लामो यात्रापछि

छाता बन्द गर्नअघि एकपल्ट छाताका करङहरू हेरेर रामेश्ररले छाताबाट पानी तर्कायो । त्यसपछि छातालाई बरन्डाक्रो कीलामा झुन्ड्याएर भित्र पस्यो । छाता पनि म जस्तै बूढो भएछ । उसले टोपी फुकाल्दै सोच्यो ।

“देवी… एइ देवी !” सानो झ्यालबाट अलिकति टाउको घुसारेर उसले कोठातिर हेर्यो ।

“हजुर !”

“यता आऊ न ।” ऊ अहिले मानौं साठीवर्ष बूढो नभएर अठार वर्ष युवक जस्तो हुन खोज्यो । तर उसले त्यसो हुन नसकेको महसुस तल्कालै गर्यो ।

“किन बोलाउनुभएको ?”

देवीफो बोली सधैंको जस्तो भए तापनि रामेश्वरले अलि भिन्दै महसुस गर्नुमा उसले स्वयं अचम्म मान्यो । फलस्वरूप अहिले एउटा गम्भीर क्षण महसुस गर्नुपर्ने स्थिति छ । रामेश्वरले देवीलाई मानौं कहिल्यै नदेखेझै गरी हेर्यो । मानौं रामेश्वर र देवी लोग्नेस्वास्नी नै होइनन्‌ । रामेश्वरलाई लाग्यो- बिहेको चालीस वर्षसम्म नलागेको सङकोच यो बुढौती दिनमा लागिरहेछ ।

“के हेर्नुभएको कहिल्यै नदेखेजस्तो ? यति बूढो भएर पनि तन्नेरीको याद आउँछ कि क्या हो ?” देवीको ठट्यौली उसलाई ठ्याम्मै मन परेन । ऊ रुन चाह्यो ।

अशेष मल्ल

“तिमी बुझ्दैनौ देवी ! ”

” के ? ” देवीको जबाफले फेरि एउटा चोट परेझै महसुस भयो । उसलाई अहिले लाग्यो- साठी वर्षको यो लामो यात्रापछि आज थाकेर केही पनि गर्ने नसक्ने स्थितिमा छ । सायद यस्तो थकाइ यो साठी वर्षको यात्रामा कहिल्यै लागेको थिएन |

“बेपत्तामा बोलाएर…।”

देवी फन्कँदै गए पनि उसले पर्ख भन्न सकेन । नसक्नुको कारणले शरीर गल्दै गएझैँ लाग्यो उसलाई खाटको छेउमा बस्यो ।

रामेश्वरले अहिले जुत्ता फुकाल्यो र कुनामा फाल्यो । जुत्ता पल्टिएर तलुवा सिलिङतिर उत्तानो पर्यो । तलुवा पनि नाम मात्रको तलुवा । खिएर प्वाल परिसकेको तलुवा । ‘उसले अकारण त्यो तलुवालाई हेर्यो र आफ्नो जीवनलाई त्यससँग दाँज्न चाह्यो । तलुवा जस्तै खिया परेको जीवन । यसभन्दा बढी सोच्न नसकेर उसले आँखालाई अन्तै जाने चेष्टा गर्यो । तर आँखा अन्त गए पनि मन तलुवाबाट अन्त गएन । फेरि अघिकै झ्यालमा गएर देवीलाई बोलाउन चाहेर पनि त्यसो गर्न सकेन । तत्कालै के महसुस गर्यो भने देवीलाई बौलाएर भएभरका कुराहरू सुनाउनुको अर्थ देवीको मन दुखाउनु हो, चोट पुर्याउनु हो अर्थात्‌ उसलाई रुवाउनु हो र यत्ति मात्रै नभएर हाई ब्लड प्रेसर भएको बूढी देवीलाई सम्भवतः मृत्युको देशतिर पठाउनु हो । तर पनि यो नभनि नहुने कुरा छ । रामेश्वर चुपचाप खाटमा पल्टियो । उसलाई लाग्यो आज नमाने तापनि देवीले आज थाहा पाउन सक्छे । आज नपाउली…तर भोलि कुनै पनि स्थितिमा थाहा पाउँछे । भोलि बिहान साढे नौ बजे देवीले सधैँ जस्तो खाना ठीक पार्ली र सायद सधैँ जस्तो भन्ली, “स्कुल जाने बेला भयो खान आउनुहोस्‌ ।” त्यसपछि कमिज, सुरूवाल, कोट र टोपी लगाउन आग्रह गर्ली । छाता हातमा राख्दै हाँस्ली । त्यसपछि रामेश्वरले के भन्ने हो, अहिले केही सोच्न सकेन । अब स्कूल जान नपर्ने भयो कसरी भन्ने ?

