एकदिन — एकाबिहानै गाउँले नै डराउने गरी हल्ला चल्यो । हल्लाले गाउँलेको मनमा त्रासको बिरुवा रोपिदियो । जङ्ग सेरको कान्छो छोरा भीम सेरले, “आज राती गाउँमा चोर आउँछन् अरे” भन्दै गाउँभरि फुक्दै हिँडेको थियो । सुरुमा त गाउँलेहरुलाई त्यति पत्यार लागेन । तर पोहोरको कुराले गाउँलेहरुलाई झस्काई दियो । गाउँका कान्छा मुखियाले भनेको कुरा नपत्याउने कुरा पनि भएन । अभर अफ्ट्यारोमा साथ दिने देउताजस्ता जङ्ग सेर गाउँलेहरुका निम्ति भगवान् सो सर थिए ।

“आजसम्म यो गाउँको भलो कसले चिताएको छ ? जङ्ग सेरले ।” यही एउटा प्रश्न र उत्तर गाउँलेहरुको मुखमा अल्झिएको थियो । अरु केही सोचेनन् । बरु जङ्ग सेरको भक्त भए गुनगान गाए ।

भीम सेरको कुरामा विश्वास थिएन ! चोरले म चोर्न आउँदैछु भनेर कहिल्यै भन्दैन । भीम सेरको कुरा त्यस्तै थियो । तर यति कुरा समेत बुज्न सकेनन् गाउँलेहरूले । बरु सम्पति कसरी लुकाउने त्यतापट्टि ध्यान दिए । गाउँलेहरुले अनेक सोचे तर यहाँ लुकाउने भनेर टुङ्गो लगाउन सकेनन् । दिउँसो मध्यान्हतिर फेरि तिनै भीम सेरले घर डुलेर गाउँलेलाई उपया बताए, “भरे राति चोर आउने त थाहा छ नि ?” गाउँलेहरूले अँध्यारो मुख लगाएर भनेका थिए ।

“थाहा छ ।”

विक्रम पौडेल

गाउँलेको अँध्यारो मुखमा हेरेर भीम सेरले एउटै बात बोले, “उसोभए म एउटा उपाय बताइदिन्छु । त्यसैअनुसार लुकाउनु ।”

डर लुकाउने ठाउँ नभेटेका गाउँले ले सम्पति लुकाउने त कल्पना बाहिरको कुरा थियो ।

“घरमा ढिकी छ, ढिकी नजिकै एउटा खाडल खन्नु अनि भए भरका सुन, चाँदी, पैसा पोको बनाएर त्यहीँ लुकाउनु । अनि खाडल माथि गोबरले लिपेर फूलको थुङ्गा राख्नु । राती कसैले ढोका खोल भन्ला सास दबाएर सुत्नु ।” दिन भर गाउँलेलाई यही कुरा सिकाइरहे । गाउँलेहरुले भोक तिर्खाको मतलब नगरी सम्पति लुकाउने धन्धामा जुटिरहे ।

गाउँलेले पोहोरको कुरा सम्झिए । पोहोर पनि गाउँमा चोर पसेर विध्वंश मच्चाएका थिए । खोरका खसी अन्न पात लुटेर दिनसम्म दुःख दिएका थिए । त्यति बेला यसरी नै गाउँभरि डुलेर जङ्ग सेरले भनेका थिए, “आज गाउँमा डाका आउँदै छन् । राजाका गाउँबाट । खसी बोका घिस्याउँछन् ! अन्न पात लिएर जान्छन् अरे । हिजो पारीपट्टि गाउँमा त्यसै गरेछन् ।” यति भन्दा गाउँलेहरुको ओठ तालु सुकेको थियो ! मनमा चिसो पसेर दिमाख ठण्डा भएको थियो । तर उपया साथ साथै बताइदिएपछि निकै राहात मिलेको थियो । उनले भनेका थिए, “अन्न पात परालको कुनिउमा हाल्नु । बोराको फेदमा एक पाथी धान हाल्नु बीचमा धानको भुस हाल्नु ओजनको सन्तुलन मिलाउन दुई चार वटा ढुङ्गा हाल्नु अनि माथिपट्टि दुई पाथी धान हालेर बोर कस्नु । जुत्ते खोरमुनि खसी बोका बाँध्नु । सुन, चाँदी, पैसा माटाको गाग्रीभित्र हालेर जमिनमुनि गाड्नु ।”

आधाभन्दा बढी गाउँलेहरूले जङ्ग सेरले भनेझैँ गरे । नभन्दै घाम ढल्किन लाग्दा राणाका केही शासक र भरौटे गाउँ छिरेर ‘सरकारलाई अन्न र खसी बोका’ भन्दै गाउँ चारेका थिए । ज-जसले जङ्ग सेरले भनेको मानेका थिए, ती जोगिए । ज-जसले मानेका थिएनन् तिनी लुटिएका थिए । त्यस पछि जङ्ग सेरको महत्त्व चुलिएको थियो ।

त्यस्तै घटना दोहोरिने वाला थियो । त्यसैले आधा जसोले जङ्ग सेरले भनेझैँ गरे । आधाले भीम सेरले भनेझैँ गरेका थिए । साझ ढल्केपछि झ्याल ढोका ठोकेर सास दबाएर गाउँलेहरू बसे । उति नै खेर भीम सेर आफूले लुकाउन भनेको ठाउँ खोज्दै सुन, चाँदी, पैसा निकाल्दै झोलामा हाल्दै गाउँ भर डुले ।

भोलिपल्ट भालेको डाँकसँगै भीम सेरले गाउँकी फुलमतिलाई लिएर डाँडा काटिसकेका थिए । पुरै गाउँमा सन्नाटा छाएको थियो । आधा गाउँले त्रासमा थिए । आधाका आँखा आँसुले भरिएका थिए । एउटा अन्धो र लाटो जमनाको सामना आँसु काढेर बिताइरहेका थिए । पुरानो युगका मान्छेहरु ।