आँगनमा बिस्कुन सुकाएर डिलमा टुक्रुक्क बस्दै मायाले कपाल समाली ।

“बाकसको साँचो कहाँ राखिस् हँ ?”

उसले लोग्नेको आदेशलाई सुनी मात्रै । बरु प्रत्युत्तरमा मुख बिगारी अलिकति ।

“सुनिनस् ?”

“मलाई के था’ ?”

“नजिस्की है बढ्ता…. चाँडै ले भनेको ।”

“आफै कता राख्छ, मलाई दोष ।”

मायाले आँपको रूखलाई ताक्तै सानो ढुङ्गा हानी । ढुङ्गाले आँपको रूखलाई छोएन ।

“ढिलो भइसक्यो भनेको ले ।”

“के दिने मैले ?”

“साँचो क्या साँचो ।”

“कहिले लिएँ मैले ?”

“बढी नजिस्की, ले भनेपछि बुझ्नुपर्छ नि !”

अशेष मल्ल

“नलेको कुरा कहाँबाट ल्याउने ?”

बिस्कुनका धानहरू फिजाउँदै माया फेरि डिलमा बसी र लोग्नेलाई हेरी ।

“अचेल तँ निकै ठूली भा’की छस् !”

“आफू नि त !”

“नकरा ! … चाँडै ले भनेको ।”

“थाहा छैन मलाई ।”

“कस्तो रै’छे यो त ! अहिले कुट्दा थाहा होला !”

“कुट्नू नि ! कहिले पो छ र नकुटेको ।”

“बाठी हुन्छेस् ।”

“के बाठी हुनु… जहिले पनि टत्र रक्सी पियो, बाटोमा दस जनासँग झगडा गर्‍यो… खोज्नू नि भट्टीमा ….. बड ! मेले लिएँ रे’ उसको साँचो ।”

“तँलाई त नकुटी कहाँ !”

“कुट्नू….. कुट्नू….हिजो राति कुटेर पुगेन ।” माया रुन्चे भई । उसको लोग्ने आँगनको छेउ लाग्दै ऊनेर आयो र तत्कालै फर्कँदै घरभित्र पस्यो ।

मायाले आकाश हेरी । भर्खरैको घाम बादलभित्र लुकिसकेको रहेछ । सायद पानी पर्छ—उसले सोची र उठी ।

“यति बेला कहाँ पुगिसक्ने थिएँ…..।”

उसले घरको ढोकालाई हेरी । उसको लाग्ने ढोकाबाट बाहिर निस्केर नजिकको पेरुङ्गालार्य लात हान्यो । पेरुङ्गो गुडुल्किदै बारीको कान्ला नाघ्दै पोथ्राभित्र हरायो । लोग्नेको रातो र रिसले बलेको अनुहार हेरेर माया हाँस्न-हाँस्न खोजी ।

“खुरुक्क ले त !”

“छैन भनेपछि त बुझ्नुपर्छ नि !”

“हिजो आफैले लिएको होइन ?” माया झर्की ।

“अझ यसैको आवाज ठूलो, हँ ?”

“बाकस खोलेर पैसा लुकाउँछ जत्तिकै गरेर अरू बेला साँचो लुकाइहिँड्ने अहिले हराउँदा मैले लिएँ रे लाज परेको….. हराएकै ठिक्क भो ।”

“खै ! यसलाई ।”

लोग्ने ऊनेर आयो र ठिङ्ग उभियो ।

“कुट्न आएको होइन ? ….. कुट्नू….कुट्नू, कति मन लाग्छ कुट्नू …. नकुटेको दिन त पानी नै पर्ला…. कुट्नू ।” मायाले आङ थापी । मायाले अनि अनुहार रुन्चे-रुन्चे पारी ।

“तँ नाथे स्वास्नी भएर फुर्ती गर्छेस् होइन ?” मायाले आँखा-आँखा जुधाई । आँखाले लोग्नेको क्रूर आनुहार छामी । छामेर अलिकति आँसु झारी ।

“थु….।”

