डाक्टरको सल्लाह अनुसार आफ्नो स्वास्थ्यको लागि बिहान उठेर कम्तिमा पनि आधा घण्टा हिँड्ने बानी बनाएकी छन् अञ्जलीले तर सँगैमा श्रीमानको भने आफ्नो मुढ माथि निर्भर गर्छ। कहिले खुरुक्क सँगै जाइहाल्छन् पनि कहिले आङ् तन्काउँदै आधा घण्टा बित्छ ।
मोर्निङ्वकबाट आएर चिया बनाउँदै गर्दा अञ्जलीलाई धेरै दिनदेखि बाटोमा पछ्याइरहने ती सुन्दर युवतीको सम्झना आयो । आखिर किन ती युवतीले अञ्जलीलाई पछ्याइरहन्छिन् ।
चिया लिएर कोठामा पस्दै अञ्जलीले भनिन्, -“कति अल्छी गर्न सकेको हजुरले ? कोही बेला त अलि छिटो उठ्ने गर्नु नि ! डाक्टरले पनि हिँड्ने सल्लाह दिनुभएको थियो, हिँडौँ न भन्दा पनि कानमा बतास लाग्ने होइन ।”
“कति गन्गनाउँछ्यौ अञ्जु ! डाक्टर साहबको पो दिनभरि च्याम्बरमा बस्यो, बिमारी हे-यो ! कतै हिँड्ने फुर्सद हुँदैन र हिँडन मन लाग्छ , म त दिनभरि हिँड्छु, कामै हिँड्ने छ मेरो । अफिस, मिटिङ, घरगाउँलेको काम, तीनचार घण्टासम्म स्टेजमा उभिएर भाषण छाँट्नु , मरौपरौ, बिहे,भोज-भतेर के के हो के के !” उठेर आँखा मिच्दै चियाको कप समाउँछन् आलोक । अञ्जली छेउको कुर्सी तानेर बस्छिन् । हातमा चियाको कप समातेर अञ्जली एकोहोरो हेरिरहेको देखेर आलोकले सोधे, “के भयो अञ्जु, किन एकोहोरिएकी आज ? कुनै काव्य, कथा कि ! उपन्यासका पात्रहरूका नाम जुराउँदै छौ ? ” झसङ्ग झस्किन् अञ्जली ।
“हेर्नुहोस् न ! हिजोआज मसँग मर्निङ्गवाकमा एउटी पच्चीस-छब्बीसकी सुन्दर युवती पछिपछि जान्छिन् , कोही बेला एकलै पनि बोलिबस्छिन्, कोही समय अचम्म अचम्मका प्रश्न सोधेर छक्क पार्छिन् । भर्खर भर्खर चिनजान भएकी । बाबुले पल्लोपट्टी नयाँ घरेको घर किनेर बस्न थालेका रहेछन् । हाम्रै छिमेकी !”
“अनि के भयो ? राम्रो हो त ! नयाँ ठाउँमा छरछिमेकी चिन्न गाह्रो भएको समय ढुङ्गा खोज्दा देउता पाए झैँ भयो होला नि ।” आलोकले मुस्कुराउँदै जवाफ दिए ।
आलोक र अञ्जली पनि यो ठाउँमा बस्नथालेका धेरै समय भएको छैन । आलोक जागिरे, जता सरूवा हुन्छ उतै जानै पर्छ । बल्लबल्ल तीनवर्षपछि स्थायी घर किनेर बस्न थालेका छन्, फेरि के थाहा ? कहिले ओखरबोटे हो कि बरबोटे हुने ? आलोक सरूवा भइरहँदा पनि अञ्जली बाबा-आमाकै मूल घरमा बसेर आफ्ना दुइ छोराछोरीलाई राम्रो स्कूलमा लगाएर पढाइमा कुनै बाधाअड्चन आउन दिएकी थिइनन् । अहिले उनीहरू दुवैजना देहरादूनको नामी कलेजमा अध्ययन गरिरहेका छन् ।
चियाको मीठो चुस्की लिँदै अञ्जलीले भनिन्, “म पनि त्यही सोचेर ढुक्क थिएँ , तर यताउता घाइँघुइँ सुन्दा त ती युवतीको मानसिक स्थिति ठीक छैन , घरमा पनि पगली भन्छन् रे !”
“हो र ? विचरा, कसकी छोरी हुन् को नि ?”
