पार्वती !

कसरी हुन सक्छ-हजारौँ कोस टाढाको त्यो अनकन्टार गाउँबाट पार्वती मकहाँ कसरी आउन सकी बुझ्न सकिनँ । तर यो

त्यही पार्वती हो, जसलाई मैले त्यो अनकन्टार गाउँमा भेटेको थिएँ-दुब्ली, पातली, मैली र घिनलाग्दो । उसलाई एकाएक मेरो बैठककोठामा देख्दा स्वभावतः म झस्किएँ । म यसरी झस्कनुमा स्पष्टतः दुइटा कारण थिए । एक त त्यस्तो अनकन्टार गाउँबाट काठमाडौँमा कसरी आइपुगी र म झस्कनुको अर्को कारण केही महिनाअघि त्यो गाउँमा जाँदा उसको शरीरसँग मैले थुप्रै पटक खेलेको थिएँ ।

म नीलो भएँ, अत्तालिएँ र उभिन नसकेर सोफामा बसेँ । ऊ टोलाइरही र टोलाउँदै मलाई नमस्कार गरी । तर मैले

नमस्कार फर्काइनँ । मलाई लाग्यो-उसलाई मैले नचिनिझैँ गरूँ र यो कोठाबाट बाहिर निकालिदिऊँ । तर त्यसो गर्न पनि सकिनँ । वास्तवमा यतिखेर मैले के गर्नुपर्ने हो भन्ने नै निणर्य गर्न सकिनँ । मनमा एउटै कुराको डर भइरह्यो भने पेट त बोकेकी छैन ? मेरो गर्भ लिएर आएकी त होइन ? ममा एकाएक डर र त्रासले आक्रमण गर्न थाल्यो । मलाई लाग्यो-उसलाई कोठाबाट बाहिर निस्क भनूँ या नोकरलाई बोलाएर गलहत्याउँदै बाहिर निकाल्दे भनूँ ।

“को हौ तिमी ?” मैले सोधेँ ।

“मलाई चित्रुभएन मास्टरबाबू !”

“मास्टरबाबू रे ! को मास्टरबाबू !”

मैले आफूलाई छल्ने प्रयत्न गरेँ मानौँ उसलाई यसभन्दा पहिले कहिल्यै देखेको थिइनँ ।

“म पार्वती हुँ मास्टरबाबू !”

“पार्वती ! को पार्वती ?”

“गाउँमा हजुर आउँदा भेट्नुभएको होइन ?”

“गाउँमा ! कुन गाउँमा ? कहिले ?”

“हजुर सरकारी कामले हाम्रो गाउँ आउनुभएको थियो, हाम्रो गाउँमा दुई हप्ता बस्नुभएको थियो अनि…।”

“म कुनै सरकारी कामले कहिल्यै कहीं गएको छैन । तिमीलाई भ्रम भयो होला ।”

“होइन, हजुर ! म कसरी बिर्सन सक्छु ?”

मलाई त्रासले यसरी आक्रमण गर्न थाल्यो मानौँ म भित्रभित्रै कतै क्षतविक्षत भइरहेछु । कति ढाँट्नु ? कति अभिनय गर्नु ? कुन हदसम्म छल गरिरहनु ? म पसिना-पसिना भएँ । मेरो यो स्थितिलाई पार्वतीले कसरी विश्लेषण गरी मलाई थाहा भएन । तर उसको अनुहारमा बिस्तारै अँध्यारो छाउँदै गएको मैले स्पष्ट देखेँ । उसलाई लागेको होला सहरका पढे-लेखेका मान्छेहरू फटाहा र बदमास हुन्छन् जस्तो कि म अहिले भयङ्कर अपराधबोधले त्यो अनुभव गरिरहेछु लागिरहेछ अब मसँग पश्चात्ताप गर्ने कुनै बहाना छैन ।

“म पार्वती हुँ मास्टरबाबू !”

“को पार्वती ?”

“कत्ति चाँडै बिर्सनुभएको !”