लोग्नेका थुकका छिटाहरू उसको अनुहारमा पर्‍यो । सारीको सप्कोले पुछ्दै ऊ साँच्ची नै रोई ।

“दिनभरि दस घर डुलेर खायो, काम छैन….. आफू मरी-मरी कमायो, आमा गतिली भए पो….. ।”

लोग्नेका बाङ्गिदै गएका बोलीसँग मायाले आँखा घुमाएर हेरी ।

“नकचरा…. आमालाई सम्म दोष दिने… आºना आमाबाबु बिग्रेको देख्नु छैन ।”

मायाले भुइँलाई मात्रै हेरी । घाम चुपचाप बादलभित्र पसिसकेछ । सायद पानी पर्छ । चट्याङ परेजस्तो आवाज आएपछि मायाले कान थुनी ।
“लौ ! पानी पर्न लागेछ… आफूलाई भने अबेर भैसक्यो कस्तो छ भने नि यो….।”

लोग्नेको फतफतसँग माया अलिकति पनि सहमत हुन सकिन ।

“अब त यसलाई लट्ठी नै लट्ठीले नकुटी भएन ।” लोग्नेको थप फतफतबाट माया काली-नीली हुँदै, बग्दै गई ।

“लौ ! पानी पनि पर्न लाग्यो ।”

उसले आकाश हेरी । साँच्ची नै पानी आउन लागेछ ।

“तैं मोरीले होस्, यतिबेर आºनो काममा पुगिसक्थेँ ।” लोग्नेले एक चड्कन हान्यो उसलाई । मायाले गाला छामी ।

“लु खा ! ही खोजेकी हैन तैले ?” अर्को चड्कन पनि । माया अँध्यारी हुँदै गई । रोई । पानीको एक झरी आएर बिस्कुनलाई भिजायो । मायाले हेरी र हेरी मात्रै ।

“एइ…. उठा तेरा बिस्कुन ।” तर माया बोलिन ।

“उठा भनेको …. देखिनस् पानी आएको ?”

“उठाउनु नि आफै ।” मायाले रुँदै भनी ।

“तेसो भा ! अडर पो गर्छे हँ यो त !”

लोग्नेको अनुहार नहेरी उसले बिस्कुन हेरी । बिस्कुनमा पानीका थोपा-थोपा परिरकेछ । पानीको अर्को झरी पनि बिस्कुनलाई छोएर भाग्यो ।

“उठा भनेको ।”

“उठाउँदिनँ । मैले मात्रै खानुपर्‍या जस्तो ।”

“लु खा ! ” अर्को चड्कन । पानीका ठूला-ठूला थोपाहरू ।

माया जुरुक्क उठी । बिस्कुनलाई हेरी र हेरी मात्रै, अनि घरभित्र पसी । खाटमा पल्टी ।

लोग्ने फतफताउँदै ऊनेर आएको थाहा पाएर सिरकले ऊ गुटुमुटु परी । लोग्नेले उसको सिरक फालेर कपाल भुत्लायो । ऊ केटाकेटी आवाजमा रोई । पानीको ठूलो आवाज छानामा परेर त्यो आवाज कोठाभरि छरियो ।

“बिस्कुन नाशै पारी यसले ….. उठ् भनेको, जा चाँडै उठा… ।”

ऊ तर रोई मात्रै ।

लोग्नेले फेरि भुत्लायो ।

ऊ झन् रोई ।

र एउटा थप चड्कन । अनि लोग्ने ढोकानेर उभियो र आँगनमा हेर्‍यो । पानी-पानी भएर बिस्कुनमाथि अतिक्रमण गरिरहेछ । बिस्कुनका धानहरू पानीसँग बहेर पर…. पर पुगिरकेछ । नाङ्गो बिस्कुनमाथि धानको साटो पानी-पानी भएछ…।

फतफतउँदै उसको लोग्ने ऊनेर आयो । सिरक फाल्यो ।

चड्कन र चड्कन .. फेरि चड्कन ।

माया खाटमा गुटमुटिँदै रोइरही । रोइरही मात्रै ।