नियुक्तिपत्र पाँच-छ पटक दोहोर्‍याएर पढेपछि उसले त्यहाँ लेखिएको आºनो नाम मात्रै धेरैबेर हेरिरह्यो- राधेश्यामप्रसाद सुवेदी । हुनुपर्ने राधेश्याम सुवेदी प्रसाद थपियो । थपिएको होइन अचेल उसले प्रसाद लेख्दैन । केहीबेर घोरिएर बरन्डाको लामो बेन्चमा बस्यो ।

“सर ! अब कहिलेदेखि अफिस आउने ? ” अलि बूढो जस्तो मान्छेले उसलाई सोध्यो । उसले बूढालाई यस अफिसको पिउन हुनुपर्छ – अस्ति नै अन्तर्वाताको दिन अनुमान गरिसकेको थियो ।

“हेरौँ कहिलेदेखि हुन्छ । ” उसले मसिनो स्वरमा भन्यो बूढोप्रति कुनै चासो नराखेझैँ बाहिरको मूलढोकातिर ताकिरह्यो ।

“सर त भाग्यमानी हुनुहुँदो रहेछ । ”

“हँ, किन र ?”

“किन भन्ने नि, पचास-पचास जनालाई उछिनेर आउनु भनेको सानो कुरा हो त !”

बूढाको ठट्टालाई उसले कुनै महत्वपूणर् ठानेन । बरु उसलाई कतै बिझएझैँ भयो । खासमा उसलाई यति बेला खुसी लाग्नुपर्ने हो । खुसी यसकारण लाग्नुपर्ने हो कि उसले यस पदप्रप्तिका लागि जति दौडधुप र जति सोर्स लगाएको थियो त्यति अरू कुनै बेला पनि गरेको थिएन ।

“हर्कबहादुर ! चिया लिएर आऊ त । ” पल्लो कोठाको ढोकाबाट आएको आवाजसँगै बूढो उठेर गयो । उसलाई लाग्यो—रम्रो भयो नत्र यो बूढोेले कतिबेरसम्म वाहियात प्रश्नहरू गरिरहन्थ्यो ।

अशेष मल्ल

उसले फेरि नियुक्तिपत्र खोल्यो र पढ्न थाल्यो – राधेश्यामप्रसाद सुवेदी …… तपाईँलाई नियुक्ति …….यस कार्यालयमा ……तपाईँको ….. । यतिखेर उसलाई यो जागिर नपाएको भए राम्रो हुनेजस्तो लाग्यो । त्यसो नलाग्नुपर्ने थियो । लाग्नु त के पर्ने थियो भने अब यो जागिर कहिल्यै छोड्न नपरोस् । त्यस अर्थमा खुसी मान्नुपथ्र्यो । त्यसको ठीक विपरीत अहिले उसमा कुनै स्फूर्ति कुनै खुसी , कुनै आनन्द आएन ।

“तैँले जागिर पाइस् भने बल्ल हामीलाई सुख होला , पैसाले पनि कहिल्यै नपुग्ने…. कहिले छोरोले कमाउला र सुख देला ।”, सहर आउनुअघि निधारमा टीका लगाउँदै आमाले आशिष् दिएकी थिइन् र भनेकी थिइन्, “चाँडै जागिर पाएस् !”

जागिर-जागिर-जागिर उसको आँखाभरि जागिरको लामो सिलसिला , अन्तर्वाताको दसोँ प्रयास विस्तारै मनमा कतै अडिएजस्तो भयो । नियुक्तिपत्र हातमा खेलाएर अफिसको लामो बरन्डालाई हेर्‍यो त्यत्तिकै लामो सास तान्यो । अघिको बूढो पिउन चिया लिएर कोठाभित्र पस्यो । पस्नुअघि उसलाई हेरेर खिसिक्क हाँस्यो । प्रतिक्रियामा उसलाई केही लागेन फेरि नियुक्तिपत्र पल्टाएर हेर्न चाह्यो र खोल्यो । तीन सय पचास तलब ! एकदमै थोरै लाग्यो उसलाई यो तलब । लाग्यो — यत्तिले ऊ यो सहरमा बाँच्न सक्तै सक्तैन । एकाएक जुरुक्क उठेर बरन्डाको पल्लो छेउमा गएर झ्यालनेर उभियो । बाहिर रूखका पातहरू सबै झरेर नाङ्गा भइसकेका रहेछन् । चिसो बतास झ्यालबाट छिरेर उसलाई समेत छोएर गयो । ऊ पुनः फर्केर अघिकै बेन्चमा बस्यो ।

बूढो ढोक उघारेर ऊ भएतिर आयो ।

“हजुरसँग बिंडो छैन ?”