उसको दबिएको कतै हराएर खोज्नुपर्ने जस्ता आँखाले मलाई यसरी हेरिरहे मानौँ मैले गाउँको एकान्तमा उसलाई जथाभाबी म्वाइँ खाएका र उसको शरीरसँग अघाउँजी खेलेका दृश्यहरू ती आँखाका नानीमा कतै टाँसिएका छन् ।

उसको यही घिनलाग्दो फोहोर शरीर र कलेटी परेका ओठहरूसँग म कसरी उत्तेजित भएर खेलेछु मैले सोच्न पनि सकिनँ । लागेको थियो-गाउँका एकान्त जङ्गल र नदीकिनारका ठूलाठूला ढुङ्गाको आडमा बितेका उससँगको मेरो सम्बन्ध म सहर फर्किनुसँगसँगै समाप्त होला । पछ्यउँदै ऊ मेरो घरसम्म आइपुग्ली भन्ने मैले कहिल्यै सोचेको थिइनँ ।
“तिमीलाई भ्रम भयो हो म तिम्रो मास्टरबाबू होइन ।”

ऊ केही बोलिन बरु उदास र निरीह जस्ती भएर मलाई एकोहोरो हेरिरही । एकाएक म त्रसित भएर काम्न थालेँ । मलाई लाग्यो यो पार्वती मसँग यही बस्न आएकी त होइन ? गाउँका ती एकान्तहरूमा, यौनवेशका क्षणहरूमा मैले गरेका भावनाका अनेकौँ फास्रा कुराहरूलाई सत्य ठानेर आएकी त हैन ! लग्यो-गाउँलेहरूले पठाएका त होइनन् ! तर कसलाई पो थाहा छ र ! मनभित्र थुप्रै ज्वालामुखीहरू फुट्लान् झैँ अनुभव भयो ।

मैले फेरि पनि भनेँ, “तिमी झुक्कियौ ।”

पार्वती दृढ भई, “होइन मास्तरबाबू ! म कसरी झुक्किन्छु ?”

यसपछि उसले यसरी हेरी, मलाई लाग्यो-मेरो कुरालाई स्वीकार्न नसके पनि दोधारको स्थिति महसुस गर्न लागी ।

“अनुहार एउटै होला र झुक्कियौ ।” मैले उसको त्यो दोधारको स्थिति सम्याउन थप जोड दिएँ ।

“यस्तो पनि हुन्छ र हजुर !”

अलिकति दाँत देखाउर बोली । कहिल्यै नमाझेका ती पहेंला दाँत देख्दा मैले उसलाई दाँत मझ्नुपर्छ भनेर स्वास्थ्यसम्बन्धी निकै लामो गफ दिएको थिएँ । उसले भनेकी थिई, “हामीलाई दाँत माझेर साध्य छैन, मास्टरबाबू !”

मैले सोधेको थिएँ, “किन ?” उसले भनेकी थिई, “दाँत माझ्ने फुुर्सतै कहाँ हुन्छ र ! बिहान झिसमिसेमै उठ्यो, दुई कोस टाढा पानी लिन गयो, आयो, घाँसदाउरामा गयो, साँझ घर आयो, पानी लिन गयो… आदि, आदि ।”

अहिले त्यही दाँत देखाएर ठिङ्ग उभिरहेकी पार्वतीलाई देख्दा म फेरि एक पटक झस्किएँ । मलाई के लाग्यो भने उसले मेरो गर्भ बोकेकी छ र ऊ मलाई खोज्दै पहाडका बाटाहरू छिचोल्दै यहाँ मसम्म आइपुगेकी हो । यदि यो सत्य हो भने म सहरमा बदनाम हुनेछु र सायद त्यति मात्र नभएर हुर्किसकेका मेरा केटाकेटी र स्वास्नीको आँखामा घृणाको सबभन्दा ठूलो वस्तु हुनेछु । के यो सत्य हो ? आफैभित्र आउँदै-बिलाउँदै गर्न लाग्यो ।
ऊ उभिरही, मैले हेरिरहेँ ।

“तिमी जाऊ, मैले तिमीलाई चिनेको छैन भनेपछि त बुझ्नुपर्छ नि !”

