“नानी छिटो गएर थाली लिएर आउ त,पल्लाघरे काकी हिँडिसक्नु भयो ।सङ्गै जानू पर्छ।” आमाले यति आदेश दिएर नसक्दै शुचि पूजा कोठातिर लागी।

दसैंको बेला ।अझ आज त अष्टमिको दिन । सबैलाई देवीका मन्दिरहरु जान हतारो । शुचिको घरमा दसै मज्जाले लागेको छ। शुचि पनि खुब खुसी छे । बिहान नुहाइ धुवाइ गरेर बाबाले जमरा राखेको ठाउँमा पूजा गरी । मन्दिर जानू पर्छ भनेर आमालाई काममा सघाई। मन्दिर जान चाहिने सम्पूर्ण सामानको जोरजाम गरी । अल्छी कति पनि लागेको थिएन आज शुचिलाई ।दसैंको बेला पिङ खेल्नु नि पर्यो ।उनको आजको मुख्य उद्देश्य भनेको मन्दिर दर्शन गर्ने अनि मन्दिर नजिकै हालेको पिङमा मच्चिने हो । दसैं र पिङको आ-आफ्नै महत्त्व होला तर शुचिजस्ता पात्रले गर्दा दसैं र पिङ एक अर्काका पर्याय बनेका छन् ।

“नानी छिटो आइजो न ” तलबाट आमा कराउनु भयो । फेरि भन्नूहुन्छ, “काकी हिडिसक्नु भयो,यो केटि माथी के गरेर बस्छे हँ..।” धेरै ढिलो भएको जस्तो गरी आमा धोतीको फेर समात्दै पूजा कोठातिर उक्लिनु भयो ।

“झन् छिटो पूजा सामान लेराउ भनेको के गरेर बसेको कोठामा” ढोकाबाट चिहाउँदै आमा कराउनु भयो।

“आमा म जान नहुने भयो ” मलिनो अनि मन्द आवाजमा शुचि बोली ।

“ए……..” आमा यति नै भनेर पूजा कोठातिर लाग्नु भयो ।

मनमा घर जमाइसकेको दसैंको उमङ्ग एकाएक शुचिबाट पर सर्यो, सङ्गै शुचि पनि पर-सरी । उनको शरीरले नै उसलाई त्यो उमङ्गबाट पर सार्दियो । त्यो अघिसम्म एक खुसीमा रमेको मनमा एक्कासी बज्रपात आइलाग्यो । अब ऊ मन्दिर मात्र जान नपाउने हैन,दसैंको कयौं मज्जा लिन न पाउने भइन् । उनलाई आफू मन्दिर जान सजिएको भन्दा नि दसैं मान्न न परोस् भनी सजिएको जस्तो लाग्यो । उसको रमाइलोमा उसैको शरीरले बादल लगाइदियो,दसैंभरि त्यो बादल नहट्ने गरी ।

अजित धिताल

दसैं भए नि घरमा एक्लै छे शुचि । बाबा बिहान घरको पूजापाठ सकेर मन्दिर जानु भएको,अष्टमीको विशेष पूजा हुने भएर । गाउँका अरु मान्छे भेला हुँदा पुगिसक्ने गरी । भाइ बाबाकै पछिपछि लागेर हिँड्यो ।आमासँग जान तयारी भएकी शुचिलाई उसकै जिउले एक्लै बस्ने बनाइदियो।

“समय पुगेकै थिएन,किन भएको होला । बेला न कु बेला । बाल्ल तल्लको खुसी नि जाने भयो ।खुई…..” शुचिले बर्बराउदै लामो सुस्केरा हाली।

मनमा अनेकन कुराले हुण्डरी मच्चाउन लागे,अझ घरमा एक्लै भएको बेला,खुसी खोसिएको बेला,मन असन्तोष भएको बेला,त्यो फरक दुखाइले आँखा रसाएको बेला।मन भने त्यही बेखुसीको मौका छोप्दै अनेक कुरा खेलाइदिन्छ।

यो पल्टको पर-सराइ अलि फरक थियो पहिला पहिलाको भन्दा । पहिला पहिला एक दुई दिन अगाडि जस्तो पेट दुख्ने संकेत यो पल्ट देखिएन । शरीर कतै दुखेन, जिउ कतै झम्-झमाएन । एक्कासी उसैलाई विश्वास नहुने गरी उसको दसैं पर सर्यो ।

थाली लिन माथि उक्लेकी शुचिलाई थचक्कै बस्ने गरी एक्कासी पेट दुख्यो,बिहानदेखि पूजा गर्नु पर्छ भनेर अन्नको अनुहार नहेरेकी उनलाई वाक्-वाकी लाग्न्न लागेको जस्तो भयो । पूजा कोठातर्फ दौडेकी उनी एकाएक नुहाउने कोठामा पुगिन्।

मनमा कुराको हुण्डरी चलेको छ । मनमनै शुचिलाई आफ्नो मासिक धर्मदेखि रिस उठ्यो।

“अझ रितु पर्व रे । के को हुनु यो त खुसी खोस्ने कुरा हो । मेरो खुसीलाई मबाट अलग्याउने कुरा हो । मेरो खुसी खोस्ने कुरा हो । मजस्तै कयौँ नारीको खुसी खोस्छ होला यसले । यो ऋतु पर्व हैन,नारीको खुसी खोस्ने पर्व हो ।”

भित्ताको ऐनामा देखिएको मुहारमा मुहार जुदाउँदै मन बोल्यो ।आँखा पिल्-पिलायो । आफ्नो पुर्खादेखि चलिआएको चलनसँग रिस उठ्यो । त्योभन्दा बढी त आफ्नै शरीरसँग रिस उठ्यो शुचिलाई । फेरि सानो स्वरमा भनी, “बेला न कुबेला…।”

हरेक पर-सरेको दिन उनको मनले एउटा प्रश्न भन्छ, “यदि त्यो रगत सफा हुन्छ भने किन पुर्खाले पर बस्ने नियम लगाए ?”