“अहँ, म बिँडी पिउने मान्छे नै होइन ।” उसले सहज भएर भन्यो । बूढो त्यसपछि केही बोलेन । बेन्चको अर्को छेृउमा पस्यो ।

“साँच्ची हजुरले यहाँभन्दा अघि अरूतिर पनि जागिर खानुभाथ्यो कि ? ”

“अहँ । ”

ए ! …. तर बुझ्नुभो ! यहाँ त गजब छ नि — कामसाम गर्नु पर्दैन, हाजिर गर्‍यो भयो । ”

बूढो कुरा पूरा नगर्दै उठ्यो र हतार-हतार कोठाभित्र पस्यो । केही-छिनमा रित्तो गिलास लिएर बाहि निस्क्यो । बुढो गएपछि उसलाई अलि ढुक्क भएझैँ भयो । एकाएक फेरि उसको मनमा तलबको स्केल घुम्न थाल्यो । उसलाई यतिखेर दिक्क लाग्यो । नियुक्तिपत्र हातमा पोको पारेर मिल्काउन मन लागे पनि जतनसँग गोजीमा राख्यो ।

“जागिर पाउनेबित्तिकै घरमा चिठी लेख्नू नि । हामी त अब बूढाबूढी भइसक्यौँ , तँ छस् र मात्रे ….. खै के गरेर पुर्‍याउने हो । ” उसलाई अहिले सम्झना भयो , आमाले भनेकी थिइन् । सायद घरमा चिठी पर्खेर बसेकी होलिन् । उसलाई त्यसै-त्यसै दिक्क लाग्उो । अस्ति मात्रै घरमा चिठी लेखेको थियो – बा आमाहरूले चिन्ता लिनु पर्दैन , म छँदैछु । जागिर पाउने धेरै सम्भावना छ , जागिर पाएपछि खबर गर्नेछु । ” सम्झेर ऊ फेरि निरास-निरास भयो । बरु नियुक्ति नपाएको भए हुने थियो जस्तो लागेर थकथक मान्यो । अहिले उसलाई सम्झना भयो — उसको साथी गोबिन्दवल्लभ पोहोर दसैँमा घर गएन । कारण सोध्दा गोविन्द भन्थ्यो , “के गर्ने, घर गएपछि घरमा सबैलाई सामान लगिदिनै पर्‍यो । आउनु-जानु खर्च त्यत्तिकै । एक पटक घर जाँदा तीन महिनाको तलब जान्छ ।” त्यति बेला पत्यारा लागेको थिएन । उल्टै गोविन्दलाई नै दोष दिएको थियो । अहिले त्यो सम्झेर आफैमा सरेझैँ अनुभव गर्‍यो उसले । बूढो पिउन आएर बेन्चको छेउमा बसेकोले उसको कल्पना भत्कियो ।

“आफ्नो त भन्नुहुन्छ चिया ओसार्ने, पानी पुर्‍याउने, ढोका खोल्ने, बन्द गर्ने बस त्यत्ति हो काम । ….. होइन तपाई कनि उदास हुनुहुन्छ हँ ? को भो ? आज त खुसी पो हुनुपर्छ । जागिर पाएको दिन पनि कोही उदास हुन्छ ? बरु घरमा चिठी लेख्नोस् सर !”

ऊ केही बोलेन । चिठी लेख्नुपर्ने कुराले अरु अलिकति झस्कियो । त्यसपछि बूढाको आँखामा हेरिरह्यो । कताकता त्यो बूढो आँखामा आफ्नो वृद्ध बाबुको आँखा टाँसिएझैँ, अनुहार नै साटिएझैँ लाग्यो । सहर आउनुअघि बाबुको गोडामा ढाग्न लाग्दा भनेका थिए — “भाग्यमानी हुनू ! जागिरर खाएपछि खबर गर्नू….. । ” अहिले यो बूढो पिउनमा आºनो बाबुको अनुहार हुबहु अनुवाद भएजस्तो देखेर ऊ अलिकति तर्र्सिएझैँ भयो ।