मैले के सोचेँ भने अब धेरैबेर उसलाई यहाँ राख्नु हुँदैन, कुरा लस्बिएर केही पनि त हुन सक्छ या मेरा स्वास्नी आइपुगेर यथार्थ उदाङ्गिन पनि त सक्छ । त्यो सम्भावित स्थितिले आक्रमण गरेपछि फेरि मैले भनेँ, “सुनिनौ, जाऊ भनेको, मैले तिमीलाई चिनेको छैन ।”

उसले अलिकति अनुहार खुम्चाई । त्यसो गर्दा उसको गलामा देखिने थोप्ला देखियो र यही गालाको त्यो सानो थाप्लोमा मैले थुप्र्र्रै पटक टोकिदिएको थिएँ सायद त्यसको धमिला दागहरू अझ पनि हुन सक्छन् । जति-जति विगतका ती क्षणहरू उसका आँखा, ओठ र गालाहरूबाट चियाउन थाले उति-उति म चिसिँदै गएँ ।

“मास्टरबाबू ! हजुर हुनुहुन्छ भनेर म यहाँसम्म आएँ । तर हजुरले चित्रुभएन ।”

म झन् चिसो भएँ । यहाँसम्म किन ? मेरो गर्भको दाबा गर्ने ? दाबा नै गरी भने पनि प्रमाण के नै छ र ? गर्भको दाबा गर्न नआएकी पनि त हुन सक्छे नि ! मलाई यतिखेर के लाग्यो भने यति सरल, अनपढ ग्रामीण युवतीले यति ठूलो आँट कसरी गर्न सक्छे ? तर तत्कालै मलाई लाग्यो- किन आई त त्यति टाढाबाट मलाई भेट्न ? गाउँलेहरूले पठाएका त होइनन् ? हाकिम भएर गाउँको निरीक्षणमा जाँदा कैयौँका घरमा कुखुरा र खसी काट्न लगाएको थिएँ, कैयौँलाई सहरमा काम दिलाउने आश्वासन दिएको थिएँ, कैयौँलाई बैङ्कबाट ऋण दिलाइदिने, कैयौँलाई पढाइदिने र कैयौाँलाई एस्.एल्.सी.मा पास गराइदिने आश्वासन दिएको थिएँ । काठमाडौँको मामुली जागिरे भएर यत्ति ठूलठूला आश्वासन दिएको थाहा पाएर रिसाएर गाउँलेहरूले पार्वतीलाई मकहाँ पठाएको त होइनन् ? के बेर ती गाउँलेहरू पनि काठमाडौँमै कतै लुकेका त छैनन् ? कि यही घरबाहिर लाठी लिएर मलाई कुरिरहेका त छैनन् ? मलाई झन्-झन् शिथिल भएझैँ अनुभव हुन लाग्यो ।

“हजुरले चित्रुभएन ठीकै छ, म जान्छु ।” पार्वती जान लागी ।

म एकाएक हलुको भएँ । भत्र मन लाग्यो-जाऊ छिटो जाऊ र फेरि फर्किएर कहिल्यै नआऊ … । ढोकासम्म पुगिसकेर फेरि फर्केर मलाई हेरी ।

“हाम्रो गाउँमा जाने मास्टरबाबूको घर कहाँ होला त हजुर ?”

“मलाई के थाहा तिम्रो मास्टरबाबू को हो ?”

“हजुर जस्तै हुनुहुन्थ्यो…, ज्यादै असल हुनुहुन्थ्यो । गाउँमा दुई-तीन हप्ता बसेर फर्कनुभएको थियो । त्यत्ति ठूलो हाकिम भएर पनि हामी गाउँलेहरूसँग जे पनि खाने, जहाँ पन िसुत्ने गर्नुहुन्थ्यो…, कहाँ होला उहाँको घर…?”

“मलाई केही थाहा छैन… बेकारमा मेरो समय बरबाद गर्‍यौ । जाऊ खोज तिम्रो मास्टरलाई ।”

“जान्छु हजुर !…पशुपतिको दर्शन गर्न गाउँलेहरूसँग आएकी थिएँ, यहाँसम्म आउँदा एकपल्ट भेटेर जाऊँ भत्रे मन थियो…अब गएपछि कहिले आउन पाउँछु र…! ”

पार्वती ढोका खोलेर बाहिर गई । मैले हतार-हतार ढोकाको चुकुल लगाएँ र निकै हलुको भएको अनुभव गरेँ । चिसिएको मेरो शरीरमा बिस्तारै तापक्रम बढ्दै गयो ।