रामेश्वर नियास्रो पर्यो ।

यो भोलि बिहानको घटना हो । रामेश्वरले सोच्यो । रामेश्वर छटपटियो । रामेश्वर मनमनै रोयो । रामेश्वर मनमनै चिच्च्यायो । करायो, हडबडायो । तर रामेश्वर शिथिल भयो, यो साठीवर्ष कमजोर हाड केही गर्न नसक्ने भएको छ । रामेश्वरले भविष्य सोच्यो । बाँच्नुपर्ने धेरै दिन त अवश्य पनि बाँकी नहोला । तर ती दिन अब कष्टपद हुने अवश्यम्भावी छ। उसलाई लाग्यो । ऊ थाक्यो । उसले सोच्यो- उसले हजारौंलाई शिक्षित बनायो । हजारौंलाई काम दिलायो । हजारौंको भविष्य सुधार्यो । उसले पढाएकाहरू कोही मन्त्री भए, कोही डाक्टर भए, कोही राजदूत भए, कोही इन्जिनियर भए । तर ऊ एउटा निर्धो शिक्षकबाहेक केही हुन सकेन । त्यो पनि आजदेखि हुन नपाउने भएको छ।

रामेखरले लामो सास लिएर विगत वर्तमानलाई एकैचोटि सम्झने प्रयत्न गर्यो । एउटा खेतसम्म जोड्न सकेनछ । लामो निद्रापछि बिउँझेपछि जस्तो गरी सोच्यो उसले । देवीबाट एउटै सन्तान पनि भएनछ- उसले चालीस बर्षको लामो समय बिताइसक्दा पनि अहिले मात्रै थाहा पाएझै गर्यो । उसलाई के लाग्यो भनेः उसले घर, स्वास्नी, परिवार यो उमेरसम्म सोचेकै रहेनछ । उसले सोचेका कुरा त स्ठूल.. विद्यार्थी,..परीक्षा बस यत्ति नै रहेछ । रामेश्वर निद्राबाट बिउँझेजस्तै भयो ।

उसले दुवै हात हेर्यो । यतिका वर्षे चक समाएको हात र छडी समाएको हात अब हाड र छाला मात्र बाँकी रहेछ । यत्तिका वर्षसम्मको मिहिनेतको फल के भयो ? उसले खिया पर्दै गएका हातका औंलाहरूलाई सोध्यो । औंलाले के जबाफ दिने ? सायद औंला पनि अलमल्ल पर्यो ।

रामेश्वरले हिसाबकिताब गर्यो जिन्दगीको । जिन्दगीलाई जोड्यो शेष निस्केन । घटायो शून्य निस्कियो । अहिले लाग्यो हजारौं-हजारौं विद्यार्थीहरुलाई – एक मिनेटमा हिसाब सिकाउने मान्छे अहिले आफ्नै ज्न्दिगीको हिसाब मिलाउन सकिरहेको छैन । एउटा सायद विडम्बना ।

