल चाँडै सकिन्छ भन्ने भुल कसरी गरेँ थाहा छैन । हामी जुन नसामा थियौँ त्यसको सामु हामी दुबैले पिएको मदिराको असर शून्य बराबर थियो ।

‘त्यस रात घटेको अकल्पनीय घटनाले हाम्रो जीवन नै अँध्यारो हुँदै थियो भन्ने कुरा सम्झँदा पनि भ्रम जस्तो लाग्छ ‘ मैले भनेँ । एकछिन त ऊ अलमल्ल परी । उसलाई मदिराको असरजस्तो लाग्यो । शराब पिएर सत्य बोल्छन् भनेको सत्य नै त होला नत्र किन । मेरो कुरा उसले कति बुझी कुन्नि तर त्यही रात हामी एक र अलग एकैसाथ भयौँ । सम्बन्धमा पारपाचुके भैसकेपछि आफूलाई मृत्युदण्ड दिन शून्य समयको पर्खाइमा थिएँ । मलाई औडाह भैरहेको थियो । छातीमा मुटु हतौडाभन्दा जोडले प्रहार भइरह्यो । ढुकढुक । ढुकढुक । त्यतिबेला मलाई अचानक बान्ता भयो । बाल्यकालमा यदाकदा बाहेक खुब बान्ता हुन्थ्यो ।

जवानीको भुसागरमा टेकिसकेपछि मेरो कारणले थुप्रै किशोरीहरूले बान्ता गरेका थिए । मिथकजस्तो लाग्ने घटनाको साक्षी सिग्नलमा उभिएको सिसिक्यामेरा पनि थियो । आफूअगाडि उभिएर कसैको प्रतीक्षा गरिरहेको भलो मान्छेमाथि मैले उल्टी खन्याइदिएँ । आफूउपर अलकत्राको वर्षा हुँदा पनि भद्र मान्छे जंगिएन । ऊ रिसाएन बरु एउटा मुस्कान छाड्दै बिदा भयो । कति शालीन व्यक्तित्व । कास म यस्तै हुन्थेँ त शून्यताले मलाई छोडेर जाने थिइन । म एक्लो हुनुपर्ने थिएन । एक्लो भएर म जिन्दगीको अन्तिमतिर बढ्न बाध्य हुने थिइन । खैर म अघि बढेँ , एक्लै । जति अघि बढे पनि मेरा पाइला छायाँभन्दा पछाडि नै रहे । बाटोभरि मेरो नजर सुरुवाततिर मात्र ठोक्कियो । म हिँडे । म हिँडिरहेँ । म हिँडि नै रहेँ । गन्तव्यहिन यात्रामा मोबाइलले मेरो पाइला गनिरह्यो । तर वास्तवमा यो गणितको काम थिएन । थियो त केवल जन्मको कथा बोल्ने प्रसुतीगृह । म यो प्रसुतीगृहमा जन्मिएको हैन तर आमालाई यहाँ ल्याउन सकेको भए सायद मेरी बहिनी ज्युँदो हुने थिई । उत्पादनको भाका गाउने कम्पनी रजिस्ट्रारको कार्यलय । तर मेरो घर खेत यहाँ दर्ता नभएर होला उत्पादनले बजार पाउन सकेन । होटलहरू । पार्कहरू । सुरवातका कथाहरू एकपछि अर्को छाउँदै थिए । बत्ती निभ्न लाग्दा चहकिलो बल्छ भनेझैँ मृत्युतिर लम्किएका पाइला जन्मको बाटो हुँदै हिँड्यो । हिँडिरह्यो , अविरल यात्रामा ।