“खोइ, मैले सुन्दा चाहिँ बाबा पुलिसको ठूलै अफिसर पदमा हुनुहुन्छ रे ।”
“ए राधेश्याम सरकी छोरी सारिका पो होली है ? अफिसमा मैले सुनेको, सारिका सन्तजोसेफ कलेज, दार्जीलिङमा पढ्दै थिइन् अरे, छोरी सारिकालाई भेट्न जाँदैगर्दा माथिबाट आएको गाडीले सारिकाकी आमा चढेको गाडीलाई हिर्काएर खर्साङको गिद्धेपहाडबाट दुइसय मिटर तल झरेर परलोक भएको पैँतालीस दिन नपुग्दै राधेश्यामले कान्छी श्रीमती भित्र्याएपछि सारिकाको मष्तिष्कमा पुरुषप्रति एक प्रकारको शङ्काले जग्गा बनाएको छ अरे । यही बज्रघातका कारण कहीले काहीँ उनको दिमागमा नराम्रो आक्रोशित भावना जागेर आउनु स्वभाविक हो । तर पढ्नमा भने अति राम्रो , आफ्नो भविष्य सम्झेर दिल्ली युनिभर्सिटीबाट मास्टर गरेर बसेकी छन् । अस्ति मसित पर दोकानमा भेट्दा त राम्रो बोलिन्, “अङ्कल पढेर पनि के गर्नु, नोकरी नै पाउँदैन। यो समाज पाखण्डी छ , सरकार नोट र भोट बाहेक अरु केही चिन्दैन , यहाँ एकपटक क्रान्ति हुनपर्छ , विष्फोट हुनपर्छ , आधाजति मान्छे सिद्धिनुपर्छ अनि मात्र परिवर्तन सम्भव छ ।”
म अवाक् भएर धेरैबेर सुनिरहें, फेरि भेटौं है, भनिराखेर घर आएँ । उनमा त्यस्तो नराम्रो गुण त मैले भेटिनँ, हुनसक्छ आमाको विभत्स मृत्यु र जवान छोरीको अघाडि बाबुको वासनायुक्त परिवेश कहाँसम्म युगानुकुल हुनसक्छ ?” कृष्ण भगवानले दिएको आदर्श शिक्षा अर्जुनले सुनेजस्तै आँखा झिमिक्क नगरी अञ्जली पनि आलोकका कुरा सुनिरहेकी थिइन् ।
समयले अफिसको बाटो तताइरहेको थियो, अञ्जलीले खाना पस्केर टेबलमा सजाइन्, आलोकले आजभने खानामा केही खोट नदेखाई फटाफट खाएर अफिस लागे, अञ्जली आफ्नो दिनचर्यातिर ।
आलोकले आफ्नो विभागको दुइदिने सरप्राइज ( छड्के भ्रमण ) टुर निकालेर आएछन् । बेलुका यस विषयमा कुनै चर्चापरिचर्चा भएन । नानीहरूको एक हप्ता मात्र छुट्टी छ, आउँने कि नआउने भनेर सोधेको कुरा अञ्जलीलाई बताए । अञ्जलीले एक हप्ता भए पनि नानीहरूसँग बिताउने कुरा गरिन् ।
टुरबाटै आफ्नो भ्रमण बढाएको खबर आलोकले अञ्जलीलाई बताए । अञ्जली पनि पढेलेखेकी हुन्, हरेक कुरामा आलोकसित मेलखान्थ्यो, कुनै दिन उतारचढाव भएन । बरू उल्टै आलोकलाई आफ्नो अफिसियल जिम्मेवारी र इमानदारिताको कुराले प्रभाव पार्थिन्। आलोक श्रीमतीका कुरामा नतमस्तक थिए ।
आलोक टुरबाट फर्किंदा एअरपोर्ट गएर नानीहरूलाई पनि सँगै लिएर आए । नानीहरू आएपछि अञ्जलीको अनुहारमा लालीचड्नु मात्र नभएर व्यस्तताले पनि कुनै कुरा मनमा खेलाउने अथवा चर्चागर्ने समय नै परेन ।
अचानक एक दिन एकाबिहानै आँगन बढार्दै गरेकी अञ्जलीको छेउमै आएर, “आन्टी गुड मोर्निङ ! खोई आजकल त मोर्निङ वकमा पनि भेटिंदैन त ! कि मैले बोरिङ गरे॔ भनेर अर्कै बाटो हिँड्नु हुँदैछ ?” अञ्जली झसङ्ग भइन् , टाउको उठाएर हेर्दा त उनै ती युवती रहिछन् । कुद्दै आएर अञ्जलीलाई अँगालो मारिन्, अञ्जलीको मातृत्व भक्कानो फुटेर आँखाबाट निस्किए। परबाट आलोक र छोरी अनुजाले देखे । एकक्षण त अवाक भए । फेरि छेवैमा पुगेर आलोकले भने, “के हो अञ्जली ! यसो घरमा आएका पाहुनालाई चिया पनि खुवाउने कि अँगालोमै कसेर राख्ने ?” हतार-हतार आँखाबाट निस्किएका अश्रुधारा सारीको फेरले पुछ्दै अञ्जली चुह्लातिर लागिन् । आलोकले युवतीलाई छेउकै चौकीमा बस्ने आग्रह गरे । छोरी अनुजा पनि आएर छेउमा बसिन् ।
“अङ्कल तपाइँका नानीहरू पनि आएका छन् भन्ने सुनेर भेट्न आएकी नि !” युवतीको जिज्ञासाले अनुहार उज्यालियो । आलोकले पनि छेवैमा बसेकी छोरी अनुजातिर देखाउँदै, यी मेरी छोरी अनुजा हुन्, देहरादूनको कलेजमा अध्ययन गरिरहेकी छन्, छोरा भित्र सुतिरहेको छ, बल्लबल्ल घर आएर सुत्न पाएको ।”
आलोकका कुरा भुईँमा खस्न नपाउँदै सारिकाले व्यङ्ग्यवाण हिर्काइन्, “अङ्कल के अब तपाईंकी श्रीमती अचानक भवितव्य परेर मरिन् भने तुरुन्तै यी भाइ-बहिनीलाई सौतेनी आमा ल्याइदिनुहुन्छ ?”