“सरको उमेरमा त हामी— पचाइदिन्थ्यौँ — आनन्दै छ — कसैलाई मतलब छैन — बस्ने होइन — तर पनि के छ र — भन्नुहुन्छ — त्यसो हो भने पनि — आखिर के भन्ने र खै …… । ”

बूढो पिउन के भन्दै थियो उसले केही बुझेन । आधा बुझ्यो आधा बुझेन । खासमा आधा पनि प्रस्ट बुझेन । उसलाई त मनमा खेलिरहेको कुरा बुढातिर ध्यानै जान दिएन । उसलाई लाग्यो – जागिर पाएको खबर घरमा दिने हो भने आमाबाबु खुसी हुनेछन् । खुसी यस अर्थमा कि छोराले पैसा कमाउने भयो र पैसा हामीलाई पठाउने भयो । चिठी नलेख्ने हो भने घरमा आस गरिरहँदा हुन् । उसलाई अहिले एकाएक पसिनाले जीउ निथ्रुक्क भिजेजस्तो लाग्यो , तर खासमा चिसो बतास उसलाई छोएर गइरहेथ्यो ।

“महँगी पनि के भन्ने र ! तलबले त खानै नपुग्ने । ”

ऊ झस्कियो । बूढो पिउन उसलाई हेरेर भन्न थाल्यो , “पहिले हाम्रा पालामा रुपियाँको दस पाथी धान पाइन्थ्यो, अचेल भन्नुहुन्छ……..के कुरा गर्ने खै ?”

बूढो पिउनको कुरे टुङ्गिन पाएन । ढोकाभित्रबाट आएको घण्टीको आवाज सुनेर ऊ भित्र पस्यो । केहीछिनमा निस्केर बूढो बाहिर गयो । जाँदा-जाँदा उसले भन्यो , “के गर्ने हाकिमलाई चुरोट खान मन लाग्यो रे !”

ऊ केही बोलेन । बूढो गएपछि ऊ पूरै शिथिल भयो । उसलाई अहिले लाग्यो- भोलि या पर्सि या कुनै दिन यहाँ काम गर्न सुरु गर्नुपर्नेछ र त्यसपछि आएको तलबले कोठाभाडा…. खाना….जुत्ता…चियाखर्च….कपडा…सबै चीज पुर्‍याउनु पर्छ । ऊ अलिकति झस्कियो । ऊ केही दिनअघि सोच्यो—जागिर पाएपछि घरमा पैसा पठाउनेछु । अहिले यो नियुक्तिपत्र हात परेदेखि घरमा पैसा बोधले ऊ शिथिल भइरहेछ । जागिर पाएपछि बहिनीलाई सारी , आमालाई बर्को , बुबालाई कपडा……. सम्झेर अझ बढी शिथिल भयो । कमसेकम जागिर नपाएकोे भए केही सोच्न त नपर्ने थियो — मनमनै सोच्दै भित्तामा अडेसियो र लामो सास फेर्‍यो ।

“सन्चो छैन कि कसो तपाईँलाई ?”, कतिखेर बूढो पिउन आएर छेउमा बसिसकेछ पत्तै भएन उसलाई । तर ऊ केही बोलेन । बूढाको अनुहार होरिरह्यो मात्रै ।

“कामसाम केही छैन तलब खायो , बस्यो- घिउ छ हजुर यहाँको जागिर त….।”, बूढाले बिडी सल्काउँदै भन्यो र केहीबेर बिंडीको बूबाँ फालेर भन्यो, “हैन सरको घर यहाँबाट कति दिन लाग्छ ? ”

“दुई दिन ।” उसले बिलकुल सहज भएर भन्यो ।

“अनि बस भाडा त निकै लाग्छ होला हैन ? ”

“आउनु-जानु तीन सय लाग्छ ।” जबाफ दिइसकेपछि उसलाई तत्कालै चिसो पसेझैँ भयो । खासमा यतिखेर उसलाई बिदामा घर जानुपर्दा तलबजति बसभाडामै लाग्ने कुराले बिझारहेथ्यो । एकाएक उसलाई गोजीको नियुक्तिपत्र च्यात्न मन लाग्यो र गोजीबाट झिकेर कच्याककुचुक पार्‍यो । च्यात्न मन लाग्दा-लाग्दै पनि किन हो बिस्तारै पट्टयायो , कमिजको गोजीमा राख्यो अनि बूढालाई हेर्र्दै नहेरी बाहिर निस्क्यो ।