***

चितामा अन्तिम अर्पणका रुपमा उसले नाभी काट्दा छिनेको नालजस्तै ससाना दाउराका चोइटा चढाई । उसलाई त्यो सब गर्न पनि अरुको साथ चाहिएको थियो । तर उसको मौनताले दाउराका हरेक हिस्सामा समवेदना लेख्न सक्ने सामर्थ्य राख्थ्यो । उसको आँसुले मायामा सति जाने चाहना मिसाएर गङ्गालाई पवित्र बनाइरहेको थियो । ह्विल्चेयरमा बसेकी उसलाई सलाइन पानी चढाइँदै थियो । आफ्नो अन्त्यको भिक माग्दामाग्दै उसले भर्खरै कुनै तिलस्मी गुमाउनुपरेको देखिन्थ्यो । उसको गहिराइमा डुबेर मेरो अकल्पको खोज माथि उत्रन थाल्यो । उसलाई देखेर लाग्यो म एक्लै हैन रहेछु जो आफ्नो मृत्युको आलाप गरिरहेको छु । यहाँ हरेक आत्मा अरुको जीवन प्रार्थना गर्दै स्वयं आफ्नो लागि मृत्युको भिख माग्दो रहेछ ।

केहीबेर पहिलेसम्म म मर्न तयार थिएँ । मृत्यु बाहेक अरु कुनै बाटो देखेकै थिइन तर एकाएक म कसैको लागि ज्युन तयार भएँ । म अब शून्य मात्र थिइन । सम्भावनासँग मिलेर एक हुने अध्यायमा थिएँ । शून्यतासँगको सम्बन्धभन्दा विपरित हुँदै थियो । मेरा आँखा कराउन थाले । मेरा ओठ बर्बराउन थाले । कुनै रोगीले झैँ मैले र्‍याल चुहाउन थालेँ । म भुइँमा ढलेँ । भ्यात्त । कुनै फल कुहिएर झरेझैँ । फल झर्नु भनेको सकिनु वा नासिनु मात्र हैन रहेछ बीज जमिनमा मिलेर फेरि अंकुराउनु पनि रहेछ । तर म अंकुराउने गरी ढेलेको थिइन । म लढ्दा एक्लै लढेको थिइन । लाचार सम्भावनामाथि खनिएको थिएँ । बर्सेनी खनिने पहिरोजस्तै ।

***

आँखा खुल्यो तर खुला भएको कुनै अर्थ भएन । अगाडिको दृश्य मेरो लागि फाइदाको थिएन । हुन त मैले कुनै ब्यापार पनि गरेको हैन फाइदा हेर्न । न भगवानले नै गरेका छन् । तर …

‘तर के सौभाग्य ? ‘

नाममा भाग्य जोडिएको हुँदैमा भाग्यमानी नभइने रहेछ । मेरा आँखा त्यसदिन नखुल्नुपर्ने थियो । आँखा खुल्नुनै थियो भने सम्भावनाको काखमा खुल्नुपर्ने थियो तर त्यस्तो भएन । शून्यतासँग पनि यही भएको हो । तर शून्यतासँग आँखा बन्द गर्ने कुरा भएको हो । उसले पत्थर सामु आँखा बन्द गर्न भनी । मैले पनि नहिचकिचाइ उसलाई हेरेर आँखा बन्द गरेँ । ऊ पत्थरभन्दा कम थिइन । जसलाई हामी भगवान् भन्दै आफ्ना दुख कष्ट सुनाउँछौ उसले कहिले पो सुनेका छन् र । सुने पनि त सुन्दिन थिइ मेरा मनका रहर । मायाले म उसलाई सुन्ने भन्थेँ तर उसलाई त्यसरी बोलाएको पटक्कै मन पर्दैनथ्यो । यहाँ हर प्रेमिका चाहन्छे उसलाई उसको प्रेमीले बोलाउने नाम फरक होस् तर शून्यतालाई अहँ ! म प्रकृतिको काखमा जाउँ भन्थेँ । उसलाई सिनेमाघर र रोदिघर प्यारा लाग्थे । म बुवा आमाको साथमा रही नेपालमा केही गरौँ भन्थेँ । उसलाई ओपेरा अगाडि तस्बिर खिचेर बर्गर खान मन लाग्थ्यो । र यसरी तोरीको साग र आइसबर्ग लेट्युस दुई ध्रुवतिर ध्रुवीकरण हुँदै गए ।

‘सौभाग्य !’