आलोकलाई के भनौं, कसो गरौं भयो, छोरीतिर हेरेको हे-यै भए। “किन नानी अचानक यस्तो कठोर प्रश्न ग-यौ , आखिरमा यस्तो हुनैपर्छ भन्ने केही छैन , संयोग र परिस्थितिमाथि निर्भर गर्दछ । सबै रावण नभएर राम पनि हुनसक्छन् भने दुर्योधन मात्र नभएर कृष्ण र अर्जुन पनि हुनसक्छन् नि । ”
आलोकको जवाफ कडै थियो, युवती बोल्न सकिनन् तर अनुजाले बाबालाई ओठे जवाफ दिँदै भनिन्, “परिस्थितिले त ध्यानमा मग्न भएका ऋषिमुनिलाई समेत छोडेको छैन भने हामी त जाबो मानिस न हौं । ”
“होइन के हो यस्तो ? बाबु-छोरीहरूको बहस त चर्काचर्की पो छ त !” अञ्जलीले चियाका कपहरू हातहातमा दिंदै भनिन् । सियो खसे आवाज होला, एकैक्षणमा सन्नाटा छायो ।
“अङ्कल, मेरो नाम सारिका राई हो, मेरा पिताजी पुलिसमा डीएसपी छन्, शायद अङ्कलले चिन्नु पनि हुन्छ होला , राधेश्याम भनेपछि सबैले चिन्छन्, तर श्रीमती मरेको पैँतालीस दिन पनि नपुगिकन छोरीसमानकी कान्छी ल्याउने डीएसपी भनेर बद्नाम बाबु भनेर पनि सबैले जानेका छन् ।”
सारिकाका आँखामा रसाएका आँसुसितै उत्ताउली भएर घरै थर्काउने गरी हाँस्दै, “तँलाई म जेल हाल्छु ? मेरो बाबु होइन तर मेरो बाबुको धन-सम्पत्ति,मान-सम्मान र इज्जत देखेर आएकी ।” भन्दै बरबराइन्।
सारिकामा अचानक आएको परिवर्तन र आक्रोश देखेर आलोक पनि छक्क परे , अनुजाले, “दिदी चिया सेलायो लिनुहोस् न !” भन्दा पनि नबुझिने भाषामा फतफताउँदै उठेर चिया पनि नखाइकन हिँडिन्, सबै अवाक भए ।
“आमाको मृत्यु र बाबुको व्यवहारले सारिकाको दिमागमा गहिरो चोट परेको छ, समयमा उपचार हुनसकेन भने यिनलाई यस्तै मानसिक रोगले सताइरहने छ , कुनै मनोरोगविशेषज्ञसित सम्पर्क गर्न नितान्त आवश्यक छ ।” आलोकले श्रीमती र छोरीलाई आफ्नो ज्ञान र मानवताको तर्क राखे ।
“हो नि हुन त विचरा, आमाको माया-ममता, लालन-पालन पाउने समयमा आमा गुमाइन्, आमाको काखमा लुटुपुटु हुने उमेरमा हिडम्बाजस्ती सौतेनी आमाको कर्कश व्यवहारले चिन्तित देखिन्छिन् । अस्ति उनकै घरमा काम गर्ने सुशीला बैनीले भनेको, -‘यो पगली हो, यसले मेरो मासु खाइसकी, पागलखानामा लगेर राखिदे भनेको त्यसको बाबुले मान्दैन, कुनदिन हामीलाई नै मार्छे होला’ भन्दै सौतेनी आमा फतफताइरहेकी थिइन् अरे । बिहे गरेको पाँच पाँच वर्षसम्म तेरो बाबुले मबाट नानी नजन्माएको पनि तेरै कारणले हो, मेरो सन्तान भएपछि अङ्शबण्डामा भागलाउनु पर्छ भनेर होला नि, नामर्द छ तेरो बाबु ! भनेर सरापेको पनि मेरै कानले सुनेको ।” अञ्जलीका कुरा सुनेर आलोक र अनुजा छक्क परेर सुनिरहेका थिए ।
टुर सकेर फर्किएका आलोकले छुट्टीमा आएका नानीहरूसित समय बिताउने कुरा गरे । बिहानको खाना खाइसकेर एकबजीतिर कतै राम्रो ठाउँमा घुम्न जाने र लगभग डिनर पनि उतै गरेर आउने सरसल्लाह गरेर निस्किए ।