प्यासले घाँटी सुकायो । नजिकको टेवलमाथि भएको बोटल उठाई । पानी नै रहिनछ । भान्सा गएर पानी लिने आँट आएन । उसले सिकेको,जानेको र देखेको कुरा बिगार्न जानिन , त्यो प्रथा र रीतिलाई । उसलाई थाहा छ अब भान्सा छिर्न हुन्न । अब मैले छुनु हुन्न । उसलाई त्यही सिकाइएको छ । पर-सरेपछि भान्सा कोठा, पूजा कोठालाई पनि पर सार्नुपर्छ । आफ्नै बाबाबाट पर रहनु पर्छ । भर्खर जिस्केर पर पुगेको भाइसँग पर रहनुपर्छ।

अब उनीबाट अघि आफैँले पकाएको खाना पनि पर सर्यो । आमाले खान बोलाएर एउटा थालमा हालेर न दिँदासम्म त्यो खाना नि उसले छुन नहुने भयो । आफैले बिहान नुहाइ धुवाइ गरेर पुजा गरी जमरामा चडाएको प्रसाद ऊबाट टाढा भयो । मन्दिर लान बनाएको सेल, पुरी मन्दिर पुगेर फर्किदा उसले खान नहुने गरी फर्किन्छ । बाबाले ती अवतारी देवीलाई पूजी पूजी राखेको जमरा टीकाको दिन घरकै देवीको शिरमा नपरी ओइलाउँछ । यति मात्र हैन,हिजो मात्र दसैंलाई भनी किनिएको नयाँ लुगा कान्ति विहीन,मुस्कानहीन,बिनाटीका र जमरा सजिन खोज्छ,चम्किन खोज्छ या दराजमै थन्किन खोज्छ, त्यो त शुचिको मुडमा नै भर पर्छ ।

शुचिसँग केवल एउटा कुरा आफ्नो लाग्ने छ अहिले । हिजो भाइसँग झगडा गरेर लुकाएको एक प्याकेट ओरियो बिस्कुट,जुन उसकै कोठामा छ र भाइको हुने छैन । उनको पर-सराइले त्यो बिस्कुट चाहिँ भाइबाट पर सर्यो।

अब शुचि धेरै कुराबाट पर रहनु पर्छ,जसले धर्मको स्वर्ग र नरकको कथात्मक बाटो देखाउँछ।

आज बल्ल अष्टमी । अझै नवमी र दशमी बाँकी नै छ । लागेको बादल एकादशी नभई थोरै पनि खुल्ने छैन । आफ्नो रमाइलो खोसेको उसको शरीरले, अरुले गरेको रमाइलो हेर्न नि टाढा बस्नु पर्नेछ । धेरै चिल्लो, अमिलो, पिरोसँगै दूधजन्य परिकारबाट टाढा हुनुपर्नेछ ।

“दसैंको मासु ! चिल्लो र पिरो-पिरो मिठ्ठो” उसको शरीर गर्दा मुखले न खुलेर खान सक्छ न त भन्न नै । जिब्रो बिचरा स्वादको लोभमा पानी निकालेर बस्न नि सक्दैन,आँखा आफै रसाइदिन्छ।

शुचिलाई भोक लाग्यो । रमाइलो गर्न बाट पर-सरेको शरीरले खान माग्यो । उसलाई बसेको ठाउँबाट उठ्न मन छैन । उठेर पनि कता जानू । भोक लागे पनि भान्सामा जाने अनुमति छैन । हुन त घरमा कोही छैन, गए पनि कसैलाई थाहा हुन्न तर उसले सिकेको सामाजिक प्रथा र रीतिलाई कुल्चेर हिँड्न सक्ने सामर्थ्य पनि उसको छैन । शुचिको आँखा घडीमा पर्यो,घडीले त एघार बजाइसकेको रहेछ । घरमा मान्छे फर्किने प्रतीक्षा ऊबाट हुन सकेन । भोकले प्रतीक्षाको घडी भत्काइदियो । त्यो सिरानीको बिस्कुट निकाली । बाहिर आँगनमा बाबाले हिजो बारीबाट आएपछि खाएर बाँकी भएको आदि बोटल पानी लिएर आई । त्यही बिस्कुट र चिसो पानीले पेटलाई शान्त पार्ने कोसिस गरी।

पेट त दुखै दुखमा थियो । एकातिर भोक,अर्कोतिर ऋतु पर्वको दुखाइ । मन एकोहोरियो । मस्तिष्कले आराम माग्यो । खुट्टा खुम्च्याउँदै खाटमा पल्टिई शुचि।

शुचिजस्तै हरेक ऋतु मासिकहरुको लागि यो कथा लेख्दै गरेको मान्छेको मन भन्छ, “यो वर्षको दसैं तिम्रो लागि अष्टमीमै सकियो । अर्को वर्षदेखि केही नहोस् । तिम्रो जीवनका अबका हरेक दसैं खुसी खुसी आओस् र जाओस् । आफूले सिकेको,जानेको र देखेको प्रथा र रीति सशक्त हुन्छन् भन्ने कुराले मनमा बुझाउँदै अघि बढ्ने शक्ति तिमीलाई तिम्रो शरीरले नै प्रदान गरोस् । विजया-दशमीको शुभकामना ।”