श्रुतिको आवाजले म फर्किएँ । तर बगेको समय र खोला कहिल्यै फर्किँदैनन् । शून्य अब कहिल्यै फर्किन्न । दशैंमा पनि नाइँ । भलै घरकाले आजसम्म बुहारीको अनुहार देखेका छैनन् तर कसैको भैसकेको कुरा नकार्न पनि त मिल्दैन । अब घर जाउँ पनि कसरी ? मैले त घरको ठेगाना र नक्सा सब भुलेको हुँ । जिन्दगीको चालक बिना घर जानु भनेको मेरा लागि हवाइआड्डा नभएको ठाउँमा विमान अवतरण गर्छु भन्नु बराबर हो ।

‘त्यसोभए मलाई किन लिएर जाँदैनौ ? म तिम्रो प्रेमको हिस्सा नभए पनि किस्सा त हुँ । तिमीले नगरे के भयो त मैले त तिमीलाई मिराले कृष्णलाई झैं प्रेम गरेकी छु ।’

होस सम्हालेदेखि श्रुतिलाई आफ्नै आँखा अगाडि देखेको छु । उसको सुन्दरता र स्वभाव मेरो घरमा सबैलाई मनपर्छ । ऊ गैरसरकारी संस्था चलाउँछे र मेरो जिन्दगी पनि । उसले मलाई पलेकी छे भन्न सर्म लाग्दैन । तर त्यसको बदलामा प्रेम । अहँ । यदि आज मैले उसलाई स्विकार्छु भने मजस्तो तुच्छ अरु कोही हुनै सक्दैन । हुन त म जस्तो घटिया मान्छे अझै तल गिर्ने ठाउँ छैन तर पनि जानाजान देवतालाई दास बनाएर पाप गर्न सक्दिनँ ।

‘कहाँ हराएको सौभाग्य तिमी ? के मेरो मायाले तिमीलाई कहिल्यै छोएन ? तिम्रो मनमा मेरो लागि माया पलाउन मैले के रोप्नुपर्छ भन, म तयार छु ।’

‘तिमीलाई सुदामाझैं हेरेको छु । सुदामा अर्थात् मित्रताको सगरमाथा । पत्नी बनाएर अँध्यारो गुफामा लैजान सक्दिन ।’

‘मायामा कसैले पनि मिरा हुनु नपरोस् । यसमा तिमी दोषी छैनौ तर तिमीसँग प्रेम भयो त म के गरुँ ? तिम्रो हुन पाउँदिन भन्ने जान्दाजान्दै पनि टाढा हुन सक्दिन । म त आफ्नो जिन्दगी जसोतसो बैलगाडाझैं धकेलिरहन्छु । तिमी के गर्छौ ? के गर्ने सोचेका छौ ? घर, आफन्त र समाजलाई के उत्तर दिन्छौ ?’

आजसम्म मैले दिने उत्तर मेरा हरेक बगलीमा हुन्थे तर अब मौनता बाहेक केही छैन । श्रुतिलाई पनि त्यही मौनता मात्र दिएँ । आँखाभरि आँसु छचल्काउँदै ऊ बिदा भई । तर उसलाई यसरी बिदा गर्नु थिएन । सुगम पोख्रेलको गीतमा झैं श्रुतिको माया गाढा लाग्यो तर मलाई अर्को मान्छे बिदा गर्नु थिएन । सम्भावना कुँवर ।

उसलाई के भयो होला ? मनमा उसैको मात्र तस्बिर नाच्न थाल्यो । यतिबेला मलाई ऊ जुनसुकै हालतमा भए पनि हेर्न मन थियो । देख्न मन थियो । मन लाग्दैमा सबैकुरा कहाँ पाइन्छ र । मन त केही अघि मलाई मर्न पनि लागेको थियो तर मैले कहाँ पाएँ र ? कमसेकम जन्म र मृत्यु कसैले चाहँदैमा नहुँदो रहेछ ।

***

यता अस्पतालले मलाई बिदा दियो । डक्टरले बिदा दिए पनि जिन्दगी अझै हाजिर मागिरहेको छ । एकदिन पनि गयल हुन पाइन । म त्यहाँ फर्किएँ जहाँ मैले अपराधी हुनु परेको थियो । मलाई आज पनि यो खाट घाट बराबर नै लागिरहेको छ । यहाँ मेरो अन्तर जलिरहेको छ । बस दागबत्ती दिने हात कहीँ देख्दिन । सुन्ने पनि छैन । अब त श्रुति पनि गैसकी । सम्भावना कहाँ, कुन अवस्थामा छिन् केही थाहा छैन ।