आलोक गाडी आफ्नो रफ्तारमा हाँकिरहेका थिए, छोरी अनुजा बाबुको छेउमा बसेकी थिइन्, अचानक अनुजाले भनिन्,- “बाबा ती बिहान आउने दिदी पगली हुन् र , मलाई त लाग्छ उनको दिमागमा कसैले नराम्रो प्रभाव पार्ने कुराहरू हालिदिएको छ, उनी बेलाबेला ती कुराहरूले विचलित भएर आवेगमा आउँछिन् जस्तो मलाई लाग्छ। ”
“कान्छी आमा भए पनि त्यति सुशील र शिक्षित छोरी छन् । तीनलाई नै राम्रो व्यवहार गरेर आफ्नो भविष्य हेरेर बस्नुपर्ने थियो नि तर ती महिला पनि महिला नभएर महिला समाजकी कलङ्क हुन्, मलाई त लाग्छ । ” अञ्जलीका कुराले आलोक र छोरी अनुजा भावुक भए, छोरा गेममा मस्त थियो कुनै प्रभाव पारेन ।
“अनुजा ! ए अनुजा ! तिमीहरू कहिले फर्किने , बसेर राम्रो कुरा गर्न पनि पाइनँ नि, त्यो चुँडेलको कुरा सुनेर बाबाले मलाई घरमै बन्द गरेर राखिदियो नि, बल्लबल्ल त्यो डायन उसको काकाकोमा जान्छु भनेर हिँडेपछि सुशीला दिदीलाई दैलो खोलिमागेर तिमीलाई भेट्न आएकी । लौ यो पैसा राख, कलेजमा साथीहरूलाई पार्टी दिनू ।”
“दिदी मलाई चाहिँदैन, मेरोमा छ, बरू भोलिपर्सी कलेज सकेर फर्किएपछि तपाइँले नै मलाई कतै लानुहोला नि ।” अनुजाले लिन नमान्दानमान्दै पनि जवर्जस्ती सारिकाले पैसा हातमा थमाइदिइन् ।
=====
सारिकाको अञ्जलीसित दिनप्रतिदिन घनिष्ठता बढ्दै गयो , मोर्निङ्वकदेखि चुह्लाचौका, सौदापात यतिसम्म कि कोही कोही बेला यतै बस्न पनि थालेकी थिइन् तर अञ्जलीसितको यो सामिपत्यता सारिकाकी कान्छी आमालाई मन परेको थिएन । अञ्जलीलाई पनि आफ्ना नानीहरू कलेज फर्किएपछि एक्लो महसुस हुनपाएन । सारिकाले आफ्ना मनमा लागेका सबै ठेस, दु:ख-दर्द र कान्छीआमाको व्यवहार अञ्जलीसँग साझा गर्थिन्, अञ्जलीलाई लाग्यो सारिकाको मानसिकस्थिति सबै सामान्य छ, कहिलेकहीँ आमाको सम्झना र कान्छीआमाले उनीप्रति गरेको व्यवहारले उनीमा एक प्रकारको आक्रोश सामान्य अनुभव उनीहरूले गरेका थिए ।
दुइ-तीनदिनदेखि आफ्नो घर नगएर सारिका अञ्जलीकै घरमा बसेकी थिइन् , घरको आँगनमा आएर एउटा सेतो एम्बुलेन्स रोकियो, गाडीबाट दुइजना नर्स झरिसक्दा नसक्दा पछाडिबाट पुलिस लेखेको गाडीबाट सारिकाकी कान्छी आमा र आफ्नै बाबुका एसिस्टेन महिला कस्टेबल झरे । सारिकाकी कान्छी आमा सीधै अञ्जलीको घरतिर देखाउँदै कराउन थालिन्,- “त्यो पागल यहीँ छ, कति दिनदेखि यही आइमाइले लुकाएर राखेकी छ, घर नआएर गाउँ-घर चहार्ने भएकी छ, भाग्ली, समातेर पगला अस्पतालमा लगेर राख ।”
एकै क्षणमा स्वर्गजस्तो शान्तघर कोलाहलपूर्ण भयो । छरछिमेकीहरूको पनि भीड लाग्यो । अञ्जलीले बिन्ती गरिन्, “बहिनी सारिकालाई केही भएको छैन, उनी पूर्णरूपले स्वस्थ छिन्, उनलाई राम्रो व्यवहार र शान्तिको आवश्यकता छ ! अस्पताल लाने कुनै औचित्य मैले देखेकी छैन, यिनलाई केवल मायाको खाँचो छ ।”