रामेश्वर कालो-नीलो भयो ।

यत्तिका वर्षसम्म शिक्षक भएर गरेको सेवाको फल ? उसले प्रश्न गर्न चाह्यो । तर कसलाई गर्नु ? ऊ अकमक्यो । रात-रातभर नसुतेर बनाएका प्रश्नपत्ररू सम्झियो । आनेकौं प्रश्नहरू उसले सोध्यो । अनेकौं उत्तर पायो । तर आज यो प्रश्नको जबाफ कसले दिने ? उसले केही बुझ्न सकेन । यो डुब्न लागेको जिन्दगी कस्तो धराप पहाडमा अड्किएछ । न डुब्न सक्छ न फेरि तन्नेरी भएर उदाउन सक्छ- रामेश्वरले भट्किएर पाप्रैपाप्रा भएका भित्ता हेरेर सोच्यो । त्यो बाँकी खसेर देवी र उसलाई एकैचोटि किचे पनि हुन्थ्यो जस्तो भयो उसलाई । तर सम्भव देखेन उसले । त्यसमा पनि त पीडा होला, मृत्यु त्यति सजिलो कहाँ हुन्छ र ? उसले मृत्युलाई केलाउने धमिलो प्रयत्न गर्यो र त्यो प्रयत्नलाई त्यतिकै छाड्यो ।

रामेश्वरले सोच्यो यो अवकाशको खबर देवीलाई कसरी भन्ने ? आज भन्दा केही, दिनअघि नै किन भन्न सकेन ? उ आफैं पनि केही नजान्ने स्थितिमा छ । कुन्नि किन भनेन ।

उसले आफ्नो कमिज हेर्यो । सेतो कमिजमा जम्मै रातो दाग लागेको छ । रातो दाग । अविरको दान अर्थात्‌ बिदाइको दाग । बिदाइको क्षण सम्झियो आज स्कूलमा गएको उसको बिदाइमा थुप्रै विद्यार्थी डाँको छाडेर रोएका थिए । सबै शिक्षकहरु रोएका थिए र ऊ समेत रोएको थियो । तर रोएर केही नहुने रहेछ उसलाई लाग्यो । ऊ अहिले साँच्चीकै झ्यालमा गयो र देवीलाई बोलाउन खोज्यो ।

“देवी ।”

“यहाँ एकछिन आऊ त ।”

“किन ?”

देवीको प्रश्नलाई उसले सम्याउने प्रयत्न गर्यो ।

“हेर त यो कमिज ।”

उसले- आफ्नो कमिज देखायो ।

“के भयो ? अबिरको दाग जस्तो छनि ।”

देवीले उसको कमिज नियालेर हेरी ।

रामेश्वर केही बोलेन ।

““आज स्कुलमा केही समारोह त थिएन ?”

देवीले नै प्रश्न थपी ।

“थियो ।”

रामेश्वरले बिस्तारै भन्यो ।

“के को उपलक्ष्यमा ।”

“एउटा शिक्षकले धेरै वर्षसम्म गरेको सेवाको उपलक्ष्यमा ।”

“कसको त ?”

“त्यसैको जसले जीवनभरि कहिल्यै घर सोचेन । सधैं विद्यार्थी,..स्कूल… परीक्षा मात्रै सोच्यो अँ ! भन त उसले अब आफ्नो परिवारलाई कसरी पाल्छ ! एउटा खेतसम्म जोड्न सकेन । बैङ्कमा एक पैसा जम्मा गर्न सकेन… अब अवकाशप्राप्त भएको छ… भन त देवी ! …भन… न… उसले अब के गर्छ ?” भन न देवी एइ देवी….!

रामेश्वर रन्थनियो । रामेश्वर शिथिल भयो । रामेश्वर ओछ्ययानमा पल्टियो । रामेश्वर चुपचाप हेरिरहने मात्रै भयो, बोल्न नसक्ने भयो ।

देवी उसको खुट्टा समाएर रोई । थाहा छैन उसले के बुझी । किन रोई किन….के कारणले ? सायद बेहोसमा परेको यो रामेश्वर पनि जान्दैन ।