फोनको घण्टी बज्यो । वर्षौंअघि अन्तिम कल गरिएको नम्बरबाट फोन आइरहेको थियो । सम्भावनाको तस्बिर मोबाइलमा दिल खोलेर हाँसिरहेको थियो । मेरा हात गोडा एकसाथ काम्न थाले । यस्तो लाग्यो अचानक मलाई कामजोरो आयो । यतिकैमा फोन काटियो । म भुइँमा ढलेँ , फेरि एकपटक । र यसपटक म एक्लै नै लढेँ । फेरि एकपटक फोन बज्यो । फेरि एकपटक सम्भावना मज्जाले हाँसी । यसपटक डराउँदै उठाएँ ” हेलो ” केटाको आवाज सुनियो ।

‘हजुर !’

‘सौभाग्य ?’

‘हजुर हो त ।’

‘तपाईं तुरुन्तै अस्पताल आउनुपर्ने भयो ।’

तर … म केही बोल्थेँ त्योभन्दा पहिल्यै सम्पर्क टुटिसकेको थियो । बिल्कुल यसरी नै एघार वर्ष अघि सम्भावनाले फोन राखेकी थिई । घडीमा तीन काँटा एक साथ आउन बाह्र बज्नैपर्छ भन्थे , हो न हो उसको जिन्दगीमा यतिबेला बाह्र बजेको छ । तर मेरो बाह्र होस् चाहे साढे सात हर समयमा श्रुति हुन्छे । जबसम्म श्रुतिको संवेग छ मैले डर र हार देख्नुपर्दैन । यतिबेला डर लागेको छ र डरको सामना गर्न सामर्थ्यको घुट्की पिउनुपर्छ । मैले तुरुन्तै श्रुतिलाई फोन लगाएँ । मानौं ऊ मेरै फोनको प्रतीक्षामा थिई ।

‘श्रुति’ भन्दै म रुन थालेँ । जसरी एउटा बच्चा रोएपछि आमा चुपचाप हेरिरहन सक्दिनन् त्यसरी उसले मलाई सुन्न सकिन फोन काटिदिई । ऊ सरासर तल मेरो कोठामा आई । भित्र पस्नासाथ चुकुल लगाई र मलाई कसेर अंगालो हाली । आमाको काखपछि उसको अंगालोमा म संसारकै सुरक्षित स्थान महसुस गर्छु । मेरा आँसु रोकिए तर मन अझै रोइरहेको थियो ।

‘के भयो सौभाग्य ?’

‘सायद सम्भावनालाई केही भयो ।’

मेरो कुरा सुन्नेबित्तिकै उसले मेरो मोबाइल बाट फोन गरी । त्यसपछि हामी ट्याक्सी चड्यौँ । म कहाँ र किन जाँदैछु भन्ने कुरा थाहा थिएन । श्रुतिले मेरो हात समाएकी थिई । म उसको पछिपछि थिएँ । ट्याक्सीले हामीलाई सुमेरुको गेटमा छोड्यो । लिफ्टले हामीलाई तेस्रो तलामा छोड्यो ।

यतिन्जेलसम्म पनि सास रोकेर मलाई पर्खिरहेकी सम्भावनाले केहीबेरमा दुनियाँ छोड्छे भनेर कसैले कल्पना गरेका थिएनन् ।

अपराधीलाई कठघरामा उभ्याए जसरी मलाई उसको समिपमा लगियो । श्रुति बाहिर निस्किई तर त्योभन्दा पहिले उसले सम्भावनाको खुट्टा समाई र आँखाभरि आँसु पारी । यो पश्चात्तापमा थियो तर किन ? मैले बुझ्न सकिन । त्यहाँ कसैले पनि बुझेनन् । एक एक गरेर सबै बाहिर निस्किए । उसका आँखाका तालमा वर्षौंदेखी जमेर रहेका आँसु पनि बाहिर निस्किए ।

‘शम्भु नरोउ न । किन रोएकी ?’