फेरि सारिकाकी कान्छीआमा घरै उचाल्ने गरी कराउन थालिन्, “तँ बाठी न हो ! यसको सबै बानी-व्यहोरा मलाई थाहा छ, यो पागल हो, गाउँ-बजार चहार्ने भएकी छ, नाठा खेलाउँछे, तेरो बूढोसँग लागेकी छ, बुझिस् । यसले हाम्रो यत्रो ठूलो मान-सम्मान र इज्जत माटोमा मिलाइसकी, ऐ ! के हेरेको ? समातेर गाडीमा हाल् ।”
एकै क्षणमा घर सुनसान भयो ,अञ्जली गालामा हात लगाएर बरन्डामा के के सोचेर बसिरहिन् ।
“घर पनि खुल्लै छ, बत्ती बालेको छैन ? होइन के भयो हौ अञ्जली ? खोई सारिका ?” भन्दै बत्ती बाल्दै आलोक भित्र पसे, अब पो अञ्जली झसङ्ग भएर तल झरिन् । चुह्लामा पसेर चिया बनाएर श्रीमानलाई पनि दिएर आफू पनि खाँदै दिनमा घटेको फिल्मी ड्रामा पतिदेवलाई सविस्तार सुनाइन् ।
आज आलोक पनि छिट्टै टीभी निभाएर ओछ्यानमा पल्टिए, अञ्जली ओछ्यानमा बसेर फोन कोट्याउँदै दिनभरिका मेसेज राख्ने राखेर अरू मिटाउँदै भनिन्, “होइन हजुरलाई आज के भयो? कहिल्यै नछोड्ने “कौन बनेगा करोड पति”, आज छिट्टै टीभी पो निभाउनु भयो त !”
“सारिकाका कुराले मलाई धेरै सताएको छ अञ्जु, त्यत्रो ठूलो अफिसर भएर पनि कुरा बुझ्ने कोशिश किन नगरेको होला ? आखिर आफ्नी छोरी हो, केही नै भएको भए पनि राम्रो डक्टरसित सम्पर्क गर्नुपर्ने, यसरी जबरजस्ती लगेर कस्ता-कस्ता बिमारीहरूसित राख्न सकेको ।” आलोक निकै भावुक देखिन्थे ।
अञ्जलीले फोन चार्जमा हाल्दै भनिन्, “सारिका विचरा के गरून्, त्यत्रो महाभारत हुँदा पनि पुलिसको डरले गाउँले एक शब्द बोलेनन् , चूँसम्म गरेनन् भने सहायता कसले गर्ने र ! मलाई त उल्टा बेसी बोलिस् भने मान्छे लुकाएको आरोपमा बूढालाई भनेर जेलमा जाकिदिन्छु भनेर धम्किदिएर गएकी छ ।” एकक्षण चकमन्न भयो, दुवै किंकर्तव्यविमूढ भए ।
“मभन्दा जुनियर तर एउटै स्कूलमा पढेका भाइ डाक्टर गौरव यहाँ हस्पिटलमा भर्खरै ट्रान्स्फर भएर आएका छन्, उनलाई कुरा गरेर सारिकाको विषयमा केही न केही हल निकाल्नुपर्छ होला, नत्र त यिनीहरूले जीवनभर अस्पतालमै सडाएर राख्नेछन् । भोलि कुनै समय पारेर अस्पताल जानुप-यो ।” अञ्जलीका कुराले आलोक भावुक भए, आखिर उनी पनि आमा हुन्, मातृत्व बुझ्दछिन्।
“हुन्छ! केही प-यो भने म पनि जानेछु, पहिला तिमी गएर बुझिराखन।” आलोकका सकारात्मक कुराहरूले अञ्जलीलाई ठूलो मद्दत पुग्यो । दुवै गनगन गर्दै धेरै बेर ओछ्यानमा छट्पटिरहे, कति बेला निद्रादेवीले आफ्नो अँगालोमा कसिन् , भालेको पहिलो डाकले ब्यूँझायो।
अञ्जलीलाई कति वर्षपछि अचानक अस्पतालमा देख्दा डाक्टर गौरव चकित हुँदै सोधे , “अञ्जली दिदी तपाइँ यहाँ,! कोही बिमार छ कि, कति कामले आउनु भयो ?”
“हो ! डाक्टर ! मेरी छोरी बिमार नभएर पनि बिमार पारेर यहाँ ल्याइएको छ, उनलाई तिम्रो अत्यन्त आवश्यक छ । अब उसको भविष्य तिम्रो हातमा छ ।”
डाक्टर गौरव अन्योलमा परेर सोधे, “होइन कुरा अलिक घुमाउरो भयो, घुमाएर कुरा गर्ने आदत आलोकजीले पनि सुधार्न सक्नु भएनछ।”
अञ्जलीले सविस्तार यावत् घटनाहरूको विवरण डाक्टर गौरवलाई बताइन् , गौरवले समय मागे, आफूबाट हुनसक्ने र सारिकालाई उसको अवस्था र योग्यताका आधारमा सक्दो सहयोग गर्ने वचन दिए । तर अञ्जली पनि नियमित एउटा रूटिन बनाएर आउनै पर्ने भयो । डाक्टर गौरव चाहन्थे अञ्जली पनि केही काम गरेर आफ्नो समयको सदुपयोग गरून् ।
सारिकालाई दवाई-पानी होइन, चाहिएको छ, आफन्तको माया, प्रेम ,शान्ति र समाजका निम्ति केही गरिराख्ने ठाउँ । डाक्टर गौरव मनोरोग विशेषज्ञ, एकै भेटमा सारिकाको आद्योपान्त बिमारी पत्ता लगाउन कुनै अप्ठ्यारो परेन ।अस्पतालको बाहिरपट्टि रहेको खाली जमिनलाई सदुपयोग गरेर योगा र योगशिक्षा दिने ठाउँ निर्माण गरिदिने प्रोजेक्ट बनाउन इञ्जिनियरलाई लगाए । उक्त प्रोजेक्टलाई सरकारबाट स्वीकृति पनि दिलाए । यसको सम्पूर्ण रेखदेख र सञ्चालन अञ्जली र सारिकाले गर्ने जिम्मेवारी आयो। समय समयमा आफू पनि निरीक्षणमा आउने र केही कमी कमजोरीको रेखदेखको सहयोगी बन्ने भए ।
शुरुशुरुमा दिनमा तीन/चार घण्टा समय अञ्जलीले सारिकासित योग र योगशिक्षामाथि क्लास लिन थालिन् । योगाका विषमा लेखिएका किताबहरूको अध्ययन गर्ने अनि योग सिक्न आउने विद्यार्थीलाई पढाउने र योगा क्लासदेखि बिमारीहरूको हेरचाह समेत गर्न थालियो । छोटो समयमा विद्यार्थीहरूको बढोत्तरीले अस्पताल सँगसँगै योगा क्लास पनि बढेको देखेर सरकारले अपुग र अरू चाहिने सामग्रीहरूसितै बजेट पनि थपिदिने भयो ।
घरमा आएर आफूहरूबाट सञ्चालन भएको योगा क्लास, विद्यार्थीहरूको भन्दा पनि सारिकाको मेहनत र लगनका बारेमा अञ्जली आलोकलाई सुनाउने गर्दथिन् , आलोक मन्त्रमुग्ध भएर सुनिरहन्थे।
एकदिन अचानक सुन्नमा आयो सारिकाका पिताजी र कान्छी आमा कतै टुरमा जाँदा एक्सिडेन्ट भएको थियो, हातखुट्टा नै नचल्ने भएका छन् अरे ! एक प्रकारको प्यारालाइज जस्तो। सिलगढी लगेको छ, बीसको उन्नाईस हुँदैन ।
जनवरी महिना, आइतबार छुट्टिको दिन, घाममा बसेर अञ्जली र आलोक दुवै नानीहरूका विषयमा कुराकानी गरिरहेका थिए, अब पढिसकेर आएपछि कतै, कुनै नोकरी गर्ने हुन् कि! आफ्नै व्यापार व्यवसाय चलाउने कि ! फरदर शोधकार्य गर्ने। माथिल्लो घरकी रुक्मिणी दिदी हस्याङफस्याङ गर्दै आएर,- “सुन्नु भयो गुरुमा ? त्यो डीएसपी र त्यसकी कान्छी, गाडी एक्सिडेन भएर सिलगढी लगेको कत्तिदिन भइसक्यो , हातखुट्टा नै चल्दैनन् अरे , साह्रै छन् अरे, हिजो पल्ला घरका चम्चे बा र हाम्रा सिलगढी गएर अस्पतालमा हेरेर आएका । हेर्नु नि अस्ति तपाइँहरूलाई कस्तो मुख छाडेको, कलिजुगमा पाप धुरीबाट कराउँछ भन्थ्ये बूढापाकाहरू छ्यात्छ्याति देखायो ।”