उसले मलाई उसको नजिक आउन इसारा गरी । म डराउँदै अघि बढेँ । उसले मेरो गालामा जोडसँग थप्पड लगाई । थप्पडको आवाज धेरैबेरसम्म गुन्जियो । मैले होस सम्हालेदेखि यो पहिलोपटक थियो । उसले फेरि नजिक बोलाई । म अझ नजिक गएँ । उसले मलाई श्रुतिको आभास बिर्साउने गरी अंगालो हाली । उसका हात खुकुलो भएपछि मैले आफूलाई अलग गरेँ । म सिधा उभिएको थिएँ तर उभिन सकिरहेको थिइन । उसले फेरि एकपटक नजिक इसारा गरी । यसपटक पनि उसैगरी बिस्तारै अघि बढेँ । उसले मेरो मुखभरि पर्नेगरी थुकिइदिई । सबैजना दौडिएर भित्र आए । श्रुतिले आफ्नो सलले मेरो मुख पुछी र मलाई कसेर अंगालो हाली । सबैले सम्भावनालाई गाली गर्न थाले । श्रुतिको अंगालोबाट आफूलाई छुटाएर मैले दुई हात जोडेर टाउको हल्लाएँ । सधैँ अघि लाग्ने श्रुतिलाई मैले तानेर बाहिर ल्याएँ । यहाँ जे भयो त्यसको चासो सबैलाई थियो तर खबर कसैलाई थिएन ।

***

ट्याक्सी चढेरै घर फर्कियौँ, तर जसरी चरा गुँडमा फर्किन्छ त्यसरी जिन्दगीमा फर्किन नमिल्दो रहेछ । मिल्थ्यो भने म त्यो रातमा फर्किने थिएँ जहाँ ग्रहण लागेको थियो । जहाँ सूर्य र चन्द्रमा दुबै मेरो खाटमा थिए । जहाँ सूर्यको प्रचण्ड तापले चन्द्रमामा दाग रोप्यो । छुरा घोप्यो ।

‘त्यो रात के भएको थियो सौभाग्य ?’

‘त्यो रात …’, बोल्नै लागेको थिएँ तर मेरो घाँटीमा कसैले जोडले च्यापेजस्तै भयो । बिल्कुल बकुल्लाले माछा च्यापेझैं । यो प्रश्न उसले धेरैपटक सोधिसकी । हरेपटक मेरा बाहानाको अगाडि ऊ हार खान्थी तर अब उत्तर नदिकन उम्कन सक्दिन । फेरि उत्तर दिएर बच्ने ठाँउ पनि छैन । मैले केही जवाफ दिन सकिन । त्यो रात बयान गर्न मैले उसको नाममा खाली सन्देश पठाउनुपर्ने हुन्छ । भर्न लायक त्यस्तो केही भएन र खाली राख्न केही नभएको पनि हैन । कुनैकुनै कुरा त्यसको उत्पति सँगै सकिन्छन् । जस्तैः रातमा देखिएका सपना , सपनाको आयु निदाउन्जेललाई मात्र हुन्छ ।

कसरी भन्नु मैले त्यो रात प्रेम हुँदाहुँदै अरु नै केही भयो भनेर । कसरी भन्नु यहीँ उसको बलात्कार भयो … अनि कसरी भन्नु त्यो म हुँ जसले … मेरा आँखाभरि आँसु भए । तर यस्तो पापी मान्छेको आँसुको के मोल । मजस्तो मान्छे त नबाँचेकै राम्रो तर निष्ठुरी काल पनि त आउँदैन । म यतिबेला आफ्नो बाहेक सबैको जिन्दगी उज्यालो होस् भनेर प्रार्थना गरिरहेको छु । म यतिबेला मेरो कोठामा सर्ट सर्किट भएर आगलागी होस् भन्ने चाहिरहेको छु । म सति जान चाहन्छु । मति नभएकाहरू धर्तीमा बोझ बनेर नबसेकै राम्रो । बादल गडगडाउँदोछ , चट्याङ पर्दोछ तर मलाई नछोइकन जान्छ । आखिर कहिलेसम्म यो ज्युँदो लासलाई यसरी सहरमा नचाउँछौ भगवान् । कहिलेसम्म ?