“दिदी त्यसो भन्नु हुँदैन, भवितव्य सबैलाई लाग्छ, बरू अब उहाँहरूलाई के गर्नु पर्ने, कता लानुपर्ने सल्लाह पो गर्नुपर्छ।” अञ्जलीको कुरा सुनेर रुक्मिणी दिदी रातो-पिरो भइन् ।
आलोकले सारिकालाई सविस्तार घटनाको रिपोर्ट लिने र भएछ भने भोलि-पर्सी नै सिलगढी गएर विमारीका विषयमा जानकारी लिने अञ्जलीलाई आदेश दिए । एक प्रकारले त उनीहरूको व्यहोरा हेर्दा त कुनै जायजा लिने औचित्य देखिंदैन तर मानवजाति मानवजातिकै काममा आएन भने यहाँ मानवता भन्ने धर्म नै विलुप्त भएर जानेछ । अरूले जस्तो व्यवहार गरे पनि आफूले पनि त्यसो गर्नु पनि भएन नि ! “कुकुरले खुट्टा टोक्यो भन्दैमा आफू पनि कुकुरको खुट्टा टोक्नु” पनि मानवता होइन नि । सारिकालाई अञ्जलीले फोनमा यावत सबै कुरा बताएपछि भोलि नै सिलगढी जाने
समय बनाए ।
सिलगढीको न्यूटिया अस्पतालको एउटा कमरामा डीएसपी र अर्को कमरामा डीएसपीनी डिप्सको भरमा आफ्नो जीवन झुण्ड्याएर सुतिरहेका थिए, हात-खुट्टा केही चल्दैन थिए । सारिकासित अञ्जली र आलोकलाई देखेर घोप्टो टाउको पारेर डीएसपीले आँखाबाट तरर आँसु झारे । बातचित हुन सकेन । बोली पनि राम्रो आउँदैन थियो ।
भोलिपल्ट बिहानै अस्पतालको मेनेज्मेन्टसँग कुराकानी गरेर आफ्नै रिक्समा छुट्टी मागेर लैजाने निधो गरे । बिरामी र बिमारीका अभिभावकहरूले आफ्नो रिक्समा लान्छौं भनेपछि अस्पतालले छुट्टीदिन कर लाग्यो।
सारिकाले आफ्नो रेखदेखमा अस्पतालमा लगेर राखिन्, बिहानदेखि बेलुकासम्मको रूटिन बनाएकी थिइन्। आफ्ना पिताजी र कान्छी आमालाई समयमा खानापिना, एक्साइज, योगा, समाएर हिँडडुलदेखि दबाईले छिट्टै काम गर्न थालेको थियो । पहिला पहिला त समातेर हिँडाउन पनि साह्रो परेको थियो भने शनै: शनै: लौरो टेकेर हिँड्न थालिसकेका थिए । अहिलेसम्म सारिका त परैजाओस् अञ्जली र आलोकसित पनि शिर खडा गरेर दुवै बूढाबूढी बोल्न सकेका थिएनन् । खाना कहिले कहीं बिहान डिउटीमा आउँदा अञ्जलीले घरबाटै लिएर आउँथिन्, कहिले सारिकाकै क्वार्टरबाट बनिएर आउँथ्यो । गाली गरी गरी नियमित खाना खुवाउँथिन् सारिकाले ।
समय समयमा डाक्टर गौरव बिमारीहरूको हालखबर सोध्न आउँथे र धेरै बेरसम्म सारिकासित चिया खाँदै समय बिताउँथे । अञ्जलीलाई कता कता शङ्का लाग्नथालेको थियो डाक्टर गौरवले सारिकालाई मनपराउन थालिसकेका छन् । तर सारिकाको भने आफ्नै बाबुको कर्तुतका कारण पुरुषहरूप्रतिको हेराइमा परिवर्तन आइरहेको थियो या थिएन यसै अनुमान लगाउन सकिन्नथ्यो ।
एकदिन सारिकाका आँखा छलेर अञ्जलीले डाक्टर गौरवलाई भनिन्, “अब पनि घरबार बसाइएन भने ढिला हुन्छ , कोही आफ्नो विचारमा छन् भने मन खोलेर कुरा गरे हुन्छ, म तिम्रो दिदी नै हुँ ।” डाक्टर गौरवले खुलेर कुरा गरेनन् तर उनको मुहारमा झल्किएको व्यवहारले स्वीकृति प्रष्ट देखिन्थ्यो ।
अञ्जली र सारिकामा आमा-छोरीको प्रगाढ सम्बन्धसितै अभिन्न साथीहरूको जस्तो भइसकेको थियो। एकाअर्कामा मन खोलेर कुरा गर्ने भएका थिए । अस्पताल,योगा क्लास र विमारीहरूसितको उठबस ,सेवा र व्यस्तताले बेलाबेला आउने उश्रृङ्ल र एकोहोरोपना सारिकामा बन्द भइसकेको थियो । त्यहाँ आउने विमारीहरूको सेवाले आफू पनि पूर्णतः स्वस्थ भएको नभएको अनुभव स्वयंले नगरे तापनि आलोक, डाक्टर गौरव र अञ्जलीले गरिरहेका थिए । नारीको मर्म नारी नै भएर डीएसपीनीले नबुझे पनि अञ्जलीले राम्रोसित बुझेकी थिइन्, यसैकारण सारिकालाई आफूजस्तै एक सफल र असल सामाजसेविका सँगसँगै एक प्रेमीका र गृहिणी पनि भएको हेर्न चाहन्थिन् अञ्जली।
करिब छ महिनाको निरन्तर स्वास्थ्योपचार तथा अञ्जली, सारिका र डाक्टर गौरवको प्रयत्नले डीएसपी र डीएसपीनी पूर्ण रूपले स्वस्थ भइसकेका थिए । अस्पतालले छुट्टी लेखिदियो । घर जानेबेलामा सारिकाका खुट्टा नै ढोगेर दुवैले माफी मागे तर सारिकाले केका निम्ति माफी दिने र ! हामीले अन्य साधारण बिमारीहरूलाई समान तन र मनले सेवा ग-यौं, भाग्यवस विमारीहरू ठीक भएर आफ्नो पुरानो रूपमा आएपछि घर फर्किएर जानुहुँदैछ, भगवानलाई धन्यवाद भन्नुपर्छ, भनेर टारिदिइन् । बाबा र सौतेनी आमाको आँसुले कुनै परिवर्तन ल्याएन सारिकालाई।
डीएसपी र डीएसपिनीलाई अस्पतालबाट छुट्टी दिएको डेड महिनापछि हुनपर्छ अञ्जलीका घरमा एउटा पूजा-अनुष्ठानको आयोजना गरिएको थियो, उक्त पूजा-अनुष्ठानमा अस्पतालका सबै डाक्टर, स्टाफ, नर्स, छरछिमेकसितै डीएसपी र डीएसपिनीलाई पनि निम्ता गरिएको थियो, शायद बिमारी हुनभन्दा पहिलाको स्थिति थियो भने त नआउन पनि सक्थे तर यमराजको ढोका पुग्नअघि नै अहिले भित्र जाने समय भएको छैन भनी चित्रगुप्तले आफ्नो लालखाताबाट मिति नै नपुगेको समय तोकेर बूढाबूढीलाई फर्काएर नयाँ जीवन आलोक, अञ्जली, डाक्टर गौरव र सारिकाले दिलाइदिएकोमा उक्त पवित्र पूजा अनुष्ठानमा नजाने प्रश्न नै आएन । मानवजाति स्वार्थी हुन्छ।
पूजा सकिएपछि तीलकपाती भयो, पण्डितजीले सबैलाई आशीर्वाद दिए । सबैजना प्रसाद खाँदै थिए, एकअर्कामा भलाकुसारी गरिरहेका थिए । अचानक यही पूजामण्डपबाटै आलोकले घोषणा गरे, “आज यस पवित्र पूजाको शुभअवरमा भगवानसित प्रार्थना गर्दै हाम्री जेठी छोरी सारिकाको शुभविवाह डाक्टर गौरवसित सुसम्पन्न गराउन गइरहेका छौं । यस पावन पूजनोत्सव अनुष्ठानमा आउनुहुने मेरा अति आदरणीय अग्रज, सहोदर र महानुभावहरू सबै-सबैले नव वरबधूलाई आशीर्वाद दिनुहुनेछ ।”
सबै उपस्थित अतिथिवर्ग आश्चर्यचकित हुँदै उठेर गडगडाहट ताली लगाए । एक एक गर्दै सबैले वर-बधूलाई टीका लगाइदिए । यही लहरमा बसेर छोरीलाई टीका लगाइदिएर वरर आँसु झार्दै एकै क्षणमा भीडबाट डीएसपी र डीएसपिनी हराए । धार्मिक भजनको साङ्गीतिक अनुष्ठानबाट आधुनिक सङ्गीतमा साँझ राततिर बढिरहेको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।